संयोग

- बद्री अधिकारी

जाडो गएर गर्मी सुरु भइसकेको थियो । म विराटनगरबाट भद्रपुर घरतिर गइरहेको थिएँ । बुबाले विदा मिलाएर जसै गरी घर आईपुग्नु भन्नुभएको थियो । क्याम्पस पढाउन थालेदेखि त फुर्सद नै हुँदैनथ्यो । जहाँ भएपनि होटलमै खानुपर्ने, त्यसैले इटहरीमा खाने विचारले म नौ बजे नै डेराबाट घरतिर हिँडेको थिएँ । परैबाट दुहबीमा मानिसहरूको भीड देखिँदै थियो । “बन्द पनि दिनहुजस्तो हुन्छ ।” मैले फतफताउँदै मोटरबाइक साइड गरेर रोकेको थिएँ । “यो बन्दले पनि दिक्कै लगायो ।” मानिसहरू गनगन गर्दै यताउति हिँडिरहेका थिए । म भन्दा तीनचार हातअगाडि चौबीसपच्चीसकी एउटी युवती हातमा रहेको ब्यागलाई भुइँमा अड्याएर खिन्नताका साथ उभिइरहेकी थिइन् । उनको शरीर निकै आर्कषक थियो । पेन्ट र भेस्ट उनलाई खुबै सुहाएको थियो । नितम्भसम्म झण्डै झरेको लामो कपाल, बारूले कम्मर, हात्तीको सुँढजस्ता पाखुरा, सुहाउँदो गरी उठेका वक्क्षस्थल, गहुँगोह्रो मुहार, गुलाबी ओठ र झिल जस्ता आँखा । साँच्चै सहजै पुरुष हृदयलाई आर्कषण गर्ने क्षमता उनीमा देखिँदै थियो । उनी घरिघरि मतिर हेर्दै थिइन् । यसो गर्दा उनका र मेरा आँखा चार हुन्थे । असजिलो मानेझैँ गरेर उनका नजरले दिशा परिवर्तन गर्दथे । साँच्चै मैले अहिलेसम्म कुनै केटीलाई यसरी ध्यान दिएर हेरेको थिइनँ । अहिले आफ्नो विवाहको कुरा चलेकोले मैले यसो गरेको हुँ कि ? आवश्यक विषयले चाहनाको वीज रोपिन्छ । अनि प्राप्तिका लागि मानिस त्यस सम्बन्धमा चियो गर्न थाल्दछ । साँच्चै मलाई पनि त्यही भएको हो त ! सुषुप्त अवस्थाको चीज मभित्र जागरूक भएको हो त ! खैर जेहोस् । मोटर चल्न नदिए पनि आन्दोलनकारीले साइकल, रिक्सा र मोटरबाइकको आवागमनमा रोक लगाएका थिएनन् । म बाइक स्टार्ट गरेर विस्तारै अगाडि बढ्दै थिएँ खुट्टा घिसार्दै ।

“बन्द नखुल्ने रहेछ ?” मीठो स्वर कानमा ठोकिएकोले मैले उनीतिर हेरेँ । उनी ओँठमा विवशतापूर्ण मुस्कान बोकेर मसँग सोधिरहेकी थिइन् ।

“खोइ ? खुल्लाजस्तो छैन ।” मेरो प्रतिउत्तरले झन उनको मुहारमा निराशको साथै आश्चर्यको भाव बढिरहेको थियो । मेरो हातले हेण्डब्रेक लगाएर बाइक रोकिसकेछ मलाई पत्तै भएन । उनले बोलेर केही भनिनन् र मैले पनि उनीलाई लिफ्ट दिने कुरा गर्न सकिनँ । चाहेजति सबै कुरा मुखले भन्न सकिँदो रहेनछ । उनी पनि मसँग केही भनुँभनुँ झैँ मात्र गरिरहेकी थिइन् ।
उनको आँखामा उब्जेको भावले आपूmसँग सहयोगको अपेक्षा गरेझैँ मलाई लागिरहेको थियो– “जसलाई अवाश्यकता हुन्छ उसले पो माग गर्नुपर्छ ।” म आपूmसँग मनोसंवाद गरिरहेको थिएँ ।
“दाइ तपाईँ एक्लै हो ?.... इटहरीसम्म लिफ्ट दिन सक्नुहुन्छ ?” आँखामा कालो चश्मा, निकै गाढा मेकअप, बुलबुल कट कपालमा शरीर झल्कने खालको पातलो चोली र फ्रक लगाएकी अर्की युवती ओँठभरि मुस्कान बोकेर उरोजको उभार झल्कने ढङ्गले मेरो नजिक उभिएर मसँग लिफ्ट मागिरहेकी थिइन् । उनको मुहारको मेकअपको सुगन्ध मेरो नाकमा ठोकिइरहेको थियो । बायाँ हातमा मनिव्याग झुन्ड्याएर उनी मुस्कुराइरहेकी थिइन् मेरो उत्तरको प्रतीक्षामा । उनको हाउभाउले म हड्बडाएको थिएँ ।

“खाली छैन त उहाँ र म छौँ ।” प्रथम युवतीतिर सङ्केत गर्दै मैले जवाफ दिएको थिएँ । मेरो कुरा दुवैले सुनिरहेका थिए ।

“जाऊँ ढिलो नगरौँ ।” मैले प्रथम युवतितिर हेर्दै पुनः भनेको थिएँ । मलाई उनको आँखाले धन्यवाद दिएझैँ लागेको थियो । उनी अगाडि बढेको देखेर अर्की चञ्चल युवती मनिब्याग हल्लाउँदै, हाइहिल पड्काउँदै मस्किँदै, यताउती हेर्दै अगाडि बढिन् । सायद उनी अर्को मोटरवाइकवालाको खोजीमा यताउती आँखा घुमाउँदै थिइन् क्यारे !

“तपाईँ कहाँसम्म जानुहुन्छ ?” उनको कोकिल स्वर मेरो कानमा ठोक्किएको थियो ।

“भद्रपुरसम्म.......”

“म दमकसम्म, तपाईंलाई मुरीमुरी धन्यवाद ।”

“..........” प्रतिउत्तरमा केवल म मुस्कुराएको थिएँ । उनको ब्याग मैले क्यरियरमा बाँधिदिएँ । उनको बसाइमा बढी सतर्कता थियो । बाटो सुनसान थियो । बाटोभरि हामीबीच गफ भएन । मलाई भोक पनि लागिरहेको थियो । इटहरी खुल्लै थियो । मैले मोटरबाइक एउटा होटल अगाडि रोक्दै सोधेको थिएँ– “तपाईं खाना खाएर हिँड्नु भएको ?”

“हजुर ! तपाईंले खानुभएको छैन ?”

“खाएको छैन, ढिलो हुँदैन भने खाऊँ कि, भोक लागिरहेको छ ।”

“भैहाल्छ नि .।”

मैले कर गरेपछि केवल कोक पिउन राजी भइन् । म खाना खान थालेको थिएँ । हामीबीच गफ पनि भइरहेको थियो । उनी बी.ए. को अन्तिम परीक्षाको तयारीमा व्यस्त रहिछन् । उनले सोधेपछि मैले पनि आफ्नो बारेमा बताइदिएँ । उनको नाम दिलासा रहेछ ।

खाना खाउन्जेलमा हामी एकअर्कामा निकै खुलिसकेका थियौँ । हामीबीचको सङ्कोच केही घटेको थियो । मलाई उनको शिष्टता र शालिनताले प्रभाव पारिरहेको थियो । जेहोस् म उनमा युवतीमा हुने सबै गुण देखिरहेको थिएँ । उनले मेरो बारेमा के सोचिन् होला, म अनुमान गर्न सकिरहेको थिइनँ । आफूसँगको प्रस्तुति हेर्दा उनले मलाई राम्रै रूपले हेरेको हुनुपर्ने, यो केवल मेरो अड्कल मात्र हो ।

गफगाफमा उनले मसँग सोधेकी थिइन् “तपाईंले ती युवतीलाई किन लिफ्ट दिनुभएन ?”

“अपरिचित मानिससँगको उनको प्रस्तुति ठीक थिएन ।” मेरो प्रतिउत्तर सुनेर उनी केवल मुस्कुराएकी थिइन् । उनको मुस्कानमा मलाई समर्थन झल्केझैँ लागिरहेको थियो ।

म ओछ्यानमा पल्टेर अनेकौँ कुराहरू खेलाइरहेको थिएँ । आँखामा निद्रा थिएन । मेरो आँखाअगाडि दिलासाको मुहार नाँचिरहेको थियो । उनीसँग धेरै कुरा गर्न मन लागे पनि मैले त्यसो गर्न सकिनँ । कतै उनको आफूप्रति खराब धारणा नबनोस् । हरेक मानिस अरूमाथि प्रभाव पार्न खोज्दछ, म पनि त्यो कुराबाट अछुत थिइनँ । उनले पर्सि विराटनगर फर्कने कुरा गरेकी थिइन् । मलाई पनि पर्सि नै फर्कनु थियो । क्याम्पसमा लगातार विदा पाउन सम्भव थिएन ।
मसँग फर्कने मेरो प्रस्तावप्रति उनी समर्थन गर्न हिचकिचाइ रहेकी थिइन् । मेरो बढी अनुरोध गराइप्रति उनले केवल यतिमात्र भनेकी थिइन् “संयोग मिलेछ भने जहाँसम्म म प्रयास गर्छु ।”

“म ठीक एक बजे यहाँ आएर पर्खनेछु, अरू तपाइको विचार ।” मैले आफ्नो मनको कुरा मुस्किलले ओकलेको थिएँ । उनी आउने हुन् कि होइनन् ! म यसै भन्न सक्दिन । म आफूले आफैँलाई उनी आउँछिन् भन्ने सान्त्वना दिइरहेको थिएँ । चाहको वीजारोपणपछि उत्पन्न हुने भरोसाबाट लक्ष्यसँग जम्काभेट हुनसक्छ । यो मेरो ठम्याइ हो । ओछ्यानको एक छेउ र अर्को छेउ गर्दै म छट्पटाइरहेको थिएँ । उनको सम्झनाले मलाई पछ्याइरहेको थियो । उनले नै मेरो निद्रा चोरी सकेकीले भोलि केटी हेर्न जानू कि नजानू ! नजाने कारणलाई म अरूसँग प्रकट गर्न सक्ने अवस्थामा थिइनँ । कैयौँ युवतीसँग त्यसभन्दा अगाडि गफ नभएको होइन । तर मलाई यस्तो चाहिँ भएको थिएन । उनीलाई पाउने चाहले मलाई घेरेको हो त ! एकपटकको देखादेखमै मानिसलाई यस्तो हुन्छ ! मानिसहरू प्रेम गरेर कसरी शान्तसँग निदाउन सक्छन् होला ! प्रेम गरेर हुने चीज होइन यो त शान्त मनमा अदृश्यरूपले आपसेआप उत्पन्न हुने चीज हो । मन मस्तिष्कभित्र उब्जेका यस्तै यावत कुराहरूले मलाई पिरोलिरहेको थियो । आफू आफँैसँग कायल भैसकेको थिएँ कि म उनीलाई एक तर्फी प्रेम गर्न थालिसकेँ भनेर । उनको मनमा म सुटुक्क बस्न सफल भएँ कि भइनँ । उनको दिमागले पनि मलाई घरिघरि सम्झिरहेको होला त ? यस प्रकारको मनोसंवादले मेरो टाउको दुख्न थालेको थियो । अनिद्राले आँखा पोलिरहेको थियो । भित्तेघडीमा रातको दुई बजिसकेको थियो । उठेर बत्ति निभाएँ । मेरो निदाउने उपक्रम विफल भइरहेको थियो । समय आफ्नै पाराले चिप्लिरहेको थियो ।

म हत्तारिँदै थिएँ । दिलासासँग एक बजे दमक आइपुग्छु भनेको थिएँ । उनले के सम्झिन् होला ! कस्तो संयोग ! केटी हेर्न जाँदा चियाको ट्रे बोकेर उनले नै बैठक कोठामा प्रवेश गरेको देख्दा म झस्किएको थिएँ । एक प्रकारले म हर्षित भइरहेको थिएँ भने अर्कातिर उनको अस्वीकृति भएमा ? यसभन्दा अगाडि मैले सोच्न सकिनँ । दुःखको कल्पनाद्वारा मानिस आत्तिँदो रहेछ । म पनि अनौठो त्रासले भित्रभित्रै थर्थराइरहेको थिएँ । आनन्द र भयको सम्मिश्रणले गर्दा चिया त पिएँ । तर कस्तो थियो स्वाद नै थाहा भएन । हत्तारिँदो मन बढी चञ्चल हुँदो रहेछ । सफासुग्गर हुने र लगाउने कुरामा म अलि विशेष ध्यान दिइरहेको थिएँ । मेरो व्यवहारको परिवर्तन पक्षलाई बहिनीले मिहिन ढङ्गले नियालिरहेकी थिइन् क्यारे ।

“दादा ! तपाई त कसैलाई इम्प्रेस पार्नु पर्नेझैँ पो गर्दै हुनुहुन्छ त ?”

“हिजोनै केटी हेरि हालियो कसलाई इम्प्रेस पार्नु छ र !”

“हैन दादा, केटी तपाईलाई कस्ती लागिन् ?

“खोट लगाउने ठाउँ छैन, अन्य कुरा पनि बुझ्नुपर्छ । दुई तीन दिनपछि खबर गरूँला न ।”

“म त उहाँलाई भाउजू भन्न पाए हुने थियो भन्दै छु.नाइ नभन्नू है ।”

“केटीले नै मन पराइनन् भने नि त ।”

“उहाँको क्रियाकलाप आँखामा उब्जेको भावले त तपाईंंलाई मन पराएको हुनुपर्छ, यो कुरामा म त ढुक्क छु ।”

“के तिमीले उनीसँग सोध्यौ र ?”

“सबै कुरा सोधिरहनु पर्दैन अनुमान पनि गर्न सकिन्छ ।”

“अड्कल सबै सही नहुन सक्छ ।”

“गम्भीर ढङ्गले अनुमान गरेको कुरा प्रायः पुग्दछ ।”

“ल ! ल ! भयो । मलाई हतार भयो, म लागेँ । भो भो छाड तिमी त्रिकालदर्षी ।”

बहिनीसँग बढी गफ नगरी म घरबाट बाहिरिएको थिएँ । दिलासा र मेरो पहिले नै परिचय भएको कुरा म केटी हेर्न गएको समयमा उजागर गर्न चाहन्नथेँ । सायद उनको पनि चाह त्यही थियो कि ? केटी हेर्न गएको दिनको उनको व्यवहारले मसँग परिचय भइसकेको भान झल्किँदैनथ्यो । दुईचार दिनभित्र नै केटाकेटीको मनसाय बुझेर अरू गफ गर्ने निधोकासाथ अविभावकबीच कुरा टुङ्गिएकाले म घर फर्केको थिएँ । अहिले मेरो मन उनलाई भेट्न आतुर भइरहेको थियो । निर्धारित समयभन्दा ४५ मिनेट अगावै म दमक पुगिसकेको थिएँ । मोटरबाइक अड्याएर नजिकैको रेष्टुराँमा उनको आगमनको प्रतीक्षा गरिरहेको थिएँ । मैले धेरै समय कुर्नु परेन । उनी रिक्सामा बसेर मेरो मोटर बाइकतिर नै आइरहेकी थिइन् । टाढैबाट उनले मेरो बाइक चिनेको हुनुपर्छ । उनी भुइँमा व्याग उतार्दै यत्रतत्र दृष्टिपात गरिरहेकी थिइन् । म रेष्टुरेन्टबाट बाहिरिएँ ।

“दिलासा तिमी त निर्धारित समयभन्दा अगाडि नै आइपुग्यौ त !”

“रमनजी तपाईंलाई कुर्न नलगाउनु प¥यो भनेर चाँडो गरेकी, झन तपाईंले त मलाई पनि उछिन्नु भएछ ।”

उनको ओठमा मन्द मुस्कान नाँचिरहेको थियो । उनको ब्यागलाई मोटरबाइकको क्यारियरमा बाँधेर उभिँदै मैले भनेँ— “हत्तारिँदो मनले समयको प्रतीक्षा गर्न सक्दो रहेनछ । हैन, तिम्रा आँखा त राताराता छन् । रातभर सुतिनौ कि कसो ?”

मतिर हेर्दै उनले मुस्कुराउँदै भनिन् “म त तपाईका आँखा पो त्यस्ता देखिरहेकी छु । मलाई भन्ने बाहानामा तपाईं आफ्नै अन्तर मनको कुरो त गरिरहनु भएको छैन !”

प्रहरीले चोरलाई पक्रिसकेको थियो । म उनको चञ्चलताभित्र स्वीकृती खोजिरहेको थिएँ । खोइ उनी मेरो मुहारलाई ध्यान दिएर हेर्दै के खोजिरहेकी थिइन् । सायद मबाट नै स्वीकृतिका शब्द सुन्न आतुर भइरहेकी थिइन् कि ! वर्तमान अवस्थाको यो मेरो अड्कल मात्र थियो ।

“साँच्चै दिलासा, अकस्मात जन्मेको खुसीलाई सदाका लागि प्राप्त गर्न म सफल हुन्छु कि हुदिनँ, यो कुराले मलाई रातभर पिरोलिरह्यो र अहिले पनि मेरो हालत त्यस्तै छ ।”

“रमन ! अब म पनि तिमीलाई दुःखी देखेर रमाउन सक्दिन क्यारे !”

“साँच्चै दिलासा !” हर्षले रमाउँदै मोटरबाइक चढेर स्टार्ट गर्न थालेँ ।

उनी मेरो दायाँ कुम पक्डेर मोटरबाइकमा बसिसकेकी थिइन् । उनको बसाइमा आज परिवर्तन झल्किरहेको थियो । साँच्चै नढाँटी भन्नुपर्दा उनको शरीरको अग्रभागले मेरो पिठिउँलाई स्पर्श गरिरहेको थियो । म गुद्गुदिका साथ आनन्द अनुभव गरिरहेको थिएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु