दम्भको शासन

- श्रवणकुमार ढुंगाना

दम्भले अग्लिएको एउटा मानिस
बाँसको खुट्टा लगाएर कारखानामा हिंडिरहेछ
मानिसहरू हाँसो दबाउन बाध्य छन् ।

उसको शिरले छानो छुन खोजेको देखेर
उ आफैमा गमक्क गम्केको छ
पौने आठ फुटे मानिसहरू पनि उसलाई भुसुना लाग्छ
छेउमा उनिहरूलाई देखेर उ सनक्क सन्केको छ।

उसले आफ्नो खुट्टा देख्दैन
उ आफ्नो उचाईको अनुभुतिले दंग छ
उनिहरू उसको खुट्टा देख्छन
तर उ साहुको मान्छे हो
उनिजरूको मन उसको हविगत देखेर भरंग छ ।

उ प्रवचन दिन्छ
उ कला सिकाउँछ
उ आदेश दिन्छ
मानिसहरू लाजले शिर निहुराउँछन
उ आफ्नो ओजको प्रभाव ठान्छ।

भोका मानिसहरू
भोकले डोर्‍याइएका मानिसहरू
निस्ठाले नम्र भएका मानिसहरू
आस्थाले तङ्गरिएका मानिसहरू
बितृष्णाले बैरागीएका मानिसहरू
सर्कसमा चटकेको चटक हेरेजस्तो
हेरी मात्र रहन्छन्।
*** ***
दम्भले अग्लिएको त्यो मानिस
तिर्खाएको छ
कारखानाको भुइँमा बाल्टिनभरी पानी छ
उचाईबाट त्यो निकै गहिराईमा देखिन्छ
उ मुस्कुराउँछ
उ सङ्ग एउटा सजिलो उपाय छ
डोरी, घिर्नी र बाल्टिन !
मानिसहरूलाई हाँसो लाग्छ तर हाँस्दैनन्
मानिसहरूलाई टिठ लाग्छ तर सघाउँदैनन्
किनभने उ साहुको मान्छे हो
उसलाई खस्रो, तितो केही पनि पच्दैन।

कुनै दिन त्यो बाँसको खुट्टाले धोका दिनेछ
उ डंरङ्ग लड्नेछ
उसको हाड खुस्केला
उसको प्राण खुस्केला
तिनै भुसुनाहरूको काँध चढेर
उ अस्पताल पुग्नेछ वा घाट पुग्नेछ !

साहुलाई यसले कुनै फरक पार्दैन
मानिसहरूले फेरि देख्ने छन्
दम्भले अग्लिएको अर्को एउटा मानिस
बाँसको खुट्टा लगाएर कारखानामा हिंडिरहेछ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 माघ, 2076

लेखकका अन्य रचनाहरु