गोरुगाडीदेखि टेस्लासम्म

- नम्रता गुरागाईं

“हाओ तैंले थाहा पाइस ! कान्छाले त एकहल गतिला गोरु जोडेछ नि ! को कान्छो ? बुवाको प्रश्न नसिधिदै ठुलाबाले तुरुन्तै उत्तर दिनुभयो, त्यै क्या राइकान्छो ! अब त्यसले गरिखायो, आनन्द लागेको छ । अनि सुनिस भटराई जेठालेपनि पांच हजार हालेर साह्रै गतिलो गाइ किनेछ नी ! होइन केटाले केका आंटले हो जर्सी गाइ नै पो किनेछ ! कि आंटले खान्छ कि ढांटले भनेको यही हो । अब राम्रो स्याहार गर्यो भने दुधपनि राम्रै दिन्छ । दोकानमा दुधको जहिलेपनि कमी नै हुन्छ... बजारभाउ नपाउने झन कुरै भएन ।” ठुलाबाले बुवासंग गरेका कुरा अहिलेझैं लाग्छ । फुर्सदमा बुवाहरु हाम्रो आंगनमा बसेर कुरा गर्नुहुन्थ्यो, म कहिले पानी पुरयाउंन जान्थें त कहिले चिया । दिउंसो सबैजना घरमै भएको दिन त खाजा नै पुरयाउंनपनि आंगनमा जान्थें । ठुलाबा मलाइ काम लाउन साह्रै सिपालु हुनुहुन्थ्यो । कान्छीछोरीले ल्याएको त मलाइ जेपनि मिठो लाग्छ ! भनेपछि फुर्कीफुर्की म अर्हाएको काम सबै गर्थे । वहांहरुका एक हल गोरु जोडनु र गरिखानुका कुरामा नाता कसरी जोडिन्छ मलाइ के थाहा र ! न म त्यो उमेरको मान्छे थिएं, न त मेरो चासोको विषय नै थियो । स्कूलको गृहकार्य सकेसम्म चांडै सक्नु र पाएसम्म साथीसंग खेल्नुभन्दा अर्को मेरो उदेश्य नै के थियो र ।

अहिले सम्झदा हाम्रो घरमापनि दुइहल गतिला गोरु, दुधकालागि एउटा भैंसी र एउटा गाइ थिए । बाख्रा पाठा, परेवा, कुखरा, कुकुर, विराला सबैका धनी नै थियौं । अरु तिनवोटा गोरु अन्तबाट किनेर ल्याएपनि एउटाचाहिं घरमै जन्मेको बाच्छो ठुलो भएपछि गोरुको काम गर्ने भएको थियो । अर्थात जोत्न योग्य बाच्छोको नाम गोरु । उसको नाम थियो काले । कालेले बुवाआमाका कुरा बुझेझैं लाग्थ्यो । हुनपनि खेतिको मौसममा ज्यान फालेर जोथ्यो उसले । राम्रो काम गर्ने भएरै होला अलि छुचो स्वभाबकोपनि थियो । केटाकेटी भेटयो कि हान्न खोज्ने । हामी उसका छेउ नै पर्दैनथ्यौं । रोपाईं हुने समयमा लगातार जोतीरहनु पर्ने भएकोले बिहानभरी जोतेका गोरुको जिउ दुखेको निको हुन्छ भनेर बुवाले पिठोमा धतुरो मुछेर खान दिनु हुन्थ्यो । धतुरो खाएर गोठमा दिनभरी मस्तसंग सुत्थे गोरुहरु । आमाले हली दाइहरुलाइपनि अरुबेला भन्दा खाजामा विशेष ध्यान दिनुहुन्थ्यो त्यतिबेला ।

राजमार्गमा बस कुदेपनि गाउंमा यातायातको साधन भनेको एकमात्र गोरुगाडी नै थियो । खेतबाट धानका विटा ओसार्न परोसकि, धान कुटन मीलमा जान परोस, तेल पेल्न इटहरी जान परोस कि, मान्छे विरामी भएर डाक्टरकोमा लान परोस उही काले अर्को साथी लिएर ठिक पथ्र्यो । केही गरी गोरुगाडीमा चढेर जान पाइहाले, मपनि निकै ठुली ठान्थें आफुलाइ । इटहरी पुगेर आउनु त्योपनि गोरुगाडीमा, कममात्र ठुलो काम हुन्थ्यो र !

समय वित्दै गयो । प्राथमिक तहको पढाइ सक्दा नसक्दा रिक्सा चल्न थाले बजारमा । गाउंमा त कहां पुग्नु र ! कहिलेकाहिं हिडेरै भएपनि इटहरी जान पाउनु ठुलै संयोग हुन्थ्यो । राजमार्गमा रिक्सा चल्न थालेपछि २० मिनेटजति रिक्सामा चढनको लागि लगभग एकघन्टा हिडनु केहीजस्तो लाग्न छोडयो । गाइलाइ हरियो घांस देखाएर डोर्याएजस्तो रिक्साले हामीलाइ डोर्याउथ्यो । हुनपनि रिक्सा चढेर सररर...इटहरी जाने सपना बोकेर हिडदा १ घन्टा थाहै नपाइ जान्थ्यो । कहिले दुइजनामात्रै त कहिले तीनजना मान्छे त्यसमाथी सामानको झोलालाइ रिक्सामा राखेर एउटा मान्छेले तान्दा कति गाह्रो हुन्थ्यो होला रिक्साबालालाइ रिक्सामा चढनेलाइ के थाहा र ! रिक्सामा चढनकैलाइ एकघन्टाको बाटो हिडेर आउनुपनि आफैमा कम महत्वको कुरा थिएन । इटहरी पुग्दा रिक्साबालाको अनुहारबाट बगेका पसिनाका धारा त देख्थें तर किन बगे, त्यहांसम्म पुगेर मनन गर्ने एक त आफनो उमेर थिएन, अर्को केटाकेटीहरुलाइ समयपनि थिएन ।

फाट्टफुटट बस नचढेको त होइन । म निकै ठुलै भएपछि नेपालमा पोलियोको औषधी आएको थियो । पोलियो खुवाउनु पर्छ भनेर दिनानाथ दाजुले मलाइ र ध्रुबलाइ ३ पटक महिनैपिच्छे बिराटनगर लानुभएको थियो । विहानको शीतमा भुक्के चप्पल पडकाउदै बाटाको धुलोमा हिडदा शीत मिसिएको धुलोले लगाएको सेतो सट कालै पारेपनि विराटनगरबाट पोलियो खाएर आएको दिन कसैले नगरेको काम गरेझैं लाग्थ्यो मलाइ । आमाबुवासंग एक दुइपल्ट सिनेमा हेर्नलागिपनि विराटनगर गएकी थिएं । एकपल्ट बसमा चढेर विराटनगर गएर आएपछि ५, ६ महिनालाइ गफ गर्न पुगिपनि हाल्थ्यो ।

प्राथमिक शिक्षाको अन्त्यतिर बसमा चढने सपना झांगिदै गयो । दिदी, दादाहरुले कहिलेकाहिं उनिहरुका साथीसंग बसमा चढेको कुरा गर्दा म चाख मानीमानी सुन्थें किनकी मपनि केही महिनापछि उनिहरु पढेको माध्यामिक बिद्यालय साजिलाल मा. वि.जांदै थिएं । साजिलाल पुर्व पश्चिम राजमार्गको छेउमा अझै विद्या दान गरेर बसिरहेकै छ । अरुबेला नभएपनि राजारानीको जन्मस्व मनाउंन ज्योती स्कूलबाट दुलारी जांदा पाचक र चाकसालाले मुख मिठो पार्दै म सुटुक्क रोडको छेउमा गएर तुफानले दौडिएका गाडीहरु हेर्थें । त्यसबेला मान्छेहरु आफन्त भेटन रिक्सा चढेर आउन थालेकाले गाउंले अलिअलि रिक्सा देख्न थालेको त थियो तरपनि केही पर्यो भने गोरुगाडी नै हाजीर हुन्थे समस्याको समाधान लागि ।

माध्यामिक विद्यालय गएपछि कहिलेकाहिं नास्तापनि खान थालियो । राजमार्ग छेउको सुदामाको होटलमा नास्ता खान जांदा बसहरुलाइ बाक्लै देख्न थालें तर देख्न मात्र, चढन होइन । उहिल्यै विद्यार्थिहरुको रगत अलि धेरै तातेकाले बसलाइ भाडा नदिइ हिडन थालेछन । त्यसपछिदेखि बस अलि परसम्म विस्तारै आएपनि स्कूल नजिक आएपछि तुफानले जान थालेका अरे । आफूलाइ त कहिलेकाहिं गछिया खोलाको सिरानबाट ढुंगा र वालुवा लिएर आएको ट्र्रकले रोकिदिएर इटहरीसम्म जान पाए निकै ठुली भएको अनुभुती हुन्थ्यो । ट्रकले ब्रेक लाउंदा कहिलेकाहि सबैजना एकै पोको परेर धन्न धन्नले जोगिन्थ्यौं तरपनि ट्रकमा चढेर इटहरी पुगी कुमार फोटो स्टुडयोमा फोटो खिचेर आउनुको मज्जा अर्कै थियो ।

दिदीको पछिपछि हिडने भएर होला घरमा सानु हुनुको फाइदा मैलेपनि अलिअलि लिन थालें । उसले कहिलेकाहिं धरान, विराटनगर लिएर जान थाली । बसमा आउनेजाने गर्न थालेपछि त मेरोपनि भाउ बढेछ, अब को चढने र गोरुगाडी ! ४५ मिनेट हिडेर भएपनि रिक्सै चढेर जान थालियो इटहरी । क्रमशः गोरुगाडी कम रिक्सा बढि हुन थाल्यो । पछिपछि टेम्पोपनि चल्न थाले । छिटो हिडने यातायातका सुविधाहरु रिक्सा, टेम्पो र बस छानीछानी चढन थालेपछि झन कहां भुइमा खुट्टा रहे होलान र मेरा !

छोराछोरी पढन, जागिर खान घर छोडी हिडेंपछि बुवाआमाले गाइबस्तु थोरै पार्दै जानुभयो । सबै खेती गर्न नसक्ने भएपछि भएकोमध्ये केही जग्गा अधियां दिनुभयो । गोरुपनि एकहल त्यही कालेको जोडीलाइ मात्र राख्नु भयो । समय बग्दै जांदा कालेपनि बुढो हुंदै गयो । उ जोत्न नसक्ने भएपछि घरमै बस्न थाल्यो । प्रकृतिको नियमलाइ कस्ले मिच्न सक्ने र ! एकदिन उसले हामी सबैलाइ छोडयो । त्यसपछि अर्को गोरुपनि बेचेर दुध दिने गाइ र भैसीमात्र राख्नुभयो । केही वर्षपछि भैंसीपनि बेचेर दुधका लागि गाइमात्र भयो घरमा । गोरु नभएपछि गोरुगाडी थन्कियो । कसैका गोरु ल्याए आठापांचा गोरुगाडी चल्थ्यो नत्र थन्किरहन्थ्यो । धेरै नचलाएपछि त्यो पनि विग्रियो । बिस्तारै गाउंका अरु मान्छेलेपनि खेतीपाती गर्न नसक्दा गोरु मासिए, संगसंगै गोरुगाडीपनि मासिए । तिनिहरुको ठाउंमा रिक्सा, टेम्पा,े टयाक्सी, बिरामी बोक्न एम्बुलेन्स पो आउनु थाले ।

प्रविधिको विकासले घन्टौ हिंडेर पुग्ने दुरी एकैछिन बनाइदियो र खेती गरेर खाने मान्छेमापनि परिवर्तन ल्यायो ।

एस.एल.सी.को परिक्षा दिएर म उच्चशिक्षाका लागि कहिले काठमाडौं त कहिले धनकुटा हानिएं । समय अलि धेरै भए हिडेर क्याम्पस जान्थे नत्र बस समाउंथें । अफिस, कलेज एकैचोटी लाग्ने भएकाले बसमा सीट पाउनु भनेको चिठठा पर्नुजस्तै हुन्थ्यो । बसमा कोचिनुपर्दा आफनो साधन भए हुन्थ्यो नी ! भन्दै मनमा कुरा खेल्थे । आफू साइकलमात्र चलाउथें, रहर लाग्थ्यो मोटरसाइकलको । रहरपनि कत्रो त ! हेलमेट लाएर चटट बाइकमा बसेका केटीहरु देख्दा पर उभिएर एकछिन तिनिहरुलाइ हेर्थे र रहरको घुटको घुटुक्क निलेर आफनो उही ११ नम्बरेलाइ स्टार्ट गर्थें । भोकले ट्वाट पल्टेको बेला त त्यही ११ नम्बरेलेपनि कहिलेकाहिं धोका दिन खोज्थ्यो । तैपनि जसोतसो घिसार्थें । पुरुषहरुको दांजोमा महिलाहरु यसैपनि थोरै अघि बढेका देखिन्थे । तिनै थोरैमध्ये आफूपनि एक हुने सपना बढदै थियो । खोजे अनुसारको शिक्षा हासिल गरें, रोजे अनुसारको जागिर समाएं तर बाइक किन्ने सामथ्र्य अझै भइसकेको थिएन । यतिकैमा बिबाह भयो । श्रीमानजीको मोटरसाइकलमा पछाडि बस्दापनि ठुलै भएको अनुभब गर्न थालें तर आफै मोटरसाइकल चलाउने रहर त कहां पुरा हुनु र !

समयका पछि हिंडदा हिडदै अमेरिका आइपुगें । यहांको बाटो र गाडीको स्पीड देखेर आतिएंपनि बेलाबेला । बुलेट आएजस्तो आएका गाडीहरु देखेपछि मोटरसाइकल चढने रहर जमेर ढिको भयो, पटक्कै पग्लन सकेन । गाडीका आकार प्रकार देखेर अचम्म लाग्यो । कुनै सुलुत्त परेका त कुनै भ्यात्त, कुनै ट्रकजस्ता अग्ला त कुनै बसजस्ता लामा । सबैका आ–आफना ब्रान्ड, सबैका आ–आफना नाम । नक्शा हेरेर गाडी हांक्नु पर्ने अरे । भुगोलमा नक्शा पढेर पास त गरियो तर त्यही नक्शा हेरेर हिडन सिकिएन । नक्शामा छामेको संसारलाइ सयगुना ठुलो बाटोमा छाम्दा तिरिखिरी नै बनायो । नक्शामा उतिनै बेला पहाड, मैदान, खोला, समुद्र,्र पुर्र्व पश्चिम, उत्तर, दक्षिण छामीराखेका आंखा साच्चैका बाटामा हेर्न परेपछि त ट्वाल्ल....... परिरहे धेरै समय । कागजमा भएको नक्शाले नजिकै देखाएपनि साच्चैको बाटोको नक्शा भने विकराल । कम्तीमापनि आधाघण्टा नहराइ नयां ठाउंमा कहिल्यै नपुगिने । आक्कल झुकल देखिने लैन्डेरोेभर, मारुती, टोयोटा बाहेक अरु गाडी नदेखेका आंखाहरु एकैचोटी पानी बगेजस्तो बाटामा बगेका हजार थरीका गाडीहरु हेर्दाहेर्दै आत्तिए । आम्मा मा.... यस्तो भीडमा कसरी चलाउंछन मान्छेहरु गाडी ! मनमनै वात मार्थें । विस्तारै बिभिन्न आकार, प्रकार र ब्रान्डका गाडीहरु हेर्न मपनि बानी पर्दै गएं तर गाडी चलाउन हैन ।

“भाउजु, गाडीपनि मोल बडाबडमा किन्न पाइन्छ रे ! त्यसलाइ अक्सन भन्दारहेछन” समिरजीले एकदिन ब्रेकफास्ट खांदा भनेको कुरा । कसरी ? “हिडनुस न हामीसंग, हामी देखाइदिइ हाल्छौं नी !” भन्नुभयो । अचम्म होइन ? समिरजी र संझनासंग हामी अपार्टमेन्ट आधि आधि गरेर बसेका थियौं । संझना साह्रै हल्का र सहयोगी भएकीले उनका पछि लागेर मैले नयां कुरा सिक्दै थिएं । अमेरिका बसाइका सुरुवातका दिनहरुमा नयांकुरा सिकाइदिने मान्छे भेटनुपनि ठुलै कुरा रहेछ । गाडीको कुरापनि उनिहरुकै मुखबाट सुनेपछि हामीपनि गाडी किनेर घुम्न जाने हो त ? बुढाबुढी सल्लाह गर्न थाल्यौंं । गोजी त्यति बलियो छैन, भएकै मध्येबाट सबैकुरा चलाउनु पर्ने, हामी दोधारमा पर्दै थियौ । “त्यहां त भाउजु ५ डलरमा दौडने गाडी नै पाइन्छ नी ! किन डराउनु भएको ? हिडनुहोस न सगैं जाउं, मिल्यो भने किन्नु होला नमिले घुमेर आउंला”! समिरजीले अर्को दिन फेरी थप्नुभयो । त्यसपछि हाम्रो आंटको पारो बढदै गयो । नभन्दै एक सनिबार गाडी मालिक हुने रहर बोकेर समिरजी संझनासंगै हामीपनि अक्सनमा गयौं ।

एउटा अधबैंशे मान्छे बम्पर उपहारको चिठठा खुल्ने बेला झै गरेर घांटी सुकुन्जेल स्टेजबाट कराइरहेको रहेछ । तल बस्ने मान्छेहरु गाडीको आकार, प्रकार हेरेर भाउ बढाबढ गरिरहेका रहेछन । कसैले घटाइरहेका त कसैले बढाइरहेका । एउटाले पांच डलरमा कुदने गाडी नै हात पार्यो । नपत्याउपनि कसरी ! आंखा अगाडि बेच्नेले पांच डलर गाडी बेच्यो र किन्नेले त्यो गाडी कुदाएरै लग्यो । नाथे पांच डलरमा गाडी पाइन्छ ? बिश्वास नगरुपनि कसरी, आंखै अगाडि गाडी किनेर मान्छे बेपत्ता भयो । तेरो गाडी हिडेन भनेर भन्न आएन । त्यो देखेर हामीपनि हौसियौं । त्यही भीडमा पसेर बिस्तारै गाडीको मोलतोल गर्न थाल्यौं । निलोरंगको लुमिना, सेभ्रोले गाडी अगाडि ल्यायो । गाडीको अनुभब नभएका हामीलाइ लुमिना हेर्दा राम्रै लाग्यो । त्यसको मोल बढाबढ २०० बाट शुरु भयो । आम्मा.. मा २०० ? हामी थोरैमात्र बढयौं । अरुले थप्दै गए । डराउंदै डराउंदै हामी बढदै थियौं । एउटाले फ्याटटै ४०० भन्यो । हं... असती मोराले कति धेरै भनेको त ! मनमनै सरापें त्यसलाइ । हेर्दा राम्रै छ, कतै फुत्किने त होइन ? बुढाबुढी मुखामुख गर्न थाल्यौं । यहीबेला “कोही छ अर्को“ भनेर त्यो मान्छे हामीतिर फर्कियो । हामीले छ, किन नहुन ! ल ५० थप्छौं भनेर के भनेकामात्र थियौं, “तेरै भयो यो गाडी” पो भन्छ भाते त ! जुवा खेल्नु भनेको यही रहेछ, आज चंै फसियो कि क्या हो ! बुढालाइ चिमोटदै भनें । बोलेपछि लिन्न त भन्नै नपाइने तर हामीलाइ यसले साथ देला त ? तेरो भयो भनेपछि झन मनमा हुटहुटी चल्यो । जेसुकै होस भनेर आटयौं । आफनो हुने भएपछि झन धेरै हेर्यौं । लुमिनालाइ साइड लगाएर त्यो मान्छे फेरी आफनो धन्दामा लाग्यो । हामीलाइ अब अरु गाडीको चासोपनि भएन । आफुले किन्ने गाडीलाइ नै घुमीघुमी हेयौं । लुमिनामाथि आफनो ठुलै भरोसा पलायो । एकछिनमा लेनदेनको काम सकेर गाडी लिएर बुढाबुढी हुइकियौ सररर .....।

घरमा गाडी भएपछि अब त जतापनि जान सकिहालिन्छ नी जस्तै लाग्यो । मौका मिल्दा नजिकका शहरमा घुम्नपनि जान थाल्यौं । श्रीमानजीको जागिर खोजीको कामपनि चलिरहेकै थियो । फाट्टफुट्ट अन्तरवार्ता भैरहेका थिए तर कतैबाटपनि गुलियो वचन नआएको र गोजीपनि टक्टकी सकेकोले आइपर्ने अप्ठ्याराहरुले संकेत गर्दै थिए । हामीमा भित्र कताकता डरपनि बढदै थियो । यहिबेला बसेको सानो ठाउं फेयरफिल्डबाट दुइघण्टा पर आयोवा राज्यको डिमोइन शहरमा जागिर हुने पक्का भयो । “के खोज्छस काना, आंखो !” भनेझै भयो हामीलाइ । पोको पुन्तेरो सबै कसेर हामी डिमोइन सर्ने भयौं । नयां ठाउंमा सर्याैं तर नयां जागिर शुरु गरेको दिनदेखि नै लुमिनाले खेला देखाउन थाल्यो । गाडीको तातोपना सन्तुलन गर्न हाल्ने कुलियन्ट बिहान हाल्यो, बेलुका चेट ! ए बाबा... खानपनि कति सकेको ! हरेक दिन डिब्बा भरी त्यो झोल पिउंदा गाडी तागतिलो भयो होला भनेर मख्ख पर्यौ । बाहिरबाट हेर्दा केही फरक देखिदैनथ्यो तर ढ्वाङका ढ्वाङ कुलियन खाएर गाडी त थला बस्ने पो भैसकेछ । नभन्दै रातो बत्तीमा रोकेको बेला बन्द नै भएछ, अब परेन फसाद !

कसो कसो लुमिना फेरी स्टार्ट भएछ र बुढाले तेस्रो दिनको जागिर खाएर त्यसलाइ घर लिएर आए । गाडीले देखाएको रुपका कुरा सुन्दा खुट्टा थर्र कामे । धन्न कुनै अप्रिय घटना घटेन । जागिरको चक्कर बल्ल ठीक भएको मात्र के थियो फेरी गाडीको चक्कर शुरु भयो । गाडी

विग्रनु भनेको खुट्टो भांचिनुजस्तै रहेछ । उहिले बुवा र ठुलावाले गरेको कसैले जोडेको एक हल गोरु र अहिले हामीले किन्नु पर्ने गाडीको कुरा उस्तैउस्तै लागे मलाइ । गरिखानु भनेको त त्यो पो रहेछ, बल्ल घैटामा घाम बल्ल लागे । उ बेला एकहल गोरुपनि नभएको मान्छे र अहिल एउटा गाडीपनि नभएको मान्छे दुबै उस्तै लंगडा लागे । समय, परिस्थिति र ठाउं फेरिएपछि साधन फेरिएका मात्र रहेछन, गरिखानु त उस्तै रहेछ ।

सानो ठाउंमा हिडेर जागिर खान जानु भनेको कल्पना बाहिरको कुरा नै रहेछ अमेरिकामा । बसहरुपनि भनेको ठाउंमा नभेटिने । समस्याको समाधान नै अर्को गाडी किन्नु भएकोले त्यही दिनबाट गाडी हेर्न जान शुरु गरियो । टोयोटा, होण्डा, हण्डे, मरसिटिज, किया, स्याट्र्न, बि.एम.डब्लु. के के हुन के के गाडीका नाम, त्यही दिनदेखि घोक्न थालें । गाडीका भाउ सुनेर मनमनै जोडघटाउ गर्नपनि थालें । आउंदाको लोनमाथि थपिएको कलेजको लोन पुरानो हुन नपाउंदै नयां गाडी थपिनु हाम्रालागि बोकाका मुखमा कुभिण्डो भैंm भैराखेको थियो । तैपनि तैपनि जागिर खान जानलाइ गाडी त किन्नै पर्यो । त्योपनि एकदुइदिनमा हो र ! आजै चाहिने । आजै चाहिन्े मान्छेलाइ गाडीसम्बन्धी धेरै कुरा बुझन समय नै कहां थियो र ! पुरानो टोयोटा कोरोला हेर्दै थियौं तर ब्याज असाध्य महंगो । अन्तपनि आंखा डुलाउंन भनेर पल्याकपुलुक हेरेको त अमेरिकन कार स्याट्र्रन पांच वर्षलाइ निब्र्याजी दिने भनेर कतै टांसिरहेको रहेछ । लौ पांचवर्षमा त केही होला नी पुरानोको साटो नयां नै लैजाउं ब्याज त तिर्नुपर्दैन भनेर मासिक लोन तिर्ने सर्तमा २०००० डलर पर्ने गाडी लिएर आयौं । भोलीदेखि जागिरे त काममा जानु परिहाल्यो, म बेरोजगार भने दिनभरी थपिएको ऋणलाइ नेपालीमा हिसाब गर्दै तर्सिदै गर्न थालें ।

खोलामा पानी बगेजस्तो समय बगिरहयो, हामीपनि बग्दै गयौं । बग्दाबग्दै कहिले र कुन जागिरमा कता ठोकियौं उतै अडकियौं । साथमा स्याट्र्न भएकोले डरपनि भएन । समय परिवर्तन भयो, हामीपनि भयौं । दुइबाट तीन भयौं, जिम्मेबारी थपियो । तीनबाट चार भयौं । झन धेरै ब्यस्त भइयो । जन्मिएको दोस्रो दिनदेखि त्यही गाडीमा चढेर छोराछोरी घर आए । त्यसपछि त उनिहरुलाइ डाक्टरकोमा लान परेनि, घुमाउन लान परे नी त्यही कार । साच्चै भन्दा परिवारको सदस्यजस्तै लाग्न थाल्यो स्याट्र्न । एकदिन बुढाले “विजुलीबाट चल्ने कार निस्केको छ रे बुढी ! मान्छेले कुदाउनु नै पर्र्दैन रे, आफै कुदछ रे !” भन्दा हं...के नचाहिने कुरा गर्या ? मान्छेले नकुदाउने गाडीमापनि कतै चढछन् ? कहां न कहां लगेर लडाइदियो भनेनी ? म त पाएपनि चडदिन ! आयुभरी त बांच्नुपर्छ है बुढा ! फतफताइरहें एकछिन ।

पहिलोपल्ट सुन्दा त्यति पत्यार लागेको थिएन । केही वर्षपछिदेखि त विजुलीबाट चल्ने गाडीका कुरा बाक्लै सुनिन थाले । ओबामा सरकारको बेलामा वातावरण सन्तुलन राख्न हावा र घामबाट विजुली निकाल्न प्रोत्साहन गर्दा हामीलेपनि घरको छानामाथि सोलर प्यानल ओछ्या्यौं, आफूलाइ चाहिंदा प्रयोग गर्ने नचाहिदा बिजुली बेच्ने सर्तमा । सोलर प्यानलले तुरुन्तै बिजुली उत्पादन सुरु गरेकाले विजुलीको तिर्नुपर्ने शुल्कपनि थोरै थोरै गरेर घटन थाल्यो । सायद त्यहिबेलादेखि नै ओबामा सरकारले टेस्लालाइपनि प्रोत्साहन गरेको हुनुपर्छ । बाटामा फाटटफुटट टेस्ला देखिन थाल्यो । घरमा अर्को गाडी भएपनि हामीलाइ स्याट्र्रनले छोडेको थिएन । जन्मेदेखि छोराछोरीलाइ अस्पतालबाट त्यही गाडीमा राखेर घर ल्याएको र उनिहरु टुकुटुकु हिडन थालेदेखि स्कूल जाने बेलासम्मपनि त्यही गाडीले बोकेको हुनालेपनि हाम्रो दुखसुखको साथी स्याट्र्नसंग भाबनात्मक नाता जोडिएको हुनुपर्छ । स्याट्र्नलाइ बेच्ने कुरा नै भएन । जागिरका दौडाहामा निस्कंदा उसैको भरमा हामी कहिले आयोवा, कहिले क्यान्सस, कहिले पेन्सिलभानिया त कहिले नेब्रास्का गर्दै नर्थ क्यारोलाइनासम्म आइपुगिसकेका थियौं । बुवाको काले गोरुजस्तै थियो स्याट्र्रन हामीलाइ ।

टेस्लाले डा्र्रइभरलेस कार बनाएर कुदायो रे ! न्युजमा आयो । नयां कामहरु प्राय अमेरिकाको सुदुर पश्चिम राज्य क्यालिफोर्नियाबाटै सुनिन्छ । हं... कसरी गुडयो होला ड्र्राइभर बिना नै गाडी ! छक्क परें मपनि । हुन त प्रविधिले धेरैपल्ट मुर्ख बनाइसक्यो मलाइ, यो कुरा नयां थिएन तर गाडी आफै गुडनु भनेको चानचुने कुरापनि होइन नी ! हं ..कस्तो छ त हेरौं न ! भन्नपनि थालें । टेस्ला कतैकतै दुर्घटनामा परेको खबरपनि सुन्नमापनि आयो । त्यसले टेस्लासंग बढेको मोह फेरी घटाएर ल्यायो । हुन त मान्छेले बनाएको कुरा सबै एकैचोटी ठीक भए कसरी विकास हुन्थ्यो होला र ! आफुले गरेको विग्रेर केही हुदैन तर अरुले गरेको चाहिं एकैपल्टमा सप्रिनुपर्छ भन्ने मानविय स्वभाब भएरपनि होला केही नराम्रो कुरा सुन्नेवित्तिकै टेस्लासंग बढेको मोहको पारो घटेर तल पुगिहाल्थ्यो ।

टेस्ला कम्पनीले पहिलाका कमी कमजोरी हटाएर चलाउन योग्य टेस्ला बनायो र किन्नलाइ प्रोत्साहन गर्न थाल्यो । वातावरण जोगाउन सहयोग गर्ने सरकारी नितिले गर्दापनि टेस्लाले प्राथमिकता पाएको हुनुपर्छ टेस्लाले बजार लिन थाल्यो । टेस्ला किने वापत राज्यले थोरै सहुलियतपनि दिने कुरा बाहिर आएकोले मान्छेहरु टेस्लाको अनलाइ कम्पनीमा आंखा दौडाउन थाले । डिलरसंग कुरा गर्न नपर्ने, सिधै कम्पनीसंगै कुरा गरेर किन्न पाइने कुरा थाहा भएकोले बुढाले त्यसको निकै खोजिनिति गरे । म भने अझै किनिहाल्ने र त्यो गाडी ? भन्ने पक्षमै थिएं धेरै समय नढांटीभन्दा । टेस्ला दौडिएका भिडियोहरु दिनका दिन हेर्न थालियो । एउटा भिडियोमा कारलाइ बोलाउंदा आएको देखेर अचम्म लाग्यो । बोलाउने भाषा मात्र फरक, मान्छेलाइ बोलाएजस्तो गाडीलाइ बोलाउदा खुरुक्क गाडिमालिक भएको ठाउंमा आएको आंखैले देखें । अचम्म होइन ? बिस्वास लागेन, त्यो भिढियोलाइ दोहोरयाइ तेहेरयाइ हेरें । पुराना त किन्नै नपाइने रहेछ । मान्छेले टेस्ला किनेपछि बेचेकै छैनन ! फेरी बुढाले भने । भनेपछि पक्कापनि गतिलै हुनुपर्छ, लौ किनौं त भनेर अनलाइन हेरियो र कालोरंगको टेस्ला किन्ने कुरा पक्का भयो । किनेपछि त चांडै हातमा परे हुने नी ! पल्लैछेउबाट आउनु पर्ने एकहप्ता लगाउंछ रे कालेले आउनलाइ । एकहप्ता पछि लौ आयो भनेकाले ह्रालीमा लिन गयौं । सोरुममा कालेसंगै अरु सेते, रातेपनि थिए । लेनदेनका कागजी कुराहरुपनि एकछिनमा मिलिहाले ।

ल टेस्ट ड्राइभमा जा भनेर टेस्ला स्टाफले सांचो दिएको त एउटा कार्ड पो दिन्छे । हं... कतै उ झुकिएकी त होइन ? सांचो हो यो? भनेकी मात्र थिएं, हांस्दै हो, ढोकामा छुवा त यसलाइ ! भनी । क्रेडिट कार्ड मेसिनमा छुवाएजस्तो त्यो कार्ड ढोकामा छुवाउंने वित्तिकै लौ गाडी त खुल्यो । कता हो स्टार्ट गर्ने भनेर पल्याकपुलुक हेरंको त अघि ढोका खोल्दा स्टार्टपनि भइसक्यो अरे, स्टाफले भनेकी । अरु गाडीको जस्तो

घ्यारघुर्र केही आवाज आएन । स्र्टाट भएको भए आवाज आउनुपर्ने नी ! स्टार्ट भएको संकेत बाहिर कतैपनि देखिदैन । ढोका खोलेर भित्र हेर्दा एउटा ल्यापटप रहेछ । कता छ त यसको दिमाग ! भन्दै छामछुम गर्दा कतै भेटिएन । त्यही ल्यापटमा सबैकुरा, स्टाफले फेरी भनी ।

को ड्राइभ गर्ने भन्दै उ अर्को पटिको सीटमा गएर बसी । मलाइ आंट आएन, केटाकेटीसंग पछाडि गएर बसें । बुढाले टेस्लालाइ बिस्तारै बाहिर निकाले । यो थिच, उ थिच भन्दै उसले गाइड गरी । डिलरको स्टाफले जता भन्यो हामी उतै गयौं । एकैछिनमा स्पीड लिमिट सेट गरी एउटा डल्लो थिच्न लगाइ । त्यसको नाम अटोड्राइभ अरे । अटोड्राइभमा राख्नु भनेको गाडीले अगाडि गाडीको स्पीड लिमिट हेरेर सेट गरेका स्पीडमा गाडी कुदाउनु रहेछ । फेरी अर्को डल्लो थिच्न लगाइ र “एकछिन स्टेरिंग नछो त” भनी । त्यो अटोस्टेयर अरे । अटोड्राइभ र अटोस्टेयरमा गाडी सेट गरेपछि बाटाका छेउकुना सबै हेरेर गाडीले आफनो गति लिनुरहेछ । अचम्ममै पर्दै हामी गइराख्यौं । आफनै शुरमा गइराखेकोबेला गाडी पुक्क करायो, ड्राइभर निदाएको छ कि छैन जांचेको अरे त्यो । पुक्क कराउनेवित्तिकै स्टेरिंगमा छोइदियो भने उसले आफनै सुरमा पेसिन्जरलाइ लैजांन्छ अरे छोएन भने अटोस्टेयर आफै बन्द हुन्छ रे । त्यो यात्राभरी अटोस्टेयरमा राख्न दिदैन रे, मात्र अटोड्राइभमा राखेर लैजान्छ रे । टेस्लाका नयां कुरा उसले थप्दै गइ । बिस्तारै गइराखेको बेला अगाडिको गाडीले ब्रेक लगायो । कालेले तुरुन्तै आफनो स्पीड घटायो । अगाडिको गाडीले स्पीड बढाएपछि फेरी उसलेपनि बिस्तारै आफनो स्पीड बढायो तर आफू अगाडिको गाडीको स्पीड लिमिट हेरेर । कालेको ताल देखेर हामी सबै छक्क पयौं । स्टाफले अब खाली लेनमा लैजा त ! भनी । लेन चेन्ज गर्नसाथ कालेले तुरुन्तै स्पीड बढाएर सेट गरेका लिमिटमै पुरयायो । स्पीड लिमिट अचानक बढदा हुत्त हुत्याएजस्तो लाग्यो । ए... यो के गर्छ भन्नुजस्तो भयो मनमा, भित्र कताकता चिसोपनि भयो तर मान्छेलेभन्दा राम्ररी चलाएको छ उसले के गुनासो गर्नु र !

प्रविधिको विकासले कहांसम्म लैजाला त मलाइ ! वाल्ल परिरहें टेस्लाको काम देखेर । केटाकेटी नयां गाडी त्योपनि बिजुलीबाट चल्नेभित्र बस्न पाउंदा सानामा हामीलाइ दशै आएजस्तै खुशी भएका छन । घरी मलाइ हेरेर कस्तो लाग्यो त मामु ! भन्छन त घरी ल्यापटपमा देखिने टेस्लाको मेन्यु हेरेर ए... योपनि रहेछ, त्योपनि रहेछ भन्छन । उनिहरु टेस्लालाइ फाटटफुटट बाटामा देख्तै दंग पर्थे । भाइ त झन राम्रो गाडी देखे फोटो खिच्नपनि पछि पर्दैनथ्यो । आज आफनै घरमा जाने गाडी देखेर झन कति दंग छन कति । अचम्ममा पर्दापर्दै हामी फर्किएर फेरी डिलरमा आइपुग्यौं । कस्तो लाग्यो त ? गाडीबाट उत्रिएपछि स्टाफको प्रश्न ! सबै नयां कुराको अनुभब भैराछ । के भन्नु खै, हासेंमात्र ।

बाटामा मात्र देखिएको टेस्ला काले घरै आयो । उहिले बुवाले किनेर ल्याएको लैनो गाइ अथवा भैंसीजस्तै भयो टेस्ला घरमा आएको केही समय । अरु के के नयां छ त ? सबैको खोजीको विषय भयो । टेस्लालाइमात्र सुम्सुम्याएको देखेर पर्तिर बसेको टोयोटा क्याम्रीले आंखा तरेझैं लाग्छपनि बेलाबेला । एकछिनमा हामी सबै रोडट्र्रिप लागि निस्कियौं । यो पल्टको ड्राइभर म आफै थिएं । सीटमा बस्नेवित्तिकै दाहिने हात

क्याम्रीमाजस्तै आर र डी मोड खोज्न तानियो तर तानियोमात्र । ति सबै मोडहरु स्टेरिंगमै रहेछन, मात्र कुन मोडमा जाने हो विचार गरेर माथि सार्नु वा तल झार्नु पर्नेरहेछ । केहीबेर अल्मलिएपछि पत्ता लाएं र टेस्लालाइ लिएर निस्किएं । अलिअलि फरक लाग्दै थियो । जब ड्राइभिंगलाइ अटोपाइलटमा राखें त्यसपछि चाहिं आफुले चलाइरहेको गाडीको तुलनामा धेरै नै फरक लाग्यो । ड्र्राइभरको सिटमा बसिराछु मात्र, स्टेरिंगलाइ छुनेभन्दाबढि काम केही गरेको छैन । बरु खुट्टो कसरी राखुं भन्ने चिन्ता पो धेरै भयो । न ब्रेक लाउनु पर्ने आफूले न त स्पीड घटाउनु तथा बढाउनु पर्ने नै । अझ अटोस्टेयर थिचेपछि त छेउकुनाका घुमाउरा बाटा सबै मिलाएर लग्यो । १५, २० मिनेटपछि हामी हाइवेमा छिर्यौं । दायां वायां अगाडि पछाडि सबै विचार गरेर हाइबेमा केही माइल लग्यो हामीलाइ । रेडलाइटमाचाहिं रोक्दैन यसले ? प्रश्न बुढातिर फालें । “रोक्छ किन नरोक्नु तर यतिमै होइन, ५, ६ हजार थप्नु पर्छ । त्यसपछि त गाडीलाइ बोलाउनपनि मिल्छ !” थप्न पर्ने अरे ?त्यसो भा ता ठीकै छ भने मनमनमा तर बोलिन । यतिकैमा घर आइपुगियो । फोनको चार्ज घटेजस्तो उसकोपनि चार्ज घटदोरहेछ । चार्जमा राखेपछि तुरुन्तै बढयो । कम्प्युटर, टिभी, रेडियो चार्ज गरेकी थिएं पहिला । विस्तारै फोनलाइ चार्जमा राख्न थालें । त्यसपछि घडी थपियो । अहिले त गाडी नै थपियो । गाडी नै थपिंदाचाहिं प्रविधिले साह्रै ठुलो फडको मारेजस्तो लाग्यो । विश्वास नगरौं भने भर्खर केही माइल कुदाएर आएं । टाढा यात्रामा जांदा चार्ज सकिएर थला नबोसोस भनेर ठाउंठाउंमा चार्जिगं स्टेसनहरु राखिदिएका रहेछन । कहां जाने र कुन ठाउंको नजिकै कुन चार्जिगं स्टेसन छ उ आफैले देखाइदिदों रहेछ, त्यो पनि समस्या भएन । चार्ज हुनलाइ धेरैबेर पर्खनपनि नपर्ने । चार्जिगं कस्टपनि ग्यासको तुलनामा कता को कता कम ! खासा नै भएन त ? घर आएपछि अगाडिको ट्र्ंक खोलेर हेरें । केहीपनि रहेनछ । उहिले लुमिनाकोजस्तो कुलियन्ट हालेको ठाउंमा त तरकारीका झोला पो बस्छन अरे । अचम्म होइन ! अगाडिको त्यत्रा पार्टपुर्जाको काम टेस्लामा सबै एउटा सानो कम्प्युटरले गर्दाेरहेछ । हुन त मान्छे जत्रोसुकै भयंकर भएपनि टाउको त सानै हुन्छ नी हैन र ? अनि त्यही टाउकोभित्रको गुदी होइन र मान्छेलाइ उठबस गराउने ?

घरमा आएपछि प्रविधिले केसम्म बनाउला त ? गम खान थालें । अब उडने र गुडनेपनि एउटै भएको बनाए हुन्थ्यो नी हगी ? त्यस्तो पाए त भिडभाड देख्यो कि पखेटा उचाली हाल्यो । त्यसो त अगाडि पछाडिका गाडीका ताल देखेर बढेको ड्रइभरको रिसको पारो सधैं घटेको घटेइ हुने थियो कि ? सोच्दासोच्दै म अझै पर पुगेंछु । सनिबार आइतबार दुबै दिन लाग्दापनि पुरै घर सफा गर्न सकिदैन । बरु प्रविधिले बस्ने घरपनि विजुलीबाटै चल्ने बनाएर सफा गर्न थिच्ने डल्लै डल्ला झुन्ड्याइदिए कसो होला ?

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

लेखकका अन्य रचनाहरु