आशा

- कृष्ण बजगाईं

उनको आवाज सुन्न चाह्यो उसले । "गोपी कृष्ण कहो" जसरी नै उनी फरर... बोल्न थालिन ।
शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले
र अधरको मुस्कान खोज्यो ।
       सुरक्षितसाथ जोगाएर राखेकि थिईन । आँखाले एक्स्-रे गरेर हेर्यो सम्पुर्ण बनावटलाई । चुम्बन गर्यो अंग प्रत्यगंलाई आँखैले । अलिकति उत्तेजित भयो ऊ ।
उनको हिंर्डाईको चाल थाहा पाउन चाह्यो उसले । तालिम प्राप्त मोडेल झैं ऊ सुस्तरी हिंडी । उसले क्याट वाक् को मजा त्यहीं लियो र र्याल काढ्यो ।
       आज पनि नाटकको एक क्षेपण सकियो ।
बर्षौंदेखि यसरी नै त्यस युवतीलाई आफन्तकै अगाडि धेरैले नङ्याउँदै आए । कतै बिहे भै हाल्छ कि भन्ने आशामा यी सबै चुपचाप सहिरहेकि छे एक बुढीकन्या ।

साभारः रचना द्धैमासिक, काठमाण्डौ २०६५

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 9 भाद्र, 2065

लेखकका अन्य रचनाहरु