भाया साक्रासँग यात्रा गर्दा

- प्रदीप सापकोटा

बेलायतको व्यस्त दैनिकीमा पनि कृष्ण बजगाईंको क्रियाशील उर्जा तारिफ गर्न लायकको छ । बेलायतमा बसेर नेपाली साहित्यको श्रीवृद्धिको लागि निरन्तर क्रियाशील बजगार्इं बहुआयामिक स्रष्टा हुन् । बजगाईँका युरोशियाको स्पर्श (नियात्रासंग्रह), कमरेड भाउजु (कथासंग्रह), सष्टा र डिजिटल वार्ता (अन्तवार्ता संग्रह) यन्त्रवत (लघुकथा संग्रह), रोडम्याप (लघुकथासंग्रह), कवच (लघुकथासंग्रह), हिउँको तन्ना (हाइकुसंग्रह) प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक तथा पत्रपत्रिकाको समेत सम्पादन गरिसकेका बजगाईँ लोकप्रिय साहित्यिक वेब पत्रिका समकालीन साहित्य डट कमका सम्पादक तथा प्रकाशक पनि हुन् ।
बजागाईँको २०७४ सालको अन्तिमतिर पछिल्लो कृतिका रुपमा दोस्रो नियात्रा सङ्ग्रहका रुपमा ‘भाया साक्रा’ प्रकाशित भएको छ । यस सङ्ग्रहमा इटली, वेल्जियम र बेलायतका विभिन्न चर्चित स्थानहरुका यात्रानुभूतिका साथमा उक्त स्थानहरुसँग सम्बन्धित ज्ञानविज्ञान, साहित्य, कला, दर्शन, इतिहास आदि फरक फरक पक्षहरुको चर्चा गरिएका २१ वटा नियात्रा सङ्गृहित छन् ।
नियात्रा भ्रमणको विचार र अनुभूतिपूर्ण स्मरण नै हो । नियात्राकारले पनि आफ्ना यात्रानुभूतिलाई अनुभूतिमा विचार र तथ्यको मिश्रण गर्दै नियात्राहरु पस्केका छन् । यात्राको दौरानमा देखेभोगेका विविध घट्ना, प्रसंग, अनुभव र दृश्य परिदृश्यहरु उनका नियात्राहरुमा समाविष्ट भएका हुन्छन् । भाया साक्रा सुन्दै पनि अनौठो र नौलो लाग्ने शीर्षक राखिदिएका छन् बजगाईँले । प्राचीन रोमको तीर्थयात्राको मुख्य सडकलाई भाया साक्रा भनिने र यो अत्यन्तै पवित्र वाटो मानिने रहेछ । सङ्ग्रहका यात्रानिबन्धको विषय प्रवृत्तिलाई हेर्दा यो शीर्षकले यस सङ्ग्रहको विशेषतालाई समेट्ने सामथ्र्य राखेको छ ।
नियात्राकार बजगाईँ महान् वैज्ञानिकद्वय आइज्याक न्यूटन र चाल्र्स डार्बिन घरहरुमा पुग्दा अत्यन्तै गर्वानुभूति गर्दछन् । करिब चार सय वर्ष अघि बनेको न्यूटनको दुईतले घर जस्ताको तस्तै देखिन्छ । उनका शयन कक्ष, बैठक कक्ष, भान्सा, अध्ययन कक्षको अवलोकन गरी उनी जन्मेको कोठा ओछ्यान स्पर्श गर्न पुग्छन् र शिशु न्यूटनलाई नै स्पर्श गरेको अनुभुति संगाल्छन् । त्यस्तै चाल्र्स डार्बिनको घरमा उनले प्रयोग गरेका सामानहरुको उचित संरक्षण देखेर मख्ख पर्छन् । डार्विनको वगैंचामा थुप्रै देश र विभिन्न हावापानीमा हुर्कन सक्ने