पवित्र मार्गलाई नियालिरहँदा

- डा. विदुर चालिसे

१. विषय प्रवेश
बाहिरि संसारको अनुभवलाई सङ्गालेका अनि जीवनको गन्तब्यलाई यात्राको उत्कट अभिलाषाका बीचमा आत्मसात् गरेका नियात्राकार कृष्ण बजगाईं नियात्रा साहित्यका प्रखर लेखकका रुपमा स्थापित् भइसकेको नाम हो । नियात्रा साहित्यलाई भावनात्मक केन्द्रमा राखेर आफू पुगेको स्थान, घटना, इतिहास, प्रसङ्ग तथा परिवेशको आत्मानुभूति गर्दै विषयवस्तुहरूलाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्न खप्पिस् बजगार्इंको ‘युरेसिया’ को स्पर्श नामक पहिलो नियात्रा सङ्ग्रह प्रकाशनमा आइसकेको छ भने दोस्रो नियात्रा सङ्ग्रहको रुपमा ‘भाया साक्रा’ देखिएको छ । उनले साहित्यका कविता, कथा, नियात्रा तथा अन्तर्वार्ता साहित्यलाई समेत आफ्नो रुचिको प्रमुख साहित्यिक सिर्जनाको विषय बनाएर आफ्नो बहुमुखी प्रतिभालाई प्रदर्शन गरिसकेका छन् । उनले नेपाली साहित्यका लागि ‘युरेसियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रा सङ्ग्रहहरूका साथै ‘कमरेड भाउजू’ कथा सङ्ग्रह, ‘यन्त्रवत्’, ‘रोडम्याप’ एवं ‘कवच’ लघुकथा सङ्ग्रहहरू, ‘हिउँको तन्ना’ हाइकू सङ्ग्रह तथा ‘स्रष्टा र डिजिटल वार्ता’ अन्तर्वार्ता सङ्ग्रह प्रकाशित गराई पाठकहरूका समक्ष आइसकेका छन् ।

२. नेपाली यात्रा साहित्यको परिचय
नेपाली नियात्रा साहित्य, सुरूमा यात्रा विवरणकै रुपमा आएको भए तापनि पछिल्लो कालमा यात्रा साहित्यको सैद्धान्तिक विषय प्रखर देखिएको छ । यसै सन्दर्भमा यसलाई नियात्राको रुपमा समेत थप व्याख्या गर्न लागिएको छ । यस्ता ढाँचा वा खाकाका यात्रा विवरणहरूलाई नेपाली साहित्यको संक्षिप्त एतिहासमा यसरी परिभाषित गरिएको पाइन्छ :

“कुनै भूखण्डको स्थलरुप, लोक जीवन, रीति परम्परा आदिसँग साक्षात्कार गराउने र तद्विषयक अनुभव र ज्ञानलाई व्यक्त गर्ने अभिप्रायले मूलत ः तथ्य र अंशत ः भावनाको आनुपातिक संयोजन गरी चित्रोपम शैलीमा अनुभूत स्मरणस्वरुप लेखिएको गद्य रचनालाई यात्रा साहित्य भनिन्छ(श्रेष्ठ र शर्मा, २०४५ : २०७)”

माथिको परिभाषामा मूलत यात्राका विवरण तथा अंशत भावनाको संयोजन गरी चित्रपम शैलीमा चित्रण गर्नु नै यात्रा साहित्य हो भन्ने मान्यता देखिन्छ ।

३. लेखकको दृष्टिमा ‘नियात्रा’
नियात्रा साहित्यलाई कतै यात्रासाहित्य, कतै यात्रासंस्मरण साहित्य, कतै संस्मरण यात्रा साहित्य त कतै नियात्रा साहित्यका नामले बुझ्ने र बुझाउने कार्य गरिएको र पुस्तक प्रकाशनका बेला लेखकहरूले आफ्नो बुझाइअनुसार विभिन्न नामले सङ्ग्रहको बान्की तयार पारेको देखिन्छन् । विगतदेखि प्रकाशन भइआएका थुप्रै नियात्रा साहित्यसम्बन्धी पुस्तकहरू बजारमा आइसकेको सन्दर्भमा नियात्राकार बजगाईंले नियात्रा साहित्य बारे यसो भनेको देखिन्छ :

“लेखकले आफूले यात्राका क्रममा देखेभोगेका विभिन्न दृश्य, प्रसङ्ग, घटना, अनुभव आदिलाई निजात्मकले भरेर सुरुचिपूर्ण वर्णन गरिएको र साहित्यिकताले भरिएको गद्यकृति नै नियात्रा हो । यात्राका कोरा विवरण्। र टिपोट त यात्रा वृत्तान्त मात्र हुन्(२०७४ फागुन २५, समाचारपत्र ः साहित्य खण्ड) ।”

‘नियात्रा’ बारे नियात्राकार बजगाईले निजात्मकता अनि गद्यको गत्यात्मक वर्णनले सुरुचिपूर्ण बनाएर आफ्ना परिभाषित मान्यताहरूलाई ‘युरेसियाको स्पर्श’ तथा ‘भाया साक्रा’ मा स्थापित गरेको देखिन्छ । यात्रा साहित्यका कतिपय दुर्गुणहरूमध्ये यात्राका कोरा विवरणहरू वा टिपोटहरूको फेहरिस्ता प्रस्तुत गर्नु उनको विचारमा नियात्रा साहित्यको मूल्यवता होइन । नियात्रा साहित्यमा स्रष्टाको चेतनामा संलयित भएका महत्वपूर्ण वस्तु, घटना, दृश्य, प्रसङ्ग, इतिहास, अनुभव तथा अन्य यस्तैयस्तै सन्दर्भका विषयगत आधारमा भावुक एवं साहित्यिक ढङ्गले गरिएको निरीक्षण र नियात्राको खास सैध्दान्तिक निबन्धात्मक ढाँचामा कथिएको संरचना नै नियात्रा साहित्य हो भन्ने उनको मत देखिन्छ । यात्रा वृत्तान्त लेख्नु विवरणहरूलाई मिलाएर प्रस्तुत गर्नु मात्रै हो । सो सामान्य लेखाइ हो विशेष साहित्यिक लेखाइमा विवरणको वृत्तान्त लेखे सरह हुन पुग्दछ । त्यसमा साहित्यिक मूल्यको दम रहँदैन भन्ने उनको मत रहेको देखिन्छ ।
सायद सारांशमा दृश्य, प्रसङ्ग, घटना, अनुभव तथा प्रसङ्गका प्राप्त तथ्यपूर्ण विवरणलाई आत्मानुभूतिको रङ्गमा मिसाएर निजात्मक कल्पनाको हबेलीमा सयर गर्दै खास सन्देश प्रवाह गर्नु र खास बान्की वा ढाँचामा नियात्राको संरचना प्रस्तुत गर्नु नियात्रा साहित्यको मूल्यवता ठहरिंदोरहेछ ।

४. नियात्राका पीठिका
प्राचीन कालमा नागराजले स्थापित गरेको सिंजा र उनका सन्ततीले विस्तार गरेको एकात्मक खस अधिराज्य वि.सं. १४४८ पछि एकात्मक खशअधिराज्यको रुपमा रहन सकेन । उक्त अधिराज्य विभिन्न करद राज्यहरुको कचिङ्गल, शासकहरुका आपसी घर झगडा तथा प्राकृतिक प्रकोपका कारण मलय वर्माको मुक्तियारीका बेला विभाजनको तीब्रतर गतिको मारमा परेकोले त्यसपछि बाइसी राज्य र पछि चौविसी राज्यहरूको निर्माणको क्रम अत्याधिक मात्रामा हुनजाँदा राज्यपिच्छे राजाहरूको शक्ति र शासन निर्माण हुने निश्चित नै थियो । यसै क्रममा तत्कालीन अवस्थामा राजा रजौटाहरूको यात्राको विषय विभिन्न राज्यहरूमा विविधि कारणले बन्न पुगेको र गगनिराजले आफ्नो यात्राका क्रममा लेखिएको विवरणलाई पूर्णप्रकाश नेपाल ‘यात्री’ ले खोज गरी प्रकाशन गरिएको थियो ।
तसर्थ नेपाली यात्रा साहित्यको इतिहास नेपालको सुदूर पश्चिम भेगको मध्यकालिक इतिहास र सामाजिक जीवनका साथै मध्यकालिक भाषिक अध्ययनसँग जोडिएको पाइन्छ । प्राचीन नेपाली बाङमय ग्रन्थहरूमध्ये पूर्णप्रकाश नेपाल ‘यात्री’ ले वि.सं. २०३९ मा प्रकाशित ‘राजा गगनिराजको यात्रा’ नामक पुस्तकभित्र रहेको नेपाली भाषामा प्राप्त लेख्य सामग्रीहरूमध्ये ओखतीमूलो, आचार–विचार र प्रशासनिक काम–कार्यबाहीका अतिरिक्त जीवनी, आख्यान र व्याख्यानका समयभन्दा धेरै अगि ‘राजा गगनिराजको यात्रा’ नामक यात्रासाहित्यको थालनी भएको प्रस्तुत लेख्य नमूनालाई उजागर गरेको देखिन्छ । सुरुका र पुछारका पानाहरू च्यातिएको नेपाली भाषाको पुरानो पाण्डुलिपिमा पूर्ण प्रकाश नेपाल ‘यात्री’ ले सो यात्रा लेखनमा लेखकको नाम उल्लेख नभएको समेत चर्चा गरेको पाइन्छ । वि.सं. १५५० तिरको मानिएको राजा गगनिराजको यात्राको विवरणमा मुगुदेखि शिवपुरी दरवार मुस्ताङसम्म गएको र पछि मुस्ताङको शिवपुरी दरवारबाट मुगुसम्म फर्केर आउँदाका बखत भूमि व्यवस्था र राजकाजसम्बन्धी टिपोट लगायत् विभिन्न सन्दर्भहरूलाई साहित्यिक एवं सिर्जनात्मक हिसाबले उल्लेख गरिएका पाइन्छन्(यात्री, २०३९) ।
भाषिक मध्यकालको प्रारम्भिक लेख्य यात्रा साहित्यको रूपमा रहेको उक्त पुस्तकमा प्राथमिक चरण र प्रसङ्गलाई केलाउँदै कल्याल रावलको वंशानुगत सम्बन्ध, छत्याल वंशको प्रतिष्ठा र स्रोत, राष्ट्रकूटको पूर्वापर प्रसङ्ग, सिंजाको शैक्षिक उन्नतिमाथि संक्षिप्त विश्लेषण तथा केही स्थानीय भौगोलिक नामिक सादृश्यतामाथि विहंगावलोकनका विषयमा चर्चा गरिएको पाइन्छ । अर्को प्रसङ्गमा राजा गगनिराज स्वयं साहित्यप्रेमी थिए र पुस्तकको रचना यात्रा साथसाथ हुँदैगयो भन्ने पनि सोे पुस्तकमा अन्वेषकले उल्लेख गरेका छन् । राजा गगनिराजको यात्रा वर्णनलाई विविध विशेषताका आधारबाट केलाउँदा भाषिक जटिलता, सामयिक अभिव्यक्ति तथा शैलीगत बोधगम्यमा गहनता पाइने पनि उल्लेख गरिएको छ । राजा गगनिराजको यात्रा वर्णनको पूर्ण पाठलाई उल्लेख गर्दै त्यसको प्रतिलिपि चित्रहरूलाई पनि समावेश गरिएको छ । शब्दानुशासनअन्र्तगत उक्त यात्रावर्णनमा प्रयोग भएका जटिल शब्द तथा वाक्यहरूको नेपालीमा अर्थ दिइएको पाइन्छ । तथापी इतिहासको लम्ब्याइ र लिखित यात्रा साहित्यको अग्रभागमा यसै यात्रा विवरणलाई मानेमा यसको इतिहास अझै अगाडि जानसक्ने देखिन्छ ।
तत्कालिन नेपालका राणा प्रधानमन्त्री जंगबहादुर बेलायत जाँदा आफ्ना सहयोगीमार्फत् बेलायत बस्दाका बखतका रमाइला एवं रोचक प्रसङ्गहरूलाई लेखिदिएको विषयलाई नेपाली यात्रा साहित्यको इतिहासको रुपमा ‘जंगबहादुरको बेलायत यात्रा’ सम्बन्धी लेखाइलाई लिइन्छ । नेपाली साहित्यमा बेनामी रुपमा लेखिएको उक्त यात्रा साहित्यपछि पूर्णप्रकाश नेपाल ‘यात्री’ ले लेखेको ‘मेरो मुक्तिनाथ यात्रा(२०१२)’, लाई सम्झनुपर्ने हुन्छ । तारानाथ शर्माको ‘बेलायततिर बरालिंदा(२०२६)’, त्यसपछि ‘यात्री’ कै ‘सेतीको नालीबेली(२०३३)’, रमेश विकलको ‘सात सूर्य एक फन्को(२०३४)’, ‘यात्री’ कै ‘काशीपुरी परिदर्शन(२०३७)’ एवं ‘नियात्राको नौलो सुसेली(२०३९)’, घनश्याम राजकर्णिकारको ‘देश प्रदेशको भ्रमणः केही संस्मरण(२०४३)’, मञ्जुल(मेघराज)को ‘सझनाका पाइलाहरू(२०४५)’, विजय चालिसेको ‘अप्रिलको बेलायत(२०४५)’, ‘जाने होइन दाइ आलापोट(यात्रा निबन्ध) (इ.स.१९८९)’, अनिल पौडेलको ‘काठमाडौंदेखि सिक्किमसम्म(२०५३)’, पोषरमण चापागाईंको ‘पश्चिम अष्टेलियाको यात्रासंस्मरण सेरोफेरो पर्थको(२०५८)’, यस्तै चापागाईकै ‘गोसाईंकुण्डदेखि चेन्नेईसम्म(२०६०)’, घनश्याम राजकर्णिकारकै ‘बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म(२०६०)’, श्रीओम श्रेष्ठ रोदनको ‘नबिर्सने दिनहरू(२०६२)’, यस्तै पोषरमण चापागाईको ‘मौन चुल्ठो(२०६४)’, मञ्जुलको ‘पाइलाका निबहघघरुले(यात्रा कविता, संयुक्त)(२०६४)’, तुलसीप्रसाद भट्टराईको ‘फट्के तर्दातर्दै(२०६६)’, त्यस्तै चापागाईको ‘बाफको पर्दा(२०६८)’, ‘पुष्प प्रकम्प(२०६८)’ तथा कृष्ण बजगाईंको ‘युरेसियाको स्पर्श(२०७३)’ तथा ‘भाया साक्रा(२०७४)’ लगायत् अन्य चर्चा परिचर्चामा नआइसकेका वा छेउकुनामा लुकेर बसेका नियात्राकारका यात्रासम्बन्धी कृतिहरूले नेपाली नियात्रा साहित्यलाई मजबूत बनाएर प्रकाशनमा आएको देखिन्छ ।

५. नियात्राको क्षेत्र तथा सन्दर्भ
‘भाया साक्रा’ नियात्रा सङ्ग्रहमा बर्णन भएका भौगोलिक क्षेत्र बेलायत, बेल्जियम र इटालीका चर्चित एवं महत्वपूर्ण स्थानको भ्रमणमा लडिबुडि गरेर निर्मित भएको नियात्रा सङ्ग्रह हो । उक्त देशहरू र सोसँग सम्बन्धित रहेका स्थानीय अन्य थुप्रै स्थानमा गरिएका आफ्ना यात्राका अनुभव एवं अनुभूतिहरूलाई ममन गरेर ती स्थान र विषयसँग सम्बन्धित साहित्य, कला, दर्शन, इतिहास, ज्ञानविज्ञान, वातावरण, खगोल, पर्यटन तथा भौगोलिकताले सिर्जना गरेको पर्यावरणीय विषयहरूलाई समेत संयोजन गर्दै फरकफरक विषयमा फरकफरक पक्षको वास्तविकताको नजिक पुगेर चर्चा गरिएको छ । नियात्राका क्रममा आफू लगायत आफ्नी जीवन संगिनी तथा दुईजना पुत्रहरूले समेत यात्राको यथेष्ट अनुभवहरू संगालेको देखिन्छ । यात्राका क्रममा आफूले अनुभूति गरेका विभिन्न विचार एवं तथ्यहरूलाई आत्मसात् गर्दै प्रखर शैलीमा विषयवस्तुलाई प्रस्तुत गरिएको छ । भलै उनीहरूका तर्फबाट नियात्रा साहित्यको सिर्जना होला या नहोला यस बारे भविश्यले नै सरोकार राख्नेछ ।

६. नियात्रा सङ्ग्रहको शीर्षक चयन
यात्रामा अपार आनन्द लिन चाहने यायावरीय प्रवृति बोकेका विशेषत् ः साहित्य, कला, इतिहास एवं ज्ञानविज्ञानका क्षेत्रमा देखेका, भोगेका, सुनेका, अनौठा तथा रोचक अनुभूतिलाई सँगालेर पवित्र मार्गका रुपमा हेरी आफूलाई स्वधर्म पथिक एवं विश्वद्रष्टाको यात्रीको रुपमा प्रस्तुत गर्ने प्रयत्न नियात्राकारले गरेको देखिन्छ ।
नेपाली नाम नै सुन्दा पनि अनौठो लाग्ने यस नियात्रा सङ्ग्रहको नाम ‘भाया साक्रा’ प्राचीन रोममा रहेको प्राचीन स्थलको नाम हो । ‘भाया साक्रा’को नेपालीमा सांस्कृतिक अर्थमा ‘पवित्र मार्ग’, धार्मिक अर्थमा ‘स्वर्गीय यात्रा’ अनि पर्यटकीय अर्थमा ‘असल बाटो’ हुँदोरहेछ । नियात्राकारले ‘प्राचीन रोममा कुमारी’ भन्ने शीर्षकमा दिइएको नियात्रा निबन्धमा यसको अर्थलाई खुलाएको पाइन्छ । प्राचीन रोममा दुई हजार वर्ष अगाडि बनाइएको सो पवित्र मार्ग प्राचीन कालमा रोमन फोरममा अवस्थित मन्दिरहरूमा रोमन सम्राट जानका लागि बनाइएको हो । विशिष्ट कला, सांस्कृतिक एवं धार्मिक मूल्य स्थापित रहेको उक्त पवित्र मार्गलाई आजभोलि विशिष्ट पाहुना वा व्यक्तिहरूका लागि बिछ्याउने रातो कार्पेटजस्तै अनुमान गर्न सकिने भव्य प्राचीन कलाको अनुपम उपहारको रुपमा रहेको ढुङ्गे बाटोको रुपमा रहेको देखिन्छ ।
‘पवित्र मार्ग’, ‘स्वर्गीय यात्रा’ वा ‘असल बाटो’को पहिचान दिनसक्ने प्राचीन रोमको ‘भाया साक्रा’का अर्थमा बुझिने मुख्य सडकले रोमेली परम्पराको प्राचीन सामाजिक मान्यता र समाजको उन्नत एवं महान धरोहरलाई अँगालेको पाइन्छ । ‘भाया साक्रा’जस्तै पवित्र उद्देश्य र रोमेली गौरवका नामले अथ्र्याउने गरी नियात्राकारले आफ्नो नियात्रा सङ्ग्रहको नाम पनि राख्नु औचित्यपूर्ण देखिन्छ । नियात्राकार आफै पनि एउटा तीर्थ यात्रीको रुपमा यूरोप भ्रमणका लागि हिंडिरहेको नाम हो । प्रतिकात्मक रुपमा भाया साक्रालाई आफ्नो युरोप यात्राको पवित्र उद्देश्यसँग तुलना गरेर शीर्षक चयन गरिनु एउटा संयोग मात्र नभई यथार्थको नजिक पनि रहेको देखिन्छ । यसर्थ यस सङ्ग्रहको शीर्षकले नै पुस्तकमा वर्णित विषयहरूका प्रवृत्तिहरूलाई समेट्ने सामथ्र्य राखेको देखिन्छ ।

७. सङ्ग्रहभित्रका शीर्षक चयन
‘भाया साक्रा’मा प्रस्तुत विवरणलाई हेर्दा आफ्नो यात्राका क्रममा विशेषत् ः अँगालेका विषयका सन्दर्भहरूलाई लेखकले अत्यन्त रोचक शैलीमा प्रस्तुत गर्ने काम गरेको पाइन्छ । एक्काइसवटा सुन्दर निबन्धात्मक बान्कीमा लेखिएको नियात्रा क्रममा पुस्तकको प्रारम्भमा ‘आइज्याक न्युटनको बगैँचामा स्याउ टोक्दा’, ‘चाल्र्स डार्विनको घरमा सिस्नोको वाइन’, ‘बर्नार्ड शाको घरमा हिउँदको एकदिन’, ‘स्पिकर्स कर्नरमा निःशब्द म’, ‘सर्लक होम्सको डेरामा एकछिन’, ‘रहस्यमयी स्टोनहेन्जको तीन फन्को’, ‘डाह्लको आइडिया बुक’, ‘चार्ली चाप्लिनको निलो प्लेट’, ‘चाल्र्स डिकेन्स म्युजियममा एक साँझ’, ‘बेलायतको मन्दिरमा ड्रागनसँग जम्काभेट’, ‘कुमारी अस्टिन खोज्दै बाथ सहरमा’, ‘वाटरलू पुगेर नेपोलियन भेट्दा’, ‘फ्लान्दर्सको मैदानमा’, ‘नौ ग्रहको तीन फन्को’, ‘चरीचुच्चे रेलमा’, ‘पिसा टावरमा धरहराको सम्झना’, ‘भ्याटिकन सिटीमा शिवलिंग’, ‘प्राचीन रोममा कुमारी’, ‘नेपल्समा नेपाली खोज्दा ज्वालामुखी’, ‘डेथ ट्रयापमा फनफनी’ तथा ‘शाश्वत नगर रोममा’ लगायतका शीषकहरूलाई अत्यन्त आकर्षक एवं रोचक ढङ्गले विषयवस्तुको उठान गरी घटना क्रमहरूलाई भावमयी ढङ्गले संरचित गरिएको पाइन्छ ।
सङ्ग्रहको रुप रचनालाई यिनै शीर्षकहरूले सिगाँरिएको देखिन्छ । यस सङ्ग्रहको बान्की, बनौट तथा घटनावलीहरूको प्रस्तुतीले लेखकलाई जसरी महामन्जुश्रीले धार्मिक यात्रा, हु एन सांगले सांस्कृतिक यात्रा, क्रिस्टोफर कोलम्बसले जलयात्रा तथा यस्तै मार्कोपोलोको रेशम मार्गको यात्राको प्रभावबाट विश्वभ्रमणमा दिइएका उपलब्धीका अनुभवबाट लेखक प्रभावित भई यस सङ्ग्रहमा आफू पनि सोहीअनुसार प्रख्यात रहनसक्ने उत्कट चाहना एवं इच्छाले अभिप्रेरित गरेको देखिन्छ । उनले फन्को मारेको बेलायत, इटाली र बेल्जियमको यात्रा पनि यतैतिर सान्दर्भिक भएर अगाडि बढेको छ ।
उल्लिखित शीर्षकहरूलाई पढ्दै जाँदा पाठकहरू समेत आफै भ्रमण गरेको जस्तो अनुभूति दिलाउन सक्ने गरी प्रभावकारी भाषाको प्रस्तुती, प्रखर शैली तथा सन्दर्भ वा प्रसङ्गहरूको व्याख्याले पाठकको मनलाई कज्याएको छ । यस सङ्ग्रह पढ्दै जाँदा लेखकले दिएका प्रमाण एवं तथ्यहरू कहिलेकाँही पाण्डित्यपूर्ण समेत लाग्दछन् । सहज टिपोट गरिएका तथ्यहरूलाई लेखकले आफ्नो निजत्व भूमिकामार्फत विषयवस्तुलाई मार्मिक बनाएर प्रस्तुत गरेका छन् ।
पुस्तकको अग्र पृष्ठमा रोम सहरमा अवस्थित भाया साक्राको गाढानिलो अनि पवित्रताको सुन्दर शैलीका धरोहरहरूले सजिएको तस्वीरलाई सजाइएको छ भने एक सय छयासी पृष्ठमा यात्राका विभिन्न घटना परिघटनाहरूलाई कलात्मक ढङ्गले बुनेर नियात्रा सङ्ग्रहलाई एउटा खास स्वरुपमा तयार गरेको पाइन्छ ।

८. विषयगत चयनमा ‘भाया साक्रा’
नियात्राकारले आफ्नो यात्राको विषयगत चयन साहित्यका महान हस्तीहरूको जन्मस्थान, उनीहरूका प्रवृति, व्यवहार, जीवनवृत्ति, साहित्यिक मान्यता एवं प्रवृत्ति, मूल्य र अनेकन सन्दर्भहरूलाई केलाउने, अथ्र्याउने र विशेषताहरूलाई नियाल्ने काम यसप्रकार गरेको पाइन्छ ः

८.१ साहित्यिक विषयको छनौट
विश्व साहित्यिक रङ्गमञ्चमा विशिष्ट ठहरिएका साहित्यकार जर्ज बर्नाड शालाई प्रमुख पात्र बनाई शालाई विषयवस्तुमा उनेका लेखकले शाको घरमा एकदिन पुग्दा बेलायतमा साहित्यकारहरूको सम्मान विशिष्ट प्रकारको भएकोमा उनलाई अचम्म लाग्दछ । महान साहित्यकार एवं शिक्षाप्रेमी शाले आफ्ना अमूल्य जीवनमा प्रयोग गरेका सामग्री स्पर्श गरिरहे झैं गरी वस्तुगत परिवेशको व्याख्या सो नियात्रा सङ्ग्रहमा गरिदिँदा नेपाली महान साहित्यकारहरू त राज्यको थिचोमिचोमा नै ओझेलमा परिरहेको जर्ज बर्नाड शाको घर र बगैँचा चहारेको सन्दर्भपछि पाठकलाई अनुभूति गराउँछन् ।
विख्यात साहित्यकार चाल्र्स डिकेन्स सर्जक मात्र होइन बौद्धिक पनि थिए भन्ने सन्दर्भलाई बजगाईले चाल्र्स डिकेन्सले पहिलो चोटी प्रयोग गरेका दुई सय सत्चालिस नयाँ शब्दको उदाहरण प्रस्तुत गरेका छन् । त्यस्तै डिकेन्सले पन्द्र सय छयासीवटा शब्दको नयाँ अर्थमा प्रयोग गर्नसक्नु लेखकको विशिष्ट प्रतिभाको नमूना प्रस्तुत गरेका छन् भने डिकेन्सको विशिष्ट साहित्यिक तथा भाषिक सील्पलाई मूल्यांकन गरी साहित्य लेख्नु भनेको अरुले प्रयोग गरेका थोत्रा र जडौरी शब्द जोडजाड गरेर ठेलीका ठेली पुस्तक लेख्नु मात्र होइन भन्ने सन्देश दिन खोजेका छन् । साथै महान लेखक डिकेन्सको म्युजियममा पुग्दा डिकेन्सको स्टोरी रिडिंग शैलीबारे थाहा पाएर लेखक प्रभावित हुन्छन् । यात्राका क्रममा बेलायती नोटमा लेखकहरूको फोटो देखेपछि नेपाली लेखकहरूलाई राज्यले गर्ने व्यवहारका बारेमा धिक्कार प्रतुत गरेको महसुस हुन्छ ।
विशिष्ट उपन्यासकार कुमारी जेन अस्टिनलाई खोज्न बाथ सहरमा पुगेका लेखकले आफ्नो छोटो जीवनकालमा कला र सौन्दर्यका दृष्टिले उच्चकोटीको उपन्यास लेख्ने अस्टिनका उपन्यासले अठारौं शताब्दीको सामाजिक परम्पराको झलक दिने कुरा बाथ सहरमा पुगेपछि झल्को पाएको अनुभूति गर्दछन् । उपन्यासकार अस्टिनको निवासमा फन्को मार्दा नियात्राका लेखक बेलायती लेखकहरूको मान, शान एवं बैभवहरूका अगाडि नेपाली साहित्यकारप्रतिको तुलना गर्न पुगेका छन् । लाग्छ, नेपाली लेखकहरू आफ्नै देशमा अपमानित एवं तल्लो दर्जाका रैतीका रुपमा हेपिएका देखिन्छन् ।
चारसय वर्ष रोमनहरूको उपनिवेशमा रहेको बेलायतमा विगतको रोमेली परम्पराअनुार रोमनहरू नेपालीहरू जस्तै मूर्तिपूजकको रुपमा रहेको चर्चा गरेको पाइन्छ । पशुबली नदिइने, गोरा पुजारी, श्रव्यदृश्य स्क्रिनमा पूजाको दर्शन गर्न पाइने र हिन्दू मन्दिर नै भए पनि साँझपख ईसाइहरूको प्रार्थना प्रचलनले नेपालमा रहेको धार्मिक सहिष्णुताको नमूना बेलायत जस्तो ईसाइहरूको बाहुल्याता भएको देशमा हुनेरहेछ भन्ने जानकारी पाउन सकिन्छ ।
विश्व विख्यात बाल साहित्यकार रोआल्ड डाह्लको निवासमा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्य र मनोहरताले रमाउन पुगेका लेखक डाह्लको साहित्यिक जीवनका विभिन्न आरोह अवरोहलाई केलाई विभिन्न कोणहरूबाट आफ्ना भोगाइ, बुझाइ र अनुभवहरूलाई रोचक घटनाको टिपोटमार्फत कलात्मक ढङ्गले प्रस्तुत गरेको पाइन्छ । सैनिकको कठोर जीवनबाट अवकाश प्राप्त कठोर एवं जड मानिसको मन बोकेका डाह्ल आफ्नो पछिल्लो जीवनकालमा बालबालिकाका लागि कलम चलाउन पुग्दा जति नै कठोर भए पनि साहित्य सिर्जनाको बाटोले मानिसलाई सरस र सरल बनाउँदो रहेछ । डाह्ल यस्तै जीवन चक्रका एउटा कठोर सैनिक र विशिष्ट बाल साहित्यकार हुन भन्ने कुरा लेखकले डाह्लको आइडिया बुकबाट जानकारी पाएको उल्लेख गरेका छन् ।
अत्यन्त सुन्दर एवं विशिष्ट पोजमा सजिएका साहित्यिक पात्र शर्लक होम्सको सालिकले साहित्य सर्जकको महान सिर्जनात्मक क्षमता त उजागर गरेको छ नै अझ साहित्यिक पात्रका रुपमा रहेको आर्थर कोनन कल्पनामा शर्लकको उभ्याइएका घनत्वपूर्ण सालिक अझ प्रभावशाली एवं बलशाली हुँदारहेछ भन्ने कुरा ती पात्रहरूको प्रस्तर तस्वीरलाई हेरे पुग्ने लेखकको अनुभूति छ । लेखकहरूका सालिकहरू भन्दा धेरै त्यस्ता काल्पनिक पात्रहरूको सालिकको निर्माणले तिनलाई प्रमुख पात्र बनाई आफ्ना साहित्य सिर्जना गर्ने उनीहरूका क्षमता अझै उत्कृष्ट र महान देखिँदारहेछन् ।
संसारका विशिष्ट साहित्यमा संरचित भएका महान साहित्यिक कृतिहरूमा सम्बन्धित रहेका अनेकौं महान पात्रहरू छन् । ती पात्रहरूलाई पनि साहित्यकारका निमित्त नायकका प्रतिनिधिका रुपमा सालिकहरू निर्माण गर्दा लेखकको सम्मान एवं साहित्यिक कृतिहरूको मूल्य स्थापित हुनसक्ने तर्फ लेखकको मूल्याङ्कन छ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनका प्रेमिल पात्र मुना र मदनका त्यस्तै झल्को दिने गरी सालिकहरूको निर्माण समाजमा गरिदिए नेपाली साहित्यले दिन खोजेको भावुकता, विशिष्ट कलाको प्रयोग र सर्बसाधारणमा महान आदर्शको सलामीको भावप्रकट हुनसक्ने लेखकको भनाइ देखिन्छ । साहित्यका त्यस्ता पात्रहरूको प्रसिद्धिले नै लेखकलाई सगरमाथाको उचाइमा पुर्याउन सक्ने अनुमान पनि गरिएको छ ।
महान हास्यव्यङ्ग्य कलाकार चार्ली च्याप्लिनको जीवनसँग सम्बन्धित घटनाक्रमका बारेमा जान्न लेखक चार्ली चाप्लिनको नीलो प्लेट हेर्न सुरुङ्गमुनिको रेलयात्रा च्याप्लिनको रोमाञ्चक जीवन कहानी जस्तै रमाइलो लाग्छ । चार्ली च्याप्लिनको यो नीलो प्लेट राख्ने प्रचलनले कलाकारको पहिचान र सम्मानलाई महान आदर्शताका साथ पश्चिमा समाजले हेर्ने गरेको अनुभूति छ । विदेशमा जस्तै नेपालमा पनि लेखकहरूका पहिचान झल्कने खालका यस्ता परिचयात्मक तरिका चलाउन सके त हुन्थ्यो नि । तर राज्य वा राज्यबाट निर्मित निकाय वा प्रतिष्ठानहरू यस्तो चेतनाबाट परै रहन चाहने नेपाली मानसिकताप्रति लेखक दुखित भएको समेत देखिन्छ । चार्लीको जुँगाको प्रसङ्गलाई विश्वप्रसिद्ध तानाशाह हिटलरको जुँगाजस्तै च्याप्लिनले आफ्नो जुँगा बनाएर हिटलरको शैलीलाई व्यङ्ग्य गरेको प्रष्टै नजर अन्दाज गर्न सकिनेछ । तानाशाहहरू आफू स्वतन्त्र रहे पनि जनतालाई सधै गुलाम बनाइरहन्छन् उनीहरू । त्यसैले चार्लीले पनि हिटलरको तानाशाह व्यवहारलाई व्यङ्ग्यमा ढालेर हिटलरको प्रतिनिधि पात्रको रुपमा उनले आफूलाई कलागत प्रभावकारितामा उभ्याएको सन्दर्भ लेखकले प्रस्तुत गरेको पाइन्छ ।
यसरी साहित्य एवं कलाकारिताका महान हस्तीहरूको जीवनी, साहित्यिक पात्रहरूको भावपूर्ण निरीक्षण तथा महान कलाकारहरूको विशेषताहरूको सन्दर्भ खोतलेर आफ्नो नियात्रा सङ्ग्रहमा तथ्यपूर्ण विवरणलाई सत्यासत्य सावित गर्न साहित्य तथा कलाको ‘पवित्र मार्ग’ पहिचानले ‘भाया साक्रा’को लेखकमा भावुक चेतना सल्बलाएको देखिन्छ ।

८.२ ज्ञानविज्ञान विषयको छनौट
‘हामीले धेरै पर्खाल बनायौं तर पर्याप्त पुल बनाएनौ’ भन्ने विश्वप्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनका सन्दर्भमा उनलाई दर्शन गर्न लेखक बेलायतको पूर्वी क्षेत्रमा अवस्थित न्युटनको बगैँचा हेर्न हानिन्छन् । उनी जब त्यहाँ पुगे न्युटन बारे आफूले विगतमा पढेका, जानेका र बुझेका विषयमा जानकारी प्राप्त गरिसकेपछि उनलाई एकाएक गुरुत्वाकर्षण सिद्धान्तका प्रतिपादक न्युटनको स्याउ बारे जान्न मन लाग्यो । उनी बगैँचामा पुगे र यसो हेरिवरि न्युटनको बगैँचाको स्याउ टोक्न पुगे लेखक । उनलाई लाग्दथ्यो, स्याउ अमिलो भए पनि त्यसले आइज्याक न्युटनको विचारलाई तरङ्गित गराएको थियो र विश्व समुदायलाई भौतिक विज्ञानको क्षेत्रमा नवीन विचार दिएको थियो ।
लेखकले न्युटनको स्याउको विषय कोट्याइरहँदा स्रोतहरू जेजस्तो भएपनि त्यसभित्र भएको बहुगुणी विशिष्टतालाई पहिचान गरेर मानव जीवनको हीतमा प्रयोग गर्नसके त्यस्तो विषय नै कालजयी हुनसक्ने विचारलाई प्रकारान्तर मनले लेखकले उठाउन खोजेका छन् । स्याउ अमिलो थियो, र छ पनि, तर त्यसैको गुरुत्वशक्तिको पहिचानले आइज्याक न्युटन आज संसारका नजरमा महान वैज्ञानिकका रुपमा स्थापित भएका छन् । यता नेपालमा राणाशासनको क्रुरता अनि अमिलो शासन व्यवस्थामा तिनैका स्रोतबाट जन्मिएका नेपालका महान वैज्ञानिक गेहेन्द्र सम्शेर भने आज नेपाली ज्ञानविज्ञानको क्षेत्रमा गुमनामजस्तै भएका देखिन्छन् । सायद उनको वैज्ञानिक चिन्तन दृष्टिलाई नेपाली सत्ताले सधै अमिलो स्याउजस्तै ठान्यो होला । अनि उनी स्मृतिका पानामा रहिदिए होलान भन्ने सन्दर्भलाई सो नियात्रामा प्रखर ढङ्गले प्रस्तुत गरेका छन् । सायद बुद्धको जन्मथलोमा रहेको बोधिबृक्षजस्तै न्युटन पनि अटल अनि अमर छन्, पूर्वी बेलायतको ऐतिहासिक स्थलमा, अनि प्रत्येक मानव समुदायको मन मुटुमा । सर आइज्याक न्युटनले पृथ्वीमा गुरुत्वाकर्षण बल ‘ग्राभिटी’ नामको शक्ति त पत्ता लगाए नै गणनको गणित विधि ‘क्याल्कुलस’ पनि बनाए । अनि ‘पाइ’ को मान निकाल्ने नयाँ सूत्र एवं ज्वारभाटाको नियम समेत उनैले पत्ता पनि लगाए । यस्ता महान वैज्ञानिकको घरलाई संरक्षण गरेर राखेकामा नयाँ पुस्तामा आउने विज्ञान, प्रविधि र अनुसन्धानसम्बन्धी प्रेरणालाई पवित्र मार्गका रुपमा लिन सकिने संकेत गरेको पाइन्छ ।
विकास वादका महान दार्शनिक एवं वैज्ञानिक चाल्र्स डार्विनको चेतनाको विकाससम्बन्धी वैज्ञानिक तथ्यहरूलाई यस नियात्रा सङ्ग्रहमा कम प्रयोग गरेको भए पनि डार्विनको ‘जिसस क्राइस्ट ईश्वरका पुत्र होइनन’ भन्ने धर्मको विरोधसम्बन्धी धारणालाई लेखकले प्रस्तुत गरेका छन् । डार्विनको घरमा सिस्नोको वाइन किनेका लेखकले नेपाली सिस्नोको वाइनले युरोप र अमेरिकामा बजार लिनसक्ने तर्फ सङ्केत गरेको पाइन्छ । त्यस समयमा डार्विन मात्रै धर्मसत्ताका घृणाका पात्र थिएनन् । जियोर्डानो ब्रुनो तथा ग्यालिलियो पनि ध्रुवसत्यका विषयहरूलाई तथ्यसहित तत्कालको रुढ समाजमा प्रतिवादमा उत्रँदा, कि त चर्को पीडाले विष सेवन गर्नुपर्ने, कि त फाँसीमा चढेर मर्नुपर्ने वाध्यताका बीचमा वाइनको सरल तर भावुक प्रसङ्गलाई लेखकले कोट्याएका छन् । सिस्नो एकप्रकारको वनस्पति हो तर पनि त्यसबाट बन्ने पेय पदार्थ(वाइन) अत्याधिक मातको जड हो । रुढ नेपाली समाजका यस्ता पीडामा नेपाली वैज्ञानिक ः गेहेन्द्रसम्शेर, लेखकहरू ः महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार गोपालप्रसाद रिमाल, जनकवि गोकुल जोशीलगायत तथा होनहार समाजका अभियन्ता ः योगमाया आदिले विष सेवन गर्नुपरेको, पागल हुनुपरेको वा आत्मत्याग गर्नुपरेको विषयलाई स्मरण समेत गराउँछ । ‘सत्य सधै सत्ताको टाढा र भविश्यको नजिक हुन्छ’ भन्ने विषयलाई कोट्याउँदै चाल्र्स डार्विनजस्तै कुनै पनि विषयका दार्शनिक, चिन्तक वा सर्जक सतिसाल झैं आफ्ना सचेत विचारमा अडिक रहन्छन् भन्ने सङ्केत गरेको देखिन्छ ।
चाल्र्स डार्विनको वैज्ञानिक उपलव्धी, तिनका जीवनका क्षण क्षणका सन्दर्भ अनि भोगाइहरूलाई लेखकले मसिनो गरी नियालेर विश्लेषण गरी तिनका जीवनको सत्यताको नजिक पुग्ने र पाठकहरूलाई सोही नजिक पुर्याउने प्रयत्न गरिएको छ । महान वैज्ञानिकहरूका जीवनका घटनाक्रमहरू पढ्दै जाँदा सायद उनीहरूलाई मानव जीवनका अनुपम उपहारका रुपमा विश्व समुदायले नपाएको भए विकासको गति शिथिल हुनसक्ने सम्मको लेखकको अभिव्यक्ति देखिन्छ ।
सर आइज्याक न्युटन भौतिक निज्ञानका आविष्कारकका रुपमा रहेका अनि चाल्र्स डार्विन चेतना विज्ञानको आविष्कारकका भएकाले यी दुवै वैज्ञानिकहरूको आविष्कारको फ्युजनले वस्तुको गतिसम्बन्धी सिद्धान्त अगाडि बढेको अनुभव लेखकले गरेको पाइन्छ ।

८.३ ऐतिहासिक विषयको छनौट
विश्व राजनीतिमा उदाहरणको रुपमा आइरहने वाटरलू ‘असम्भव शब्द केवल मूर्खहरूको शब्दकोशमा मात्र हुन्छ’ भन्ने फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले १८ जुन, सन् १८१५ मा भएको युद्धबेला सामान्य समयको पर्खाइमा भएको बखत शत्रु पक्षबाट पराजित भएपछि आत्मसर्मपण गरेको ऐतिहासिक ठाउँ हो । विश्व विजयको सपना बोकेको नेपोलियन पराजित भएपछि
उनले भोग्नुपरेको दुखद पीडा र जीवनको अन्तिम समयसम्मको घटना सम्झाउने गरी वर्णित बेल्जियमको त्यो ठाउँमा पचास हजार मानिस आधा दिनमा मारिएको घटनालाई लेखकले भावुक तबरबाट उल्लेख गरेका छन् । फ्रान्समा राजतन्त्र विरुद्धको क्रान्तिपछि सैनिक अधिकारी देशकै सम्राट बनेको घटनाले प्राचीन खशअधिराज्यको मलय वर्माको इतिहास र आधुनिक कालको प्रारम्भमा जंगबहादुरको उदयलाई नेपाली समाजभित्रै उदाहरण बन्नपुगेको सन्दर्भलाई लेखकले ऐतिहासिक घटनावलीको रुपमा जोड्न खोजेका छन् ।
कैयौं कमजोरी भएपनि नेपोलियनलाई फ्रान्समा उच्चसम्मान दिइएको लेखकले एक प्रसङ्गमा उल्लेख गरेका छन् । नेपोलियन फ्रान्सको राजतन्त्र समाप्त गर्ने एक सेनानायक मात्र थिएनन् । पेरिसबाट भागेर अमेरिका जान समुद्री जहाजमा चढ्न लागेको बेला बेलायती सैनिकहरूले पक्रेर ‘सेंन्ट हेलेना’ टापुमा नजरबन्दमा पारी सोही स्थानमा मृत्युबरण गरेका नेपोलियन, फ्रान्सका त्यतिबेलाका यथार्थवादी, निडर र युगनिर्माता पनि थिए । आफ्नो युद्धकौशल मार्फत फ्रान्सलाई गौरवपूर्ण विजय दिलाएका थिए । यदि युरोपका विभिन्न देशसँगको युद्धमा राज्यको ढुकुटी नसिध्दिएको र अमेरिकालाई लुइजियाना राज्य नबेचेको भए फ्रान्स अहिलेको अमेरिकाभन्दा धेरै गुना शक्तिशाली हुने र संसारको नक्सा अर्कै हुनसक्ने बारे लेखकले यात्राका क्रममा देखेका र अनुभव गरेका तथ्यहरूमार्फत आफ्ना भावुक तर्कहरू अगाडि सारेका पाइन्छन् ।
बजगाईंले आफ्नो ऐतिहासिक पवित्र मार्गको यात्रामा नेपोलियनको वीरताको गाथा र पतनका कारणहरू बारे उल्लेख गर्दै समयले नै मानिसलाई उन्नति र पतनको दोसाँधबाट प्रकट हुने महानताको पगरी गुथाउने वा नगुथाउने निर्धारण गर्दछ भन्ने विषयलाई उजागर गर्दै नेपाली जनयुद्ध कालका महापुरुषहरू र तिनका हालका हविगतहरू बारे पहिचान गराउन खोजेको अनुभव हुन्छ, उनको भाया साक्रा नियात्रा सङ्ग्रहमा ।

