राजु नखा काजु

- ईगम खालिङ

प्रमीलालाई हतार भइरहेको थियो । उनको श्रीमान भने अघिदेखि फोनमा व्यस्त थियो । "म अफिस लागे है !" भन्न उनलाई गाह्रो परिरहेको थियो । उ आँट गरेर श्रीमानतिर बढी । छेउमा पुग्दा उनले श्रीमानको अन्तिम वाक्य मात्र सुन्नसकी—"मेरो नाम राजु हो म त्यसै खाँदिन काजु !" श्रीमती उतिर आएको देखेर उसले नम्र भावमा सोध्छ—"तिमी अफिसको निम्ति निस्केकी ?"

'हजुर!' मात्र भनेर श्रीमती सरासर घरबाट निस्कन्छे । आँगनको गेट पुग्नै लागेको बेलामा उसले कान कनाउँदै श्रीमतीलाई भन्छ—"औ, आज बेलुकी म अलिक ढिलो हुन्छु होला है !"

'हुन्छ !' भनिदिएर श्रीमती सोझै आफ्नो बाटो लाग्छे । श्रीमतीलाई हेरी पठाउँदै मनमा आफैलाई भन्छ—"साह्रै कुलीन छे । म साँच्चै भाग्यमानी छु !”

बेलुकी उ पार्कमा अर्को औरतसित गुप्त ठाउँतिर लाग्छ । तर आज, त्यो उनीहरू सधैँ बस्ने ठाउँमा त कोही अरूहरू नै अघिदेखि बसिरहेका रहेछन् । चियाउने उसको पुरानो बानी हो त्यसैले उनले लुकेर तिनीहरूलाई चियाउँछ । उसको हंसले ठाउँ छोड्छ : त्यहाँ त उसको श्रीमती पो कसैको आलिङ्गनमा बाँधिएर बसिरहेकी रहेछे । उ अर्कै ठाउँ खोज्न बाध्य हुन्छ । त्यस घटनापछि उसको मनको एक कुनामा ढ्याङ्ग्रो नबज भन्दापनि एकोहोरो बजिरहन्छ ।

घर आइपुगेर पनि उ घरिघरि एकलै आफैसित मुसुमुसु हाँसिरहन्छ । एकपल्ट त, उसलाई त्यसरी मुस्कुराएको देखेर श्रीमतीले प्रश्न पनि गर्छे । तर उसले “त्यसै मुस्कुराएको” भनेर टारिदिन्छ । राति श्रीमती पलङमा पस्नेबित्तिकै निदाउँछे तर उ भने पागलझैं आफैसित मुसुमुसु हाँसिरहन्छ । त्यो रातभरि उसले आफूलाई कुनै कोनबाट १८०˚ भेटाउँदैन ।

भोलि बिहान, अफिस जाने बेलामा ऐनामा हेरेर कपाल बनाउँदै सान्तवना स्वरूप आफैलाई मुखमानै भन्छ—"राजु नखा काजु !"

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 माघ, 2076

लेखकका अन्य रचनाहरु