दाइबुचुः नवीन कृतिमा जापानको सन्दर्भ

- प्रा.डा. खेम दाहाल

प्रारम्भः
कृष्ण बजगाईंको दाइबुचु (२०७६) एउटा नवीन पुस्तक प्रकाशित भएको छ । जसको विषय नियात्राप्रधान रहेको पाइएको छ । बजगाईँका नियात्रा भाया साक्रा (२०७४) र ‘युरेशियाको स्पर्श’ (२०७३) जस्ता पुस्तकले पाठकलाई ठाउँठाउँको परिचयमा रसास्वादन गराएका छन् । नियात्रा एक कोठामा बसेर लेख्न सकिने सिर्जना नभएकाले पनि यसलाई विशेष समय दिनुपर्छ । टिकट काटिन्छ, साधनको उपयोग गरिन्छ । समय पनि खर्च गरिन्छ र दिमाग चनाखो तथा कलम तिखो पारेर मात्र नियात्रा लेखिन्छ । नेपालीहरू बाहिरी मुलुकमा घुमेर ठाउँ हेर्छन्, नियात्रा लेख्छन्, तर स्वदेशमा पनि कोही हिमाल हेर्देै जोखिमको यात्रा गर्दै नियात्रा लेख्छन् । यो निबन्ध भित्रको एउटा फाँटमा कृष्ण बजगाईको कलम छिटो चलेको देखिँदै छ । प्रतीक ढकाल, निर्मोही व्यास प्रभृति नियात्राकारहरू उदाइरहेका छन् । बजगाईको यस नियात्रासङ्ग्रहमा हाइकु जडान भएको छ ।
विषय प्रवेश
यस दाइबुचु भित्र ‘टोकियोको झरी’ एउटा नियात्रामा कुकुरको दर्शन रोचक–घोचक भएको विश्वास हुन्छ । जापानको कुरा हो, त्यहाँ गद्य लेखनमा हाइकु मिसाउने चलन रहेको (हाइबुन), यसरी मिसाएमा रोचक हुने विश्वास गरिएको प्रसङ्गमा बफादार कुकुर (हाचिको नामक श्वानः) र प्राध्यापक हिदे साबुरोको भावनात्मक सम्बन्ध बारेको रोचक क्षेपक प्रस्तुत भएको छ । क्षेपकमा खुसीको कुरो जापानमा मालिकलाई रेलसम्म सर्धै पु¥याउने बेलुका रेलसम्म लिन जाने कुकुरको इतिहासमा मालिक मरेपछि कुकुरले त्यो सत्य कुरो नबुझेर लामो समय लगभग दस वर्ष मालिकलाई खोज्दै रेलको स्टेसनसम्म जाँदै र पर्खिँदै गरेको सत्य इतिहासको उदाहरण प्राध्यापक हिदेसावुरोको कुकुर हाचिको नामले प्रसिद्ध रहेको पाइन्छ भनी इमानदारी माथि श्रद्धा गरिएको प्रसङ्गलाई रोचक ढङ्गले उठाइएको छ । सिबुया जेब्राक्रसमा टेकेपछि यस इमानदारीको इतिहास पढिनेछ । यस प्रसङ्गलाई तीन हरफको हाइकु र त्यसका वरपरको पर्यावरण, सिमसिम पानी परेको क्षणमा छातामा ओतिएका नरनारीको लहर रहरले हेरिरहुँ झैँ देखेपछि पैदल यात्रा गर्दै र स्थानहरू हेर्दै नियात्राकार उक्त जेब्राक्रसमा पुगेर कुकुरको इमानदारीमा भावुक बन्नु स्वाभाविक लाग्छ । यो क्षेपक (थपनी) अरूले थपेका होइनन् लेखक आफैँले जोडका छन् ऐतिहासिक कथा छ ।
हाइकु तीन हरफका सत्र अक्षरका ससाना भन्न पाइने जापानी कविताका बारेको प्रसङ्ग सुरु हुन्छ , माचुओ बासो (हाइकुसम्राट) लाई स्मरणमा लिँदा संस्मरणप्रधान ढाँचातिर गइन्छ । योकोहामादेखि टोकियो सहरतिरको त्यो यात्रा स्रष्टाका लागि तीर्थ मानिँदो रहेछ , युरोपका सडकभन्दा फरक सडकहरू टोकियो सहर र अग्ला घरहरू साहित्यकारसँग आवद्ध प्रचार सामग्री र संरक्षित तिनलाई सम्झाउने पदचिन्हहरू, बासो सङ्ग्रहालय, बासोको रचना, ढुङ्गामा कुँदिएको भ्यागुतो देखिपछि यसैलाई स्रष्टा पद चिन्ह मान्न सकिनेछ । ‘पुरानो ताल भ्यागुतो उफ्रिदिन्छ, जल आवाज’ भन्ने शब्द पुष्प माचुओ बासोको सत्र अक्षरको कविता अङ्कित गर्दै बासोको स्मरण गरिएको छ । पहाडे कागजमा सजिएका हाइकुका पुस्तकहरू, पहाडे कागजमा नेपालको इतिहासभन्दा पुरानो इतिहास जापानमा रहेको हुन सक्ने देखिन्छ । बाँसोलाई सम्झाउने पराले चप्पल र उनका लुगाफाटा संरक्षित रहनु नेपालको भन्दा फरक संस्कार जस्तै लागेको बताइन्छ । बासोको घर मन्दिर झैँ लाग्न सक्छ, घरअगाडि केराको बोट देखिन्छ । उनको सन् १६४४ को जन्म र गाउँको जीवन तथा जवान भएपछि सहर टोकियो प्रवेशलाई बासोको स्मरणमा लेखिएको गुच्छक झै गद्यको एक अनुच्छेद रोचक लाग्नेछ । त्यहाँ केरा (बासो) रोपिएको अँगनसँगै घर छन्, ती इतिहासका प्रमाण हुन् ‘जापानका केरा घरे माचुओ’ भनिएका व्यक्तिबारेको उक्त प्रसङ्गमा धेरै रमाइला संस्मरणहरू जोडिएका छन् जस्तै केरा रोपेको घर, बासोको सालिक, सुमिदा र ओनागी नदीको दोभान, नदीमा ससाना पानी जहाज सम्झन योग्य नदीको गतिलाई बासोका हाइकुसँग दाँज्न खोजेका छन् । त्यहाँ बसेर हाइकु लेख्ने क्रममा ‘सुमिदा नदी, पानीको चञ्चलता, ध्यानस्थ बासो’ भन्दै त्यहाँको तीर्थमा दसवटा हाइकु कोरिएका क्षणमा मूर्त रूप दिन सकेको प्रत्युत्पन्न मति बोध गरिएको छ । हास्यव्याङ्ग्यकार प्रा. रामकुकार पाँडे र प्रकाश पौडेलको उपस्थितिमा पोखरीका भित्राका ढुङ्गाढुङ्गासँग हाइकु रमाउँदा रहेछन् ।
यस नियात्राको क्रममा जीवनी परक निबन्ध पनि लेखिएको छ । जीवनी पूर्ण रूपको लेख्न अनुकूल देखिएन तर जीवनीका महत्वपूर्ण अंशहरू भने यहाँ प्रशस्त रोचक भएर आउन खोज्छन्् ।
१. जापानी हाइकुको इतिहासमा सत्रौं शताब्दीको मध्यदेखि अठारौँ शताब्दीको मध्यसम्मको समयलाई बासो युग भनिन्छ ।
२. माचुओ बासो सन् १६४४ मा जापानको इगा प्रान्तको उएनो भन्ने ठाउँमा लडाकु सामुराइ परिवारमा जन्मिएका थिए ।
३. प्रकृतिमा रमाउने र प्रकृतिका बारेमा हाइकु लेख्ने कवि बासो व्यस्त सहरको एक कुनामा बसेर प्रकृतिमाथिको दोहनलाई चुपचाप हेरिरहेका थिए ।
४. चालिस वर्षको उमेरमा सामाजिक जीवन त्यागेर बासो यायावर जीवन बिताउन थाले ।
५. जीवन, जगत र प्रकृतिलाई नजिकबाट बुझ्ने अवसर पाए, त्यही यात्रालाई लिपि बद्ध गरेर चर्चित पुस्तक ‘ओकुनो होसोमिची’ लेखेका थिए ।
६. जैन बुद्ध धर्म मान्ने र प्रकृतिलाई मन पराउने जापानभरमा दुई हजार जना शिष्य बनाउन उनी सफल भए ।
यी प्रमाणले बासोको जीवनीका महत्वपूर्ण पाटाहरू खुलस्त गर्छन् । बाँकी अंशमा हाइकुपाथको यात्रा, लहरै रोपिएका साकुरा प्रकृतिप्रेम तिर तानिएका प्रतीक हुन् ।
एउटा नियात्रा ‘कामकुराका बुद्ध’मा टोकियोको दक्षिणमा पर्ने समुद्री किनारमा अवस्थित कामकुरातिर यात्रा अगाडि सारेको पाइन्छ । कामकुरा (जापानको दोस्रो ठूलो बुद्ध मूर्ति ) तिर जाँदा अनेक सङ्ख्याका सडकहरू, पुराना राजधानीहरू क्योटो र कामकुरा भ्रमण गर्ने अभिलाषीहरू बौद्ध संस्कृति बारेमा आफैँ अनुभूति विकास गर्न चाहन्छन् । एउटा वंश परम्पराको इतिहास लेखिन्छ, पहिलेका नियात्रामा भन्दा कृष्णले इतिाहसको खोजी प्रक्षेपण नयाँ कुरा थप्न सकेका छन् ।
क) जापानमा सैनिक शासन र सामुराई योद्धा मिनामोतो सेनापति, यस वंशले एक सय चालिस वर्ष गरेको शासनको रूप,
ख) गम्भीर रहने सामुराइहरू नहाँस्ने,
ग) सामुराइलाई चलचित्रमा देखेका
घ) लामो र छोटो तरबार बोकेका योद्धा,
ङ) यिनीहरूले काम गर्न पाउने क्षेत्र सुरक्षा र युद्ध मात्र
च) उन्नाइसौं शताब्दीमा तिनको सामुराइ मान्यता भत्किएको र अन्य जागिरमा उनीहरू प्रवेश गर्दै,
छ) अनुशासन र सुव्यवस्था सामुराई संस्कृतिको उपलब्धि पछिको समयमा ।
ज) सामुराई शासकले बुद्ध धर्मलाई राजधर्म बनाए ,
यसलाई ऐतिहासिक निबन्ध भन्न सकिन्छ, इतिहासको आधिकारिक अध्ययनमा रुचि राख्ने कृषणचन्द्रसिंह प्रधान यस्तै खोजीमूलक निबन्ध लेख्थे । पाइलाः आगतमा टेकेर यसको प्रमाण हो । दाइबुचु (ठूलो बुद्ध मूर्ति) को दर्शन कामकुराको सामुद्रिक र पर्यटन व्यवसाय बज्रपाणिको डर लाग्ने मूर्ति, शुल्क तिर्दै प्रवेश गर्ने मान्यता, हातमुख घोएर जानुपर्ने नेपालमा जन्मिएका बुद्धको जापानमा त्यति ठूलो मूर्तिको अवलोकन ध्यानमा बसेका बुद्धको अमिताभ मूर्ति थियो भन्ने जानकारी छ । अमिताभलाई धुपबत्ती चढाए हुन्छ, नभए नगद चढाए हुन्छ, त्यति ठूलो बुद्ध मूर्ति देख्दा अचम्म र हर्ष लाउनेछ । ‘त्यहाँ शान्तिको साम्राज्य कायम थियो । त्यहाँको शान्तिपूर्ण वातावरणले हाम्रो चर्को आवाजलाई पनि दवाइदियो’ । वस्तुपरकता पुरानो लेखन हो । यहाँ शीर्षकबारेमा पुरानो निबन्धको ढाँचा प्रयोगमा आएको छ । यहाँ वर्णनात्मक वस्तु परक निबन्धका कमलमणि दीक्षित, अच्छा राई रसिक, आनन्ददेव भट्ट धर्मको निर्वाह भएको छ, बदरीनाथ भट्टराईप्रभृति निबन्धकारहरू यस ढाँचाका निबन्ध लेख्थे । ‘पलेटीमारी बसेका उक्त बुद्धमूर्तिको एउटा घुँडादेखि अर्को घुँडासम्मको लम्बाइ उनन्तिस फिट नौ इन्च थियो (बजगाईँ, २०७६ ः ६१) ।’ यस्ता निबन्ध लेखिने युग २००७ सालदेखि पछिसम्मको युगमा भाइचन्द्र प्रधान, नयराज पन्त, धर्मराज थापा, श्रीघर खनाल, बालकृष्ण पोखरेल सक्रिय थिए (श्रेष्ठ र शर्मा, २०४९ ः १३५) ।
मूर्तिको वर्णन गर्दा भित्र खोक्रो भागमा पस्न मिल्ने रहेको, गर्भगृहमा धमिलो उज्यालो रहेको, कति कुशल हातका श्रम खर्च भएको बताइन्छ । त्यहाँ बुद्ध मुनिलाई चढाएका कविता हाइकु पनि देखिए । मूर्तिलाई आकिको योसानोले सुन्दर मान्छेको मूर्ति भनी चित्रण गरेकी रहिछन् । त्यस क्रममा उल्लेख हुन आएका हाइकु र परालका चप्पलको प्रसङ्गमा वस्तुपरक निबन्ध लेखनका लक्षण पाइन्छन् । बुद्धका सम्झनामा रोपिएका बृक्षहरू धार्मिक पर्यटन र त्यसबाट मिल्ने शान्ति केन्द्रीय विषय रहेका छन् । यस लामो निबन्धमा ‘दाइबुचु’ को अर्थ स्पष्ट हुन्छ, सम्भवतः यो निबन्ध यस किताब भित्रको उत्कृष्ट रचना पनि हो ।
जापान र अमेरिकाको सम्बन्धका विषयमा लेखिएको निबन्ध ‘युद्धपोतलाई गुलाफ’ मा युद्धले खाएका हिरोसिमा र नागासाकी सहरहरू बारेको चिन्तन गरिन्छ । रिसले भन्दा गुनले झुकेका जापानी र युद्धपछि अमेरिकाले जापानी युवा समूहलाई अमेरिकी भूमिमा आमन्त्रण गरेर दिएको तालिम आदिले कतिपय जापानीहरू अमेरिकी भूमिको हार्दिक प्रशंसा गर्छन्, कति भने आलोचना, घृणा र पश्चात्ताप युद्धकालको युद्धपोत घाइते इतिाहस स्मरण गर्दै झोक्राएको झैँ देखिएको बताइन्छ । ‘युद्धपोत ज्ञानको भण्डार बोकेर समुद्रको पानीमा ढलपल ढलपल गरिरहेको थियो’ ।
अवलोकनमा आएका सरुसिमा टापु, टोक्यो वे, पिस आर्च, सिंँगारिएको मिकासापार्क (युद्धमा ध्वस्त भएको र पुनः निर्मित), पर देखिने योकोहामा सहर, जलपरीझैँ नाच्ने पानीका फोहरा, धुनका तालमा चल्ने फोहराको गति पानीको फोहराले खेल्ने परेड, त्यसमाथिको जापानमा रहेको अमेरिकी सेनाको क्याम्प, योकोसुको रात्रि बजार, जापानी भूमिमा अमेरिकी सेनाको गस्ती अमेरिकी राइँदलो, भेर्नी पार्क, गुलावको फूल, युद्धपोतको अवलोकनको रहर, त्यस ज्यानमाराको स्मरणमा मन पिरो भएको अभिव्यक्ति संवेदनापूर्ण पनि छ । युद्धपोत र पनडुब्बी त्रासका कारण हुन्, जापानको गतिविधि हेर्ने यी अमेरिकी सैनिकका आश्रय भने पछि निकै कठिन परिवेशमा हामी मर्दै–बाँच्दै छौंँ जस्तै लाग्छ । गुलाफ र हतियार सँगसँगै किन भन्ने प्रश्न उठ्न सक्छ, शङ्का मात्रै हो र डर पनि हो, नेपालको उत्तरी सीमामा बौद्ध गुम्बाहरू धेरै ठाउँमा छन्, एक दुई ठाउँमा हामीले पनि देख्यौं, ती भिक्षुहरू (श्रमणकहरू) के खान्छन् होला, कताबाट चामल, दाल, घिउ, पिठो आउँछ, कसको निगरानी हो त्यो रहस्यमय विषय रहस्यमा छ । यो प्रशान्त महासागरलाई शान्त रहने भावनाको मुरीमुरी सलाम ठोकिन्छ ।
‘ओन्सेन’को प्राकृतिक रूपमा निस्किने तातो पानीमा नुहाउने विषयमा एक दृष्टि लगाएमा नाङ्गो हुने जापानीहरू, अतिथिहरू सुरुमा लजाउँदै र पछि खुसी हुँदै नुहाउनेहरू लाज भगाउने जापानीहरू, श्रमको सम्मान गर्दै सफागर्न जाने महिलाका अगाडि सानो हाते रूपमाल मात्र मुख पुच्छने गरी लान पाइने चलन रहेछ ।
यहाँ नग्न सम्बन्धको चर्चा गरिएको छ । त्यसमा लुगा, कपडा सुन घडी कार र महल त्याग गरेपछि सबैको हसियत बराबरीको हुने भएकाले हामीले त्यही सभ्यताका नाममा ओढेको लबेदा वा लगाएको दौरा हटाएपछि सबै थोक छोडेर मान्छे मात्र बाँकी रहन्छ भन्ने गहिरो अर्थ छ । प्रसङ्गले यदुनाथ खनाललाई स्मरण गरौँ । सडेपडेका प्रवृत्तिलाई आदर्श तुल्याउनु क्षयोन्मुखता हो । समाजमा मनुष्यत्वको दृष्टिबाट विकृत मान्यताहरू अँगालिएका छन् । यो भनाइ युदुनाथ खनालको सूक्तिसिन्धु कवितासङ्ग्रहका विषयमा आएको अभिव्यक्ति हो (खनाल, २०५२ ः १३) । सूक्तिसिन्धुलाई क्षयोन्मुखी काव्य भन्न अवश्य हिचकिचाउनुपर्छ । ‘मेरो विचारमा त सूक्तिसिन्धु एउटा क्रान्तिकारी प्रकाशन हो (शर्मा, २०५२ ः ९० ।’ यो भनाइ रामकृष्ण शर्माले सूक्तिसिन्धुको बचाउमा प्रकाश गरेको अभिव्यक्ति हो । नेपाली समाजका नीतिवादी पण्डितहरूले नेपाली कवितालाई टाक्सिएको वृक्ष जस्तै बनाएको तर्कका सिलसिलामा श्लील र अश्लीलको परिभाषा गर्ने क्रममा लेखिएको छ । इङ्ल्यान्डमा नृत्यशालामा निर्वाङ्ग भएर स्टेजमा सुन्दरी खडा हुन सक्छे, त्यतिसम्म त्यो अश्लील मानिँदैन तर त्यो सुन्दरी मूर्तिवत् निश्चल रहनु पर्छ (शर्मा, २०५२ ः ९५) । विश्वविख्यात कलाकारले कोरेका नाङ्गाचित्र, मूर्तिकार, डकर्मी र सिकर्मी कलाकारले बनाएका टुँडालमा अङ्कित चित्रहरू अश्लील हुँदैनन् । महिला डाक्टरलाई पुरुषले घाउ भएको गोप्य ठाउँ देखाउँदा पनि अश्लील हुँदैन । प्रयोजन हेरेर मात्र भन्न मिल्छ ।
त्यहाँ जापानको प्रसङ्गमा पहिले सेम्पोले नुहाउने, शरीरलाई सफा पार्ने र कुण्डमा पस्ने परम्परा रहेछ, तातो पानीमा नुहाउनु भनेको शरीरको घाउको उपचार पनि हो, खुट्टामा घाउ भएमा तातो पानीले धुने गरिन्छ, जापानीको त्यो पोखरीको निश्चित तापक्राम मिलाइएको योकोसुकाको प्रसिद्ध ओन्सेनको आनन्द अन्य ठाउँमा नपाइएला, त्यो पर्यटक रिझाउने औजार हुन सक्छ । त्यहाँ नुन दल्न लगाइन्छ, छालाको रोग निको हुन्छ, ढुङ्गामा सुत्ने र शरीर सेक्ने सन्चो हुने उपायमा आधारित नियात्रा सूचनामूलक रहेको अनुभव गरिन्छ ।
बिरालो हाम्रो अगाडि लाग्यो भने साइत बिग्रन्छ, तर जापानमा बिरालो सगुनको प्रतीक हुनेरहेछ । ‘क्याट क्याफेमा बिरालीसँग आँखा जुध्दा’ निबन्धमा शृङ्गारको भल बगेको छ, सेतासेता युवतीहरू हिँडिरहेका थिए । त्यसै सडकमा विरालाको हातले पसलबाट बोलाएको दृश्य, व्यापारीको कला जापान त बिरालो प्रेमीहरूको देश पो रहेछ । पुर्खाको भूमि छाड्न नसकेका बुढाबुढी बढी बस्ने टापु क्याट आइलेन्डमा युवाशक्ति भन्दा बिराला धेरै हुने रहेछन्, पुजा पाउने, मूर्ति र कलामा सजिने विरालाहरू त्यहाँ भाग्यमानी रहेछन्, यो वर्णन प्रधान निबन्धमा क्याट ट्रेन, क्याट क्याफे, क्याट वाक, क्याट स्टोर, क्याट टेम्पल पाइने अलिकति आश्चर्यको सूचना प्राप्त भएको जस्तै हो । जापानीहरूले माया गरेको जनावर बिरालो खेल्ने साथी भएको त्यसका समीपमा रमाइलो गरिरहेका जापानीहरू दर्शकलाई होइन, पाठकलाई अनौठो दृश्य लाग्दैछ । त्यहाँ एक घण्टा बसेको नेपाली रुपियाँ बाह्रसय लाग्ने चर्को कुरा मन पदैन, विस पच्चिसवटा बिराला एकै ठाउँमा देख्नु भनेको जीवनको पहिलो अनुभूतिझँै बताइन्छ । क्याट क्याफेको प्रसङ्ग नेपालीहरूलाई त्यति रोचक लाग्दैन, बिरालो बोक्न नपाइने र छुन पाइने नियमहरू कडा रहेछन् ।
नेपालमा मानव अधिकारको नाम मात्र भएझै जापानमा विरालाको अधिकारको कानुन बनेको बताइन्छ, लागु हुने नहुने विषय बेग्लै हो । यसमा विरालाका जस्तै आँखा भएकी युवतीसँग रसरङ चल्ने सम्भावना भएकाले शृङ्गार रसका लागि विभाव (आलम्बन–उद्दीपन) अनुभाव र व्यभिचारी भाव नै उपस्थित छन् । शान्ति खोज्नेहरूले बिरालो पाले र मन बोझ घटाएको र मनोरोगीलाई बिरालो खेल्ने साधन भएको जापानमा आफन्न गुमाएकाहरू बिरालो पाल्छन् । सन्तान नभएपछि इन्द्रबहादुर राईको कथा ‘रातभरि हुरी चल्यो’ मा वि.वि. गुरुङकी मोटी स्वास्नी दिनभरि खडाउ बजाउँदै भित्रबाहिर गरिरहन्छे एउटा सेतो बिरालो (निनी) बोकेर परपरको घरतिर पनि पुग्छे, छोराछोरी छैन्न (राई, २०६७ ः९५) ।’ यो एउटा उदाहरण मात्रै हो, मनपर्नेहरू अभावको अनुभूतिगर्नेहरू र रतिरागको स्पर्श सुखका लागि यी बिराला काम लाग्लान् । यस प्रसङ्गले सोझो अर्थ बिरालो मात्रै हो, लक्षणाले भने धेरै कुरा सूचित गर्ने यस निबन्धमा नियात्राको गुण भन्दा वस्तुपरक आत्मपरक निबन्धका अन्य ढाँचा आकर्षित रहेका पाइएका छन् । यहाँ रामलाल अधिकारी माधवप्रसाद पोखरेलका निबन्धको प्रभाव देखिन्छ ।
जापानका पहाडहरूमा मोटर चल्दै छन् । गगन चुम्बी भवन भित्रबाट मोटर छिर्दै छन् र ओसाका सहरमा त गगनचुम्बी भवनभित्र सुलुलु टे«न छिरेर जाँदै छ , सुरुङ त सामान्य कुरा रहेछ । त्यस दिन ओसाकामा एउटा साहित्यिक कार्यक्रम सम्पन्न हुँदै थियो, धेरै नेपालीहरूले भाग लिए । लेखक सहितका अन्य यात्रीहरूले योकोहामा, योक्काइची ओसाका र हिरोसिमा सहरहरूको अवलोकन गरेका रहेछन्, ‘लभ होटेल’ मा बास बसेका रहेछन् । ‘लभ होटेल’ मा जोडी जोडी जाने र जीवनको आनन्दसित भेट गर्ने सुविधा रहेको कुरा ‘लामो यात्राः लभ होटेलमा जात्रा’मा पढ्न पाइन्छ । नेपालको वर्तमान स्थितिमाथि अलिकति मन्तव्य रहेको यस निबन्धमा तर्क बलको प्राथमिकता छ ।
हिरोसिमाबारेमा लेखिएको एक निबन्धमा सन्् १९४५ लाई सम्झने काम गरिन्छ । आणविक बमले तत्कालै सत्तरी हजार मानिस मारेको कहाली लाग्दो इतिहास छ । मान्छे अत्यन्त क्रूर प्राणी हो । हिरोसिमा र नागासाकीमा आणविक बम झारिएका थिए । म्युजियममा पसेर भिडियो हेर्दा युद्धको असरको अनूभूति गर्दै धुवाँ उडेको हेर्दै मानिसको कोलाहलको आवाज श्रवण गर्दा के कति पीडा भयो, त्यो भन्न सकिँदैन् । चित्रमा अङ्कित युद्धका चिन्हहरू पुरानो टोपी, फुटेको हेल्मेट, तातोले जलेका छात्रछात्रा, दर्जनौं सूर्य धर्तीमा खसेझै भएछ भनी अनुभूति प्रकाश गरिएको छ । सङ्ग्रहालयमा रहेका ती घडीहरूले बम आक्रमण भएको समयदेखि आजसम्मका दिन गनेका रहेछन्, यिनलाई गतिलो इतिहास प्रमाण मान्न सकिन्छ । नेपालमा द्वन्द्वकालपछि त्यसको असरको इतिहास रक्षा गर्ने प्रमाणहरू सङ्कलन गरेर राख्नु् पर्ने निष्कर्षमा यस निबन्धले समापन तिर पाइला चाल्छ ।
यस नियात्रामा शान्तिको कामना गर्ने कवि साङ्किची टोगेको योगदानमा एक दृष्टि लगाइएको छ । यिनको सालिकबाट एक अनुभूति, एक इतिहास, एक योगदान र मरेका मानिस फिर्ता गर भन्ने रचनामा दम छ । यस प्रसङ्गमा गरिएको समीक्षाले युद्धबाट पीडित पात्रहरूलाई रोग लागेर जीवनभरि सताएको स्मरण गरिएको छ । यसमा कतिले हिबाकुसा (बम पीडित) भए बापतमा भत्ता वा सुविधा पाएको कुरा समवेदनापक्षको रहन्छ । आणविक बलमे क्षति गरेका इँटा लगाएर बनाएको भवन पनि रहेछ, कति प्रत्यक्षदर्शीहरू पनि रहेछन्, तिनले बम बारेमा आ–आफ्ना विचार राखेका छन् । कुनै अर्धभग्न भवनले पनि इतिहास प्रकाश गर्छन्, बमको प्रभावमा खोजी गर्नेका लागि स्रोतका साधन बनेका छन् । जापानीले युद्धबाट पाठ सिके, हामीले सिकेनौँ । अमेरिकीहरूले युद्धपछि के कति सहयोग गरे, अहिले हिरोसिमा सहर विज्ञानको वरदानझैँ लागेको अभिव्यक्तिमा धेरै कुरा राम्रा र नराम्रा पक्षमाथिको वादविवादले ठाउँ जमाएको छ ।
यात्रीले हिरोसिमा सहर हेरेर दुःखी मनका साथमा क्योटो सहर हेर्ने विचार गरेको पाइन्छ । यो क्योटो सहर साँस्कृतिक दृष्टिले प्रसिद्ध रहेको बताइन्छ, प्राचीन कालदेखि धातुका भाँडा, खेलौना, मन्दिर वास्तुकलामा यसको नाम चिनिदै छ । संस्मरणबाट त्यस सहरको पूर्व इतिहास खोजिन्छ, दोस्रो विश्वयुद्धबाट बचेको सहर भनिएको छ । युद्धसचिव हेनरी स्टिम्सनले नै मन्दिरको सहर क्योटोलाई आक्रमण गर्न मानेनन् । त्यो ऐतिहासिक तथ्यबाट लिइएको एक स्मरण हो, बुद्धका नामले बाचेको सहर क्योटो, यस सहरमा आक्रमण भएन नत्रभने अरू ठाउँदेखि पनि उत्तेजनामा आउने थिए भन्ने अनुमान गरिन्छ । यी यात्रीले क्योटोलाई अल्पअल्प हेरेको बुझिन्छ, स्वर्ण मन्दिर क्योकी–ची तलाउ, पहाडको हरियाली सल्लाका रुखहरू जैन बौद्धमागीको स्वर्ण मन्दिर (तीन तले) स्वर्ग र पृथ्वीको मिलन विन्दु हेर्न पाउनाको हर्ष प्रकाश गरिन्छ । त्यहाँ ससाना टापु, बोन्साइ वृक्ष, धेरै सुनको प्रयोग, सुरक्षाको ख्याल नगरिएको स्थिति आदिले जापानीहरू इमानदार हुने विश्वास गरिन्छ (बजगाईँ, २०७६ ः१५६) । एउटा स्वर्ण मन्दिर सन् १३९७ मा एक सैनिक अधिकारीले प्रशस्त धन खर्च गर्दै निजी आवास बनाएका र भत्किएपछि सरकारले पुनः निर्माण गरेको इतिहास प्रकाश गरिन्छ । मन्दिरमा बढी सुन थियो, कलाको उस्तो उत्कृष्टता थिएन, व्यावसायिक पक्ष बलियो रहेको समीक्षा गरिन्छ । यस क्रममा मूर्ति (फुडोक्यो–ओ) बटुको (सिक्का फाल्न मिल्ने), ढुङ्गाको फराकिलो सिँढी कतै मानवीय कलाकारिता र कतै प्रकृतिको देनका बारेमा वर्णन गरिएको छ ।
जापानमा पनि रेलभित्र भिडभाड हुने बुझिन्छ, टोकियो महानगरमा त्यस्तो रहेछ (हाइगाको हाँगा) । निलो रङका बत्तीहरू जडान गरिनु शान्तिका लागि गरिने पवित्रकार्य हो । यात्रीले टोकियो सहर घुमेको र मनोरञ्जन गरेको एउटा कुरो हो, अरू बाँकी विषयमा पसेपछि त्यस्तो सहरमा देखिएको भिखारी, जनसङ्ख्याको वृद्धिले ल्याएका समस्याहरू, दयालु नेपालीले एक दिन भिखारीहरूलाई खुवाउने नेपाली खाना, एक मात्र जापानी जातिको एकताको नमुना, हिँड्दै चुरोट तान्न नपाइने नियम, पैसा छिराएर सामान किन्ने शैली यी जापानबारेका जानकारी हुन् । ‘हाइगा’ अर्थात ‘हाइकु’ र चित्रको संयुंक्त प्रदर्शनी हेर्न हिँडेका यात्रीलाई त्यत्रो जाँगरले दिएको शक्ति जस्तो हामी पाठकलाई लाग्दै जाने रहेछ । लेखक कलाकारका सिर्जना र तिनलाई हेरिदिने कलाप्रेमी मान्यजनको बाक्लो उपस्थिति सकारात्मक पक्ष हो, सबै भन्दा चकित पार्ने प्रसङ्ग पहिलो उपन्यासकार मुरासाकी एघारौँ शताब्दीका थिए र ‘द टेल अफ गेन्जी’ उनको उपन्यास हो भनेर लेखिँदा शङ्का वा प्रश्न उठेको छ । उपन्यासको खोजी गर्नेहरूले पनि मेडेम डे ला फेयेट्टीको उपन्यास ‘ला प्रिन्सेज डे क्लिम्स‘’(सन् १६७८) र डानियल डेफोका दुई कृति ‘रविन्सन कूस्रो’ (१७१९) र मोल ल्फन्डर्स (१७२२) लाई पहिला उपन्यासहरू भदै नाकलाई घिरौँला पार्ने बेलायतीहरूलाई खुच्चिङ गर्न पाइने भयो त ! तर पनि यो खोजीको विषय हो (अब्राम्ज, १९९३ ः १३१) । त्यहाँ चित्र र हाइकु सँगसँगै राख्ने, चित्रको अर्थ हाइकुले दिने, दुवै प्रभावशाली रहने भएकाले‘ ‘हाइगा’मा सिकारु पस्तैनन् । नेपाली साहित्यमा पनि चित्रबाट विदेशी पाठकलाई अर्थ बोध गर्न सजिलो हुने अनुकल्पना गरिएको छ । यहाँ छेउछेउमा हाइकु सजाएका र विचविचमा उखान जडान भएका ससाना अनुच्छेदहरू बजगाईको लेखनमा पाइने विशेषता झै छन् ।
यात्रामा अवलोकन गरिएका ठाउँ र वस्तुहरू रहर लाग्दा छन्, सस्ता चिनिया सामान रैथाने बनेका चिनियाँहरू (जापानमा) चाइना टाउन, लाफिङ बुद्ध, टोकियो वरपरको नेपाली वस्ती, हाइकुको उद्गमस्थल नेपालीहरूले जापानको भूमिमा सञ्चालन गरेको स्कुल, नेपाली भान्सा, खाना खानु भन्दा अगाडि गरिने प्रार्थना, जापानीले प्रदान गरेको सहयोग, राखेको अतिथि सम्मान, त्यसबाट प्राप्त अनुभूति र कर्मभूमितिरको फिर्ती यात्रामा मनोरञ्जन गरिएको छ । जापानीले जापान छोडेर भाग्न नपाउने पुरानो कानुन, बुद्ध मन्दिर र तिनमा हुने भिडभाड सबै नौला प्रकारका विषय छन् । नेपाल र जापानका धर्म फरक छन् तर संस्कृतिमा धेरै समानता रहेको बुझिएको छ ।
निष्कर्ष
‘दाइबुचु’ शीर्षक भएको पुस्तकमा तेह्रवटा लामा नियात्रा छन् । नियात्राभित्र ऐतिहासिक सूचनामूलक ढाँचा धेरैमा छन् । लैनसिंह बाङ्गदेल, तारानाथ शर्मा जस्ता लेखकहरूले नियात्रालाई माथि उठाएका छन् । यिनका निबन्धमा प्रगतिशील सोच छ, यस्तो भए राम्रो हो भन्ने टिप्पणी पढिनेछ, यस्ता प्रगतिशील निबन्धकारहरू पछि प्रगतिवादी बने । यस ढाँचालाई कृष्णचन्द्र सिंह प्रधान दाजुभाइले उठाएका, श्यामप्रसाद शर्माले मलजल गरेका थिए । बजगाईंका निबन्धमा सूचनामूलक सङ्ज्ञानात्मक पक्ष प्रबल छ, यसमा इतिहास र समाज मिसिएर आउँछन् । बदरीनाथ भट्टराईका निबन्धले यस ढाँचालाई उठाए । स्मरणप्रधान ढाँचाको प्रयोग पारसमणि प्रधानले जगेडेका थिए । यस कृतिमा यी माथिका मुख्य चार ढाँचाहरूको मिश्रित स्वाद पाइन्छ ।

सन्दर्भसूचीः
बजगाईँ, कृष्ण (२०७६) दाइबुचु (नियात्रा सङ्ग्रह), बागबजार ः शिखाबुक्स ।
राई, इन्द्रबहादुर (२०६७) ‘रातभरि हुरी चल्यो’ सबैको नेपाली, पुलचोक ः साझा प्रकाशन ।
शर्मा, रामकृष्ण (२०५२) ‘टाक्सिएको नेपाली कविता .....’ साझा समालोचना (चौथो संस्करण), ललितपुर साझा प्रकाशन ।
श्रेष्ठ दयाराम र मोहनराज शर्मा (२०४९) नेपाली साहित्यको संक्षिप्त इतिहास (चतुर्थ संस्करण) पुलचोक ः साझा प्रकाशन ।
ब्दचबmक, ः।ज्। ९ज्ञढघढ० ब् न्यिककबचथ या ीष्तभचबचथ त्भचmक ९क्ष्हतज भ्म।० द्यबलनबयिच स् एचष्कm द्यययप एखत। ीतम।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 फागुन, 2076

लेखकका अन्य रचनाहरु