प्रधानमन्त्रीको गाउँघर

- गोपीकृष्ण ढुंगाना

जनगणतन्त्र चीनका संस्थापक माओ त्से तुङको जन्म घरलाई संग्रहालय बनाएपछि आन्तरिक पर्यटकको भीड लाग्न थाल्यो । सन् १८९३ मा जन्मिएका उनको सन् १९७६ मा निधन भयो । द न्यूयोर्क टाइम्सको लेखमा छ, ‘माओको जन्मघर हेर्न सन् १९७१ मै १६ लाख पर्यटक पुगेका थिए ।’ सन् २०११ सम्ममा उक्त घर चीनको उत्कृष्ट पाँच गन्तव्य बनिसकेको थियो । हुनान प्रान्तमा पर्ने उक्त ठाउँलाई ‘रेड टुरिज्म’ ले चिनिन्छ । विश्वप्रसिद्ध टाइम म्यागजिनका अनुसार २०औं शताब्दीका सय प्रभावशाली व्यक्तिमध्ये एक माओ त्से तुङ हुन् ।
गर्न सके के हुँदैन ? माओको जन्मघरले एउटा पुष्टि दिएको छ । श्रद्धाका साथ पुग्नेहरुले उत्कृष्ट तीर्थ स्थल मान्छन् यस्ता घरलाई । विश्व चिहाउने हो भने ती मुलुकका सरकारले वर्षेनी करोडौं पर्यटकलाई खुसी बनाएर आयस्रोतको गतिलो माध्यम बनाएका छन् भने अर्कोतिर माओलाई विश्वभर चिनाउँदै जीवन्त बनाइरहेका छन् । देशलाई महत्वपूर्ण योगदान गर्ने व्यक्तिमाथि नागरिकको मोह हुन्छ । उनका हरेक गतिला काम अरुका लागि प्रिय लाग्छन् । उनका बाल्यकाल, जन्म स्थान र प्रयोग गर्ने विविध चिज हेर्न लालायीत हुन्छन् । यो प्रसंग यहाँ मुलुकका वर्तमान प्रधानमन्त्री केपी (खड्गप्रसाद) ओली र उनको जन्मथलोसँग जोडिएको छ । ओलीमात्र होइन, सबै प्रधानमन्त्रीका जन्मघर पर्यटकको केन्द्र बन्नसक्छ ।
गाउँमा हेलीप्याड र एयरपोर्ट
‘पछिल्लो भेटमा जग्गा थपेर प्राविधिक कलेजलगायतका लागि तन्दुरुस्त संरचना बनाएर काम गर्ने इच्छा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ । ओली ट्रस्ट बनाएर काम अघि बढाइएको छ’, संग्रौलाले भने । उनका अनुसार ३÷४ वटा ट्रस्ट बनाएर जग्गा कम्पनी ऐनमा दर्ता गरेर काम अघि बढाउने क्रममा हालसम्म करिब पाँच सय रोपनी जग्गा प्राप्त भएको छ । बेच्नुअघि २५ रोपनी थियो । उनका बुबा दुई दाजुभाइको नाममा २५ रोपनी थियो । ‘प्रधानमन्त्रीको इच्छा गरिबदुःखीका छोराछोरीले होस्टलमै बसेर पढुन् भन्ने हो । कलेज निर्माणमा जापानले रुची देखाएको छ’, संग्रौलाले भने ।
यी सबै प्रयोजनका लागि काम अघि बढाइरहँदा सहज यात्रा होस् भनेर ओलीको जन्मघर परिसरमा मंसिरमा हेलिप्याड बनाइएको छ । यसका लागि करिब तीन रोपनी जग्गा सम्याइएको छ । तेह्रथुमकै चुहानडाँडामा एयरपोर्ट बनाउने काम अघि बढिसकेको छ । रविन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा यही एयरपोर्ट अवलोकन गरेर पाथीभारा माताको दर्शन गरी फर्कदा हेलिकप्टर क्र्यास भएर सवार सबैले ज्यान गुमाएका थिए । सोही मन्त्रालयको जिम्मेवारी सम्हालेपछि योगेश भट्टराईले पनि उक्त एयरपोर्टको अवलोकन गरी काम चाँडो अघि बढाउन पहल गरिसकेका छन् ।
सेतो सर्प र ओलीको आँट
केपीका बुबा कान्छा । मोहनप्रसाद र आमा मधुमाया ओलीको कोखबाट केपीको २००८ फागुन १० गते जन्म भएको थियो । केपीको ललितपुरकी राधिका शाक्यसँग विवाह भएको हो । खानीगाउँमा केपी अर्थात् खड्गप्रसाद चार महिनाका थिए । आमा पधेंरोमा पानी लिन गएकी थिइन् । डिलमा थपलिया थरका छिमेकी घाँस काट्दै थिए । ‘चार महिनाको हुँदा केपीलाई सेतो सर्पले बेरेछ । पानी लिएर फर्कँदा छोराको शरीरमा बेरेर सर्प टाउकोमा पुगेको देखिछ’, बुबा मोहनले भनेका छन् । ध्रुवलाई सर्पले टोक्यो भनेर आमाले गाउँलेलाई गुहारिन् । उनले थपे, ‘ए छोरालाई सर्पले खायो भनेर ग्राग्रो फालेर दौडिइछ । चिच्याएपछि सर्प भाग्यो । नानी (केपी) खेल्न थाल्यो । थपलियाले भनेका थिए, यो मान्छे राजा हुन्छ राजा नभए राजामुनिको हुन्छ ।’
केपी तीन वर्षको हुँदा आमा बिफरको महामारीले बितिन् । हजुरआमा राममायाले हुर्काइन् । सानोमा ध्रुव नामले बोलाइने उनको स्कुलमा नाम लेखाउँदा खड्गप्रसाद राखिएको थियो । छोटकरीमा केपी ओलीको नामले प्रधानमन्त्री चिनिन्छन् । उनका एक भाइ तीन बहिनी । उनी कक्षा सातमा पढ्दा आठराईमा (२०२७÷२८ सालतिर) कम्युनिष्ट आन्दोलन चर्किदै गएको र त्यसैबेला गाउँ छोडेर राजनीतिमा होमिएको स्थानीयको भनाइ छ । ‘राजनीतिमा बढी लगाब भएकाले यहाँ बस्ने अवस्था भएन । उहाँ झापा झर्नु भयो’, स्थानीयवासीले भने ।
ओली एक्लै नदीमा हाम्फाले
केपीले प्रणामी माध्यमिक विद्यालयमा अध्ययन गरे । घरबाट स्कुल १० मिनेटको बाटो । संग्रौला सम्झन्छन्, ‘२८ सालमा पञ्चायती शासनविरुद्ध आन्दोलनका लागि सोधपुरको वीरेन्द्र नामको स्कुलमा कार्यक्रम गर्न जानुभयो । राजनीतिक गतिविधि धेरै भइरहेका थिए । घर फर्कँदा बाटोमा लिम्बुनी पुल छ । त्यहाँ बाटो साँघुरो भएकाले भाग्ने ठाउँ थिएन । सामन्त भनाउँदाले नाँगो खुकुरी तेस्र्याए । अरुबेला पनि केपीको टिम ठूलो भए तिनलाई कुट्ने, उनीहरूको ठूलो भए केपीको टिमलाई कुट्ने अवस्था थियो । अब उनेरुको ठूलो जमात भएकाले केपीको टिमलाई गोरुचुटाई कुट्ने भए ।’
केपीको टिम पुलमुनि पस्यो । आधा बाटो पुग्दा पारीपट्टि पनि बडेमाका लौरा लिएर बसेका रहेछन् । अब के गर्ने ? कता जाने ? बर्खाको बेला छ, तमोर नदी उर्लिएको छ । ‘अरुले आँट नगरेपछि केपी एक्लै झ्वाम्म हाम्फाल्नु भयो । टार्गेट केपी थिए मूलनेता भएकाले, अरुले कुटाई खाए’, उनी भन्छन्, ‘हिम्मत सानैदेखि थियो । अहिले पनि रोगले यस्तो हुँदासम्म उहाँसँग त्यो साहस छ । पार्टीभित्र गुट उपगुट हुन्छ नै । म तिम्रो हुँ पार्टीका लागि तिम्रा लागि जे पनि गर्न तयार छु भन्नेका लागि ओली मर्न पनि तयार हुने मान्छे । धेरै नेताले आफ्ना कार्यकर्ता जोगाउन र बचाउन सकेनन् ।’
अडान नछोड्ने ओली प्रखर विरोधीलाई पनि पक्षमा ल्याउन सक्ने नेता भएकाले गाउँलेका नाताले स्थानीयले गर्व गरेको पाइयो । ओलीले बाल्यकालदेखि नै संघर्षपूर्ण जीवन बिताएको उनीहरुको टिप्पणी छ । ‘संघर्षपूर्ण जीवन जीवनको चुनौति हो । म जीवनलाई निरस र बोझिलो पाराले बिताउन चाहन्नँ’, उनले भाषणमा भन्ने गरेका छन् । १० वर्षको जेलजीवनमा २५ ठाउँ सारिए । आफ्नाबारे उनी भन्छन्, ‘ओखरजस्तै छु, बाहिर कडा भित्र ज्यादै नरम ।’ विद्यार्थी कालमा पढ्दा तरकारी डढ्दा मात्र थाहा पाउने गरेको स्थानीयले सुनाए । केपी अहिले पनि अध्ययनमा उत्तिकै छन् ।
ओलीको जन्मघर
घर दसकौं अघि बने पनि अहिले चिटिक्कको छ । ओली जन्मेहुर्केको घर २०७२ को भूकम्पमा चर्किएपछि मर्मत गरी राम्रो बनाइएको छ । पहाडी भूभागको गाउँमा बन्ने घरजस्तै यो पनि इट्टा, बालुवा, सिमेन्ट र रड प्रयोग नभएको गाउँले पाराकै छ । दुई तले घरको माथि सिलिङ छ । छानो खरको छ ।
छेउमा लामो सोतो परेको बाँसको टाटीले बेरेको खरकै छानो भएको ग्वाली (गाईवस्तु बाँध्ने घर) छ । त्यसको छेउमा टिनको छानो भएको काठको शौचालय छ । ५० मिटर पर माच (पराल राख्ने) छ । शौचालय र माचको बीचमा पानीको धारो छ, त्यहाँ भाँडा माझ्ने खुला ठाउँ छ । ओलीले यो घरकै आँगनमा जोडेर बनाएको अलि ठूलो यस्तै खालको घर पनि किनेका रहेछन् । यी दुवै घर र खेतबारीको रेखदेख र संरक्षणका लागि भुसाल थरको चारजनाको परिवारलाई जिम्मा दिएका छन् ।
उनको घरको भूइँ बरन्डाको दाहिनेपट्टि एउटा गजरा राखिएको थियो, छेउमा मकैको खोसेलाको पिरा । ढोकाभित्र पस्ने देब्रेपटि जाँतो छ, छेउमा बाँसको ढाकी । ढोकामाथि देब्रेपट्टि सयपत्री फूल ओइलिएको अवस्थामा सिउरिएको छ भने दाहिनेपट्टि क्यालेन्डर झुन्डिएको छ । घरको तलको भाग रातो माटोले लिपेको छ भने चारैतिर भित्तामा कमेरे (सेतो) माटो प्रयोग गरेर लिपेको छ । कोठाभित्र दुई÷तीनवटा बोरा राखिएका थिए । घरको दाहिनेपट्टि लाछी (घरको पाखामा गाँसेको छानो) बनाइएको छ । जसमा दाउरा, गाईवस्तुका भाँडाकुँडा, पराल, खोसेला आदि राखिएका छन् । त्यो घरमा कोही बसेका छैनन् । संरक्षण गर्नेहरु अर्को घरमा बसेका छन् । दुवै घरका बलेंसीमा विभिन्न फूल रोपिएका छन् । छेउका पाखामा अम्रिसोका बोट छन् । सुन्तला लगायतका बोटले वरिपरि हरियाली छ ।
जन्मघर पुग्नै सास्ती
छातेढुंगोबाट लगभग ओरालो हुँदै घर पुग्दाको बाटो साँघुरो, कच्ची, खाल्डाखुल्टी र हिलो छ । ग्रयाबेलसम्म गरिएको छैन । प्रधानमन्त्रीको घर पुग्नेले सास्ती व्यहोर्नुपर्छ । टेलिकम पाँचथरका प्रमुख शरद भट्टराई, सञ्चारकर्मी लेखनाथ सिकारु, शिक्षक सन्तोष खनाल र पंक्तिकार गत साता दुई पांग्रेमा पुगेका थियौं । दुई पांग्रेमा सास्ती हुने बाटोमा चारपांग्रे लैजान निकै कठिन छ । ४० मिनेट पैदल हिँड्दा फाट्टफुट्ट घर भेटिन्छन् । उक्त घर हेरचाहमा बसेकी भगिरथा भुसाल केपी पढेकै स्कुल प्रणामी माविमा प्रावि तहलाई पढाउँदैछन् । ‘प्रधानमन्त्री बसेको घरमै बसेर उहाँ कक्षा ५ सम्म पढेकै स्कुलमा पढाउँदैछु, खुसी र गर्व लागेको छ ।’ उनका अनुसार, केपीलाई पढाउने कोही शिक्षक अहिले त्यो विद्यालयमा छैनन् ।
जंगलको काँडा र गाउँप्रेम
बालुवाटारमा गत भदौमा भेट्दा प्रधानमन्त्रीले पार्टी (नेकपा) महासचिव विष्णु पौडेललाई भनेका थिए रे, ‘यी सबै मेरा आफन्त, म आज राजनीतिक कुरा गर्दिनँ व्यावहारिक कुरा गर्छु ।’ गाउँको टोलीसँग पुग्दा एक घण्टा समय गाउँघरबारे कुराकानी भएको संग्रौलाले जानकारी दिए । सानो हुँदा गोठ राख्ने बारीमा सानो हुँदाका खमारेका आँप कटहर फल्दैछन् कि छैनन् ? गाउँका बुढापाकाहरुको नाम सोधेर उहाँ के गर्दै हुनुहुन्छ ? फलानाको व्यवहार कसरी चलेको छ ? यस्तै सोध्नुभयो ।
उनले केपीबारे भने, ‘जंगलको काँडा तिखार्नु पर्दैन भन्ने सुनेको थिएँ, केपी ओली यसकै नमुना हुनुहुन्छ ।’ उनको गाउँ ब्राह्मण क्षेत्रीको बस्ती थियो । खेतीकिसानी गाईवस्तु पाल्ने । धान खेती गर्ने । क्रमशः लिम्बु र दलित हुँदै धेरै जातजाती थपिए । ‘पश्चिम बंगालमा त्यहाँका कम्युनिष्ट माथि अलि बढी दमन भएपछि ती मान्छे बाँच्न र बस्नका लागि यतातिर छिरेका थिए । पढेलेखेका ती मान्छेमा राजनीतिक चेतना गहिरो थियो । यहाँ आएर स्थानीयलाई विद्यालय खोल्न प्रेरित गरे । पढाउन थाले सँगै राजनीतिक आन्दोलन पनि अघि बढाए । संभवत केपी यसैकारण राजनीतिमा होमिएर संघर्षले अहिले दोस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ ।’ ओली यतिबेला ‘समृद्ध नेपाल र सुखी नेपाली’ मूल नाराका साथ देश विकासमा जुटेका छन् ।
बर्थ डे सेलेब्रेसन
प्रधानमन्त्री ओली जन्मेहुर्केको गाउँ हो, इवा गाउँ विकास समिति वडा नम्बर २ खानीगाउँ । राज्य पुनर्संरचनापछि यो तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ४ मा पर्छ । निर्धाणाधीन मध्यपहाडी राजमार्ग छोडेर उत्तर लागेपछि ४० मिनेट पैदलमा घर पुगिन्छ । राजमार्ग छेउको छाते ढुंगाबाट करिब ३० मिनेटको दूरीमा खानीगाउँ छ । राजमार्गबाट करिब ४ किलोमिटर दूरीमा घर छ । आफू जन्मेहुर्केको घर बिक्री गरे पनि पुनः ओलीले यो घर किनेका छन् ।
तुलसी संग्रौलाले २०४७ मा घरजग्गा किनेर बसोबास गर्न थाले । २०६८ सालमा एकजना तामाङले किनेर बसे । प्रधानमन्त्री तेह्रथुम पुगेर पुनः तामाङलाई आफूले किन्ने बताएपछि झन्डै चार वर्षदेखि यो घर स्वामित्वमा छ । स्वस्थ्य पनि त्यति राम्रो छैन, सामाजिक काम गर्न सार्वजनिक सम्पत्तिका रुपमा व्यवस्थापन गर्ने इच्छा छ भनेपछि तामाङले घर बिक्री गरेका थिए । त्यही घरमा प्रधानमन्त्री केपी शर्मा ओली फागुन ११ गते ६९ औं जन्मदिन मनाएका छन् । उनले आठराईका जेष्ठ नागरिकलाई सम्मान र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । यसअघि गतवर्ष प्रधानमन्त्री निवास बालुवाटारमै जन्मदिन मनाएका थिए भने त्यसअघिको वर्ष प्रधानमन्त्री नहुँदा निजीनिवास भक्तपुरको बालकोटमै मनाएका थिए ।

(ढुंगाना अन्नपूर्ण पोष्टका वरिष्ठ संवाददाता÷उपसम्पादक हुन् ।)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 फागुन, 2076

लेखकका अन्य रचनाहरु