समकालीन नेपाली कविता: बहस र वास्तविकता

- प्रा. डा. ऋषिराम शर्मा

समकालीन नेपाली कविताबारे उठेका बहस र समकालीन कविताको शक्ति लोकप्रियता, निजात्मकता, कथ्य र रूपपक्ष बारे विभिन्न कोणबाट आएका भनाइ साक्ष्यका रूपमा प्रस्तुत गर्दै समकालीन नेपाली कविताको स्तर के साँच्चै खस्केकै हो त ? वा यसो भन्नुमा केही आग्रह छ ? समकालीन कविताको स्तरीयताको वास्तविकता के हो र कथ्य वा अन्तर्वस्तु प्रस्तुतिका दृष्टिले समकालीन कविहरूको स्थान कहाँ पर्दछ भन्ने विषयलाई यस आलेखमा प्रस्तुत गरिएको छ । कविहरू र युवा समालोचकहरूका दृष्टिकोणहरूका सापेक्षतामा कविहरूका आफ्नै भनाइहरूका आधारमा यस लेखमा केही कविहरूको समकालीन कविता स्तरीय रहेको र यसको उत्कृष्टताका लागि कविहरू कथन भङ्गिमा र कलात्मकता तर्पm थप सचेत हुनु पर्ने सुझावसहित निष्कर्ष दिइएको छ ।
१. विषय परिचय
समकालीन नेपाली कविताको बारेमा उठेका बहस र समकालीन कविताको वास्तविक स्थितिका विषयमा प्रस्तुत गरिने यस कार्यपत्रमा समकालीन कविताबारे विभिन्न फोरम, निकाय र मञ्चमा चलिरहेका बहस, समकालीन नेपाली कविताको शक्ति, निजात्मकता, कथ्य र रूपगत वास्तविकता बारे चर्चा गरिएको छ । त्यसका साथै समकालीन कविले आफ्नो कथ्यलाई अभिव्यक्तिको ढाँचामा प्रस्तुत गर्दा अङ्गीकार गरेका कलात्मक युक्ति (विम्ब, अर्थसङ्क्रमण मिथक, मानवीकरण मूर्त÷अमूर्तीकरण, विशेषण वैचिœय, क्रियाविशेषण वैचिœय, क्रियावैचिœय) जस्ता तŒवहरूको चर्चा गरिएको छ । यी युक्तिहरू (काव्यिक मानकको भञ्जन, पुनर्नवीकरण र पुननिर्माणका रूपमा प्रयुक्त भई समकालीन नेपाली कविता के कसरी विशिष्ट बनेको छ भन्ने चर्चा गर्नुका साथै कथ्य, रूप, निजात्मकताका मौलिकताका दृष्टिले समकालीन कविताको चर्चा गरिएको छ । यसका लागि समकालीन नेपाली कविताको अनुहार गरिमा (२०६९), प्रज्ञा समकालीन नेपाली कविता भाग १ र २ मा सङ्गृहीत कविहरूका कविताको साक्ष्य दिदै समकालीन कविताको विश्लेषण गरिएको छ । यसमा विमल निभा, श्यामल, सरिता तिवारी, केशव सिलवाल, मोमिला, अमर गिरी, विप्लव ढकाल, दिनेश अधिकारी, सङ्गीत श्रोता, सीमा आभास, ज्योति जङ्गल, स्व. स्वप्निल स्मृति, राजकुमार के.सी., धर्मेन्द्र विक्रम नेम्वाङ, भूपाल राई, पुरुषोत्तम सुवेदी, उपेन्द्र सुब्बा र अन्य केही कविका कविता समेतलाई साक्ष्यको रूपमा प्रस्तुत गरिएको छ ।
२. समकालीन नेपाली कविताबारे बहस
समकालीन नेपाली कवितामा स्तरीयता, निजात्मकता, कथ्य, रूप, भाषा र नयाँ काव्य दृष्टिका बारे विभिन्न फोरम, मञ्च, पत्रपत्रिकाका विशेषाङ्क र परिशिष्टाङ्कहरूमा निकै प्रश्नहरू उठेका र त्यस्ता प्रश्नले समकालीन कवि र कविता प्रेमीहरूलाई तरङ्गीत तुल्याएका छन् । अहिलेको कविता स्तरीय छैन, अहिलेको कवितालाई वैचारिक अतिवादले थिचेको छ । अहिलेका कविहरूका कवितामा निजात्मकताको अभाव छ, अर्थात् अहिलेको हरेक कविका कविता पढ्दा सबै उस्तै उस्तै लाग्छन् र यी कविताको कुनै खास पहिचान छैन । अहिलेका कविताको भाषाशैलीमा कि त निकै जटिल विम्बै विम्बहरूको घना जङ्गल छ भने कतै सपाट सरलता छ । यसरी अहिलेका कवितामा भाषिक दुरुहता र भाषिक सरलताको पराकाष्ठा छ । यी र यस्ता प्रश्नहरू उठ्नु र यिनले सतहमा आई कवि र काव्य मर्मज्ञहरूलाई तरङ्गित तुल्याउनु, झक्झक्याउनु र आफ्नो कविकर्मप्रति पुनरावलोकन गर्न र आफ्नै कवितामा आफ्नो ऐना हेर्न प्रेरित गर्नुलाई बहसको सकारात्क पक्ष मान्नु युक्तिसङ्गत देखिन्छ ।
समकालीन कविताका बारेमा उठेका बहसहरू र आलोचनाहरूमध्येका केही भनाइ यस्ता छन् ः
(१) नेपालमा यति धेरै कवि छन् कि एक दिन कवि र अकविका बीचमा दङ्गा भयो भने अकविको सफाइ हुने छ ।
हामीकहाँ सबभन्दा बढी दुरूपयोग भएको विधा कविता हो ।
मुटु हुने ठाउँमा क्याल्कुलेटर मात्रै भएका प्रशासक, तस्कर र ठेकेदार पनि कवि ।
नेपालमा कविता माथि सबैभन्दा ठुलो खतरा कविहरूबाटै छ, त्यस्ता कविहरूबाट जो शब्द माथिको व्यभिचारलाई नै कविता ठान्दछन् ।
(कृष्णज्वाला देवकोटा, भोकको क्षेत्रफल, भूमिका)
(२) कविता चर्चित हुन ती सुन्दर हुनुपर्छ, ती उत्कृष्ट हुनुपर्छ ती मौलिक हुनुपर्छ । कविता चर्चित हुन कविता हुनुपर्छ । हामीकहाँ वास्तविक कविताको भन्दा कविताको नाममा लेखिएका अन्यथा कुराहरूको बढी चर्चा हुन्छ, सहयोगी हात हुन्छन्, निकटवर्ती पत्रकार, अधर्मी समीक्षक, व्यवसायिक प्रकाशक आदि ।
(सरुभक्त, अन्नपूर्ण पोष्ट, २०७४ असार १०)
(३) समकालीन नेपाली कविताको परिदृश्यमा महाकवि देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, भूपि शेरचन, मोहन कोइराला, वैरागी काइँला, ईश्वर बल्लभ पछिका पुस्ता कुनै न कुनै रूपमा तिनकै प्रभावमा रुमलिरहेका छन् भन्दा धेरैका अभियानमा चोट लाग्न सक्छ, तर हामी तिनका काँधसम्म आइपुगेका छैनौं भन्ने सत्य स्वीकार्दा के विग्रन्छ ?
(सरुभक्त, अन्नपूर्ण पोष्ट, २०७४ असार १०, पृ. ग)
(४) कविताप्रति मानिसहरूको ध्यानाकर्षण कम भएको होला । तर मानिसले आविष्कार गरेको सबैभन्दा सुन्दर रचना कविता नै हो, तर त्यही रचनालाई कुरूप बनाइदिने पनि कविहरू नै हुन् ।
(राजकुमार बानिया, कान्तिपुर कोसेली, २०७४ भदौ ३१)
(५) समकालीन नेपाली कवितालाई अझ बढी लोकप्रिय कसरी बनाउन सकिन्छ भनेर बहस गर्न सकिन्छ तर यो लोकप्रिय छैन र यसका पाठक पनि छैनन् भनेर निष्कर्ष निकाल्न सकिन्न । यसको तात्पर्य कविताको लोकप्रियतामा समस्याहरू छैनन् भन्ने पनि होइन ।
(अमर गिरी, कविता, पूर्णाङ्क १७६, सम्पादकीय)
(६) समकालीन कविहरू कवितालाई राजनीतिक आयामबाट मात्र हेरिरहेछन् । कविताको वणितीय आयामबारे ती मौन छन् । चर्चित भनिएका एक कमिले विमर्शमा भनेका छन् भर्टिकली र होरिजेन्टली जसरी सोचे पनि राजनीति नै सबै कुराको केन्द्र भएको छ । ... भर्टिकली सोच्दा विचारले काठमाडौँ मात्र टेक्छ होरिजेन्टली सोच्दा कञ्चनपुरसम्म टेकिरहेको हुन्छ । अझ समयको माग के हो भने तपाई डायग्नीकली सोच्नुस् यसरी सोच्दा विचारले झापालाई हुम्लासँग र कञ्चनपुरलाई ताप्लेजुङसँग जोड्छ ।
(गिरी श्रीस मगर, अन्नपूर्ण पोष्ट, २०७४ भदौ ३१, पृ. ग)
(७) चर्चा यस्तो कारखाना हो जसले अरू धेरै चर्चालाई जन्माउँछ । तर चर्चा नामको अनर्गल हल्ला मेटाइदिने हो भने कतिपय चर्चित कवितामा कविता पूरै गयल भेटिन सक्छ । अर्कातिर हल्ला र चर्चाको बजारमा मिडियामा बारम्बार नाम नआउँदैमा कवि सकियो भन्ने पनि हुँदैन ।
(अभय श्रेष्ठ, अन्नपूर्ण पोष्ट, २०७४ साउन २८, पृ. ख)
(८) अहिले पनि हामी हिजो महान् भनिएका अग्रज कविहरूको असामयिक मृत्यु र आजका कविहरूले भोग्नु परिरहेको पहिचानको सङ्कटलाई टुलुटुलु हेर्न अभिशप्त छौं । कविताको भाषा कविको शिल्प पक्ष हो तर यसको निर्णय कविको सुगठित विचारबाट नै हुन्छ ।
(श्रवण मुकारुङ, प्रतिज्ञाको पहाड, भूमिका, पृ. ५)
(९) समाज वर्गीय छ । वर्गीय समाजमा म मेरो जीवनका भोगाइ, देखाइ र सुनाइको अनुभूतिमा कविता रच्छु ... मेरा लागि साहित्य भनेको दुनिया बुझेर बदल्ने जनपक्षीय एक माध्यम हो ।
(निभा शाह, गरिमा पूर्णाङ्क २६३, पृ. २३)
(१०) खास गरी दोस्रो संविधान सभाको निर्वाचन पछि जसरी पहिचान विरोधी घटकहरू एकाएक व्युतिएर आए, जसरी प्रतिगमनको स्वर सघन बनेर आयो, आगोको सुरुवात त्यहीबाट भयो ।
(भूपाल राई, आगोको जन्मोत्सव, पृ. भूमिका)
(११) अनुभूति र विचारको सम्मिश्रणबाट आविष्कार भएको कविता नै कविता हो । अन्यथा निर्जीव कागजमाथि सोत्तर ढलेका अक्षरका लाशहरू मात्र हुन् ।
(चन्द्रवीर तुम्बापो, गरिमा, पूर्णाङ्क २६३, पृ. १४)
कविता अघि अघि कुँदेपछि सारा वाङ्मय उसका पछि कुदिहिँड्छ ... । कविता नहुँदो हो त मुना आँखा विनाको अनुहार जस्तो हुँदो हो, मान्छेहरू हृदय विनाका हुँदा हुन् ।
(ज्योति जङ्गल, गरिमा पूर्णाङ्क २६३)
(१२) कविताको शक्ति जीवनसँग यसको प्रेम हृदयसँग, यसको संवाद जीवनका स्वप्न र सङ्घर्षहरूमा अन्तर्निहित रहेको छ । कविता एउटा यस्तो सेतु हो जसले मनुष्यलाई ब्रह्माण्डसँग, प्रकृतिसँग सामाजिक यथार्थ र त्यसका विलक्षणताहरूसँग जोड्छ । एक विशिष्ट भाषामा एक विशिष्ट लय र पद्धतिमा कविताले यो कार्य सम्पन्न गर्छ ।
(अमर गिरी, समकालीन कविताको..., पृ. ५)
(१३) आजका कविहरू कवितालाई समाज र संस्कृतिका विविधताहरूसँग जोडेर आफ्नो समयको जडता भत्काइरहेछन् र विचारको नयाँ शक्ति निर्माण गरिरहेका छन्, त्यसैले अब कविताहरूको डिस्कोर्स बदलिँदै छ, कोरियोग्राफी बदलिँदै छ र भाषा बदलिँदै छ, किनाराका आवाजहरू केन्द्रमा आइरहेका छन् । ... त्यसैले आवाजविहीन, इतिहासविहीन र शक्तिविहीन मान्छेहरूको आवाजको खोजी नै आजका कविताको केन्द्र हो ।
(विप्लव ढकाल, गरिमा, पूर्णाङ्क २६३)
(१४) आज तेस्रो आयामबाट पनि
आपूmले आपैmलाई सम्पूर्ण बुझ्न नसकेपछि
नितान्त नयाँ शब्द सङ्गीतको वास्तु मिलाउँदै
नयाँ चित्रकारिता सिर्जने सुरुमा छ काठमाडौँ ।
(मोमिला, काठमाडौ र कविताबाट)
समकालीन कविताका बारेमा भएका यी केही बहसभित्रै समकालीन कविताको शक्ति र स्तरीयता बारे प्रश्न र उत्तर समेतको छनक पाउन सकिन्छ । तर नेपाली कविताको वास्तविक शक्ति के हो भन्नेबारे कवि श्यामल ‘लयब्रह्म’ कविता सङ्ग्रहको भूमिकामा ‘आत्मकथ्य’ मा लेख्छन् ः
मलाई मानिस उपस्थित नभएको वा मानिसको वेवास्ता गरिएको कुनै रचनालाई कलारचना भन्न मन पर्दैन । रूख, पात, ढुङ्गा, आकाश, हुरी, बतास, समुद्र वा पर्वत जेसुकै बारे लेखियोस् परन्तु म तिनमा मानिस कतै छ कि छैन भनेर खोज्ने प्रयास गर्छु । मानिस नै अनुपस्थित रहेको प्रकृति मेरो कविताको विषय होइन अर्थात् कुनै पनि कलादृष्टि मानवीय सङ्घर्षका खातिर उपलब्ध हुनुपर्छ ।
यसमा श्यामलद्वारा कवितालाई मानवीय विषयवस्तु, कलात्मकता र मानवीय सङ्घर्षको त्रिवेणी ठहर गरिएको छ ।
३. समकालीन कविताको शक्ति, लोकप्रियता र स्तरीयता
समकालीन नेपाली कविताको शक्ति, लोकप्रियता र स्तरीयताका बारेमा उठेका प्रश्न र बहसहरूमा अन्तत्र्रिmया हुनु सान्दर्भिक छ । कविताको शक्ति बारे अमर गिरी भन्छन् ः
कविताले विशिष्ट भाषामा जीवन र जगतको पुनर्रचना गर्छ । कविताको शक्ति र लोकप्रियता यथार्थको सूक्ष्म भेदन, आफ्नो समयसँगको श्रेष्ठ संवाद, उदात्त अनुभूति स्वप्नहरूको सजीव मूर्तीकरण, सुन्दरको गान र नयाँ निर्माणमा व्यक्त हुन्छ (अमर गिरी, समकालीन नेपाली कविताको वैचारिक, पृ. ६) ।
कविताको शक्तिलाई कविताभित्र रहेको पाठकलाई प्रभाव पार्न सक्ने ताकतसँग, कविताको लोकप्रियतालाई पाठकलाई पठनका लागि अभिप्रेिरत गर्ने युक्ति वा रुचिसँग र स्तरीयतालाई कविताको परिष्कृतता वा परिष्कार (कवितामा व्यक्त भाव विचारको औचित्य अनुकूलका नयाँ ढाँचा, शब्दचयन, विचलन, अलङ्कारविधान, विम्बविधान, भाषाको सौम्यता, आक्रामकता, रागात्मकता, सरलता जस्ता) सँग सन्दर्भित गर्न सकिन्छ । समकालीन नेपाली कविताको यो शक्ति लोकप्रियता र स्तरीयताका बारेमा उठ्ने यस्ता प्रश्नहरूको सर्वेक्षण, प्रश्नकर्ताहरू भित्रको निहितार्थता र वास्तविकताहरूको सापेक्षतामा बुझ्नु एकातिर आवश्यक छ भने अर्कातिर त्यस्ता प्रश्नहरूको उत्तरका लागि पूर्वकालीन (सम, देवकोटा, घिमिरे, भूपी, कोइराला जस्ता) कविहरूका कविताका सापेक्षता वा परम्परामा समकालीन नेपाली कविता समकालीन कविहरूका कविताकै प्रयोगशाला परीक्षण हुनु वाञ्छनीय छ । समकालीन कविताको शक्ति पहिचान, लोकप्रियताको र स्तरीयताको परीक्षणका लागि कविताभित्र पसी कविता भित्रबाट निसृत हुने र कविता बाहिरबाट ध्वनित वा व्यञ्जित हुने अर्थ, सौम्य–शालीन तथा रौद्र–आक्रामक भाषिक स्वरूप, स्थापित काव्यिक मानकको अनुसरण वा भञ्जनको पहिचान हुनु जरुरी छ । कविताको स्तरीयतासँग सम्बन्धित चन्द्र घिमिरेको कथन यस्तो छ ।
कवितामा कलालाई बुझ्ने मसँग आफ्नै ‘इपिटोमोलोजी’ छ । अप्ठ्यारो कुरो सजिलोसँग लेख्नु कला हो । कुरूप कुरालाई सुन्दरतापूर्वक कोर्नु कला हो । अप्रिय सत्यलाई प्रियकर अक्षरले सम्प्रेषण गर्नु कला हो । सजिलै जित्ने विजेता शब्दहरू बुन्नु कला हो (चन्द्र घिमिरे, मेनिफेस्टो, काठको बाकस, पृ. १०) ।
कविता कत्तिको कलात्मक र स्तरीय छ भन्ने निरीक्षण गर्नका लागि निराग्रही, तटस्थ एवं स्पष्ट दृष्टिकोण युक्त समीक्षक समालोचक हुनु जरुरी छ । कवि मनु मन्जिलको कविताको स्तरीयता र लोकप्रियतासँग भनाइ यस्तो छ ।
खराब लेख्नेले व्याप्त भएर राम्रो कविता पाठककहाँ पुग्नु अघि उसमा वितृष्णा पैदा गरिदिएका छन् । ... कहिले काँही राम्रा साहित्यिकहरूले समेत काव्यलाई घाटा पुग्ने गरी कविता विरुद्ध वाक्य बनाई–बनाई बोलेको देखिन्छ । समीक्षकहरूका चयनमा नपरेर इतिहासको पर्दा पछिल्तिर कैयन् राम्रा कविता हराएका छन् । केही साधारण कविताले कवितालाई ग्लानि हुने गरी मञ्च पाइरहेको देखिन्छ (मनु मन्जिल, ‘आँधीका माझ’, ल्याम्पपोस्टबाट..., पृ. ग) ।
कवि सरिता तिवारीको कविताको दीर्घजीविता र शक्ति बारे यस्तो भनाइ छ ः
भावकका हृदयमा र मस्तिष्कमा सजीव र साकृत भएर बाँच्न सके ती आफ्नो पूरा आयु बाँच्ने छन् नभए तिनको आयु सिद्धिने छ । .... सुन्दर कविता पढिसकेपछि जागृत हुन झलमल्ल घाम लागेर बिहान हुनु जस्तै हो । कविताको यही शक्तिले सम्मोहित भएर हामी कविता लेखिरहेका छौं र सुनिरहेका छौं (सरिता तिवारी, गरिमा, पूर्णाङ्क २६३, पृ. ९४) ।
समकालीन कवितामा प्रतिरोध सौन्दर्यलाई शक्ति मान्ने ताराकान्त पाण्डेय (२०७४) ले आहुति, मुक्तान थेवा, केवल बिनावी, निभा शाह, सरिता तिवारी, गौरी दाहाल, अनिल श्रेष्ठ, अमर गिरी, भूपाल राई, केशव सिलवाल, इच्छुक, विनोद विक्रम के.सी. का कविताका साक्ष्यहरू दिई निष्कर्षका रूपमा लेखेका छन् ः
स्थापित शक्तिसम्बन्ध र त्यसमा अभिजातीय वर्चस्वका विरुद्ध प्रतिरोध र स्वतन्त्रताको खोजी यी कविताको मूल स्वर हो । यसका लागि कविहरू खतरा मोल्न तयार छन् र निर्भीकतापूर्वक तिनले कवितालाई विद्रोही अनि प्रतिरोधी भाव र भाषा प्रदान गरेका छन् । यो समकालीन कविताको एउटा फरक बान्की हो जसबाट प्रतिरोध सौन्दर्यको निर्माण भएको छ र यस्ता कविताले समकालीन कवितामा प्रतिरोध सौन्दर्यको नयाँ आयामलाई उद्घाटित गरेका छन् ।
नेपाली समकालीन कवितामा भने पूर्ववर्ती कवितासँग जोडेर समकालीन नेपाली कविताको शक्ति लोकप्रियता र स्तरीयताका बारेमा प्रश्नहरू उठिरहेका छन् र उठ्नाका केही गम्भीर कारणहरू रहेका हुन सक्छन्, जसलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः
(१) समकालीन कविता काठमाडौँ र सहर केन्द्रित मात्रै भएको हो कि ? अध्ययन र खोजी नै गर्ने हो भने हामीले देखेका, भोगेका कविहरूका कविताभन्दा प्रभावशाली कविता प्रदेशका कुना कुनामा भेटिनु सम्भव छ । नेपालका सबै क्षेत्र र हिमाल, पहाड र तराई क्षेत्रमा व्याप्त छुवाछुत, गरिबी, पीडा, व्यथा, आक्रोश, कुण्ठा, विडम्बना, अभाव जस्ता कुरा किन कवितामा अत्यन्तै कम मात्रामा अभिव्यक्त भएको पाइन्छ ? म जस्तो समालोचक वा समीक्षक, प्रज्ञा प्रतिष्ठान र सम्बन्धित निकायको दृष्टि त्यतातर्पm नपुगेको हो ?
(२) कविताको लोकप्रियताको प्रश्नमा र कवितामा पाठकहरू घटेको प्रश्नमा के कुरा बुझ्न जरुरी छ भने कविता पुसको घाम र जेष्ठको वटवृक्षको छायाँ जस्तो भए पुसमा घाम र जेठमा शीतल नताप्ने को हुन्थ्यो होला र ? त्यो नभएर कतै कविता जेठको घाम र पुसको शीतलहर जस्तो पो भयो कि ? कविताका पाठक नहुनुमा कवितामा रुचि पैदा गर्ने तŒवको अभाव पो हो कि ?
(३) आफ्ना कविताको सबैभन्दा ठुलो पाठक र समीक्षक स्वयं कवि नै हो । सर्जक कविले कविता सिर्जना गरेपछि पाठक (कवि स्वयंले उक्त कविता आपूm सर्जक हुँ भन्ने निरपेक्ष भावले पटक पटक पढ्ने र त्यसको समीक्षा गर्ने हो भने कतिपय कविता कविबाटै प्रशोधित (फिल्टर) भई प्रकाशित कविता मात्र आम पाठक समक्ष पुग्दा कविता आम पाठकका लागि पोषक र रुचिकर हुन्थे कि ।
(४) समकालीन नेपाली कविता लेखनका समयकै दृष्टिले अहिले कविता लेखनमा सक्रिय युवा, किशोर, प्रौढ कविहरूको सङ्ख्या यति धेरै छ कि एक कविले अर्को कविको कविता पढ्ने हो भने पनि कविताका पाठकको मात्रा कविको ज्ञानको स्तर ह्वात्तै बढ्ने देखिन्छ । एकको कविता अर्काले किन्ने हो भने पनि कविताको बजार पनि त्यस्तै बढ्ने देखिन्छ तर हामी कतिपय भित्रै एकले अर्कालाई निषेध गर्ने, एक कवि अर्काप्रति असहिष्णु हुने बानीको हामी भित्र विकास भइरहेको कारणले पनि असर पारेको त छैन ?
(५) बजारशास्त्रको नियम अनुसार वस्तुको प्रचार र विज्ञापन हुँदा त्यो विक्री हुने र
(आम जनता समक्ष) पुग्ने तर त्यसो नहुँदा गुणस्तरयुक्त वस्तु पनि विक्री नहुने नियम नेपाली कवितामा पनि घटित भएको हो कि ? बहसमा आए जस्तै बजारमा पैसा, प्रकाशन, पहुँच, भनसुन, सेटिङ, सिण्डिकेट आदिका आधारमा तयार भएको र त्यसै आधारमा समीक्षा हुने गरेको सामान्य वस्तुले पाठकमा अरुचि, अजीर्णता पैदा गरेको पो हो कि ?
३. समकालीन कवितामा निजात्मकता
निजात्मकता भन्नाले सर्जकको निजीपन, मौलिकता, व्यक्तित्व भन्ने बुझिन्छ । कविले पूर्वपरम्परालाई नयाँ अर्थमा आविष्कृत गर्नु, त्यसको सिर्जनात्मक उपयोग गर्नु पर्दछ । कविले कवितामा प्रस्तुत विषयवस्तु उही र उस्तै भए पनि कवितामा विषय प्रयोग र कलात्मक सामथ्र्यका दृष्टिले नवीनता र निजताको शक्ति भेटिनु वाञ्छनीय हुन्छ । अभि सुवेदी आर.एम. डङ्गोलको दशगजावारि कविताको भूमिकामा कविको कविताका निजात्मकता बारे लेख्छन् ः
स्रष्टाको नाम लिनासाथ उसको रूप र रचनाहरूको मौलिक स्वरूप पाठकको मनमा प्रतिविम्बित हुने स्थिति सिर्जना गर्न नसकेसम्म प्रतिभा स्थापित हुँदैन । अझ रचना पढ्नासाथ रचनाकारको र रचनाकारको नाम सुन्नासाथ कुनै न कुनै रचनाको विम्ब पाठक मनमा मूर्त बनेर आउनु स्रष्टा स्थापित हुनको सर्वश्रेष्ठ प्रयास हो (अभि सुवेदी, पृ. ६) ।
यदि स्रष्टा स्थापित भएनन् भने कविता केवल परम्पराको निर्वाह वा रुढ कविताका रूपमा मात्र चिनिन्छन् । समकालीन कवितामा कविको निजात्मकता वा मौलिकताको पहिचान गर्न कविताको अन्तर्वस्तु र रूप संयोजनलाई आधार बनाउन सकिन्छ । यद्यपि अन्तर्वस्तु र रूप कविताभित्र एकअर्कासँग पृथक् पृथक् तŒवका रूपमा हेरिने कुरो नभई एक आपसमा अन्तर्घुलन भएरै काव्यिक चारुता वा कलात्मक वान्की प्रस्तुत गर्दै कथ्यलाई घनीभूत तुल्याउँछन् । कवितामा कविको निजात्मकता वा मौलिकता पारख गर्न चाहिँ यी दुईलाई पृथक् पृथक् र सूक्ष्म रूपमा अवलोकन गरी निजात्मकताको सन्धान गर्न सकिन्छ । कविता भित्र कविको निजात्मकताको छाप हेर्न यी प्रश्नहरू प्रारम्भिक रूपमा कविको मूल प्रवृत्ति ठम्याउन महŒवपूर्ण हुन सक्छन् ः
३.१ अन्तर्वस्तुका रूपमा
(१) के ऊ समकालीन बाह्य÷आन्तरिक यथार्थ (कुरूपता, राष्ट्रियता माथिको सङ्कट, वर्गीय, जातीय लैङ्गिक विभेद र उत्पीडन, आजको समयको विपर्यास, विडम्बना, तनाव र द्वन्द्व, सीमान्तीकृत समुदायका व्यथा र पीडा आदि) को चित्रवत् कलात्मक चित्रण गर्दै त्यसप्रति तीव्र असन्तुष्टि व्यक्त गर्ने स्रष्टा हो ? यस वर्गका कविहरूमा अविनाश श्रेष्ठ, अशेष मल्ल, इन्दिरा प्रसाईं, उषा शेरचन, कणाद महर्षि, कृष्ण प्रधान, केशव आचार्य, कृष्णभूषण बल, तोपा गुरुङ, दुवसु क्षेत्री, नरेश शाक्य, प्रमोद प्रधान, फणीन्द्र नेपाल, वद्री पालिखे, वेन्जु शर्मा, महेश प्रसाईं, मीनबहादुर विष्ट, रविमान लमजेल, राधेश्याम लेकाली, लक्ष्मी माली, विजय वजिमय, विधान आचार्य, विनय रावल, क्षेत्रप्रताप अधिकारी, विमल कोइराला, वियोगी बुढाथोकी, विश्वविमोहन श्रेष्ठ, विष्णुविभु घिमिरे, शारदा शर्मा, शिव अधिकारी, शैलेन्द्रकुमार सिंह, सरुभक्त, हरि अधिकारी, हीरा आकाश, मन्जु काँचुली, विमल कोइराला, शारदा शर्मा, इन्दिरा प्रसाईं, अरुणा वैद्य, आर.आर. चौलागाई, उत्तम भौकाजी, उदय निरौला, उमेश राई अकिञ्चन, एस्पी कोइराला, कृष्णराज सर्वहारी, कृसु क्षेत्री, खुमनारायण पौडेल, गीता कार्की, गोवद्र्धन पूजा, ज्योति जङ्गल, टङ्क उप्रेती, ठाकुर वेलवासे, दीपेन्द्रसिंह वस्न्यात, धनकुमारी सुनार, ध्रुवसत्य, निमेष निखिल, नीलम कार्की नीहारिका, पवन आलोक, प्रकाश सायमी, प्रह्लाद पोखरेल, प्रोल्लास सिन्धुलीय, वावु त्रिपाठी, भावेश भुमरी, भीष्म उप्रेती, भूपिन व्याकुल, मणिराज सिंह, मणि लोहनी, मधुसूदन गिरी, मनरूप नेप्च्युन, मनु मन्जिल, मनोज न्यौपाने, महेश रेग्मी, रमेश श्रेष्ठ, राजकुमार के.सी., राधिका गुरागाईं, रोशन शेरचन, रोशन सुवेदी, ललिजन रावल, विवश पोखरेल, विवश वस्ती, श्याम रिमाल, श्रवण मुकारुङ, श्रीवावु कार्की उदास, सन्ध्या पहाडी, सविता गौतम, साम्ब ढकाल, सुदीप पाख्रिन, सुमन पोखरेल आदि ।
(२) के ऊ समकालीन बाह्य÷आन्तरिक यथार्थ (कुरूपता, राष्ट्रियता माथिको सङ्कट, वर्गीय, जातीय, लैङ्गिक विभेद र उत्पीडन, आजको समयको विपर्यास विडम्बना, तनाव र द्वन्द्व, सीमान्तीकृत समुदायका व्यथा, पीडा, सांस्कृतिक, दलित जस्ता विषय) को यथावत् कलात्मक चित्रण गर्दै त्यसप्रति आक्रोश, असन्तुष्टिका साथै त्यसबाट मुक्तिका लागि परिवर्तनबोध, सङ्घर्ष चेतना, प्रतिरोध चेत र प्रगाढ आशा व्यक्त गर्ने स्रष्टा हो ? यस वर्गका कविहरूमा अमर गिरी, कुन्ता शर्मा, कृष्णसेन इच्छुक, गोविन्द वर्तमान, जीवन आचार्य, तीर्थ श्रेष्ठ, दिनेश अधिकारी, पुरुषोत्तम सुवेदी, पूर्ण विराम, मञ्जुल, राजव, राजेन्द्र सलभ, रेशम विरही घिमिरे, विक्रम सुब्बा, विमल निभा, श्यामल, अभय श्रेष्ठ, अमोध काफ्ले, आर.एम. डङ्गोल, आहुति, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, केशव सिलवाल, गोकुल अधिकारी, गङ्गा श्रेष्ठ, निभा शाह, पदम गौतम, लिखत पाण्डे, वासुदेव अधिकारी, विजय सुब्बा, विनोद विक्रम के.सी., भूपिन व्याकुल, केवल विनावी, प्रकाश गुरागाई, विष्णु भण्डारी, शार्दूल भट्टराई, सङ्गीत आयाम, सत्या पहाडी, सुरेश किरण आदि ।
(३) के ऊ जीवनका रहस्य र कुण्ठा व्यक्त गर्ने, प्रेम, स्नेह, सद्भाव व्यक्त गर्ने, सांस्कृतिक सामाजिक जीवनका विरोधाभास, जडता भत्काउँदै, परम्परागत सम्पूर्ण मानकहरू भञ्जन गर्दै बहुलवादी दृष्टिकोण प्रस्तुत गर्ने, विचारको नयाँ शक्ति निर्माण गर्ने, आवाजविहीन, इतिहासविहीन र शक्तिहीन मानिसहरूको आवाजको खोजी गर्ने र मानवीय संवेदना र सपनालाई विषय बनाउने कवि हो ? यस वर्गका कविहरूमा अभय श्रेष्ठ, उपेन्द्र सुब्बा, केशव सिलवाल, धर्मेन्द्र विक्रम नेम्वाङ, पूर्ण इन्फादा, भूपाल राई, मोमिला, रमेश रञ्जन, विप्लव ढकाल, विमला तुङ्खेवा, शशी लुमुम्बू, सुरेश किरण, विना थिङ र उन्मुक्त पुस्ताका राजु स्याङतान, मुक्तान थेवा, केवल विनावी, प्रकाश गुरागाई, हरिशरण परियार, माधव घिमिरे अटल आदि यहाँ माथि दिइएका कविहरूका नाम ‘प्रज्ञा समकालीन नेपाली कविता भाग १’ र ‘भाग २’ उन्मुक्त पुस्ताको आफर र विभिन्न स्रोतबाट लिइएका हुन् ।
(४) के ऊ स्वच्छन्दतावाद, परिष्कारवाद, प्रयोगवाद जस्ता पूर्व परम्परा भित्रै वाहक र तदनुकूलका कृति रचना गर्ने स्रष्टा हो ? उल्लिखित १, २, ३ बुँदामा दिइएका केही कविहरूका केही कवितामा छिटफुट रूपमा यो प्रवृत्ति पनि पाइन्छ ।
३.२ रूप वा शिल्पका रूपमा
(१) के ऊ आफ्नो कथ्य वा कविताको अन्तर्वस्तु भित्र काव्य मान्यता (अलङ्कार, रीति, ध्वनि, विम्ब, प्रतीक, लक्षणा, रसमा मानकता) भित्र रही कविता रचना गर्ने स्रष्टा हो ?
(२) के ऊ यी काव्यमान्यताका मानकहरूको व्यतिक्रम, विपर्यास, विडम्बना वा विरोधबाट सिर्जित, विनिर्मित हुने नयाँ काव्यशिल्पको प्रयोग गर्दै कविता रचना गर्ने स्रष्टा हो ?
(३) के ऊ जीवन जगतका यथार्थको सजीव सम्मूर्तनका लागि प्रतिरोध र सङ्घर्ष चेतनागत सौन्दर्यका लागि उपयुक्त हुने आक्रामक वा सरल, नवीन विम्बालङ्कारयुक्त भाषाको प्रयोग गर्ने स्रष्टा हो ?
४. समकालीन कवितामा कथ्यको विविधता
समकालीन कवितामा कथ्यको विविधता पाइनु यस अवधिका कविताको विशिष्ट प्राप्ति हो । नेपाली साहित्यको प्राथमिक काल, माध्यमिक काल र आधुनिक कालको परिष्कारवादी, स्वच्छन्दतावादी, प्रयोगवादी धाराका साथै आयामेली कवितामा भन्दा यस अवधिका कवितामा कथ्यको व्यापकता पाइन्छ । अमर गिरीले यस्तो व्यापकता र विविधता नेपाली कविताको चालिस वर्षको इतिहासमा पाइन्न भनी एक दैनिक पत्रिका (नयाँ पत्रिका) को समीक्षामा प्रस्टसँग उल्लेख गरेका छन् । आजका कवितामा वर्णन गरिने विषयवस्तुले करवट फेरेको छ, कवितामा प्रेम, स्नेह, मानवता, सहिष्णुताका अतिरिक्त मध्यम र निम्न वर्गका तनाव, कुण्ठा, समस्या आदिको अभिव्यक्तिका साथै वर्गीय विभेद, जातीय, लैङ्गिक विभेद र उत्पीडनको चित्रण र मुक्तिका लागि गरिने सङ्घर्षचेत समेत आजको कवितामा देखा परेको छ । आजको कवितामा प्रयुक्त भएका कथ्य अन्र्तगत वर्गीय चेतना,जनजातीय चेतना, लैङ्गिक चेतना,पहिचानगत चेतना,बहुलवाद, सवाल्टर्न लेखन, एलिट लेखन र पर्यावरणीय चेतना पर्दछन् ।
५. समकालीन कविका कविताको रूपविधान (भाषा, शैली, विम्ब)
समकालीन कविता रूपविधान (भाषा, शैली, विम्ब) का दृष्टिले समेत पूर्ववर्ती कविताभन्दा बेग्लै र विशिष्ट प्रकृतिको देखा पर्छ । कविताको भाषालाई वुनोटसँग जोड्दै अमर गिरीले भाषाका सम्बन्धमा कवितामा विशिष्ट भाषा हुनुपर्छ भनेको छन् ः
कविताको भाषा वुनोटसँग जोडिन्छ । भाषा पनि सामान्य र विशिष्ट हुन्छ । सामान्य भाषिक वुनोट लक्ष्य आधारित ओजस्वी कथन हो, विशिष्ट भाषिक वुनोट वर्णनात्मकता उक्तिवैचिœय, व्यङ्ग्यपूर्ण कथन, विपर्यास र विचलनका साथसाथै विम्बविधान, प्रतीकविधान र अलङ्कारविधानको समष्टि हो (अमर गिरी, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, पृ. ६) ।
समकालीन कवितामा कविहरूले भाषा र शैलीमा प्रयोग गरेको नवीनतालाई यसरी प्रस्तुत गर्न सकिन्छ ः (१) भाषिक नियमहरूको भञ्जन र अतिक्रमण (२) काव्यिक मानकताको भञ्जन र अतिक्रमण (३) कङ्क्रीट पोइट्री वा चित्रात्मक कविता (४) स्थितिको विडम्बनापूर्ण अभिव्यक्ति (५) शब्दभन्दा बाहिरको अर्थसत्ता (६) लोक विम्ब, जातीय विम्ब, सांस्कृतिक विम्ब र मिथकीय विम्बको रुढिमुक्त प्रयोग । यहाँ १ र २ सँग सम्बद्ध भाषाशैलीगत वैशिष्ट्यको मात्र चर्चा गरिएको छ ।
५.१ भाषिक नियमहरूको भञ्जन वा अतिक्रमण
समकालीन नेपाली कवितामा भाषिक नियमहरूको भञ्जन मार्पmत नवीन प्रयोगको अवस्था सिर्जना गरिएको छ । सुवेदी (२०७२ ः ७०) ले जनजाति कविले भाषिक भञ्जनको प्रयोगलाई प्रयोग गरेर नेपाली कविताको मानवता प्रतिको दृष्टिकोण व्यक्त गरेका छन् र उही भञ्जकताका कारणले नै नेपाली कविता झन झन बलियो र धनी भएको भनेका छन् । भाषामा प्रयोग गरिने यस्तो मानकता विरुद्धको अमानक वा नवमानक सौन्दर्यले कवितामा बलियो सिर्जनाको चक्रवातरूपी उद्वेलन सिर्जना गरेको एउटा रूपक, एउटा वाचाल व्यतिरेक र एउटा लक्षणा सिर्जना गरिएको बताएका छन् । धर्मेन्द्र विक्रम नेम्वाङको सांवादिक शैलीमा रचिएको योङ्या कविताबाट उदाहरण दिएका छन् । नेम्वाङ्कै धङधङीको चलखेल कवितामा प्रयुक्त भाषिक भञ्जन झनै नौलो र विस्मयकारी छ । भाषिक नियमहरू तोड्दै निकालिने यस्तो नयाँ भाषिक सौन्दर्य प्रयोगमा थुप्रै कविहरू सक्रिय रहेका छन् ।
५.२ काव्यिक मान्यताको भञ्जन, अतिक्रमण र नितान्त सरलता
समकालीन कवितामा काव्य तŒव, विशेषता, मान्यता, उपकरणहरू बारे स्थापित सिद्धान्त र मान्यताको भञ्जन गरी मुक्त एवं नवप्रयोग गर्ने प्रवृत्ति देखा परेको छ । पूर्वीय एवं पाश्चात्य काव्यशास्त्रमा स्थापित रस, अलङ्कार, विम्ब, रूपक, मानवीकरण वक्रता, औचित्य, रीति, शैली जस्ता मान्यताहरूमा सीमा भित्र नरहने र यस्ता काव्यिक मान्यताका लक्षणहरूको नवप्रयोग मार्फत नवीनता सिर्जना गर्ने प्रवृत्ति पनि समकालीन कवितामा पाइन्छ ।
सामान्यतया पूर्वीय साहित्य शास्त्रमा सादृश्यविधानका रूपमा प्रयुक्त हुने अलङ्करण विधिमा उत्कृष्ट उपमानको अपेक्षा गरिएको हुन्छ भने समकालीन कवितामा उपमानको उत्कृष्टता भन्दा उपमानको स्वाभाविकता, जीवन्तता तथा चित्रात्मकतामा जोड दिएको हुन्छ । विनोद विक्रम के.सी. को “वसन्तुपरमा क्युरियोका सामान भैंm हामीले हाम्रा भोकलाई सिगारेका छौं” मा ‘क्युरियोका सामान’ कवि भूपिनको ‘दशैंमा परदेशी सम्झिएर’ कवितामा छटपटाउने, चाउरिने, वेरङ्ग हुने र उदास हुने क्रियाका लागि ‘अष्टमीका दिन काटिएको खसी भैंm’, ‘उम्रिन नसकेको जमरा भैंm’, ‘विधवाको निधार पर्खेको सेतो अक्षता भैंm’, ‘जुठो बारिएको घर भैंm’ जस्तो उपमान पदावलीको प्रयोग आपैmमा एक नव प्रयोग हो र यो समकालीन कविताको शक्ति पनि हो । यस्ता उपमानको प्रयोग गर्ने थुप्रै कविहरूका कविताले समकालीन कविता सशक्त बनेको छ ।
६. समकालीन कविताको सामथ्र्य
समकालीन कवितामा विम्ब प्रयोग, उपमानको नवप्रयोग, अर्थ सङ्क्रमण वा ध्वनन्, मूर्त अमूर्त र मानवीकरण तथा विशेषण, क्रियाविशेषण र क्रियापदपदवालीको वैचिœयुक्त प्रयोगबाट कवितालाई सशक्त र कथ्यलाई सघन तुल्याएको पाइन्छ । ‘प्रज्ञा समकालीन कविता भाग १’ मा समकालीन नेपाली कविताको प्राप्ति भनी कविताको सामथ्र्यलाई यसरी प्रस्तुत गरिएको छ ।
कतिपय कविहरूका कवितामा उच्च बौद्धिक चेतना, सार्थक विचलन, कलात्मक मूल्य प्राप्तिको सचेतता, समकालीन चेतना, विश्वबोध आदि पनि पाइन्छन् र यी विशेषता समकालीन नेपाली कविताका प्राप्ति हुन् (पृ. २१) ।
६.१ मिथकीय र ऐतिहासिक विम्बको सामाजिकीकरण र युगानुकूलन
समकालीन कवितामा लोकधर्मी मिथकीय विम्ब, ऐतिहासिक–सांस्कृतिक विम्बको सरलतासाथ सामाजिकीकरण र युगानुकूलन गर्दै कथ्यमा सघनता पैदा गर्ने प्रवृत्ति पाइन्छ । तात्कालिकतालाई मिथकीय समय परिवेशमा सङ्क्रमण वा मिथकीय समय परिवेशलाई तात्कालिकतामा जीवित राख्ने कलात्मकताले समकालीन कविहरूको कथ्यलाई सघन तुल्याएको पाइन्छ ।
सरिता तिवारीद्वारा ‘हे देवी’ (प्रश्नहरूको कारखाना, पृ. ३२–३६) मा देवी र दैत्यका तात्कालिक सरल मिथकलाई युगानुकूलन र सामाजिकीकरण गरिएको छ । यहाँ शक्तिरूपा आदिम देवीलाई क्रान्तिरूपा युगीन नारीसँग सामाजिकीकरण गरी लैङ्गिक विभेद विरुद्धको सङ्घर्ष चेतनाको कथ्यलाई घनीभूत तुल्याइएको छ । यस्तै ऐतिहासिक, सांस्कृतिक र पौराणिक मिथकहरूको युगानुकूलन र सामाजिकीकरणका थुप्रै उदाहरण समकालीन नेपाली कवितामा पाइन्छन् । सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई’ मा सीता, महादेव र ब्रह्मरूप जस्ता पौराणिक मिथकहरूलाई यसैगरी युगानुकूलन गरिएको छ । भूपिनको ‘कम्प्युटरमा ईश्वर’ कवितामा ईश्वर र देवीलाई इन्टरनेटमा ‘कामुक लयमा साइवर सेक्स गर्ने’ एक वर्गका युवायुवतीमा युगानुकूलन गरिएको छ भने द्रौपदीलाई ब्लुफिल्म हेर्ने चरित्रकी आधुनिक युवतीमा युगानुकूलन गरी युवायुवतीमा व्याप्त सामाजिक विकृति रूप कथ्यलाई धार्मिक मिथक मार्पmत सशक्त तुल्याइएको छ । यस्तो प्रवृत्ति समकालीन थुप्रै नेपाली कविहरूमा पाइन्छ ।
६.२ सेकेन्ड हेन्ड उपमानको पुनर्नवीकरण, पुनर्निर्माण, नितान्त अर्गानिक उपमानको प्रस्तुति
समकालीन कविताको अर्को मुख्य विशेषता सेकेन्ड हेन्ड उपमानको पुनर्नवीकरण एवं नितान्त अर्गानिक एवं नवीन उपमानका माध्यमबाट कथ्यलाई भेद गर्नु हो । एकपल्ट कुनै कविद्वारा प्रयुक्त उपमान वा उही कविले एकपटक प्रयोग गरिसकेको उपमानको खारेजी वा पुनर्नवीकरण गरी उपमानमा नयाँ अर्थको धार भर्ने प्रभावकारी कला समकालीन कवितामा पाइन्छ । यसलाई समकालीन कविका कवितामा भाषाको शक्ति मान्न सकिन्छ । जब एकपटक प्रयोग भएका उपमान उही अर्थमा पुनः पुनः प्रयोग हुन्छ त्यो रुढि बन्न पुग्छ, त्यस्तो रुढियुक्त कवितामा नवीनता वा लेखकीय वैयक्तिकताको गुन्जाइस रहन्न र लेखक परम्पराभन्दा पृथक् पहिचान बनाउन असक्षम हुन्छ । कवितामा प्रयोग गरिने यस्ता उपमानहरू कुनै खास जाति, रङ्ग, वर्ग र स्मृतिसँग मात्र सम्बन्धित नभई सबै वर्ग, जाति, रङ्ग र संस्कृति सम्बद्ध हुनु पर्छ भन्ने बारे आहुति लेख्छन् ः
कवितामा आउने प्रतीकहरू, पात्रहरू, विम्बहरू र भाषा खास वर्ग, खास जाति, खास संस्कृतिसँग सम्बन्धित हुन्छन् जसको कारण तिनको सौन्दर्यमूल्य र जीवनमूल्य फरकफरक ढङ्गले व्यक्त हुने गर्दछन् । यस विषयलाई ख्याल गरिएन भने फरक वर्गको, फरक जातिको र खास संस्कृतिको सौन्दर्य तथा जीवनमूल्य अर्को खास वर्ग, जाति र संस्कृतिमाथि बलजफ्ती थोपरिन पुग्छ । जसको कारण यथार्थको प्रतिविम्बन होइन बस् यथार्थको विकृतीकरण हुन पुग्दछ (आहुति, मेरो कविताको कथा, गहुँगोरो अफ्रिका, पृ. ११९) ।
समकालीन कविका कवितामा यस्ता ताजा उपमानको प्रयोग प्रशस्त पाइन्छ मोमिलाका ‘तिमी र म’ ‘कवितामा आमाको निधारको घामजस्तो टीका’, ‘हामीहरूको आँखादेखि सँगै भागेका सपनाहरू’, ‘हामी दुईको घाँटीदेखि सँगै बाफिएर उडेका बादलहरू’, ‘हामी दुईको मनैदेखि सँगै उठेका लहरहरूको चञ्चलता’ जस्ता पदावलीका प्रयुक्त उपमानहरू नितान्त नयाँ र अर्गानिक छन् । ‘सङ्गीतको सम्पादित सौन्दर्य, भर्जीको मध्यान्तर, फक्रँदै गरेको पूmलको तरल सौन्दर्य’, ‘मस्तिष्कको निर्देशित गान’, ‘हृदयको सर्र सर्र तान’ जस्ता पदावलीहरू र तिनमा प्रयुक्त थुप्रै थुप्रै उपमानहरूले नै यिनका कविताको शक्तिलाई ऊर्जा दिएका छन् । यहाँ अन्य केही कविहरूका त्यस्ता उपमानहरू प्रयोग भएका पदावलीहरू दिइएको छ ः
जूनमा नुहाएर सहर÷बालकभैंm सुकिलो भएको छ (ज्योति जङ्गल, जून आरोहण), पटक पटक कोल्टे फेर्दै हो भर्खर प्रेम बसेको जवानी (ज्योति जङ्गल, एक रात आँखाहरूमा) घरले ढोका लगाएपछि ती बाटाहरू समेत सुते होलान् (ज्योति जङ्गल, एक रात ....) । वर्षौसम्म वारुदको गन्धले पीरो नाक, युद्धको दृश्यले भत्भती पोलिरहेका आँखा, घृणा, द्वेषले उल्टो काँडा भएर लुछिरहेको हात (रमेश क्षितिज, देखिने कविता धरतीमाथि), लोकगायक नदी, आदिकवि सूर्य, कलाकार चरा, कोमल हृदय जस्तो पग्लिरहेको मेघ (रमेश क्षितिज, ईश्वरको रहस्य) नरकको पटाङ्गिनी जस्तो आदिम ओछ्यान, तिमी बरफको डल्लो रहेछौ ज्युँदो ओछ्यान होइनौँ, कहिलेकाही भोको सिंह जस्तै बनेर चिथोर यो छातीमा
(विप्लव ढकाल, जलिरहेको अन्धकार) लाचार सियाराम । चोराएर मूर्ति कुनै स्तब्ध पुजारी भैंm उभिएको थियो अवाक् (श्रवण मुकारुङ, घटनास्थलमा सियाराम) रहरहरूजस्ता धुलोहरू उडाउँदै, दुवैले दुःख बोकेका छन् पिठ्युभरि, जाडोले दुवैलाई जिस्क्याइरहेको छ उसरी नै
(भीष्म उप्रेती, समानता) यो देशको पार्लियामेन्ट भान्साघर जस्तै छ । यो देशमा अव्यवस्था मात्र छ वेसार जस्तो (भूपिन, वेसार) म उड्दा उड्दै चुँडिएको चङ्गा जस्तो म बग्दाबग्दै रोकिएको गङ्गा जस्तो (भूपिन, आमा) अग्ला अग्ला पहाडहरू मानौँ रणभूमिमा तैनाथ सिपाहीहरू जस्तै (कृष्ण सेन, सलाम जेलवाङ) पोइल गएकी आमाको खल्लो काखभैmँ काठमाण्डु (इच्छुक, काठमाडौँ मेरो देशको राजधानी), जब लाग्छ लुतो कसैलाई वादरलाई घाउ लागे जस्तो, लुतो एक विचार रहेछ मानिसलाई विचारशून्य बनाउने (श्यामल, लुतो), मुस्कान र रोदनका भङ्गिमा, तृप्तिका भीम विश्वास, अभावमा उठेका भक्काना (शारदा शर्मा, छोरीको अनुहार), भुत्ते खुकुरी भैंm काम नलाग्ने हुने थिए शब्दहरू, जीवन हिउँदको नाङ्गो रुखभैंm हुने थियो (श्यामल, लय ब्रह्म) हरियाली सिउरेर गमक्क परेको पहाड, झरनाका लहरहरूले गाउने सृष्टिको गीत पक्षीका प्वाखमा लाग्ने गरेका निभाउन नसक्ने डढेलो (सीमा आभास, आमा) निचोरिएको कागती जस्तो अनुहारधारी युवक (सिटी सेन्टर) गोली लागेको पन्छीको पखेटाभैंm फड्फडिरहेको छ मुटु, बाघको मुखबाट उम्किएको मृग भैंm तुफानी वेगमा दौडिरहेछ रगत, थोत्रो लोकल बसका पार्टपुर्जा भैंm खन्द्र्याङ खन्द्र्याङ बजिरहेका छन् अङ्ग प्रत्यङ्ग (बिनोद विक्रम के.सी), महŒवाकाङ्क्षाका नवीन मठ, गरिवीको अघोर मुख, कक्टेल संस्कृति, निर्बन्ध बजारतन्त्र, प्रजातन्त्र कोचेका भुक्क–भुक्क गोजी (पुरुषोत्तम सुवेदी) ।
