स्वर्गैसरी स्वर्गद्वारी

- विनोद नेपाल

हामी अघिल्लो दिन रोल्पाको लिवाङ पुगेका थियौं । दिउंसो ४ बजे अघि नै पुगेकाले लिवाङ बजार र सेरोफेरोको घुमफिर पछि हामीले भोली विहान स्वर्गद्वारी तर्फ जाने योजना बनायौं । सोही अनुसार जेठ १० गते विहान ७ बजे नै अगाडि बढ्यौं । पुग्नु थियो सातदोबाटो हुंदै सुलीचौर, खुंग्री, चतुर्भुज अनि भिंग्री । त्यहांबाट लाग्नु थियो स्वर्गद्वारी तर्फ ।
भिंग्री पुग्दा झण्डै नौ बज्यो । हामीले त्यहां चिया पियौं । अनि पक्की छाडेर लाग्यौं कच्ची सडक तर्फ माथि डांडामा अवस्थित स्वर्गद्वारी ताक्दै दक्षिण–पश्चिम ।
जतिजति माथि उक्लंदै गयौं उतिउति रमाइला दृष्य देखिए । समथर फांट, तुवांलो भित्र उकुसमुकुसिएका वस्ती अनि परपरसम्मका डांडाकांडा देखिन थाले । फांटमा बाक्लो वस्ती अनि आंखाले देखेसम्मका भित्तामा सडकका धर्सा भएपछि तुवांलोले नढाकोस् पनि किन ? हरियाली भए पो त प्रदूषण भाग्दथ्यो ।
झण्डै ४५ मिनेटको यात्रा पछि हामी ‘धरम्पानी’ पुग्यौं । यो भञ्ज्याङ स्वर्गद्वारी आश्रमको फेदि हो । यहां केही पसलहरु छन् । उता दाङ तर्फबाट होलेरी हुंदै आएपनि आइपुग्ने यहीं नै हो । गाडीहरु यही राख्नुपर्ने रहेछ । धरम्पानीबाट आश्रम पुग्न ढुंगा छापेको रेलिङसहितको सुविधायुक्त फराकिलो सिंढी रहेछ ।
अलमल नगरी हामी त्यहांबाट अगाडी बढ्यौं । जतिजति माथि पुग्दै जान्थ्यौं उतिउति फरक खालका वनस्पती त देखिने नै भए, परपरसम्मका रमाइला र सुन्दर दृष्यहरु देखिन्थे । तर उही तुवांलोले गर्दा तिनलाई घुर्मैलो घुर्मैलोमा हेर्नुपर्ने बाध्यता थियो । तथापि लाग्थ्यो नेपाल सांच्चिकै प्रकृतिको अमूल्य उपहार हो । यो सुन्दर छ । यसको सुन्दरता वयान गरी साध्य छैन । मेची–महाकाली, हिमाल होस् वा मधेस–पहाड नै, जहां पुगेपनि हरेक स्थानको आफ्नै आकर्षण छ । आफ्नै विशिष्टता र आफ्नै पहिचान छ । हरेकको आफ्नै सुन्दरता छ । त्यसमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक सम्पदा र विशेषताहरु जोडिंदा त ती स्थान झनै महŒवका लाग्छन् । यिनै कारण मुलुक ठूलो पर्यटकीय आकर्षणको केन्द्र र विश्वकै पर्यटकीय गन्तव्यमा पर्दै आएको हो ।
आश्रम ताक्दै व्यवस्थित पदमार्गमा यात्रा गर्दा हामीले यहां आउनु अगाडी यात्राका विषयमा जे जस्ता कुरा सुनेका र अनुमान गरेका थियौं त्यो भन्दा भिन्न खालको वास्तविकता महसुस ग¥यौं । सुनेका कुरा गलत सावित हुंदै गए । ठाउंठाउंमा तस्वीर लिंदै हामी उकालो चढ्यौं । झण्डै ४५ मिनटको यात्रामा हामीलाई वास्तवमा भन्नुपर्दा, हिंडाइको महसुस नै भएन, थकान थाहै भएन ।
उकालोमा उक्लने, ओर्लनेहरुको संख्या राम्रै थियो ।
आश्रमको प्रवेशद्वार पुग्नु अघि बाटोमा स्वास्थ्य चौकी तथा प्रहरी चौकी रहेछन् । नजिकै पानी तथा शौचालयको व्यवस्था रहेछ ।
