टुसाएको मनः प्रवासमा फुलेका भारती

- कृष्ण बजगाईं

प्रवासी फूल
आविष्कार भारती
मिठो सुवास ।
वि.सं. २०३८ मा ललितपुरमा जन्मिएर लामो समयदेखि अमेरिकामा बसोवास गरिरहेका आविष्कार भारती डायोस्पोराका लगनशिल स्रष्टा हुन् । उनी प्रवासी व्यस्त जीवनमा काम, परिवार, समाजसेवा आदिबाट समय बचाएर नेपाली भाषा, साहित्य र संस्कृतिमा समर्पित भएका छन् । लेखन, सम्पादन, प्रकाशन र संगठनमा सक्रिय उनी हाइकु, कविता, मुक्तक, लघुकथा, गीत, गजल आदि विधामा कलम चलाउँछन् । पेशाले आइ टी इन्जिनियर भएर पनि साहित्य लेखनको अविछिन्न यात्रामा छन् । सोही क्रममा प्रथम कृतिको रुपमा ‘टुसाएको मन’ हाइकु–सेन्युसङग्रह ल्याएका छन् ।
हाइकु जापानी कविताको लघुतम रुप हो । जापानबाट विस्तारित भएको हाइकु संसारका अधिकांश भाषामा लेखिन्छ । नेपाली साहित्यमा वि.सं. २०१९ मा शंकर लामिछानेले भित्र्याएको हाइकु धेरैपछि मात्र विकाश र विस्तार हुन सक्यो । चालिसको दशकसम्म सुसुप्त अवस्थामा रहेको नेपाली हाइकु पचासको दशकपछि विस्तारित र लोकप्रिय हुन थाल्यो । साठी र सत्तरीको दशकमा भने प्रसस्त हाइकु कृतिहरु प्रकाशनमा आए । हाइकु सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय थुप्रै कार्यक्रमहरु भए । कार्यपत्रहरु प्रस्तुत भए । समालोचना मनग्गे लेखिए । त्यस समयलाई नेपाली हाइकुको उत्कर्षकालको रुपमा लिनु पर्दछ ।
वास्तवमा नेपाली डायोस्पोरामा हाइकु धेरैपछि पुगेको हो । डायोस्पोरामा हाइकुमै सिर्जनारत कवि र तिनका कृतिको संख्या अत्यन्त न्यून छ । यस्तो अवस्थामा हाइकुकार आविष्कार भारतीको पहिलो कृतिकको रुपमा हाइकु–सेन्युसङ्ग्रह ‘टुसाएको मन’ आएको छ । डायोस्पोरामा विस्तारै हाइकु टुसाएर फल्ने फुल्ने दिन आउन लागेको अनुमान गर्न सकिन्छ । ‘टुसाएको मन’ जस्तो प्रभावकारी सङ्ग्रह आउनु डायोस्पोरा र समग्र नेपाली साहित्यका लागि खुशीको कुरा हो ।
जापानी शास्त्रिय काव्य परम्परा अनुसार तीन हरफमा सत्र अक्षरको काव्य सिर्जना गरिन्छ जसलाई हाइकु भनिन्छ । जम्मा सत्र अक्षरको छोटो कविता हाइकुमा विशाल अर्थ लुकेको हुन्छ । झट्ट हेर्दा साधारण शब्दबाट हाइकु बनेको देखिन्छ । तर ती साधारण शब्दको घनिभूत मिश्रणमा गहन अर्थ हुन्छ । बिन्दूमा सिन्धु खोजे झैं हाइकुको बृहत अर्थ र दर्शन खोज्नु पर्दछ । सत्र अक्षरको हाइकु सत्र मिनेटमै पढेर सकिन्छ । तर त्यस भित्रको अन्र्तनिहित अर्थ खोज्न सत्र घण्टासम्म चिन्तन गर्नु पर्ने हुन सक्छ । वास्तवमा छोटो भए पनि हाइकु गम्भिर साहित्य हो ।
संरचनाका हिसाबले हाइकु र सेन्यु उस्तै देखिए पनि ति फरक हुन्छन् । सत्र अक्षरको तिन हरफे सबै संरचनालाई हाइकु भनेर प्रकाशित भईरहेको वर्तमान अवस्थामा हाइकुकार भारतीले आफ्नो कृति ‘टुसाएको मन’लाई हाइकु–सेन्युसङग्रह भनेर इमान्दारिता देखाएका छन् । हाइकु र सेन्युको फरक बुझेका उनी भविष्यमा राम्रा हाइकुकार बन्ने निश्चित छ ।
हाइकु र सेन्युलाई प्रकृतिले छुट्याउँदछ । सत्र अक्षरमा प्रकृतिसँग सम्बन्धित शब्दहरु भए हाइकु र ठट्टा वा ब्यंग्य आएमा सेन्यु हुन पुग्छ । प्रकृति हाइकुको प्राण हो । ऋतुजन्य बिम्बहरुको उपस्थिति हाइकुमा आवश्यक हुन्छ । तर सेन्युमा भने समाजका विकृति, विसंगति व्यक्तिका चारित्रिक दूर्वलता आदि आउँदछन् ।
सेन्यु बाहेक हाइकुसँग नाता जोडिएर बनेको अर्को विधा हाइबुन र हाइगा पनि जापानी साहित्यमा प्रचलित छ । यात्रा गरेर तयार पारिएको संस्मरणमा घटना, स्थान र परिवेश आदिको ठाउँठाउँमा त्यससँग सान्दर्भिक हाइकु लेखेर राखेमा हाइबुन बन्दछ । हाइकु र यात्राको समिश्रणको स्वादमा रमाउन पाइने भएकोले हाइबुन निक्कै प्रभावकारी हुन्छ । नेपाली साहित्यको पहिलो हाइबुन कृति ‘दाइबुचु’ हो । त्यसरी कुनै चित्रमा त्यससँग सान्दर्भिक हाइकु लेखेर राखियो भने हाइगा बन्दछ । हाइगा वास्तवमा काव्य चित्र हो । त्यसको अलग्गै मिठास हुन्छ । विभिन्न विधा जन्माउने हाइकु माउ विधा हो । जापानी साहित्यको विशिष्ट विधा हो ।
हाइकु हतारमा लेखिने वा पढिने विधा हैन । हाइकु लेख्न र पढ्न एकाग्रता चाहिन्छ । प्रवासको व्यस्त जीवनचर्यामा अल्झाउने र अल्मलाउने घेरै चिजहरु हुन्छन् । एकाग्रता भंग गर्ने कैयौं तत्वहरु वरिपरि पाईन्छन् । त्यसका वाबजुद पनि आविष्कार भारतीले ‘टुसाएको मन’ नामक हाइकु–सेन्युसङ्ग्रह प्रकाशन गर्न सफल भएका छन् । उनका हाइकु र सेन्यु पढेपछि दुबै विधामा समानरुपमा कलम चलाउन सक्ने राम्रा सर्जक हुन् भन्न सकिन्छ ।
हाइकु छोटो भएर पनि खदिलो र गहन अर्थ बोकेको हुन्छ । गहिरो अर्थ बोकेको हाइकु लेख्न सिपालु भारती विम्ब प्रयोगमा पनि कुशल देखिन्छन् । कालो चन्द्रमा
खोज्दै भित्री कुरा
तारा चम्किए ।

चुकुल खुल्लै
गृष्म झ्याल खोज्दछ
स्याँठ पो छिर्यो ।

शित लहर
घुम्टोमा छ सरद
जाडो बेहुला ।

लाली फेरियो
चंचल शित बग्यो
लोचन झुके ।
नेपालको प्राकृतिक वातावरण, नदी, हिमाल आदि हाइकु लेख्न उत्प्रेरित गर्ने खालका छन् । उनी नदीसँग आफ्ना भावना यसरी बगाउँदछन्–
लेकाली फूल
हिउँदको पाखण्ड
निर्मम भूल ।

नदी सुसायो
एकलौटी छन्दमा
बग्यो बिलौना ।

देशको प्रमुख आय स्रोत कृषि हो । पुरातन कृषि प्रणालीमा खेतिपाती गर्न किसानहरु बाध्य छन् । उनीहरु त्यही बाध्यतामा पनि रमाउँछन् । गीतका भाका हालेर धान रोप्छन् । अलिकपछि त्यही खेतभरि धानका बाला नाँच्न थाल्छन् । घरमा धान भित्र्याउँदा रौनक आउँछ । ती यावत प्रक्रियामा हाम्रो मौलिक संस्कृति मिसिएको हुन्छ । त्यसमा सौन्दर्य पाइन्छ । त्यसलाई उनी हाइकुमा यसरी उतार्दछन् –
पिटियो धान
चामलको लहर
कुन्यु चुलियो ।

जापानमा यात्रा गरेर हाइकु लेख्नुलाई उत्तम मानिन्छ । यात्रामा प्रकृतिसँग साक्षात्कार हुने हुँदा हाइकुमा त्यसको प्रतिबिम्ब आउँदछ । हाइकुकार रारा र मुगु पुगेकि पुगेनन् थाहा छैन । तर स्थानिय परिवेशको जीवन्त तस्बिर यसरी खिचेका छन्– राराको पानी
कठ्याङ्ग्रिदो पहाड
मुगु हसिली ।

हाइकुकार लामो समय मातुभूमिबाट टाढा रहे पनि सनातन धर्म, संस्कृति र भाषा उनले भुलेका छैनन् । आफ्नो धर्म र संस्कृति भनेपछि हुरुक्क हुने उनी हाइकुमा यसरी पोखिन्छन्–
शिव सर्वत्र
सामाञ्जस्य बहाव
पोखियो भक्ति ।

संस्कृति मर्यो
बुढो रुख काटियो
भाषा भत्किदा ।

समाजमा क्रमशः हुदै जाने परिवर्तन सबैलाई स्वीकार्य र पाच्य हुन्छ । तर परम्परागत चाडपर्वमा अचानक थपिएको ढोंग र बढेको बिकृती देख्दा उनको कवि मन खुशी देखिन्न । उनी यसरी छेड हान्छन्– राताम्मे तीज
परिवर्तनसँगै
पहेँलो भयो ।

एक्काइसौं शताब्दीमा पनि नारीलाई दोस्रो दर्जाको नागरिक र छोरीलाई बोझ ठान्ने पढेलेखेका बुद्धिजिविहरु पनि यही समाजमा छन् । त्यस्तालाई व्यंग्य गर्न उनी पछि पर्र्दैनन्–
काखमा छोरी
इश्वरलाई घुस
छोराको चाह ।

दान गरियो
स्वामी हस्तान्तरण छोरीको हक ।

वर्तमान समयमा नारी उपर यौन र घरेलु हिंसा बढिरहेको छ । त्यो देखेर उनको कवि मन उद्धेलित हुन्छ– चोला नारीको
छ हिउँ जस्तो सेतो
मैलिने डर ।

विचरी सानी
काँडाबीच मौलाई
आफ्नै सपना ।

विबाह दुई आत्माको मिलन हो । प्रेम र समपर्णको प्रतिक हो । सभ्य समाजमा विबाहलाई लेनदेन वा किनबेचको रुपमा लिनु निन्दनिय कार्य हो । सामाजिक विकृतिको रुपमा देखापरेको विबाहमा मागिने दाइजोले निम्त्याउने घटनाप्रति चिन्तित हुँदै लेख्छन्–
सिन्दुर ताजा
आगो लाग्ला जीवन दाइजो प्रथा ।

राजनीति एउटा फोहरी खेल हो भन्ने कुरा पार्टीका नेताहरुले प्रमाणित गरिदिएका छन् । फोहरी खेलका खेलाडीलाई उनी शब्द मार्फत यसरी प्रहार गर्दछन्– विषालु विउ
उपद्रवी बाँदर राजनीतिज्ञ ।

चियाको चुस्की
कोलाहाल नेपाल गफाडी मित्र ।

चतुर स्याल
हाप्सिलो कराउँछ दर्शक दिर्घा ।
‘टुसाएको मन’मा आविष्कार भारती एक सम्वेदनशिल कविका रुपमा देखा परेका छन् । ससाना घटना र दृश्यले उनको कवि हृदयमा हलचल ल्याउँछ । प्रकृतिमा विचरण गर्दा वा प्रणयका कुरा उठाउँदा उनी भावनामा बहन्छन् । राजनीतिक र सामाजिक विसंगती तथा बिकृति देख्दा कहीँ ब्यंग्य कस्छन् त कहीँ आक्रोशित हुन्छन् । उनका केही हाइकु रसमय छन् र केही चोटिला । हाइकुमा आफ्ना अनुभूतिहरु प्रष्टसँग राख्नु उनको विशेषता देखिन्छ ।
प्रवासी फूल बनेर साहित्यमाझ मिठो सुवास छरिरहेका मृदुभाषी आविष्कार भारती हाइकु–सेन्यु मार्फत टुसाएका छन् । निकट भविष्यमा नेपाली साहित्यको बगैंचामा उनी झांगिने निश्चित छ । शुभकामना ।
लन्डन

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 माघ, 2076

लेखकका अन्य रचनाहरु