गजल

- डिल्लीप्रसाद अधिकारी

सौन्दर्यको मोह लाग्दा जून प्यारो लाग्छ
गरीबीको रोग लाग्दा नून प्यारो लाग्छ

कमाइको धागो पनि अलिक तन्केपछि
महँगो नै किन नहोस् सून प्यारो लाग्छ

आफन्त र परायको भेदभाव भन्दा पर
मान्छेलाई मान्छेको हो गुण प्यारो लाग्छ

थारो भैंसी गाईलाई कसले माया गर्छ
सबैलाई लैनाको नै थून प्यारो लाग्छ

अर्काको बाछ‍ो चाट्दा मुखभरी रौं मात्र
सबैलाई भित्रैदेखि आफ्नै खून प्यारो लाग्छ

संगीतको भाषा सके हुँदैन कि कसो
शब्द केही नबुझे नि धून प्यारो लाग्छ

तन्देरी र तन अनि मन धेरै खुशी भए
सबैजना आनन्दमा झुमून् प्यारो लाग्छ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु