झरी, तीज र तीलहरी

- दिव्य गिरी

असार–साउन महिनाभर किसानहरू आकाशतिरै आँखा लगाएर बिताए । पर्याप्त वर्षा नहुँदा धान रोप्न पाएनन् । रोेपेको धान–खेत पनि पानीको अभावमा धाँजा फाटेर चीराचीरा परेको देखिन्थ्यो । धानको बोट कति सुकेर गएका थिए भने कति त्यतिकै टाक्सिएका । टेलिभिजन र अखबारले यो वर्ष उत्पादान घट्ने हुनाले खाद्यान्न महङ्गो हुने भविष्यवाणी गरेका थिए । महङ्गो कहिले थिएन र? सधैं महङ्गीको मारमा जीवन बिताउन बाध्य मानिसहरूलाई महङ्गो हुने कुराले भने त्यति चिन्तित पारेको देखिन्थेन । किनकि जति महङ्गो भए पनि किनेर खाएकै थिए । अर्को कुरा यहाँ उत्पादन बृद्धि भए पनि नभए पनि महङ्गी कहिले घटेको होइन । कृतिम अभाव सिर्जना गर्न यहाँका व्यापारिहरूको धर्म नै भएको छ । महङ्गाई किन बढ्यो भने हेर्ने निकाए नै आँखा चिम्लिएर बसिदिएपछि उपभोक्ताको के लाग्छ? ऊ मनमा यस्तैयस्तै कुरा खेलाएर झ्यालबाट बाहिर हेरिरहेछ ।
आज ऊ कथा लेख्छु भनेर कलम र कापी लिएर बसेको । तर उसको कथा लेख्ने मनस्थिति पनि यो भदौको अन्तिम दिनमा परेको अविरल वर्षाजस्तै भईदियो । जसरी पानीपर्दा कहिले दर्किन्छ कहिले सिमसिमाउँछ । ठीक त्यसैगरी कथा लेख्ने उसको विचार पनि कहिले जुर्मुराउँछ कहिले सुस्ताउँछ । हुन त ऊ ठूलो नाम चलेकै लेखक पनि होइन । यदाकदा स–साना कविता लेख्थ्यो पहिले । स्कूल कलेज पढ्दाका दिनहरूमा लेखेका केहि कविताहरू अझै पनि उसँग सुरक्षित छन् । तर ऊ आफुलाई कवि भन्न चाहन्थे र कतिलाई त ऊ कविता लेख्छ भन्ने थाहा पनि थिएन । भनौं ऊ डायरी कवि हो । डायरीमा नै सीमित थिए उसका कविताहरू । कथा र उपन्यास भने उसको रुचीका बिषय थिए ।
फुर्सदमा ऊ कथा र उपन्यास पढ्थ्यो । त्यसैले उसलाई नेपाली कथा र उपन्यासको बारेमा धेरथोर ज्ञान थियो भन्दा अतिउक्ति हुँदैनथ्यो । कहिलेकाहीँ ऊ चाहन्थ्यो राम्रो कथा लेखुँ । तर ऊ कहिले पनि कथा लेख्न अग्रसर भएन वा उसले अन्य कामले नै फुर्सद पाएन । तर आज भने ऊ कथा लेख्न भनेरै तम्सिएको थियो । अर्थात भनुँ कि कथा लेख्ने बलियो मनस्थितिमा थियो ऊ । अनि यो मनस्थिति गरिबलाई मासु–भात खाने इच्छा जत्तिकै भैरहेको थियो उसको लागि पनि ।
आज कथा लेख्ने उसको मनस्थिति बन्नुमा दुइटा कारण थिए । पहिलो थियो यो झरी अझै केहि दिन लम्बिने भविष्यवाणी रेडियो र टेलिभिजनले गरेका थिए भने अर्कोचाहिँ उसलाई कार्यालय जाने चाहना पटक्कै थिएन ।
ठूली छोरी र सानो छोरा दुवै स्कूल गैसकेका थिए । श्रीमती तीजको ब्रत बसेकी र साथीसँग पशुपतिनाथको मन्दिरतिर गएकी थिईन् । ऊ एक्लै परेको थियो घरमा । अर्थात ऊ आज घर कुरुवा भएको थियो ।
पेशाले ऊ पत्रकार हो । तर सम्पादकसँग केही सामान्न विवाद भएकोले ऊ कार्यालय नगएको आज तेस्रो दिन थियो । आफुलाई सन्चो नभएको बहाना बनाएर ऊ बसेको थियो । वास्तवमा ऊ स्वस्थ नै थियो । हुन त अहिले जताततै भाईरल ज्वरोको प्रकोप बढेको थियो । त्यही प्रकोपलाई आधार बनाएर उसलाई सन्चो नभएको बहाना बनाउन सजिलो पनि भएको थियो । यस्तो अवस्थामा ढाँटलाई सत्यमा परिणत गर्न कुनै कसरत गर्नु परेन । यसमा ऊ आफै दङ्ग थियो । दङ्ग यस अर्थमा कि उसले आफुलाई भाइरल ज्वरो आएको खबर कार्यालयमा फोन मार्फत गरेको थियो ।
उसले विचार ग¥यो कि कथा कुन विषयमा वा कस्तो लेख्ने । कथा कुन विषयमा राम्रो होला ? विषय अनेक छन् । जस्तो कि प्रेम कथा, सामाजिक कथा, रहश्यमय कथा राजनीतिक कथा आदि इत्यादि । ती मध्ये सबभन्दा राम्रो कुन होला ? उसैत हिजोआज साहित्य चोरीका घटनाहरू प्राय आइरहन्छन् । यहाँसम्म कि बिषय, सम्वाद, घटना आदि सबै हुबहु मिल्ने रचनाहरूको उदाहरण सहित चोरीको आरोप लगाईएका समाचार पनि उसले पढेकै हो । सूचना प्रविधिको विकासले अहिले साहित्य चोरीका प्रमाणहरू धेरै भेटिएका छन् ।
उसलाई धु्रवचन्द्र गौतमको अलिखित र कट्टेलसरको चोटपटक उपन्यासजस्तो साहित्य सिर्जना गर्ने मन थियो । तर उसले सकेन । कार्यक्रमहरूमा जाँदा एक पटक हरिहर शर्मालाई भेट्दा झुक्किएर बासुदेवदाई भनेको पनि थियो । तर त्यो क्षण हरिहर शर्माले उलाई अँगालोमा बेरेर धाप मार्दै ठट्टा गरेको सम्झनाले ऊ आफै पनि रोमाञ्चित हुन्छ । वास्तवमा उसलाई मन परेको नेपाली सिनेमा भनेकै वासुदेव हो । हरिहर शर्मा वासुदेव सिनेमाका नायक थिए ।
उसले चुरोट सल्कायो । चुरोट छिट्टै ठूटो भयो । उसले चुरोटको ठुटोलाई बाहिर फ्याँक्यो । धुँवा भने केहिबेर कोठामा रङ्गबङ्रिह्यो । रिमोटकन्ट्रोल थिच्यो । टेलिभिजनमा समाचार प्रसारण भैरहेको थियो । खासै नयाँ–नौलो समाचार थिएन । बिहान प्रसारण गरेकै समाचार थियो । संविधान निर्माण गर्नेहरूका उही सुगा रटाई भाषण–हामी सहमतिमा जान आज फेरि पनि नयाँ सहमति गरेका छौं । सहमतिमा नगई मुलुकले निकास पाउँदैन । विकासले गति लिन सक्दैन । शान्ति सुव्यवस्था कायम हुन अझै समय लाग्छ । यदी हामीले संविधान बनाउन सकेनौं भने देश ठूलो दुर्घटनामा पर्छ । हामीले देशलाई त्यो दुर्घटनमा जानबाट बचाउन पनि हामी सबैको सहमति अत्यावश्यक छ । सहमति बाहेक अर्को विकल्प छैन...आदि आदि । सधैं साँझ–विहान सुनिरहेका यकै प्रकारका यी राजनीतिक रुन्चे आलापहरू सुन्दासुन्दा ऊ मात्र होइन सबैजसो मानिसहरू वाक्कदिक्क भैसकेका थिए ।
उसले टेलिभिजन बन्द ग्यो । उसलाई लाग्यो कति लाज नभएकाहरू । जहिले पनि एउटै कुरा गर्छन तर काम गर्दैनन् । सधैं सहमतिमा जाने सहमति गर्छन् । जनतालाई भुलाउँछन् । आश देखाउँछन् । तर त्यो सहमति भन्ने कुरा कहिले पनि भएन । फोहरी राजनीति गर्न सिपालु हाम्रा नेताहरूको यो चाल देखेर उसलाई यौटा साहित्यिक समारोहमा कवि केदारमान व्यथितले भनेको वाक्य सम्झियो–राजनीति भनेको शौचालय हो । साहित्य भनेको भान्छाकोठा । कुनै लेखकको प्रख्यात कृति जस्तै एकताका उनको यो भनाई निकै चर्चित पनि भएको थियो । अहिले पनि बेलाबेलामा उनको यो भनाईहरू मानिसहरू पं्रसगवस भन्ने गर्छन् ।
उसले झ्यालबाट बाहिर हे¥यो । झरी रोकिने कुनै सम्भावना थिएन । सिम्सिमे पानी एकनास परिरहेको थियो । यस्तो झरीमा मानिसहरू कोही रुझेर त कोही छाता ओढेर हिँडिरहेका थिए । सबै हतारमा थिए । तर त्यो हतारलाई बिथोलेको थियो सडकको ठाउँठाउँमा परेको खाडलमा जमेको पानीले । सवारी साधन हुँइकेर आउँदा त्यसले छ््यापेको हिलेपानीले लगाएको कपडा सबै फोहर बनाउँथ्यो । त्यसैले मानिसहरू सकेसम्म त्यो हिलेपानी पर्नबाट जोगिएर हिँड्ने कोशिस गरिरहेका थिए । विशेषगरी तरुनी केटीहरूलाई बडो मुस्किल थियो । कुनैकुनै ट्याक्सी र मिनी–बस तथा बसका चालकले जानीजानी हिलेपानी छ्यापि दिन्थे । केटीहरू सत्तोसराप गर्दै जान्थे ।
उसलाई चिया पिउने तल्तल् लाग्यो । लगातार परेको झरीले होला अलिअलि चीसो बढेकोजस्तो थियो । घरमा चिया पकाउन उसलाई निकै अल्छि लाग्छ । आफै पकाएर खाने उसको बानी पनि छैन । ऊ यौटा डाँडा खुस्केको पुरानो छाता लिएर घरबाट बाहिरियो । दर्के पानीमा काम नलाग्ने भए पनि हिउँझैँ फुस्फुस् परेको पानी भने ओत्न सक्ने थियो छाता ।
पशुपतिनाथ मन्दिरतिर जाने तीजका ब्रतालुहरूको भीड बढिरहेको थियो सडकमा । झुण्ड–झुण्डमा विभाजित महिलाहरू सबै उस्तैउस्तै देखिन्थे । रातै पहिरनमा सजिएका महिलाहरूको त्यो भीड देख्दा उसलाई कताकता रमाईलो पनि लाग्यो । अनि आफु त्यो भीडबाट पन्छिँदै हिँडिरह्यो । बाटोमा चिनजानका कोही मानिस भेटिएलान् कि भनी सकेसम्म छातालाई तल झारेर ओढेको थियो ताकि हत्तपत्त उसलाई कसैले नदेखुन ।
“नमस्ते दाजु!” यौटा नारी स्वर उसको कानमा ठोकियो । ऊ टक्क अडियो । मुसुक्क हाँस्दै यौटी केटी दुवै हात जोडेर उसकै अगाडी उभिएको देख्यो । उसले केटीलाई शिरदेखि पाउसम्म नियाल्यो । ऊसँग सामान्य चिनजान भएकी थिई केटी । उसलाई नमस्कार फर्काउन करै लाग्यो ।
“दाजु कतातिर? अफिसतिर हो कि?”—उसले नमस्कार भन्न नपाउँदै एकै पटक दुईवटा प्रश्न सोधी ।
उसको प्रश्नको जवाफ के दिने? ऊ एकछिन अक््मकियो । के भनुँ के भनुँ भयो । चियाखान जान लागेको भने पछि ऊ पनि पछि लाग्छे होली । नभनुँ भने ऊ अफिस त जान लागेको होइन । आफै असमञ्जसभित्र रुमल्लियो । बीच पेटीमा उभिएर कुरा गर्दा पैदलयात्रीलाई बाटो छोडेर पन्छिँदैको सास्ती । अनि सडक पेटीको कुनौटोतिर स¥यो । केटी पनि त्यसैगरी पन्छिएर उसकै हाराहारीमा उभिई । भनौं दुवैजना समानान्तर रेखामा उभिन पुगे । उसले भने हालसालै किनेको चाईनिज नयाँ छाता ओढेकी थिई । हल्का गुलाफी रङ्गको छाताको छायाँ उसको अनुहारमापर्दा ऊ अझ राम्री देखिएकी थिई ।
“अनि आफु कता नि?”–उसले प्रश्नको जवाफ दिनुको सट्टा प्रतिप्रश्न ग¥यो ।
“ए !..म त आज पशुपतिनाथ मन्दिरतिर जान लागेकी...आज त्यतैतिरको न्यूज कलेक्ट गरुँकी भनेर”–उसले उद्देश्य समेत भनी । तर ऊ आफै भने हल्का नीलो जिन्सपाईण्ट र गुलाफी टीसर्टमा थिई ।
“तिमी पनि तीजको ब्रत बसेको होला नि..?”–उसले तिमी भनेर सम्बोधन गर्दै सोध्यो ।
“ब्रत बस्नु पर्ने त हो तर खै सधैं दौडादौडमा परिएको छ...भोकभोकै कता मात्र जानु...अब पढाई सकेर यौटा गतिलो जागिर खाएपछि ब्रत बस्नु पर्ला..के भो र यो तीज त बर्षिनै आईहाल्छ । साँच्चै, भाउजु बस्नु भयो होला नी ब्रत?।” –उसले निकै छिटोछिटो भनी यी कुराहरू ।
“बसेकी छ, आज ऊ पनि पशुपति मन्दिरतिरै गएकी छ ।”–उसले सडकका ब्रतालुहरुको भीडतिर हेर्दै भन्यो ।
“यो बाटोमा कति उभिने दाजु...उ त्यहाँ जाउँ, यसो चिया पिउँ...झरीले होकि चीसोचीसो पो भयो त”–उसले पारिपट्टी रहेको यौटा बेकरी क्याफेतिर देखाउँदै भनी ।
वास्तवमा यतिवेला ऊ चीयाकै लागि हो घरबाट बाहिरिएको । उसलाई के गरूँ के गरूँ भयो । हुन्छ भनुँ कि हुन्न भनुँको बीचमा ऊ केही छिन अक्मकियो । अनि खल्तीमा भएको झण्डै डेढसय रुपियाँ सम्झियो । पैसा छ कि छैन भनी दाहिने हातले पाइन्ट पछाडिको खल्ति बिस्तारै छाम्यो र पैसा भएको महशुस भए पछि भित्रभित्रै ढुक्क भयो ।
अब केटी आफैले चिया पिउने प्रस्ताव गरेपछि नाइ भन्न पनि उसले सकेन । अरुहरू भए त्यस्तो प्रस्ताव अफै राख्थे । कयौं पटक यस्ता घटना भएका छन् । उसको एकजना मित्र छ जहिले पनि केटी भेटेपछि चियाको प्रस्ताव राखिहाल्छ । कयौं पटक ऊ आफैले साथीको त्यस्तो सौजन्यमा चिया मात्र होइन कि खाजा समेत खाने मौका पाएको थियो ।
दुबैजना चिया पसलतिर गए । उसलाई भने साथीहरूले देख्लान कि भन्ने मनमनै डर लागिरहेको थियो । त्यसैले उसले चिया पसलभित्र पस्नुभन्दा पहिले नै चारैतिर द्रुतनिरीक्षण गर्यो ।
बेकरी क्याफेभित्र त्यति भीड थिएन । कलेजका दुइजना केटा भने कुनाको सिटमा बसेर मस्तले चुरोटको धुवाँ बुङ्बुङ्ती उडाइरहेका थिए । सरकारले सार्बजनिक ठाउँमा धुम्रपान गर्न जति नै निषेध लगाए पनि त्यसको पालना भईरहेको छैन । खासगरी बेकरी–क्याफे पसलहरूमा खुलेआम धुम्रपान गर्ने चलन अझ बढ्दो छ । यो ठाउँनै युवायुवतीको धुम्रपान गर्ने सुरक्षित स्थल बनेको छ । ऊ स्वयम् पनि धुम्रपान गर्दैन । चुरोटको धुवाँ झनैै मन पराउँदैन ।
“यही बसुँ ।”–उसले ढोका छेउकै सिटतर्फ इङ्गित गर्दै भन्यो र साहुजीलाई दुईकप चियाको आदेश दियो ।
“दाजु, अखबारको के छ खबर?”–उसले प्रसङ्ग निकाली ।
“चलेकै छ...खासै घाटा पनि छैन...जिनतिन टिकेको छ”—उसले जवाफ दियो ।
“साँच्चै दाजु, यो पत्रकारिता पेशामा हामी नारीको भविष्य कस्तो होला?”–उसले अलिनै गंभीर भएर सोधी ।
“अब हामी पुरुषकै भविष्य त डाँवाडोल छ....तिमीहरूको यस्तो हुन्छ भनेर कसरी भनुँ”–उसले निराशापूर्ण जवाफ दियो ।
“तै पनि..दाजुको अनुभवमा...?”
“हरेक पेशामा इमान्दारी पहिलो कुरा हो । तर यहाँ त्यो छैन र हुँदैन पनि । अनि सबै पेशाको प्रकृति अर्थात “नेचर” पनि उस्तै हुँदैन । केहि न केहि त फरक भै हाल्छ । त्यसमा पनि यो पत्रकारिता पेशा कुनै सामग्री उत्पादन गर्ने उद्योग होइन । जहाँ जस्तो देखिन्छ र भेटिन्छ त्यसै अनुसार चल्ने हो । तर त्यो काम अहिलेको अवस्थामा इमान्दारीपूर्वक गर्छु भन्नु पनि मुख्र्याइँ नै भएको छ । किनभने यहाँ सत्य कसैलाई पच्दैन । सत्य र यथार्थविनाको पत्रकारिताको के अर्थ रह्यो । जनतालाई सुसुचित गर्ने कर्तव्यबाट बिमुख भएर काम गर्दा आफैलाई आत्मग्लानी हुन्छ । झुठको सहारा लिएर कति दिन टिक्ने । जहाँसम्म झुठको विषय छ । त्यो सबैलाई ढाँटे पनि स्वयम् आफुलाई ढाँट्न सकिन्न । यही सत्यले मनमा बारबार ठुँगिरहन्छ । अर्को कुरा झुठको एक–न—एक दिन पर्दाफास भईहाल्छ । यो पत्रकारिता क्षेत्र भनेकै असुरक्षित क्षेत्र हो । सही समाचार दिन नसके पत्रिका चल्दैन । सही समाचार दियो भने सबैको तारो भईन्छ । ज्यान जोखिममा पर्छ । अहिले देशमा न कानुन छ न त सरकार नै । यस्तोमा हामीले के गर्ने? भ्रष्टाचार गर्छ नेताले । उसले गरेको भ्रष्टाचार वारेमा लेख्दा उसैको दुष्मन भइन्छ । अनि सुरु हुन्छ राजनीतिक दबाब याने कि “पोलिटिकल प्रेसर” । स्वतन्त्र पत्रकारिता गर्छु भन्नु ठूलो भुल हुन्छ यो देशमा ।”–उसले आफुलाई मनमा लागेको कुरा भन्यो ।
केटी चिया पिउँदै उसको कुरा एकाग्र भएर सुनिरहेकी थिई ।
“दाजुले भनेको यी कुरा मैले पनि अलिअलि अनुभव गर्न थालेकी छु । तर के गर्ने? यहाँको परिस्थिति नै भद्रगोल छ । देश नै अस्तव्यस्ततामा चलेको बेला कोही कसैको नियन्त्रणमा छैनन् । सबै फुकेका साँढेजस्तो । सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि क्षेत्रमा विसङ्गति र विकृति बाहेक केही छैन । यही तीज कै कुरा गर्ने हो भने पनि वयान गर्नै नसकिने विकृतिहरू बढ्दो छ । पहिलेको भन्दा पोहर र पोहरको भन्दा अहिले झन्झन विकृतिले हाँगा फैलाएको छ । हाम्रै दिदीबहिनीबीच धन सम्पत्तीको प्रतिष्पर्धा गर्ने पर्व बनेको छ तीज । कोभन्दा को कमको भावनाले सबैलाई गाँजीसक्यो । अब त हुँदाहुँदा रेष्टुराँ र पार्टी प्यालेसमा तीजको भोज खाने ख्वाउने चलन आयो । हुनेहरूले नहुनेहरूलाई इख्याउँने पर्वजस्तो पो भयो । कति दिदीबहिनीहरूमा त मानसिक तनाव परेको पनि पाईएको छ । आत्मग्लानीभित्र छट्पटिनेहरू कति छन् कति । महिनौं दिनसम्म पनि तीजको दरखाने चलनलाई कस्तो पर्व भन्ने? उता हाम्रो पहाडमा आमाले एकदिन मनाउनु हुन्थ्यो तीज । त्यो पनि माईतीमा गएर । अहिले त दिनहुँ तीजको भोज भन्दै दौडेका देख्छु यी शहरका आइमाईहरू । एउटाले तीजको दर ख्वाएपछि अर्कोले पनि ख्वाउनै पर्ने रे । मैले त केही बुझेकी छैन...बुझे पनि नबुझे पनि यो तीजलाई मैले भन्ने गरेकी छु कि नवधनाढ्यवादको उपज हो तीज ।”–सानो तिनो बक्तव्य नै भनेर उसले लामो सुस्केरा हाल्दै बाहिरतिर हेरी ।
“यही कुराले त समाजलाई विसङ्गति र विकृतितिर धकेलिरहेको छ । परम्परा र संस्कृतिलाई सुढृढ पार्दै लानु पर्नेमा त्यसको उपयोग नै गलत तरिकाले गरिँदै छ । त्यसको वास्तविक महत्वलाई नै बिर्सेर मान्यता र मूल्यको अवमूल्यन गरिँदै छ ।”–यति भन्दै उसले चियाको रित्तो गिलास टेबुलमा राख्यो ।
बाहिरको वातावरणमा आंसिक सुधार आएकोजस्तो देखिन थाल्यो । पहिलेको भन्दा केही कम मात्रामा पानी परिरहेको थियो । सडक व्यापारीहरू सामानहरू पोको पारेर सडक पेटीमा उभिएर मौसममा सुधार आउँछ कि भनी पर्खिरहेका थिए ।
“साँच्चै दाजु, आज तपाइँ अफिस जानु पर्दैन?”–उसले सम्झेजस्तो गरी प्रश्न सोधी ।
“जानु पर्ने हो...तर नगएको । कति दौडिरहने...यसो फुर्सदमा पनि बसुँ भनेर ।”–उसले जावफ दियो ।
“हामीलाई त नयाँनयाँ भएर होला फुर्सदै हुन्न । सधैं दौडाहामा पठाएजस्तो ।”–उसले बाँकी चिया एकै पटकमा निल्दै भनी ।
“यस्तै हो...पेशा अनुसार दौडिनु पर्छ ।”–नाडी घडीतिर हेर्दै उसले भन्यो ।
“दाजु ढिला भयो...आज पशुपति मन्दिर पुगेर त्यहाँकै गतिविधिबारे न्यूज बनाउनु छ । अब जाउँ होला ।”–उसले उठ्ने उपक्रम गर्दै झोलाबोकी र सानो क्यामरा हातमा लिई ।
“जाउँ”–उसले काउन्टरको साहुलाई बीस रुपैयाँको नोठ दिँदै भन्यो–“म त घरतिरै जान्छुँ” । उसले यति भनेर उसको अनुहारमा हे¥यो । दुवैको आँखा जुधे । ऊ केही लजाएजस्तो गरी । उसको पनि मनभित्र के के भाव उठ््यो । तर उसले त्यो भावलाई अनुहारमा आउन दिएन । फिस्स हाँस्यो मात्र । आजै हो उसले ऊसँग यतिका समय व्यतित गरेकी । यसभन्दा पहिले कहीँ कतै भेट हुँदा केवल साधारण कुराकानी मात्र हुन्थे ।
हरिश पहाडी । पेशाले पत्रकार तर निष्पक्ष । पत्रकारित्रा क्षेत्रमा उसको अलग्गै पहिचान छ । राजनीतिक, आर्थिक, सामाजिक आदि क्षेत्रमा ऊ निष्पक्ष रुपमा प्रस्तुत हुन्छ । उसका विचार र विश्लेषणहरूका धेरै प्रशंसकहरू छन् । उसका लेखहरू वास्तविक तथ्य सत्यमा आधारित हुन्छन् । विडम्वना यही छ कि उसलाई निष्पक्ष भएर टिक्न मुस्किल परिरहेछ । पत्रकार त्यो पनि निष्पक्ष–यो हुनै सक्दैन भन्छन् उसको मालिक अनि साथीभाईहरू । तर ऊ भने निष्पक्षतामा अडिग रहने प्रतिवद्धताका साथ लागिरहेछ ।
दुई दिन अघि यसै विषयमा उसको मालिकसँग मनमुटाव भयो । उसले साप्ताहिक पत्रिकामा यौटा लेखमा ठोकुवा नै गरेर लेखिदियो कि अब हुने चुनावमा पहिलो राजनीतिक दल तेस्रो स्थानमा पुग्छ । विभिन्न कारणसहित भविष्यवाणी गरिदियो । यही विषयमा उसको मालिकसँग मनमुटाव भयो । त्यसकै भोलिपल्टदेखि ऊ कार्यालय नगएर घरमै बसेको ।
दुबैजना क्याफेबाट बाहिरिए ।
केटीको मोबाईलमा घण्टी बज्यो ।
“बोल्दैछु...लिला हो... अँ...के रे..?”
“... ... ...”
“गहना लुटियो? कहाँ?”
“.... .... ....”
“तीन तोलाको तीलहरी नै?”
“... ... ...”
“सकली तीलहरी रे?”
“... ... ..”
“ल ल म त्यतातिरै आउँदैछु...गहना लुटिएकी आईमाईलाई त्यहीँ रोकिराख्नु.. म उसँग सोधपुछ गर्छु....ल ल ट्याक्सीमा आउँछु...।”
ऊ भने उसको मोबाईल वार्तालाप सुनेर उभिईरह्यो ।
“दाजु, पशुपतिमा एक महिलाको तीन तोलाको तीलहरी लुटियो रे...अब म आज त्यसैको न्यूज कलेक्ट गर्छु...भरे टी.भी.मा हेर्नु होला...आजको हट न्यूज”–यति भन्दै उसले आइरहेको ट्याक्सीलाई रोकी ।
ट्याक्सी रोकियो । ऊ मुसुमुसु हाँदै विदाईमा हात हल्लाउँदै ट्याक्सीभित्र पसि । उसले पनि हाँस्दै बिदाईमा हात हल्यायो र ट्याक्सी गुडेको हेरिरह्यो ।
झरी पहिलेको भन्दा कम हुँदै थियो । ठाउँ ठाउँमा बादल फाटेर झुल्केमाघ लागेको थियो ।
तत्क्षण उसको मोबाईलमा घण्टी बज्यो । उसले चार घण्टी बजेपछि खल्तीबाट मोबाईल झिकेर हे¥यो । मोबाईलमा श्रीमतीको नम्बर देख्यो ।
“हेलो..”
“....”
“हँ...तीलहरी!..तिम्रो?”–ऊ लगभग पूरै आँत्तियो ।
उसले मोबाईलको फोन अफ गरेर केटी गएको ट्याक्सीतिर हेर्यो । ट्याक्सी हुँईकिँदै निकै टाढा कुँदिरहेको थियो ।

टीकाथली–५, ललितपुुर, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 माघ, 2076

लेखकका अन्य रचनाहरु