रमाइलो गान्तोक यात्रा

- विनोद नेपाल

२०७६ साल वैशाख ११ गते हामी गान्तोक पुग्दा विहानको साढे दश बजेको थियो । यहां आइपुगेपछिको पहिलो काम थियो गासवासको प्रबन्ध । जहांसुकै पुगेपनि गासको लागि त खासै समस्या हुंदैन वासको चांजोपांजो गर्न भने केही कठिन हुन्छ । हामी वासको लागि होटलको खोजीमा लाग्यौं ।
कुनै अत्यन्त स्तरीय र आफ्नो हैसियतले नभेट्ने,कुनै अत्यन्तै निम्न स्तरका,नरुच्ने ।
संगै गएको अर्को जोडीको विचार बुझ्दा, किफायती होटल रुच्यो । अनि दायांवायां गर्ने कुरा भएन ।
एक रात वासको रकम बुझाई खानाको खोजिमा लाग्दा नजिकै शाकाहारी होटल भेटियो, जुन आफ्नो प्राथमिकतामा थियो ।
किफायती मूल्यमा स्वादिष्ट खाना खाइयो ।
अब घुमफिरको योजना बनाउन थालियो । कहांकहां जाने ? सल्लाह गर्दैगर्दा गान्तोकमा हामीले लगेको पश्चिम बंगालको गाडीले हामीलाई कतै पनि घुमाउन नपाउने बुझियो । त्यसपछि हाम्रो गाडीका चालकको सल्लाहमा घुमफिरका लागि स्थानीय ट्याक्सीको खोजीमा लाग्यौं ।
‘देउराली’ शहरको झण्डै मध्य भागमा अवस्थित त्यहांको एक स्थानीय ट्याक्सी पार्क रहेछ । त्यहां पुग्दा ‘सुपन लेप्चा’ नामका चालक भेटिए ।
उनले मीठो भाषामा यहांका प्रशिद्ध ‘टेन प्वाइन्ट्स’का लागि ट्याक्सी रु. १७००÷– भाडा लाग्ने बताए ।
अघिल्लो महिना नैनीताल जांदा त्यहांका प्रशिद्ध ‘सेभेन प्वाइन्ट्स’का लागि यसैगरी ट्याक्सी लिएको अनुभव सुनाउंदै मैले ‘ती प्वाइन्टहरु फरकफरक ठाउंमा छन् कि एकै ठाउंमा ? अगाडी–पछाडी त छैनन् नि ?’ भनेर सोध्दा उनले सबै फरकफरक स्थानमा रहेको जानकारी गराए ।
हामी बीच तिनै स्थानको अवलोकन गर्ने सहमति बन्यो । सोही अनुसार हामीले तत्कालै ट्याक्सीमा बसी योजना अनुसार अगाडि बढ्यौ ।
‘बरपिपल चोक’ हुंदै पहिलो गन्तव्य ‘बन झांक्री वाटर फल्स पार्क’ तर्फ लाग्यौं । जनवरी ५, २००८मा उद्घाटन भएको यो पार्कमा पानीको झरना भएको स्थान वरपर संरचनाहरुको निर्माण तथा सजावट गरी तत्कालीन सिक्किमेली समाजमा रहेको एउटा धामी–झांक्री सम्बन्धी आस्था र विश्वासलाई झल्काउने प्रयास यहां गरिएको रहेछ ।
‘बनझांक्री फल्स’ जांदै गर्दा पारीपट्टी देखााएर सुपनले भने ‘राङ्का’ भन्ने त्यस क्षेत्रमा बाहुन क्षेत्रीको बाहुल्य रहेको बताए । यसअघि नै उनले हामीलाई ‘तपाईंहरु बाहुन हो ?’ भनेर सोधेका थिए ।
यात्राको क्रममा सिक्किमको सबैभन्दा प्रशिद्ध चिज के ? भनेर सोध्दा सुपनले ‘रक्सी र वाइन’ भने । उनले यहां वाइन अत्यन्त सस्तो पाइने बताए । हामीले ‘लौ वर्वाद पो भयो त, हामीलाई त रक्सीको काम छैन, यहांको चिनो के लाने होला त ?’ भन्दा उनी हांसे मात्र ।
पार्कको अवलोकन पछि हामी ट्याक्सी तर्फ फर्कियौं ।
अर्को प्वाइन्ट जाने क्रममा मैले सुपनसंग नेपाली भाषा र साहित्य अनि गान्तोकमा कुनै साहित्यकारको शालिक छ कि भनि सोधें । मेरो जिज्ञासामा उनले आदिकवि भानुभक्त आचार्यको शालिक रहेको र आफूले त्यहांसम्म पु¥याएर उक्त शालिक देखाइदिने पनि बताए । संगसंगै, सिक्किममा नेपाली भाषा अनिवार्य पढ्नुपर्ने व्यवस्था रहेको जानकारी गराए । उनले सिक्किममा नेपाली विषयका शिक्षकहरुको तलव निकै राम्रो भएको पनि बताए ।
सुुपनले मुनामदन र त्यसका लेखक आफूलाई अत्यन्त मनपर्ने बताए तर लेखकको नाम बताउन सकेनन् । मैले मुनामदनका लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा भएको बताइदिंदा उनी खुसी हुंदै ए, हो,हो भन्दै खुसी भए । देवकोटा उनका प्रिय लेखक रहेछन् ।
उनले‘नटिप्नु हेर कोपिला, नचुंड्नु पाप लाग्दछ’ भन्ने पंक्ति कण्ठै सुनाए ।
त्यहांबांट हामी गुन्जाङ गुम्बा तर्फ लाग्यौं । सो गुम्बा परिसरबाट गान्तोकको ठूलो भाग देखियो । तुवांलोले ढाकेको भएपनि केही तस्वीरहरु लियौं । त्यसपछि माथि टाकुरामा रहेको टासी भ्यूप्वाइन्टमा पुगेर तुवांलोकै बीच परतिर देखिएका हिमालहरु हे¥यौं । त्यहां मानिसहरुको भीड थियो । यो स्थान गान्तोकबाट ६ किलोमिटरको दुरीमा अवस्थित रहेछ । भारत–चीन बीचको नाथुला नाका यहांबाट ५४ किलोमिटर दुरीमा पर्दोरहेछ ।
यसपछि हामी फूल तथा वनस्पती उद्यान ‘प्लान्ट कन्जरभेटोरी’ बुलबुले पुग्यौं । यो पार्क अप्रेल २०१५मा उद्घाटन गरिएको रहेछ । हामीले यहां विभिन्न किसिमका बनस्पती र फूलहरुको अवलोकन ग¥यौं ।
त्यसपछि ‘गणेश टोक’ अर्थात गणेश मन्दिर पुग्यौं । मन्दिर परिसरको सरसफाई,सजावट तथा फुलवारी देखेर हामी चकित भयौं । उचाईमा रहेकोले त्यहांबाट पनि गान्तोक शहरको एउटा भाग प्रष्ट देखिंदो रहेछ । देखिएसम्मका स्थानलाई नियाल्यौं । केही तस्वीरहरु लियौं ।
त्यसपछि हामी ‘हनुमान टोक’ तर्फ लाग्यौं । चीनको सीमा ‘नाथुला’तर्फ जाने बाटो यही रहेछ ।
‘छांगु लेक जाने बाटो पनि यही हो, भोली हामी यतैबाट जानु पर्छ’ ‘यहांनेर पर्मिट चेक गर्ने अफिस छ’ भन्दै सुपनले हामीलाई सो कार्यालय बारे बताए । यसअघि नै हामीले सिक्किमको प्रशिद्ध ‘छांगु लेक’ जान चाहेको र सोको लागि सहयोग गर्न भन्दा उनी तयार भएका थिए ।
पोष्ट नेरबाट मूल सडक छाडी दुई किलोमिटर उकालो चढेपछि हनुमान टोक पुगिंदोरहेछ । सो सडक छाडेर हनुमान टोक तर्फको उकालो उक्लंदा सुपनले तलपट्टी ‘ऊ त्यो यहांको जेल हो’ भन्दै सिक्किमको जेल देखाए । धुपीका सुरिला अग्ला रुख, उत्तीस आदिका बोट रहेको त्यो उचाईमा सांगुरो सडक हुंदै अघि बढ्दा चीसो महसुस भइरहेको थियो । माथि डांडोको समथर स्थानमा पुग्दा ‘कञ्चनजंघा टु कन्याकुमारी,इन्डीया इज वन’ भन्ने सन्देश लेखिएको पाटी देखियो ।
हनुमान टोक गान्तोकको सबैभन्दा अग्लो चुचुरो हो । यस क्षेत्रमा बेलाबेलामा हिउं पर्ने रहेछ । यहां स्थित मन्दिर ‘व्ल्याक क्याट’ सुरक्षा समूह संरक्षित रहेछ । यस मन्दिरको सरसफाई र सुन्दरता पनि अत्यन्त लोभलाग्दो देखियो ।
हनुमानटोक स्थित पार्कलाई हनुमानजी र सञ्जिवनी बुटीसंग जोडिंदो रहेछ । घाइते लक्ष्मणको उपचारका लागि हिमालयबाट जटिबुटी बोकेर लंका जाने क्रममा हनुमानजीले यस स्थानमा केही समय विश्राम लिएको भन्ने विश्वास तथा सोही सम्झनामा मन्दिर परिसरमा ‘सञ्जिवनी’ नामाकरण गरी जडिबुटी र जैविक विविधताको स्रोत एवं वनस्पती पार्कको रुपमा विकास गर्न खोजिएको रहेछ । ७२०० फिटको उचाईमा अवस्थित पूर्वी सिक्किमको, गान्तोक शहरबाट ११ किमीको दूरीमा अवस्थित यस स्थानबाट कञ्चनजंघा हिमाल प्रष्ट देखिंदोरहेछ ।
ओर्लंदा सडक छेउ एकातर्फ संकेत गर्दै तत्कालीन राजपरिवारको चिहान सोही क्षेत्रमा गाड्ने गरेको सुपनले बताए ।
सुपनले पूर्वतर्फ इशारा गर्दै ‘एयरपोर्ट ऊ त्यता पर्छ’ भन्दै देखाउन खोजे । सिक्किमकै पहिलो ‘पाक्योङ विमानस्थल’ केही समय अघि मात्र सञ्चालनमा आएको हो । गान्तोकबाट ३३ किलोमिटर पर रहेको त्यहां पुग्न झण्डै डेढघण्टा लाग्ने रहेछ । यो भारतको १००औ विमानस्थल हो ।
‘त्यो भासु खोला हो, छांगु ताल बाट आएको’, सुपनले हामीलाई जानकारी गराए ।
ओर्लने क्रममा मुख्यमन्त्री निवास, भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको शालिक, पुष्प प्रदर्शनी स्थल, तत्कालीन राज दरबार, सिक्किम विधानसभा भवन, आदिको अवलोकन गरियो । तर संग्रहालय चाहिं बन्द भइसकेको रहेछ । अन्तिममा हामी छुटेन गुम्वा पुग्यौं ।
गुम्बा अवलोकन पछि सुपनले हामीलाई हामीले यात्रा प्रारम्भ गरेको ठाउं ‘देउराली’ पु¥याए । उनले आफू केही समयपछि होटलमा आउने र भोली ‘छांगु लेक’ जाने अनुमति प्रक्रियाका लागि आवश्यक कागजात आजै लिनुपर्ने भएकाले तयारी गर्न सुझाए । हामी उनीसंग विदा भई त्यसको तयारीमा लाग्यौं । कागजात,फोटो आदि तयार ग¥र्यौं ।
विहान खाना खाएकै होटलमा आई खाना खाइसक्दासम्म पनि सुपन आइ नपुगेपछि हाम्रा गाडीका चालकलाई सम्पूर्ण कागजात दिई ‘उनी आएमा दिनु’ भनि हामी गान्तोककै प्रशिद्ध एमजी (महात्मा गान्धी) मार्केट तर्फ लाग्यौं ।
ट्याक्सीबाट ओर्ली लामो सिंढी उक्लिएपछि पुगिने एमजी मार्केट आकर्षक रहेछ । फराकिलो र भिन्नै किसिमको सो बजारको मध्यभागमा भारतका राष्ट्रपिता महात्मा गान्धीको शालीक रहेछ । त्यस बजारको रात्रिकालीन चहलपहल हेर्नुका साथै केही किनमेल ग¥यौं ।
सो क्रममा एक पसलमा विजय कार्की नामका युवा भेटिए ।
‘नेपालबाट आएको’ भन्नासाथ उनले ‘तपाईहरु उपाध्याय बाहुन हो’ भन्दै सोधे । हामीले हो भन्यौं । आफ्नो थर बतायौं । थर सोध्दा ‘कार्की’ बताएका उनी ‘सुतारकार्की’ रहेछन् ।
‘गोत्र के हो थाहा छ ?’ ‘सुतारकार्की र नेपालको त एउटै गोत्र हुन्छ नी, हामी नेपाल हौं’ भनेपछि उनी हामीसंग झनै नजिकिए । मैले सुमित्रालाई उनीसंग तस्वीर लिइदिन लगाएं । विजयले त्यहां वस्नेत र नेपालहरु पनि प्रशस्तै रहेको बताए ।
होटलमा फर्कंदा साहुले ‘तपाईहरुले रङपो बाट अनुमति पत्र लिनुभएको छ कि छैन ?’ भनेर सोधे । हामीले ‘लिएका छौं’ भनेपछि मात्र उनले हामीलाई कोठाको सांचो दिए । कोठाको दस्तुर भने दिउंसो त्यहींका स्टाफलाई बुझाईसकेका थियौं, यसबाट त्यहांका होटलमा बस्नका लागि पनि प्रवेश अनुमति अनिवार्य रहेछ भन्ने बुझियो । सिक्किम प्रवेशका लागि ‘रङपो’ भनिने पश्चिम बंगाल र सिक्किम राज्यको सीमा स्थित पर्यटक सूचना केन्द्रबाट अनुमित लिनु अनिवार्य रहेछ । उक्त अनुमतिपत्रमा सिक्किम भित्रका यात्रा गर्न अनुमति प्रदान गरिएका स्थानहरुको सूची उल्लेख हुंदोरहेछ र कति दिन बस्ने भन्ने पनि जनाइंदोरहेछ । गान्तोक पूर्वी सिक्किमको केन्द्र र सिक्किम राज्यकै प्रमुख शहर हो ।
राति अबेरसम्म पनि सुपन सम्पर्कमा नआएपछि हामीलाई अब भोलिको ‘छांगु लेक’ यात्राप्रति आशंका लाग्न थाल्यो । भोलि विहान अर्को कसैलाई खोजेर आवश्यक अनुमति प्राप्त गरी छांगु ताल पुग्न सम्भव हुने नदेखेपछि हामी उनी आइपुगेनन् भने के गर्ने ? भन्ने सल्लाहमा लाग्यौं । गान्तोकका प्रमुख स्थलहरुको सर्सती अवलोकन गरिएकाले अर्कोदिन शहरभित्र घुम्नु आवश्यक नरहेको ठहर गर्दै छांगु तर्फ जाने तारतम्य नमिलेमा अर्को गन्तव्य दक्षिण सिक्किम जिल्लाको राजधानी शहर ‘नाम्ची’ स्थित ‘चारधाम’को अवलोकन तर्फ लाग्ने योजना बनायौं ।
हुन पनि त्यस्तै भयो, त्यति मीठो कुरा गरेर ‘कागजपत्र तयार गरिराख्नु’ भन्दै विदा भएका सुपन भोलिपल्ट विहान पनि हाम्रो सम्पर्कमा आएनन् । यसपछि हामी विहान ७ बजे नाम्ची ताक्दै गान्तोकबाट विदा भयौं । गान्तोक स्थित आदिकवि भानुभक्त आचार्यको शालीक सामु उभिंएर श्रद्धा व्यक्त गर्ने चाहना भने अधुरै रह्यो ।
गान्तोक शहर नै भीरालोमा छ । तर यहांको सडक सञ्जाल राम्रो रहेछ भने सवारी साधन र ट्राफिक व्यवस्थापन अत्यन्त राम्रो रहेछ । गान्तोक शहरको सबैकुरा व्यवस्थित छ । यहां ठगीको कुनै मौका छैन । ट्याक्सीको भाडा तोकिएको छ । ट्राफिक व्यवस्थापन तथा प्रशासनिक कडाईका कारण होला जथाभावी पार्किङ गर्न र यात्रुसंग बढी भाडा लिन चालकहरु डराउंदारहेछन् ।
शहर सफा छ । अग्ला घरहरु निर्माण भइरहेका तथा शहर विस्तार भइरहेपनि हरियाली कायमै राखिएकाले शहर वातावरणमैत्री छ ।
गान्तोकमा कृषि खेतीपाती कतै देखिएन । पर्यटन र व्यापार नै जीविकाको आधार भएको देखियो ।
गान्तोकमा खासगरी वंगाली मुलका पर्यटकहरुको भीड देखियो जहां पुगेपनि, चाहे एमजी मार्केट होस् वा भ्यूप्वाइन्ट, गणेश टोक होस् वा हनुमान टोक नै । शायद कलकत्तालगायत शहरबाट देखि गर्मी छल्न पहाड चढेका होलान् ती ।
भारत आफैमा ठूलो मुलुक हो विविधतायुक्त । हामीलाई चाहिं नेपाली भाषाको प्रयोग,नेपाली चालढाल व्यवहारले गर्दा नेपालबाट बाहिर छौं भन्ने नै महसुस भएन । अझ ठाउंठाउंमा राखिएका नेपाली भाषाका सूचना र जानकारी देख्दा नेपालमै छौं जस्तो अनुभूति भयो ।
पर्यटक जहां पनि त पुग्दारहेछन् । झांक्रीथानलाई पनि पार्क बनाएर बिक्री गरेको छ,अर्थोपार्जन गरेको छ, रोजगारी दिएको छ सिक्किमले । हिंजोको समाजले धामी–झांक्री पत्याएको थियो । अन्धविश्वास, रुढिवादी जेजे भनेपनि, विश्वास गरेको थियो । आज हराउंदैछ । तर ‘बनझांक्री पार्क’को रुपमा हिंजोको परम्परा, मान्यतालाई यसरी प्रदर्शन गरिएको छ कि लाम लागेर, टिकट काटेर अवलोकन गर्ने र तिनै झांक्रीका पुत्लासंग तस्वीर खिचाउने भीड लागेको छ त्यहां ।
आहा कस्तो गजव ! सिक्किमको इतिहास पीडादायी छ । आफ्नै वेग्लै पहिचान र अस्तित्व रहेको एउटा हिमाली अधिराज्य वद्नाम लेन्डुप दोर्जेको कारण विशाल भारतको एक राज्यको रुपमा विलय हुन पुगेको थियो । तर यसले समृद्धिको बाटो लिंदैछ । विकासमा गति लिंदैछ र टिस्टा नदिले सिंचेको नेपाली समुदाय बहुल यो राज्यले आफ्नै खालको परिचय कायम राख्न सक्षम छ ।
खाने त बुद्धिले न हो, हामी त कुरैका मात्र । नजानेको,नबुझेको केही छैन जस्तो गर्छौं,तर लछारपाटो लगाउंदैनौं, केही गर्दैनौं । मुख्यमन्त्री पवन चाम्लिङ धन्यवादका पात्र छन् यस्तो ‘आइडिया’को लागि । त्यतिखेर पङतिकार सामु हाम्रा पनि नेतामा यस्तै सद्बुद्धि भए हाम्रा फालिएका पाखा पखेरा, खोल्साखाल्सी र डांडाकांडाले कति पर्यटक तान्दा हुन् मनमनै कल्पिनुको विकल्प थिएन ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 चैत्र, 2076

लेखकका अन्य रचनाहरु