साहित्यकार कृष्ण बजगाईंसँग विद्युतीय कुराकानी

- धीरकुमार श्रेष्ठ

वि.सं. २०२४ असार ९ गते धरानमा जन्मनु भएका कृष्ण बजगाईं डायोस्पोराका चर्चित तथा सक्रिय साहित्यकार हुनुहुन्छ । सपरिवार बेलायतमा बसोवास गर्नु हुने बजगाईंले बेल्जियम र बेलायतमा गरि करिव २० वर्ष बिताउनु भएको छ । वि.सं. २०३६ सालमा स्कूलको कार्यक्रममा बाल कविता लेखेर साहित्य तर्फ आकर्षित हुनु भएका बजगाईंका रचना वि.सं. २०४१ देखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । लेखन, सम्पादन, प्रकाशन र संगठनमा उत्तिकै सक्रिय बजगाईंका दाइबुचु(नियात्रासङ्ग्रह २०१९),कुमारी रात (हाइकुसङ्ग्रह २०१८), भाया साक्रा(नियात्रासङ्ग्रह २०१८), युरेसियाको स्पर्श(नियात्रासङ्ग्रह २०१७), कवच (लघुकथासङ्ग्रह २०१६), कमरेड भाउजू(कथासङ्ग्रह २०१५), रोडम्याप(लघुकथासङ्ग्रह २०१०), स्रष्टा र डिजिटल वार्ता(साहित्यिक अन्तर्वार्तासङ्ग्रह २०१०), हिउँको तन्ना (हाइकुसङ्ग्रह २००९) यन्त्रवत्(लघुकथासङ्ग्रह २००७) प्रकाशित भएका छन् । उहाँले विगत १३ वर्षदेखि नेपाली साहित्यको वेब पत्रिका समकालीन साहत्यि डट कम(www.samakalinsahitya.com_ को प्रकाशन तथा सम्पादन गर्दै आउनु भएको छ । उहाँ प्रधान सम्पादक भएको नेपाली साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ बेलायतबाटै प्रकाशित भइरहेको छ ।
साहित्यकार बजगाईंले नारायण जयन्ता लिटरेरी वेब जर्नालिज्म एवार्ड, अमेरिका (२००९), देवकोटा शताब्दी सम्मान, नेपाल (२००९), डायास्पोरा नृपध्वज पुरस्कार, अमेरिका (२०११), भानुभक्त द्विशताब्दी स्वर्ण पदक, नेपाल (२०१४), सुप्रमा साहित्य पुरस्कार, बेलायत (२०१६), सत्यमोहन जोशी शताब्दी पदक, नेपाल (२०१६), वैजयन्ती स्रष्टा सम्मान, नेपाल (२०१६) आदि पुरस्कार तथा सम्मान पाउनु भएको छ ।
समकालीन साहित्य प्रष्तिष्ठान बेलायतका संस्थापक अध्यक्ष बजगाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति, वासिङ्टन डी.सी, अमेरिकाको वरिष्ठ उपाध्यक्ष (२०१०–१२) र केन्द्रिय महासचिव (२००८–१०), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमको संस्थापक अध्यक्ष (२००७–११) हुनुहुन्थ्यो । साहित्यकार बजगाईंसँग शब्दाङ्कुर साहित्यिक मासिकका प्रधान सम्पादक धीर कुमार श्रेष्ठले गर्नु भएको कुराकानी ।
प्रश्न – साहित्यिक लेखनमा लाग्नुका प्रसङ्गहरु बताइदिनुहुन्छ कि ?
उत्तर – पहिलोपटक स्वतस्पूर्mतरुपमा २०३६ सालमा कविता लेखेर स्कूलमा वाचन गरेको थिएँ । शिक्षकबाट पाएको राम्रो हौसलाले ठूलो प्रेरणा मिल्यो । रहरको लेखन चल्दै थियो । वि. सं. २०४१ सालमा पत्रिकामा कविता प्रकाशित भएपछि अलिक जिम्मेबार भएर लेखनमा सक्रिय भएँ । त्यसवेलादेखि अविछिन्नरुपमा साहित्य लेखन जारी छ ।

प्रश्न – प्रेरणा केवल सकारात्मक मात्र हुन्छ कि अरू पनि प्रकारका ?
उत्तर – प्रेरणा सकारात्मक र नकारात्मक दुबै हुनसक्छ । हामीले सकारात्मक प्रेरणा मात्र ग्रहण गर्नु पर्दछ । अझ साहित्यकारहरुले सकारात्मक दिशातर्फ प्रेरित गर्ने कुराहरु मात्र लेख्नुपर्दछ ।

प्रश्न – साहित्यिकार हुँदाका सन्तुष्टिलाई शब्दमा कुन रूपमा व्यक्त गर्नुहुन्छ ?
उत्तर – साहित्यकार भएरै म देशविदेशमा चिनिएको छु । विभिन्न देशको यात्रा गर्ने अवसर मिलेको छ । संसारभर छरिएका पाठकहरुबाट धेरै माया पाएको छु । मेरा दुई नियात्रा दुईवटा विश्वविद्यालयमा पढाई हुन्छ । यो भन्दा बढी खुशी अरु के हुन सक्छ र ? साहित्यकार हुँदाको सन्तुष्टी असीम छ ।

प्रश्न – साहित्यकार नहुनुभएको भए तपाईं के हुनुहुन्थ्यो होला ? यस्तो परिकल्पना कहिल्यै गर्नुभएको छ ? गर्नुभएको भए कस्तो त्यसको उल्लेख गरिदिनुहुन्छ कि ?
उत्तर – यसको उत्तर हाइपोथेटिकल हुने भयो । तर पनि तपाईले सोधेपछि भन्नै पर्दा यदि म साहित्यकार नभएको भए एउटा विशुद्ध सरकारी जागिरे मात्र हुन्थे होला । अथवा यात्रामा रुची राख्ने व्यक्ति भएकोले सायद पर्यटन व्यवासायी वा पर्यटनविद् पो हुन्थेँ कि ?

प्रश्न – आफ्ना रचनाहरुको प्रेरणास्रोत र पर्यावरणका बारेमा बताइदिनुहुन्छ कि ?
उत्तर – मेरो रचनाको प्रेरणाको स्रोत भनेको समाज वरपरका घटना, समाचार, दृश्य आदि हुन् । तिनले मलाई स्पर्श गरेपछि भित्रभित्रै विकसित हुन्छ र निकास खोज्न थाल्दछ । तिनलाई अक्षर मार्फत रित्ताउन थाल्छु । ती अक्षरका संयुक्त स्वरहरु विभिन्न विधाका साहित्यिक रचना बनेर पाठक माझ पुग्दछन् । पाठकले मन पराउँछन् । त्यसले थप पे्ररणा मिल्छ । थोरबहुत प्रेरणा दिने काम साहित्यप्रतिको अध्ययनले पनि दिन्छ ।

प्रश्न – तपाईं आफ्ना सिर्जनाहरूमध्ये तुलनात्मक रूपमा सबभन्दा बढी सन्तुष्ट कुन रचनासँग हुनुहुन्छ र किन ?
उत्तर – म नियात्रा, कथा, लघुकथा, कविता र हाइकुमा कलम चलाउँछु । कवितामा बाहेक बाँकी विधामा मेरा कृतिहरु प्रकाशित भएका छन् । आमाबाबुलाई आफ्ना सन्तानको बराबरी माया लागे झैं मलाई पनि सबै रचनाहरु प्रिय छन् । तर पनि नियात्राले मलाई खुब सन्तोष दिलाएको छ । ‘युरेशियाको स्पर्श (सन् २०१७) ‘भाया साक्रा’(सन् २०१८) र ‘दाइबुचु’(सन् २०१९) नियात्रासङ्ग्रहबाट बढि चिनिएको छु । पाठकबाट धेरै माया पाएको छु । वास्तवमा मेरा नियात्रा लेखन अलिक भिन्न छ । गहन अनुसन्धान गरेर नियात्रा लेख्छु । उसो त लघुकथामा पनि मेरो राम्रो मूल्याङ्कन हुने गरेको छ ।


प्रश्न – सर्जकको सिर्जनाको मूल्याङ्कन समालोचक र पाठकले गर्ने हो तैपनि तपाईं आफैले आफ्ना सिर्जनाको स्वमूल्याङ्कन कुन रूपमा गर्नुहुन्छ ?
उत्तर – समालोचकले सर्जकको मूल्याङ्कन राम्ररी गर्दछन् जस्तो लाग्दैन । अधिकांश समालोचक पूर्वाग्रही छन् । पाठकले चाहीँ सही मूल्याङ्कन गर्दछन् । आफैले आफ्ना सिर्जनाको मूल्याङ्कन गर्नु पर्दा म आफूलाई उपल्लोस्तरको लेखक ठान्दिन । र म कमजोर लेखक हुँदै होइन । बजारमा बिक्ने लेखक चाहीँ अवश्य हुँ ।

प्रश्न – सर्जकको समग्र सिर्जनाको मूल्याङ्कन गणितीय अङ्कमा हुन सक्छ कि सक्दैन होला ? सकिन्छ भने कुन कुन आधारमा कति कति पूर्णाङ्क दिन सकिन्छ होला ?
उत्तर – सिर्जनालाई गणितको अंकले मूल्याङ्कन गर्ने सुत्र आजका मितिसम्म पत्ता लागे जस्तो लाग्दैन ।

प्रश्न – तपाईंले निर्धारण गर्नुभएका आधारमा स्वमूल्याङ्कन गर्नुपर्दा आफैलाई १०० पूर्णाङ्कमा कति अङ्क निर्धारण गर्नुहुन्छ ?
उत्तर – स्रष्टालाई अङ्कमा मूल्याङ्कन गर्नु हुन्न भन्ने व्यक्ती हुँ । अझ स्वमूल्याङ्कन गर्नु उपयुक्त ठान्दिन ।

प्रश्न – समसामयिक साहित्यिक लेखन कस्तो हुनुपथ्र्यो होला ?
उत्तर – विज्ञान, प्रविधि, सूचना र संचारका कारण विश्व एउटा सानो गाउँ जस्तो भएको छ । हामी विश्वग्रामका लेखक हौं । त्यस कारण हामी संकुचित भएर हैन फराकिलो भएर सोंच्ने र लेख्ने गर्नु पर्दछ । कुनै राजनीतिक पार्टी, जात, धर्म, सम्प्रदाय भित्र रुमलिएर गालिगलौज र कुण्ठा होइन समग्र मानव जातिका हितका खातिर साहित्य लेखिनु पर्छ ।

प्रश्न – समसामयिक साहित्यिक लेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?
उत्तर – हामी अझै पुरातन सोँचमा अलमलिरहेका छौं । तर पनि अहिलेको लेखनले अलिकति भए पनि सही बाटो पक्रेको जस्तो लागेको छ । नविन चिन्तन बोकेका केही सर्जकहरुले नयाँ शैलिमा सिर्जना गरिरहेका छन् । विश्व परिवेश र समग्र मानवजातिलाई ध्यानमा राखेर सिर्जनारत स्रष्टाहरु पनि छन् । राम्रो आशा गर्ने ठाउँ देखेको छु ।

प्रश्न – नवलेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?
उत्तर – पहिलेको तुलनामा नवलेखनमा सन्तोष गर्ने ठाउँ छ । भविष्यमा त्यस्ता लेखकको वर्चश्व हुनेहुँदा नेपाली साहित्यले विश्व साहित्यमा दह्रीलो पाइला चाल्ने अवस्था देखेको छु ।

प्रश्न – इतिहासदेखि आजसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?
उत्तर – सर्वत्र प्रचलित भनाई छ–‘लेखक सँधै प्रतिपक्ष हुन्छन् ।’ वास्तवमा हुनु पनि पर्दछ । शासकलाई सिर्जना मार्फत खबरदारी गर्नु पर्दछ । आम जनताका सरोकारका विषयमा लेखनी मार्फत उठाइरहनु पर्दछ । तर विडम्बना गणतन्त्र नेपालमा हालै लेखक र पत्रकारहरुलाई सत्ता इतर विचार प्रवाह गरेकै कारणले पक्राउ गरेको दुःखदा समाचार सुन्नु पर्यो । कविले आफ्नो विचार प्रवाह गर्नै नपाउने कस्तो गणतन्त्र आएको छ नेपालमा ? इतिहासदेखि आजका मितिसम्मका घटना हेर्ने हो भने सर्जक र शासकका बिचमा द्धन्द्ध छ । कटु सम्बन्ध छ ।

प्रश्न – सर्जक र सामाजिक सदस्यका बिचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?
उत्तर – सर्जक समाजका जिम्मेबार नागरिक हुन् । समाजका यावत कुराहरुले सर्जकको लेखनमा प्रभाव पारेको हुन्छ । अर्कोतिर सर्जकले आफ्ना सिर्जना मार्फत समाजलाई पनि प्रभावित पार्ने कार्य गरिरहेका हुन्छन् । समाजदेखि भागेर लेखक न बाँच्न सक्छ न त लेख्न सक्छ । यसरी हेर्दा सर्जक र सामाजिक सदस्यबीचको सम्बन्ध नङ र मासुको जस्तै छ ।

प्रश्न – तपाईंलाई उत्कृष्ट लागेका स्वदेशी सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?
उत्तर – मलाई देवकोटा, भूपि, रिमाल, पारिजात मेरा मन पर्ने सर्जक हुन् । तिनका सिर्जना नविनता र गुणवत्ताका हिसाब उत्कृष्ट हुन् । तत्कालिन समयमा तिनका लेखनमा अग्रगामी र परिवर्तनकारी सोच थियो । जो अहिले पनि सान्दर्भिक लाग्दछन् ।

प्रश्न – तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?
उत्तर – मलाई उत्कृष्ट लागेका विश्वस्तरिय लेखक धेरै छन् । यो सानो अन्तर्वार्तामा सबैको नाम र सिर्जनाको बारेमा ब्याख्या गर्न सकिदैन । तर पनि एन्टोन चेखब, गोर्की, जर्ज बर्नाड श र पछिल्लो समयमा युभल नोहा हरारी पनि मन परेका लेखक हुन । चेखबको कुरा गर्दा उनी समाज परिवर्तनका लागि जिवन्त कथा र नाटक लेख्दथे । साधारण मानिसको कथालााई सरलतासाथ वर्णन गर्दथे । सामाजिक परिवर्तनको आवश्यकताको झलक दिलाउने उनको ‘तीन बहिनी’ नाटक मलाई मन परेको छ । त्यस्तै अहिलेका बेस्ट सेलर युभल नोहा हरारीको ‘सेपियन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकान्ड’ पनि मन परेको पुस्तक हो । ७० हजार वर्ष अघिको मानव इतिहासको बारेमा लेखिएको यस कृतिमा अरु जीव भन्दा अलग गुण भएका मानव जातिको सहकार्य शक्तीका बारेमा वर्णन गरिएको छ ।

प्रश्न – तपाईंलाई उत्कृष्ट लागेका डायस्पोरिक सर्जक र सिर्जनाका बारेमा कारणसहित जान्न सकिन्छ ?
उत्तर – सबै डायोस्पोरिक सर्जकको रचना पढ्ने अवसर नपाएकोले त्यसको बारेमा भन्न असमर्थ छु ।

प्रश्न – नेपाली डायस्पोरिक साहित्य कुन दिशातर्फ उन्मुख देख्नुहुन्छ ?
उत्तर– डायोस्पोरिक साहित्यकार को हुन् भन्ने प्रष्ट छैन । यहाँ निर केही समालोचकहरु पूर्वाग्रही भएका छन्, लेखकहरु डायोस्पोरिक साहित्यकारका रुपमा आफूलाई चिनाउन लालची भएका छन् र पाठकहरु अलमलिएका छन् । बाहिर बस्ने सबैले लेखेको साहित्य डायोस्पोरिक हुँदैन । त्यसको आफ्नै सिमा र परिभाषा छ । डायोस्पोराका सबै साहित्यकारका रचना गुणस्तरिय छन् भनेर म मान्दिन । तर पनि पहिलेको तुलनामा डायोस्पोराबाट राम्राराम्रा साहित्यिक कृतिहरु बजारमा आएको देख्दा डायोस्पोरिक साहित्यले मूलधारको साहित्यमा बलियो उपस्थिति जनाएको छ ।

