सन्नाटा

- कृष्ण बजगाईं

मेरो मुटु दिएर उनलाई घरमा भित्र्याएको थिएँ । उनलाई म अच्चकाली मायाँ गर्दथेँ । सोही कारण उनका इच्छाहरु क्रमशः पुरा गर्दै जान थालेँ ।
सबैभन्दा पहिले बहिनीलाई अमेरिका पढ्न पठाउने कुरा गरिन् । उनकी बहिनी मेरी साली । दिनरात खुन र पसिना बगाएर मेहनतसाथ कमाएको पैसाले उनको बहिनीलाई अमेरिका पठाएँ ।
उनकी आमा बारम्बार बिरामी भइरहन्थिन् । उनकी आमा मेरी पनि आमा । आफ्नै आमा सम्झेर पटकपटक आफ्नो रगत दिएर उनलाई बचाएँ ।
उनले मसँग एकदिन मृगौला मागिन् । मेरो मृगौलाले मात्र उनको बाबुको ज्यान बच्ने कुरा सुनाईन् । मलाई थाहा थियो एउटा मृगौंलाले मानिस मजाले बाँच्छन् । बाबु आमा नभएको टुहुरो म । उसका बाबु मेरा पनि बाबु । आफ्नै बाबु सम्झेर मृगौला दिएँ ।
अचानक एकदिन उनले मलाई भनिन्, ‘हजुरले यो बसिरहेको घरजग्गा मेरो नाममा पास गरिदिनु भयो भने मात्र मलाई माया गर्नु हुन्छ भन्ने थाहा पाउँछु ।’
भोलिपल्टै घरजग्गा उनको नाममा पास गरिदिएँ ।
‘त्यसपछि के भयो ?’ न्यायाधिशले सोधे ।
‘मलाई विस्तारै रोगले गाँज्दै लगेको कुरा धेरैपछि मात्र थाहा पाएँ । शारिरिक रुपमा कमजोर हुन थालेँ । त्यसले मानसिक चिन्ता थप्यो । मेरो जोश र जाँगर क्रमशः हराएर गयो । पहिले जस्तो श्रीमतीको शारिरिक र भौतिक आवश्यकता पुरा गर्न नसक्ने भएँ । रस चुसेर फालेको उखुको खोस्टो जस्तै एकदिन उनले मलाई घरबाट निकालेर सडकमा पुर्यांईन् श्रीमान् ।’ उसले रुँदै भन्यो ।
‘अनि....?’ न्यायाधिशले फेरि सोधे ।
‘कति उनलाई मात्र दिनूँ भनेर मैले पनि लिएँ ।’ उसले भन्यो ।
‘के लियौ ?’ न्यायाधिशले फेरि सोधे ।
‘उनको ज्यान !’ उसले नडराई भन्यो ।
त्यस पश्चात इजलासमा सन्नाटा छायो ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

लेखकका अन्य रचनाहरु