नेतातन्त्र

- विनोद नेपाल

बाबु देशमा ठुलाठुला क्रान्ति र आन्दोलन भएको कुरा गरिरहन्थे । ठूलाठूला परिवर्तन भएको बताउंथे ।
‘आन्दोलनमा थुप्रै सहीद भए । थुप्रै टुहुरा, विधवा र असहाय भए । धेरै जनधनको क्षति भयो उनी सुनाउंथे ।
कतिपय आन्दोलनमा आफू पनि सहभागी भएको र उबेला नारा जुलुस गरेको सुनाउंथे ।
राणाशाही फालियो, पञ्चायती शासन फालियो, बहुदल ल्याइयो त्यो पनि फालियो । झण्डै डेढ दशक अघि पछिल्लो आन्दोलन सकिएको भन्दै त्यसै आन्दोलनबाट पुरानो व्यवस्था सधैका लागि फालिएको कुरा जोसिलो पारामा सुनाउंथे ।
यति धेरै आन्दोलन किन गर्नु परेको नि ? जिज्ञासु छोराले सोध्यो ।
‘कहिले राणातन्त्र चल्यो,कहिले राजतन्त्र चल्यो ।’
‘कहिले श्री ३ ले चलाए,कहिले श्री ५ले चलाए जनताका छोरा हेरेका हेर्यै मात्र । आफ्नै स्वार्थ हेरे, जनताको दुःख जहांको त्यहीं, देश चाहिं फिटिक्क अघि बढेको होइन । त्यसैले लोकको शासन स्थापित गर्न नि ’
अनि लोकको शासन आयो त बा ?
आयो नि त । यही त हो नि लोकतन्त्र । देख्दैनस् जनताका छोरा छोरी माथि माथि पुगेको, जनताका छोरा छोरीले शासन चलाको ?
छोरोलाई चित्त बुझिरहेको थिएन । यसैले फेरि सोध्यो, ‘ती त शासकै भए नि बा, जनतालाई के फाइदा भो त, के परक प¥यो त हाम्लाई यी र ती हुंदा ?’
‘लौ हेर यसको बुद्धि, यी त हाम्ले चुनेर पठाका मान्छे,हाम्रा प्रतिनिधि, हाम्रा नेता हुन् नि’
त्यसो भा किन लोकतन्त्र भन्छौ त ? नेतातन्त्र भने हुनेनी बा , हैन र ?
यसो हेर्दा पनि नेता जति सबै चिल्ला चाख्ला हुने जनता चाहिं सधै मरन्च्यांसे नै रहने भएपछि यसलाई लोकतन्त्र भन्दा नेतातन्त्रै भने मिल्दो हो नि बा हैन र ?
छोराको कुरा सुनेर बाबु चुप लागे ।
२०७६।०८।२३

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु