कुकुर ‘क’

- कृष्ण बजगाईं

प्राथमिक तहको वर्णमालाका अक्षरहरु आफूखुशी अथ्र्याएर पढाउन थालेपछि गन्जोगोलको स्थिति सिर्जना भयो । त्यसपछि पठनपाठनमा एकरुपता ल्याउन सरकारले सबै राजनीतिक पार्टीका शिक्षक र भाषाविद्हरुको बृहत भेला आयोजना गर्यो ।
‘कपुरी ‘क’मा पुरानो सत्ताको धङधङी छ ।’ भेलाका सहभागी एक क्रान्तिकारी भाषाविद्ले कुरा उठाए ।
‘अबदेखि ‘क’बाट कम्युनिष्ट भनेर पढाउनु पर्दछ ।’ लेनिनकट दाह्री राखेका शिक्षकले भने ।
‘कम्युनिष्ट भन्दा कांग्रेस पार्टी पहिला स्थापना भएको हो । ‘क’बाट कांग्रेस भनेर पढाउनु पर्दछ ।’ बी पी कोईरालाको जस्तो चस्मा लगाएका अर्का भाषविद्ले तर्क राखे ।
एकजना कुर्ताधारीले ‘क’बाट कलम भनेर सिकाउनु पर्दछ भनेँ ।
‘मिल्दैन, बिल्कुलै मिल्दैन । कलम त्यो ....पार्टीको झण्डामा छ । कछुवा त्यो.... पार्टीको चुनाव चिन्ह हो । कमल त्यो... नेताको नाम हो । कापी चुनाव चिन्ह लिएका ती.... नेताले चुनाव जितेका छन्... ।’ विभिन्न तर्क र बिरोधले मर्यादा नाघेर होहल्लाको रुप लियो ।
लामो समयसम्म छलफल गर्दा पनि कुनै शब्दमा सहमति हुन सकिरहेको थिएन । अधिकांश प्रतिनिधिहरु विचरा ‘क’को नाममा उत्तेजित हुदै थिए । केही प्रतिनिधीहरु मैले भनेकै हुनुपर्दछ भन्दै कुकुर जस्तै भुक्दै थिए ।
होहल्लाकै बीच माइन्युट गर्ने कर्मचारीले ‘क’बाट कुकुर पढाउँ हजुर भनेर प्रस्ताव राखे । वास्तवमा कुकुर कसैको नाता पर्दैन थियो । कुकुर शब्दमा सबैले सहमती जनाए ।
‘त्यसपछि के भयो ?’ कथा सुनिरहेको ती बेलायती नागरिकले बिचैमा प्रश्न गरे ।
‘पढेलेखेका अधिकांश विद्यार्थीहरु बेरोजगार भइ कुकुर जस्तै डुल्न थाले । काम खोज्न विदेशिएकाहरु कुकुरले नपाएको दुःख पाउन थाले । नेताहरु एकआपसमा कुकुर जस्तै झगडा गरिरहन्थे । केही नेता र उच्चपदस्थ कर्मचारीहरु विदेशीका सामू कुकुरले जस्तै स्वामीभक्ति देखाउँदथे । सामान्य मानिसहरु कसैलाई गाली गर्नु पर्यो भने ‘कुकुर’ शब्द प्रयोग गर्न थाले । शिप बेगरको कुकुर शिक्षा र कुकुर संस्कारले गर्दा म तपाईंको देशमा कुकुरको भन्दा पनि गएगुज्रेको जीवन भोग्न बाध्य छु ।’ एकजना एनआरएनले आफ्नो रामकहानी सुनाउँदै थिए । अचानक तिनको जर्मन शेफर्ड कुकुर भुक्न थाल्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 फागुन, 2076

लेखकका अन्य रचनाहरु