बाको च्यातिएको छाला

- उषा आचार्य

बा,
बरु टुनीले बर्षैपिच्छे बोक्रा फेर्छ
ढुकुरले पटकपटक जोडी फेर्छ
सबैको जुनी फेरिन्छ बा
म देखिरहेछु
हजुरको च्यातिएको छाला
वषौँदेखि उस्तै छ
कहिले फेर्नुहुन्छ ?
बा कति लोभी हुनुहुन्छ ?
भन्नुहोस् छालाको मूल्य कति छ ?
न गरा गहिराउँदा गहिराउँदै हजुरकै जीवन गहिराइदिने
हलोको फालीले बताउन सक्यो
न त हजुरको फाटेको कुर्कुच्चामा
प्याट्टप्याट्ट पिट्ने चप्पलले भन्न सक्यो
न त खेतका कान्लामा
मुसाका दुला टालिएझैँ टालिएका
लुगाले बताउन सक्यो
त्यसैले बा
हजुर नै बताउनुहोस् न
छालाको मुल्य कति छ ?
बा म पर्खिरहेछु
तपाइँको फेरिएको छाला हेर्न
सायद छालासँगै जीवन पनि फेरिन्छ कि ?
तर, अहँ
बरु टुनीले वर्षैपिच्छे बोक्रा फेर्छ
ढुकुरले पटकपटक जोडी फेर्छ
सबैको जुनी फेरिन्छ बा
म देखिरहेछु
हजुरको च्यातिएको छाला
वर्षौँदेखि उस्तै छ
कहिले फेर्नुहुन्छ ?

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु