कालिदासको अभिज्ञानशाकुन्तलम् नाटक र देवकोटाको शाकुन्तल महाकाव्यको पारिस्थितिक अध्ययन

- डा. हेमन्तकुमार नेपाल

परिचयः-
विश् धातुमा परि उपसर्ग अगाडी लगाएर धञ् प्रत्यय लगाई परिवेश शब्द निर्माण गरिन्छ। यसको वैकल्पिक रूप परिवेष पनि हो। वामन शिवराम आप्टेले पक्ष उपसर्गमा दीर्ध हुन्छ भनेका छन्। यसको अर्थ भोजनको समय सेवा गर्नु , भोजन बाँढ्नु, पस्किनु,, सूर्यविम्ब, चन्द्रविम्ब, कुनै वस्तु जस्ले रक्षा गर्छ र घेर्छ त्यसलाई परिधि भन्ने गरेको पाइन्छ। कालिदासले रघुवंश महाकाव्यमा लक्षतेस्म तदनन्तरं रविर्वद्धभीम परिवेषमंडलः भनेको पाइन्छ। नेपाल-प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशमा यसको अर्थ चारैतिरबाट भएको घेराई, परिवेष्टन, सूर्य या चन्द्रमाका चारैतिर देखिने एक प्रकारको मण्डल, सभा, परिधि, सीमा अनि वातावरण भन्ने अर्थ गरिएको पाइन्छ। नरेन्द्र चापागाईंद्वारा सम्पादित नेपाली शब्दभण्डारमा परिवेश र परिवेष दुवै शब्दको अर्थ प्रकाशित् पार्ने प्रयास गरिएको छ। उक्त्त कोशमा परिवेश शब्दको अर्थ वातावरण, परिस्थिति, घेरा, सीमा भन्ने गरिएको छ र परिवेष शब्दको अर्थ स्पर्श गर्ने क्रिया, धेरा, परिधि, वेष्टन, सूर्य तथा चन्द्र आदिका चारैतिर फैलिएको मण्डल, चारैतिर अठाइएको दिवाल भन्ने गरिएको छ। उक्त्त शब्दकोश हरूमा संस्कृत हिन्दी कोश र नेपाली बृहत् शब्दकोशमा परिवेश एवम् परिवेष दुवै शब्दहरूलाई समानार्थी मानिएको पाइन्छ। नेपाली शब्दभण्डारमा दुवैलाई पृथक् परिभाषित गर्ने प्रयास गरिएको भएपनि अर्थगत् स्पष्ट अन्तर देखाउन सकिएको छैन। व्याकरणका आधारमा पनि दुवै शब्द वैकल्पिक रूप भएका हुनाले दुवै समानार्थी हुन् भन्ने स्पष्ट हुन्छ। यही शब्दलाई वातावरण शब्दको पर्यायवाचिका रूपमा प्रयोग गिएको पाइन्छ र यो कोशीय अर्थ पनि हो। त्यसैले परिवेश भन्नाले चारैतिर फैलिएको वातावरणलाई बुझिन्छ।
मृश् धातुमा वि उपसर्ग अगाडी लगाएर घञ् प्रत्यय लगाई विमर्श शब्दलाई निर्माण गरिन्छ। यसरी नै मृष् धातुमा वि उपसर्ग अगाडी लगाएर घञ् प्रत्यय लगाई विमर्ष शब्दलाई निर्माण गरिन्छ। विमर्शको अर्थ विचार, विनिमय, सोच, विचार परिक्षण, चर्चा, तर्कना, विपरीत निर्णय, संकोच, सन्देह र वितेका शभाशुभ कर्मको मनमा रहेको छाप भन्ने अर्थ गरेका छन्। यसरी नै विमर्ष शब्दको विचार, विचारविनिमय, अधीरता, असहिष्णुता, असन्तोष, अप्रसन्नता आदि अर्थ गरेर अन्त्यमा सबै अर्थको लागि व्यवहारमा विमर्श शब्दको नै प्रयोग गरिन्छ भनेका छन्। साहित्यदर्पणमा नाटकीय कथावस्तुको सफल प्रगतिमा परिवर्तन, कुनै प्रेमाख्यानको सफल पक्रममा कुनै अदृष्ट दुर्घटनाको कारण परिवर्तन भन्ने अर्थ परिभाषित गरिएको पाइन्छ। नेपाली बृहद् शब्दकोशमा विमर्श अनि विमर्ष दुवै शब्दको अर्थ केलाइएको पाइन्छ। दुवै शब्दको समानै रूपले वास्तविक तथ्यको अन्वेषण , सत्य कुराको खोजी, विषयवस्तुबारे गरिने विवेचना वा विचार, अवलोकन समीक्षा, आलोचना आदि अर्थ गरिएको पाइन्छ। यसरी नै नेपाली शब्दभण्डारमा पनि दुवै शब्दको छलफल, तर्कवितर्क, विवेचना, परामर्ष, विचारविमर्श, सरसल्लाह आदि अर्थ गरिएको पाइन्छ। उक्त विवेचनाका आधारमा परिवेश एवम् परिवेष शब्द दुवै शब्दहरू व्यवहारमा समान अर्थबोधका निम्ति प्रयोग गरिन्छ। यसले वातावरणका साथै विभिन्न अर्थ बुझाए पनि साधारण जनमानसले बुझ्ने यसको साङ्केतिक अर्थ वातावरण नै हो र अन्य अर्थहरू लाक्षणिकरूपमा अभिव्यक्त हुन्छन्। विमर्श या विमर्ष शब्दको पनि एकै अर्थ गरिएको हुनाले दुवै शब्दमा अर्थगत रूपले कुनै भिन्नता रहेको पाइँदैन। प्रत्यक्षरूपमा यसले विचारविनिमय विषयवस्तुबारे गरिने विवेचना वा विचार, अवलोकन समीक्षा, आलोचना आदि अर्थलाई बुझाउँछ। यसरी हेर्दा परिवेश विमर्शलाई वातावरणको आलोचना, समीक्षा वा प्रकृतिको आलोचाना समीक्षा पनि भन्न् सकिन्छ। साहित्यालोचनाका रूपमा आएको परिवेश विमर्श विसुद्ध प्रकृति वा वातावरणको आलोचना समीक्षा आदि नभएर सिर्जनात्मक साहित्यमा अभिव्यक्त भएको वातावरण वा परिवेशको आलोचना हो। यसले साहित्यका भित्रअभिव्यक्त भएको एकल वा विशुद्ध प्रकृतिको मात्र अध्ययन नगरेर मानिस र प्रकृतिको सम्बन्धको अध्ययन गर्छ। भारतीय दर्शन अनुसार सूक्ष्म प्रकृतिबाट स्थूल प्रकृतिको सृजना हुन्छ। सुक्ष्म प्रकृति हरेक सृजनाको बीज हो र यो नित्य अनि परमाणु रूपको हुन्छ। न्याय दर्शनानुसार सात पदार्थ हुन्छन् द्रब्य, गुण, कर्म, सामान्य, विशेष, समावाय र अभाव। यी सात पदार्थहरूमा द्रब्य प्रमुख पदार्थ हो। द्रब्यका पृथिवी, अप, तेज, वायु, आकाश, काल, दिग्, आत्मा र मन नौं प्रकारका भेदहरू हुन्छन् । यिनीहरू एक-अर्काका परिपूरक हुन्। नौं प्रकारका द्रब्यहरूमा पृथिवी प्रमुख द्रब्य हो। पृथिवी नित्य र अनित्य दुई प्रकारका हुन्छन्। नित्य परमाणु वा बीजरूपमा रहन्छ अनित्य पृथिवी कार्यरूप हो। यसैलाई भौतिक प्रकृति भनिन्छ। परिवेश विमर्शले यही साहित्यमा निस्यूत मानिस र भौतिक प्रकृतिको अन्तर्सम्बन्धको अध्ययन गरेको पाइन्छ। प्रस्तुत लेखमा कालिदासको अभिज्ञानशाकुन्तलम् नाटक र देवकोटाको शाकुन्तल माहाकाव्यमा चित्रित मानिस र प्रकृतिको अन्तर्सम्बन्धको अध्ययन गरिएको छ।
विषय प्रवेशः- परिस्थिति शब्दमा इक प्रत्यय लगाएर परिस्थितिक शब्दको निर्माण गरिन्छ। यसको प्राज्ञिक अर्थ समसामयिक वातावरणबाट सिर्जना भएको भन्ने हुन्छ। यसमा लगाइएको इक प्रत्ययले स्थिति अर्थलाई बोकेको देखिन्छ। यसो गर्दा परिस्थितिक शब्दको अर्थ समसामयिक वातावरणबाट सिर्जना भएको स्थिति भन्ने हुन्छ। यसरी विवेचना गर्दा परिस्थितिक अध्ययनमा साहित्यिक कृतिहरूमा अभिव्यक्त भएको तत्कालिन समयको मानिस र प्रकृतिविचको अन्तसम्बन्ध या अन्तर्सम्बन्धको अध्ययन गरिन्छ। त्यसैले यस लेखमा संस्कृत साहित्यका महाकवि कालिदासको अभिज्ञानशाकुन्तलम् नाटक र नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यको स्थूलरूपमा तत्-तत्कालिन मानिस र वातावरण वा प्रकृतिविचको अन्तसम्बन्ध र अन्तर्सम्बन्ध केलाउने प्रयास गरिएको छ। दुवै साहित्यका महाकविले दुवै साहित्यमा मानिसलाई प्रकृतिको अभिन्न अङ्गकारूपमा स्थापित गरेर प्रकृति मानिसको सर्वस्व हो भन्ने विचार व्यक्त गरेका छन्। मानिसको प्रकृति प्रतिको आदर्श प्रेम प्रस्तुत गरेका छन्। कृतिमा प्रयोग गरिएका पात्रहरूको व्यवहार मानसिकस्थिति घटना विचार स्वभाव सँग प्रकृतिको परस्पर सामान्जस्यता स्थापित गरेका छन्। संस्कृत साहित्यका महाकवि कालिदासले अभिज्ञानशाकुन्तलम् नाटकको मङ्गलाचरणमै आठ प्रकारका तनु शरीरहरूलाई प्रकृतिका अंशकारूपमा चित्रण गरेर यी आठ प्रकारका तनुहरूमा समष्टिरूप चराचर जगत् प्रकृतिको चित्रण गरेका छन्। व्यष्टिरूपमा सबै चर एवं अचर प्राणीहरूको चित्रण गरेका छन्। समष्टि प्रकृति अभेद एवं नित्य प्रकृति हो यसैले सम्पूर्ण जीवहरूको जन्म एवं पालन गर्दछ। यसैमा जगत् व्यस्त छ भन्ने भाव अभिव्यक्त गरेर प्रकृतिको सजिवताको चित्रण गरेका छन्। नेपाली साहित्यका महाकवि देवकोटाले शाकुन्तल महाकाव्यको मङ्गलाचरणमा प्रकृतिको मनोरम एवं कोमलरूपको चित्रण गरेका छन्। दुवै कविका साहित्यिक कृतिहरूमा प्रकृति प्रतिको आदर्श भाव व्यक्त भएता पनि प्रकृतिको शान्त कोमल र उग्र तीन प्रकारका रूपलाई प्रस्तुत गरेको पाइन्छ।

पारिस्थितिक अध्ययनः- संस्कृत साहित्यका महाकवि कालिदासले अभिज्ञानशाकुन्तलम् नाटकको मङ्गलपद्यमा आठ प्रकारका तनुहरूले सृजित यस विश्वको शाब्दिक चित्र यसरी खिचेका छन्-
या सृष्टि स्रष्टुराद्या वहति विधिहुतं या हविर्या च होत्री
ये द्वे कालं विधत्तः श्रुतिविषयगुणा या स्थिता वाप्य विश्वम्।
यामाहुः सर्वबीजप्रकृतिरिति यया प्राणिनः प्राणवन्तः
प्रत्यक्षाभिः पसन्नस्तनुभिरवतु वस्ताभिरिष्टाभिरिशः।।
अर्थात् जुन जगत् स्रष्टाको पहिलो मूर्ति (तनु) हो त्यसलाई जलरुपी सृष्टि भनिन्छ। जुन मूर्तिले विधिवत् गरिएको हवन सामग्रीलाई तत्-तत् देवता समक्ष पुर्याउँछ त्यसलाई अग्नी भनिन्छ। जुन् मूर्तिले यजमानरुपमा वैदिक विधानलाई सम्पादन गर्दछ त्यसलाई तेस्रो तनु भनिन्छ। जुन मूर्तिले पक्ष, मास, ऋतु आदिद्वारा कालको विधान गर्दछ तिनीहरू सूर्य एवम् चन्द्र हुन्। त्यो मूर्ती कर्णेन्द्रियको विषय र शब्दको आश्रय भएर आकाशका रूपमा सर्वत्र व्याप्त छ। त्यो मूर्ती जसलाई विद्वानहरू सम्पूर्ण बीजको उत्पादक, कारण र पृथिवीकारूपमा प्रतिपादित गर्छन् र जुन् मूर्तीले प्राणीलाई जीवन दिन्छ त्यो वायु हो। वायुरूपी मूर्तिले सम्पूर्ण प्राणीहरूलाई जीवन दिन्छ। यी सबै प्रत्यक्ष दृश्यमान भगवान् शिवका व्याप्त अष्टमूर्तीहरूले सबैलाई रक्षा गरून्।
यस पद्यमा कालिदासले प्रकृतिका जल, अग्नी, कर्ताशक्ति, काल, शब्द पृथिवी र वायु आठ प्रकारका शक्तिहरूलाई प्रकाशित पारेका छन्। यिनीहरूले नै सम्पूर्ण परिवेशको सृजना हुन्छ। यिनीहरू एकमुष्टरूपमा रहेर जगत्को सृजना गर्छन् र यिनीहरूले नै जन-जीवनको रक्षा गर्छन् भन्ने निचार प्रस्तुत गरेका छन्। यस आधारले प्रस्तुत पद्यको विवेचना गर्दा कालिदासले प्रकृतिलाई मानिस भन्दा माथि राखेर अध्ययन गरेको पाइन्छ। प्रकृतिको जलका रूपमा शीतल, अग्नीकारूपमा गरम (उग्र), कार्यशक्तिका रूपमा गुणवान् (सत्व, रज र तम), सूर्य र चन्द्रका रूमा उग्र एवम् मलीन दुवै, शब्दकारूपमा व्यापक, पृथिवीकारूपमा उत्पादक एवं सृजनाशील र वायूकारूपमा जीवनदाताकारूपमा विवेचना गरेको पाइन्छ। यसरी पृथिवीको प्रकृतिको सर्वव्यापी र सर्वगुणी रूपको चर्चा गरेर कालिदासले यस पद्यमा प्रकृतिको आदर्शभाव अभिव्यक्त गरेको पाइन्छ।
नेपाली साहित्यका महाकवी लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यको मङ्गलाचरणमा प्रकृतीको कोमलरूपको अभिव्यक्ति सँगै सम्पूर्ण महाकाव्यको सारलाई प्रस्तुत गरेको पाइन्छ-
चिम्ली लोचन दीर्घकाल तपमाखोलेर वासन्तिका।
नाच्दी सुन्दर तालले पवनमा देखी फुलेकी लता।।
बिर्से झैं भन को तिमी यति भनी गौरी रुलाईकन।
मुस्काएर फुल्याउँदा शिव दिऊन कल्याणको चुम्बन।।
उक्त पद्यमा प्रकृतिको कोमलरूपलाई व्यक्त गर्ने वासन्तिका, फुलेकी लता, रुलाईकन र कल्याणको चुम्बन पदहरू प्रयोग गरिएको छ। यी पदहरूको प्रभावले पाठकको हृदयमा प्रकृतिको सौन्दर्यरूप प्रतिको मोह अभिव्यक्त हुन्छ। त्यसैले यस पद्यमा प्रकृतिको कोमल एवं संवेदशील रूपको प्रस्तुतसँगै सम्पूर्ण शाकुन्तल महाकाव्यको सार अभिव्यक्त भएको छ। यस पद्यमा देवकोटाको प्रकृति प्रतिको आदर्श भाव अभिव्यक्त भएको छ।
त्यसरी नै प्रकृतिको उग्र रूपको वर्णन कालिदासले दुर्वाशाद्वारा शापित शकुनतलाको भविष्यको संकेत स्वरूप वर्णनको प्रसङ्गमा यसरी व्यक्त गरेका छन्-
यात्येकतोस्तशिखरं पतिरोषधीनामाविष्कृतोरुणपुरःसर एकतोर्कः।
तेजोद्वयस्य युगपद्व्यसनोदयाभ्यां लोको नियम्यत इवैष दशान्तरेषु।।
एक पट्टि चन्द्रमा उदय भई रहेको छ अर्को पट्टि अरूणोदय भई रहेको छ। एकै समय दुई प्रकारका तेजहरूको उदय र अस्तयले विश्वमा कुनै स्थिति पनि समान हुँदैनन् भन्ने संकेत दिइरएका छन्। यो वस्तुको अवस्था अनि अनित्यता ईश्वरीय नियमको प्रतिति हो।
प्रस्तुत पद्यमा दुई प्रकारका तेजहरूको एकै समय उदय हुनु प्रकृतिको उग्ररूपको चित्रण गर्नु हो। संसारमा कुनै पनि स्थिति समान नभएको भाव व्यक्त गर्नु प्राकृतिक पदार्थहरूको अनित्यता देखाउनु हो। परस्पर विरोधी तेजरूको एकै साथ उदय भएको देखाउनु शकुन्तलालाई पुत्र रत्न प्राप्त हुने अनि दुष्यन्तसँग विछोड हुने संकेत व्यक्त हुनु हो। य़स पद्यमा शकुनतलाको जिवनस्थितिसँग प्रकृतिको सामाञ्जस्यता स्थापित गरिएको छ।
त्यसरी नै देवकोटाले मदनविह्वल शकुन्तलाको स्थितिको चित्र यसरी खिचेका छन्-
वसन्त अलि मारको नव प्रसादको तापले।
सुकाउँदछ ओठ नै कुसुमका मिहि रापले।।
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस।
जलेर रँगका शिखाहरू जले दिशामा दश।।
प्रस्तुत पद्यमा वशन्त ऋतुकोक चित्रण गरिएको पाइन्छ। यो समय स्वभावैले मनोरञ्जनानुकूल भएको हुनाले मानिसको चित्वृत्ति पनि मोहात्मक हुन्छ। प्रकृति मनोरञ्जनानुकूल भए पनि त्यसभित्र सबै प्रकारका रूपहरू समाहित हुन्छन्। उक्त्त पद्यमा मोहात्मक वसन्तमा पनि तपन र तापन शक्ति हुन्छ। यस पद्यमा शाकुनतलाको दुश्यन्त प्रतिको वासनात्मक अनुराग व्यक्त भएको पाइन्छ। व्यनानुरूल प्रकृतिको उग्र चित्रणले चरित्रको चित्तदशासँग साक्षात्समबन्ध स्पित गरेको पाइन्छ।
स्थिति अनुकूल प्रकृतिको वर्णन कालिदासले यसरी गरेको पाइन्छ-
सङ्कल्पितं प्रथममेव मया त्वदर्थं
भर्त्तारमात्मसदृशं स्वगुणैर्गतासि।
अस्यास्तु सम्प्रति वरं त्यि वीतचिन्तः
कान्तं समीपसहकारमिमंकरिष्ये।।
हे पुत्री तिम्रो कुनै योग्य वरसँग विवाह गरिदिने मेरो सङकल्प थियो तर तिमी आफैँले तिम्रो गुणअनुरूप वर प्राप्त रर्यौ। त्यसैले म निश्चिन्त भएँ अब यो माधवीलताको पनि छेउवैमा भएको मनोहर आम्ररूपी वरसँग विवाह गरिदिन्छु।
उक्त पद्यमा शकुनतला र माधवीलताको समान यौवन कालको तुलना गरिएको छ। त्यसरी नै आम्रवृक्ष र दुष्यनतको पनि पूर्ण वयस्क यौवनको सांकेतिक तुलना गरिएको। लाक्षणिक रूपमा माधवीलता र आम्र पल्लवको संङ्केतले विवाहयोग्य वसन्तकालको प्रतिति हुन्छ। अतः यहाँ मानवीय स्थिति अनुकूल प्रकृतिको वर्णन गरेको पाइन्छ।
त्यसरी नै देवकोटाले तेइस सर्गमा दुष्यनतको प्रतापको प्रकृतिसँग सामाञ्जस्यता देखाएको पाइन्छ-
गर्मी चढ्दै गयो झन् क्षणभर सुर ती रापले ताप पारी।
गर्माएका हुँदामा हँसमुख अब छन् भूप दुष्यन्त भारी।।
मेरो यो अस्त्र यौटा हृदनल कहिने एक यो हो बिजूली
मेघारूढा भवानीसँग वर पहिले पाइएको खुसीमा।।
प्रस्तुत पद्यमा गर्मीको मौसममा स्वभावैले मानिसकको मानसिक एवं शरीरिक स्थिति पनि गरम हुन्छ। दुष्यन्त शारीरिक एव स्थिति गरम भएपनि प्रसन्न मुद्रामा छन् त्यसैले उनी धीर एवं उदात्त छन्। गृष्म ऋतुको घामसमानै जब दुष्यनतको हृदयानल जल्दछ तब उनको अस्र बिजुली समान हुन्छ। यो वरदान उनले इन्द्रबाट पाएका हुन्। यस प्रकारको भाव प्रस्तुत पद्यबाट व्यक्त भएपनि लाक्षणिक रूपले अभेदारोपद्वारा दुष्यन्तको उग्र प्राकृतिक स्वरूपसँग तुलना गरिएको पाइन्छ।
निष्कर्षः- परिस्थिति विमर्शले साहित्यमा निस्यूत मानिस र भौतिक प्रकृतिको अन्तर्सम्बन्धको अध्ययन गरेको पाइन्छ। परिस्थिति शब्दमा इक प्रत्यय लगाएर परिस्थितिक शब्दको निर्माण गरिन्छ। यसको प्राज्ञिक अर्थ समसामयिक वातावरणबाट सिर्जना भएको भन्ने हुन्छ। यसमा लगाइएको इक प्रत्ययले स्थिति अर्थलाई बोकेको देखिन्छ। यसो गर्दा परिस्थितिक शब्दको अर्थ समसामयिक वातावरणबाट सिर्जना भएको स्थिति भन्ने हुन्छ। यसरी विवेचना गर्दा परिस्थितिक अध्ययनमा साहित्यिक कृतिहरूमा अभिव्यक्त भएको तत्कालिन समयको मानिस र प्रकृतिविचको अन्तसम्बन्ध या अन्तर्सम्बन्धको अध्ययन गरिन्छ। संस्कृत साहित्यका महाकवि कालिदास र नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यमा तत्-तत्कालिन मानिस र वातावरण वा प्रकृतिविचको अन्तसम्बन्ध र अन्तर्सम्बन्ध अभिव्यक्त्त भएको पाइन्छ। दुवै साहित्यका महाकविले दुवै साहित्यमा मानिसलाई प्रकृतिको अभिन्न अङ्गका रूपमा स्थापित गरेर प्रकृति नै मानिसके सर्वस्व हो भन्ने विचार व्यक्त गरेका छन्। मानिसको प्रकृति प्रतिको आदर्श प्रेम प्रस्तुत गरेका छन्। कृतिमा प्रयोग गरिएका पात्रहरूको व्यवहार मानसिकस्थिति घटनाका स्वभाव सँग प्रकृतिको परस्पर सामाञ्जस्यता स्थापित गरेका छन्। दुवै कृतिमा प्रकृति एवं मानवीय प्रकृतिका सबै स्थूल मलिन, उग्र र शान्त आदि रूपहरू चित्रित पाइन्छन्। यनिहरूमा सबैमा प्रकृति प्रधान हुनाले मानवीय जीवन प्रकृतिमा निर्भर हुन्छ। प्रकृति अनुरूप मानवीय जीवनमा विभिन्न स्थितिहरू परिवर्तन भइरहन्छन्। त्यसैले प्रकृति र मानिस पृथक नभएर मानिस प्रकृतिकै अंश हो भन्ने भाव अभिव्यक्त हुन्छ। प्रकृतिकै अंश मानिस हो भन्ने दुवै माहाकविका कृतिले चेतना दिएको पाइन्छ।
सन्दर्भ ग्रन्थ :-
१. आप्टे, वामन शिवराम, सन् २००२, संस्कृत हिन्दी कोश, जयपुर : रचना प्रकाशन
२. चापागाईं, नरेन्द्र (सम्पा.) सन् सन् २००६, नेपाली शब्दभण्डार, विराटनगर : श्याम पुस्तक भण्डार
३. देवकोटा, लक्ष्मीप्रसाद, सन् २०१०, शाकुन्तल (नवौं सं) ललितपुर : साझा प्रकाशन
४. पराजुली, कृष्णप्रसाद (सम्पा.) सन् २००७, नेपाली बृहत् शब्दकोश ( नवौं सं.) काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान
५. विश्वनाथ, सन् २०००, सहित्यदर्पणः (दसौं सं.) वाराणसी : चौखम्बा विद्याभवन
६. शास्त्री, वेदप्रकाश (सम्पा.) सन् २०१५, रधुवंशम्, वारणासी : चौखमेबा विद्याभवन
७. शास्त्री, वेदप्रकाश (सम्पा.) सन् २०१५, अभिज्ञानशाकुन्तलम्, वारणासी : चौखमेबा विद्याभवन
सहायकप्राध्यापक संस्कृत साहित्य विभाग
सरकारी संस्कृत महाविद्यालय साम्दोङ्ग पूर्व सिक्किम

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु