‘दाइबुचु’मा रुमल्लिँदा

- इन्दिरा दीक्षित

नियात्राकार कृष्ण बजगाईंको पछिल्लो नियात्रा सङ्ग्रहको नाम हो दाइबुचु । कथा, लघुकथा, कविता, हाइकु आदिमा राम्रैसँग कलम चले तापनि यात्रानिबन्धमा उनले विशेष पहिचान बनाएको देखिन्छ । साहित्यिक कार्यक्रमअन्तर्गत जापानमा पुगेका नियात्राकारले जापानकै सेरोफेरोमा अल्झिएर दाइबुचु जन्माएका छन् । दाइबुचुमा १३ वटा शीर्षकमा लामा यात्रा निबन्ध लेखिएको छ । जापान हाइकुको उद्गम स्थल मानिन्छ । जापान भ्रमणको नियात्रा भएर हो अथवा आफै पनि हाइकु लेखनमा रुचि भएर हो नियात्राकारले यात्रा वर्णनका बिचबिचमा थुप्रै हाइकुहरू लेखेका छन् । उनका अनुसार जापानीहरू यात्रामा हाइकु लेख्न मन पराउँछन् !
दाइबुचुमा रहेको पहिलो निबन्ध ‘सम्राटको आत्मा दर्सन’ थियो । नियात्राकारले यो निबन्धमा जापानको मौलिक र प्राचीन धर्म सिन्तो धर्मको बारेमा जानकारी गराएका छन् । टोकियो घुमाउने क्रममा उनका साथी कुमीले सम्राटको आत्मा दर्शन गर्न पु¥याउँछिन् । सिन्तो धर्मका अनुयायी जापानीहरू मृत आत्मालाई पवित्र मानेर आत्मचिन्तन गर्दा रहेछन् । राजालाई भगवान्को स्वरूप मान्ने जापानीहरू प्राचीन सम्राट मेइजी र महारानीको आत्मालाई पवित्र मानेर उनको वासस्थान अर्थात् मन्दिरमा आत्मचिन्तन गर्नेहरूको भिड लाग्दो रहेछ ।
अझ रमाइलो कुरा त यस्तो पवित्र स्थानमा पाइला टेक्न विशेष प्रकारले स्नान गरेर पवित्र हुनुपर्ने अनौठो विधिलाई नियात्राकारले रोचक पाराले वर्णन गरेका छन् । आत्मदर्शनपछि वरपर रहेका ट्रेजरी हाउस, मेमोरियल हल हेर्दाहेर्दै भविष्यको जानकारी लिन ओमिकुजीमा पुगेका छन् । टोकियोको झरीमा सुन्दर टोकियो सहर घुम्न निस्केका यात्री घुम्दा घुम्दै पानीले भिजेका र रिमझिम वर्षामा रङ्गीविरङ्गी छाताभित्र झल्याकझुलुक देखिएका जापानी युवतीका सुन्दर रूप पनि नियाल्न भ्याएका रहेछन् । यस्तो मोहक समयमा उनले एउटा रोमान्टिक हाइकु पनि लेख्न भ्याएका छन् :
बैँसको भारी
छाताभित्रकी गोरी
कर्के नजर !
सहर घुमाइका क्रममा जापानको एकमात्र सरकारी टीभी रेडियो प्रसारण केन्द्र एनएच भवन, कालो बिरालोको मूर्ति आदि हेदाहेर्दै व्यस्त बजारमा विज्ञापनका लागि वयस्क युवतीका खासखास शरीरको अङ्गलाई भाडामा प्रयोग गरेको अनौठो तरिकाको रोचक वर्णन गरेका छन् । जापानी सहरको जनसङ्ख्या विश्वका अरू विकसित सहरहरूमा भन्दा धेरै छ भनेर सुनेका लेखक शिबुया जेब्रा क्रसिङमा देखिएको भीडमा आश्चर्य व्यक्त गरेका छन् ।
आधुनिकतामा ढल्दै गएको टोकियो सहरमा उनी किमोनो खोज्न थाल्छन् । हिँड्दाहिँड्दै हाचिको नामक कुकुरको पूर्ण कदको प्रतिमा स्थलमा पुग्छन् । हामीमध्ये धेरैले हाचिकोको स्वामीभक्ति चलचित्र हेरेका छौँ होला ! हाचिकोको नजिकै पुग्दा नियात्राकारको दिमागमा पनि उक्त चलचित्र नाच्न थाल्छ । मानवता हराउँदै गएको आजको समयमा हाचिकोले उसको मालिकप्रति देखाएको स्वामी भक्ति सम्झिएर उनी भावुक हुँदै हाचिकोलाई सुमसुम्याउँछन् ! केही बेर त हाचिको र उसको मालिक हिदेसाबुराको प्रतिमामा हराउन पुगेछन् । कुमीसँगको सहर घुमाइ रोमान्टिक हुँदाहुँदै भावुक भएको पनि देखिन्छ ।
नियात्राकार आफै पनि हाइकुमा रमाउने भएर होला उनी हाइकु सम्राट माचुओबासीको निवासमा पुग्न आतुर भएका देखिन्छन् । लण्डनको हरियाली र खुल्ला वातावरणमा बसेका उनी बाटोमा रहेका गगनचुम्बी महल र फस्टाएका उद्योगधन्दाले जताततै ओगटेको टोकियो सहर देख्दा आश्चर्य मान्दै हरियाली बिना पनि जनजीवन सम्भव हुँदोरहेछ भन्ने कल्पनामा हराउन पुग्छन् । बासोको स्मृति सङ्ग्राहलयमा पुग्दा हाइकुको तीर्थस्थल पुगेजस्तै लागेर त्यहाँ भएका प्रत्येक वस्तुलाई सुमसुम्याउँछन् । सङ्ग्राहलय वरपर जताततै केराको घारी देखेपछि उनले केराघरे माचुओ भनेर हाइकु सम्राटको न्वारन नै गरेका छन् । त्यहाँ उनले निक्कै हाइकुको सृजना गरेका हुन्छन् !
केराको बुङ्गा
माचुओको सपना
पहेँलपुर !
जापानको प्राचीन राजधानी कामाकुरास्थित विशाल बुद्धमूर्ति दर्शन गर्न जाँदा नियात्राकार पूरै तीर्थयात्री बनेका देखिन्छन् । स्वदेशको बुद्धजस्तै देखिने साँच्चै नै त्यो शान्तिको प्रतीक अमिताभ बुद्धको विशाल प्रतिमा नै रहेछ । जापानका प्राचीन सूरवीर सामुराई जातिबाट निर्मित उक्त प्रतिमाको नाम दाइबुचु रहेछ । दाइबुचुको मोहकता र वरपरका अरू विभिन्न किसिमका प्रतीकरूपी मूर्तिहरूमा सम्मोहित भएर होला उनले आफूले लेखेका नियात्रा सङ्ग्रहको नाम नै ‘दाइबुचु’ राखेका छन् । जापान पुग्नुभन्दा अगाडि उनलाई लागेको रहेछ जापानीहरू आफ्नो देशको सर्वनाश गर्ने अमेरिकालाई मन पराउँदैनन् होला । तर जापानको योकोसुका सहरमा पुगेपछि उनी अल्मल्लिएका देखिन्छन् । जताततै अमेरिकी झन्डा झुन्डिएको देखिन्थ्यो भने होटल, खानादेखि रहनसहन सबै अमेरिकाजस्तै देखिन्थ्यो । जापान हो कि अमेरिका छुट्ट्याउन मुस्किल भएछ । खासमा दोस्रो विश्वयुद्धमा बम हानेर ध्वस्त बनाएको जापानको पुनर्उत्थानका लागि अमेरिकाले हरसम्भव सहयोग गरेको रहेछ । फलस्वरूप जापानले विकासमा फड्को मार्न सफल भएको रहेछ । जापानीहरू अमेरिकालाई आफ्नो उद्धारक मानेर उसको अनुसरण गर्दै कृतज्ञता देखाउन खोजेजस्ता देखिएका रहेछन् ।
योकोसुका सहरभित्रको निक्कै रमणीय स्थानहरूमा निकासा पार्कमा रहेको सम्राट मेइजीको सालिक, ऐतिहासिक युद्धपोत, दोसो विश्वयुद्धताका शान्तिको कामना गर्दै बनाइएको पिस आर्च, आकर्षक फाउन्टेन नित्य, आदि अनेकौँ सुन्दर वस्तुले सुसज्जित योकोहामा सहरको सुन्दरतामा उनी हराएका देखिन्छन् । अझ आश्चर्यको कुरा त सहरको संरक्षण नै अमेरिकी सैनिक र प्रहरीले गर्दारहेछन् । घुम्दाघुम्दै भेर्नी पार्कको सुन्दरता र त्यहाँ फुलेका सुन्दर गुलाफका फूलहरूमा उनी यति मोहित हुन्छन् कि उक्त पार्कलाई रोमान्टिक पार्क नामकरण गर्न पुग्छन् ।
ओन्सेन अर्थात् जापानको प्रसिद्ध तातोपानी कुण्ड, जसमा स्नानका लागि निर्धारित ठाउँमा गएर साबुनले नुहाएर पवित्र बनेपछि निर्वस्त्र भएर अलि पर रहेको तातोपानी कुण्डमा जानुपर्ने रहेछ । दलबलसहित ओन्सेनमा डुबुल्की लगाउन पुगेका उनी सर्वाङ्ग नाङ्गिएर लाजले रातोपिरो भएका साथीहरूको अनुहार हेर्दै सोच्न थाल्छन्, नाङ्गिनु साँच्चै नराम्रै हो त ?
जन्मिँदा नाङ्गै, मर्दा नाङ्गै, पौराणिक ग्रन्थहरूमा पनि नाङ्गै नुहाएका, नाङ्गै हिँडेका आदि प्रसङ्ग त छ नि ! अझ हाम्रा मठ मन्दिरका टुँडाल खाँबाहरूमा कुँदिएका मानव आकृतिका विचित्र किसिमका चित्रहरू नाङ्गा मात्र नभएर यौन आसनमा लिप्त भइरहेका पनि देखिन्छन्, यो सबै देखाउन र हेर्न मिल्छ भने यत्तिका जापानका मान्छेले नाङ्गै नुहाएको ठाउँमा हामीलाई मात्रै लाज लाग्नु अस्वाभाविक हो । दृढ भएको उनको मनले भन्छ, जुनसुकै ठाउँमा पो नाङ्गिन मिल्दैन तर सबैको अनुसरण र जापानी ओनसेनको नियम पालना गर्दा के को लाज ? ओन्सेनमा नुहाउँदा नियात्राकार निक्कै दार्शनिक भएका पनि देखिन्छन् । मान्छेको जन्मदर कम हुँदै गएको जापानमा बिरालोको जन्मदर भने अत्यधिक बढेको रहेछ । जापानीहरू बिरालोलाई अत्यधिक मन पराउँदा रहेछन् । त्यसमाथि कालो बिरालो त शुभताको प्रतीक रहेछ । धेरैले घरमा बिरालो पालेकै हुन्छ, कारणवश घरमा पालेर राख्न नमिल्नेका लागि क्याट क्याफे खोलिएको पनि रहेछ । यस्तो क्याट क्याफेमा शुल्क तिरेर थरीथरीका बिरालोसँग समय बिताउन टोकियोवासीहरू जाने गर्दा रहेछन् ।
बिरालो मनै नपराउने नियात्राकार अनौठो खाले क्याट क्याफे हेर्ने उत्सुकताले टोकियो सहरमा रुमल्लिन पुग्छन् । सुन्दर सहरको दृश्य हेर्दाहेर्दै जापानी सुन्दरीतिर आँखा पुग्छ । सुन्दरीहरूको हिँडाइमा बिरालोको चाल देखेर रोमान्टिक हुँदै हाइकु लेख्न पुग्छन् ः
मस्त जवानी
चुलबुले नयन
बिराली चाल !
टोकियो सहरको सुन्दरता हेर्दाहेर्दै नियात्राकार आखिरमा क्याट क्याफे पुगेर केहीबेर त्यहाँ भएको बिरालाहरूको गतिविधि नियाल्न थाल्छन् । थुप्रै बिराला प्रेमीले भरिएको क्याफेमा केहीबेर बसेर बिरालाको रङ्गरूप, आकारप्रकार, जाति प्रजाति आदि नालीबेली खोजेर फर्कन्छन् । यसरी रमाइलो र मोहक पाराले नियात्राकारले जापानी सुन्दरी र जापानमा बिरालो मोह एकसाथ बताएका छन् ।
जापान घुम्ने क्रममा नियात्राकार आफ्ना केही साथीहरूसहित योकोहामा सहरबाट हिरोसिमा सहरतिर लाग्दै गर्दा बाटोमा पर्ने अरू योक्काइची, ओसाका आदि सहरहरू छिचोलेर हिँड्दाहिँड्दै देखिएको जापानको सहरी विकास, बाटो, पुल, बिजुली, उद्योग आदि देखेर निक्कै प्रभावित भएका छन् । आधुनिकतामा फड्को मारेको जापानलाई देख्दा उनले आफू बेलायतवासी हुँ भन्ने कुरा बिर्सिएर नेपाल र नेपालीले भोग्नुपरेको समस्या सम्झिन पुग्छन् । नेपालमा यस्तै विकास कहिले होला भन्दै यतिबेला उनी भावुक भएका देखिन्छन् । प्राकृतिक सुन्दरता, प्रसिद्ध माउन्ट फुजी आदि हेर्दाहेर्दै निक्कै लामो बाटो तय गरेर रात परेपछि हिरोसिमा पुगेका हुन्छन् । अघिल्लो दिन बुकिङ गरेको होटल पुग्दा त्यो त लभ होटल पो रहेछ । उनको भनाइअनुसार लभ होटल भनेको केटा र केटी जोडी मिलेर समय बिताउने होटल रहेछ । जापानमा मायालु जोडी विवाहिता होस् या अविवाहिता जस्तोसुकै भए पनि आफ्नो समय बिताउनका लागि स्वतन्त्र छन् । उनका लागि सुलभ ढङ्गले यस्ता होटलहरू खेलिएका हुँदारहेछन् । जोडी मिलेर जानुपर्ने होटलमा गाडीभरि गएका घुमन्ते पुरुषहरूको टोलीलाई होटलभित्र पस्न निक्कै अप्ठ्यारो भएको कुरा नियात्राकारले आफ्नो अनुभव व्यक्त गरेका छन् । रात निक्कै छिप्पिसकेको र थकाइले चुर भएका सहयात्रीको रायअनुसार त्यसै होटलमा रात बिताउने मनसायले सबै भित्र पसेका हुन्छन् ।
मायालु जोडीका लागि आवश्यक सामानले सजिएको कोठामा आराम गर्दै गरेका उनी जापानको उदार भावना र व्यवस्थित तरिका देखेर दङ्ग परेका हुन्छन् । उनको विचारमा समाजमा विकृति ल्याउने खाले तŒवलाई सरकारले व्यवस्थापन गर्न यस्ता लभ होटेल खोल्नै पर्छ । त्यसो गर्दा कसैको सम्मानमा ठेस नलाग्नुका साथै सरकारी आयआर्जन पनि हुने, जताततै विचार र विवेक पु¥याउन सकेर नै जापानले यत्तिको विकास गर्न सफल भएको होला !
दोस्रो विश्वयुद्धताका अमेरिकाले आणविक बम हानेर ध्वस्त पारेको हिरोसिमा सहर कस्तो होला ? मनमा अनेकौँ जिज्ञासा बोकेर बाटोभरि हिँड्दै गरेका नियात्राकार हिरोसिमाको भव्यता देखेर आश्चर्यचकित भएका देखिए । मनमा इच्छा र कार्यमा लगन भए जे पनि हुन सक्छ भन्ने कुरा जापानीहरूले गरेर देखाएका ज्वलन्त उदारण हो हिरोसिमा । हिरोसिमाको विकसित सौन्दर्यमा हराएका उनी सहरभित्र रहेको शान्ति सङ्ग्रहालय हेर्न पुगे । सङ्ग्रहालयभित्र अनेकौँ युद्ध झल्काउने किसिमका सामान र भग्नावशेषका चित्र अनि बम हानिएको दृश्य, क्षतविक्षत मान्छे, जलिरहेको सहर हेर्दाहेर्दै भाउन्न भएका नियात्राकार यस्तो दर्दनाक बीभत्स दृश्य हेर्दा मन थाम्न नसकेर निक्कै अत्तालिएका देखिन्छन् । सङ्ग्रहालय–भित्रको युद्धले क्षतविक्षत भएका अनेकौँ सामान हेर्दै हिँडेका उनको आँखा एउटा घडीमा गएर अड्किएको रहेछ । बम आक्रमणको सिकार भएको घडी त्यही समयमा बन्द भएर त्यो कहालीलाग्दो घटनाको साक्षी बनेको रहेछ । दुनियाँले त्यो बीभत्स क्षण बिर्सन खोजे पनि त्यो झुन्डिरहेको घडीले बिर्सन दिँदो रहेनछ ।
सङ्ग्रहालयभित्रै देखाइएको चलचित्रमा सयौँ सूर्यको जस्तो चम्किलो तेज र ठूलो आवाजले तर्सिए जस्तो र बमको चपेटामा परेर बीभत्स भएको सहरवासीको कोलाहल हेर्दाहेर्दै भाउन्न भएर बाहिरिएछन् । सङ्ग्राहलय बाहिरपट्टि शान्तिपार्क, शान्तिदीप, शान्तिस्तुप, शान्तिघण्टी आदि सबै अवलोकन गर्न भ्याएका छन् । यसरी हिरोसिमामा रोएको उनको मनले युद्धको दर्दनाक दृश्य दर्शाउन कतै कसर छोडेजस्तो लागेन । जापानका प्रमुख सहरमध्ये क्योटो एउटा कलात्मक सहर रहेछ । दोस्रो विश्वयुद्धमा अमेरिकाले यसै सहरमा बम हान्ने लक्ष्य बनाएको थियो तर अन्त्यमा अमेरिकी कर्मचारीको राय बमोजिम जापानी कलाले भरिपूर्ण भएको उक्त सहरमा बम नहानेर हिरोसिमातिर निसाना बनाएकाले युनेस्कोको सूचिमा रहेको क्योटो सहरको प्राकृतिक सौन्दर्य बचेको रहेछ । यसै सहरको बाटो हुँदै उनी किङ्काकुजीतिर लागेका रहेछन् । नियात्राकारका अनुसार किङ्काकुजीमा जेन बुद्धमार्गीहरूको तीनतले स्वर्णमन्दिर रहेछ । सुनैसुनले बनेको उक्त मन्दिरमा सुनको थुप्रोबाहेक खासमा कलात्मक र आकर्षक नभएको बरु मन्दिर वरपर प्राकृतिक सुन्दरताले भरिएको कुराको अनुभव उल्लेख गरेका छन् । नियात्राकार टोकियो सहरमा हाइगा प्रदर्शनीस्थल खोज्दै हिँडेका हुन्छन् । उनका अनुसार हाइकु र चित्रको संयुक्त हाइगा हो । बाटो हिँड्दै गरेका उनी टोकियो सहरमा भएका अनेकौँ आधुनिक उपकरणका साथै रेल यात्राको भिड, रङ्गीबिरङ्गी बत्ती, सुरुङमार्ग अनि बाटोको छेउछाउमा राखिएका भेन्डिङ मेसिन देखेर निक्कै प्रभावित भएका रहेछन् । आधुनिकतामा युरोपलाई पनि उछिनेको टोकियो सहरको भव्य स्वरूप हेर्दै हाइगा प्रदर्शनी स्थल पुगेका हुन्छन् । प्रदर्शनी स्थलमा देखिएका सुन्दर तस्बिरसँगै लेखिएका हाइगाले उनलाई निक्कै प्रभावित बनाउँछ र आफै पनि हाइगा लेख्न थाल्छन् । जापानी लिपि चित्रको सम्मिश्रण हाइगास्वरूप हाइगा उनको विचारमा काव्यचित्र हो । काव्यचित्र हेर्दाहेर्दै अचानक उनको मनमा विचार उठ्न थाल्छ । प्राकृतिक सुन्दरताले भरिएको आफ्नो देश नेपालमा यस्ता हाइगाहरू कति प्रस्फुरित हुन सक्थे होलान् ! जापानको सुन्दर प्रकृतिको वर्णन गर्दागर्दै नियात्राकार उनी प्रशान्त महासागरको किनारमा निक्कै गर्मीले अत्तालिएका पनि छन् । जापानको प्राचीन व्यापारिक जलमार्ग योकोहामा बन्दरगाह पनि चिनाउन भ्याएका छन् । संसार प्रसिद्ध माउन्ट फुजीलाई बादलले ढाकेर हेर्न नपाएकोमा दुखेसो पोखेका छन्, फेरि पनि जापानले पवित्र मानेको माउन्ट फुजीलाई सम्झँदै केही हाइकु पनि लेख्न भ्याएका छन् ः
चिसो पहाड
स्वर्ग जाने ढोका
माउन्ट फुजी !
छोटो समयको यात्रा भए पनि एउटा लेखकको आँखाले कति समेट्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो दाइबुचु नियात्रासङ्ग्रह । यसमा जापानको परिचय मात्र नभएर जापानीहरूको मिलनसार र कर्मठ व्यक्तित्वका साथै जापानको कला, सौन्दर्य, इतिहास, धार्मिक तथा सामाजिक पक्ष, रीतिथिति, रहनसहन आदि सबैको जानकारी गराएका छन् ।
मेरो विचारमा दाइबुचु एउटा जापान चिनाउने उत्कृष्ट नियात्रासङ्ग्रह बनेको छ, जापानबारे राम्ररी परिचय गराउनुहुने नियात्राकार कृष्ण बजगाईंज्यू धन्यवादको अधिकारी पनि हुनुभएको छ ।

काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु