रुन्टीगढीमा रमाउँदै

- प्रा. डा. कपिल लामिछाने

बिहान झिसमिसेमै हामी बसमा चढ्यौँ । लोकवार्ता बस । गन्तव्य थियो, रुन्टीगढीको । कार्तिक ५ गते हामी माडी गापाको घर्ती गाउँमा आयोजित सांस्कृतिक कार्यक्रममा रमाई साँझ कोही सिद्धार्थ होटेलमा, कोही आरडी होटेलमा, कोही माडी होटेलमा र हामी एकान्त होटेलमा बास बस्न पुगेका थियौँ । हामी अर्थात् म, चूडामणि बन्धु, विजय सागर, कुलराज निरौला र भक्त राई आदि ।
हिजो घर्ती गाउँको लोकसंस्कृतिमा रमाए पनि आज ६ गते रुन्टीगढीका लागि झिसमिसेमै प्रस्थान गर्नु थियो । होलेरीको कार्यक्रममा पुग्नै थियो । मन थिएन छोड्न । नहिँडी धर पनि थिएन । आखिर बिहानै घर्ती गाउँबाट टाँटाँटुँटुँ र घ्यार्रघुर्र गर्दै बस गुडे । एउटा बसमा रोल्पाबाहिरबाट आएकाहरूको बाहुल्य र अर्को बसमा रोल्पालीको बाहुल्य । यो आयोजकले मिलाएको व्यवस्था । त्यसो त हामी कहाँ व्यवस्थावादी हौँ र ? प्रवीण पुमा घरि वल्लो र घरि पल्लो गाडी गरिरहनु भयो । यसो गर्ने वहाँ एक्लो भने होइन । रामप्रिया र श्रीमायाको मन पनि दुवैतिर दौडिरहेको हुन्थ्यो । शिव र नारायण पनि गीतका बीचबीचमा बेलाबेला ‘नारायण !’ भन्दै उफ्रिरहनु हुन्थ्यो । गाडीमै धनेश्वर नेपाल, नारायण बेलबासे आदि एकातिर तथा गायत्री पराजुली, रामप्रिया र श्रीमाया अर्कातिर भएर दोहोरी खुब जम्यो । लक्ष्मी पनि साथ दिन पछि पर्नु भएन । तिखुले स्वर । दिव्येश्वरीले दाँतै मात्र देखाउनु भयो क्यार । राजेन्द्र, दामु, तेज, बद्री पनि दोहोरीमा झुम्मिइरहनु भयो । वीरबहादुर महतोलाई पनि लोकगीतमा गढेर रमाएको देखेँ । म त नाचगानदेखि जन्मैदेखि टाढा । सुन्न हेर्न मात्र ठिक्क । गाडी हाम्रो लागि एउटा गुड्दो स्टेज पो भयो । चूडामणि रेग्मीको नेतृत्वमा मेची महाकाली यात्रा गर्दा हामी बसमा यसैगरी घन्टौँसम्म पालैपालो गीत, कविता सुनाउँथ्यौँ । त्यो सम्झना आइरह्यो बाटाभरि ।
गाडी माडी गापाको घर्ती गाउँबाट हान्निम, मिनाही, दारबोट, तिला आदि हुँदै घुमाउरा पहाडी बाटाहरू छिचल्दै त्रिवेणी गापाको नुवागाउँमा रहेको अरनिको माविको प्रवेशद्वारमा पुगेर टक्क अडियो । हालको मुकाम यही हो । हामी झ¥यौँ । औपचारिक कार्यक्रम र कार्यपत्रको प्रस्तुति बाहेक माविको प्राङ्गणमा पैसारु नाच, मयुर नाच, साहिँला बरै गीत र नृत्यको प्रस्तुति भयो । ग्रामीण भेकमा अझै जीवन्त रहेछन् लोकभाकाहरू, लोकनाचहरू, लोकनाटकहरू । सहरबजारमा त कठै उही पुराना घिसेपिसे रेकर्डहरू मात्र कर्कराउँछन् । बर्बराउँछन् । मनमुटु थर्थराउँछन् ।
अरनिको माविमा मोतीलाल पराजुली सरले २०३५ तिर केही समय अध्यापन गर्नु भएको रहेछ । त्यति बेला अति दुर्गम ठाउँ यो । वहाँले रमाइलो पूर्वस्मृति सुनाउँदा हामी पनि भावुक भयौँ । प्राचीनताप्रति हाम्रो कत्रो मोह छ ! अहिले त विद्यालयले काँचुली फेरेको रहेछ ।
खाना खाएपछि हाम्रा गाडीहरूले पुनः घुमाउरा बाटाहरू समाते । दोहोरी पुनः जम्यो । उकालो ओरालो अनि फेरि उकालो । बाटो भन्नु पनि जीवन नै रहेछ । कहाँ पुग्छ ठेगान छैन । के हुन्छ ठेगान छैन । फेरि पनि कुदेको छ–छ । बाटोमै पर्ने दहवनमा रहेको ताराखसेको अवलोकन ग¥यौँ । दुईतीन ठाउँमा बडाबडा खाल्डा रहेछन्, जहाँ कुनै बेला तारा खसेको विश्वास गरिँदो रहेछ । नुवागाउँमा गर्मी महसुस भएको थियो भने यहाँ हुस्सुले छोपेको थियो र चिसोले गर्दा कान छोप्नु परेको थियो । स्थानीय बासीले पुष्पगुच्छाबाट हामीलाई बाटामै स्वागत सत्कार गरे । लोकवार्ताका अध्येताप्रति लोकको माया र आदर देखेर हामी द्रवीभूत भयौँ ।
रुन्टीगढी पुग्यौँ करिब तीन बज्दा । रुन्टीगढीको पूर्वतर्फ रोल्पाकै सुनील स्मृति गापा र प्युठान जिल्ला, पश्चिममा सल्यान, दक्षिण दाङ र उत्तरपूर्व रोल्पा जिल्लाकै रोल्पा नपा र त्रिवेणी गापासँग सिमाना जोडिएको रहेछ । यसले कुल क्षेत्रफल २३२.६९ वर्ग किमि ओगटेको रहेछ । २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २७९२९ रहेछ । थोरै मगर भाषी र बहुसङ्ख्यक नेपाली भाषी रहेछन् । बसबाट सामान्यतया दाङ घोराही, स्वर्गद्वारी, कपुरकोट (सल्यान) बाट एकडेढ घन्टामा र रोल्पाको लिवाङबाट तीन घन्टामा रुन्टीगढीको होेलेरी पुग्न सकिँदो रहेछ । यस हिसाबले टाढा होइन रहेछ यो ठाउँ । प्रचार नपुगेको रहेछ । ध्यान नपुगेको पो रहेछ ।
होलेरी बजार पुग्दा सायद तीन बजिसकेको थियो । बजारमै छोटकरीमा स्वागत कार्यक्रम भयो । केही मन्तव्य भए । केही सांस्कृतिक प्रस्तुति भए । अनि साँझपख होटेल जलजलाको सभाकक्षमा केही कार्यपत्र प्रस्तुत भए ।
नारायण बेलबासेले कुसुन्डा बारे कार्यपत्र प्रस्तुत गर्दा लालबहादुर शाही (कुसुन्डा) लाई नगरपालिकाले त्यहीँ ल्याइपु¥याएको थियो । उनकी पत्नी र छोरी पनि त्यहीँ थिए । राजा, रानी र राजकुमारी पो भन्नुपर्दो रहेछ । लोपोन्मुख जाति, लोपोन्मुख भाषा कुसुन्डाका वक्ता । यसका अध्येता पनि त्यहीँ । चूडामणि बन्धु कुसुन्डा भाषाका अध्येता । अरू पनि यसका अध्येता ज्ञाता विज्ञ । हो यो यस्तो संयोगको खोजीमै हो हामी निक्लेको । यसले हाम्रो यात्रालाई सफलीभूत र उपलब्धिपूर्ण बनाइदियो । त्यहीँ कुसुन्डा लालबहादुर शाही र उनका परिवारको स्वागत र सम्मान गरियो । पुरस्कृत गरियो । फोटाहरू खिचिए ।
कार्यक्रमपश्चात् महिला मण्डली र अरू कतिको बसाइ त्यहीँ होटेल जलजलामा भयो । हामी केहीको होटेल सिम्रनमा । रोल्पालीको सायद होटेल मुकुटमा । होटेल सिम्रनमा पर्नेमा चूडामणि बन्धु, तेजप्रकाश श्रेष्ठ, भक्त राई, विजय सागर, ध्रुव भट्टराई, मधुसूदन गिरी, शिवप्रसाद पौड्याल, ध्रुव घिमिरे, बद्री शर्मा बिनाडी, र म थियौँ । सुत्नुअघि जलजलामा के भो था भएन । सिम्रनमा स्मरणीय कार्य भयो । स्वान्तःसुखाय जलाजल कार्यक्रम भयो । खुलेर अन्तक्र्रिया भयो । इतिहास कायम भयो भन्दा अति होला । जे होस् केही भयो ।
रोल्पाको दक्षिणी भेकमा अवस्थित होलेरीले एउटा इतिहास बोकेको छ । यही रोल्पाबाट माओवादी जनयुद्धको घोषणा भएको थियो । जनयुद्धको उद्गमस्थल हो यो । युद्धले पीडा दियो होला, परिवर्तनका लागि दरो दबाब पनि त दियो । युद्धप्रति सधैँ घृणा पाल्नु उचित छैन । परिणाम हेरेर त्यसप्रति गौरव गर्न पनि सक्नु पर्छ भन्ठान्छु । ऐतिहासिक ठाउँमा पुग्दा गौरवको अनुभूति भइरह्यो । सहयात्रीहरू पुलकित भइरहे ।
साविकका रुन्टी र गढीलाई मिलाएर रुन्टीगढी गाउँपालिका बनाइएको रहेछ । गाउँपालिकाका अध्यक्ष बालाराम बुढा सक्रिय हुनुहुँदो रहेछ । रमाइलो तर गम्भीर मान्छे । विकासप्रति चिन्तनशील ।
हामी लोक खोज्दै लोकमा पुगेका हौँ । लोक खोज्दै जाँदा लेक गढीलेकमा आइपुगेका छौँ । हामीलाई लोकका विधिव्यवहार, लवाइखवाइ, चालचलन, प्रथा, लोकसंस्कृतिलाई नजिकबाट बुझ्नु र खोज्नु थियो । पोखराबाट थालिएको यस्तो अभियान भैरहवा, धनगढी, महेन्द्रनगर, डडेलधुरा, डोटी, बैतडी, अछाम, सल्यान, सुर्खेत, दुल्लु, दैलेख, इलाम, पाँचथर, ताप्लेजुङ, लुम्बिनी, कपिलवस्तु, बुटवल, त्रिवेणी, रामग्राम, नवलपरासी भोजपुर, धरान आदि विशिष्ट महŒवका स्थान हुँदे यतिखेर रोल्पा र प्युठानको स्वर्गद्वारीसम्मको लक्ष्य लिएका छौँ । आँटेपछि लक्ष्यप्राप्ति त हुन्छहुन्छ ।
पोखराबाट अभियान आरम्भ गर्दा कुसुमाकर न्यौपानेले नेतृत्व गर्नुभएको थियो । वहाँलाई यसको कोलम्बस भन्दा पनि हुन्छ । भैरहवामा म थिएँ । त्यसपछि क्रमशः जयराज पन्त, मधुसूदन गिरी, कुलराज निरौला, विक्रममणि त्रिपाठी, ध्रुव भट्टराई, शिवप्रसाद पौड्याल, भक्त राई र अहिले त्यस जिम्मेवारीमा बमकुमारी बुढा हुनुहुन्छ । बमकुमारी बुढाको संयोजकत्वमा हामी लोक लोक घोक्दै, लोकलाई प्रत्यक्षतः बुझ्न खोज्दै उकाली ओराली गरिरहेछौँ । अहिले हामीलाई रोल्पाले रल्याइरहेको छ । हामी रोल्पाली लोक अध्ययन गर्दै छौँ ।
कार्तिक ७ गतेको उदाउँदो सूर्य होलेरीको माथामा रहेको गढीलेकबाट हेर्नु थियो । बिहान ५ बज्दा नबज्दै हामी होटेलबाट निस्किसकेका थियौँ । कोही पहिल्यै पैदलै उकालो चढेछन् । हामी भने नगरपालिकाले बन्दोवस्त गरेका जीपबाट अलिक माथि फेदीसम्म गयौँ । अनि सुरु भयो, पैदल मार्च । होलेरी बजारबाट झन्डै एक किमि उकालै उकालो चढ्नु पर्दो रहेछ । उकालो नचढी को पो माथि पुग्छ र !
विजय सागर त्यहीँ फेदीमै अडिनुभयो । स्वास्थ्यका कारणले ठाडै उकालो चढ्न नमिल्ने । एकजना विदेशी महिला पनि त्यहीँ अडिनुभयो । हामी गढीतर्फ उक्लियौँ । गढीलेक रोल्पाका लेकहरूमध्ये सबैभन्दा अग्लो लेक रहेछ । समुद्री सतहदेखि करिब २२०० मिटर अग्लो । अग्लो ठाउँबाट धेरै ठाउँ देखिने नै भयो । भएन त्यसमाथि ५६ मिटर अग्लो टावर बनाइएको रहेछ ।
लेकका वृक्ष, वनस्पति संरक्षित रहेछन् । ठाउँठाउँमा थरीथरीका जडीबुटी पनि देखिँदै थिए । केही वनफूल मुन्टो हल्लाईहल्लाई हामीलाई स्वागत गर्दै थिए । थरीथरीका वनफूल । एकाध बाहेक सबै नौला मेरा लागि, हाम्रा लागि ।
गढी पुग्यौँ । होलेरीको शिर रहेछ गढी । होटेलको बेराले लगाएको सेतो बेराटोपी झैँ देखिँदो रहेछ गढीको सेतो टावर । प्राकृतिक सौन्दर्यको भण्डार गढी लेक । ऐतिहासिक तथ्य र प्रमाण बोकेको गढी । सांस्कृतिक विश्वास सँगालेको गढी ।
गढी घुम्दा थाहा भयो । त्यहाँ अठारौँ शताब्दीमा दुस्मनबाट बच्न गढी खडा गरिएको रहेछ । धेरै भूभाग देखिने र सामरिक दृष्टिले सुरक्षित देखेर सल्यानी राजा रुद्रवीर शाही र उनको परिवारले यहाँ गढी बनाई बसेको भनाइ रहेछ । गढीमा लुकेर दुस्मनलाई प्रहार गर्न मिल्ने गरी बनाइएको १२ सुरे किल्ला रहेछ । केही सगुलै, केही भत्केका र संंरक्षणको पर्खाइमा रहेका सुर ।
रुन्टीमा जन्मेका नारायण गिरीले रुन्टीमा अपहेलना सहन गर्न नसकी यही ठाउँमा आई आरम्भिक तपस्या गरेका रहेछन् । उनै नारायण हंंसानन्द गिरीबाट दीक्षित भएपछि अभयानन्द (द्वितीय) भएका हुन् । तिनैले स्वर्गद्वारी आश्रमको स्थापना गरे र महाप्रभु बालतपसीका नामले प्रसिद्ध भए । गढीमा शिवमन्दिंर र गणेश मन्दिर बनाइएका रहेछन् । हामीले पनि दर्शन ग¥यौँ ।
गढी प्रकृतिले दिएको र इतिहासले बनाएको मात्र होइन । त्यसलाई सिँगार्न केही भौतिक संरचना पनि बनेका रहेछन् । त्यस्तो विकटमा पनि हालसालै गढीसम्म पुग्ने बाटो बनाइएको रहेछ । टाढाटाढा र धेरै ठाउँ देख्न हेर्न अर्थात् दृश्यावलोकनका गर्न गढीको टाउकैमा ५६ फिट अग्लो भ्यु टावर बनाइएको रहेछ ।
हामी भ्यु टावर चढ्यौँ । जहाँबाट केही हिमाल र विशाल भूभाग हेर्न सकिँदो रहेछ । सिस्ने हिमाल देख्यौँ–चिन्यौँ । माछापुच्छे्र, धौलागिरी र अन्नपूर्ण हिमाल मैले जन्मेदेखि नै देखेका । छर्लङ्गै देख्यौँ । पुठा हिमाल, मुकुट हिमाल साथीहरूले चिनाउनु भयो । राजेन्द्र आचार्यले औँलाले देखाई–देखाई बताउनु भयो । पाथीभरा हिमाल, नीलगिरी, मनासुलु, चुरेन हिमाल । हिमालमात्र होइन, टाढाटाढासम्म बडाबडा पहाड देखिँदा रहेछन् । तराईका दाङ, बाँके, बर्दिया आदि जिल्लाका हरियालीयुक्त समथर भूभाग पनि देखिँदा रहेछन् । अलिअलि हुस्सुले ढाकेको भए पनि पातलो हुस्सुको पर्दा च्यातेर घाम झुल्केकै थिए । हाम्रो मन चङ्गा भएर उड्न खोज्दै थियो । एउटै भ्यु टावरबाट यतिका दृश्यको अवलोकन । कति रमाइलो गढी । गढीको लेक सखीको लेकको एक अंश रहेछ । रमाइलो अंश रहेछ । गढीको उत्तर पूर्वमा रुन्टी पौवाको भग्नावशेष पनि देखिँदो रहेछ ।
भ्यु टावरमा सबै एकै पटक चढिएन । अघिपछि भयौँ । हामी चढ्दा चूडामाथि वन्धु, राजेन्द्र आचार्य, प्रवीण पुमा, ध्रुव भट्टराई, कान्छी महर्जन, बद्री शर्मा बिनाडी, र म थियौँ । अरू रोल्पाली साथीहरू पनि हुनुहुन्थ्यो । गढी हेरिसकेपछि त्यहाँ रहेका कुटी हेरी हामी गाडी गुडी ओरालो लाग्यौँ ।
गुफा पनि हे¥यौँ । रुन्टीगढी गापा वडा नं ७ गैरामा अवस्थित गुफा हेर्न लायकको रहेछ । हामी गढीलेकबाट फर्केर सोझै त्यहीँ पुग्यौँ । गुफाभित्र देवीदेवताका अनेक आकृति प्राकृतिक रूपमै बनेका रहेछन् । विशेषतः शिव र पार्वतीका विभिन्न अङ्ग–प्रत्यङ्ग र आकृति भेटिन्छन् गुफाभित्र । गजबका कलात्मक आकृति । होलेरीबाट नजिकै पर्ने त्यस गुफाको नाम शिव पार्वती गुफा राखिएको रहेछ । पोखरा लगायतका विभिन्न स्थानमा यस्ता गुफा छन् । सुन्दर र सूक्ष्म कलात्मक आकृतिहरू पाइनु यस गुफाको विशेषता हो । त्यो पनि सघन रूपमा । गुफासम्म पुग्न बाटो बनेको छ । गुफा बाहिर उद्यान, छ, मूलको पानी छ । शौचालय छ । ठूलो छानो (सेड) बनाइएको छ । वनभोज वा यस्तै अन्य कार्यक्रम समेत गर्न मिल्ने गरी भौतिक पूर्वाधारको विकास भइरहेको छ । होलेरी पुगेर पनि जसले गुफा हेरेन ऊ ठूलो प्राकृतिक कलाबाट वञ्चित भयो भन्ने बुझे हुन्छ ।
२०६८ सालमा मात्र जानकारीमा आएकाले यस हिसाबले यो कान्छो गुफा हो । दसएघार वर्षका तिलक विक र भरत पुन २०६८ सालमा चरा खोज्दै जाने क्रममा गुफा देखेछन् । घरगाउँमा भनेछन् अनि बल्ल यसको खोजी र संरक्षण थालिएको रहेछ । गुफा ३५ मिटरसम्म फैलिएको रहेछ । मेरा विचारमा तिलक विक र भरत पुन यस गुफाका कोलम्बस नै रहेछन् ।
शिवपार्वती गुफा पुग्नुअघि बाटाछेउ कुनै पाकेका कुनै काँचै टिमुरका दानाहरूले हामीलाई चियाइरहेका । फूलहरू छुनुमुनु गरिरहेका । चराहरू चिर्बिराइरहेका । टिमुरका केही दाना टिपेँ । कोटका खल्तीमा हालेँ । एउटा मुखमा के हालेको थिएँ, सहयात्री प्वाक्क बोले– काँचो टिमुर त्यो पनि खाली पेट खानुहुँदैन । घाँटी समात्छ, पेट अमार्छ ।
रुन्टीगढी घुमे पनि हामीले रुन्टीमै रहेको महाप्रभुको जन्मगृह र कुटी बगैँचा, डुब्रिङमा रहेको नाग मन्दिर तथा मुरुल्लेको भ्रमण अवलोकन गर्न नपाएकोमा मन खिन्न भइरह्यो । समय व्यवस्थापन गर्न सकेनौँ र समयले साथ दिएन भन्दै समयलाई दोष दिँदै हामी पानीमाथिको ओभानो बन्न खोज्यौँ ।
वास्तवमा धन्य रहेछ रुन्टीगढी । हेर्नै पर्ने रहेछ रुन्टीगढी । जानै पर्ने रहेछ रुन्टीगढी । होलेरीमा अर्नी र चिया खाएर हामी लाग्यौँ स्वर्गद्वारीतर्फ उनै गाडीमा गुड्दै गाउँदै रमाउँदै ।
-0-

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु