त्यो आइमाई

- राजु आत्रेय

शुरु ...

क] धेरै भो कथा नलेखेको ।आज फेरी झ्वाँक चलेको छ । समयको अन्तरालसंगै शब्द , शैली , आवेग र अनुभूतिहरुमा कस लागेको छ । त्यसैले कथाकार घोत्लिएको छ ।

ख]पात्र , चरित्र , काल , कथानक , बिषयवस्तु आदिको टुङ्रगो लागेको छैन । लेख्न थाल्दा । तर अब एउटा कथा लेख्नै पर्छ ।

ग] कथाकारलाई पात्र चयन गर्न धौ धौ पर्दैछ । निकै सुनेका पात्रहरु छन । मुना , सुम्निमा , पल्पसा , जयमाया . धने । तर कथाकारले टिके लाई रोजेको छ । टिके कथाकार को लङ्गौटिया यार ।

घ] कथाकार लाई लाग्यो कथा लेख्नु अघिको भूमिका यति नै लेखे पुग्छ होला ।

त्यसपछि ...

ङ] टिके र उसको साथी बाटोको फुटपाथमा उभियेर कसैलाई पर्खे जस्तै गर्दैथिए । अकस्मात एउटा चार पाँच बर्षको फुच्चे केटो खै कताबाट कुदेर आउँछ । टिकेको हातमा च्याप्प समाउँछ । बुबा , बुबा भन्छ । टिके दङ्गदास । ठूला ठूला आँखा पार्छ । उसको साथीलाई हेर्छ । उसको साथी पनि त्यसै गर्छ । तर आँखा खुम्चाउँछ । यस्तै क्रममा एउटी चट्ट सिँङारबटार गरेकी , ओँठमा ल्याप्प लिपिष्टिक दलेकी आइमाई उनिहरुको छेउमा आउँछे । त्यो फुच्चेको अर्को हात च्याप्प समाउँछे । टिके संग आँखा जुधाउँछे । एकै श्वाँसमा भनिहाल्छे । ' मेरो छोरोको बाउ भैदिनोस प्लिज ' ।

च] टिके पनि त्यस आइमाईको कुरामा लहसिन्छ । आमा छोरा दुवैलाई डेरा तिर लियेर हिँडछ ।
छ] टिकेको साथी भने मुसुमुसु हाँसीरहन्छ । तर तेहीँ उभिरहन्छ । कसैलाई पर्खे जस्तो गर्छ । भाव जुर्छ ।

त्यसपछि ....

ज] टिकेको घरमा त्यस आइमाई र फुच्चेलाई पुर्याएर अब के लेख्ने भनेर सोचीरहन्छ कथाकार । दुवैको शारीरिक संपर्क हुन दिउँ कि ..। टिकेको भात पकाउन लगाउँ । लुगा धुन लगाउँ । फुच्चेलाई स्कुल पठाउँ ।

झ] धत्तेरिका कथा लेख्नु पनि मापाको काम रहेछ । यसरी धेरै सोचिरहँदा पनि कथा अघि नबढेकोले 'त्यो आइमाई' कथाको थन्को लाग्छ । अधुरो रहन्छ ।

ञ] त्यो आइमाई को थिई ? त्यो फुच्चे ?

एक बर्षपछि ...

ट] कथाकार घुम्दाघुम्दै टिकेको घरमा पुग्छ । मेरी बास्सै त्यो आइमाईले त अर्को एउटा छोरो जन्माईसकेकी रहिछे । उसले कथाकारकारलाई नमस्कार गरी । बस्न भनि । चिया पकाउनलाई भित्र पसि ।

ठ] टिके भने राताराता आँखा पार्दै खाउँला जस्तै गरेर कथाकारलाई हेर्न थाल्यो ।

ड] को हो यो आइमाई ? यो फुच्चे को हो ? म को हुँ । के लेख्न खोजेको तिमीले ? टिके चिच्याएको थियो त्यो दिन ।

ढ] अब भने कथाकारले कथालाई गती दिनै पर्ने भो । कथाको रहस्यहरु खोल्दै जानु पर्ने भो ।

आइमाईको कथन ...

ण] उसले श्याँ श्याँ गरी । ठूलो श्वाँस फेरी । अनि टिकेलाई सम्मुखमा राखेर आफ्नो सारी खोलेझैँ खोल्न थाली एकबर्ष अघिको घटनाप्रवाह । उसले केही नलुकाईकन सबै भनी ।

त] टिके तपाँइ र तपाँइको साथी साह्रो उरण्ठेउला ठिटा हुनुहुँदो रहेछ ।आइमाईको लत बसेको रहेछ तपाँईहरुलाई । सँधै फुटपाथमा उभेको देख्थेँ । त्यो ठाउँ रेडलाईट एरिया जस्तै थियो ।स्पष्ट भन्ने हो भने हामी वेश्यावृतिमा लागेकाहरुको गल्लि थियो त्यो ।तपाँईहरुलाई रोजै कुनै न कुनै आइमाईलाई काखी च्यापेर हिँडेको देख्थेँ । म पनि एउटी वेश्या थियेँ । शरीर बेच्दै पेट पाल्दै । शरीर पनि आफ्नै पेट पनि आफ्नै । झलक्क हेर्दा हदै राम्री थियेँ । माँडे , पंजाबीहरुलेत उखरमाउलो लाउँथे । आर्मीका नकच्चराहरुको त झन के कुरा गर्नु । चोक्टा लुच्थे । यसरी बाच्दै गरेको जीवनमा खै कैले पेट बोकेछु । डाक्टरले रिस्क लिन मानेन । मैले यो फुच्चेलाई नजन्माई नहुने भो । नौ महिनापछि छोरो जन्मियो । बाउ नतोकिएको छोरो । छोरोले बोल्न जानेदेखिनै बाबा बाबा भन्न थालेको थियो ।यस कुराले मेरो मन चसक्क पोलथ्यो । म मौन बस्थेँ । एकदिन त यसले असाध्यै गर्यो ।बाटो हिंडने बटुवालाई देखाउँदै उ मेरो बाबा भन्न थाल्यो । मेरो मन छिया छिया भो । तपाँइलाई तोकेर देखाइदियेँ । तेरो बाबा भनिदियेँ ।मैले यसलाई सान्त्वना दिन खोजेकी थियेँ । यो नाबालकले बुझेन । कुदेर गयो । तपाँइको हात च्याप्प समायो । तेसपछिको घटनाक्रम भने तपाइलाईनै थाहा छ । म भोग थिएँ । तपाँई भोगी ।तपाँईको खर्च जोगीयो । मैले तपाँईको भात पकाँए , लुगा धोएँ , घर बडारेँ अनि ओछ्यानमा संगै सुतिदियेँ । तपाँईले त्यो बुढी नोर्कनी लाई बिदा दिनु भो । तपाँईको स्वार्थमा म प्रयोग भयेँ । मेरो स्वार्थमा तपाँईलाई प्रयोग गरेँ । तर आज ठूलो बाजी जीतेझैँ लागेछ । काटिकुटी तपाँईजस्तै छोरो जन्माईदिएकिछु । त्यसैले यति साहस बटुलेर जम्मै कुरा भन्दैछु ।

थ] टिके भने ट्वाँ परेर हेरिरह्यो । कथाकारलाई हेरीरह्यो ।

कथाकारको पालो ...

द] कथाकार भने अब समस्यामा परेको छ । पात्र , काल , कथानक , बिषयबस्तु बिचारै नगरी लेखेको कथा यो मोडमा आएर उभियेको छ । अब भने कथाकारलाई लाग्छ कथाको अन्त दिनु पर्छ । निचोड दिनु पर्छ । कथाकारले दुईटा अप्सन राखेर कथाको अन्त गर्छ ।

अप्सन एक > टिकेले त्यो आइमाईलाई चुल्ठोमा समातेर , गलहत्याएर घरबाट निकाल्छ । भाग्छ ।त्यो आइमाईका छोराहरु भने बाटो हिँडने पथिकलाई बाबा बाबा भनेको देखिन्थ्यो त्यो गल्लिमा ।

अप्सन दुई > टिकेको मनमा दया पलाउँछ । त्यो आइमाईलाई धर्मपत्नी बनाउँछ । उसका छोराहरुलाई भने वेश्याका छोरा भनेको सुनीयो त्यो गल्लिमा ।

प्रश्न अनि अन्त ...
ध ] के कथा लेख्न यति गाह्रो छ ?
न] टिकेको साथी को थियो ?


गोवालपाडा असम

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 माघ, 2076

लेखकका अन्य रचनाहरु