डाकबंगला उपन्यास - आज फर्केर हेर्दा

- नवीन पौड्याल

१. आमुख -
शिवकुमार राई नेपाली साहित्यका एक सफल कथाकारका रूपमा अमर छन्। उनी कथाकारबाहेक उपन्यासकार, कवि, निबन्धकार, नाटककार हुन्। उनको व्यक्तिगत जीवनलाई केलाएर हेर्दा उनी एक कुशल राजनेता पनि थिए। यद्यपि उनको साहित्यिक योगदान नै सर्वोपरी रहेको छ। उनका पाँचवटा कथासङ्ग्रह, एउटा उपन्यास, एउटा खण्डकाव्य, केही एकाङ्की नाटक, केही फुटकर कविता र केही निबन्ध प्रकाशित भएका छन्। उनले आफ्नो जीवनको अधिकाङ्श भाग नै नेपाली साहित्यलाई समर्पित गरेका हुन्।
२. विषय प्रवेश –
सन् १९५६ मा प्रकाशित शिवकुमार राईको डाकबङ्ला उपन्यासमा केही विशिष्ट पक्षहरू पाइन्छन्। यसभित्र कथावस्तुका आफ्नो समयमा प्रतिविम्बित सामाजिक, आर्थिक, राजनैतिक आदि यसका स्रोत रहेका छन्। पात्र चयनमा विशिष्टता, परिवेश सिर्जनामा रोचकता, भाषा र शैली प्रयोगमा सरलता, सरसता, स्पष्टता आदि विशेषता रहेका छन्। यद्यपि शिवकुमार राई आफुभन्दा अघिका रूपनारायण सिंहबाट निकै प्रभावित भएको देख्न पाइन्छ। रूपनारायण सिंहको भ्रमर उपन्यासको नायक पात्र, परिवेश सिर्जना, जातीय चिन्तन पक्ष, मिस्टर एच बी व्यास्नेत कथाको हास्य पात्र आदिबाट धेरै प्रभावित देखिन्छन्। एकसय ब्यानब्बे पृष्ठमा आवद्ध डाकबङ्गला उपन्यास तीन खण्डमा विभाजित छ। पहिलो खण्डमा बाह्र परिच्छेद, दोस्रो र तेस्रो खण्डमा आठ आठ परिच्छेद रहेका छन्। सन् १९५६ सालमा प्रकाशित भए तापनि यो उपन्यास एकै पटकमा नलेखेर पटकपटक गरी उन्नाइस सय चालिसको पछिल्ला वर्षदेखि पचासको आसपासमा लेखेको अनुमान गर्न सकिन्छ। यसमा विशेगरी दोस्रो विश्वयुद्ध शुरूदेखि अन्त्यसम्मको नै वर्णन भएकाले चालिसको पछिल्ला वर्षहरूमा लेखेको हुनसक्छ।
३. डाकबङ्गला उपन्यासमा यथार्थवाद –
शिवकुमार राईको डाकबङ्ला उपन्यासभन्दा पहिले मूलतः नेपाली उपन्यास दुई धारा विद्यामान थिए- रूपनारायण सिंहको भ्रमरद्वारा प्रतिपादित स्वच्छन्दतावादी धारा र लैनसिंह बाङदेलद्वारा प्रतिपादित यथार्थवादी धारा। डाकबङ्ला उपन्यासको अध्ययन गरे यसमा यथार्थवादी पक्ष नै बढी पाइन्छन्। भ्रमर उपन्यासको प्रभावबाट लेखिएको जस्तो लागे पनि यो डाकबङ्गला स्वच्छन्दतावाद र यथार्थवादको दोसाँधमा पाइन्छ। सामान्य युवकलाई नायक बनाइएको छ। उभित्र सुगुण र दुर्गुण दुवै खालको यथार्थवादी चरित्र पाइन्छ। नायकभित्र स्त्रीलम्पटता र मदपानको कुलत देखिन्छ। बरू छोटो समयका निम्ति भए पनि बर्माको लडाइँमा बहादुरी देखाउँछ। उभित्र खासै जीवनको लक्ष्य देखिन्न। उ शेखरभन्दा बढी भ्रमर चरित्रको छ। उ नयाँ नयाँ युवतीहरूसँग प्रेम गर्दै र छोड्दै हिड्ने खालको छ। उसले रत्ना, कान्ता र रूपाले साँचो मनले प्रेम गरेको बुझ्दैन र बुझे पनि लत्याइदिन्छ। उसले रत्नाजस्तो ग्रामीण बाला अनैतिक फाइदा उठाए बासनात्मक प्रेम गर्‍यो, कान्तासित प्रेम गर्‍यो तर मर्म बुझेन, रूपासित पनि खेलवाड गर्‍यो। तेह्र वर्षको सानै उमेरमा गाउँमा सार्की पुतलीसित शारीरिक सम्पर्क राखेर उसलाई बर्बाद बनाएको। बर्माकी बर्थाले पनि आफुलाई मन पराए पनि लत्याएर हिँडेको छ। कतैकतै उभित्र प्रकृतवादी चेतना देखिन्छ।
४. डाकबङ्गला उपन्यासमा ऐतिहासिक सन्दर्भ –
डाकबङ्गला उपन्यासलाई आज फर्केर हेर्दा यसभित्र आजभन्दा लगभग सत्तरी अस्सी वर्षको दार्जिलिङ र नेपाली समाजको धेरै ऐतिहासिक पक्ष र तथ्यहरू उद्घाटित भएका छन्। यसबारे केही पक्षहरूको संक्षिप्तमा चर्चा गरिन्छ।
४.१. दार्जिलिङ शहरको वर्णन –
डाकबङ्ला उपन्यासको मूल कथावस्तु दार्जिलिङ शहर रहेको छ। यसमा दार्जिलिङ शहरको यथावत् वर्णन गरिएको छ। यसमा दार्जिलिङ शहरका बाटा-घाटा, ठाउँको नाम, पसलको नाम, पसलेको नाम आदिको उल्लेख गरिएको छ। चौरस्ता, बर्चहिल, मालरोड, हावाघर, महाकाल मन्दिर, फर्नडेल पथ (आजक आर एन. सिन्हा पथ), बृजमोहनको कपडा दोकान, देवचन्दको दोकान, भण्डारीको पान पसल, चोकबजार, चोकबजारको पोस्ट अफिस, चोकको सिनेमको पोस्टर हेर्ने मानिसहरूको भीड, पुलिस चौकी, टुनिरामको दोकान, प्लिभा, एनएनएचपी हल, लेबोङ, भोटे बस्ती, सुकिया पोखरी, जोरपोखरी, डाकबङ्गला, सन्दकपु, झापा आदि जस्ता ठाउँहरूको नामोल्लेख गरिएको पाइन्छ। चौरस्तामा दार्जिलिङ घुम्न आउने विदेशी र बंगाली पर्यटकहरूको अधिक मात्रा देखिन्थे। ती पर्यटकका नानीहरू त्यहाँ खेल्ने क्रीडा-कौतुक गर्ने घोडा चडेर जाने आदि देखाइएको छ कोलकाता र अन्य मधेस खण्डमा गर्मी महिनामा हुने अधिक गर्मीबाट बच्न केही दिनका लागि भए पनि दार्जिलिङ घुम्न जाने चलन रहेको देखाइएको छ जो आज पनि यथावत् छ। प्रेमी-प्रेमिका भएर माल रोड र लभ रोड घुम्न जाने चलन पनि चालिसको दशकमा देखाएको छ। बर्चहिलको जङ्गलको बाटाका दुवैतिर उनिउ झुलेका, नागबेलीका लहरा र ढुङ्गाको चेपचापमा मगरकाँचे फुल ढकमक्क फुलेका हुन्थे। शहर सफा थियो।
उसबेला दार्जिलिङमा बाइस्कोप हेर्ने चलन खुब थियो। अरू दिनभन्दा शनिबारको दिन सिनेमा हेर्न जानेहरूको भीड लाग्थ्यो। उसबेलाका सिनेमाहरू हन्टरवाली, लाल निशान, फौलादी मुक्का आदि लोकप्रिय थिए। अशोक कुमार र देविका रानी लोकप्रिय नायक-नायिका तथा बिलिमोरिया, माधुरी, गौहर, सुरेन्द्र आदि अभिनेता प्रसिद्ध थिए। त्यसबेला दार्जिलिङमा शनिबारका दिन हाट लाग्ने गर्थ्यो र उक्त दार्जिलिङकै वरिपरिका कृषकहरूले उमारेका साग-सब्जी हाटघरमा बेच्न राखिन्थ्यो। कसै कसैले मतिगढा र नक्सलबारीबाट पनि सब्जी ल्याएर बेच्ने गर्थे। सिन्द्राबुङबाट बिजुली उत्पादन गरेर दार्जिलिङ शहरमा बिजुली बत्ती बल्ने गर्थ्यो। यद्यपि भोटे बस्तीतिर भने त्यतिबेला बिजुली पुग्न सकेको थिएन। कान्ताको भोटेबस्तीको घरमा लालटेन नै जलाएको उल्लेख पाइन्छ। दार्जिलिङमा ग्रामोफोन र तार (टेलिग्राम)को प्रणाली थियो। पोस्ट अफिस, क्यापिटोल हल, बोटनिकल गार्डन र त्यसको मुन्तिरको तलाउ, पैदलै सन्दक्पु जाने चलन त्यति बेला पनि थियो।
४.२. दार्जिलिङको भौगोलिक स्थिति र मौसमी परिवेश –
आज झैं आजभन्दा सत्तर अस्सी वर्ष पहिलेतिर भौगोलिक स्थिति र मौसमका आधारमा दार्जिलिङ खुबै विख्यात रहेको छ। अहिलेभन्दा धेरै जाडो हुनेगरेको र दार्जिलिङमा हिउँ र तुसारो परिरहने कुरा उल्लेख गरिएको छ। सुकेपोखरीतिर झन कठ्याँग्रिने चिसो हुने गरेको पाइन्छ। बर्खामा अत्यन्त बढी पानी पर्ने गरेको देखाइएको छ। मई जुन महिनातिर पनि जाडो हुनाले पर्यटकहरू दार्जिलिङ आउने चलन त्यति बेला पनि थियो।
४.३. दोस्रो विश्वयुद्धभन्दा अघिको दार्जिलिङको यातायातको स्थिति –
उपन्यासमा दोस्रो विश्वयुद्धलाई निकै केन्द्र गरेर वर्णन गरे तापनि दोस्रो विश्वयुद्ध भन्दा अघिको दार्जिलिङको समाजका धेरै पक्षहरूको उल्लेख पाइन्छन्। उसबेला दार्जिलिङ ब्रिटिसको निकै प्रिय ठाउँ थियो। मानिसहरू दार्जिलिङ र यसका वरिपरिका चियाकमान, सुकेपोखरीको बनवस्तीतिर थोरै मात्रामा गाडी कुद्ने गरेको उल्लेख पाइन्छ। त्यतिबेला दार्जिलिङ सिलगडीलाई जोड्ने रेल र बसगाडी थिए। दार्जिलिङको स्टेसनबाट बिहानको साँडे दसबजे रेल यात्रा शुरू भई ठुलो साँझ परेपछि सिलगडी पुग्थ्यो। नेपालको झापाको कुनै गाउँदेखि गोरूगाडीबाट नक्सलबारीसम्म आउनुपर्थ्यो र नक्सलबाट रेल चढेर सिलगडी र त्हाँबाट पनि कि रेलबाट कि बसगाडीबाट दार्जिलिङ जाने गरिन्थ्यो।
४.४. दोस्रो विश्वयुद्ध र दार्जिलिङमा यसको प्रभाव -
सन् १९३९ देखि १९४५ सम्म चलेको विश्वयुद्धले संसारमा हाहाकार चलेको थियो। सन् १९३९ सालको विश्वयुद्धको थालनीको प्रसङ्ग पाइन्छ। दार्जिलिङमा पनि यसको प्रत्यक्ष र परोक्ष प्रभाव परेको थियो। दार्जिलिङमा यसको प्रभाव मूलतः दुई प्रकारले परेको थियो- दार्जिलिङका अधिक युवक युवती सेनामा भर्ना लिएर युद्धमा सामेल भएका र दार्जिलिङमा उक्त युद्धकालमा दैनिक घरेलु र आवश्यक सर-सामानको अभाव वा महङ्गी। उस बेलाका दार्जिलिङ र नेपालबाट धेरै मात्रामा युवकहरू बेलायती सेनामा भर्ना भएर दोस्रो विश्वयुद्धमा सामेल भएका थिए। उनीहरूका घरमा लडाइँमा जाने छोराको चिन्ता हुन्थ्यो। रूपा नर्सको रूपमा बर्मामा गएकी छ। हजारौं गोर्खा युवकहरू ब्रिटिस सेनामा भर्ती भएऱ लडाइँमा सामेल भएका छन्। दार्जिलिङको घूममा गोर्खा भ्रती डिपोमा हजारौं गोर्खाली केटाहरूले नाम लेखाएर ब्रिटिस सेनामा भर्ती लिएका थिए। अलिकति पढेको र चलाक हुने युवकहरू भाइसरोय कमिसनबाट भर्ती भएर जमदार हुन्थे। उपन्यासमा गोर्खाली पल्टनले जापानविरूद्ध बर्मामा घनघोर युद्ध गरेको प्रसङ्ग उल्लेख गरिएको पाइन्छ। थामसिंहको नेतृत्वमा गोर्खा रेजिमेन्टको एक टुक्रीले बर्माको जङ्गलमा मोर्चा सम्हालेर बर्माको एक प्रान्तमा लडेका थिए। त्यसमा चन्द्रप्रकाश पनि बर्मामा गएर लडेर घाइते भएको छ। ह्यान्ड ग्रेनेड, डायनामाइट आदि मुख्य हतिहार प्रयोग भएको उल्लेख पाइन्छ। बर्मामा युद्धको समयमा साइरन लाग्दा नागरिकहरू ट्रेन्चमा लुक्नुपर्ने अनि अर्को अल क्लियरको साइरेन बजेपछि यथास्थानमा जान सकिने नियम थियो। दोस्रो विश्वयुद्ध कालमा अमेरिकी सेनाका हब्सी प्रजातिका र गोरा मानिसहरू दार्जिलिङमा देखिएका थिए। दार्जिलिङमा पनि युद्धकालमा अन्न पानीको अभाव र महङ्गाई बढेको इत्यादि देखिन्छ। दार्जिलिङका पहाडेहरूको बुद्धि हुँदैन, अर्काको चाकरी र गुलामी गर्न मात्र तम्सिने र पापी पेटका लागि विश्वयुद्ध गर्न सिपाहीँ भएर जान तम्सिने, पैसाको निम्ति जे गर्न पनि तयारी भएको भनेर त्यस बेलाका मानिसहरूको टिप्पणी पाइन्छ। जो अहिले पनि यस्तै गुनासो यथावत् छँदैछ।
४.५. बर्माको नेपाली समाज र दोस्रो विश्वयुद्ध –
आजको म्यानमार पहिले बर्मा थियो। त्यहाँ भारतीय सँगसँगै गोर्खालीहरू पनि शताब्दीदेखि रहिआएका थिए। त्यहाँको मेम्यो, टाउँजी, मचिना, भामु आदि ठाउँहरूमा गोर्खलीहरू बस्ने गर्थे। मेम्यो भन्ने ठाउँमा सरदार मनबहादुर गुरूङले त्यहाँको बरबटियामा एउटा निशुल्क नेपाली भर्नाकुलर स्कुल खोलेका थिए र उक्त स्कुलको चौबिसजनाको सढ्चालन समितिले आर्थिक सहयोगको निम्ति समाजमा गुहार्दा बर्मामा रहेका गोर्खाली सैनिकहरूले चन्दा दिएको उल्लेख पाइन्छ। (नेपाल (सम्पा): गोर्खा सेवक, वर्ष १ अङ्क १५)। बर्मा पनि ब्रिटिस शासनको अधीनस्थ भारतकै एउटा प्रान्तको थियो र यसलाई भारतबाट छुट्याएर अलग प्रशासनिक प्रान्त बनाउने कुरा चलिरहेको थियो। त्यतिबेला लगभग छ लाख भारतीय र दुई लाख जति गोर्खालीहरूलाई बर्माको स्थानीय सरकारले हटाउने भएको थियो। ब्रिटिसहरूले समेत गोर्खालीहरूलाई आफ्नो प्रजा मानेका छैनन् भनेर उल्लेख पाइन्छ। (गोर्खा सेवक, वर्ष १, सङ्ख्या १६, १५ अप्रेल, १९३६, सम्पादक डा खेमराज नेपालद्रवारा सम्पादित गोर्खा सेवकको संङ्कलन, पृष्ठ १००)
डाकबङ्ला उपन्यासमा दोस्रो विश्वयुद्धको पृष्ठभूमि, कारण र वर्णन सबै पक्ष सङ्क्षिप्त भए पनि वर्णित छन्। सय वर्षभन्दा अघिदेखि बर्मामा रहिआएका गोर्खालीहरू विस्तारै स्थानीय सरकार र मानिसहरूको कोपभाजनको शिकार भए र बिदेशीका रूपमा ठानेर त्यहाँबाट हटाउने काम शुरू गरेको थियो। अझ दोस्रो विश्वयुद्धमा जापानले बर्मामा छापा मार्दा ती गोर्खालीहरू बिचल्नी परेका थिए। त्यहाँ लाखको सङ्ख्यामा गोर्खालीहरू एकाएक भागेर हिँड्नुपरेको थियो। बाटामा पनि स्थानीय बर्मेली मानिसहरूले शरणार्थी गोर्खालीहरूले रूपियाँ-पैसा, सुन-चाँदी र अन्य मूल्यवान वस्तु लान नपाउन् भनेर लुट्ने गरेको समेत प्रसङ्गको उल्लेख छ। तिनीहरू महिनौं पैदल हिँडेर आफन्त र आश्रमको खोजीमा कोही नेपाल र दार्जिलिङतिर आएका थिए। उपन्यासकार स्वयं खरसाङमा बर्मेली शरणार्थी त्राण शिविरको सचिव रही काम गरेका थिए। यद्यपि खरसाङका मानिसहरूले रेलस्टेसनमा बसेका शरणार्थीहरूलाई आ- आफ्ना जातभाइलाई लैजाँदा शरणार्थी समस्या समाधान भएको थियो र तिनीहरू विशेषगरि खरसाङको डुमाराम र तलतिरका चियाकमानतिर गई बसोबासो गर्न थालेको उल्लेख पाइन्छ। (कुलबहादुर राई, प्रवासी नेपालीमा साहित्ययको विकास, काठमाडौं, सं २०७०, पृष्ठ १३६)
५. डाकबङ्ला उपन्यासमा तत्कालीन सामाजिक सन्दर्भ –
समाज अध्ययनका दृष्टिले डाकबङ्गला उपन्यास विशिष्ट छ। यसमा लगभग चालिसको पछिल्ला र पचासको अघिल्ला वर्षहरूमा दार्जिलिङको सामाजिक स्थितिको यथार्थ वर्णन गरिएको पाइन्छ।
५.१. उपन्यासका पात्रहरूको नामकरण –
अहिलेको समयभन्दा प्रायः साठी सत्तर वर्ष अघिको दार्जिलिङे नेपाली समाजमा मानिसहरूको नाम कस्तो कस्तो हुन्थ्यो भन्ने कुरा बुझ्न यो डाकबङ्ला उपन्यासमा पात्र पात्राको नाम हेर्दा थाहा लाग्छ। यसभन्दा अघिको भ्रमर उपन्यासको पात्रगत नामकरण हेर्दा बङ्गाली समाजको सचेत र शिक्षित मानिसहरूको जस्तो लाग्छ भने डाकबङ्ला उपन्यास भने तत्कालीन अशिक्षित, अल्पशिक्षित मानिस-हरूले शहर, कमान र बस्तीतिर कस्तो नाम राख्ने गर्थे भन्ने कुरा जान्न पाइन्छ। नायक चन्द्रप्रकाश (बोलाउने नाम प्रकाश), बहुनायिकाहरू रत्ना, कान्ता र रूपा प्रमुख पात्रका रूपमा सामान्य सचेत नामाकरण भएका छन्। अन्य सहायक र गौण-अतिगौण पात्र-पात्राको नामहरूमा शिक्षा र स्तरअनुसार राखिएका छन्। पुतली, बर्था, चौकीदारनी, मनमाया, काइँली भुजेल्नी, माया, खरदार्नी, चुन्चुरी, थन्चुमाया, इत्यादि जस्ता महिला नाम पाइन्छन् भने हर्कसिंह मास्टर, पञ्चेको बाबु, काइँला भुजेल, केवलसिंह खँडका, लालधोज, चौकीदार, थामी, खामसिंह, जर्मनसिंह, खँड्का बुढा, जरसाहेब, कान्छा दाजु, बीरेको बाबु आदि रहेका छन्। तिनमा कतिको ठेटपन पाइन्छ। तिनमा बङ्गाली युवतीको नाम भने रेवा मजुमदार रहेको छ जो बङ्गाली सभ्य समाजको उपज हो। एउटा अङ्रग्रेज अफिसर मेजर हडसन पनि देखा परेको छ। बर्मेली नेपाली समाजमा अँग्रेजको प्रभावको कारण बुथुरीको नाम बर्था पारिएको छ। सुकेपोखरीका सरदार जबरधोज याखा सम्पन्न छन्।
५.२. तत्कालीन दार्जिलिङे समाजमा बसाईं सर्ने सन्दर्भ –
मानव स्वभावको रूपमा रहेको बसाइँ सराइ यस उपन्यासमा पनि यत्रतत्र उल्लेख छ। तत्कालीन गोर्खाली समाजमा बसाइँ सर्ने चलन कायम रहेको देखाइको छ। नेपालको पहाडबाट बर्सेनी हजारौं बसाइँ सरेर दार्जिलिङ आएको उल्लेख छ। तीमध्ये अधिकतर गरिबी र अजातमा बिहे भागेर आएका बढी देखाइएको छ। कान्ताहरू बर्माबाट आएर दार्जिलिङको भोटेबस्ती बस्तीमा घर बनाएर बसेका हुन्। चन्द्रप्रकाश दार्जिलिङमा पढेर दोस्रो विश्वयुद्धको समयमा सेनामा भर्ती भएर भएर बर्मामा लडाइँ गर्नपुगेको छ। कान्ता आफ्नो लोग्नेसित फेरि बर्मा बसाइँ सरेकी छ। रूपा पनि बर्मामा गएर नर्स भएर बस्नु परेको छ। युगौंदेखि बर्मामा बसेका खँडका र अन्य गोर्खालीहरू दोस्रो विश्वयुद्धको कारण त्यहाँबाट पलायन भएर अन्यत्र बसाइँ सर्नु परेको। उनीहर कोही आसाम, कोही दार्जिलिङ र कोही नेपाल गएको कुरा वर्णित छ। उनीहरू बर्माबाट भागेर पैदल आउँदा बाटामा दुख र कष्ट पाएको, आधाभन्दा धेर मरेको उल्लेख छ। शरणार्थी भएर हिडेका गोर्खालीहरूलाई बाटामा नै बर्मीहरूले छेकी छेकी धन लुटेको, मारेको उल्लेख पाइन्छ।
५.३. तत्कालीन दार्जिलिङे समाजमा जातपात प्रथा –
तत्कालीन नेपालको नेपाली समाजमा जातपातको निकै कट्टरता थियो भने दार्जिलिङको नेपाली समाजमा भने जातपातको उस्तो कट्टरता उपन्यासमा वर्णित देखिन्न। चन्द्रप्रकाशको झापाको घरमा सर्किनीसित उसको बात लाग्दा त्यो सार्कीको घरलाई नै गाउँबाट हटाएर खोलापारिको अर्कै गाउँ सारिएको थियो। समाजको नजरमा सानो जातको कारण नै पुतली दोषी, पातकी ठहरिएकी थिई। उसले चन्द्रप्रकाशलाई आफु परित्यक्त भएको कुरामा खिन्नता व्यक्त गरेकी छ। काइली भुजेल्नी पनि छेत्रीकी छोरी भएर भुजेलसित प्रेम गरी गाउँबाट नै भागेर दार्जिलिङको जोरपोखरी गाउँमा बस्न थालेकी थिई। उसलाई आफ्ना आमा बाबु र माइतीको माया भए पनि अर्को जातसित बिहे गरेर आएको हुनाले माइत जान सक्दिन। दार्जिलिङमा कसैलाई पनि जातको आधारमा उल्लेख गरिएको पाइन्न।
५.४. समाजको आर्थिक आय र सामन्ती ब्यवस्था –
उसबेला पनि दार्जिलिङ शहरको व्यापार र आर्थिक कारोबार र सञ्चालन गोर्खालीको भन्दा मारवाडी समुदायको थियो। गोर्खालीहरू भने ससाना सब्जी बेच्ने, गाडी चलाउने र अन्य फुटकर काम गर्ने गर्दथे। अझ चौरस्ताको अस्तबलअघिल्तिर रिक्सावाला (रिक्साको चलन थियो), डंडीवाला, भारी बोक्ने श्रमजीवी र कामबिनाका मानिसहरू दिनभरि तास खेलेर बिताउँथे। त्यतिबेला दार्जिलिङका गोर्खालीहरू ठुलो ओहोदामा हुँदैन थिए। एक पात्र रत्नमान कार्की वनविभागको रेन्जरसम्म पुगेको उल्लेख पाइन्छ। यीबाहेक चौकीदार, ब्रिटिस सेनाका सिपाही, ड्राइभर, चियाकमानका श्रमिक, कोही कम मात्रामा प्राथमिक तहका शिक्षक-शिक्षिका भएका देखिन्छन्।
उपन्यासमा दार्जिलिङमा सामन्ती प्रथा सोझै रूपमा नदेखाए पनि यसकै सिमानामा रहेको नेपालको झापा जिल्लामा भने विद्यमान रहेको देखाइएको छ। यसको उदाहरणस्वरूप चन्द्रप्रकाशको झापाको घर हो। उसको बाबु झापा जिल्लाकै खरदार थिए। उसको घरमा धन वैभव थियो। घरमा नोकरचाकर-कमारा कमारी राख्ने चलन थियो ती नोकरचाकरलाई निर्जीव वस्तुसरह व्यवहार गरिने, काम लाउने अनि काम सकेपछि पन्छाउने गरिन्थ्यो। उसको उमेर तेह्र वर्षको हुँदा उसलाई स्याहार सुसार गर्ने तरूणी पुतली खटिएकी थिई, घरको देखभाल गर्ने भुजेल, खाना पकाउने भान्से बाहुनी, अरू नोकरचाकरले भरिएको थियो। चन्द्रप्रकाशको मति सानैदेखि बिग्रिएको हो। उसले सेविका पुतलीलाई किशोर अवस्थामा नै अनैतिक शारीरिक सम्पर्क राखेर गर्भ धारण गराएदिए पनि सामन्तको सन्तान भएकाले उ उम्किन सकेको थियो। बरू सर्किनीका परिवारै टाडा गएर बस्नुपर्‍यो। उसलाई विद्यालयीय शिक्षा दिन दार्जिलिङ राख्ने व्यवस्था गरिए थियो। भुजेलले चन्द्रप्रकाशसित बोलेको भाषा नै सामन्ती व्यवस्थाको हो। ‘ज्यूनार गरिबक्सनु’, ‘ठुलो राजा, मालिकनी हामी सबैलाई टुहुरा बनाएर हिंडिबक्स्यो’, ‘भुजा ज्यूनार नभै सवारी नहोस् है’, ‘मरजी भए जस्तो लाग्छ’, ‘त्यो आइमाईको कुरा नसोधिबक्सियोस्’, ‘मालिकले निकालीबक्सेपछि’, ‘सवारी चलाउने’, ‘ठुलो राजा स्टेसन आइपुग्यो, ओर्लिबक्सिन्न’? आदि वाक्यले नै सामन्ती प्रथाको झलक दिन्छ।
५.५. जाँड-रक्सी खाने चलन र यसबाट भएको नोक्सानीको अङ्कन –
गोर्खाली समाजमा जाँड रक्सी खाने चलन अधिक मात्रामा भएको पाइन्छ। बीसौं शताब्दीको चालिस-पचासको दशकमा दार्जिलिङको गोर्खाली समाजमा पनि जाँड रक्सी खाएको, यसले परिवार समाज र स्वस्थ्य बिगारेको तथ्य प्रकाश गरिएको छ। नवम श्रेणीमा पढ्ने चन्द्रप्रकाश यसकै कुलतमा परेको छ। यतिसम्म कि कान्ताको रक्सी पसलमा पिउनुसम्म पिएर अचेत अवस्थामा बान्ता गरेको र त्यो फोहोर-मैला कान्ताले सोहोरिदिएको देखाइएको छ। पञ्चेको बाबु, हर्कसिंह मास्टर रक्सी खाएर आफ्नो घर बर्बाद पार्छन्। हर्कसिंह मास्टर रक्सी खाएर जुवा तासमा पनि अघि सर्छ, अन्य जुवाडेहरूसित झगडा गरेर पुलिसले समातेर थाना लान्छन्। कान्ताको बाबु ब्रिटिस सेनाको सुबेदार भएर पनि पछिबाट दार्जिलिङमा आएर बसेपछि रक्सीको लत लागेको, लेबोङको घोड रेसमा बाजी लगाएर हार्दै गएपछि सम्पत्ति स्वाहा भएको, रक्सी अधिक खाएर घरलाई ऋणमा डुबाएर आफु बेला रोग लागेर मरेको, स्वास्नी र छोरीले घर बेचेर ऋण तिरी रक्सी पसल थाप्नु परेको विवशता देखाइएको छ। उक्त समयमा बिदेशी लेबलवाला ह्विस्की ब्रान्डीभन्दा स्थानीय घरेलु जाँड रक्सीको चलन देखाएको छ। चन्द्रप्रकाश जस्तो रक्सको सौखिन धनाढ्यलेसमेत घरबनुवा तीनपाने रक्सी खाएको छ। लडाइँको समयमा भने बर्माको अफिसर मेसमा भने ह्विस्की-ब्रान्डी खाएको उल्लेख छ।
५.६. तत्कालीन दार्जिलिङमा फेसनको अवस्था-
फेसनका निम्ति दार्जिलिङ प्रसिद्ध छ। उहिले पनि दार्जिलिङे समाजमा फेशन विद्यमान थियो। उपन्यासकी रूपा फेसनदार वस्त्र, केश विन्यास धारण गर्थी। कालो गगल्स लाउँथी। उस बेला युवतीहरूमा हाइल्याण्डरको शाल र ओभरकोट निकै प्रचलित थियो। उस बेला रूपाले साठी रूपियाँमा ओभरकोट बृजमोहनको पसलबाट किनेकी थिई। कलेज पढ्दै गरेका युवकहरू मोनोग्राम लाएको कोट लाउने सौख राख्थे। चन्द्रप्रकाश पनि फेसनदार भएर चिल्लो बनाएर कपाल कोरेर हिंडथ्यो। त्यसबेलाको लोकप्रिय नायक अशोक कुमार र नायिका देविका रानी थिए। नायक र नायिकाका ढाँचामा युवक युवतीहरूमा पहिरन र केस सज्जाको फेसन थियो।
५.७. तत्कालीन दार्जिलिङमा शिक्षा व्यवस्था –
उपन्यास सिर्जना कालमा दार्जिलिङमा शिक्षाको व्यवस्था रहेको देखाइएको छ। उसबेला दार्जिलिङमा केही अँग्रेजी स्कुल र सरकारी स्कुल तथा एउटा कलेज भएको देखाइएको छ। उपन्यासमा महारानी स्कुल, कन्भेन्ट स्कुल, सरकारी स्कुल आदिको उल्लेख छ। उस बेलाका हुनेखानेले आफ्ना छोरी सन्तानलाई कन्भेन्ट स्कुल हालेको (कान्तालाई उनको बाबुले), बाहिरबाट भने दार्जिलिङमा पढ्ने आउने (चन्द्रप्रकाश, रेवा मजुमदार आदि) पनि चलन निकै थियो। चन्द्रप्रकाश सरकारी विद्यालयको होस्टेल बसेर नौं दशौं श्रेणीतिर पढ्छ। उक्त होस्टेलका सुपरिवेक्षक पण्डित बाजे सम्भवतः पण्डित धरणीधर कोइराला थिए, जो निकै अनुशासनप्रिय थिए। रूपा महारानी स्कुल पढ्छे, कान्ता पहिले बाबुले धन ल्याएको बेला कन्भेन्ट पढ्थी भने पछि धनाभावमा महारानी स्कुल हालिएको थियो। प्रौढहरूका निम्ति रात्री पाठशाला पनि सञ्चालित देखिन्थे। आममानिसमा ‘पढीगुनी कौने काम हलो जोती खायो माम’ भन्ने चलन पनि थियो। केटाहरू पढ्ने गरे पनि केटीहरूलाई उति बढी पढाउने चलन थिएन। केटीहरूले दशौं श्रेणीसम्म पढेका भए धेरै पढेको मानिन्थ्यो।
५.८. तत्कालीन नेपाली समाजमा नारीको स्थिति -
डाकबङ्गला उपन्यासमा नेपाली समाजमा नारीको दयनीय स्थिति देखाइएको छ। पुरूषहरूद्वारा विभिन्न कारणले नारीहरू प्रताडित छन्। प्रथमतः चन्द्रप्रकाशको झुटो प्रेम र धोकाबाट रत्ना र कान्ता प्रताडित छन्। रत्ना त झन चन्द्रप्रकाशको बासनाको शिकार भएर गर्भ धारण गरेपछि अत्यन्त पीडित बनेकी छ। समाजको अघि उ अपराधिनीसरह भएकी छ र चन्द्रप्रकाशले उसले गर्भावस्थामा अपनाउन नआएपछि उ घरबाट निकालावास भएकी छ र बाध्य भएर आत्महत्या गर्छे। कान्ताले पनि दुःख पाएकी छ। उ त झन बर्माको खण्डहर भएको पुरानो डाकबङ्गलामा नानी जन्माउनेबित्तिकै मर्छे। माया भन्ने नारी पनि पीडित छ। यद्यपि जस्तै मत्थु लोग्ने भए पनि लोग्नेलाई पुलिसले पक्रेर घिसारेर थाना लाँदा भने पुलिससित चर्को तर्कातर्की गरेर लोग्नेको बचाउ गर्न पुग्छे। रूपा पनि हतभागिनी भएर दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनाको नर्स भएर सूदुर बर्मामा बस्छे। पुतली त झन चन्द्रप्रकाशको गर्भ धारण गरेपछि जातभातको कारण गाँउबाट निष्कासित भएकी छ र झ चन्द्रप्रकाशकै गर्भको बालक छोरालाई लिएर अर्को गाउँमा एक्लै बसेकी छ। प्रायःसबै नारीहरू उत्पीडित, प्रताडित, लाञ्छित छन्। उस बेला दार्जिलिङ पहाडमा केही कन्या विद्यालय खोलिएका थिए। तीमध्ये अङ्ग्रेजका छोरीहरूलाई शिक्षा दिन दार्जिलिङको कन्भनेट, गर्ल्स बोर्डिङ (१८९०), खरसाङको डाउहिल (१८९८), सेन्ट हेलेन्स, कालिम्पोङको सन्त जोसेफ्स कन्भेन्ट, कन्या विद्यालय र सन्त फिलोमिना विद्यालय (१९३२) आदि अङ्गेजी विद्यालय प्रमुख रूपमा थिए। बंगाली कन्याहरूलाई पढाउने खरसाङको राजराजेश्वरी विद्यालय र दार्जिलिङको महारानी विद्यालय थिए। महारानी स्कुलमा उस बेला सयकडामा निनानब्बे बंगाली केटीहरू पढ्ने गर्थे। यो स्कुल बंगला माध्यमबाट यहाँका बंगाली भाषी भारतीय केटीहरूलाई पढाउन निजी तवरबाट शुरू गरिएको थियो। यद्यपि उस बेला स्थानीय कन्याहरू पढ्ने भने त्यति पाउँदैन थिए। रत्ना छैटौं श्रेणीसम्म पढेर स्थानीय प्राथमिक पाठशालामा अवैतनिक तवरमा शिशुहरूलाई पढाउने गर्थी। कान्ता र रूपाले पनि मेट्रिकभन्दा अघि बढेको उल्लेख छैन। कान्ताकी आमा मनमायाले भनेकी छ – “हाम्रो पालीमा आइमाइले पढे बोक्सी ज्ञान सिक्छे भन्थे” (डाकबङ्गला, पृष्ठ ४३) उस बेला समाजमा नारी र पुरूष सँगै देखे भने अरूले कुरा काट्ने, नैतिकताको कुरा व्यक्त गर्ने र बिहेपछि माया प्रीति गर्नुपर्ने कुरा पात्रले व्यक्त गरेको पाइन्छ।
उसबेला नारीहरूमा भर्खर भर्खर शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक चेतना पनि आउँदै गरेको थियो। रूपालगायत उसका बंगाली साथीहरूले महिला समिति खडा गरेको कुरा उल्लेख गरिएको छ। उक्त महिला समितिको सदस्यताका लागि उनीहरू कान्ताको घर पनि आएका थिए र रूपाले कान्तालाई नारी हकसम्बन्धी तर्क राखेकी छ। त्यो महिला समितिको उद्देश्य नारीहरूको बौद्धिक, मानसिक शारीरिक, आर्थिक, नैतिक सबैप्रकारको विकास ल्याउने, सिक्न चाहने दिदीबहिनीहरूलाई सिलाइ-बुनाइ सिकाउने, रात्री पाठशाला खोली अनपढ नारीहरूलाई अक्षर चिनाउने, स्वस्थ्य, गृहशिल्प इत्यादि विषयमा शिक्षा दिने रहेको उल्लेख पाइन्छ।
५.९. नेपाली समाजमा अनमेल विवाहको अवस्था –
प्रस्तुत उपन्यासमा समाजको विभिन्न पक्षको उद्घाटन गर्ने क्रममा तत्कालीन दार्जिलिङे समाजमा अनमेल विवाहको पनि उल्लेख पाइन्छ। आमाचाहिँले कान्तालाई उभन्दा धेरै वर्ष जेठो बुढो हुनलागेको सुवेदारसित बिहा गरिदिन्छे। कान्ताकी आमा मनमायाको पनि कलिलै उमेरमा छिप्पिएको मान्छेसित बिहा भएको थियो। काइँली भुजेल्नीको बिहा पनि बुढो उमेर भएको मान्छेसित हुनलाग्दा काइँला भुजेलसित भागेर मुगलान पस्छे। यस उपन्यासमा बालविवाह त उल्लेख पाइन्न।
५.१०. अन्धविश्वासको स्थिति –
डाकबङ्गला उपन्यासमा तत्त्कालीन मानिसहरूमा गढेर रहेको अन्धविश्वास देख्न पाइन्छ। रत्ना, माइली भुजेल्नी आदि अन्धविश्वासमा ग्रसित छन्। रत्नाले चन्द्रप्रकाशको गर्भधारण गरेपछि उभित्र शारीरिक र मानसिक दबावको कारण ऐंठन पर्ने बिमारी हुँदा उसलाई आमाले धामी झाँक्री देखाई, बाहुन हेराई, सिंहे-सिन्डी, डङ्किनी-सङ्किनी, भूत पिशाच मन्छाउन लगाई। रातैपिच्छे डरलाग्दो सपना देख्ने, ऐंठन पर्दा आमाले “कुन छौंडा छौडीले मेरी मैंयालाई दुःख दिन्छ ? ! कसलाई के पुगेन ! सालुप र दलसिंह ढुङ्गाले सोहोरेर सात समुद्र कटाउन लाउँला नी” भनेर बोक्सी लाएको कुरा उल्लेख पाइन्छ।
६. उपसंहार –
शिवकुमार राईले लगभग चालिसको दशकमा लेखेको र सन् १९५६ सालमा प्रकाशित भएको शिवकुमार राईको डाकबङ्गला उपन्यास अध्ययन गर्दा यसभित्र औपन्यासिक पठनबाट आनन्दलाभ हुन्छ भने तत्कालीन दार्जिलिङ र गोर्खाली समाजको दिग्दर्शन र प्रतिविम्बन गरिएको पाइन्छ। यसभित्र दार्जिलिङको सामाजिक, आर्थिक, राजनैतिक, भाषिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक र पारिवारिक स्थितिको अध्ययन गर्न पाइन्छ। उपन्यासको कथानकीय संरचनाभन्दा उपर्युक्त अन्य पक्ष अझ महत्त्वपूर्ण र रोचक छन्।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 चैत्र, 2076

लेखकका अन्य रचनाहरु