६.३ सामान्य अर्थमा अन्य अर्थको सङ्क्रमण ध्वनन वा आरोप
समकालीन कवितामा कविले शब्दको रुढ परम्परागत कोशीय एवं प्रचलित अर्थमा नवीन अर्थको आरोप, ध्वनन वा सङ्क्रमण गरी रुढ अर्थमा नव ऊर्जा थपेर कथ्यलाई निकै प्रभावकारी, सशक्त एवं मर्मस्पर्शी तुल्याएको पाइन्छ । कविहरूले शब्द वा वाक्यको सोझो अर्थमा नयाँ अर्थ सङ्क्रमण ध्वनन वा आरोपण गर्दा कोशीय अर्थ ःग्त्भ् गरी वा निष्क्रिय तुल्याई नयाँ अर्थ सवार गराइन्छ । कविको यो वैशिष्ट्य समकालीन कवितामा अत्याधिक मात्रामा पाइन्छ । शब्दको कोशीय अर्थसत्तामा आक्रमण गरी नयाँ अर्थसत्तामा सङ्क्रमण गरेर कविहरूले आफ्नो कथ्य (प्रेम, घृणा, आक्रोश, उत्साह, आदि) लाई निकै घनीभूत तुल्याउने गर्दछन् । यस्तो प्रवृत्तिको घनत्वका कारण समकालीन कविता पूर्व परम्परा भन्दा भिन्न अभैm सशक्त बनेको पाइन्छ । ‘लुतो’ कवितामा कवि श्यामलले ‘लुतो’ शब्दको खास तुच्छ कोशीय अर्थमा अन्य (प्रशंसाका माध्यमबाट निन्दा) अर्थ सङ्क्रमण वा ध्वनन गरेका छन् जसमा उनले (कविता कथा लेख्ने) सिर्जनशील र विद्रोही हातहरूलाई सिर्जना र विद्रोहबाट विमुख तुल्याउने कार्य गर्ने अर्थमा लुतोको अर्थलाई सङ्क्रमण गरी कलात्मक सौन्दर्य सिर्जना गरेका छन् । लुतो कन्याउनु र आङ कन्याउने कार्य जस्तो अति सामान्य वाच्य, कोशीय र लोक प्रसिद्ध अर्थमा ‘सोच र दृष्टि हराउने’, ‘विचार, स्मृति, बहस र माया विस्मृत हुने’, ‘मानिसलाई विचार शून्य बनाउने’, ‘नितान्त एकाकी र असामाजिक चरित्रको मानिस बनाउने’ भन्ने जस्ता अनेक अर्थहरू सङ्क्रमण मार्पmत सर्जक, क्रान्तिकारी र विद्रोही ताकतभित्र मौलाएको निष्क्रियता र त्यही निष्क्रियतामा नै रमाउने चरित्रप्रतिको व्यङ्ग्यलाई समेत तिख्खर पारेका छन् । केशव सिलवालको ‘चिबेचरा’ र चिबेचरा कवितामा ‘चिबेचरा’ को वर्णन होइन चिवेचरामाथि कालो रङ्गका एक जाति जो राष्ट्रिय नागरिक भएर पनि पहिचानको अभावमा उत्पीडित छ त्यस्तो अर्थ सङ्क्रमण गरी कवितालाई शक्तिशाली तुल्याइएको छ । विप्लव ढकालका ‘डम्बरीको देश’की ‘डम्बरी’, श्रवण मुकारुङ्का ‘बिसे नगर्चीको बयान’ को विसे नगर्ची र ‘भानुभक्त’ कवितामा ‘भानुभक्त’, मनु मन्जिलको ‘दुस्मन’ कविताको ‘दुस्मन’, अमर गिरीको ‘दुखीराम’ कविताको ‘दुःखीराम’, निभा शाहको ‘मनसरा’ की ‘मनसरा’, भूपाल राईको ‘हरिनन्दर माटो’ कविताका ‘हरिनन्द’ र रामप्रसादको रामप्रसादहरू, विनोद विक्रम के.सी. को ‘भूमण्डलीकरण’ कविताको ‘रामप्रसाद’ सबैले आ–आफ्नो प्रचलित, रुढ एवं कोशीय अर्थमा नयाँ नयाँ सन्दर्भयुक्त अर्थको सङ्क्रमण मार्पmत कवितालाई सशक्त तुल्याएका छन् ।
६.४ मूर्तीकरण÷अमूर्तीकरण, मानवीकरण र पदपदावलीगत वैचिœय
समकालीन कवितामा कविले आपूmले चयन गरेको विषय वा कथ्यलाई अभिव्यक्तिको ढाँचा वा फ्रेममा ढाल्दा मूर्तको अमूर्तीकरण, अमूर्तको मूर्तीकरण, मानवेतरको मानवीकरण, मानवको मानवेतरीकरण, निर्जीवको सजीवीकरण, सजीवको निर्जीवीकरण तथा विशेषण क्रिया विशेषण र क्रियापद पदावलीमा स्थापित मानकताको भञ्जनमा नितान्त मौलिकपना पाइन्छ, जुन कुरालाई समकालीन कविताको पहिचानका रूपमा लिन सकिन्छ । कविहरूमा यी र यस्ता युक्तिको प्रयोगवाट निजात्मक सामथ्र्य, कल्पना शक्तिको प्राचुर्य अभिवृद्धि भएको र त्यसले समकालीन कविहरूको काव्य प्रतिभालाई उजागर गरेको पाइन्छ ।
‘हर्कबहादुर भोक हो, हर्कबहादुर शोक हो’ (हर्कबहादुर), ‘गालाको लाली गुराँस’
(सिपाही, दिनेश अधिकारी), कविताका छाती छातीबाट वहन थाल्छ रगत (दुसाध्य समय, अमर गिरी), लेख्नु कविताका कोमल र आक्रामक हरफहरू (अमर गिरी, शान्तिका निम्ति), नाङ्लो सुस्केरा निफन्नु, सिलौटोले पीडा पिध्नु, चुलेसीले क्लेश काट्नु, थाल कचौरा र रिकापीहरू एकातिर निराश–निराश देखिनु, उदासी पिर्कामा टुक्रुक्क बस्नु, चामलको कसौडीमा अभाव पाक्नु, माटोको गाग्रोलाई प्यास लाग्नु (विमल निभा, बालकविता, पृ. २४९) जस्ता उदाहरण अमूर्तको मूर्तीकरणका उदाहरण हुनाका साथै क्रिया पदको चमत्कारपूर्ण कलात्मक प्रयोगका बान्कीहरू हुन् । आवाजविहीन आवाज, सुगन्धहीन सुगन्ध, ‘दृश्यहीन दृश्य’, ‘स्पर्शहीन स्पर्श’, ‘प्रेमहीन प्रेम’ जस्ता विशेषणको कलात्मक प्रयोग (मोमिला), ‘शिर झुकाउँदै उभिरहन्छ त्यो लाचार छायाँ’ मा क्रिया विशेषण पदावलीको उक्तिवैचिœयपूर्ण प्रयोग (पुरुषोत्तम सुवेदी) ।
७. छन्द कविता र समकालीनता
समकालीन छन्द कवितामा शास्त्रीय छन्दको बद्धतामा आबद्ध भई कविता रचना गर्ने कविहरूले ती कवितामा राष्ट्रियता, वलिदानी भावना, वर्गीय मुक्ति, वैदेशिक हस्तक्षेपको विरोध, वैदेशिक रोजगारी, मानव अधिकार, विद्रोह, चिन्ता र विकासको तीव्र चाहना जस्ता विषय सशक्त रूपमा अभिव्यक्त गरेका छन् । लयमाधुर्यका कारणले यी कविता श्रवणप्रति पाठक÷स्रोताको रुचि बढ्दो छ । युट्युवमा अपलोड गरिएका सुदेश सत्याल, मनोज भण्डारी, रामप्रसाद ज्ञवाली, देवी नेपालका कविताले निकै लोकप्रियता आर्जन गर्नु र विभिन्न विद्यालयमा छन्द कविता वाचन प्रतियोगिता मार्पmत किशोर किशोरीहरूमा छन्द कविता वाचनप्रति आकर्षण पैदा हुनुले यसको लोकप्रियतालाई पुष्टि गरेको छ । यस अभियानमा संलग्न रामप्रसाद ज्ञवाली, घनश्याम कँडेल, हेमराज अधिकारी, हिरण्यलाल ज्ञवाली, नारायण ज्ञवाली, रामचन्द्र भट्टराई, जगत उपाध्याय ‘प्रेक्षित’, उत्तमकृष्ण मजगैयाँ, कलानिधि दाहाल, कविराज पौडेल, कृष्णप्रसाद भट्टराई, कृष्णराज डी.सी., केदार न्यौपाने, कोषराज न्यौपाने, गाउँले वलदेव, गोविन्द आचार्य, गोविन्दराज विरोधी, गौरी दाहाल, चन्द्रा थानी, चन्द्रप्रसाद न्यौपाने, चूडामणि रेग्मी, जगन्नाथ आचार्य, टीकाराम शर्मा पौडेल, ठाकुर शर्मा, डिल्लीराज अर्याल, नर्मदेश्वरी सत्याल, नवराज लम्साल, नारायण नेपाल, नारायणप्रसाद पोखरेल, नारायणप्रसाद शर्मा, निरमोही व्यास, गणेश विषम, प्रभा भट्टराई, प्रह्लाद पोख्रेल, वमबहादुर थापा ‘जिताली’, वलभद्र भारती, वलराम दाहाल, बुँद राना, भगवान् चन्द्र ज्ञवाली, भुवनहरि सिग्देल, मित्रलाल पंज्ञानी, रमेश खकुरेल, राजेन्द्र सुवेदी, रामबाबु सुवेदी, वासुदेव अधिकारी, शैलेन्दुप्रकाश नेपाल, हरि पाण्डे ‘पथिक’, हरिप्रसाद पाण्डेय, टीकाराम अधिकारी, नारायण निरासी, लेख निरौला, सीता शर्मा, सुदेश सत्याल, हेमन्त विश्वास, सुधन पौडेल जस्ता कविहरूले सहज र स्वाभाविक रूपमा छन्दमा कविता रची समकालीन यथार्थ र त्यसका विसङ्गति र कुरूप पक्षलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् ।
८. समकालीन नेपाली कविताका सीमा
समकालीन नेपाली कविता शक्ति र सामथ्र्य एकातिर छ भने यसका सीमाहरू पनि त्यत्तिकै धारिला छन् । समकालीन कविहरूका भीडबाट माथि उठेर आफ्नो निजात्मकता, लोकप्रियता, कलात्मकता र अन्तर्वस्तु प्रतिको प्रतिबद्धता वा प्रतिबद्ध विचार, मुक्त विचार आदिमा आफ्नो पहिचान स्थापित गर्दै रहेका कविहरूले रचेका केही कविता निकै उच्च बौद्धिक चेतना, मानक–अमानक विचलन, मूल्यप्रतिको सचेतता, समकालीन यथार्थबोध र बहुल चेतना तथा विश्वबोध र कलात्मक दृष्टिले सशक्त छन् भने उनै कविहरूका केही कवितामा पुनः कतै विचारको आधिक्य, राजनीीतक नारा, कलात्मक ह्रास, प्रयोगवादी र अरूभन्दा भिन्न देखिनकै लागि मानकहरूलाई अव्यवस्थित एवं विसम ढङ्गले भत्काउने र सपाट, सोझो र अभिधेयात्मक कथन मार्पmत ठाडो अपशब्द प्रयोग र तात्कालिक क्षणिक वाहवाही वा तालीका लागि गाली बर्साउने र कलात्मक मूल्यहीन रचना सिर्जना गर्ने कार्य हुनु समकालीन कविताको सीमा हो । ‘प्रज्ञा समकालीन नेपाली कविता भाग १’ मा समकालीन कविताका सीमाबारे उक्त पुस्तकका सम्पादन समूहले लेखेका छन् ः
भाषिक सरलता भए पनि सरलताका नाममा सपाट वर्णन मात्र देखिनु, विचारको आधिक्यले कलापक्ष शिथिल हुँदै जानु प्रयोगको आग्रहस्वरूप मानकलाई भत्काउने प्रयास गर्नु, राजनीतिक आग्रह बढी देखिनु आदि समकालीन कविताका सीमा हुन् (पृ. २०) ।
यहाँ समकालीन कवितामा आफ्नो विशिष्ट पहिचान बनाएका केही कविहरूका कविताभित्र रहेका सीमालाई उल्लेख गरिएको छ । यसबाट नेपाली समकालीन थुप्रै कविहरूका कवितामा यस्ता थुप्रै कमजोरी हुन सक्छन् त्यसतर्पm सम्बन्धित कविको ध्यान जानु वाञ्छनीय छ । त्यसका लागि सरिता तिवारी, भूपिन व्याकुल जस्ता समकालीन कविताको पछिल्लो प्रहरका कविहरू मात्र होइन, अग्रज कविहरूमा पनि यस्तो कमजोरी पाइन्छ । समकालीन नारी पुस्ताकी शक्तिशाली स्रष्टा सरिता तिवारीद्वारा ‘प्रश्नहरूको कारखाना’ कविता सङ्ग्रहको ‘दुस्मनी’ कवितामा प्रत्यक्ष र सपाट रूपमा छिमेकी देशको नामै लिएर लेखेको अंश (अभैm भन्न सक्दिन कि भारत÷म तिमीलाई घृणा गर्छु । भारत, म तिम्रो दुस्मन हुँ । तर भारत तिमी मेरो मित्र कहिल्यै भएनौ । कस्तो दुःखको कुरा, पृ. ११४) जस्ता रचना थपिए भने उनका कविताको कलात्मक शक्तिलाई धूमिल पार्न सक्ने देखिन्छ । त्यस्तै अर्का भर्भराउँदा कवि भूपिनले ‘सुप्लाको हवाइजहाज’ कविता सङ्ग्रहको ‘लज्जा’ कवितामा सपाट वर्णन नभए पनि ‘मरेन्द्र नोदी’, ‘साजनाथ रिंह’, ‘ए भरते’ इण्डियागेट जस्ता पदहरू राखी छिमेकी देशलाई प्रत्यक्ष सम्बोधन गरेको सन्दर्भले यस्ता रचनाहरू थप सिर्जना हुन गएमा भूपिनको काव्यात्मक उचाइमा चुनौती थपिने देखिन्छ । सारै मिहीन कविता लेख्ने कवि भनेर भीष्म उप्रेतीका कवितालाई पनि आरोप लागेको कुरा उप्रेती स्वयंले ‘तिनाउ नदी...’ कविता सङ्ग्रहको भूमिकामा लेखेकै छन् र त्यसलाई उनले आफ्नो निजात्मकता र काव्यात्मक पहिचानका रूपमा उल्लेख गरेका छन् । साथै उनको त्यो सरलता यसै लेखको ९.६ मा भनिए भैंm सरल भएर पनि सशक्त नै देखिन्छ । अतः काव्यात्मक सिढी चढ्दै गरेको कविका लागि त्यो उचाइ यथागत् राख्ने चुनौती एकातिर छ भने काव्यात्मक उचाइमा पुग्न होमिएका कविहरूका लागि त्यो उचाइ छुने चुनौती पनि त्यत्तिकै छ ।
९. सुझाव
(१) समकालीन कविताको स्तरीयताका बारेमा उठेका बहस र चर्चा परिचर्चामा भए जस्तो समकालीन कविता कमजोर छैन तर उक्त बहस र चर्चा हुनुलाई समकालीन कविले आफ्नो स्वस्थ आलोचनाका रूपमा लिई कलमको औजार अर्जाप्नु वाञ्छनीय छ ।
(२) नेपाली कविता काठमाडौँ र सहरकेन्द्री होइन हिमाल, पहाड र तराईका गाउँ, बस्ती, चुलो, चौको, धारो तथा त्यहाँका मानिसका विवशता, बाध्यता, अभाव, समस्या, रोग, भोकको कलात्मक चित्रणमा बढी लाग्नु आवश्यक छ ।
(३) कतिपय समकालीन कविले आफ्नो युगका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भाषामा लेखिएका उत्कृष्ट साहित्य तथा कविताको थप पठन र मर्मबोधका साथै अतीत र पूर्व परम्पराका उत्कृष्ट साहित्य र कविताको पनि मर्मबोध गर्नु आवश्यक छ ।
(४) पूर्व परम्परालाई हेर्ने हो भने धेरै कविहरूका भीडबाट केही कविहरू (सबै कविता होइन) र तिनका केही कविताहरू मात्र चिरस्थायी र दीर्घजीवी रहने हुदाँ वर्तमान कविहरूका भीडबाट पनि केही कविहरूले मात्र निजात्मकता, स्तरीयता र मौलिकता स्थापित गर्न सक्ने र ती केही कविहरूका सबै कविताको भीडबाट केही कविताले मात्र परम्पराभन्दा पृथक् पहिचान र विशिष्टता प्रदर्शन गर्ने हुँदा समकालीन कविहरूमा आफ्नै कविताहरूलाई समेत प्रतिस्पर्धी ठानी ती भन्दा विशिष्ट र उत्कृष्ट कविता रच्ने हुटहुटी जाग्नु वाञ्छनीय छ ।
(६) विम्बैविम्बको भारी बोकाएर कवितालाई दुरुह बनाउने र सरलताका नाममा कवितालाई कलात्मक सौन्दर्यबाट स्खलित तुल्याउने दुवै पक्षतर्पm कविहरू सचेत हुनु जरुरी छ तर यदि विम्बै विम्बको प्रयोग भित्रबाट पनि जीवन– जगत्मा जटिल यथार्थको अभिव्यक्ति हुने, पाठकमा रुचि र आकर्षण पैदा हुने, कथनमा सघनता र तीव्रता पैदा हुने वा सौन्दर्य सिर्जना हुने हो भने विम्बैविम्ब भएका कविता पनि उत्कृष्ट बन्न सक्छन् भने अत्यधिक सरलता भित्रबाट स्वाभाविक प्राकृतिक एवं सहज सौन्दर्य उद्भासित हुने गरी कथ्यलाई प्रस्तुत गरिएको छ भने न्यून विम्बयुक्त कविता पनि राम्रा नमुना बन्न सक्छन् ।
१०. निष्कर्ष
समकालीन कवितामा उठेका बहस र कविताको वास्तविक स्थितिको विषयलाई निष्र्कषका रूपमा यहाँ प्रस्तुत गरिएको छ ः
(१) भाषिक नियम भञ्जन गर्नु, जटिल संरचनामा कविता रच्नु कविताको शक्ति र नवप्रयोगका दृष्टिले धनात्मक र पाठकीय लोकप्रियताका दृष्टिले ऋणात्मक हुनसक्ने, त्यस्तै भाषिक काव्यिक नियमको भञ्जन गरेर सरल कविता लेख्नु लोकप्रियताको दृष्टिले धनात्मक भए तापनि शक्तिका दृष्टिले ऋणात्मक हुनसक्ने ।
(२) उपमानको पुनर्नवीकरण र नवीन उपमानको प्रयोग चाँहि कविताको शक्ति, मौलिकता र पाठकीय लोकप्रियताका दृष्टिले धनात्मक देखिनु ।
(३) मिथकीय ऐतिहासिक र सास्ँकृतिक विम्बको युगानुकूलन वा सामाजिकीकरण कविताको शक्ति वा लोकप्रियताका दृष्टिले धनात्मक र शक्तिशाली देखिनु ।
(४) रुढ कोशीय र सामान्य अर्थयुक्त शब्दमा नयाँ (कविको कथ्य, सन्देश वा अभिव्यक्तिलाई सघन तुल्याउने) खालका अर्थहरूको आरोपण, सङ्क्रमण र ध्वनन गर्ने प्रवृत्ति परम्परागत प्रवृत्ति भए पनि त्यसको रुढिमुक्त प्रयोग हुनु समकालीन विकृति, विचारशून्यता, विसङ्गति, अव्यवस्था, अराजकता, अपबित्र गठबन्धन, क्रान्ति विरोधी चरित्र जस्ता अर्थमा प्रयोग हुनु तथा उपमानहरूको प्रयोगबाट यथार्थको जीवन्त, चित्रमय, दारुण अवस्थाको स्वाभाविक एवं चित्रात्मक प्रस्तुत गर्ने प्रवृत्तिलाई समकालीन कविताको विशिष्ट प्राप्ति मान्न सकिने ।
(५) कथ्यको विविधता पूर्ववर्ती कविताका तुलनामा अत्यधिक पाइनुलाई समकालीन कविताको प्राप्ति मान्न सकिने ।
(६) शास्त्रीय काव्य शिल्पलाई अँगाल्दै छन्दमा कविता रचना गर्नु र ती कविता सुमधुर लयमा वाचन हुनुले पाठक÷स्रोताहरूको रुचि छन्द कवितामा बढ्दो हुनु र यसले छन्द कवितामा पुनर्जागरण आउनु तथा यसै कारण समकालीन कविताको लोकप्रियताको झल्को पाइनुलाई समकालीन कविताको प्राप्ति मान्न सकिने ।
अन्त्यमा भन्नु पर्दा लेखनाथका कवितामा ची ची गर्दै विलाप गर्ने चरी र घरको दलिनमा बसी चिरविराउँदै नीति चेतनाको पाठ पढाउने महान् गौँथली आजका कवितामा भेटिन्नन् । आज त रङ्गभेद विरुद्ध र पहिचानका पक्षमा डुक्रने केशव सिलवालको चिबेचरो छ । भर्खरै जुँगारेखी पलाएको तरुणवयको गीत गाउँदै मुस्कुराउने घिमिरेको नवयुवक आजको कवितामा कमै देखापर्छ । आज त निचोरिएको कागतीजस्तो अनुहार लिएर सिटी सेन्टरमा डमी युवतीका अनुहार हेरेर घुटुक्क थुक निल्ने के.सी. को ग्रामीण युवक छ अनि घरी आफ्नो नाङ्गो जिउ र घरी झन्डा हेरेर ट्वाल्ल पर्ने दिनेश अधिकारीको हर्कबहादुर छ । देवकोटाकी कुञ्जिनी, मुना, कृषिवाला र लूनीको महानता उस्तै छ तर आजका कवितामा चाहिँ सरस्वती प्रतीक्षाकी ‘होमकुमारी’, निभा शाहकी ‘मनसरा’, स्व. स्वप्निल स्मृतिकी ‘सीतादेवी नेपाली’, रेशम विरही घिमिरेकी ‘मङ्गली गुप्ता’, रमेश सायनकी ‘धनीमाया थारू–वर्ष चौरासी’ ले आफ्नो परिवेशमा भोगेका दुःख, पीडा, सङ्घर्ष, वेदना र संवेदनागत अनुभूतिहरूको सर्वोच्चता पस्किरहेकै छन् । अहिलेका कवितामा श्रवण मुकारुङ हाम्रा आदिकवि भानुभक्तलाई रिणमा डुबाएर मलेसिया उडाउँदैछन । मायादेवीलाई वृद्धाश्रममा थन्क्याउन लगाएर रमेश सायन बुद्धसँग भट्टीमा बसेर रक्सी पिउँछन् र बुद्धलाई आफ्नै उपदेशको विखण्डन गर्न लगाउँछन् । यसरी आजका कविताका विषय र शिल्पको नव प्रयोगले नयाँ उचाइ चुमेको छ, कथनभङ्गिमा वा अभिव्यक्ति कौशलले नयाँ शिखर छोएको छ । आजका कवितामा देखिने यो ताकत चानचुने छैन र चानचुन छ भन्नु पनि विचारणीय छ, हो आज कविहरूको भिडमा सबै कविताहरूमा यो शक्ति छ भन्न अत्युक्ति होला तर जुन जुन कविहरूमा यस्तो शक्ति छ यस सत्यलाई नस्विकार्नु पनि आग्रह र दृष्टिदोष हुन सक्छ ।
सन्दर्भ सूची
अब्राम्स, एम.एच. (इ. १९९३), अ ग्लोसरी अफ लिटरेरी टर्मस, बेङ्लोर ः प्रिज्म बुक्स प्रा.लि. ।
उपाध्याय, जगत र अन्य (२०७३), प्रज्ञा समकालीन प्रतिनिधि छन्द कविता, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
एटम, नेत्र (२०७१), समालोचनाको स्वरूप, काठमाडौँ ः साझा प्रकाशन ।
गड्तौला, नारायण (२०७३), “समकालीन नेपाली कवितामा शिल्प”, कविता, (पूर्णाङ्क ....., पुस चैत), काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
गिरी, अमर र अन्य (सम्पा.) (२०७२), प्रज्ञा समकालीन कविता विमर्श, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
––––––––––––––, (२०७२), समकालीन कविताको वैचारिक परिप्रेक्ष्य, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
–––––––––––––, (२०७३), कविता, (पूर्णाङ्क १७६ पुस–चैत), काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
–––––––––––––, (२०७३), समकालीन कविताको वैचारिक परिप्रेक्ष्य, काठमाडौँ ः साझा प्रकाशन ।
गौतम, लक्ष्मण (२०६६), समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौँ ः पैरवी प्रकाशन ।
घिमिरे, गुरुराज (२०७२), ‘स्पष्टीकरण’, प्रतिज्ञाको पहाड, कविता सङ्ग्रह, ललितपुर ः साझा प्रकाशन ।
घिमिरे, चन्द्र (२०७२), ‘मेनिफेस्टो’, काठको बाकस, काठमाडौँ ः साङ्ग्रिला बुक्स ।
देवकोटा, कृष्णज्वाला (२०६९), ‘यो सिफारिस होइन’, भोकको क्षेत्रफल, काठमाडौँ ः साङ्ग्रिला बुक्स ।
तिवारी, सरिता (२०७२), प्रश्नहरूको कारखाना, कविता सङ्ग्रह, काठमाडौँ ः साङ्ग्रिला बुक्स ।
नारंग, गोपीचन्द्र (सन् २००४), संरचनावाद, उत्तर संरचनावाद एवं प्राच्य काव्य शास्त्र, नइदिल्ली ः साहित्य एकेडमी ।
पाण्डेय, ताराकान्त (२०६५), समकालीन कविताको संरचना, काठमाडौँ ः सन्दीप गिरी ।
–––––––––––––––, (२०७४), ‘समकालीन कवितामा प्रतिरोध सौन्दर्य’, इच्छुक, वर्ष ३, पूर्णाङ्क ४, काठमाडौँ ः इच्छुक सांस्कृतिक प्रतिष्ठान, पृ. २७–४५ ।
बर्मा, धीरेन्द्र र अन्य, हिन्दी साहित्य कोश, (सम्पा.), वारारणसी ः रेनबो प्रिंटर्स ।
बोउल्टन, मारजोरी, द एनाटोमी अफ पोइट्री, दिल्ली ः कल्याणी पब्लिसर ।
भरत, (इ. २००२), नाट्यशास्त्र, दिल्ली ः राष्ट्रिय संस्कृत संस्थान ।
भूपिन (२०७२), ‘लज्जा’, सुप्लाको हवाइजहाज, काठमाडौँ ः बुकहिल पब्लिकेसन ।
मन्जिल, मनु (२०६८), ‘आँधीका माझ...’, ल्याम्प पोष्टबाट हराएको जून, कविता सङ्ग्रह, काठमाडौँ ः फाइन प्रिन्ट ।
मुकारुङ, श्रवण (२०७३), ‘भूमिका’, प्रतिज्ञाको पहाड, कविता सङ्ग्रह, ललितपुर ः साझा प्रकाशन ।
रविन्स, भर्नन् के. (इ. १९९६), एक्सप्लोरिङ् द टेक्स्चर अफ टेक्स्टस् ः अ गाइड टु सोसिओ हिस्टोरिकल इन्टरप्रिटेसन, हरिस्बर्ग ट्रिनिटी प्रेस इन्टरनेस्नल ।
राई, भूपाल (सन् २०१५), आगोले जन्मोत्सव मनाउ“दैन, काठमाडौँ ः चिन्डो बुक्स, पृ. भूमिका ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
–––––––––––––, (२०६६), आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना, काठमाडौँ ः क्वेस्ट पब्लिकेसन ।
श्यामल (२०६०), ‘आत्मकथ्य’, लयब्र≈म, काठमाडौँ ः कालचक्र नेपाल ।
श्रीवास्तव, परमानन्द (सन् १९८८), समकालीन कविताका यथार्थ, चण्डीगढ ः हरिमाया साहित्य अकादमी ।
सुवेदी, अभि (२०६३), ‘डङ्गोलको समयइन्द्रेनी’, दशजगावारि, काठमाडौँ ः परिवेश प्रकाशन प्रा.लि. ।
––––––––––––, (२०७२), प्रज्ञा समकालीन कविता विमर्श, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान, पृ. ७० ।
सुवेदी, राजेन्द्र (सम्पा.) (२०७१), जुगल सैद्धान्तिक नेपाली समालोचना, काठमाडौँ ः जुगल पब्लिकेसन प्रा.लि. ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु