दाइबुचुलाई नियाल्दा

- अरुणबहादुर खत्री “नदी”

नियात्राकार कृष्ण बजगाईको दाइबुचु नामक नियात्रा सङ्ग्रह २०७६ सालमा शिखा बुक्सले प्रकाशित गरेको छ । यसभित्र उनले लेखेका सम्राट्को आत्मा दर्शन, टोकियोको झरी, जापानका केराघरे माचुओ, कामकुराका बुद्ध, युद्धपोतलाई गुलाफ लगायत विभिन्न शीर्षकका १३ वटा नियात्राहरु समावेश गरिएका छन् । नेपाली साहित्यको विविध विधामा कलम चलाउदै आइरहेका उनी पछिल्लो समय नियात्रा विधामा रमाएको देखिन्छ । प्रकृतिसँग अनन्य सम्बन्ध छ हाइकुको । प्रकृति, मौसम आदिका बिम्ब राखेर लेखिने शास्त्रीय शैलीको जापानी हाइकु सजिलो विधा होइन आजभोलि यसको नियम भत्किन थालेको देखेको छु नियात्राकारले भनेका छन् । यस पटकको जापान यात्रामा पनि साहित्यकारकै निवास र म्युजियम आदि भ्रमणको प्रथम सूचीमा उनले राखेका छन् । बुद्ध जन्मेको देशमा चाहिँ किन स साना बुद्ध मूर्ति ? मेरो मनमा उतिखेरै असन्तुष्टि बढ्यो । संसारमा सबैभन्दा अग्लो बुद्धको सालिक बनाउने कर्तव्य नेपाल सरकारकोे हुुनु पर्दथ्यो । नेपालमा जन्मेका बुद्धको अरु देशमा विशााल मूर्ति बनाउने होडबाजी चलेको छ नियात्राकारले लेखेका छन् ।
दाइबुचु जापानी यात्रामा आधारित नियात्रा सङ्ग्रह हो । नियात्रामा यात्राको सोझो वर्णनमात्र नभएर त्यसभित्र कलात्मक भाषाको वर्णन गरिन्छ । त्यस्तै भाषिक कलाले युक्त नियात्रा सङ्ग्रह दाइबुचु पनि एक हो । दाइबुचु जापानी शब्द हो । जसको अर्थ ठूलो बुद्ध मूर्ति भन्ने हुन्छ । यस बाटै यस सङ्ग््रहभित्र जापानमा पनि बुद्धको खोजी गरिएको आकलन गर्न सकिन्छ । ओन्सेनमा नाङ्गा नाङ्गै शीर्षकको नियात्रामा हामीलाई अनौठो लाग्ने तर सामूूहिक रुपमा नाङ्गै नुहाउने त्यो परम्परा जापानी संस्कृतिको एउटा अङ्ग हो । जापानीहरु सार्वजनिक ओन्सेनमा मात्र होइन बाबुआमा र छोराछोरीहरु प्राइभेट रुम भएको ओन्सेनमा गएर सामूहिक रुपमा नाङ्गै नुहाउछन् भनिएको छ । जापानीहरु यात्रा गरेर हाइकु लेख्नुलाई उत्तम मान्दछन् । यात्रामा हाइकु लेख्ने बजगाईँको पूर्व योजनालाई समय र वातावरणले साथ दिएको छ । यात्राका क्रममा देखिएका दृश्यले मनमा स्पर्श गरेपछि कुुनै गद्य बनेर पोखिए कुनै हाइकु बनेर छताछुल्ल भए । तिनै अनुभूतिलाई समेटेर उनले दाइबुचु नामक नियात्रा सङ्ग्रह निकालेका छन् । यस सङ्ग्रहभित्र जापानका यात्रा अनुभूतिहरु मात्र समावेश गरिएका छन् । हाइकुका बारेमा छोटो जानकारी यसै कृतिमा रहेको जापानका केराघरे माचुओ शीर्षकको नियात्रामा पाउन सकिन्छ । जापानीहरु आफ्नो देशमा जन्मेको हाइकु सकेसम्म प्रचारप्रसार र संरक्षण गर्दछन् भन्ने ज्वलन्त उदाहरण ती हाइकुका शिलाहरु थिए भनिएको छ ।
यो कृति नियालेर पढ्दा नियात्राकारको कलम निकै खारिएको पाएँ । नित्रायालेखनमा उनले निकै प्रगति गरेका छन् । उत्ताउलो नबनी सफलतापूर्वक आफुलाई प्रस्तुत गर्न सक्नु उनको चमत्कार हो र यस सङ्ग्रहमा उनले चमत्कार देखाएका छन् । यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यो उनको तेस्रो नियात्राकृति हो । यसभन्दा अगाडि उनको युरेशियाको स्पर्श र भाया साक्रा नामक नियात्राकृति निस्किसकेका छन् । सबै नेपाली नियात्राकारहरु झैं उनी पनि यात्रा गर्दा आफ्नो नेपाल र नेपाली परिवेशलाई साथमा लिएर हिँड्ने गर्छन् र प्रत्येकजसोको अन्त्यमा नेपालको परिवेशसंग तुलना गरेर दुःखी भएको सन्देश प्रवाहित गर्दछन् । यसले पाठकहरुमा हामीले पनि यस्तो किन गर्न नसकेको होला ? भनेर प्रश्न आरोपित गरिदिने गर्छ । यो एउटा उत्तरदायी लेखकको राम्रोे पक्ष पनि हो । क्याट क्याफेमा बिरालीसँग आँखा जुध्दा शीर्षकभित्र जापान बिरालो प्रेमीहरुको देश हो । भनिन्छ, जापानमा बच्चाभन्दा कुकुर बिराला धेरै जन्मिन्छन् । मानिसले भन्दा बढी माया तिनले नै पाउँछन् भनेर बजगाईँले जापानी साथी नाओकीले भनेको सम्झने गर्छन् । लामो यात्राः लय होटलमा जात्रा शीर्षकभित्र वास्तवमा निरन्तर आइरहने प्राकृतिक उथल पुथल र विपत्तिको सामना गर्दै जापानीहरुले अद्भुत विकास गरेका छन् । गाडी दौडाउन समुद्रमाथि लामालामा पुल, पहाडी बाटामा दुई पहाड जोड्ने पुल, सहरमा गाडी दौडाउने कैयौ तलाको पुलमाथि पुल अर्थात् फ्लाई ओभरको निर्माण गरेका छन् । आम नेपालीलाई कथा लाग्ने जापानका यस्ता संरचनाको विवरणले चकित पार्न सक्छ भनिएको छ ।
बजगाईँले यस कृतिमा यात्राको सन्दर्भअनुसार ७८ वटा हाइकु समेत समावेश गरेका छन् । प्रस्तुत कृतिमा समावेश गरिएको हाइकुको छुट्टै अध्ययन गर्न सकिने स्थिति पनि छ । यसभित्र जापानका नागरिक र त्यहाँ भ्रमण गर्ने अन्य देशका व्यक्ति र लेखक स्वयम्को धर्म, संस्कृति, राजनीति, विश्वव्यापीकरण प्रतिको धारणा र साहित्य तर्फको अनुरागलाई व्यक्त गरिएको छ । जापानको भ्रमण गर्ने क्रममा बजगाईँले आफ्नो देश नेपाललाई सम्झिएका छन् । यात्राका मोड, घुम्ती अनि गोरेटोमा भेटिएका अनुहारहरुलाई नाटकका पात्र जस्तै एउटा कथाभरि सँगसँगै रहेर छोडिएपछि अर्को कथामा आफूसहितको कुनै दृष्यको प्रतीक्षा उनले गरिरहेझैँ लाग्छ । यात्रा र स्थान परिवर्तनले मनभित्र नयाँ शक्ति प्रदान गर्दछ । आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा बजगाईले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन् । साथै यस सङ्ग्रहभित्रका नियात्राहरुमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात पाइन्छ ।
उनले यस कृतिभित्र जापानको मौलिक कला र संस्कृतिलाई निकै आकर्षक तरिकाले चित्रण गरेका छन् । दाइबुचुमा सामूहिक रुपमा नाङ्गै नुहाउने परम्परालाई जापानी संस्कृतिको अभिन्न अङ्गको रुपमा देखाइएको छ । जापानीहरु आफ्नो त्यो संस्कृतिमा अन्य मुलुकका मानिसलाई समावेश गर्ने र उनीहरुले यौनाङ्ग छोप्नुलाई संस्कृतिको अपमान गरेका ठान्दछन् । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । अन्त्यमा समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस्तै अन्य कृतिहरु पढ्न पाइरहने अपेक्षा गर्दछु ।
कृतिः दाइबुचु (नियात्रासङ्ग्रह)
प्रकाशकः शिखा बुक्स, काठमाडौं
प्रकाशनः २०७६, असार
पृष्ठः २०४
मूल्यः रु.३२५।–

सामाखुसी मार्ग, ९३५÷५४, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु