युद्ध

- सञ्जु बजगाईं

आवाजहरुले भरिने
सडक, चौक, गल्ली र बजारहरु
सुनसान भएका छन् सबत्र ।
सबैलाई खुल्ने
मन्दिर, मस्जिद, गुरुद्वार, गुम्बा र,
गीर्जाघरहरुका दयालु ढोकाहरु पनि
भएका छन् बन्द यत्रतत्र ।

बोलेका छन् त,
निलो बत्तीमा दगुर्ने एम्बुलेन्सहरु
खुलेका छन् त केवल,
युद्धभुमी भएका अस्पतालका ढोकाहरु ।

हे ! मान्छे,
एकपलमै पराया भएका छन्
तैँले हिड्दा–हिड्दै खिईएका तेरा सामुन्नेका बाटाहरु
मृत्युको घण्टीझैं भएका छन्
आफ्नै परिवार, आफन्त, र हितैषीका सामीप्यता
टाढिएको छ हिजोसम्म भित्तो जोडिएको
बर्षौ पुरानो तेरो धनिष्ट छिमेकी
तँ अनिश्चितकालीन कैदी भएको छस्
तेरै घरको त्यो ढोकाभित्र ।

मृत्युवरण गरेर एकान्तबासमै,
बिदा नमागी हिडिरहेछन्
आफ्नाहरु एक्लै, महाप्रस्थानको अकाट्य बाटो
तँ, खबर मात्र पाउँदछस्
शोक ब्यक्त गर्ने तेरो जिब्रोधरी
पट्टीले ढपक्क ढाकिएको छ
रोकिएको छ
तँैले गर्ने अन्त्येष्टीको अधिकार
बाध्य छन् आफ्नै निस्सहायता हेर्न
खुल्ला तेरा आँखाहरु एकजोर ।

हे ! मान्छे,
यो, कुनै “एनिमेटेड मुभी” होईन
यो, युद्ध पनि होईन
यो तँैले निद्रामा देखेको
डरलाग्दो सपना पनि होईन
यो त तेरो नाजुकता,
निराश्रयता र निराशाको
एउटा उदाङ्गो दृष्टान्त हो ।

हिजोसम्म,
बेलुनजस्तै फुलेको तेरो चौडा छातीभित्र
तैँले बनाएका शक्तिशाली देशहरु थिए
आफैँले बसाएका विकसित शहरहरु थिए
पानीमाथि सलबलाईरहने पानीजहाज थिए
पानीमुनि रेलका लीगहरु पनि थिए
आकाशभन्दा माथि तेरा आफ्नै उपग्रहहरु थिए
आणविक अस्त्र, तोप, बारुद, मिसायलहरु थिए
नयाँ बम्हाण्ड निर्माण गर्ने मष्तिस्कहरु थिए
अनेकौं आविश्कारका लस्करहरु थिए
मात्र, थिएन तँभित्र कहींकतै
आफ्नै अस्तित्व जोगाउँने
सचेतनाको एउटा सानो अंश ।

तेरा तिखा आँखाले देख्नसम्म नसक्ने
तेरो तिक्ष्ण बुद्धिले बुझ्नसम्म नसक्ने
एउटा सुक्ष्म जीवाणुको आगमनमा
आज तेरो चौडा छातीको आयतन
सेन्टिमिटरमा झरेर खुम्चिएको छ
प्रश्न चिन्ह बोकेर, आफ्नै अस्तित्वको !

निराशा, भय, र अन्त्यको मिश्रणमा
तँ निःशब्द उभिएको छस्
ऊ सलबलाएको छ जताततै
गिज्याउँदै तेरो सर्वोच्ता र सम्बृद्धिलाई
तेरो मुटु थर्रथराउँन थालेको छ
धकेलिएको काँचको गिलासभित्रको रक्सीझैं
ऊ भने सगर्व धवा बोलिरहेछ
र, भनिरहेछ–
मान्छे ! बम्हाण्डको निर्णायक तँ एक्लो होईनस्
न थिईस् न हुनेछस्
प्राप्तीको अधिक उचाईबाट अब तँैले तल झर्नै पर्छ
समानता र सरलताको सुक्ष्म नियममा तैँले चल्नै पर्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 18 चैत्र, 2076

लेखकका अन्य रचनाहरु