८.४ प्राकृतिक विषयको छनौट
समुद्र र ज्वालामुखीजस्ता विषय नेपालीहरूका लागि नौला भए पनि नेपल्समा नेपाली खोज्दा ज्वालामुखी पाएको सन्दर्भलाई प्राकृतिक विषयको रुपमा विषय छनौट गरेका छन् । नेपालीको मनमा उठेका ज्वालामुखी रुपी अभाव एवं पीडामा सल्बलाएको चेतनाको झल्को दिने गरी नेपल्सको ज्वालामुखीको डरलाग्दो अनि निरस विषयलाई बर्णन गरेका छन् । इटाली भाषामा नेपल्सलाई ‘नापोली’ र अंग्रेजीमा ‘नेपल्स’ भनिनेरहेछ । त्यसको वास्तविक अर्थ चाहिँ प्राचीन ग्रीकमा नयाँ सहर भन्ने रहेछ । कला, संस्कृति र वास्तुकलामा ख्याती कमाएको सो सहरको मोहनी लगाउने समुन्द्र अनि सुन्दर पहाडको आकर्षणले सजिएको नेपल्समा नेपाली मन मुटुलाई खोज्न लेखक भौंतारिरहेका देखिन्छन् ।
त्यहाँको प्राकृतिक एवं ज्वालामुखीको वर्णन, दृश्यावलोकन, भ्रमणका क्रममा भएका सुखदुखको अनुभूति तथा नेपल्सको प्राकृतिक सौन्दर्यको चर्चा गरेको पाइन्छ । ज्वालामुखीबाट निस्केका गेग्रानहरू बाटाभरि छरिएर रहेका थिए । ती गेग्रानहरू खुट्टामा सुल्किएर पछाडि सर्दाको विषयलाई लेखकले बडो रोमाञ्चक विषय बनाएको पाइन्छ । ‘भोल्केनो’को बारेमा लेखकले आफ्नो यात्राका क्रममा पाएका किम्बदन्ती एवं सन्दर्भको विषयलाई एउटा रोचक प्रसङ्ग बनाएर उठाएको पाइन्छ । ‘भल्कन’ प्राचीन रोमन धर्मका एक प्रमुख देवतामध्येका हुन् । उनी अग्नी, ज्वालामुखी र धातुको देवता थिए । मिथकअनुसार भल्कनबाट देवताका लागि हतियार बनाइन्थ्यो अनि त्यो ज्वालामुखी भगवानका लागि तयार पारिएको थियो भन्ने उल्लेख गरिएको छ । त्यस्तै अर्को मिथकअनुसार पृथ्वीमा सयवटा सर्पको टाउको भएको ‘टाइफन’ नामक भीमकाय प्राणी थियो र त्यसको टाउकोले आकासका ताराहरूलाई छुन्थ्यो । त्यसको आँखाबाट विष, मुखबाट लाभा र अति तातो चट्टान निकाल्दथ्यो । त्यसको फुँकार सयवटा सर्प बराबरको र गर्जन सयवटा सिंहको जत्रो हुन्थ्यो । अनि त्यो परिवेश नै ज्वालामुखीको विशालकाय सौन्दर्य थियो भन्ने प्राकृतिक देवताको मिथकलाई रोचक बनाएर वर्णन गरिएको छ ।

८.५ नवीन आविष्कार एवं चमत्कारको छनौट
ब्रसेल्सको आकासमा बनाइएका विज्ञान, प्रविधि र आणविक ऊर्जालाई चिनारी गराउने उद्देश्यले अटोनियम नाम दिइएको नौवटा ठूल्ठूला फलामका डल्लालाई एकआपसमा पाइपका माध्यमले जोडेर कलात्मक तरिकाले बनाइएको आर्किटेक्टको अद्भूत सिर्जना नै ब्रह््माण्डमा रहेका नौवटा ग्रहका श्रृङ्खलाजस्ता देखिने अचम्मका नवीन वैज्ञानिक आविष्कार एवं चमत्कारको रुपमा रहेको नौवटा नमूना ग्रहहरूलाई लेखकले बयान गरेका छन् । आधुनिक विश्वको एउटा नमूनाको रुपमा रहेको सो डल्लाको यात्रा आरम्भ लिफ्टबाट हुनेरहेछ । यसले खगोल विज्ञानका लागि अध्ययन गर्न सुहाउने डमी प्रयोगशालाको रुपमा रहनसक्ने उदाहरण समेत लेखकले प्रस्तुत गरेका छन् । हेर्दा निकै रोचक लाग्ने नौवटा ग्रहजस्ता फलामका डल्लालाई लेखकले निकै लामो समय लगाएर फन्को मारेको र ब्रह्माण्डको नजिकैबाट अनुभूति गरेको विषय रोचक लाग्दछन् ।
नयाँ चमत्कार र आविष्कारको अर्को महत्वपूर्ण विषयवस्तु यात्राका क्रममा लण्डनबाट बेल्जियमसम्म युरोस्टार रेलको चर्चा गरिएको छ । हाइस्पिड भएको तर चुच्चोचुच्चो देखिने जर्मनीका नेपालीहरूले ‘चरिचुच्चे रेल’ भनेर नाम राखिदिएको रेलमा ब्रसेल्समा हुने साहित्यिक कार्यक्रममा भाग लिन प्रयोग गरेको देखिन्छ । सो अरामदायी एवं विभिन्न सुविधा भएको रेलमा यात्रा गर्दा लेखकले त्यसमा गरिएको यात्रा आनन्दका बारेमा फेसबुकमार्फत आफ्ना साथीभाइहरूलाई जानकारी दिएको र साथीहरूले सो रेलको यात्राको रोमाञ्चकतालाई विशेष उपलव्धीको रुपमा सुहाइदिएको विषयलाई लेखकले यात्राको वृत्तान्त बनाएको देखिन्छ । उनले यसको यात्राबाट भरपूर मनोरञ्जन र आनन्द लिएको उल्लेख गरिएको छ ।
८.६ सांस्कृतिक सम्पदाको छनौट
‘सावधान मिलिटरी ट्याङ्ग पास हुने ठाउँ’ लेखेको सूचना पाटी अगाडि बढेपछि लेखक र उनका साथमा रहेका परिवारजनहरूले दक्षिणी बेलायतको विल्टसायरमा रहेको प्राग ऐतिहासिक वास्तुकलाको नमूना ‘स्टोनहेन्ज’ को अवलोकन विना तयारीको यात्रा भए पनि स्टोनहेन्जको म्युजियमको भ्रमणका क्रममा मानिस एवं अन्य जीवका हड्डी र दाँतका टुक्रा, पुराना धातुका हतियारहरू, माटाका भाँडाकुँडा अनि स्टोनहेन्ज र मानवजातिका इतिहासका बारे जानकारी लिएको देखिन्छ । क्राइस्टेली परम्परामा स्टोनहेन्जलाई ईश्वरीय वरदान प्राप्त शिलाको रुपमा लिइन्छ ।
यसलाई अर्को शब्दमा ‘ख्वाजा’ भनिन्छ । जबजब मानव संसारको जीवनले अनित्य र अन्यायको पीडा भोग्नुपर्दछ । त्यतिबेला स्टोनहेन्जको रुपमा ईश्वरले शिलाको रुपमा अवतार लिन्छन् र मानव समुदायको कल्याण गर्न तयार हुन्छन् भन्ने मान्यता रहिआएको छ । स्टोनहेन्जका हुकुमहरू जो कोहीले मान्दैनन् उनीहरूनै समाजका पापिष्ट मानिसहरू हुन् भन्ने धारणा बोकेको स्टोनहेन्जलाई लेखकले अनौठो ढुङ्गाको रुपमा व्याख्या गरेको पाइन्छ । स्टोनहेन्जको सत्यासत्य चमत्कार, अद्भूत संरचना अनि जमीनमाथि गाडेर ठड्याएका चक्राकार ढुङ्गाहरू देखेर लेखक अचम्मित हुन पुग्दछन् । ढुङ्गाको बनोट, प्राप्ति तथा स्थापित स्थानलाई हेरेर लेखक रहस्यको घेरामा रहिदिन्छन् । लेखकले सो यात्रालाई अनौठो, आश्चर्य एवं अपत्यारिलो दैवी शक्तिको रुपमा परिभाषित भएको प्रकृतिको अनुपम उपहारको यात्राको अनुभव गरेको महसुस गरेका छन् ।
प्राय विद्वान विदुषीहरूले प्रवचन दिने वा दिक्षा दिने प्राज्ञिक सार्वजनिक समारोह स्थलहरूलाई प्रवचन स्थानको रुपमा चिनिन्छ नेपालमा । कार्ल माक्र्स, विन्सटन चर्चिल, जर्ज बर्नाड शा तथा जर्ज अर्वेलजस्ता विश्वचर्चित व्यक्तित्वहरूले भाषण गर्ने पुरानो प्रवचन स्थल अचेल पश्चिमी समाजमा विकृति विसङ्गतिको प्रलाप ओकल्ने स्थानको रुपमा स्पिकर्स कर्नरको रुपमा विकास भएको छ । लण्डन सहरको मुटुमा रहेको ‘हाइड पार्क’को उत्तरपूर्वी कुनामा अवस्थित ‘मार्वल आर्च’को छेउमा अवस्थित रहेको ‘स्पिकर्स कर्नर’ले दक्षिण अफ्रिकाको केपटाउनको सहरमा रहेको सुई पार्कको झझल्को लेखकको वयानले दिन्थ्यो । यो खुल्ला टुँडिखेलजस्तै वरिपरि घनावस्तीले घेरिएको स्थान हो । वाक् स्वतन्त्रताका लागि संसारको एक मात्र सुरक्षित क्षेत्रका रुपमा स्पिकर्स कर्नरले ख्याति कमाएको भनिए पनि संसारका अन्य देशहरूमा पनि यस्ता स्थानहरूको प्रयोग भएको देखिन्छन् । तर यहाँ लेखक आफू पुग्दा कुनै शब्द पनि उच्चारण गर्न सक्दैनन् । किनभने यात्राका लागि दौडिरहेका नियात्राकारसँग त्यस समाजको विकृति विसंगति केलाउने, राज्यको विरुद्धमा आफ्ना असन्तुष्टि प्रकट गर्ने विषय नै के हुन्थ्यो र ? त्यसैले यहाँ लेखक आफू विलखबन्दमा परेको देखिन्छन् अनि स्वतन्त्रताको हौस्याइले मख्ख देखिन्छन् ।
बेलायतको कानुनले जातीय तथा धार्मिक घृणा फैलाउने विभिन्न विचारबाट मानिसहरू भड्काउने, राजतन्त्रलाई धम्की दिने, कुनै आतंकवादी संगठनलाई समर्थन गर्नेले कानुनी सजायको भागीदार हुनुपर्दछ । तर स्पिकर्स कर्नरभित्र त्यो नियम लागु नभएको मान्यताको बेलिविस्तार देख्दा नेपालमा प्रचलित गाइजात्राको दिनको हास्यव्यङग्य कार्यक्रमका प्रेक्षालय, सार्वजनिक स्थलहरू ः काठमाडौंको नयाँसडक अनि धरानको छाताचोक स्मरण हुन्थ्यो भने मैथिल परम्परामा मनाइने महामूर्ख सम्मेलनको अनुभूति गराउँने जनकपुर सम्झन पुगिन्थ्यो ।
‘ड्रागन’ तिब्बती सांस्कृतिक परम्पराको धरोहर हो । तिब्बती परम्पराले विकास गरेको सांस्कृतिक मान्यतामा अचेल भोट बर्मेली भाषिक समुदायको अनेक शाखा प्रशाखामा छाएको ड्रागनको उत्पत्ति, विकास र त्यसको धार्मिक सांस्कृतिक महत्वलाई बेलायतको वेल्स राज्यमा अवस्थित हिन्दु काली मन्दिरको ढोकै अगाडि ‘ड्रागनदेखि सावधान’ राखिएको रहेछ । संस्कृतको मन्त्रोच्चारणसहित गोरा पुजारीले कालीको पूजा गरिहेका र चलनचल्तीको भाषामा हिन्दु भनिए पनि सनातन धर्मका आधारमा विभिन्न आस्थामा विश्वास गर्नेहरूको आस्थाको केन्द्रको रुपमा स्थापित भएको रहेछ त्यो कालीको मन्दिर । प्रायः कालीका मन्दिरहरूमा पशुवली दिइने भएपनि त्यहाँको कालीको मन्दिरमा पशुवली दिन नमिल्ने गजबको परम्परा देखेर लेखकलाई अचम्म लागेछ । हिन्दुहरूको मन्दिर क्रिश्चियनहरूको भूमि तथा तिब्बतीहरूको आध्यशक्तिको सङ्गमस्थलको रुपमा रहेको सो स्थानलाई लेखकले अत्यन्त रोचक पाराले विभिन्न दृश्य, परिवेश तथा तथ्यहरूलाई राखेर आफ्नो यात्रालाई व्याख्या गरेको पाइन्छ । लेखकले ‘ड्रागन’को आकारलाई दिएको महत्वलाई हेर्दा आयातित विषयहरुले सत्यतथ्यमा आधारित सक्कली विषयलाई कसरी ओझेलमा पार्दछन् भन्ने उदाहरण दिएका छन् । वेल्सराज्यको मातृभाषालाई इङ्गलैण्डको इङ्गलिस भाषाले संसार निलेर पारेको प्रभावको सन्दर्भलाई ड्रागनसँग तुलना गरेको देखिन्छ ।
फ्लान्दर्सको मैदानमा वीरगति प्राप्त विभिन्न काल खण्डमा भएका युद्धका लडाकुहरूको स्मरणमा स्थापित रहेको स्मारकहरूले संसारका अनेकौं वीरगति प्राप्त महान योद्धाहरूलाई मात्र होइन नेपाली वीर योद्धाहरूको ओजिलो शाहसलाई समेत गर्व गर्न लायक हुने गरी सो मैदानका स्मारकहरूमा नामाङ्कित गरिएको पाइन्थ्यो । विश्वका ठूलाठूला युद्धमा अग्रपङ्क्तिमा रहेका योद्धाहरूमध्ये नेपाली गुरुङ्ग, राना, थापा, पुन, बुढा, आले तथा बुढाथोकी आदिका वीरगति प्राप्त सिपाहीहरूका पल्टन मेनन गेटमा कुँदिएका नाम एवं दर्जाले विश्व इतिहासको त्रासदीपूर्ण घटनाको झझल्को दिन्थ्यो । बहादुरी देखाएका नेपालीहरूको सो मैदानमा लेखिएका नामले लेखकलाई नेपाली गौरवको गर्वको अनुभूतिले उचाइमा पुर्याएको देखिन्छ ।
अर्कातिर लेखकलाई यात्राका क्रममा भाडाको सिपाही भएर अर्काको देशमा पुग्नु, कुनै शत्रुतापूर्ण सम्बन्धै नभएको कता हो कताको विरानो देशमा युद्ध लड्नु, वीरगति प्राप्त गर्नु, आफ्नो धर्म, संस्कार र परम्पराअनुसार सद्गत हुन नपाउनु तथा अर्काको देशको नागरिक भएर नाम छापिनुजस्ता प्राप्त दृश्य एवं घटनाले लेखकलाई दिक्क लाग्छ । जतिसुकै सम्मान र वीरताको सम्मान पाएर युद्धमा होमिए पनि आफ्नो देशको निजत्व प्राप्त गर्न ती वीरगति प्राप्त सिपाहीले नपाउनुले नेपाली शासकको नालायकपन प्रति लेखकले दुखेसो पोखेको पाइन्छ ।
युरोपका अधिकांस देशका सैनिकहरूले राता ‘पप्पी’ फूलहरूलाई अति श्रद्धा गर्दछन् । सर्वसाधारणबाट पनि पप्पी फूललाई लगाएर वीरगति प्राप्त सैनिकहरूलाई सम्मान व्यक्त गरिन्छ । बम र बारुदका बीचमा वीरगति प्राप्त सैनिकहरूप्रति सम्झना स्वरुप क्यानडाका डाक्टर, कवि तथा लेफ्टिनेन्ट कर्णेल जोन म्याक्रे आफ्नो नजिकको साथीले सहादत प्राप्त गरेको प्रत्यक्ष अनुभवको सन्दर्भले पप्पी फूललाई प्रतिकको रुपमा प्रयोग गरेर ‘फ्लान्दर्सको मैदानमा’ भन्ने कविता नै लेखेको विषयलाई लेखकले रोचक बनाएर सो कविता समेत प्रस्तुत गरेको पाइन्छ ।
‘भ्याटिकन सिटीमा शिवलिंग’ बारे लेखिएको नियात्राको विषयलाई निकै रोचक प्रसङ्गहरूका साथ चर्चा गरेको पाइन्छ । नेपालको सानो गाउँभन्दा पनि कम जनसंख्या भएको सानो देश भ्याटिकन सिटीमा ईसाइहरूको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको अनि त्यहाँ धर्मराज्यहरू चलेको बयान गरेको पाइन्छ । सेना नभए पनि सुरक्षित देशको रुपमा रहेको भ्याटिकन सिटी विशिष्ट भए पनि प्राचीन समय यो स्थान कुनै ‘वाटिका’को रुपमा थियो र पछि यसैसाई ‘भ्याटिकन’ भन्न थालिएको लेखकको तर्क रहेको पाइन्छ । भ्याटिकन सिटीको बनावट ठ्याक्कै शिवलिंगको आकारमा देखिन्छ । ‘सेन्ट पिटर्स वर्ग स्क्वायर’को बीचमा ठडिएको अग्लो स्तम्भमा दायाँवायाँ दुवैतर्फ बनेका अण्डाकार करिडरसहितको समग्र आकृति ठ्याक्कै शिवलिंगजस्तै देखिन्थ्यो । ईसाइहरूको मूलथलोको रुपमा रहेको यस देशमा कसरी शिवलिंगको जस्तो भौगोलिक आकारमा ‘भ्याटिकन सिटी’ बन्यो होला ? लेखकमा नयाँ जिज्ञासाहरू जागिरेहका देखिन्छन् । यस बारे उनको तर्क छ , हिन्दु ऋषिमुनिहरूजस्तै क्रिश्चियन धर्मगुरुहरू पनि ध्यान गर्दथे र पछिल्लो कालखण्डमा हिन्दुहरूका आरध्यदेव शिवको प्रभावबाट ईसाइ पोप एवं पादरी तथा अन्य धर्मगुरूहरूले त्यसैको प्रभावमा परेर भ्याटिकन सिटीलाई ईसाइहरूको धार्मिककुल परम्पराको महत्वपूर्ण स्थानमा विकसित गरे भन्ने तर्कना गरेको पाइन्छ ।
‘भ्याटिकन हिल’का बारेमा ईसाइहरूले प्रवेश पाउनुअधि रोमनहरूले समेत सो स्थानलाई पवित्रभूमिको रुपमा मान्ने हुँदा ईसाइहरूको पछिल्लो कालको शक्ति संचय र सङ्घर्षको समयमा भ्याटिकन सिटी ईसाइहरूको हातमा पुगेको चर्चा समेत गरेका छन् । जे भए पनि सिन्दुघाँटीको सभ्यता हिन्दु तथा मुस्लिम परम्पराको सामाजिक, सांस्कृतिक तथा धार्मिक सङ्गमस्थलको रुपमा लिइएजस्तै लेखकले भ्याटिकन सिटीलाई पनि हिन्दु एवं ईसाइ परम्पराको सामाजिक, सांस्कृतिक तथा पवित्र धार्मिक सङ्गमस्थलको रुपमा रहेको तथ्यहरूबारे प्रष्ट्याउन खोजेको पाइन्छ ।
‘शाश्वत नगर रोम’ को सहरले सबैभन्दा पुरानो र सिभिलाइज्ड समाजको नमूना प्रस्तुत गरिरहेर आफ्नो परिचय दिइरहेको बारेमा लेखक तीनछक पर्दछन् । इतिहासकार एवं पुराततत्वविद्हरूले रोमको बसोबास बारेको अध्ययनमा यस ठाउँमा मानिसहरू सत्ताइस सय वर्ष अघिदेखि बस्दै आएको कुरालाई चर्चा गरेका छन् । विभिन्न जातिका मानिसहरू बस्ने रोम सहरलाई सातवटा पहाडको सहर भनेर पनि चिनिँदोरहेछ । त्यसैले त्यहाँ विभिन्न जातिका मानिसहरूको बसोबास पनि रहेको पाइँदोरहेछ । विभिन्न धार्मिक, पर्यावरणीय, सांस्कृतिक तथा सौन्दर्यले सजिएको रोम सहरमा मन्दिरहरू पनि निकै पाइन्छन् । यसमध्ये ‘पान्थियन’ मन्दिर पनि एक हो । अग्रभागमा ढुङ्गाका अग्लाअग्ला गोलाकार पिलरैपिलर भएको रोमन शैलीको भव्य मन्दिर थियो त्यो । प्राचीन रोमको सबैभन्दा बढी संरक्षित र सग्लो संरचना रोममा सोही मन्दिरमा मात्र पाइन्थ्यो । यस्तो प्राचीन तथा भव्य ‘पान्थियन’ मन्दिरलाई लेखकले देवताहरूको महलको रुपमा परिभाषित समेत गरेका छन् ।
बास्तवमा प्राचीन रोमनहरू अतिधार्मिक थिए । हिन्दुधर्मावलम्बीहरूजस्तै हरेकले आआफ्नो घरमा ससाना पूजास्थलहरू बनाइएको शाश्वत सहर रोममा देख्न पाइन्थ्यो । त्यहाँ देवताको मूर्ति वा चित्र राखेर पूजाआजा गरिन्थ्यो र मानिसको मृत्यु पश्चात पाप धर्मका आधारमा नर्क वा स्वर्गको प्रवेश गर्नसक्ने हिन्दुहरूले जस्तै रोमनहरू पनि अतिविश्वास गर्दथे । तसर्थ देवता नै देवताहरूको मूर्तिस्थल रोमलाई लेखकले शाश्वत नगरका रुपमा व्याख्या गर्न खोजेको समेत देखिन्छ ।
इटालीको पिसा सहरमा अवस्थित मध्ययुगका सात आश्चर्यहरूमध्ये ‘पिसा टावर’ पनि एक हो । सो टावरको यात्रा लेखकका लागि कम शानको छैन । मध्ययुगीन कलाले भरिपूर्ण सो टावर विभिन्न समयसँग आएका विपत् एवं प्राकृतिक विग्रहको बेलामा पनि सो टावरले ऐतिहासिक एवं मध्ययुगीन मानव समुदायको धरोहरको रुपमा उभिएर आफ्नो पहिचान दिइरहेको रहेछ । लड्ला लड्लाजस्तो देखिने सो ‘पिसा टावर’ सो भूमिमा आठसय वर्ष अघिदेखि उभिएको रहेछ । झण्डै बैंसालु मोडलको ढाँचामा ढल्किएर उभिरहेको बेलामा पनि कैंयौ प्राकृतिक उथलपुथलमा आफ्नो शान र हैसियतलाई बचाएर बाँचिरहेको देख्दा लेखकलाई अचम्म लाग्दछ ।
रोमन डिजाइनको सो टावर सुरुमा घण्टाघरको रुपमा बनाउन सुरु गरिएको रहेछ । इन्जिनियरिङ्गको चामत्कारिक नमूनाको रुपमा रहेको सो टावर पचपन्न मिटर अग्लो छ । बाङ्गिएको अनि कुरुपजस्तो लाग्ने सो टावरको आफ्नै खालको सुन्दरता लुकेको पनि लेखकले वयान गरेको पाइन्छ । लेखकलाई सो टावरको ढल्काइको विशेषतामा अढेको कालिगढी चमत्कारप्रति आफ्नो देशको धरहराको समेत झल्को आउँछ । तर आफ्नो देशको धरहरालाई कुनै चमत्कारिक इन्जिनियरिङ्गले बचाउन नसकेकोमा चिन्ता प्रकट गरिएको पाइन्छ ।
रोमन सहरमा रहेको संसारको सबैभन्दा पुरानो र रहस्यमयी ‘एम्पिथिएटर कोलोसियम’लाई स्पर्श गरेका लेखकले एकातिर त्यसको परिचयको रुपमा रहेको प्राचीन कला, ज्ञानविज्ञान र संस्कृतिको बारेमा विश्लेषण एवं व्याख्या गरेको पाइन्छ भने अर्कातिर त्यतिबेलाको समाजमा स्थापित राज्यसत्ताको आफ्नो मनोरञ्जनका लागि दिइने विभिन्न मानवीय यातना, युद्ध र खेलको घृणित विषयलाई वर्णन गरेको पाइन्छ । तर अहिले सो अनुपम कलाको रुपमा रहे पनि प्राचीन समयमा त्यो बधशालाको रुपमा रहेको र यसैलाई लेखकले ‘डेथ ट्रयाप’को रुपमा व्याख्या गरेका छन् ।
यस नियात्रा सङ्ग्रह संयोजनको शीर्षस्थानमा रहेको ‘भाया साक्रा’ शीर्षकको महत्वपूर्ण लेख हो, ‘प्राचीन रोममा कुमारी’ । यसै शीर्षकबाट लेखकले आफ्नो नियात्रा सङ्ग्रहको नामाकरण समेत गरेको भेटिन्छ । ‘भाया साक्रा’ एउटा पवित्र मार्ग हो तापनि सो मार्गलाई प्राचीन कालमा बर्षातबाट जोगाउन छाना लगाइएको रहेछ । दुईहजार बर्षभन्दा अघि नै सो पवित्र मार्गमा ढुङ्गा बिच्छ्याइएर मजबुत बनाएको भए तापनि सम्राट निरोको पालामा मार्गको दुवै किनारामा ढुङ्गाका अग्ला र गोला कलात्मक स्तम्भ लहरै खडा गरेर सिँगारिएको लेखकको लेखकीय बेलिविस्तारमा पाइन्छ ।
प्राचीन ग्राीक र रोम धार्मिक र सांस्कृतिक रुपमा धेरै समान भए पनि तिनीहरूले मान्ने भगवान् र पुज्ने तरिकामा केही फरक देख्दथे लेखक । रोमन मिथकबमोजिम प्रत्येक देवदेवीले अलगअलग मानिस र वस्तुहरूको हेर विचार गर्दथे । परिवारका एक अङ्गका रुपमा ती देवताहरूलाई मानिन्थ्यो । शनि भगवान् देवताका राजा थिए । उनैका छोरा वृहस्पति रहेका पनि थिए । शनि राज्यकोषका देवता रहेछन् । वृहस्पति चाहिँ आकाशका सबैभन्दा महत्वपूर्ण भगवान् मानिन्थे । यसै गरी मिनेर्वा कुमारीदेवी थिइन् । हिन्दु धर्मको मिल्दोजुल्दो विशेषता भएको ती देवीको हिन्दुहरूको सरस्वतीसँग मिल्दोजुल्दो विशेषता रहेको देखिन्थ्यो । ‘भिष्टा मन्दिर’ भएको अर्को ठाउँमा रोमनहरूको ‘कुमारीको मन्दिर’ रहेछ । सो मन्दिरमा रहेको भिष्टा रोमेली परम्पराको शनिको छोरी हुन् । तिनलाई पुजाआजा गर्नका लागि कुमारीको व्यवस्था प्राचीन कालदेखि नै गरिएको रहेछ । उक्त कुमारीलाई पुजाआजा गर्ने कुमारीको छनौट दस वर्षमुनिका बालिकाहरूको छनौट गरी पुजा गर्न लगाइने र तीस वर्षपछि मात्रै तिनीहरूले आफ्नो स्वैच्छिक जीवनमा विवाह गर्न पाउने व्यवस्थाले लेखकलाई नेपालको सात्क्षात देवी कुमारी र कुमारीका लागि गरिने छनौट प्रक्रिया बारे लेखकलाई अनुभूत गराएको वर्णनको बेलिविस्तारले गरेको पाइन्छ । रोमन फोरमको विशिष्टतामध्ये धार्मिक एवं सांस्कृतिक मान्यताको अत्यन्त राम्रो, प्रखर र सूक्ष्म ढङ्गले विवरणहरूलाई प्रस्तुत गरेको पाइन्छ ।
९.‘भाया साक्रा’ मा प्रस्तुत समाज
यात्राको क्रममा लेखकले आधुनिक युरोपेली समाजको भन्दा प्राचीन तथा मध्यकालीन समाजको अधिक मात्रामा व्याख्या अत्यन्त सत्यासत्य विषयलाई सहज पाराले पाठकसामू जानकारी गराएको पाइन्छ । अझ विशेषत् ः धर्म परम्परा, प्राचीन सभ्यता, त्यतिबेलाको समाजमा हुने गरेका विभेदहरू, बैभव निर्माणका सन्दर्भहरू, प्राकृतिक रुपमा रहेका सांस्कृतिक मिश्रणका सामाजिक प्रभावहरूलाई लेखकले आफ्ना प्राप्त प्रमाणहरूका आधारमा प्रष्टिकरण गरेको देखिन्छ ।
भारोपेली भाषा र भारोपेली भाषिक सम्प्रदायका मानिसहरूको सामाजिक चेतनाले उद्बोदन गरेको प्राचीन ग्रीसेली तथा रोमन समाजलाई प्रारम्भिक रुपमा हिन्दु धर्ममा स्थापित सामाजिक विशिष्टताहरूले डोर्याएको र पछि मात्रै विभिन्न धर्म सम्प्रदायको विकास भएका कारण ग्राीस तथा रोममा क्राइष्ट लगायत अन्य स्थापित परम्पराले विकास गरेको समाजको व्याख्या र चरित्रलाई लेखकले आफ्नो चर्चाको विषय बनाएको पाइन्छ ‘भाया साक्रा’मा ।
प्राचीन युरोपको समाज सर्बसत्तावादी, रणकौशल, कलाकारितामा पोख्त तथा बैभवले सम्पन्न देखिए पनि आधुनिक युरोपमा भएको नवीन ज्ञानविज्ञानको विकासले युरोपको समाज सहज, सरल, इमान्दार र शालीनतामा अगाडि बढेको समाजको रुपमा चित्रण गरेको पाइन्छ । त्यहाँ भएका भौतिक विज्ञानको विकास, संचारको विकास, पूर्वाधारको विकास तथा मानिसहरूमा आएको नवीन सोंच एवं चेतनाको विकासले आजको यूरोपलाई प्राचीनको तुलनामा सभ्य समाजको सभ्यतातिर अगाडि बढेको चर्चा गरेको पाइन्छ नियात्रा सङ्ग्रहमा । ‘नौ ग्रहको फन्को’ तथा ‘चरिचुच्चे रेल’जस्ता विषयवस्तुलाई उठाएर आधुनिक युरोपेली समाजले विकास गरेको मानवीय उत्कृष्ट विकासको उदाहरणबाट युरोपेली नयाँ समाजको स्थितिलाई लेखकले प्रस्तुत गर्न समेत खोजेका छन् ।

१०. भाषा शैली
अत्यन्त रोचक शैलीमा प्रस्तुत ‘भाया साक्रा’ युरोपको बेलायत, इटाली एवं बेल्जियमको विभिन्न स्थान, प्राचीन स्मारकहरू, धार्मिक महत्वका विषयहरू, ऐतिहासिक विषयका महत्वपूर्ण घटनाहरू एवं प्रमुख चुनिएका महान व्यक्तित्वका बारेमा आफूलाई प्राप्त तथ्यहरू तथा तत्काल विभिन्न स्रोतबाट टिपिएका विषयलाई लेखकले प्रस्तुत गरेको पाइन्छ । यसमा प्रयोग भएको प्रस्तुती शैली व्याख्यात्मक ढाँचाको निबन्धात्मक रुपमा घटनाहरूलाई संयोजन गरिएको छ । लेखकले आफ्ना यात्राका क्रममा टिपिएका विषयलाई यस सङ्ग्रहमा लिपि बद्ध गर्नुका साथै आफ्ना जीवनकालमा अध्ययनबाट प्राप्त अनुभव, तथ्य र ज्ञानको विषयलाई समेत संयोजन गरेर यात्राको विवरणलाई प्रभावकारी बनाएको पाइन्छ । फरक समयमा आफूले प्राप्त गरेका ज्ञानलाई यस सङ्ग्रहको विषयमा समावेश गराइ घटनाहरूको वर्णन गर्दा कतिपय सन्दर्भहरू काल्पनिक भए पनि यथार्थ जस्तै लाग्दछन् ।
केही विवरणात्मक विषयहरूलाई आत्मपरक शैलीमा लेखिएको नियात्रा सङ्ग्रहमा दुवै शैलीलाई लेखकले सन्तुलित ढङ्गले प्रस्तुत गर्नुले लेखकको नियात्रा लेखनको लेखकीय क्षमतालाई उजिल्याइदिएको छ । लेखक स्वयम् पनि नियात्रा साहित्यलाई यात्राको क्रममा टिपिएका कोरा विवरणलाई मात्र यात्रा साहित्यको गुरुत्वपूर्ण सिर्जना मान्दैनन् । ‘यात्राको विवरण मात्रै प्रस्तुत गर्नु यात्रा साहित्य होइन’ भन्ने उनको मत पनि रहेको छ । त्यसैले उनी आफ्नो यो नियात्रा सङ्ग्रहमा त्यस्तो अनावश्यक विवरणात्मक वर्णन शैलीबाट टाढा रहेको देखिन्छ । प्राप्त ज्ञान एवं विवरणहरूलाई फ्यूजन गरेर नयाँ, आकर्षक एवं खिरिलो शैलीमा प्रस्तुत गर्नुले लेखकको प्रतिभा र नियात्रा लेखनको बान्कीलाई उजागर गरेको छ ।
लेखकले युरोपको भ्रमणका क्रममा भेटिएका कतिपय सन्दर्भहरूलाई नेपाली मन मुटुको उदाहरणका रुपमा समेत प्रस्तुत एवं प्रयोग गर्न खोजेको पाइन्छ । युरोप र नेपालमा भएका विभिन्न मिल्दाजुल्दा सन्दर्भहरू ः कुमारी परम्परा, गाइजात्रा परम्परा, राणाकालीन क्रुर दमन र सर्बसाधारणको हत्या, अमरसिंहको जस्तो युद्धकौशलमा फष्टाएको नेपोलियनको युद्धको पराजय र अमरसिंह थापाको मृत्युबरणको स्थिति, नेपालको धरहरा र पिसा टावरको वैज्ञानिक सत्य, नेपाली वैज्ञानिक गेहेन्द्र सम्शेर र ग्यालिलियो आदिको तुलना जस्ता सन्दर्भहरूलाई लेखकले युरोपको घटनासँग नेपालको सन्दर्भलाई जोड्न खोजेको पाइन्छ । धार्मिक सहिष्णुताको नेपाली मूल विषयलाई लेखकले युरोपमा गरिने पूजाआजा अनि सांस्कृतिक परम्परामा नेपाली सन्दर्भलाई प्रतिबिम्बित गर्न समेत खोजेका छन् ।
धार्मिक र परम्परागत हिसाबले पूर्व र पश्चिम आधुनिक समाजमा फरक भए पनि प्राचीन कालको पूर्वको ज्ञान विज्ञान, आविष्कार, धर्मपरम्परा र संस्कारमा रहेको मान्यताको प्रभाव पश्चिममा थियो भन्ने यथेष्ट प्रमाण, घटना र सन्दर्भहरूलाई लेखकले समावेश गरेका छन् । पूर्वीय आधुनिक समाज पश्चिमको नवीन आविष्कारको प्रभावमा अगाडि बढिरहेको भए पनि प्राचीन पश्चिमी समाजको जग पूर्वीय हिन्दु परम्पराको धरातलमा अडेका उदाहरणबाट भेट्न सकिन्थ्यो । प्राचीन ग्रीक तथा रोमन सभ्यतामा पाइएका कुमारी प्रथा, हिन्दुहरूले जस्तै मान्ने शनि देवता, हिन्दुहरूले गर्ने नागको पुजाजस्तै रोमनहरूले गर्ने सर्पको पुजाजस्ता अनेक सन्दर्भहरूलाई लेखकले रोचक शैलीमा प्रस्तुत गरेको पाइन्छ ।
नामिक शब्दका रुपमा प्रयोग भएका अधिकांस शब्दहरू अंग्रेजी तथा ग्रीसेली रोमन शब्दहरूलाई प्रयोग गरी लेखिएको भाया साक्रा पनि रोमन शब्दलाई टिपेर लेखकले आफ्नो नियात्रा सङ्ग्रहको नामाकरण गरेको पाइन्छ । क्याल्कुलस, भल्कन, ग्राभिटी, कोलोसियम, भेनस, रोमा, भिष्टा, टाइफन एवं पान्थियन जस्ता शब्दहरूको प्रचुर मात्रामा प्रयोग गरिएको छ । छोटाछोटा वाक्यहरूको अत्याधिक प्रयोग गरिएको अनि पदावली तहका कतिपय सन्दर्भहरूलाई नेपाली पदावलीका रुपमा भन्दा अंग्रेजी पदावलीको रुपमा प्रयोग गरेको पाइन्छ । डेथ ट्रयाप, स्याटलाइट नाभिगेटर, पिसा टावर, वाइन रुम, डाइनिंग रुम जस्ता यथेष्ट पदावलीको प्रयोग गरिएको समेत पाइन्छ । भाषाको कोमलताले अभिव्यक्ति क्षमतालाई प्रखर बनाएको देखिन्छ । अस्पष्ट हुने सान्दर्भिक घटनाहरूको प्रयोग गरेको पाइँदैन । तसर्थ रुचीकर एवं गत्यात्मक भाषाको प्रयोगले लेखकले नियात्रा सिर्जनालाई नयाँ मोडबाट आफूलाई प्रस्तुत गरेको देखिन्छ ।

११. ‘भाया साक्रा’ नियात्रा साहित्यको विशिष्टता
नेपाली साहित्यमा पूर्ण प्रकाश नेपाल ‘यात्री’को राजा गगनिराजको यात्रा नामक लिखित टिपोट नेपाली साहित्यको प्राचीन तथा नेपाली भाषाको मध्यकालको समयमा रहेको थियो । त्यतिवेलाको समयमा वाइसे चौविसे राज्यको रुपमा रहेको र हालको नेपालको पश्चिम क्षेत्रमा पर्ने स्थानमा रहेका गगनिराज राजाको यात्रा टिपोटको रुप उल्लेख भएकाले यसले नेपाली यात्रा साहित्यको आफैलाई कोशेढुङ्गा सावित गर्दछ । त्यसैले यसलाई देशीय नियात्रा साहित्यको विवरणको रुपमा लिन सकिन्छ । जंगबहादुरको बेलायत यात्रा, यात्रा बेलायतको भए पनि कसैले जंगबहादुर आफै सत्तामा रहेका बखत टिपिदिएका केही सान्दर्भिक विवरणहरूलाई सामान्य निबन्धात्मक शैलीमा प्रस्तुत भएको छ । यसमा नेपाली र विदेशी पात्रहरूको घटित केही सन्दर्भपरक विवरणहरूलाई प्रस्तुत गरिएको छ । नेपाली साहित्यमा नियात्राको लेखनको विषय देशीय, मिश्रित एवं वैदेशिक यात्राका घटनाहरूलाई प्रस्तुत गरी लेखिएका विशिष्टताहरू यसप्रकार पाउन सकिन्छ :

११.१ देशीय सन्दर्भ र नियात्रा लेखन
नेपाली नियात्रा साहित्यमा ‘मुक्तिनाथ यात्रा’, ‘सेतीको नालीबेली’, ‘नियात्राको नौलो सुसेली’जस्तो पूर्णप्रकाश नेपाल ‘यात्री’ का नियात्रा सङ्ग्रहहरूले नियात्रा निबन्ध साहित्यको कलालाई ओजिलो बनाएको पाइन्छ । त्यस्तै रमेश विकलको गोसाइँकुण्डको यात्रा वृत्तान्तको रुपमा रहेको ‘सात सूर्य एक फन्को’ले हिमालयको काखमा रहेको तीर्थ यात्राको घटनामा आधारित रहेर यात्रा निबन्धलाई प्रस्तुत गरेको छ । मेघराज मञ्जुल नेपालमा पञ्चायती सत्ताको बर्बर समय भएको बेलामा भूमिगत राजनीति उठाउन सांस्कृतिक काम गर्दा भएका घटनाहरू अनि उठबस भएको काठमाडौंको पूर्वी भागमा पर्ने काँठ क्षेत्रका कतिपय विषयहरूलाई आधार बनाइ ‘सम्झनाका पाइलाहरू’ ‘जाने होइन दाइ आलापोट’ जस्ता यात्रा निबन्धहरू अगाडि आएका छन् । तुलसीप्रसाद भट्टराईको ‘फट्के तर्दातर्दै’ ले पनि देशीय सन्दर्भलाई समातेर लेखेको पाइन्छ । पोषरमण चापागाईको ‘मौन चुल्ठो’ले पनि देशीय विषयगत घटनालाई आत्मसात गरेको पाइन्छ ।
११.२ देशीय तथा वैदेशिक सन्दर्भ र नियात्रा लेखन
नियात्रा साहित्य लेखनको क्रममा देशीय तथा वैदेशिक विषय विवरणहरूलाई आत्मसात् गर्दै पूर्णप्रकाश नेपाल ‘यात्री’ले लेखेको नियात्रा सङ्ग्रह ‘काशीपुरी परिदर्शन’ हो भने अनिल पौडेलको ‘काठमाडौंदेखि सिक्किमसम्म’, घनश्याम राजकर्णिकारको ‘बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म’, पोषरमण चापागाईको ‘गोसाईंकुण्डदेखि चेन्नेईसम्म’का नियात्रा निबन्धहरूले देशीय तथा वैदेशिक विषयवस्तुलाई पक्रेको देखिन्छ ।
११.३ वैदेशिक सन्दर्भ र नियात्रा लेखन
वैेदेशिक विषयलाई आफ्नो यात्राको विषय बनाई नियात्रा लेख्ने कार्यमा ‘तारानाथ शर्माको बेलायततिर बरालिंदा’, घनश्याम राजकर्णिकारको ‘देश प्रदेशको भ्रमणः केही संस्मरण’, विजय चालिसेको ‘अप्रिलको बेलायत’, पोषरमण चापागाईंको ‘पश्चिम अष्टेलियाको यात्रासंस्मरण सेरोफेरो पर्थको’, श्रीओम श्रेष्ठ रोदनको ‘नबिर्सने दिनहरू’, कृष्ण बगार्इंको ‘युरेसियाको स्पर्श’ एवं ‘भाया साक्रा’ लगायतका थुपै नियात्रा सङ्ग्रहहरू पाठकहरूका सामु उपलब्ध भइसकेका छन् । देशीय नियात्राहरू देशका विभिन्न स्थानको भ्रमणका बेलामा भएका बखत लेखिएका र देशको भौगोलिकता एवं धार्मिक स्थलमा प्राप्त भएका अनुभवहरूलाई उल्लेख गरिएको पाइन्छन् भने वैदेशिक विषयलाई विशेषत बेलायत, अष्ट्रेलिया, भारत, इटाली, बेल्जियम लगायतका विदेश भ्रमणका क्रममा प्राप्त विषयहरूलाई समेटेर यात्रा निबन्ध लेखिएको पाइन्छ ।
समग्रमा नियात्रा निबन्धमा हुनुपर्ने यात्राका क्रमका अनुभूति, तथ्यपूर्ण घटनाक्रमका विवरणहरू, ऐतिहासिक सत्यका विवरणहरू एवं प्रभावकारी प्रस्तुती शैली नै यात्रा साहित्यको मूल मर्म हो । नियात्रा साहित्यको सबैभन्दा पछिल्लो चम्किलो ताराको रुपमा नियात्राकार कृष्ण बजगाईं रहेको प्रष्ट देखिन्छ । नियात्रा कृतिका रुपमा युरेसियाको स्पर्श र भाया साक्रा जस्तो उच्च साहित्यिक गुणले युक्त नियात्रा सङ्ग्रह नेपाली साहित्यमा दिएर यात्रा साहित्यलाई शिखरमा पुर्याइदिएको अनुभव हुन्छ ।

१२. निष्कर्ष
‘भाया साक्रा’लाई जसरी रोमन परम्परामा पवित्र मार्गका रुपमा हेर्ने र प्रयोग गर्ने काम त्यहाँको समाजले गरेको छ लेखकले पनि आफ्नो जीवनको लक्ष्य नियात्रा लेखनको पवित्र मार्गलाई भाया साक्राको प्रतिबिम्बको रुपमा प्रयोग गर्न खोजेको पाइन्छ । लेखकमा पलाएको पवित्र मार्गको हिंडाइ अत्यन्त दौडादौडमा केही टिप्न, केही सिक्न र समाजलाई केही दिन अनि आतुर भएर विषयवस्तुहरूलाई खात लगाउन, विज्ञान प्रविधिको सहारामा भौंतारिहेको देखिन्छ । उक्त सङ्ग्रहको पठनीय कुतुहलता सयौंगुना रफ्तारको जिज्ञासामा हुर्रिएको पाठकले पढ्दै जाँदा आफैलाई अनुभव गर्दछ । विषयवस्तुको यथेष्ट संयोजन गरिएकोले सङ्ग्रहका वर्णनमा लहरिएका विषयवस्तु शब्दचित्रमार्फत् ऐनाका दृश्यझैं पाठकका मष्तिस्कमा छर्लङ्ग सल्बलाएर अगाडि आउँछन्, लेखकीय क्षमताको मूल्यवान उपलब्धी नै यही हो ‘भाया साक्रा’मा ।
अन्त्यमा कृति पढ्दा भाया साक्राका ऐतिहासिक मूल्य एवं मान्यतामा लहरिएका विषय विशेषता र महत्व जस्तै लेखकमा पनि आफ्नो निरन्तर नियात्रा लेखनको यात्रामा सफलता मिलोस र सबैले पछ्याउने विषय बनोस भन्ने शुभकामना समेत छ ।

सन्दर्भसूची:
दुवाल, मोहन(२०७४) ‘अन्तर्वार्ता’ समाचारपत्र, काठमाडौं : कामना प्रकाशन प्रालि
प्रभात, विष्ण(सं) (२०७०) नेपाली साहित्यकार तथा कलाकार कोश, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।
बजगार्इं, कृष्ण( २०७४) भायासाक्रा, काठमाडौं : सांग्रलिा पुस्तक प्रालि ।
यात्री पूर्णप्रकाश नेपाल .(२०३९) राजा गगनिराजको यात्रा, काठमाडौं: नेशनल रिसर्च एशोसिएट्स ।
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा(सं) (२०४५) नेपाली साहित्यको संक्षिप्त इतिहास, ललितपुर: साझा प्रकाशन
क्षेत्री, रामकुमार पण्डित(सं)(२०७४) ‘पवित्र मार्गमा युरोपको भ्रमण: भाया साक्रा’, सुलेख, काठमाडौं :सुरभि साहित्य प्रतिष्ठान

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2076

लेखकका अन्य रचनाहरु