आवाज हराएको सहरमा कविता कृतिको अध्ययन

- डा. पुष्करराज भट्ट

१. जीवन परिचय
हर्ष स्याङ्बो (१९८४) नेपाली राजनीतिक आन्दोलनका एक अग्रणी योद्धाका साथै साहित्यिक क्षेत्रमा पनि सक्रिय स्रष्टा हुन् । सिन्धुुपाल्चोक जिल्लाको बोठाङमा आमा कुुसाङ डोल्मा र पिता दावा स्याङ्बो लामाको सुुपुुत्रका रूपमा जन्मेका हर्षले नेपालको वामपन्थी राजनीतिक आन्दोलनमा आफ्नो जीवनको लामो समय व्यतित गरेको पाइन्छ । उनको आदर्श माक्र्सवाद, लेनिनवाद र माओवाद हो । लामो समय राजनीतिक जीवन बिताएका हर्ष स्याङ्बोले कुनै समय निर्माण व्यवसायीको रुपमा कार्य गरेको पाइन्छ । यिनको जीवन भारतको सिक्किम, दार्जिलिङका साथै बनारसमा समेत बितेको पाइन्छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालबाट पार्टीको सदस्यता पाएका यिनले आफ््नो जीवनको लामो अवधि राजनीतिक कार्यकर्ताको रुपमा व्यतित गरेको पाइन्छ । वि.स. २००६ सालमा नेकपाको सम्पर्कमा आएका स्याङ्बोले पार्टीको संगठन निर्माणका क्रममा बाग्लुङ, मुस्ताङ, कास्की र तनहुँमा खटिएर संगठन विस्तारमा योगदान दिएको पाइन्छ । उनले पाँच वर्ष निर्वासित जीवन एवम् दुई वर्ष कारावासमा बिताएको पाइन्छ । उनी पटना विश्वविद्यालयमा बीए गरेका स्याङ्बोले चेन्नईको मदुरई विश्वविद्यालयमा स्नातकोत्तर परीक्षा पुरा नहुँदै पार्टीको भूमिगत जीवनमा सहभागी भएका थिए ।
हर्ष स्याङ्बोको परिचयमा साहित्यिक परिचय समेत जोडिएर आउँछ । युवा कालमा दार्जिलिङ्मा रहँदा मेक्सिम गोर्कीको आमा उपन्यासबाट प्रभावित स्याङ्बोका रचना बनारस बसाइकालमा युगवाणी पत्रिकामा प्रकाशित भएको पाइन्छ । भारतीय लेखक प्रेमचन्द, यसपाल र बच्चनका कृतिबाट उनमा साहित्यिक प्रभाव विस्तार हुँदै गयो । उनका हालसम्म प्रकाशित मुुर्दाको आवाज (२००८), आवाज हराएको सहरमा (२०६६) कविता कृति रहेका छन् भने उपन्यासतर्फ मखमली (२०६३) रहेको छ । त्यसरी नै नेपाल र भारतका विभिन्न पत्रपत्रिकामा फूूटकर रचना प्रकाशित भएका छन् भने तामाङ जातिको उद्भव, विकास र संस्कृति नामक पुुस्तक प्रकाशकोन्मुख रहेको छ । उनी विद्या राणा स्मृति प्रतिष्ठानको अध्यक्ष हुुनुुका साथै जेष्ठ नागरिक सेवा समाजमा समेत आबद्ध छन् । उनले हालसम्म जेष्ठ नागरिक सेवा समाजबाट सम्मानित (२०६८), पुुष्पलाल राष्ट्रिय पुुरस्कार (२०७२–२०७३) एवम् गणतान्त्रिक योद्धा सम्मान (२०७३) पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।
२. आवाज हराएको सहरमा कविता कृति र लेखकको वैचारिकता
आवाज हराएको सहरमा कविता कृतिको प्रकाशन वि.स. २०६६ सालमा विद्या राणा स्मृति प्रतिष्ठानले गरेको पाइन्छ । यस कृतिमा २७ कविता रचना प्रकाशित छन् । यी रचनाले नेपालको राजनीतिक इतिहासका सन्दर्भका साथै सामाजिक जीवनका विभिन्न पक्षको बारेमा समेत प्रकाश पारिएको पाइन्छ । लेखक हर्ष स्याङ्बोको मूल परिचय एक राजनीतिक कार्यकर्ताका रुपमा रहेको छ । नेपालको वामपन्थी राजनीतिक आन्दोलनको एक अथक योद्धाका हिसाबले उनले नेपालको राजनीतिक एवम् सामाजिक परिवर्तनका अनेकन मोड एवम् घुम्तीलाई पार गरेर अघि बढेको पाइन्छ । उनमा राजनीतिक चेतनाको प्रबलता छ । सामाजिक न्याय, शोषणरहित समाजको स्थापनाका साथै निम्नवर्गीय जीवनप्रतिको सम्वेदना भाव उनको जीवनको मूल सपना हो । एक परिवर्तनको चेतना बोकेको राजनीतिक कार्यकर्ताको चिन्तनको स्रोत भनेको राजनीतिक, सामाजिक आन्दोलन नै हो । लेखकको राजनीतिक प्रतिबद्धता र उनको समर्पण भाव कवितामा पोखिएको छ । एक परिवर्तनधर्मी राजनीतिक कार्यकर्ताका हिसाबले यिनले न्याय, समानता र स्वतन्त्रताको स्वरलाई राजनीतिक मञ्च मात्र नभएर साहित्यिक रचनामा पनि उतारेका छन् । यसर्थमा उनको यस किसिमको चिन्तन र कर्मले एक इमान्दार राजनीतिकर्मी एवम् एक सामाजिक यथार्थवादी साहित्यिक स्रष्टाका रुपमा चिनाउन मद्दत पुगेको छ । लेखकको जीवनकर्म र उनको साहित्यिक चिन्तनका बिचमा तादम्यता पाइन्छ । यस हिसाबले उनले लेखनी र जीवनकर्मका बिचमा तादम्यता राख्ने स्रष्टाका रुपमा आफ्नो परिचय स्थापना गरेको देखिन्छ ।
३. आवाज हराएको सहरमा कविता कृतिको अध्ययन
स्रष्टा हर्ष स्याङ्बोको यो दोस्रो कविता कृति हो । यसभन्दा पहिले वि.स. २००८ सालमा प्रकाशित मुर्दाको आवाज उनको पहिलो कविता कृति हो । यस हिसाबले उनको कविता यात्राले छ दशकसम्मको अवधि पार गरेको छ । यस हिसाबले हर्ष स्याङ्बोको छ दशकभन्दा लामो समयको नेपाली समाज, राजनीतिको अध्ययनको निचोडका रुपमा यस कृतिलाई लिन सकिन्छ । यस अध्ययनमा उनका रचनाको विचारमूल्यको अध्ययन गर्ने क्रममा इतिहासचेतनाका कविता, वर्गसंघर्ष एवम् वर्गभेदसँग सम्बन्धित कविता, मुतिmचाहनासँग सम्बन्धित कविता, निम्नवर्गीय सम्वेदनासँग सम्बन्धित कविता, युद्धको विरोधसँग सम्बन्धित कविता एवम् जीवनको विवशताको चित्रण गरिएका कविता भनेर वर्गिकरण गरिएको छ र कविताको उदाहरण सहित विश्लेषण गरिएको छ ।
(क) इतिहासबोधका कविता
स्र्रष्टा हर्ष स्याङ्बो नेपाली समाज, संस्कृति, जीवनका साथै राजनीतिक आन्दोलनलाई पनि लामो समयदेखि अध्ययन गर्दै आएका एक जागरुक कवि हुन् । उनका कवितामा इतिहासका पात्र, ती पात्रले नेपाली समाजको परिवर्तनका निमित्त खेलको भूमिका र नेपाली समाजको चरित्रका बारेमा चर्चा गरिएको पाइन्छ । राजनीतिक नेतृत्वले महान व्यक्तिका सालिक बनाए पनि समाज परिवर्तनप्रति चासो नराखेको, आफ्नो स्वार्थमा मात्र केन्द्रित भएको र जनताको स्तर सुधिन नसकेको सन्दर्भ उनका कविताको मूल पक्ष बनेर आएको छ । यसै सन्दर्भमा भीमसेन स्तम्भ , मान्छेको इतिहास कवितालाई उदाहरणको रुपमा लिन सकिन्छ ः
(१) यो सुनसान रातमा÷मुटुभरि व्यथा बोकेर÷दुई शताब्दीदेखि÷ सुनधारा अगाडि उभिरहेको छ÷यो धरहरा÷भीम स्तम्भ भएर (पृ.३)
(२) आफै÷भाइबन्धु परिवारको÷ हत्या गरेर÷सत्ता हातमा लिएर÷युद्धभन्दा÷नयाँ कुरा मान्छेको इतिहास भएन (पृ. २८)
यहाँ उदाहरण (१) मा दुई शताब्दीदेखि मानिसका पीडा, अभाव र व्यथाको साक्षीको रुपमा भीम स्तम्भ रहेको विचार व्यक्त भएको छ । इतिहासमा मानिसले पीडा, क्रन्दन र अभाव मात्र भोगेको, जीवनमा सुख पाउन नसकेको र समाज परिवर्तन नभएको एक निस्सार अनुभूति कवितामा प्रकट भएको छ । कवितामा इतिहासबोधका साथै वर्तमानका पीडा र कष्टको अनुभूतिलाई स्वर प्रदान गरिएको छ । उदाहरण (२) मा मानिसको इतिहासको हिंस्रक प्रवृत्तिको चर्चा गरिएको छ । राजनीतिक इतिहासको सन्दर्भ प्र्रस्तुत गर्ने क्रममा युद्धका नाममा गरिने हिंसा न्याय, समानता र मुक्तिका लागि नभएर सत्ताप्राप्ति र स्वार्थ साधनाका लागि भएको सन्दर्भ व्यक्त भएको छ । मान्छेको इतिहासको कुरुप पक्षलाई चर्चा गर्ने क्रममा इतिहासको कालो पक्षको बारेमा लेखकले प्रकाश पारेका छन् ।
(ख) वर्गभेद र वर्गसङ्घर्षसँग सम्बन्धित कविता
कुनै पनि समाजमा विभिन्न किसिमका आर्थिक, सामाजिक, सांस्कृतिक वर्ग रहेका हुन्छन् । समाजमा रहेका प्रभुत्वशाली वर्गले समाजका निमुखा, कमजोर र साधनहिन मानिसप्रति अपमानजनक व्यवहार गर्ने, दोस्रो दर्जाको मानिसको व्यवहार गर्ने र उनीहरूप्रति उपेक्षा गर्ने कार्य गरेको पाइन्छ । यसै सन्दर्भमा आफ्नो अस्तित्वबोध भएका पात्रले यस किसिमको परिपाटीप्रति विद्रोहको स्वर प्रस्तुत गर्नाका साथै आफ््नो अधिकारका निमित्त, परिचय स्थापनाका निमित्त कार्य समेत गरेको पाइन्छ । यसै सन्दर्भमा क्रिसमस डे, मुर्दाको आवाज कवितालाई उदाहरणको रुपमा लिइएको छ ः
(३) मेरो देशमा÷ सम्पन्न र विपन्नको÷संघर्ष चलिरहेको छ,÷सुविधाभोगीहरूका विरुद्धमा÷विपन्न वर्गहरुले÷गाँस, बास र कपासका लागि÷संघर्ष गरिरहेका छन् (पृ. १४ र १५)
(४) ए मान्छे, ए स्याल÷ए गिद्धहरु हो÷थिचेर, मिचेर÷हामीलाई खाडलमा पुरेर÷ खुब रमाऊ÷हामी एक भई उठ्यौं भने÷सारा मुर्दा जुटयौं भने÷ तिमीहरुको शक्तिको केही चल्दैन (पृ. ४५)
माथिको उदाहरण (३) मा क्रिसमस डे कविता र उदाहरण (४) मा मुर्दाको आवाज कवितालाई उद्दरणको रुपमा प्रस्तुत गरिएको छ । उदाहरण (३) मा समाजमा रहेको वर्गसंघर्षको अवस्था चित्रण गरिएको छ । मानवीय न्याय र समानताका लागि संघर्ष चलिरहेको अवस्था बोध गरिएको छ । उदाहरण (४) मा विद्रोहचेत प्रस्तुत भएको छ । कवितामा समाजमा शोषण, अन्याय, अत्याचार गर्नेप्रति घृणा व्यक्त भएको छ । अन्यायले चरम रुप लिँदा जनता विद्रोहमा उत्रन सक्ने र कमजोर ठानिएका, हेपिएका, मुर्दा सरह मानिएका सब जागेर अन्याय विरुद्ध न्यायको पक्षमा लागेर आफ्नो अस्तित्वरक्षा गर्न सक्ने अवस्था चित्रण गरिएको छ । यहाँ उदाहरण (३) मा वर्ग संघर्षको यथार्थबोध आएको छ भने उदाहरण (४) मा विद्रोहचेतनाका साथै परिवर्तनधर्मी चेतनाको समेत प्रस्तुति पाइन्छ ।
(ग) मुक्तिबोधका कविता
मानिसको जीवन जतिसुकै कष्टप्रद भएपनि जीवनमा उज्यालोको खोजी जारी रहन्छ । मानिसको रहेको यही पक्षले उसलाई निरन्तर क्रियाशील र सक्रिय जीवन बाँच्न सिकाउँछ । कवि हर्ष स्याङ्बोले राजनीतिक यात्राका क्रममा विभिन्न उतारचढाव भोगेको पाइन्छ । उनका जीवनप्र्रतिको आशा निरन्तर बलिरहन्छ र यसले उनी भित्रको जुझारु र परिवर्तनधर्मी चेतनाको आगोलाई स्वर दिइरहन्छ । उनको मुक्तिबोध र जीवनबोधका कवितामा मुक्तिचाह, मेरो जन्मदिन, म मजदुर हुँ रहेका छन् ।
(५) हामीहरू पनि÷ ती चराहरू जस्तै÷ पर्खाल नाघेर÷कहिले÷ बाहिर जान पाउने छौं (पृ. ८)
(६) प्रत्येक वर्ष÷त्यो जूनलाई हेर्छु÷मेरी आमा÷ मलाई जन्माउन÷ प्रसव वेदनाबाट÷ छटपटाइरहेकी जस्तो लाग्छ (पृ. ३७)
(७) मेरो बलिदान÷भोलि अवश्य वरदान हुनेछ÷मेरो कल्पना विपना हुनेछ ÷मेरो क्रन्तिले÷
विश्वमा शान्ति ल्याउनेछ÷मेरो महान त्यागले÷नव निर्माण गर्नेछ (पृ. ५१)
यहाँ उदाहरण (५) मा मुक्तिचाह, उदाहरण (६) मा मेरो जन्मदिन र उदाहरण (७) मा मजदुर हुँ कविताका अंश प्रस्तुत गरिएको छ । उदाहरण (५) मा एक राजनीतिक बन्दीको मुक्तिको चाहना व्यक्त भएको छ । यहाँ चरालाई मुक्ति र स्वतन्त्रताको प्रतिक मानिएको छ । यसमा म पात्रले चराले खुल्ला आकाशमा स्वतन्त्रतापूर्वक बाँचे जसरी आफूले पनि स्वतन्त्र किसिमले बाँच्न पाउने दिन कहिले आउने होला भनेर भोलिको भविष्यको कामना गरिएको छ । उदाहरण (६) मा परिवर्तनका निमित्त आमाले आपूmलाई जन्माएकोले आफूले परिवर्तनधर्मी चेतनाको पक्षमा लागिरहने विचार व्यक्त गरिएको छ । उदाहरण (७) मा एक मजदुरका चिन्तनलाई प्रस्तुत गर्ने क्रममा मजदुरको क्रान्तिमय जीवनले समाजमा परिवर्तन ल्याउने र त्यसले नवनिर्माण गर्ने भाव अभिव्यक्त गरिएको छ । यसरी यस कवितामा लेखकले नेपाली समाजमा रहेको परिवर्तनधर्मी चेतनाका साथै मुक्तिबोधलाई सशक्त किसिमले प्रस्तुत गरेका छन् ।
(घ) निम्नवर्गीय पात्रप्रति सम्वेदना
कवि हर्ष स्याङ्बोका कवितामा निम्नवर्गीय पात्रको जीवनप्रति सहानुभूति एवम् सम्वेदनाको स्वर प्रकट भएको पाइन्छ । उनका कवितामा समाजमा रहेका गरीब, निमुखा जनता र तिनको नारकीय जीवनप्रतिको सम्वेदनाको भावका साथै उनीहरूको जीवनमा परिवर्तन आउने कामना समेत गरिएको छ । उनका यस किसिमको भावविचारको प्रतिनिधित्व गर्ने कवितामा भगवानको मन्दिरमा, फूल, ताजमहल रहेका छन् ।
(८) जब शंखनाद÷मन्दिरमा गुन्ज्यो÷शंखनादमा÷भिखारीको करुण स्वर÷सुस्तरी क्षीण हुँदै थियो ÷ भगवान÷एक टुक्रा रोटी (पृ.६५)
(९) अशिक्षित भोका मजदुरहरूले÷केही बुझ्न सकेनन्÷एक अर्कामा कुरा गर्न लागे ÷यो महल बनाउँदाखेरि÷शाहजहाँले ÷एउटा ढुङ्गा समेत बोकेन÷ तैपनि उसले ÷कसरी महल बनायो (पृ. ८६)
यहाँ उदाहरण (८) मा भगवान र भिखारीको प्रसंग आएको छ । मन्दिरमा पुजा गर्न आउनेको वास्ता हुने तर गरीब भिखारीले भोकभोकै बस्नुपर्ने सन्दर्भ यस कवितामा आएको छ । यस कवितामा लेखकले विपन्न गरीब भिखारी पात्रप्रतिको सम्वेदना प्रकट गरेका छन् । त्यसरी नै उदाहरण (९) मा विपन्न मजदुरको श्रमले ताजमहल बनेको सन्दर्भ आएको छ । कुनै काम नगरेर एक ढुङ्गा समेत नबोक्ने शाहजँहाले महल बनाएको भन्नु श्रमिकको श्रमको अपमान भएको भाव कवितामा व्यक्त भएको छ । कवि हर्ष स्याङ्बोका कवितामा निम्नवर्गीय पात्रप्रतिको सम्वेदना प्रखर किसिमले व्यक्त भएको छ ।
(ङ) युद्धको विरोध
कवि हर्ष स्याङ्बोका कवितामा अन्यायपूर्ण तरिकाले आम जनताको नरसंहार गर्ने युद्ध र युद्धजन्य क्रियाकलापको विरोध गरिएको छ । उनका कवितामा आम नरसंहारले लाखौंलाख मानिसको हत्या हुनपुगेको, जनताले घरबारविहिन हुनुपरेको र मानवीयताको ह्रास भएको सन्दर्भलाई पुष्टि गरिएको छ । प्र्रजातन्त्र र मानवअधिकारको नारा दिएर विश्वका शक्तिशाली मुलुकले कमजोर र विपन्न देशमा बमवर्षा गर्ने र मानव जातिको संहार गर्ने कार्यप्रति घोर घृणाका साथै विरोधको स्वर समेत व्यक्त गरेका छन् । उनका यस विषयसँग सम्बन्धित रचनामा हेलो अफगानिस्तान, नयाँ वष १ रहेका छन् ।
(१०) प्रजातन्त्र बहुलाएको छ÷कहिले÷मानवअधिकारको नाममा÷कहिले÷ आतंकवादको नाममा
सारा संसारमा आतंक मच्चाइरहेको छ (पृ. ३४)
(११) तिमीचाहिँ÷बी–५२ बमवर्षक÷विमानमा÷एउटा हातमा बम÷र अर्को हातमा÷बारुद लिएर÷आयौ भने÷भन नयाँ वर्ष÷म कसरी÷तिम्रो अभिवादन गरुँ ! (पृ. ९२)
माथिको उदारहण (१०) मा प्रजातन्त्र र मानवअधिकारको नाममा शक्ति राष्ट्रले गरेको हिंसक एवम् आतंकपूर्ण गतिविधिप्रति असहमति प्रकट गरिएको छ भने उदाहरण (११) मा नयाँ वर्षको आगमनको सन्दर्भको प्रस्तुतिका क्रममा नयाँ वर्षले आंतक र हिंसा लिएर आएमा आफूले त्यसको स्वागत गर्न नसक्ने विचार व्यक्त भएको छ । कवि हर्ष स्याङ्बोका कवितामा युद्धजन्य गतिविधि र शक्तिका आडमा गरिने आतंकपूर्ण क्रियाकलापप्रतिको आलोचना गरिएको पाइन्छ ।
(च) जीवनको विवशताको चित्रण
कवि हर्ष स्याङ्बोका कविताको प्रमुख पक्ष जीवनका विवशताको चित्रण पनि हो । उनका यस किसिमका रचनामा मेरो शवयात्रा, सहयात्रा आदि रहेका छन् ।
(१२) कुन्नी मेरो अनन्त यात्रा÷अज्ञात छ÷केवल मेरा लागि÷अन्धकारमय÷र अनिश्चित भएर÷फेरी अर्को गन्तव्यतर्फ÷सार निस्सार÷उन्मुख छ (पृ. १२)
(१३) यो कंक्रिटको जंगलभित्र÷सिमेन्टसित घोलेर÷कंक्रिटको एउटा÷स्तम्भमात्र भएको छ÷यो भव्य अट्टालिकाभित्र÷दासता स्विकारेर÷थाप्लोभरि÷विश्व बैंकको कर्जा भिर्दै÷गाँस, बास, कपासको ÷चिन्तामा÷रक्तपिपासु दानवहरूको ÷बम विस्फोटको धुवाँ र बारुदको गन्धमा÷अस्तित्वको खोजी (पृ. १९–२०)
माथिका उदाहरणमा जीवनको अनिश्चित यात्राको संकेत गरिएको छ । उदाहरण (१२) मा जीवनको यात्राको कुनै भर नभएको र जीवन कसरी समाप्त हुने हो भन्ने पिर व्यक्त भएको छ । त्यसरी नै उदाहरण (१३) मा पनि देशको विवशताजन्य अवस्थाको चित्रण गरिएको छ । सहरमा कंक्रिटमात्र थपिएको, देश क्रमशः पराधिन हुन पुगेको र विदेशीको ऋणमा बाँचिरहेको विवशताजन्य अवस्थाको चित्रण गरिएको छ । यी लघुकथामा देशमा नागरिकको जीवनको सुरक्षा नभएको, देश स्वयं पराधिन बन्दै गएको, विदेशी ऋणमा डुबेको अवस्थाबोध गरिएको छ ।
४. निष्कर्ष
कवि हर्ष स्याङ्बो परिवर्तन र मुक्तिको आवाजलाई प्रखर किसिमले व्यक्त गर्ने कवि हुन् । आफ्नो जीवनको लामो समय राजनीतिमा बिताएपनि उनले साहित्यिक लेखनमा पनि आफ्नो मनोयोग प्रस्तुत गर्दै आएको पाइन्छ । विगत छ दशक यताको नेपाली समाजका विभिन्न घटना र प्रवृत्तिलार्इृ नजिकबाट नियाल्दै आएका स्याङ्बोले राजनीतिक व्यवस्थाका विकृति, सामाजिक विसंगतिका साथै वर्गीय पक्षधरताका कविता प्रस्तुत गरेका छन् । इतिहासबोधले प्रेरित भएका उनका कवितामा नेपाली समाजको रुपान्तरणको चाहना व्यक्त भएको छ । जीवन भोगाइका क्रममा देखापरेका कतिपय कठिनाइले उनमा क्षणिक निराशाबोध देखिएपनि यो उनको लेखनको मूल स्वर होइन । उनका कविता सरल, सहज किसिमका छन् र यी सहजै बुझ्न सकिने किसिमका छन्् । वैचारिक दृष्टिले अत्यन्त शक्तिशाली उनका कवितामा अलिकति कलात्मक शिल्प पनि थपिएको भए त्यसले यी रचनालाई थप उचाइमा पुगाउन सक्थे की ? भनेर हामीले आशा गर्ने ठाउँ रहेकै छ । नेपाली समाजको रुपान्तरणको चेत सहित अग्रगामी सामाजिक परिवर्तनका पक्षपाती कवि हर्ष स्याङ्बोको सशक्त कवित्वचेतले भावी पुस्तालाई क्रान्ति र परिवर्तनको निष्ठामा बाँचेको कविको आत्मानुभूतिको ज्ञान भने पक्कै गराएको छ ।

सन्दर्भ सामग्री
स्याङ्बो. हर्ष (२०६६). आवाज हराएको सहरमा. भक्तपुर ः विद्या राणा स्मृति प्रतिष्ठान ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु