दाइबुचु हात पर्दा

- चूडा मणि रेग्मी

हिजै पनि भनें, मेरा हातमा ३ महत्व पूर्ण पुस्तक पत्रिका हात परे, ती यी हुन् भनेर तिनलाई पातल्याउन मन लागेन । पोखराका प्रसिद्ध फोटोग्राफर साहित्यकार विश्व शाक्यको २८ औं पुस्तक “पोखराः हिजो र आज” वारे निक्कै मडारिए पनि केही लेखें, अहिले सखारैदेखि त्यसै गरी मन मडारिएर नै एउटा कम्प्युटर खुल्न मानेन र अर्को कम्प्युटरमा लेख्न वसेको छु । यो स्तम्भ समालोचनाको होइन, मनमा उठेका भावना विचार पोख्ने हो । वास्तवमा मैले कम्प्युटर छुँदै गर्दा लन्दनमा वसेर मलाई यसो गर्नु उसो गर्नु भनेर केही सिकाउने मान्छे पनि कृष्ण वजगाईं । मैले विस्तारै जान्दा झन् झन् वुझ्यो झन् कठिन भने झैं पनि वजगाईं ज्यु हुनु हुँदै यो पुस्तकमा आइपुग्दा एउटै निवन्ध म अनुसार सारै जाँगरले उत्साहले प्रेमले स्नेहले पढें भन्ने वोध भएको छ । त्यसै पनि म धरान र वाना, वाना र धरान गरेका वेला (२०२० वर पर) हाम्रा यी प्रतिभा बी ए कृष्ण, आनन्द देव भट्ट आदिको जाज्वल्यमान साहित्यिक गतिविधि भित्र केही सिक्तै रहेको मेरो अनुमान छ । धरान मलाई एउटा उज्यालो ज्योति लाग्छ । त्यहाँका यहाँ नै प्रतिभा कृष्ण वजगाईं । अहिले सम्म नेपाल वाहिरिएर नै ११ पुस्तकका सर्जक लेखक भइ सक्नु भएको छ । मेरो हात परेको यो पुस्तक ‘दाइवुचु’ । जापानी भाषामा दाइवुचुको अर्थ हुन्छ ठुलो वुद्धको मूर्ति । (पुस्तकमै लेखिए अनुसार) नियात्रा विषयको तेस्रो पुस्तक । मैले यो भन्दा अघिका दुवै नियात्राका पुस्तक सुँघेको छु । पहिलो ‘युरेसियाको स्पर्श’ दोस्रो ‘भाया साक्रा’ र यो तेस्रो ‘दाइवुचु’ । मैले सुँघेको भनेको दुवै पुस्तकका २÷४ निवन्ध स्वाद मानेर पढेको छु । त्यसो त उहाँका केही कथा पनि पढेको छु । केही मात्रै लेखि पनि टोपलेको छु । म यहाँ छ्याङ्ग भन्छु, यता निकै वर्षदेखि म प्रतिवद्ध लेखक रहिन । मनमोजी लेखक चाहिं हुँ कि ? मलाई ‘उँभो’ थाहा छैन र उँधो चाहिं थाहा छ, (विगार्ने काम कुरा भरिसक्के गर्न मन गर्दिन । तव पनि म कृष्ण वजगाईलाई नियालि रहने क्रममा नियात्राकारमा जब्बर मानेको निवन्धकार यो पटक कविमा पनि पदोन्नत हुनु भयो । हाँसो उठ्दो कुरा (मैले यो पुस्तकको एउटा मात्र निवन्ध पढेको छु (१३ निवन्ध मध्ये) जापानका केराघरे माचुओ । यो निवन्ध पहिले पढ्ने प्रेरणा नियात्राकारकै लेखक्यौली (आत्मकथन) पढेर पाएको हो । त्यसमा हाइकु वारे, वासो वारे कुरा भएको जानकारी भयो ।
म चुरीफुरी लगाए झैं कस्सिएको कारण हो, म पनि यात्रा सम्स्मरण अथवा धेरै पुस्तक निवन्धका भएको निवन्धकार भएकाले हो । म निवन्धकार भएकाले नै सायद यो एउटै निवन्धले पानी पानी भएको अनुभव गर्दै छु, प्रभाव परेर, प्रभाववादी भएर । वाक्य त्यस्तै, शव्द त्यस्तै, वर्णन र व्याख्या त्यस्तै ! त्यस्तै भनेको मन छुने । भावना त्यस्तै ! भावुकता उस्तै ! पातो ३८–५३ भित्र कृष्ण वजगाईं हाम्रो धरानको प्रतिभा पुरै पोखिनु भएको छ । हुनत ‘गद्य पद्यमय लेखन चम्पू’ भन्छन् हाम्रा पुराना । निवन्ध भित्रका कविता निवन्धका अङ्ग हुन् मेरा चाहिं विचारमा । वासो र हाइकु वारे पनि भनिएको समालोचना होइन, निवन्धमा समालोचना पनि मिसाएको । टुक्का, छोटा वाक्य । आलङुकारिकता, नामधातु प्रयोग गरेर समेत वढेका झर्रा शव्दको प्रयोग, नेपाल प्रेम, वासो प्रति सुहाउँदो अतिभक्ति जस्ता कति संरचना तत्व मिसाएर यो निवन्धको रचना भएको छ । प्रवन्ध होइन खिपेको, मुक्त छ यो । र नदी सडक म्युजियम आदिको रम्य वर्णन भएको, हरियाली नभएको भव्य सहर, कविप्रेमी जापानको सहर भित्रको कुरा । हाइकु कविहरुले यात्रा गरेर हाइकुका महान् सर्जक वासोको म्युजियम घुमेका कुराले यो निवन्ध नेपालीकै साहित्यिक निवन्ध मध्येमा एउटा दरिने हैसियत राखेको अड्कल गर्दै छु ।
केही उदाहरण
१ थालनीमै एक हाइकु
दुखको नदी
विकासको सहर
रुग्ण प्रकृति
२ वाक्य
ठुलो वाक्य :–
(क) प्रकृतिमा रमाउने र प्रकृतिका वारेमा हाइकु लेख्ने कवि वासो व्यस्त सहरको एउटा कुनामा वसेर प्रकृतिमाथिको दोहनलाई चुपचाप हेरिरहेका थिए ।
(ख) विस्तारै हाइकु पथवाट व्यस्त सडकको फुटपाथमा साकुरा फूल जस्तै हलुका पाइला राखें
आलङ्कारिकता :–
मझौलो वाक्य –
अघिको फिका मन वल्ल वैँसालु भयो ।
छोटा वाक्य–
धेरथोर सवैले हाइकु लेख्यौं ।
म हौसिएँ । ओहो ! वासोको भ्यागुत्ता !
माछा शान्त ! कवि शान्त ! नदी शान्त !
झर्रा शव्द ः– चिल्ला, चस्स, चालचुल, अलमल्ल, लमकझमक, झझल्को, ढुङ्गेनी, हल्लीखल्ली, झल्याँस्स, फराकिलो, अलमल्ल, लमकलमक र छाप्रो
टुक्का :–
धित मर्नु, पौडी खेल्नु, वुर्कुसी मार्नु
नामधातु– (शव्दधातु–अकासिएका, एकोहोरिनु, विरक्तिनु)
आलङ्कारिकता :– साँकुरा फूलजस्तै, हलुका पाइला राखें, दर्जनौं हाइकु देख्दा, मन फक्रियो, नदी जस्तै चुपचाप रहे
टुङ्ग्याउनी
इतिहास छ यसमा भने तुलनात्मक कुरा पनि छन् । व्याख्या छ भने वर्णन त ओइरो । कवि साहित्यकार हुन विविध ज्ञान विविध सिप चाहिन्छ भन्ने प्रमाणका लागि यो निवन्ध उदाहरण हो ।
धरानका प्रतिभाले यो निवन्धमा नेपाल विर्सेको छैन । नेपाली कागजका कुरामा होस, वा नेपालमा साहित्यकार ठगिएका कुरामा होस्, प्रसङ्गमा गोदेका छन् । ठेट नै नभए पनि नेपाली शैली, झर्रो शैलीको मनग्गे प्रयोग गरेका छन् । हाइकु पुरै वुझेको मेरो आफ्नो ज्ञानले ठह¥यायो भने हाइकु लेख्न चाहिं सारै गाहारो छ भन्ने मेरो वुझाइ यो निवन्धले पनि छनक दिएको छ ।
अन्तमा पनि एउटा हाइकु नै छ –
हाइकु पाथ
कुमार पदचाप
साकुरा फुल्यो !

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

लेखकका अन्य रचनाहरु