ऐठन

- सन्ताेष लुइटेल किंशुका

म सडकमा हिँडिरहेको थिएँ । एक्कासि सहरमा होहल्लासहित भागदौड मच्चिएको देखिन्छ । सबै मानिसहरू आफ्नो बुताले भ्याएसम्म नातागोता, आफन्त, बुवाआमा, छोराछोरी केही नभनी आफ्नै ज्यान जोगाउने ध्याउन्नमा भागिरहेका देखिन्थे । सायद सहरमा कुनै ठुलै अनिष्ट भएको छ । म पनि एउटा काम विशेषले सोही सहरतिरको यात्रामा थिएँ । एक्कासि मानिसहरू यसरी भागेको देखिसकेपछि आफ्नो गन्तव्यलाई बिचैबाट मोडेर घरतिरै भाग्ने सुर कसेँ र फर्केँ पनि । तर मलाई हतारहतार गरेर भाग्न पनि त्यति सहज थिएन किनकि मेरो दाहिने खुट्टो चल्दैनथ्यो र मसँग टेक्नका लागि लौरो पनि थिएन । म हतारमा लटपटिँदै भाग्न थालेँ ।
म लड्दै र घस्रँदै केही पर पुगेको मात्र थिएँ । त्यो त्रस्त मानिसहरूको भिड म भएकै ठाउँमा आइपुग्न लागिसकेको थियो । मानिसहरूलाई आफ्नो ज्यान जोगाउने बाहेक कुनै पनि कुराको वास्ता थिएन । मैले पनि आफ्नो ज्यान जोगाउनका लागि बाटामुनि झर्ने योजना बनाएँ र जसोतसो झर्न सफल भएँ पनि तर अब त्यहाँबाट जाने कुनै ठाउँ थिएन । यताउति हेरेँ र नजिकै एउटा झ्याम्म परेको बुटाका फेदमा लुकेर मानिसहरू भाग्नुको कारण बारे सोच्न थालेँ । यत्तिकैमा मेरा आँखामा सहर नजिक बाटामा भइरहेको विभत्स दृश्यमा गएर ठोकिन्छन् । धुलो र धुवाँको मुस्लो अनि त्यही धुलो र धुवाँका मुस्लामा अटेसमटेस हुँदै फैलिरहेको मानवीय चिच्याहट ।
सहरका घरहरू जल्न थालेका थिए । कतिपय भत्किसकेका र खण्डहरमा परिवर्तन भइसकेका थिए । यो सबै हेर्न नसकेर मैले आँखा चिम्म गरे र भुर्इमा लेटिएँ । फेरि मनले मानेन । अझ पनि कौतुहल शान्त भएको थिएन । नजिकैबाट आएको तिखो चिच्याहटले मेरा आँखा खुले । आँखा खुलेसँगै मेरो शरीर जिरिङ्ङ भयो । मेरा नजिकै रहेको खोल्साभन्दा केही परतिर एक अजङ्गको मानवाकृत वस्तुले मान्छे मारिरहेको थियो ।
त्यो दृश्यले मेरो शरीर काम्न थाल्यो । एकाएक सास रोकिएलाझैँ भयो । आँखा चिम्म चिम्लिएर भुर्इँमा लेटिइरहेँ । मन एक तमास भयो । जीवन बाँच्ने आशा मरेर गयो । मनमा विभिन्न कुराहरू खेल्न थाले । यत्तिकैमा मेरा जिवाले भगवानहरूका बारेमा सुनाएको कथा चित्रझैँ बनेर आए । मेरा जिवा भन्नुहुन्थ्यो - उहिले सत्ययुगमा संसारमा देवताहरूको राज थियो । लामो समयदेखि उनीहरूले एकछत्र राज गरिरहेका थिए । यस संसारमा अत्यन्तै सुन्दर सुन्दर सहरहरू रहेका थिए । संसार अत्यन्तै विकसित र सम्मन्न थियो । सुन, चाँदी, हिरा, मणिमाणिक्य कुनै कुराको कमी थिएन । देवताहरू नयाँनयाँ कुराको खोजमा लागि नै रहेका थिए । यत्तिकैमा ब्रह्माले जीवको आविकष्कार गरे । त्यसलार्इ अझ नयाँनयाँ स्वरूम दिँदै गए र अन्त्यमा त्यसको नाम मानव भनी राखे ।
ब्रह्मा आफ्नो प्रयोगशालामा आफ्नै स्वरूप भएको नयाँ प्राणी बनाएर खुसी थिए । उनको जिज्ञासा त्यतिले मात्र शान्त भएको थिएन । उनी अति नै महत्त्वाकाङ्क्षी भर्इ त्यसलार्इ देवता सरह बनाउनमा तल्लीन हुन थाले । उनको त्यसमा एउटै सोच थियो, यो मनुष्यमा देवताहरूका सम्पूर्ण गुणहरू प्रतिस्थापन गर्न सकिन्छ कि सकिँदैन । आफ्नो आविष्कारले देवताहरूसरह बोल्ने, हिँड्ने, सोच्ने र काम गर्ने जस्ता कुरा गर्न सकोस् । उनी हरेक दिन त्यसैमा तल्लीन रहे र एकपछि अर्को गर्दै विभिन्न गुणहरू विकास गराउँदै लगे । लामो प्रयासपछि अन्त्यमा उनले मानव नामक जीवलार्इ प्रजनन शक्तिसमेत दिन सफल भए । जसले गर्दा मानव नामक जीवले एकातिर सन्तान उत्पादन गर्न थाल्यो भने अर्कातिर रिस, र्इर्ष्या, घमण्ड जस्ता गुणहरू उसमा विकास हुँदै गए । सबै कुरामा सफल हुँदै गएकामा ब्रह्मा ज्यादै खुसी थिए ।
देवताहरू दीर्घजीवी थिए । उनीहरू आफ्ना र्इच्छाले मर्दथे र सन्तान जन्माउँथे । त्यसैले उनीहरूको सङ्ख्या संसारमा तेत्रो विघ्न पनि थिएन । उनीहरूको संसार अत्यन्त सुखी र खुसी थियो । समयक्रमसँगै ब्रह्मामा बढ्दै गएको महत्त्वकाङ्क्षाका कारण निर्माण भएका अग्न्यास्त्र, वायुअस्त्र, जलास्त्र जस्ता नयाँनयाँ शस्त्रास्त्र र देवताहरूमा बढ्दै गएको शक्ति प्रदर्शनको होडले गर्दा केही अशान्ति बढ्ने अवस्था सिर्जना भइरहेको भए तापनि त्यसलार्इ विभिन्न तरिकाबाट नियन्त्रण गरिरहेका थिए । सुरूसुरूमा त ब्रह्माको मानव आविष्कारले सबैमा खुसी प्रसार गर्यो । सबैले आफ्ना काम उसैमार्फत गराउन थाले । तर, समयक्रमसँगै मानवले प्रजनन शक्ति पाउनुले एकातिर मानवको सङ्ख्यामा वृद्धि भयो भने अर्कातिर उसमा रिस, र्इर्ष्या, घमण्ड जस्ता गुणहरूको वृद्धिले गर्दा हरेक कुरामा प्रतिशोधको भावना विकास हुन थाल्यो । जे भए पनि मानवहरू देवताहरूले भनेअनुसार काम गरेर सहयोग गरिरहेका थिए ।
प्रजनन शक्तिसमेत पाएका मानवहरूको सङ्ख्या निरन्तर रूपमा बढेर देवताभन्दा बढी हुन थालेपछि ब्रह्माले मानवका लागि मृत्युको परिबन्ध गरे । जसबाट मानव निश्चित समयपछि मर्ने भयो । जसले मानवलार्इ रूष्ट बनायो । शारीरिक रूपमा देवताहरूभन्दा ज्यादै बलिया मानवहरूमा देवताहरूको जस्तै जीवन बाँच्ने रहरले उनीहरूप्रति र्इर्ष्या पैदा गर्दै लग्यो र एकदिन सारा मानवहरू देवताहरूलार्इ आक्रमण गर्न तम्सिए । देवताहरूमाथि मानवको अत्याचार यति बढ्यो कि उनीहरूले अब केही गरेर पनि त्यसबाट मुक्ति पाउने थिएनन । मानवको त्यो अत्याचारबाट मुक्ति पाउनका लागि देवताहरू आफ्नो शक्तिको प्रयोग गरी अन्तर्ध्दान हुन थाले ।
एकपछि अर्को गर्दै देवताहरू अन्तर्ध्दान हुँदै जाँदा सम्पूर्ण देवताहरू यस संसारबाट सिद्धिए । त्यतिबेलासम्म मानवसँग बाँच्नका लागि खाने कुरा पनि उत्पादन गर्न जानेका थिएनन् । उनीहरूले निकै दुःख पाए । यसरी खानु न पिउनु भएर बाँच्न गाह्रो भएपछि मानवहरू पुनः देवताहरूलार्इ सम्झन थाले । उनीहरू देवताहरूको यादमा तड्पिँदै उनीहरूका नाममा गुणागान गाउने तथा पहिले आफू जसका संरक्षणमा रहेका थिए, उनै देवताको स्वरूप विभिन्न रूपले बनार्इ त्यसमा क्षमा माग्दै पूजा गर्ने जस्ता कार्य गर्न थाले । देवताहरू पनि दयालु स्वभावका भएका कारण सुरूसुरूमा मानवहरूले यसरी क्षमा मागेको र आफ्नो गल्तीप्रति प्रायश्चित गर्ने मानवहरूको दुःख देख्न नसकी उनीहरूलार्इ अदृश्य रूपमै आएर विभिन्न व्यक्तिहरूलार्इ विभिन्न ज्ञानसिपका कुराहरू सिकाइदिए । जसबाट मानवहरूले आफैँले बनार्इ तुल्यार्इ खान सक्ने भए । त्यसैले आजसम्म पनि मानिसहरूले देवताहरूको पूजा गर्छन् ।
सोच्दासोच्दै मेरो ओठतालु सुकिसकेको थियो । कोलाहल र भागदौड उस्तै थियो । म झाडीमा कसैले नदेख्ने गरी लुकेर मूर्तिवत टोलाइरहेको थिएँ । सारा घटना मेरा आँखामा ऐनामा देखिने प्रतिबिम्ब समान थिए । म सोच्दै थिएँ, अहिले पनि यी मान्छेले आफ्ना महत्त्वाकाङ्क्षा पूरा गर्न गरेका आविष्कारहरूले सारा मानव जातिलार्इ यो हालत गराउँदै छ । अब जिबाले भनेको कथाका देवतालार्इ जस्तै सारा मानिसलार्इ यी बलिष्ठ शरीरयुक्त धातुमानवहरूले सिद्ध्याउने भए ...।
म यस्तै यस्तै कुराहरू सोच्दै थिएँ । हठात् म लुकेको झाडीकै छेउबाट एउटी महिला र सानो बालकको चित्कार आयो । म अत्यन्तै डराएछु । मेरो होसहवास हराएको थियो । म बलशक्ति चिच्याउँदै भाग्न खोज्दै थिएँ । मेरी आमाले मलार्इ झकझक्याउँदै बोलाएर भन्नुहुँदै थियो - “बाबु साह्रै नराम्रो सपना देखिस् कि किन यस्तरी आत्तिएको ? तँलार्इ ऎठन भए जस्तो छ ।” पसिनै पसिनाले शरीर लछ्रप्प भिजेको थियो । म लगलग कामिरहेको थिएँ । मुख सुकेर प्याकप्याक परेको रहेछ । मलार्इ सपनामा कस्तो ऎठन भएछ । साँच्चै मैले देखेको सपनाजस्तै मानव सभ्यतामाथि मानवीय आविषकार नै विनाशको आगो बनेर दन्कने त होइन ? सधै सोचिरहन्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 13 फागुन, 2076

लेखकका अन्य रचनाहरु