धुरिका ढुकुर जोडी

- डा. चन्द्र गिरी

जाडोको मौसम थियो। सिमसिमे पानि पर्दै रोकिदै, पानि पर्दै रोकिदै थियो। घाम र बादल को लुकामारी चलि रहेको थियो। एका बिहानै एक जोरी ढुकुर घरको धुरीमा बसे छन्। सबेरै उठेर धुरीमा जान कति जाँगर आएको हो इनीहरुलाई, मैले मन मनै सोचे। साएद उनीहरु हरेक बिहान तेसै गर्छन, मैले नदेखेको मात्र हो। आफ्नै आँखा अगाडी भएका अरु धेरै कुराहरु पनि बर्षौ पछि देख्ने गरेको छु मैले। कति भाग्यमानी इनिहरु बिहानै उठेर काममा पनि जान नपर्ने, हाकिम को कचकच पनि सुन्नु नपर्ने। यता आफुलाई भने जाडोमा सिरक उडेर सुत्न छोडेर काममा जानु परेको छ।

अनि कति जान्ने भएका हुन् इ जोडी ढुकुर पनि। घरको सबभन्दा अग्लो र राम्रो ठाउँ छानेछन। पुरै गाउँ छर्लंग देखिने गरि बसेछन, स्वच्छ सिरसिरे हावा पाइने ठाउँ रोजेछन। बेला बेलामा लाग्ने घामले ढाड सेकाउन पनि पाइने ठाउँ छानेछ्न। धुरिबाट पुरै गाउँ देखिए पनि उनीहरुलाई केहि चासो छैन, दुइ जनाको साथ भए पुग्यो।

यसो हेर्छु उनीहरु कुरा पनि गर्दैनन्, छेउमा बसे पुग्ने रहेछ कि क्या हो? संगै छन् तर आफ्नै तालमा छन्, आफैँ रमाई रहेका छन् । यसो छड्के आँखाले पनि एक अर्का लाई हेर्दैनन्। बेला बेलामा पखेटा फर फर पार्छन, पानी टक टक्याका होलान।

यी जोडी ढुकुर हरु त बोल्दै नबोली एक अर्काको साथ रमाई रहेका छन् त, म बरबराउछु । नबोले पछि झैँ झगडा बाद विवाद पनि नहुदो रहेछ। रिस राग को केहि सुइँको देख्दिन। आफुलाई चाही नबोली बस्न सजाय जस्तै लाग्छ। बोले कन्सिरी तातेर आउने सम्भवना। बेला बेलामा आफैले बोलेको कुरा कसरि फिर्ता गर्ने होला भन्ने पिर पर्छ।

एक्ला एक्लै बस्न पनि त सक्थे, एकजना मुलघरको धुरीमा अर्को गोठको धुरीमा। छेउमा त बस्ने पर्ने रहेछ। फेरी सोच्छु, भावनात्मक सम्भन्ध नभएको पनि होइन उनीहरुको बीच। हुन सक्छ चाहिने जति छ। भावनात्मक सम्भन्ध धेरै भएर वा धेरै देखाएर झन् काम बिग्रिने पो होकी?

यिनीहरुका बाऊ आमा, छोरा छोरी, आफन्त हरु कहाँ गए के गर्दैछन, उनीहरुलाई रतिभर चिन्ता छैन जस्तो छ। उड्न जान्ने भए पछि उनीहरु आफ्नो गुँडमा कहिलै फर्केनन्। साएद जिन्दगि भर उनीहरुको आफ्ना बाऊ आमा सँग भेट हुदैन होला। बाऊ आमा लाई पनि त भेट्ने आशा छैन होला।

फेरी सोच्छु यी दुई कहाँ कसरि भेटे होलान, लगन गाठो कसरि बाँधे होलान, अनि जिन्दगीभर संगै बस्ने बाचा कसरि गरे होलान। एक्ला एक्लै “विल यु म्यारी मि”? भन्दा “आइ डु” भन्न कसले सिकायो यिनीहरुलाई। बाऊ आमाले पनि सिकाएको होइन, सानैमा घर बाट निस्केको। अरुको बिहेमा यिनीहरुलाई निम्तो पनि थिएन।

उनिहर घन्टौ धुरीमा बसी रहे, अनि एक अर्काको अनि सुन्दर बिहानीको मज्जा लिई रहे । मैले पनि उनीहरु लाई हेरी रहें, सोची रहें।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 फागुन, 2076

लेखकका अन्य रचनाहरु