भाया साक्रा: डायस्पोरिक नोस्टाल्जिया

- दीपक सुवेदी

व्यक्ति अनेक उद्देश्यले एक स्थानबाट अर्को स्थान जाने वा विभिन्न अवसरको खोजीमा आफ्नो देशबाट परदेशमा पुगेर आप्रवासन हुने क्रम पुरानै हो । अवसरको खोजीमा रहरले वा बाध्यताले होस् अथवा नाम वा दामको लागि होस् आफ्नो जन्मथलो, मातृभूमि छोडेर जब परदेशमा जान्छ र त्यही भूमि वा देशलाई आफ्नो कर्मथलो बनाउन पुग्छ, ऊ परदेशी हुन्छ र त्यही माटो र परिवेशमै आफ्नो जीवनयात्रालाई अघि बढाउँछ ।
मानिस जहाँ पुगे पनि आफू जन्मेको भूमि, हुर्केको आँगन, त्यस भूमि र परिवेशको संस्कृति, संस्कार र भाषा भने बिर्सन सक्तैन रहेछ । शरीर जहाँ पुगेर डुले पनि मनभने आफ्नै माटोको सम्झनामा रहिरहँदो रहेछ । भाया साक्रा अथवा पवित्र बाटो कृष्ण बजगाईंको यही मानवीय चेतको गहिरो बिम्ब हो । डायास्पोरा चिन्ताका एक अभियन्ता नियात्राकार कृष्ण बजगाईं बेलायती माटोमा श्रम र नेपाली साहित्यमा कलम चलाउने एक डायस्पोरिक स्रष्टा हुन् ।
‘भाया साक्रा’ कृतिमा २१ वटा नियात्रा संग्रहीत छन् । यी नियात्रा पढ्दा पाठकलाई कहिले इतिहास त कहिले विज्ञान, कहिले जीवनी त कहिले साहित्य पढेजस्तै लाग्छन् । नियात्रा पढ्दा पाठकको मनमा उत्सुकता, जिज्ञासा र गर्व अनि कहिले ग्लानि समेत भरिएर आउँछ । आइज्याक न्युटन, चाल्र्स डार्विन, वर्नाड सा, चार्ली च्याप्लिन, चाल्र्स डिकेन्स, नेपोलियन बोनापार्ट, रोआल्ड डाह्ल, जेन अस्टिनजस्ता पाश्चात्य साहित्यका स्रष्टा एवं द्रष्टाका जन्मस्थल र कर्मस्थलमा लेखक कृष्ण आफुमात्र पुगेका छैनन् वर्णनात्मक शैलीमा पाठकलाई समेत पु¥याएकाछन् ।
‘लिमिट्स’, ‘फङ्सन’, ‘डेरिभेटिभ’, ‘इन्टिग्रल’, ‘फाइनाइट सेरिज’ जस्ता महत्वपूर्ण गणितको विकासमा न्युटनको निकै ठुलो योगदान छ । म माध्यमिक तहमा विज्ञान पढिरहँदा मेरा मनमा पनि प्रश्न उठ्ने गर्थे । अथवा मजस्तै धेरै विद्यार्थीका मनमा यो प्रश्न सायद अहिले पनि एक पटक उठ्ने गर्छ– ‘न्युटनले स्याउ खसेको नदेखेको भए के हुन्थ्यो होला ?’
अनि प्रश्न साकार भएको भए ? के हुन्थ्यो होला ? प्राकृतिक घटनालाई गणितमा शुत्रबद्ध गर्नेकाम नभएको भए अल्बर्ट आइन्स्टाइनले सायदै ‘सापेक्षतावादको सिद्धान्त’ मा काम गर्न सक्थे, न त विलियम ह्विस्टन, जोन थियोपिलीयस, थोमस बेयस, जोन केली जस्ता व्यक्तिहरुले विज्ञान अनि गणितमा देन नै दिन सक्थे । न्युटनबाट प्रभावित व्यक्तिहरु हुने थिएनन् । विज्ञान र गणितको विकास अहिलेको अवस्थासम्म आइपुग्ने थिएन । हुन त यो ‘क्यालकुलस’ को जन्मदातामा न्युटनको नाम मात्र आउँदैन । गटफ्राइड लेवनिजको नाम पनि ‘क्यालकुलस’ सँगै जोडिएको छ । जसरी ज्यामितिले आकार, अंकगणितले समीकरण र गणितीय सुत्रको अध्ययन गर्छ त्यस्तै क्यालकुलसले परिवर्तनलाई गणितीय सुत्रमा अध्ययन गर्छ । ‘आइज्याक न्युटनको बगैँचामा स्याउ टोक्दा’ शीर्षक पढ्दा पाठकले कृष्ण बजगाईको मनमा पनि यी यस्ता प्रश्नहरु उठेको पाउँछन् ।
भर्खर ड्राइभिङ लाइसेन्स लिएका बैँसालु ठिटाठिटीले मोटरसाइकल कुदाएजस्तै गरी बिज्ञानलाई फराकिलो राजमार्गमा कुदाउने न्युटनको प्रसङ्ग नियात्रामा छ । जुन बोटबाट न्युटनले स्याउ खसेको देख्दा संसारले गुरुत्वाकर्षणको ज्ञान पाएको थियो । उही न्युटनलाई भौतिक ज्ञान दिने त्यही स्याउको बोटसँग बुद्धलाई आत्मिक ज्ञान दिने बोधिवृक्षका बीच कृष्ण निबन्धमा फ्युजन् गराउँछन् ।
संसार विविधताले भरिएको छ । भूगोल, इतिहास, विज्ञान, धर्म संस्कृति आदि सारा नौला छन् । चाल्स डार्विनको निवासमा पुगेर कृष्ण एकातिर डार्विन र माक्र्सको ज्ञानको साइनो खोतल्छन् भने अर्कातिर डार्विनको त्यस पवित्र भूमिबाट सिस्नोको वाइन किन्छन् । अनि, हेपिएको र किनारीकृत गरिएको नेपालको सिस्नो सम्झन्छन् । क्याम्ब्रिज विश्वविद्यालय जहाँ अध्ययन गरेका ९६ भन्दा बढीले नोबेल पुरस्कार पाएको स्थानमा पुग्दा पाउँदा कृष्ण सगरमाथाको टुप्पोमा पाइला राखेको आरोही जतिकै गर्विलो अनुभूति गर्न पुग्छन् ।
डेरिडाले भनेका छन्– ‘अनुपस्थितिबाट सत्य खोज्नु । प्रेजेन्सबाट होइन, ग्याप एब्सेन्सेजबाट सत्य पत्ता लाग्दछ ।’ साँच्चै, उदास बस्तीका झ्यालबाट गरिबी चियाइरहेको देख्छन् र कृष्ण गुनासो गर्छन्– ‘नेपालको प्रथम बैज्ञानिक मानिएका गेहेन्द्रशमशेर राणाको नाम सम्झँदै उनको घरलाई पनि यसरी नै संरक्षण गरेर राख्न सके विज्ञान, प्रविधि र अनुसन्धानमा लाग्न नयाँ पुस्तालाई केही प्रेरणा मिल्ने थियो कि ! यस विषयमा किन नेपाल सरकारले कहिल्यै सोच्दैन ?’
आँखाले देखेका सबै कुरा कहाँ सत्य हुँदा रहेछन् त ? तिनलाई खुट्याउने अर्को साधन चाहिँदो रहेछ । आँखाले देखेको मात्र सत्य लाग्ने तर असङ्ख्य भ्रम पालेर बाँचेका हामी अल्पज्ञानी रहेछौँ । कृष्ण निबन्धभरि यही भन्छन्– ‘वास्तवमा ज्ञान र विज्ञानले मात्र हाम्रो भ्रमको पर्दा उर्घान सक्दोरहेछ ।’
साँच्चै सर वाल्टर स्कट– ‘परदेशी व्यक्तिका लागि आफ्नो देशका समाचारले ठीक त्यही काम गर्छ जुन काम तिर्खाएको मुटुका लागि चिसो पानीले गर्दछ ।’ कल्पनाको वायुपङ्खी उडान भर्न सायद छाप्राले सहयोग गर्दछ । रचनात्मक विचार र प्रशस्त ऊर्जा त्यहीँ पाउन सकिन्छ । ‘सच्चा प्रेम, उदारता र त्याग पनि सायद गाउँमै भेटिने रहेछ । बेलायतमा सित्तै पाउने भनेको त सायद माथिको आकाश मात्रै रहेछ ।’..... यसरी भाया साक्रामा कृष्णको भूमिमात्र होइन मानसिकता पनि विभाजित भएको छ । उनको दिमागमा परिचयको सङ्कट मडारिरहेको पाइन्छ किनभने इच्छित भूमिलाई उनले आत्मीय ठान्न सकेका छैनन् र पुख्र्याैली भूमि पनि उनले छोडिसकेका छन् । नियात्राहरुमा उनी भन्छन्– ‘अवसर खोज्दै नेपालबाट बेल्जियम र त्यहाँबाट पनि बसाइ सरी बेलायत आइपुगेको छु । भविष्यमा अझै कहाँ पुगिएला थाहा छैन ।’ कृष्णले विदशिनुको पीडामा चित्त बुझाएकाछन् ।
एउटा पात्र आफ्नो सृष्टिकर्तालाई ओझेलमा पार्ने गरी पुस्तकबाट फुत्त निस्केर पाठकको मनमा बस्न पुग्छ । फेरि पाठकको मनबाट निस्केर देश विदेशका सडकमा पूर्णकदको सालिक अनि भुटान, क्यानडा, कङ्गो, डोमिनिका, इस्ट टिमोर, बेलायत, लाइबेरिया, गिनिया, मोनाको, निकारागुवा, सान मारिनो, दक्षिण अफ्रिका, टर्की, स्विट्जरलेन्ड आदि देशहरुमा हुलाक टिकट बनेर सानले बाँचिरहन्छ । ठाउँठाउँमा आफ्नै नाममा बनेको म्युजियमभित्र बसेर लेखकलाई इख्याइरहेको हुन्छ । साहित्यको काल्पनिक पात्र कसरी यति शक्तिशाली बन्यो होला ? सिर्जनामाथि लगानी गर्ने बजारले नाफाको चक्करमा सर्जकलाई नै ओझेल कसरी बनाइदिन्छ ? लेखक आर्थर कोनन डोयल बाँचेको भए यस्ता दृश्य देखेर के सोच्थे होलान् ? त्यही स्थानमा लेखक पुग्दा के कस्तो अनुभूति गरे ? यसका लागि पाठकले सर्लक होमसको डेरामा एकछिन पढ्नै पर्छ ।
आजको उत्तर आधुनिक युगमा संस्कृति विलय दिन प्रतिदिन बढ्दो छ । आजका मानिसहरु सांस्कृतिक द्वैधताले ग्रसित छन् । संग्रहका नियात्राभरि कृष्ण पनि विश्वव्यापी संस्कृतिबाट उतिकै प्रभावित छन् र आफ्नो संस्कृतिलाई बचाउन पनि उतिकै लागेका छन् । भाया साक्राभरि यही द्वैध सांस्कृतिक चेतनाद्वारा ग्रसित कृष्णको मानसिकताको चित्रण पनि पाइन्छ ।
कृष्ण जब वर्नाड सा को घर पुग्छन् र त्यहाँका साहित्यकारप्रति राज्यले गरेको इज्जत, प्रतिष्ठा, सम्मानको सर्वोच्चता देख्छन् अनि झ्वाट्ट देवकोटा सम्झन्छन् र कविको जन्म स्थलप्रतिको राज्यको दृष्टिकोण नियाल्छन् । जिन्दगी नजिकबाट हेर्दा त्रासदी र टाढाबाट हेर्दा कमेडी हुन्छ भन्ने चार्ली च्याप्लिनको घर समेत कृष्ण पुगेका छन् । अनेक दुर्दशाका कारण सडकछाप भई संघर्ष गर्दै प्राप्त गरेको अपार सफलतालाई आफू रोएर संसार हँसाउने महान् कलाकारका कार्यसँग नतमस्तक समेत बनेका छन् । आख्यानकार चाल्र्स डिकेन्सका नाममा निर्मित म्युजियममा उनी जब एक साँझ पुग्छन् । कथा वाचनमार्पmत फिक्सनका क्षेत्रमा पुनर्जागरण ल्याइदिने साहित्यिक रकस्टार डिकेन्सका बारेमा पर्याप्त सूचना, जानकारीमार्पmत पाठकका जिज्ञासा उत्सुकता शमन गर्छन् । संसार जित्न हिँडेको नेपोलियनको फौजलाई बेलायती सेनाले ध्वस्त–परास्त पारेको ‘वाटर लु’ मा पुग्दा बजगाईं त्यति बेला दंग पर्छन्, जब बेलायती श्वेत शासकले गान्धी र मण्डेलाजस्ता विरोधीहरूका सालिक पनि आफ्नो देशमा ससम्मान जनक ठड्याएका देख्छन् । तब, नियात्राकार कृष्ण बजगाईं आफ्नो देशमा आफ्नै आस्थाका सालिक भत्काउनेहरू बिरुद्ध चाहिँ क्रुद्ध बन्छन् ।
कृष्ण प्राचीन र आधुनिक युरोपमा हिन्दू धर्मका पदचिह्न पछ्याउँदै प्राचीन रोमकी कुमारी, बेलायतको मन्दिर र भ्याटिकन सिटीमा शिवलिङ्ग खोज्दै यात्रा गर्छन् । मात्र आठसय जनसंख्या भएको संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटी, त्यस सिटीभित्र बसोबास गर्ने व्यक्तिहरूको नागरिकता, ग्यालिलियोलाई त्यही सिटीका धर्मान्धहरूले दिएको मृत्युदण्ड तथा भ्याटिकन सिटी छुट्टै देश कहिले कसरी बन्यो ? ‘बेलायतको मन्दिरमा ड्रागनसँग जम्काभेट’ हिन्दु काली मन्दिरमा वैदिक मन्त्रोच्चारण गर्ने गोरा पुजारी, प्रत्येक आइतबार हुने मन्दिरभित्र क्रिस्चियन धर्मको प्रार्थना, उक्त मन्दिर सबै धर्मप्रति सद्भाव राख्नेहरूको आशा र विश्वासको केन्द्र भएको जस्ता सूचना तथा तथ्याङ्क नियात्राकारले पाठकहरुलाई दिन सफल भएकाछन् ।
कृष्ण इटालीको नेपल्समा नेपाली खोज्छन् तर ज्वालामुखी फेला पार्छन् । पाश्चात्य संस्कृति सभ्यताको आदिम थलो र अहिलेको पनि सदाबहार शाश्वत सहर रोममा घुम्दै हिन्दू मिथकसँग मितेरी लगाउन पुग्छन् । यात्राकै क्रममा डेथ ट्रापमा फनफनी घुमेपछि दुई हजार वर्ष पहिलेको इन्जिनियरिङ क्षमताले सिँगारिएको कोलोसियम रंगशालामा पुगेर दंग पर्छन् । अनि ‘फ्लान्दर्सको मैदानमा’ पहिलो विश्वयुद्धमा वीरगति प्राप्त गर्ने वीर गोर्खाहरूका समाधिस्थलमा पुगेर श्रद्धाका आँसु चुहाउँछन् ।
अर्नेस्टले भनेजस्तै नियात्राको लेखाइ, बातचित र व्यवहार गराइका बीचमा सुहाउने हुनुपर्छ । नियात्राका अन्य गुणहरू मध्ये मनोरञ्जनात्मकता, सुपाठ्यता र संक्षिप्तताको साथै आनन्दमयी गुणहरू पनि पर्दछन् । यी गुणहरु भाया साक्रामा छन् पनि । परदेशिएका मनहरू राजनीतिको झन्डा बोक्दैनन्, जिन्दावाद–मुर्दावाद पनि गर्दैनन् । शान्त सरोवर तालहरू जस्तै प्रकट हुने स्वतन्त्र विचार वेग नै उनीहरूको राजनीतिक चेतना हो । स्रष्टाको स्वाभिमान, शक्ति र भक्ति कलम बाहेक अरु केही हुन सक्दैन । तर कतैकतै कृष्णको स्वतन्त्र चेतना र ती चेतनाहरूका तरङ्गित लहरहरू थाहा नपाएरै अनियन्त्रित पनि बनेका छन् ।
कृष्ण गृहभूमिबाट जति टाढा छन् त्यतिनै उनका नियात्रामा देशप्रतिको माया गाढा छ । एकातिर आतिथिय देशको परिवेशमा छन् भने अर्कोतिर उनलाई गृहभूमिको संस्कृतिले तानिरहेकोछ । अविरल खसिरहने कञ्चन पानी र त्यसबाट उत्पन्न कलकल ध्वनिले कृष्णलाई यात्रा लेखनमा बारम्बार सहरको कोलाहलबाट प्रकृतिको निकट जन्मभूमि फर्काएको छ । पहाडको काखमा हुर्किएर, समुन्द्रको प्रेमिल स्पर्श पाएर यस्ता कहलिएका ठाउँ र ऐतिहासिक महत्व राख्ने स्थानहरुमा यायावर भई सूत्रधारको साक्षी बन्दै टेकिएका कृष्ण बजगाईंका पाइला आगामी लेखनमा पनि उसैउसै गर्वानुभूतिले उचालिइरहून् ।
नियात्राकार – कृष्ण बजगाईं
कृति– भाया साक्रा(नियात्रासङ्ग्रह)
प्रकाशक – साङ्ग्रिला बुक्स, काठमाण्डौं
पृष्ठ – १८५

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2076

लेखकका अन्य रचनाहरु