भोगी अधवैंशे

- राजेन्द्र गौतम

एक प्रहरी अधिकृतले प्वाक्क बोले‘यस्ता मान्छे त बिर्तामोडमा २५ जना जति छन् ।’ म अवाक भएँ । जवाफ फर्काउन नपाइ उनी आफ्नो गन्तव्यमा लम्किए । पुलिसको जागिर न हो,रात अबेर भन्ने फुर्सद कहाँ हुन्छ र ! अर्को दिन झिसमिसैमा मेरो मोबाइलमा घण्टी बज्यो । यसो हेरेँ उनैको नम्बरबाट फोन आएको रहेछ । जाने हो ? भोलि पल्ट फोन गरेका ती प्रहरी अधिकृतले कहाँ जाने गन्तव्य सुनाएनन् । लम्बे चौडा कुरा गर्न थाले पछि मलाई झोँक चल्यो । मैले भनेँ,‘बिहानै साइत नबिगार्नुहोस्,भरे भेटेर कुरा गरौँला ।’ म झ्वाकिएको थाहा पाए छन् क्यारे,उनले फोन राखे ।
दिउँसोको ४बजेको हुँदो हो,समयको खासै हेक्का गरिनँ । फेरि उनैको फोन आयो । मैले उठाएँ र शालिनतापूर्वक भने,‘ जाउँ न त ।’ उ गाडीको हर्न बजाउँदै म उभिएको ठाउँमा आइपुगे र मलाई राखेर हुक्याए । ५ मिनेट बितेको हुँदो हो । उनले एउटा घर भित्र पु¥याए । त्यो होटल जस्तै थिएन,बाहिरबाट हेर्दा । तर, त्यहाँ गजब्बको धन्दा चल्दो रहेछ । उ सिभिल ड्रेसमा थिए । प्रहरी भन्ने कसैलाई शंका नै भएन । कुराकानी अन्तैबाट सुरु भयो । अपरिचित एक अधवंैशेले उनलाई अभिवादन गरे र भने ‘ उहाँ चाहिँ कोे नि !’ मलाई प्रहरी अधिकृतले चिनाउन खोजे पछि चिमोटेर संकेत गरेँ नचिनाउन । तर, अधवंैशले फेरि सोधे,‘खोइ जवाफ आएन नि !’ प्रहरी अधिकृतले म तिर पुलुक्क हेरे । मैले आफ्नो परिचय दिएँ ,‘म पत्रकार हो ।’ अधवंैशे रातोपिरो भए । उनीसँग अब डरबाहेक केही पनि बाँकी थिएन,उनको अनुहार हेर्दा त्यो प्रष्टै पढ्न पाइन्थ्यो ।
बेडको एउटा छेउमा बसेकी किशोरीले घोप्टे मुन्टो लगाएरै १०÷१५ मिनेट बिताइ सेकेकी थिइन् । हाम्रो परिचय र यतिका कुराकानी भए पछि उनमा झन् तमासको डर गडेको हुनु पर्छ । उनलाई मैले कहिले काहीँ देखेको थिएँ । एउटा उच्च माविमा तालिममा जादाँ उनी पनि सहभागी थिइन् कि जस्तो लागेर आयो । अझै ठम्याउने कोशिश गरेँ । एकछिन गमे पछि मैले भने,‘ तिमी किन यहाँ ?’ उनले सुकसुकाउँदै जवाफ दिइन्,‘ पढ्नका लागि खर्च चाहियो,घरबाट आउँदैन,खर्च चलाउनका लागि यही पेशा रोजेकी हुँ ।’ उनको के पेशा थियो मलाई थाहा भएन । तर,प्रहरी अधिकृतले मेरो मौन जिज्ञासालाई शान्त पार्दै भने,‘ उहाँ आफ्नो कमाई आफैँ राख्नु हुन्छ, कसैलाई दामासाही गर्नु पर्दैन ।’
प्रहरी अधिकृतको जवाफले मलाई वास्तविकता के हो भित्रै छिर्न मन लाग्यो । मैले ती किशोरीलाई होइन भोगी अधवैंशेलाई सोधे,‘ यी सानी केटीसँग तपाईँ किन यहाँ ?’ उनले जवाफ दिने तागत नै राखेनन् फगत सेण्डो र तौलिया बेरेर बसेका उनले निक्कै गम्भीर जवाफ दिए । तपाईँ त पत्रकार हो,बुझि हाल्नु हुन्छ नि ! मलाई कताकता विज्ञको पगरी गुथाएको भान भयो । पत्रकारले सबै कुरा जान्दछन् ! म फेरि सोचमा डुबेँ । मेरो मौनता बढे पछि प्रहरी अधिकृतले पुरानै कुरा भने,‘ हो भन्या,उहाँ आफ्नो कमाइ आफैँ राख्नु हुन्छ ।’ प्रहरी अधिकृतको दुई पटकको तर्क एउटै आए पछि म पनि के कम अधवैंशेलाई सोधेँ,‘ तपाई किन यहाँ ?’ प्रहरी अधिकृतको भनाई र मेरो प्रश्न दोहोरिए पछि किशोरीले हिम्मत बटुलेर अधवैंशे तिर देखाउदै भनिन्,‘ उहाँले हप्तामा दुई चोटी बोलाउनु हुन्छ,आउछु,उहाँले भनेको मानेर जान्छु ।’ किशोरीले आफूलाई अधवैंशेबाट राम्रै रकम हात लाग्ने गरेको सुनाउन पनि भ्याइहालिन् । भनिन्,‘ एक पटकमा ५ हजार पाउँछु ।’
अनुसन्धान गर्ने प्रहरी र समाचार लेख्ने पत्रकारकै बीचमा ती किशोरीले तथ्य खोले पछि अधवैंशेलाई पनि सजिलो भएछ क्यारे ! उनले भने,‘अब त बुझ्नु भयो नि म किन यहाँ आएको रहेछु ।’प्रहरी अधिकृतको जवाफ फकिर्यो ,‘हो हामीले थाहा पाएर पनि केही गर्न सक्दैनाँै ।’ उ निरन्तर भन्दै गए,‘ होटलमा विकृति हुन्छ,तर यो घर घर जस्तै सुरक्षित छ,उहाँ गर्नु हुन्छ र पैसा तिर्नु हुन्छ,उनले कमाएको पैसा सबै उनकै हुन्छ,यो सुरक्षित पनि भयो,शरीर बेचेर कमाएको पैसा शरीर बेच्नेकै भए पछि हामीलाई मात्रै के को दरकार ।’प्रहरीको अभिव्यक्ति टुङ्गिन नपाउँदै किशोरीले जवाफ फर्काइन्,‘ हो ! हाम्रो शरीरको हाम्रो अधिकार ।’ उनको शरीरमा उनको हक छ कि छैन उनै जानुन् । तर, आफ्नो शरीरको अधिकार आफैँसँग छ भनेर यस्तो धन्दाका लागि पनि तयार हुने हो भने विलासीहरुका लागि त मज्जै होला । तर,समाजमा कस्तो गुह्य गन्ध भित्रभित्रै गुम्सन्छ भोगी अधवैंशेहरुले सोच्या होलान् ?
किशोरीको तर्कसँग म धेरै हदसम्म सहमत नै बनँे । तर, अधवंैशेको कुरा मलाई सुन्नु थियो । मैले गजब्बको प्रश्न ते¥स्याएँ । चिचिलाको भोग गरेर के ग¥या ? घरमा काम चलेन कि कसो ? उनी झन् डराएका जस्ता देखिए । उनले थरथराएको आवाजमा जवाफ फर्काए ,‘घरको खाएर कहाँ मन मान्दो रहेछ र !’ भोगीको जवाफ सुने पछि मैले प्रहरी अधिकृतलाई भने,‘आफू पनि धाइन्छ कि पाइन्छ ? नत्र त सुरक्षा दिनै पो लाग्या जस्तो छ ।’ ती अधिकृत जवाफ दिन निक्कै माहिर रहेछन् । उनले उत्तर फर्काए,‘तपार्ईँ सोध्नु हुँन्थ्यो मैले प्रत्यक्ष देखाइ दिएँ ।’
म अवाक भएँ । अब खासै सोध्नु पनि बाँकी थिएन । तर, लीलै देखे पछि कहानी किन नबुझ्नु ! मैले अधवैंशेलाई भने,‘ दाइ चाला त ठिक भएन नि ?’ उनले जवाफ फर्काए,‘ पहिला म होटल धाउथेँ,तर अहिले सुरक्षित मज्जा लिइ रहेको छु ।’ अधवैंशेको उत्तर सुने पछि प्रहरी अधिकृतलाई प्रश्न ते¥स्याएँ,‘ के हो महाशय ! यस्तो टुलुटुलु हेर्ने ?’ उनले फेरि घुमाउरो जवाफ फर्काए,‘हामीले पक्राउ गरेर मुद्दा चलाउनुभन्दा एउटासँग एउटाले सम्बन्ध राखेर सुरक्षित भएकै राम्रो ।’
प्रहरी अधिकृतको जवाफले उनीहरु पनि वाक्क भएको बुझ्न कुनै गाह्रो थिएन । तर, एउटा गम्भीर प्रश्न त अनुत्तरित नै । किन अधवैंशेहरु होटल जान्छन्,होटलमा शरीर बेच्नेहरु भए पनि अन्यत्र बोलाएर किन भोग गर्छन् ? यी प्रश्नहरुको जवाफ प्रहरीसँग पनि छैन । शरीर बेच्ने र पैसा तिर्नेहरु त आफूलाई ननिको किन पो ठानुुन् । पोल नखुले पछि मस्तीको मोल तिर्न सफा आवरणका धिन लाग्दा अधवैंशेहरुलाई कत्ति पनि लाज छैन । मलाई झन तर्कना भयो । के ग¥या होला ! बाहिरी सुक्सुकाउँदो पोशाक पहिरिएर भित्र दुगन्धित सम्बन्ध राख्ने अधवैंशेहरुलाई कसले सम्झाउने ? म सोचमग्न बनँे । प्रहरी अधिकृतले घच्घच्याए र भने,‘ पत्रकार महोदय,किन घोत्ल्या ?’ म नाजवाफ थिएँ । एउटा निलो फिल्म आँखै अगाडि सर्वाङ्ग । मैले प्रश्न गरेँ भने के जवाफ आउला ! फेरि तीनै जना आफूसँग खुशी नै छन् । मन अधैर्य भयो । प्रहरी अधिकृतलाई भने,‘ यसो गर्नु भन्दा त रेडलाइट एरिया तोके हुन्न र ! ’
अधिकृतले आफ्नै दलिल पेसे । पक्राउ र मुद्दाको भैmझमेलाले उनी पनि दिक्कै भएका रहेछन् । तपाईंले के कुरा ग¥या ! रेडलाइट एरिया तोकियो भने त जबरजस्ती चल्छ । बरु लाइसेन्स दिनु पर्छ । उनको नयाँ भिजन आयो । शरीर बेच्न पनि लाइसेन्स ! मलाई ताजुब लाग्यो । जिज्ञासा राखेँ,‘ सुरक्षित शारीरिक सम्बन्धका लागि त रेडलाइट एरिया नै ठिक होला नि !’ उनको तर्क सहितको जवाफ आयो ,‘ रेडलाइट एरियामा जबरजस्ती चल्छ ।’ त्यहाँ शरीर बेच्न नचाहनेहरुलाई पनि बाध्य पारिन्छ । अधिकृतको यो भनाइ उनको जागिरे जीवनको भ्रमण अनुभव हुनु पर्छ ! तर, ठ्याक्कै यही हो भनेर कसरी खुट्याउनु । मैले गम खाएँ । शारीरिक सम्बन्ध राख्न पनि लाइसेन्सको व्यवस्था कसरी हुन सक्छ ? एक छिन घोत्लिए पछि मेरो मानस्पटलमा एउटा प्रसंग झ्यास्स आयो । थाइल्याण्डमा त्यस्तो परिचयपत्रको नियम रहेको स्वराजले मलाई सुनाएको थियो । सायद ती अधिकृत पनि थाइल्याण्ड पुगेर फर्केका हुँदा हुन् । त्यसैले उनले लाइसेन्सको कुरा ग¥या होला !
मैले स्वराजलाई फोन लगाउने प्रयास थालेँ । मोबाइलमा स्त्रीको मधुर बोली सुनियो । तपाईंले सम्पर्क गर्नु भएको नम्बरमा सम्पर्क हुन सकेन । मैले कोशिस गरिरहेँ । केही क्षण पछि स्वराजलाई फोन लाग्यो,सम्पर्क भयो । स्वराज बेसुरमा बोल्यो, ‘हाओ,के परो !’ मैले जवाफ फर्काएँ,‘त्यो लाइसेन्स थियो नि हौ !’ उसले कुरा नबुझे झैँ ग¥यो । एकछिनमा हाहाहा हाँस्दै उसले भन्यो,‘तेरो दिमाग पनि मोडिएछ ।’ उसको यो तर्क पछि मैले प्रहरी अधिकृतसँगको कुरा सुनाएँ । उसले भन्यो,‘के लाइसेन्सको कुरा ! तलाई मन छ भने हिँड्न ।’ कहाँ जाने थाइल्याण्ड ? मैले सोधेँ । उसले त्यहाँको नियम र कानुनको कुरा सुनायो । ‘आफ्नो शरीरको आफ्नै तजविजी हुन्छ भन्ने मात्र होइन । प्रक्रिया पु¥याएर त्यस्तो नियम बनाइएको हो, लाइसेन्स लिनेले नियम पालना गर्नै पर्छ रे !’ स्वराजको कुरा सुने पछि मैले अरु देशको नियम कानुनका विषयमा सोधिरहन चाहिनँ । किनकि,त्यो कानुन आवश्यक थियो र बनाइयो होला, यति सम्झेँ । मैले स्वराजसँगको गफ टुङ्ग्याइ दिएँ । फोन राख्न नभ्याउँदै अर्को कल आयो ।
मैले फोन उठाएँ । हेलो ! हेलो ! पुरुष आवाज थियो । नम्बर सेभ नभएकाले ठ्याक्कै ठम्याउन सकिनँ । मेरो आनाकानी थाहा पाएर होला फोनमा बोल्दै गरेका व्यक्तिले सम्बोधन गरे,‘दाइ कता हुनुहुन्छ ?’ मैले मान्छे ठम्याए पछि बिर्तामोडमै छु भनिदिएँ । उनले थपे, ‘ म तपाईंको शहरमा आ’को छु,यत्रो बेर नउठ्ने ?’ त्यतिखेर बिहानको ६.३० बजेको हुँदो हो । म भर्खरै उठेको थिएँ । उनको आग्रह भेट्ने थियो । म बाहिर निस्केँ । उनले फोनमा भनेको लोकेशनसम्म पुग्दा ३÷४ मिनेट लाग्यो होला !
उनले निधारमा रातो टिका लगाएका थिए । मलाई देखेर परैबाट हात हल्लाउँदै आफूतिर आउन भने । म उनी उभिएको नजिक पुगेँ । मलाई बिर्तामोडको गल्ली गल्ली थाहा छ । म बिर्तामोड बसेको डेढ दशकको अनुभवले पनि मलाई बिर्तामोडले चिन्छ । तर, म बिर्तामोडलाई पुरै चिन्दिनँ । उनीसँग भेट भए पछि म पुरानो कुरा सोच्दै थिएँ । मेरो मौनता छिचोल्दै उनले सोधे,‘ दाई के सोच्या ?’ आ ! केही होइन । मैले बेपर्वाह जवाफ फर्काए पछि उनले मलाई बिर्तामोड घुमाउने दाउ कसेछन् क्यारे ! सोधे,‘मिठो चिया खान कहाँ पाइन्छ ?’ उनको प्रश्न खस्ने बित्तिकै मैले भने,‘शनिश्चरे रोडमा ।’ त्यहाँ एउटा विल्डिङको सिँढी मुनी वर्षौँदेखि चिया पाइन्छ । तर पनि मेरो जवाफमा उनी ढुक्क भएनन् । बिर्तामोडको आदोपान्त जान्ने जस्तो गरेर ‘त्यहाँ त मिठो पाउँदैन भने ।’ उनको कुरा सुने पछि मलाई दुविधा भयो ।
उनलाई चिया खानु नै रहेछनछ । मलाई भुल्याउनु उनको उद्देश्य रहेछ,पछि मलाई थाहा भयो । करिब आधा घण्टा बिर्तामोडका गल्ली घुमाए पछि उनले मलाई राजमार्गको बीचतिर डोहो¥याए । बिहानको ७ बजेको हुनु पर्छ । मलाई उनले राजमार्ग किनारकै एउटा होटल अघिको सडकमा उभ्याएर गफ चुट्न थाले । गफसँगसँगै मेरा आँखा बिहानीको सुनौलो दृष्यमा घुमिरहेका थिए । मैले झ्यास्स देखेँ । एउटा चिनेको अनुहार होटलको पेटीबाट छल्लिदै मबाट टाढिन खोज्यो । मैले बोलाएँ । यति सखारै तिमी किन यहाँ ? चिनेको उक्त व्यक्ति मसँग बोल्नुभन्दा पनि टाँढिन खोज्यो ।
मैले पनि उति चासो राखिनँ । व्यक्तिको आफ्नो चाहाना हुन्छ । उसको इच्छा र आकांक्षा उसका व्यक्तिगत हुन् । मलाई बिर्तामोड घुमाउनेसँग झनक्क रिस उठ्यो । मैले आवेगमा सोधेँ,‘ओउ ! किन बोलाको, यही दृष्य देखाउन ? उनी हात जोर्दै याचना गर्न थाले,मेरो गल्ती भयो ! मलाई उनको जवाफ बनावटी छ भन्ने पक्का भएपछि दोहो¥याएँ, ‘होटलको माथि को छ ?’ उनले शालीन जवाफ फर्काए,‘हाम्रो कम्पनीको बोश ।’
मलाई भाउन्न छुट्यो । तीनै प्रहरी अधिकृतलाई फोन लगाएँ । निक्कै ढिलो फोन उठाएका उनले दिक्क हुँदै जवाफ दिए,‘ आ छोड्दिनुस् है ।’ अधिकृतले थपे,‘तीनै अस्तिका अधवंैशे होलान् नि !’ मैले कर गरिनँ । हो,कर गर्नुको अर्थ पनि थिएन । उनले लाइसेन्सकै कुरा उठाएका थिए । रेडलाइट एरियामा जबरजस्ती चल्छ पनि नभनेका होइनन् । मैले सोचेँ,‘हो, उनले होटलको वेडमै पुगेर सेवा दिनु उनको बाध्यता होला । उनलाई यो सेवाले सन्तुष्टी दिएको होला या नहोला त्यो उनको जीवनको निजी पाटो हो । तर, यसले समाजलाई कता हुइक्याई रहेछ ? चिचिला भोग्ने आवरणका महान अधवैंशेहरुको सफा अनुहार सामाजिक रुपमा कति दागी छ, एउटा अभेद्य प्रश्न ?’

बिर्तामोड, झापा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु