खुसीयाली

- रवीन्द्र तिमसेना

शिक्षित परिवार भएको हुँदा कमलाले छोरी जन्माउँदा परिवारमा उल्लास छायो । पहिलो नातिनी पाएपछि कमलाका बाजेबज्यै मख्ख परे । सबेरै उठ्ने, सबैलाई श्रद्धा र आदर गर्ने अनि मिठो बोल्ने उसको बानीले सबैको मन जितेको थियो । बिहान घरधन्दा सकेर मन्दिर जाने अनि बेलुकी बेलुकी रामायण पाठ गर्ने बानीले उसमा भएको आध्यात्मिक भावना स्पष्ट रूपमा प्रतिविम्बित हुन्थ्यो । गाउँका सबै जना आफ्ना छोरीबुहारीलाई कमलाजस्तै बन्नुपर्छ भनी सम्झाउँथे । समाजमा अनुकरणीय बनेकी थिई कमला ।
नातिनी पाएकोे कुरा सुनाउन बाजे गाउँतिर लागे । भतिजी पाएको खुसीयालीमा कमलाको देवर इष्टमित्रलाई फोन गर्न थाल्यो । बज्यैले सुत्केरीलाई स्याहारसुसार सकेर आफ्ना विवाहित छोरीहरूलाई पनि डाकिन् । नन्द–अमजू पनि खुसी भए । वातावरण नै उल्लासमय हुँदा कमलाकोे पति दले भने खुसी थिएन । ऊ रक्सी खाएर जे पायो त्यही भन्दै हिँडेको थियो । बेला चिन्न नजान्ने मान्छे भन्दै सबैले दलेलाई छोराछोरी समान् हुन् भनेर सम्झाउन लागे । बाबु बनेको खुसीयाली बाँड्न सबैले कर गरेपछि दलेले बाकसबाट एउटा कागज निकालेर उनीहरूलाई दियो । त्यो पढेर सबै जनाले जिब्रो काढ्दै मुखामुख गरे ।
१७ महिना अघि मोटरसाइकल दुर्घटनामा परेको दलेलाई अप्रेसनपछि ऊ जीवनभर बाबु बन्न सक्दैन भनेर डाक्टरले भनेका रहेछन् । त्यो कागज अस्पतालको प्रयोगशालाले दिएको त्यही निसानी थियो !

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

लेखकका अन्य रचनाहरु