विभिन्न प्रजातिका वनस्पतिहरु हुर्काइएको देख्दा मानिसको सामथ्र्यमाथि उनलाई गर्व गर्न मनलाग्छ । त्यहाँ सिस्नुको वाइन विक्रीको लागि राखिएको देखेर नेपालमा जताततै उत्तिकै खेर गएको सिस्नु सम्झन्छन् । नियात्राकार न्यूटनलाई गुरुत्वाकर्षणको नियम पत्ता लगाउन उत्प्रेरित गर्ने स्याउको रुखबाट अमिलो स्याउ अरुका नजर बचाएर टिप्दैनन मात्रै सँगसँगै लुम्बिनीको वोधिवृक्षको संरक्षण नगरिएको सम्झेर दुःखी हुन्छन् । त्यस्तै डार्बिनको घरमा आफ्ना वैज्ञानिक गेहेन्द्र शमसेरलाई सबैले बिर्सिएको दुखेसो पोखछन् ।
हिँउदको एकदिन उनी महान् साहित्यकार, शिक्षाप्रेमी र मानवताका पुजारी वर्नाड शाको घरमा पुग्छन् । त्यहाँ अवलोकनकर्ताहरुले वर्नाड शाले प्रयोग गरेका सामाग्रीहरु स्पर्श गरिरहेका छन् मानौँ कि वर्नाड शा त्यहीँ छन् । शाको घर र बगैंचा देखेर नेपाली साहित्यकारहरुको जन्मथलोको हविगतसँग तुलना गर्दै उदास पनि हुन्छन् । संसारभर चर्चित स्पिकर्स कर्नर पुग्दा उनलाई हाम्रो टुँडिखेलको याद आउँछ । ्वाक् स्वतन्त्रताको प्रतीक यो ठाउँमा फरक धर्म, संस्कृति, वाद विचार, आस्था सबै अटेको भेट्छन् बजगाईँ । लेखकभन्दा उसले सिर्जना गरेको काल्पनिक चरित्र बढी चर्चित भएको देखेर अलमलमा पर्छन् विश्व चर्चित सर्लक होम्स म्युजियमा पुग्दा । त्यहाँ लेखकको कुनै सालिकसम्म राखिएको छैन तर उनको काल्पनिक पात्रको जीवन्त सालिक हेर्न र सालिकको नजिकमा वसेर फोटो शेसन गर्नेहरुको भिड देखेर आश्चर्यमा पर्छन् ।
नियात्राकार स्टोनहेन्ज ढुंगाको अवलोकन मात्रै गर्दैनन् त्यसका रहस्यहरु खोतल्न पनि रुचाउँछन् । स्टोनहेन्ज बडो रहस्यको विषय छ । समथर मलिलो फाँटमा जहाँ वरपर कुनै पहाड छैन तर भिमकाय पिलर जस्तो लाग्ने ढुंगा कसले कहाँवाट ल्यायो होला ? सबैलाई हुने यो खुल्दुलीका उनमा पनि छ ।
विश्वविख्यात बालसाहित्यका लेखक रोआल्ड डाहलको निवासमा पनि पुग्छन् उनी । त्यहाँ जाँदा प्राकृतिक सौन्दर्यमा झुम्छन् । आफ्नो मूक अभिनयद्वारा सारा दुनियाँ हसाउने चार्ली च्याप्लिन र उनका वारेमा यथेष्ट जानकारी दिएका छन् बजगाईंले ‘चार्ली च्याप्लिनको निलो प्लेट’ नियात्रामा । उनी बेलायतमा चर्चित व्यक्तित्वहरुसँग सम्बन्धित घरहरुमा निलो प्लेट टाँसी जानकारी दिएको देखेर त्यसको अनुकरण हामीले पनि गर्दा राम्रो हुने कुरा सुझाउँछन् ।
बजगाईँ उन्नाइसौ शताब्दीका महान लेखक चाल्र्स डिकेन्सको म्यूजियममा पुगेका छन् । जाँदा उनको स्टोरी रिडिंग शैलीबाट प्रभावित हुन्छन् नियात्राकार । यी महान् लेखकको तस्विर दश पाउण्डको नोटमा छापिएको देखेर नियात्राकार नेपालमा पनि यस्तो होला कि भनेर मनमा कुरा खेलाउँछन् ।
फुर्सदमा बेलायतका हिन्दु मन्दिरहरुमा दर्शनको लागि जान्छन् उनी । पशुबली नदिइने, गोरा पुजारी, श्रव्यदृश्य स्क्रीनमा पूजाको नजर गर्न पाइने, हिन्दु मन्दिरै भएपनि साँझपख क्रिष्चियन धर्मको प्रार्थना गरिएको दुई धर्मवीचको अनौठो फ्यूजन देखेर नियात्राकार चकित हुन्छन् । अंग्रेजी उपन्यासकार जेन अष्टिनको निवासमा घुम्दा पनि उनी साहित्यकारप्रतिको बेलायती र नेपाली परिवेशको दृष्टिकोणको तुलना गर्न पुगेका छन् बजगाइँले । बेलायतमा गरिने साहित्यकारहरुको सम्मान र नेपालमा हुने उपेक्षा झनै नेपाली महिला साहित्यकारहरुको अवस्था सम्झँदा दुखी बन्छन् नियात्राकार ।
सम्राट नेपोलियन पराजित भएको वाटरलुमा पुगेर उनी त्यहाँ नेपोलियन पराजित नभएका भए सायद अहिलेको विश्वको राजनीतिक भूगोल नै अर्काे हुने थियो कि भन्ने अनुमान लगाउँदछन् । त्यहाँ राखिएको नेपोलियनको सालिक देख्दा पनि उनी हाम्रो परिवेश सम्झेर दुखी हुन्छन् । हामी त हाम्रै पूर्वजको पनि सालिक ढाल्न उद्यत छौं । ‘क्लिसों एण्ड एगुनी’ भन्ने रोमान्टिक उपन्यास लेखेका नेपोलियन सम्राट, कुशल सेनापतिका साथमा एक लेखक पनि रहेछन् भन्ने कुराको जानकारी लेखकले दिन भ्याएका छन् । फ्लान्दर्सको मैदान जहाँ मेनिन गेटमा पहिलो विश्वयुद्धमा मारिने ५४ हजार सैनिकहरुको नाम कुँदिएको छ र ती मध्ये अधिकांश गोर्खा सैनिकहरुको दर्जासहित अग्रपंक्तिमा नाम देखेर नियात्राकार भावविह्रल हुन पुग्छन् । तर संसार नै ध्वस्त बनाउने यस्ता युद्धहरुको औचित्य नभएको उनको ठहर नियात्रामा पढ्न पाइन्छ ।
व्रसेल्सको आकासमा देखिएका नौ वटा डल्लालाई नौ ग्रहको उपमा दिन्छन् गर्छन् उनी । विश्वयुद्धको विभीषिका बिर्साउने र विज्ञान,प्रविधिलाई चिनाउने उद्देश्यले बनाइएको अटोमियम शैक्षिक अवलोकन स्थलको रुपमा विकसित गरिएको छ । यहाँ पुग्दा नियात्राकार धेरै रोमाञ्चित हुन्छन् र आकाशका सौर्य मण्डलका नवग्रहको भ्रमण गरेको मिठो अनुभूति व्यक्त गर्छन् ।
कृष्ण बजगाईँको प्रवासन बेल्जियमबाट सुरु भएको हो । जीवनमा सफलताको खुड्किलो चढाउने यो देशप्रति उनी नतमस्तक देखिन्छन् उनी । आफ्नो एउटा नियात्रामा उनले बेल्जियमको प्रतिको आफ्नो मायालाई पोखेका छन् । बेलायत बसाइ सरिसकेपछि कुनै कार्यक्रममा बेल्जियम जाँदा उनी अत्यन्तै भावुक भएको प्रसङ्ग चरिचुच्चे रेलमा सविस्तार गरेका छन् ।
यस सङ्ग्रहको अर्को महत्वपूर्ण पाटो हो– प्राचीन र ऐतिहासिक कलाको विशाल सङ्ग्राहलयजस्तै मानिने इटलीको रोम सहरका बारेमा लेखिएका नियात्राहरु । संसारको सात आश्चर्यमध्यको एक पिसा टावरको निर्माण, निर्माता ,अवस्थिति बारे जानकारी दिएका छन् वजगाईंले । यहाँ पुग्दा भूकम्पले अस्तित्व नै नामेट बनाएको हाम्रो धरहरालाई सम्झेर उनी विह्वल बन्न पुग्छन् । करिब दुई हजार वर्ष पहिले निर्माण भएको रोम सहरको डेथ ट्रयापमा फनफनी घुम्छन् । एम्पिथियटर कोलोसियमले अहिलेका मै हुँ भन्ने इन्जिनियरलाई पनि चूनौति दिनसक्छ भन्ने ठोकुवा गर्छन् उनी । यसको क्षमता पचास हजार दर्शक अटाउन सक्ने छ । कलात्मक पनि उत्तिक्कै छ भने वनावट पनि व्यवस्थित र प्राविधिक रुपले वलियो छ । तर यतिहुँदाहुँदै पनि मनोरञ्जनका लागि दासहरुलाई लडाइने यहाँको रक्तरंजीत इतिहास सम्झिएर उनीभित्रको मान्छे रन्थनिन पुगेको छ यहाँ ।
धार्मिक एवं ऐतिहासिक दृष्टिले वाग्मती नदीको किनारमा अवस्थित काठमाडौं र टाइवर नदीको किनारमा अवस्थित भ्याटिकन सिटीको उस्तै महत्व देख्छन् नियात्राकार । करिब आठ सयको हाराहारी मात्रै जनसंख्या भएको धर्म विधानमा आधारित कानून भएको यहाँको सेन्ट पिटर्स स्क्वायर अत्यन्तै सुन्दर छ । बजगाईँको सूक्ष्म दृष्टिले सिटीको मूख्य चोक शिवलिंग आकारमा देख्छ । नियात्राकारको आफ्नो सभ्यताप्रतिको गर्व र प्रेम यहाँ झल्किन पुग्छ । नेपालको कुमारी पूजा र रोमको कुमारी प्रथामा सामञ्जस्यता खोजेर यो बजगाईँले यो भावनालाई अझ बलियो बनाएका छन् । प्राचीन सभ्यताको गौरवलाई अहिलेसम्म बोकिरहेको रोम शहरलाई कतिपय कोणबाट हिन्दू सभ्यता र संस्कृतिका कतिपय परम्परासित तुलना गरी हेर्न बजगाईँले रुचाएको देखिन्छ । नियात्राकार प्राचीन रोमन सभ्यतालाई हिन्दु धर्मसँग तुलना गर्दै आफ्नो सभ्यतालाई लिएर गर्व गर्दछन् ।
कृष्ण बजगाईँको भावनामा देशप्रतिको प्रेम यस्तो घुलिएको छ कि झट्ट सुन्दा ‘नेपाल’ जस्तै सुनिने इटलीको नेपल्समा कतै नेपाली भेटिन्छन् भनेर व्यर्थमा भावुक भएर सोधीखोजी समेत गर्न पुग्छन् । तर त्यहाँ उनी नेपालीको सट्टामा यूरोपको सबैभन्दा सक्रिय र खतरनाक मानिएको माउन्ट भेसुभियस पो भेट्छन् ।
रोमन सम्राट निरोले पूर्निनर्माण गरेको पवित्र बाटो अर्थात् भाया साक्रा जहाँ लाखांै रोमन तीर्थयात्रीहरुले आफ्नो पाइला राखेका छन् । एउटा लेखक र मानवताप्रतिको प्रतिबद्ध असल मान्छेका रुपमा नियात्राकार कृष्ण बजगाइँले पनि त्यही बाटो हिँडेका छन् । तर त्यो इतिहासका धरोहरहरुको सम्मान र मानवीयताको उद्बोधन गर्ने ध्येयले बढी प्रेरित छ । यसैको परिणामस्वरुप नेपाली नियात्रा साहित्यको फाँटमा एउटा सबल कृतिको रुपमा आएको छ ‘भाया साक्रा’ नियात्रा सङ्ग्रह । नियात्राकै भनाइमा बेलायतमा सित्तै हेर्न पाइने कुरा ‘आफूमाथिको आकाश मात्र हो’ । अनि यहाँको यान्त्रिक जीवनको कसिलो भोगाइ भोगिरहेका पनि छन् । यति हुँदा पनि नयाँ स्थान हेर्न हुटहुटी उनमा छ । यही पुरा गर्न यात्रामा निस्कन्छन् । तर आफूमात्रै घुम्दैनन्, घुमिसकेर पाठकका निम्ति उपयोगी उपहारहरु पनि लिएर आउँछन् । यथार्थमा एउटा असल नियात्रा लेखकको दायित्व पनि हो त्यो ।
बजगाईँका नियात्राहरु सूचनात्मक भइकन पनि कलात्मक छन् । वस्तुपरक र आत्मपरक दुवै शैलीको समुचित मिश्रण उनको नियात्रा लेखनको शैलीगत विशेषता हुन् । यसले गर्दा उनका यात्राहरु अत्यन्तै जीवन्त लाग्छन् । कृति पढ्दा पाठक आफैं पुगेको अनुभूति गर्ने मात्रै नभई त्यसको ऐतिहासिकता र अन्य तथ्यगत प्रसङ्गहरुको समेत जानकारी हासिल गर्न पुग्दछ । उनी पाठकलाई आफ्नो लेखकीय अनुभव र अनुभूतिमात्रै एकोहोरो रुपमा वर्णन नगरी जानकारी र सँगसँगै हाम्रो सापेक्षतामा त्यसप्रति धारणा निर्माण गर्न पनि पाठकलाई सु¥याउँछन् । यो उनको लेखनगत निजत्व पनि हो । यसरी हेर्दा यो कृति एउटा सबल नियात्रा कृतिमा हुनुपर्ने सबै प्रकारका आस्वादहरुले भरिपूर्ण छ ।
गतिशीलता, स्थानीयता, तथ्यात्मकता, निजात्मकता, आत्मीयता, अनुभूति, रसात्मकता र स्वच्छन्दता जस्ता नियात्रा साहित्यका मूलभूत तत्वहरु भाया साक्रामा कतै न कतै घुलिएर आएका छन् । उनको भाषा छरितो र मिठासपूर्ण छ । युरोपका तीन देशका ऐतिहासिक र आधुनिक स्थानहरु र तीसँग सम्बन्धित व्यक्ति, विषय, प्रसङ्गलाई एउटा किताबमा उनले सफलतापूर्वक संयोजन गरेका छन् । यसले गर्दा यो कृति नेपाली नियात्रा साहित्यको गहकिलो र पढ्नैपर्ने एउटा कृतिका रुपमा आफूलाई उभ्याउन सफल भएको छ । युरोपको कला, साहित्य, विज्ञान, संस्कृति एवम् इतिहासमा रुचि हुनेहरुका निम्ति त यो कृति अझ पढ्नैपर्ने कृति बनेको छ भन्न सकिन्छ ।
कृति: भाया साक्रा
विधा: नियात्रा
लेखक: कृष्ण बजगार्इं
प्रकाशक: साङ्ग्रिला पुस्तक, काठमाण्डौं
मुल्य: २९५।–

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2076

लेखकका अन्य रचनाहरु