आश्रम परिसरमा प्रवेश गर्दा अनौठो खालको अनुभूति भयो । लामो समयदेखि मनले पुग्ने चाहना गरेको यस पुण्यभूमिमा पुग्दा आफ्ना पुर्खालाई स्मरण गर्न मन लाग्यो । सर्वप्रथम शिवालयमा पुगि शिवलिंगको दर्शन ग¥यौं अनि नजिकैका अन्य मन्दिर तर्फ लाग्यौं । त्यसपछि भने मन्दिरका पुजारी मध्येका एकले हामीलाई सहजीकरण गर्ने काम गर्नुभयो । हामी उहांकै सहयोगमा देवीदेवताको दर्शन गरी यज्ञशालामा पुग्यौं । दैनिक घृतधारा सहित हवन गरिने सो यज्ञशाला नै यस स्थानको सर्वाधिक महŒवको स्थल हो । धुवांले आंखाबाट बर्बरी आंशु बहे पनि हामी अपूर्व अवसर ठान्दै त्यहांको हवन प्रक्रियामा सहभागी भयौं । अनि गोबद्र्धन पर्वतको अवलोकन ग¥यौं । गोवद्र्धन,तलाउ र मन्दिरहरु आश्रम परिसरका आकर्षणका केन्द्र हुन् ।
यहां हरेक दिन रुद्री गरिंदो रहेछ । अघिल्लै रात वास बस्न जानेले तोकिएको रकम भुक्तानी गरेपछि भोलिपल्ट आफ्नै उपस्थितिमा स्वयं सहभागी भई रुद्री गराउन सक्ने व्यवस्था रहेछ भने नवस्नेहरुले आफ्नो गोत्र र नाम सहितको विवरण टिपाई तोकिएको रकम भुक्तानी गरेपछि सोही अनुसारको रुद्री लगाईदिने व्यवस्था रहेछ । हामीले पनि आफ्नो तर्फबाट रुद्री लगाईदिन नियमानुसारको रकम भुक्तान गरी विवरण टिपायौं । सोही स्थानमा यज्ञशालाको विभूती सहितको प्रसाद उपलब्ध गराईंदोरहेछ । हामीले प्रसाद लियौं ।
त्यसपछि हामी भोजनालय तर्फ लाग्यौं । रु. १०० भुक्तानी गरेपछि पेटभरी दाल, भात, तरकारी सहितको खाना खान पाईंदोरहेछ, साथमा फुराएको सिंगो खुर्सानी पनि, जुन त्यहांको आफ्नै पहिचान रहेछ । केही समय अघिसम्म भक्तजनहरुलाई सित्तैमा भोजन उपलब्ध गराइने व्यवस्था रहेपनि हाल प्रतिव्यक्ति एक सय रुपैयां लिन थालिएको रहेछ ।
स्वर्गद्वारी आश्रमको नाममा प्युठान र दाङमा गरी अचल सम्पत्ति रहेको छ । सोही जग्गामा उत्पादन हुने धानको भात यहां आउने आगन्तुकहरुलाई खुवाउने गरिंदोरहेछ । तर सो सम्पत्तिमा पनि पछिल्लो समय कतिपयको बक्रदृष्टि परेको सुन्दा भने दिक्क लाग्यो ।
भोजन पश्चात हामीले त्यहां स्थित अतिथी गृह तथा वरपरका संरचनाहरुको अवलोकन ग¥यौं । बारेमा जानकारी लियौं । प्रशिद्ध ऐतिहासिक बांझ वृक्ष, गौशाला आदि हुंदै यहांको अर्को आकर्षण स्वर्गको द्वार मानिने गुफा तर्फ लाग्यौं । हामी गुफामा पुग्दा भयंकर हावा चल्यो । शिवलिंग रहेको गुफाभित्र पसी केही तस्वीरहरु लिएपछि हामी पुनः आश्रमतर्फ फर्कियौं । केहीवेर आश्रम परिसर तथा त्यहांबाट देखिने दृष्यहरुको अवलोकन गरेपछि हामी पवित्र त्यस स्थानलाई नमन गर्दै मूलद्वार तर्फ लाग्यौं ।
ओर्लंदा आश्रम परिसरको प्रवेशद्वार, उकालोको बीच भाग र तल धरम्पानीको प्रवेशद्वार सामु पनि महिलाहरु डोकोमा काफल लिएर बिक्रीका लागि वसेका भेटिए । ऋतु फल खाने चाहना स्वाभाविक थियो, हामीले इच्छा ग¥यौं । फरकफरक मूल्यमा काफल किन्दै र खांदै ओरालो ओर्लियौं । तर मूल्य भने ठाउं पिच्छे फरक, त्यो पनि सामान्य होइन ठूलै रहेछ । मौकाको फाइदा लिन खप्पिस रहेछ्न् बिक्रेताहरु ।
ओर्लने क्रममा हामी केही तल मात्र आइपुगेका के थियौं भयंकर हावा चल्यो । वरपरका रुखहरु नै ढल्लान् जस्तो । पात पत्करहरु उडायो, धुलो उडाएर ल्यायो । हाते रुमालले अनुहार छोपेर धुलोबाट जोगिने प्रयास ग¥यौं । केहीबेर ठूलो रुखको छेउमा उभिएपछि हावा कम भएपछि पुनः ओरालो लाग्यौं । ओर्लंदा परपरसम्मका दृष्य केही प्रष्ट देखिए ।
धरम्पानी आइपुगेपछि हामी केही समय त्यहांको र वरपरको दृष्य हेर्दै त्यहीं अलमलियौं । मानिसहरु आउने र जाने क्रम जारी नै थियो । सो स्थानमा रहंदा हामीले यस पवित्र स्थानको विकासका सम्भावनाहरुका बारेमा आआफ्ना धारणा व्यक्त ग¥यौं । अनि गाडीमा वसी ओरालो लाग्यौं । भिंग्री,माडी खोला, चतुर्भुज, खुंग्री, सुलीचौर, सातदोबाटो हुंदै पुनः लिवाङ फर्कियौं ।
मानिसहरुले सही सत्य कुरा जानकारी नगराईदिंदा स्वर्गद्वारी यात्रामा निस्कन चाहनेहरुलाई पनि भ्रम उत्पन्न हुने रहेछ । हामीलाई नै कतिपयले अत्यन्त कष्टकर यात्रा गर्नुपर्ने डर देखाएका थिए जुन सर्वथा गलत रहेछ । मुलुकको कुनै पनि भागबाट यहांसम्म पुग्न कठिन छैन । आश्रमको फेदी धरम्पानी बजारसम्म पुग्नका लागि स्थानीय यातायातका साधन उपलब्ध छन् । आश्रमसम्म पुग्न हिंडनुपर्ने शारीरिक अवस्था अनुसार आधा घण्टा देखि ४५ मिनेट मात्र हो ।
स्वर्गद्वारी बारे जानकारी ः
नेपालको प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारी मुलुकका विभिन्न आकर्षण मध्येको एक हो । यो एक प्रशिद्ध धार्मिक स्थल संगसंगै पर्यटकीय गन्तव्य पनि हो । प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट झण्डै २६ किमी पश्चिमतर्फ पर्ने यो स्थान करिब २१०० मिटरको उचाईमा अविस्थत छ ।
प्राचीन समयमा स्वर्गद्वारी क्षेत्र यज्ञभूमिको रुपमा विख्यात थियो । वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिले यही ठाउंमा ठूलाठूला यज्ञ गरेका मानिन्छ । सत्ययुगमा ब्रम्हाले यही स्थानमा ठुलो यज्ञद्वारा शक्ति सञ्चय गरी श्रृष्टि गरेकाले यो स्थान यज्ञभूमिको नाममा विख्यात रहेको मान्यता छ । ठूलाठूला ऋषिमुनिले यही ऐतिहासिक महŒवलाई आत्मसात गर्दै कठीन तपस्या गरी यहींबाट स्वर्ग प्रस्थान गर्दथे भन्ने विश्वास छ । पौराणिक कालमा पाण्डवहरु स्वर्ग जांदा यहांको बाटो भएर गएको द्वार हुनाले यसको नाम स्वर्गद्वारी रहेको जनविश्वास छ । यिनै कारण स्वर्ग जाने ढोकाको रुपमा यसलाई ‘स्वर्गद्वारी’ नामाकरण गरिएको हो ।
स्वर्गद्वारीमा स्थित यज्ञमण्डप भित्र अग्निकुण्डमा धृतधारासहित नित्य हवन चल्छ । शिवलिंग स्थापित एक शिव मन्दिर छ । यहां रुद्री पाठ गरी दैनिक रुद्राभिषेक हुन्छ । यहां विभिन्न देवीदेवताका मन्दिर छन् जहां नित्य पूजा हुन्छ । वेद, गीता, श्रीमद्भागत शप्तसती चण्डी समेत विभिन्न धर्मग्रन्थको पाठ हुन्छ । यहां संस्कृत पाठशाला पनि छ जहां निःशुल्क खाने,वस्ने व्यवस्था तथा वेद, रुद्री, कौमुदी, चण्डी कर्मकाण्डसमेत धर्मग्रन्थहरुको पठनपाठन गराइन्छ ।
स्वर्गद्वारी आश्रमको स्थापना बालतपस्वी महाप्रभु हंसानन्द गिरिबाट विसं १९५२मा भएको हो । १९५१ सालमा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्वलित गरी १९५२ सालको वैशाख पूर्णीमा देखि प्रारम्भ गरेको मानिएको यज्ञशालामा आजपर्यन्त हवन भइरहेको छ । महाप्रभु वि.सं. १९९७ सालमा ब्रम्हलीन भएको मानिन्छ । बालतपस्वी महाप्रभु त्रिकालदर्शी सन्त मानिनुहुन्थ्यो । उहांको वास्तविक नाम नारायण गौतम हो । उहांको जन्म वि.सं. १९१६ मा रोल्पाको रुम्टीमा भएको थियो । सत्ययुगमा देवताहरुले यात्रा गरेको तपोभूमीमा रोल्पा जिल्लाको रुम्टी गाउंमा विसं १९१६ सालमा जन्मिएका १०८ महाप्रभुको वास्तविक नाम नारायण गौतम थियो । स्वर्गद्वारी आश्रम महाप्रभुको व्यक्तिगत प्रयासबाट संस्थापित एवं सञ्चालित सनातन धर्मको आश्रम हो । यो आश्रम विभिन्न कठिनाईका बीच गुरु–शिष्य परम्पराबाट आज पर्यन्त सञ्चालन भइरहेको छ ।
स्वर्गद्वारीमा ऐतिहासिक अग्निकुण्ड, गुफा, गौशाला आदि छन् । आश्रम परिसर र वरपर बाझका वृक्षहरु छन् । यहां हरेक वर्षको वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाका दिन विशेष अनि अन्य विभिन्न तिथी र अवसरमा पनि धार्मिक मेला लाग्छ । मेलामा सहभागी हुन नेपालका विभिन्न स्थान तथा भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्रीहरु आउने गर्दा रहेछन् ।
जाडो याममा हिउं पर्ने यहां गर्मी याममा भने शीतल तथा आनन्दको महसुस हुन्छ । विभिन्न किसिमका वनस्पतीले युक्त यो टाकुरोमा पुग्दा सांच्चिकै मन आनन्दित हुन्छ । यस स्थानको प्राकृतिक सौन्दर्य आकर्षक छ । मौसम खुलेको बेला परपरसम्मका दृष्य हेर्न सकिने भएर पनि यो रमणीय छ । बेलाबेलामा आउने हावाका झोंक्काले उडाउला झै नै गर्दोरहेछ । स्वर्गद्वारीबाट उत्तरतर्फ हेर्दा सुन्दर हिमश्रृखलाको दृष्यावलोकन गर्न सकिन्छ । यहां देवदार, गुरांस, बांस, बांझ, साज, साल, जामुन, काफल, पाकरी जस्ता ठूला तथा अन्य विभिन्न खालका साना वनस्पती पनि पाइंदारहेछन् । यहां विभिन्न बन्य जन्तुहरुको आवास रहेको समेत जानकारीमा आयो । तर यहांको बन विस्तारै पातलिंदै गएको र गौशालामा पालिएका गाईको चरण तथा अन्य कारणले गर्दा नयां बोट विरुवाहरु उम्रन सकेको देखिंदैन । बुट्यान र झाडीहरु सबै मासिएका तथा ठूला बोट भएपनि साना बुट्यान नहुंदा उजाड लाग्यो । यसले वातावरणमा समेत प्रभाव पार्ने भएकाले ठूला रुखको संरक्षण तथा साना खालका र त्यस स्थानका लागि उपयुक्त हुने वनस्पती हुर्काउनु आवश्यक महसुस भयो । नयां वृक्षहरु रोपी वन संरक्षण गरिएमा त्यहांको वातावरण सुरम्य हुने छ ।
स्वर्गद्वारीमा संस्कृत पाठशाला, वेदविद्याश्रम सञ्चालन भएको छ र वेद तथा धर्मकर्म एवं कर्मकाण्डको अध्ययन गर्नको निम्ति टाढाटाढाबाट आउने विद्यार्थीहरुलाई खानपीन र आवासको निःशुल्क व्यवस्था रहेछ । वि.सं १९५२ सालदेखि सञ्चालन भएको पाठशालामा पछिल्लो समय देशका विभिन्न ठाउंबाट बालबालिका संस्कृत पढ्न आउने क्रम बढ्दै गएको जानकारी भयो । यस विद्यालयमा कक्षा चार देखि १०सम्म अध्ययन अध्यापन हुने रहेछ । पाठशालामा अनिवार्य विषयसंगै संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कर्मकाण्ड आदि समेत पढाउने गरिंदोरहेछ । आवासीय रुपमा पठनपाठन हुने हुंदा विद्यार्थीलाई पढाईसंगै व्यावहारिक ज्ञान सिक्न समेत सहज रहेछ । हवन गर्ने, पूजाआजा र कर्मकाण्डका सबै प्रक्रियामा यस पाठशालाका विद्यार्थी सहभागी हुंदारहेछन् । स्वर्गद्वारीमा कक्षा १२सम्म अध्ययनको व्यवस्था गर्न सकेमा विद्यालय स्तरको अध्ययत सोही स्थानमा गर्न पाउने भएकाले सो आवश्यक रहेको बुझियो । सनातन धार्मिक परम्परा विस्तारै मासिंदै,हराउंदै जान लागेका र कर्मकाण्डहरु समेत औपचारिकतामा सीमित हुन लागेका बेला विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र धेरै भन्दा धेरैलाई धार्मिक शिक्षा प्रदान गर्न सके त्यसबाट हिन्दु धर्मका संस्कार एवं परम्परालाई जीवन्त राख्न समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
पछिल्लो समय हामीकहां आन्तरिक पर्यटन पनि निकै बढेको छ । यातायात सञ्चारको सुविधा र भ्रमण प्रतिको बढ्दो रुचीले एकातिर स्थानीय समुदायसंगको सान्निध्य र सम्पर्क बढाएको छ भने अर्कोतिर त्यस्ता गन्तव्यहरुको प्रचार हुन गई त्यस्ता क्षेत्रमा रहेका समुदायको आयआर्जन वृद्धि हुनमा समेत सहयोग पुगेको छ । स्वर्गद्वारी धार्मिक पर्यटकीय गन्तव्य हो । यहांको प्राकृतिक सुन्दरता पनि रमणीय छ । स्वर्गद्वारीबाट अग्ला हिमाली चुचुराहरु सहितको लामो हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । यसदृष्टिले अनुकूल मौसम भएका बेला यो स्वर्गैसरी हुन्छ । पूर्वाधारहरुको निर्माण गर्ने तथा दुबैतर्फबाट आउने सडकलाई पक्की हुने हो भने गर्मी याममा यहां मानिसहरुको ओइरो लाग्नेछ जसले स्थानीयको आर्थिक खांचो टार्न ठूलो सहयोग पुग्न सक्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु