भुस्याहा कुकुर

- डा. संगीता स्वेच्छा

‘‘यो आल्सेसन कुकुर कहाँबाट ल्यायौ लिना ?’’
यो सोधाइले म वाक्क भइसकें । लाग्दैछ, मेरो मस्तिष्कमा भएको गिदी नै प्रश्न चिन्ह आकारमा परिणत भएर टाउकोभित्र खिरखिर खिरखिर गर्दैछ । आज जो जति मेरो घरमा आउँछन् ‘फ्रयांको’ लाई सुम्सुम्याउँछन् । तर फ्रयांको त्यति सजिलै अरुको बहकाउमा आउने वाला पनि त हैन । नचिन्ने मान्छे आयो भने घरमा भुक्नु भुक्छ । टोक्ने बानी त उसको पटक्कै छैन । नचिनेकाले सुम्सुम्याउन आइहाले भने मलाई टोलाएर हेरिरहन्छ । म उसले गरेको प्रश्नको उत्तर हाँसेर दिइदिन्छु तब ऊ खुशीसाथ पुच्छर हल्लाउँछ । जिन्दगी पनि गजबको हुन्छ, मान्छे होस वा पशुको । भगवानले दिएको जीवनलाई कसैले बाटो देखाइदिनु पर्दाे पनि रहेछ । एकै वर्षको कुरा त हो नि फ्रयांकोमा कति परिवर्तन आइसकेको छ । अझै याद छ मलाई त्यो समय जब फ्रयांको भुस्याहा कुकुरको रुपमा मेरो पछि पछि आउँदै थियो । डर पनि लाग्यो कतै टोक्ने त होइन ! आफूलाई त सुई भनेपछि डर लाग्ने फेरि उसमाथि १४ वटा सुई पेटमा ...डर झन बढ्दो थियो । हत्तपत्त बाटो काटें । उसलाई मैले आफ्नो पछाडि देखिन । एक महिना अगाडि मात्र रेबिज लागेर मरेको पल्लो घरको साहिंलालाई सम्झँदै आउँदै थिएँ, किन हो पछाडि फर्केर आफ्नो कौतुहल्ता निवारण गर्न मन लाग्यो..... कतै त्यो कुकुर आउँदै त छैन ? पछाडि फर्कदा डरले एकपल्ट उफ्रिएँ । आफ्नो हातमा लिएको रोस्टेड चिकेनको झोलाले मेरो डर झन बढ्यो । पक्कै पनि त्यसैको गन्धले यो कुकुर मेरो पीछा परेको हो । फेरि म उसलाई पीछा छुटाउन रोस्टेड चिकेनको झोलै पनि फाल्न सक्दिनथें ।

घरमा हुलेर गेट लगाएपछि पनि डर त कम भएन तर एक क्षण पछि लामो शान्तिको स्वास चाहिं फेरें । गेट खोलेर बाहिर जाने त हिम्मतै थिएन । कुकुर पनि गेटबाट हटेन । आमा–बुबा बिराटनगरमा अनि आफू एक्लै घरमा हुँदा दिक्क लाग्न थाल्यो । मेरो मस्तिष्कमा प्रश्नहरु घुमिरह्यो – आखिर यो कुकुरले मबाट केको चाहना गरेको छ ? झ्यालमा गएर हेरें । ऊ त चुपचाप गेटमा लेटिरहेको रहेछ । भोक लागेकोले झोलाबाट रोस्टेड चिकेन झिकेर खान थाले । खाँदा खाँदै कुकुरको ‘कुई’ ‘कुई’ आवाजले मलाई आकर्षित गरायो । छिमेकीको छोरा रवि कुकुरलाई लात्ती हान्दै गरेको दृष्यले म विचलित भएँ । आखिर ऊ पनि त प्राणी हो । कुकुर त घरतिर एक नफर्की लम्कियो । उसको प्रस्थानमा मलाई साह््रै नमज्जा लाग्यो । रोस्टेड चिकेनको स्वादै ख्रल्लो लाग्यो । म अत्तालिन थालें । अनि अत्तालिंदै कालो हुनाले ‘कालु’ भनेर बोलाएँ । ऊ अझै हिंड्दै थियो । ‘‘आ– आ– आ ।’’ मैले रोस्टेड चिकेनको हड्डी देखाउँदै बोलाएँ । उसको आँखामा आँसु थियो । ऊ एकक्षणसम्म अलमल्लमा प¥यो अनि गेट नेर आइपुग्यो । मैले झ्यालबाटै हड्डीका टुक्राहरु फालिदिएँ । ऊ हड्डी चपाउँदै थियो । मलाई उसको अवस्था देखेर दया लाग्यो । हेर्दा ऊ पक्का भुस्याहा देखिन्थ्यो । ऊ घरअगाडीको गेटमा एवं प्रकारले बस्न थाल्यो । रविलाई त नपिट्न भने तर आफूलाई उसको सामु पर्नै डर लाग्थ्यो । उसलाई म न भित्राउन सक्थे न त धपाउन नै । म पनि पछाडिको गेटबाट हिड्न थालें । एक हप्ताको अवधिमा कहिल्यै अगाडि गएर खाना दिन गइन । खानेकुराहरु प्लाष्टिकको झोलामा हालेर फालिदिन्थें । यत्तिकैमा ऊ पुच्छर हल्लाउँदै खाना खान्थ्यो । उसको पुच्छर हल्लाइमै म दङ्गदास पर्थें । मेरो बानी पनि यस्तरी बिग्रियो कि म उसलाई खाना नदिई नखाने भएँ । दुई–हप्ता पश्चात बुबा–आमाको पनि आउने कुरा थियो । बुवाको गाली खाने डरले नै म त्रसित हुनथालें । बुवा कुकुर भने पछि मनै नपराउने । आमाको वश नचल्ने । भोटे कुकुर ‘रेनी’ले बुबालाई नराम्ररी टोकेपछि चोभारमा छोड्न लगेको कुरा मलाइृ याद थियो । आमा रुनहुन्थ्यो वियोगमा... बुबालाइै वास्तै थिएन । अर्को ल्याउाला नि अर्काे भन्दै दिनहरु बित्दैगए । मलाई पनि त जनावरहरु प्रति त्यति लगाव थिएन तर यसले के ग¥यो के । मैले वास्तवमा बुबाकै डरले घरमा हुलाउन सकिन ।

क्याम्पसबाट फर्कदै थिएँ । मेरै छेऊबाट एउटा ट्रयाक्टर नराम्रो गन्ध दिएर अगाडि बढ्यो । नाक थुन्दै के रहेछ भनेर हेरेकी थिएँ, एक डङ्गुर मरेका कुकुरहरु रहेछन् । मलाई तुरुन्तै हिजोको रेडियोको सूचना याद आयो ‘‘भोलिदेखि भुस्याहा कुकुर नियन्त्रण आयोजना शुरु हुनेछ ।’’ मलाई डर लाग्यो । कतै मेरो गेटमा बस्ने कालु पनि त परेन ? जिन्दगीमा पहिलोपटक नराम्ररी पीडा अनुभव गरें । दौड्दै अगाडिको गेटमा पुगें । मलाई अचम्म लाग्यो । म अगाडि पुगेपछि उसले जोडतोडले पुच्छर हल्लायो । म दोसाँधमा पर्न थालें । म भुस्याहाको नाममा उसलाई मर्न दिन पनि सक्दिनथें र पाल्तुको नाममा हुलाउन पनि । ऊ न त भित्रको न त बाहिरको किनकि ऊ मेरो घरको गेटमा बस्छ । टाढाबाट त्यही अगिको नराम्रो गन्ध बोकेर कुदिरहेको ट्रयाक्टर आउँदै गरेको देखेपछि मेरो सातोपुत्लो उड्यो । आँखा रसाएर आए । मैले उसलाई जोडले तानेर गेटभित्र हुलाएँ । त्यतिबेला उ पाल्तु कुकुर भयो । उसलाई ‘भुस्याहा’ कस्ले भन्ने ? ऊ त मेरो गेट भन्दा भित्र थियो । मैले उसलाई नुहाइदिएँ । उसको आँसुले मलाई कृतज्ञता ज्ञापन गरेझंै लाग्यो । मैले उसको भाषा नबुझेपनि उसको आँसु र पुच्छर हल्लाइको थोरै धेरै मतलब चाँिह सम्झें । नुहाइदिएपछि उसलाई ‘कालु’ को सट्टा ‘फ्रयांको’ नाम दिएँ । अहिले त ऊ स्वस्थ, मोटो अनि अग्लो छ । शुद्घ पाल्तु समान छ । खै ! कुन कर्मले भुस्याहा कहलाइयो । पोहोरको कुकुर पूजामा रविको कुकुरलाई पूजा गरेर माला लगाइदिएकी थिएँ । यसपाली त फ्रयांकोलाई लगाइदिनेछु । अलि चुच्चो चुच्चो अनुहार भएकोले बुबा–आमालाई दार्जिलिङबाट लिलिले ल्याइदिएको आलसेसन कुकुर भनिदिएँ । शायद ऊ आलसेसन हो, परिस्थितिले भुस्याहा बनाइएको हो, त्यो त म जान्दिन । अहिले हाम्रो मित्रताको गाँठो बलियो छ । ६ महिना वितेपछि बुबा–आमालाई उसको वास्तविकता बताइदिएँ । उसले हाम्रो परिवारमा त्यतिबेलासम्म यस्तो जादु गरिसकेको थियो कि कसैले उसलाई भुस्याहा भनेर निकाल्ने आँट गर्न सकेन । आफू त झन् दङ्गै ।
(असहमतिका पाइलाहरु संयुÏ कथा संग्रहबाट)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 माघ, 2076

लेखकका अन्य रचनाहरु