फ्रेमभित्रकी आईमाई

- सञ्जु बजगाईं

समयसिंहको घरको मुलद्वारमा बिटका धार समेत मकाउन थालेको फुस्रो तर परैबाट आँखा पर्ने ठुलो फ्रेमभित्र एउटी आईमाई झुण्ड्याईएकी छ । माफ गर्नुहोला पाठक ! मेरो आशय ज्यँुदी आईमाई झुण्ड्याईएकी भन्ने होईन, उसको तस्वीर हो ।

परिबन्दले गर्दा अचेल म झुण्ड्याईएको त्यस तस्वीरलाई दैनिकजसो देख्छु । देखेको निकैबेरसम्म त्यस फ्रेमभित्रकी अपरिचित आईमाईसँग जोडिएर मेरा मनमा अनेकांै रहस्यात्मक प्रश्न खेल्छन् र बिस्तारै साम्मे हुन्छन् । हिड्ने बाटो अकाट्य भएकाले यो रहस्यात्मक चिन्तन आजकल मेरो बाध्यता भएको छ ।

हुनत त्यस फ्रेमसँग मेरो देखादेख भर्खरबाट शुरु भएकोे होईन । खास भनुँ भने म त्यस फ्रेमलाई हेरेरै हुर्किएँ । हुर्किएको मात्र के कुरा भो र ! जन्मेकै दिन एकतर्फी देखादेख भएको हुनुपर्छ । समयसिंहकै घर पर्तिरको अस्पतालमा मेरी आमाले मलाई जन्माएपछि बुबाले एउटा तन्नाको झोलुङ्गो बनाएर आफ्नो घाँटीमा झुण्ड्याई त्यसैभित्र मलाई खुप्लुक्क राखेर यही फ्रेम अगाडिको बाटो हुँदै घर लैजानु भएको अरे ! यसरी अगाडिबाटै लैजादा त्यो फ्रेमकी आईमाईले मलाई नदेख्ने त कुरै भएन यद्यापी भर्खर जन्मिएकी भएर मेरा आँखा बन्द थिए होलान् ।

पाँच बर्षकी भएपछि भने ठमठम आफै हिँडेर त्यो फ्रेमभित्रकी आईमाईको तस्वीरसँग हेराहेर गर्न थालेकी हुँ । शनिबार थियो जुनदिन मैले बुबाको हात समाई पहिलो पटक आफैं हिँडेर बजार गएकी । त्यसैदिन हो मैले समयसिंहको घरको मुलद्वारमा ठडिएका ठुल्ठुला सेता पिलरका बिचको ढोकाको सिरानमा झुण्ड्यिाईएकी त्यो फुस्रो फ्रेमभित्रकी आईमाईलाई आफ्नै बुतामा उभिएर हेरेकी । अहो ! मैले उसलाई हेर्दा उसले पनि मलाई नै हेरेर मुसुक्क हाँसे जस्तो लागेर म कस्तो दङ्ग परेकी थिएँ । मैले जताबाट र जसरी हेरेपनि मैले उसलाई हेरुन्जेल उसले पनि मलाई नै हेरेकी हुन्थी । त्यही आत्मीय हेराईले म ऊसँग त्यसैदिनदेखि नजिकिएकी ।

यो हेराहेर म केटाकेटी हुन्जेल मात्र सिमीत भएन । म दिनप्रतिदिनका अनेकौं प्रसङ्गमा त्यस फ्रेमभित्रकी आईमाईको फोटो हेर्दै हुर्किएँ, तरुनी भएँ, स्कूल पढीसकेँ, उच्चशिक्षा हाँसिल गरेँ र अहिले समयसिंहकै घर छेउको बैंकमा जागिरे भएकी छु । छोटकरीमा भन्दा त्यो फ्रेम हेर्दाहेर्दै म एक स्वाबलम्वी नागरिक भएकी छु । यो हेराहेरको क्रममा समयले आज मलाई जे बनायो तर्कसंगत बनायो तर उसको तस्वीर र तस्वीर झुण्ड्याईएको त्यो फ्रेममा यो क्षणसम्म आईपुग्दा कुनै परिवर्तन भएको मैले देखिन । न मर्मत–संभार न त रङ्गरोगन ! फ्रेम पहिलेभन्दा नाजुक भएको छ । बिट मकाएर हेरिनसक्नु छ । त्यसको शिशा धमिलिएको छ भने झुण्ड्याएको काँटी बाङ्गिएर फ्रेम समेत कोल्टिएको छ । फोटोको त कुरै नगरौ ! अनुहारको स्वरुप पनि खुट्उँन मुश्किल पर्छ । मानौ, त्यो निरिह फ्रेम ज्यँुदाहरुबाट बर्षौदेखि त्यागिएको छ ।

“तँ पनि आईमाई र त्यो फ्रेमभित्रकी पनि आईमाई ! हेर, त्यसको हरिबिजोक !!”

निर्जीब तस्वीर ! तर केटाकेटीदेखि आत्मियता जोडिएकाले त्यो फ्रेमलाई देखेपछि अचेल मभित्र यस्तो आवाज आउन थालेको छ । किन ? के ऊ मेरी प्रतिनिधी हो ? या ऊ र म बिच आईमाई हुनुमा भेटिने समान तत्वहरु मेरा मस्तिष्कमा सक्रिय भएर यस्तो आवाज निस्किन थालेका हुन् ?

मेरो ठम्याई अझै निर्धारित भएको छैन तर म सानी केटी रहिन अब भन्ने पक्का भएको छ । समयले मलाई सानी केटीबाट आईमाई बनाएको छ र आईमाई बनाउँने लामो प्रक्रियामा त्यही समयले नै मभित्र चेत भरिदिएको छ । त्यही चेतले गर्दा त्यो मकाउँन थालेको फ्रेम र त्यस फ्रेमभित्रकी आईमाईको फुस्रो फोटो देख्दा मभित्र असन्तुष्टीको आवाज आउँन थालेको हुनुपर्छ ।

दिनप्रतिनिद त्यो फ्रेम र त्यसभित्रको तस्वीरलाई हेरेपछि यस्तो आवाज आउँने क्रम बढ्दो छ र त्यो आवाजको अनुगुञ्जनले म भने विक्षुब्ध हुन थालेकी छु । समयसिंहले एउटी आईमाईको रुग्ण रुप त्यसरी मुलद्वारमा झुण्ड्याएर बाटो हिड्ने सयौं बटुवालाई नदेखाईदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ । हरेक दिनको हिँडाईसँगै मस्तिष्कमा उथलपुथल गराउँने यस्ता सोँच बोकेर म कतिन्जेल हिँडिरहुँला ? यदि मैले त्यस फ्रेमको सुन्दरता र त्यसभित्रकी आईमाईको मौलिक आकृति जोगाउँन केही नगरी हेराहेर मात्र गरेँ भने आफ्नै अस्तित्वमाथि उब्जिने एक प्रश्नले मलाई जीन्दगीभर खेदिरहने छ ।

हो, त्यही प्रश्नबाट बच्न अन्ततः मैले समयसिंहको घरै गएर त्यस फ्रेमकी आईमाईसँग बाल्यकालदेखिको हेराहेरले बनेको मेरो अमुर्त सम्बन्धका बारेमा कुरा गर्ने निर्णय गरेँ ।

००००

यस्तो एक्लो निर्णयको केहीदिनपछि नै म समयसिंहलाई भेट्न घरबाट निस्किएँ । मैले आजका दिनसम्म समयसिंहलाई भौतिक रुपमा देखेकी थिईन । स्वभाव कस्तो छ भन्ने पनि थाहा थिएन । रिसाहा, घमण्डी वा हिंसात्मक छ कि ? अहंकारी रहेछ भने के गर्नु ? जस्ता यावत मनोवादले जसरी घरबाट बहादुर मन बोकेर निस्किएकी थिएँ त्यसको ठीक विपरीत बाटो हिड्दा–हिड्दै समयसिंहको घर पस्ने कुरा कल्पिदा मात्र मेरो आङ्ग जिरिङ्ग भैरह्यो । डर लागिरह्यो ।

“हिजोसम्म निडर भएर हिडेको बाटो हिड्दा आज कायर कसरी हुन सक्छु म ?” मनमनै आफैलाई ढाडस दिदै हिँडिरहेँ र अनेकौ उहापोहकासाथ उसको घर अगाडि पुगेँ ।

एकैछिन उभिएर लामो श्वास तानँे र गेट ढकढकाएँ । फराकिलो गेटको एकापट्टि सानो ढोका केहीबेरपछि खुल्यो ।

“नानी को ? कसलाई खोज्नु भएको ?” सामुन्नेबाट एक वृद्धाले सोधिन् ।

“मेरो नाम साहसी ! म समयसिंहलाई भेट्न आएकी ।” मैले नमस्कार गर्दै भनेँ ।

“समयसिंह पुजा गर्दै हुनुहुन्छ । भेट्नलाई केहीबेर कुर्नु पर्छ ।” वृद्धाले प्रस्ट भनिन् ।

“मलाई कुर्न आपत्ति छैन ।” यसो भन्दै म उनले खोलेको गेटको सानो ढोकाबाट भित्र छिरेँ ।

गेट खोलिदिने वृद्ध महिला पातलो शरिर गरेकी थिईन् । सेतै फुलेको कपाल तर सिउँदो भने रातो सिन्दुरले ढपक्क ढाकेको थियो । निधारमा रातो टीका लगाएकी थिईन् । आँखामा पावरवाला चस्मा थियो । सानो तिलहरी हरियो पोतेमा उनेर लगाएकी । नाडीभरी टपक्क राता चुरा थिए । ढाकाको चौबन्दी चोलो र रातो भुँईमा मसिना पहेँला फुलबुट्टा गरेको झुनाको सारी लगाएर कम्मरमा पहेँलो पटुकी कसेकी । उनी परम्परागत पहिरनलाई जीवन्तता दिन त कही चुकेकी देखिईनन् तर बोलीमा भने प्राण थिएन ।

“तपाईं समयसिंहको को हो त ?” उनको पहिरन हेर्दाहेर्दै मैले पनि फ्याट्ट सोधिहालेँ ।

“म उनकी कान्छी श्रिमती ।” वृद्धाले मसिनो स्वरमा भनिन् ।

उनले त्यसो भनेपछि मलाई फ्रेमभित्रकी आईमाईको झल्याँस्स सम्झना भयो । मुलद्वारतिर आँखा लगाएँ । धन्न ! त्यो फ्रेमभित्रकी आईमाईको तस्वीर वृद्धासँग मिलेन । म शान्त भएँ ।

“नानी मसँगै आउनोस् ।” केहीछिनमै ती वृद्धा अघि लागेर मलाई बाटो देखाउँदै भनिन्– “यो घरभित्र हामी थुप्रैजना छौं । हामीलाई देखेर अफ्ठयारो नमान्नु होला ।”

वृद्धाले रहस्यात्मक भावभङ्गीमा मलाई अफ्ठयारो नमान्न आग्रह गर्दै घरको मुलद्वार नखोली पेटीबाट हिडाएर घर पछाडिको पाहुना घरमा लगिसकेकी थिईन । मैले उनको त्यो आग्रहको अर्थ सर्तक रहनु होला भन्ने पूर्वधारणा बनाए पनि समानता जनाउँदै भने–“किन अफ्ठयारो मान्थे र ! म पनि ठुलै परिवारकी छोरी हुँ ।”

मेरा कुरा सुनेर उनले मुन्टो हल्लाउँदै भनिन् “मालिक पूजा सकेर यही आउँनु हुन्छ । तपाईं बस्दै गर्नोस् ।”

यति भनेर ती वृद्धा कता हराईन पत्तो भएन । वृद्धका मुखबाट मालिक शब्द सुनेर म भने जडवत् भएँ ।

समयसिंहको घर अगाडिबाट जति शान्त र प्रभावशाली देखिन्थ्यो पछाडिबाट त्यस्तो देखिएन । अगाडिबाट देख्दै ल्याएका सुन्दर झ्याल–ढोका पछाडितिर बिल्कुल फरक देखेँ । ती रङ्गीन थिएनन् । बरु त्यहाँबाट रुवाई–कराई, चिच्यावट, विरोध र हाँसो भरिएको एकतमासको हल्ला आईरहेको थियो । त्यो हल्लाले डर लागेपनि समयसिंहको प्रतिक्षा गर्न बाध्य थिएँ म । यत्तिकैमा एउटा झ्यालबाट कालो अनुहार गरेकी एउटी केटीले हात हल्लाएको देखेँ ।

“यो बौहुलाईले फेरी झ्याल खोली । गाला चड्काएर यता तान् त्यसलाई ।” हात हल्लाउँने केटीलाई कसैले हप्काएको सुनियो ।

त्यो सुनेर मेरो मुटुको धड्कनले एक्सलेटर दबायो । मेरा पाखुराका रौं ठडिए ।
“बाबु बिनाको त्यो फ्याउरोलाई एक्लै छोडेर कता मरी अर्की ।” अर्को झ्यालबाट आवाज आयो ।

“खान्न...! म तेरो जुठो कहिल्यै खान्न !!” दोस्रो तलाको झ्यालबाट यस्तै प्रतिकार सुनिदै थियो एकाएक झल्र्याम्म केही फुटेको आवाजले मेरा कानका जाली नै छेडिए ।

बिस मिनेटको पर्खाईमा यति सुनिसक्दा म भित्रभित्रै हायल–कायल भैसकेकी थिएँ । बल्ल एउटा मान्छे पुजाको थाली हातमै बोकेर मेरो सामु झुल्कियो । पुजाको थाली देखेपछि समयसिंह उही हो भन्ने थाहा पाउँन मलाई मुश्किलै भएन ।

“नमस्कार । म साहसी !” उसलाई देखेर बसिरहेको कुर्सीबाट जुरुक्क उठेँ ।

“नमस्कार । ल ! यो कालीको प्रसाद लेउ ।” समयसिंहले मलाई पहिलो शब्दमै तिमी संबोधन ग¥यो ।

“हे कालीमाता मेरो रक्षा गर ।” मनमनै यसो भनेर समयसिंहले दिएको प्रसाद लगाएँ ।

सिंहको जस्तो आत्मविश्वास बोकेर संसार एक्लै थामौलाझैं गरी समयसिंहलाई उभिएको देख्दा एकमनले ‘अल्फा पर्सनालिटी’ रहेछ जस्तो ठाने । झट्ट हेर्दा ‘अल्फा पर्सनालिटी’ देखिए पनि ऊ मेरो बाबुजस्तो मायालु कतैबाट देखिएन । नरम आवाज, हँसिलो, मिजासिलो र शान्त स्वभाव भएका मेरा बुबासँग न त उसका तिखाउरिएका जुँगा मिले न त उसको स्वभाव, न त बडेमानको ज्यान र धोद्रे आवाज नै !

“के कामले आयौ यहाँ ?” उसले उभिएरै आउनुको कारण सोध्यो मलाई ।

“त्यो...! त्यो, अगाडिको फ्रेमभित्रकी आईमाईको फोटोको बारेमा जान्न आएकी ।” मैले धरमराउँदै भने ।

“तँ...! तँ अपराधी, पापी, तँ नर्क जा !” समयसिंहको जवाफ नआउँदै मेरो आवाजलाई ओझेल पार्दै फेरी कसैले सरापेको टड्कारो सुनियो ।

समयसिंहको आवाजैले आधा थर्किएको मेरो मन सराप्नेको आवाज सुनेर त काँप्नै थाल्यो ।

“कुन फ्रेम ? कुन आईमाई ? यो घरभरी काम नलाग्ने आईमाईहरुको भीड छ ।” हातमा बोकेको पुजाको थालीलाई मेरै छेउको झ्यालको बिटमा अड्याउँन खोज्दै उसले थप्यो– “यहाँ अनेकौ आईमाई छन् ; लोग्नेले छोडेका छन्, बलात्कृत भएर बौलाएका छन्, कोही कोठीमा बेचिएर फर्किएका छन्, कोही धेरै पढेर बिहे नै नगरी बस्ने बुढीकन्या छन्, कोही सासु–ससुराले आगो लगाएर आधा डढेर बाँचेका छन्, कोही अपाङ्ग छन्, एसिडले अनुहार बिग्रेका छन् अनि कोही बाबुबिनै बच्चा जन्माएका छन् । लौ ! भन कुनचाहिंका बारेमा जान्ने ?”

मलाई समयसिंहको बर्बराहट खडेरीमा परेका ठुल्ठुला असिनाजस्तै लाग्यो । मेरो माथिङ्गल उसको बर्बराहट र उसले अर्थ्याएका आईमाईहरुको सूची सुनेर छियाछिया भयो ।

“म त तपाईंको घरको मुलद्वारमा झुण्ड्याईएको फ्रेमभित्रकी आईमाईको तस्वीरको बारेमा जान्न आएकी थिएँ ।” डर मिसिएको स्वरमा यति भने ।

“ए ! त्यै सात–सातवटी छोरी जन्माएर मरेकी राँडको कुरो जान्न आएकी ?” केहीछिन अघि पुजाको थाली बोकेर उभिएको समयसिंहले निमेषभरमै रिसले आगो हुँदै राक्षसी शैलीमा थप्यो –“त्यस राँडको फोटो अझै त्यही रछ । भोली नै झिकेर फ्याँकिदिन्छु । राँडले यतिका छाउरी नजन्माएकी भए मैले यो हैरान खप्नै पर्दैनथ्यो । त्यसको कुरै नगर मसँग ।”

दश टाउके रावणझैं रिसले चुर भएर फनफनाउँदै निस्कियो ऊ ।

समयसिंहको रिस देखेर उसको घरको मुलद्वारमा झुण्ड्याएको फ्रेम र त्यसभित्रकी आईमाईको तस्वीरलाई पुर्नजीवन दिने मेरो सपना समयसिंहकै घर पछाडि पुगेर तुहियो । म निशब्दः भएँ । चिट्चिट् पसिना आयो । मेरो होशहवास उड्यो । म कायरभन्दा पनि महाकायर भएर त्यसको पाहुना घरबाट बाहिरीएँ । घरका भ्यालैपिच्छेबाट आ–आफ्नै ब्यथाको चर्को आवाज भने आईरहेकै थियो ।

००००

“नानी ! भेट्नु भयो मालिकलाई ?” म गेटबाट बाहिरीनै लाग्दा पछाडिबाट उनै वृद्धाको आवाज आयो ।

म रोकिएँ ।

“भेटेँ...! भेटेँ !!” हतासिदै भनेँ मैले ।

“नानीले बाहिरबाट देखेको यो ठुलो घर खासमा समयसिंहले बसाएको पागलबस्ती हो ।” वृद्धाले दबेको आवाजमा यस्तो खुलासा गरिन् ।

“कसरी त्यस्तो ?” मैले सोधेँ ।

“कसरी ? ऊ त्यो फ्रेमभित्रकी आईमाई समयसिंहकी पहिली श्रीमती हुन् ।” मुलद्वारतिर चोर औलाले देखाउँदै उनले कुरा शुरु गरिन् –“सातवटी छोरी जन्माई भनेर समयसिंहले हेला गरेपछि दुख पाएर मरेकी अरे । ऊ मरेको तीन महिनामै समयसिंहले मलाई बिबाह गरेको । मबाट सन्तान हुन सकेनन् । त्यसैले म उसकी अर्धाङ्गिनी नभै पुजा सामाग्री तैयार गरिदिने सहयोगी भएर बाँचेकी छु ।”

वुद्धाले कुराले मेरो मन फ्रेमभित्रकी आईमाईका सातवटी छोरीहरुमा गएर अड्कयो । मैले उनलाई थप बोल्न नदिई सोधेँ– “कहाँ छन् त ती सातवटी छोरीहरु ?”

“यही घरका कोठाहरुमा बन्दी बनेका छन् ।” उनले कानेखुशी गर्दै काँपेको आवाजमा भन्दै गईन् –“अभागीहरु कोही बलात्कृत भएर न्याय नपाई बाँचेका छन्, कोही लोग्नेले छोडेका छन्...!”

समयसिंहले केहीबेर अगाडि बर्बराएकै कुरा दोहो¥याउँदै मेरा दुवै हात समातेर वृद्धाले भनिन्– “नानी ! यो घरमा बन्दी भएका सबै छोरीहरुलाई न्याय र उन्मिुक्तिको बाटो देखाईदिने मान्छे चाहिएको छ । अघिल्तिर भब्य मोहडा बोकेको शानदार घरका छोरीहरुको पीडा र चित्कार आज त्यही घरको पछाडिबाट तिमीले सुन्यौ । त्यो आवाजलाई बाहिर लगिदिनु ।”

“आफ्नै छोरीहरु किन बन्दी बनाएको समयसिंहले ?” मैले पत्याउँन नसकेर सोधेँ ।

“आफ्नो नाम, पैसा, शान र शक्तिसँगको सम्बन्धलाई निरन्तरता दिन । त्योभन्दा पनि बढी आईमाईलाई सबै दोष थुपारेर उनीहरुको यथास्थितिलाई निरन्तरता दिन ।” वृद्धाले तर्क दिईन् ।

वृद्धाको बौद्धिक तर्क सुनेर छक्क परेँ म ।

“तपाईले यति धेरै बुझ्नु भएको रहेछ त आजसम्म किन केही नबोल्नु
भएको ?”

“मसँग पापी पेट छ तर त्यसको चित्त बुझाउँने मेरो कुनै आर्थिक स्रोत नभएर नबोलेकी । उनले आफ्नो बाध्यता स्पष्ट पार्दै थपिन्– “समयसिंहका छोरीहरु भर्खरका छन् । कसैले यी बन्द कोठाबाट निकालेर अलिकति सान्त्वना मात्र दिए अवश्य केही न केही गरीखाने थिए । कुल्चिएको झार पनि कुल्चिरहें उठ्न नसकी मर्छ । यी छोरीहरु मान्छे हुन् यीनलाई कुल्चिएर नमार ।”

यत्तिकैमा मेरा आँखा मुलद्वार माथिको फ्रेममा पुगे । हाम्रा कुरा सुनेर त्यो फ्रेमभित्रको फोटो रोईरहेको जस्तो लाग्यो । फ्रेमपनि फोटोकै आँशुले निथ्रुक्क भिजेजस्तै देखियो । मैले केटाकेटीदेखि जहिल्यै शान्त भएर झुण्डिएको देखेको त्यो फ्रेमभित्रकी आईमाईको निर्जीव फोटोलाई आज पहिलो पल्ट अशान्त देखेँ । रोहिरहेझैं देखेँ । फोटोको आँशु र वृद्धाको कुरा मनमा राखेर मैले समयसिंहको आजसम्मको हैकमवादलाई परास्त गरी बन्दी भएका छोरीहरुलाई जीवन जीउँने नयाँ बाटो देखाउँने प्रयत्न गर्ने दृढ संकल्प गरेँ ।

“म मेरो क्षमताले भ्याएसम्मको कोशिस गर्ने छु ।” वृद्धालाई आश्वस्त पार्दै मैले भने –“अहिले मलाई जान दिनुहोस् ।”

“नानी, तिमीलाई आवश्यक परेको बेला यो गेट नखुल्न सक्छ, यी दुई साँचो लिएर जाऊ ।” वृद्धाले कम्मरमा बाँधेको पटुकीको भित्री भागमा लुकाएको पुरानो धागोमा उनेर राखेका दुईवटा साँचा मेरा हातमा सरक्क राखिदिईन् र भनिन्– “ तिमीले यी साँचाका बारेमा कसैलाई केही नभन्नु ।”

म ती साँचा हातमा बोकेर गेट बाहिर निस्किएँ । बाहिरको चिसोमा निकबेरै हिडुन्जेलसम्म वृद्धाको शरिरको स्पर्शले तातेका दुई साँचाबाट उनको शरिरको तातोपन मलाई महशुस भैंरह्यो । शायद, त्यही तातोपनमा जीवनको अर्थ लुकेको थियो ।

लण्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

लेखकका अन्य रचनाहरु