प्रश्न – तपाईंलाई लाग्छ, अहिलेकै लेखन गतिले नेपाली साहित्यमा विश्वस्तरीय साहित्य सिर्जना हुन सक्छ ?
उत्तर – बिल्कुल सक्दैन । हाम्रो सोँच, चिन्तन र ज्ञानको भण्डार साँघुरो छ । नयाँ कुरामा चिन्तन गर्ने भन्दा पनि परम्परालाई नै निरन्तरता दिदैं लेखिने गरेको छ । हामीमा अध्ययन अनुसान्धन गर्ने बानी कम छ । विश्व साहित्य कहाँ छ भनेर थाहा पाउन विश्व साहित्यको अध्ययन गर्नु पर्दछ । ती सबै काम कछुवाको चालमा भैरहेकोले तत्कालै विश्वस्तरिय साहित्य सिर्जना हुनसक्छ जस्तो लाग्दैन । तर आशा गर्ने ठाउँ भने छ ।

प्रश्न – नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्छ होला ?
उत्तर – नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्नलाई सबै भन्दा पहिले अनुवाद त्यसमा पनि स्तरिय अनुवाद कार्यको गर्नु पर्दछ । अहिलेलाई नेपाली साहित्य अंग्रेजीमा अनुवाद गर्न सकियो भने त्यसलाई विश्वका अन्य भाषामा लैजान सजिलो हुन्छ । तर अंग्रेजीमा अनुवाद गरिएका केही कृतिहरु हेर्दा नेपाली साहित्यको हुर्मत नै लिएको देख्छु । अनुवादक, लेखक र प्रकाशकलाई मेरो अनुरोध छ, राम्रो अनुवाद गर्न सकिदैन र अनुदित पुस्तक विश्व बजारमा पुर्याउन सकिदैन भने पैसा र कागजको नाश नगर्नु भए हुन्छ । अनुवादित कृतिहरुको बितरण र बजारिकरण गर्ने काम पनि ब्यापकरुपमा गर्नु पर्छ । कम्तिमा यति कार्य मात्र गर्न सके नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुन सक्छ ।

प्रश्न – तपाईंका लेखन र प्रकाशनसम्बन्धी भविष्यका योजनाहरूका बारेमा केही बताउन मिल्छ कि ?
उत्तर – भर्खरै ११ औं कृतिका रुपमा मेरो तेस्रो नियात्रासङ्ग्रह ‘दाइबुचु’ बजारमा आएको छ । नयाँनयाँ ठाउ र जानकारी खोज्ने मेरो रुची भएकोले त्यसका लागि यात्रा गरिरहन्छु । पहिले केही ठाउँमा गरिएको यात्रा र भविष्य हुने यात्राले केही समयपछि अर्को नियात्रा कृति अवश्य जन्माउने छ । उसो त मेरो चौथो लघुकथासङ्ग्रह पनि तयार छ । त्यसलाई यही वर्ष भित्र प्रकाशन गर्ने योजना पनि छ ।

प्रश्न – ‘दाइबुचु’ भनेको के हो? कस्तो अनौठो नामको कृति ?
उत्तर – सुन्दा नेपाली जस्तो लाग्ने ‘दाइबुचु’ जापानी शब्द हो । यसको नेपालीमा अर्थ हुन्छ ‘ठूलो बुद्ध मूर्ति ।’

प्रश्न – ‘दाइबुचु’ नियात्रासंग्रहमा कस्ता विषयहरु लिनु भएको छ ?
उत्तर –जापानका ऐतिहासिक, धार्मिक, पुरातात्विक र साहित्यिक महत्वका स्थलको भ्रमण गरेपछि तयार पारेको नियात्रासङ्ग्रह दाइबुचु हो । यसमा जापानको कला, साहित्य, संस्कृति, इतिहास, दर्शन आदिका रोचक र खोजमूलक जानकारीहरु समावेश छन् । पाठकहरुले नियात्रा पढ्दै जाँदा कहिले नसुनेका र नपढेका नविनतम् रोचक जानकारी पाएर रोमाञ्चित हुनेछन् । लामो इतिहास बोकेको जापानमा शिन्तो र बुद्ध धर्मले पारेको प्रभावलाई नियात्रा मार्फत उतार्ने प्रयास गरेको छु । जापानी साहित्यको हाइकु, हाइगा र हाइबुन बिधालाई नियात्रा मार्फत ल्याएको छु ।

प्रश्न – नेपाली साहित्यमा चलिरहेको सम्मान र पुरस्कारलाई यहाँले कुन रूपमा लिनुभएको छ ?
उत्तर – नेपाली साहित्यका नाममा दिइने सम्मान र पुरस्कारमा लेनदेन, चलखेल र आदानप्रदान हुने कुरा सबैलाई थाहा छ । पुरस्कार र सम्मान पाउन स्रष्टा नै मरिहत्ते गर्दछन् । यसरी हेर्दा पुरस्कार र सम्मानदाता मालिक बन्छन् र ग्रहण गर्ने स्रष्टा दास जस्तो देखिन्छन् । त्यस्ता सम्मान र पुरस्कारले साहित्यवृत्तमा कुनै अर्थ राख्दैन ।

प्रश्न – तपाईंलाई नेपाली साहित्यिक पत्रकारिता कस्तो भइदिए हुन्थ्यो भन्ने लागिरहेको छ ?
उत्तर – सबै भन्दा महत्वपूर्ण काम भनेको साहित्यिक पत्रिकाको निरन्तरता हुनुपर्दछ । पत्रिकामा स्तरिय र गहन रचना छापिनु पर्दछ । विश्व साहित्यका उत्कृष्ट रचनाहरु अनुवाद गरेर प्रकाशन गर्नु पर्दछ । अहिले बजारमा देखिएको साहित्यिक पत्रिका एकै खालका छन् । अहिलेको माग र आवश्यकता भनेको विधा केन्दित साहित्यिक पत्रिका हो । यस्तो कार्यको थालनी भए हुन्थ्यो भन्ने लागिरहेको छ । नेपाली साहित्यिक पत्रकारिताले गर्नु पर्ने काम धेरै छ । सिमित स्रोत र साधनका वाबजुद पनि नेपाली साहित्यका लागि उल्लेखनिय काम भएको पाइन्छ ।

प्रश्न – नेपाली पत्रकारिताको जनकका रूपमा रहेको साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाका बारेमा यहाँलाई थाहा भएसम्मका कुराहरू बताइदिनुहुन्छ कि ?
उत्तर – लामो समयदेखि विदेशमा बसेकोले पत्रिकाको सबै अवस्था थाहा पाएको छैन । तर पनि मैले बुझे अनुसार नेपाली साहित्यिक पत्रकारिता व्यक्तिको रहर र साहित्य प्रतिको असिम लगावका कारण चलेको छ जस्तो लाग्दछ । समय, परिश्रम र पैसा लगानी गरेर पत्रिका प्रकाशन गर्ने महान कार्य सम्पन भइरहेको देखेको छु । पत्रिकाबाट मनग्गे आम्दानी नहुँदा चाहेर पनि पत्रिकाले स्रष्टालाई पारिश्रमिक दिन सकेको छैन । नेपाली साहित्यको पाठक बृद्धि भए पनि सबै ठाउँमा पत्रिका पुर्याउन सकिएको छैन । नेपाली साहित्यिक पत्रिका आफू दुःखी भएर अरुलाई खुशी बाडिरहेको देखेको छु ।
(शब्दाङ्कुर मासिकबाट साभार)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु