गीत भुलिपठाउँदा

- ईगम खालिङ

मन चंचल भएर आउँछ, यता उता गरेर छट्पटिन्छ तर उ भने गुनगुनाउनै सक्दैन । मुटु कता कता पोलेर आउँछ तरपनि उसलाई त्यो एउटा गीत मनमा याद आउँदै-आउँदैन । कोठाभित्रको एउटा भित्तामा झुन्डाइएको ऐनाअघि ठिङ्ग उभिन्छ र आफ्नै प्रतिबिम्बसित बात मार्नथाल्छ—

“म नै हो मणिप्रसाद प्रधान, एक समयको हिरो । कलेजमा मैले गीत गाएर केटीहरूलाई धुरू धुरू रूवाइदिएको सबलाई थाहै छ । तर आज त्यो गीतको एउटा शब्द पनि मनमा आइरहेको छैन । यो के हो ? हे भगुवान ! मणिप्रसादलाई यो कस्तो अन्याय ?”

त्यहाँबाट बाहिर निस्किएपछि उसले आफ्नो मोबाइल फोन उठाउँछ र एकजना घनिष्ठ मित्रलाई सोध्ने मन बनाउँछ । तर तिनले पनि फोन उठाउँदैन । उ अब झन् तड्पिन्छ र रिसले त्यो साथीको नाम अनि नम्बर आफ्नो फोनबाट हटाइदिन्छ र भित्र पस्दै बरबरिन्छ—

“त्यो नाथेका नाम र नम्बर सम्पर्क सूचिबात मेटिदिँदा मलाई केही फरक पर्दैन, मेरो मस्तिष्कबाट कस्ता कस्ता गीतहरू एकैचोटिको निम्ति मेटिँदै गइरहेछन्, यहाँ आफूलाई कस्तो भइरहेछ, साथीले भने फोन उठाउँदै-उठाउँदैन । सक्ने भए यतिबेला म आफैलाई समेत ट्याक्क मेटिदिने थिए ।”
“के पो ? के पो हो ?” भन्दै एउटा चुरोट सल्काउँछ। धुवाँ तान्दैपछि उसलाई याद आएजस्तो हुन्छ तर आउँदैन । त्यो चुरोट पिइसकेपछि उसले आफैलाई जगटाउँछ, चिथोर्छ अनि निचार्छ । उ यति साह्रो बिरक्तिन्छ कि आफूलाई साँच्चै मेटिदिऊ जस्तो लाग्छ र नजिकैको एउटा सब्जि काट्ने छुरी उठाएर गला रेटुँ भन्दा झसङ्ग झस्किन्छ—ढोकामा उभेर श्रीमतीले उसलाई हेरिरहेकी रहेछे । लाजले रातो-पिरो भएर त्यहाँबाट सानो स्वरमा गुनगुनाउँदै छड्किँदा पो त्यही बिर्सिएको गीत गुनगुनाइपठाउँछ ।
उ खुशीले चिच्याउँछ, नाच्छ अनि आँगनमा लडिबडी गर्छ । त्यो दृश्य पनि श्रीमतीले छक्क परेर हेरिरहेकी देखेपछि उसले आफ्नो लुगामा लागेका धूलोमूलो टकटकाउँदै ङिच्च हाँसेर भन्छ—“गीत पक्का याद आयो । अब कहिल्यै भुल्दिनँ ।”

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु