गहन चिन्तनको उपज अंग्रेजीको ललिपप

- नवीन पौड्याल

१. निबन्धको परिचय –
साहित्यमा निबन्ध एउटा लोकप्रिय विधा हो। यो विधा विभिन्न रूपमा देखा पर्दछ। निबन्ध विधा एउटा ठुलो रूख हो भने प्रबन्ध, नियात्रा, संस्मरण, जीवनी, आत्मजीवनी आदि यसका हाँगाबिँगा हुन्। यात्रामा देखिएका कुरादेखि लिएर पहिले संस्मरण, कुनै वस्तुको विवरण आदि जम्मै निबन्ध हुन्। पहिले पहिले निबन्ध र प्रबन्धलाई समग्र रूपमा एउटा मानिथ्यो भने अहिले यी दुई शब्दहरूको अलगअलग अर्थ, ढाँचा र स्वरूप मानिन्छ। निबन्धका विभिन्न प्रकार, भेदोपभेद बारेमा विभिन्न विद्वानका परिभाषा मत-मतान्तर पाइन्छन। लेखकहरूका निम्ति आफ्नो ज्ञान, अनुभव, विचार, अनुभूति, संवेदनालाई पाठकसित सोझै बाँड्ने, अभिव्यक्त गर्ने कला हो। यो कुनै पनि विषयमा लेखिन्छ। यसका विषय अनन्त छन्। जीवाणुदेखि लिएर ब्रह्माण्डसम्म नै यसका विषयवस्तु हुनसक्छन्। सामान्य भौतिक वस्तुको वर्णनदेखि लिएर कल्पना गरेकोसम्म सबै खाले मूर्त अमूर्त सबै कुरा यसभित्र अँटाउन सकिन्छ। निबन्धमा सुनियोजित तरिकाले एउट मुख्य विषयको विस्तार र विश्लेषण गर्न सकिन्छ अथवा मिश्रित कुरा जे पनि हाल्न सकिन्छ।
निबन्धमा लेखक र पाठकको सोझो सम्बन्ध हुन्छ। निबन्धकारले आफुले प्रतिपादन गर्न चाहेको विषय र आशयलाई सोझै आफ्नै तरिकामा प्रकट गर्दछ। यो औपचारिकभन्दा अनौपचारिक बढी हुन्छ। निबन्धकारको मनमा एउटा अज्ञात स्रोता र पाठक हुन्छ र उसलाई गफ गरेको ढाँचाले सुनाउँछ। लेखक प्रस्ता भए अज्ञात स्रोता भावक हुन्छ। कुनै लेखकले छोटोमा र कुनैले विस्तारपूर्वक सनाउँछ। अज्ञात स्रोताले कुनै तर्क नगरी हो मा हो मिलाएको भान गर्छ। उसलाई तर्क दिएर, उदाहरण आदि दिएर विभिन्न तरिकाले बुझाउने प्रयत्न गर्छ। कुनै विषयलाई टुङ्गोमा पुर्‍याएको हुन्छ। लेखक पाठकसित लहसिन्छ, आत्मीय भएर विचार व्यक्त गर्छ।
वास्तवमा निबन्ध लेख्नु सजिलो छैन। संस्कृतमा एउटा भनाइ छ- गद्य कवीनाम् निकष बदन्ती अर्थात् कविको कविको वास्तविक प्रतिभा गद्यमा रहेको हुन्छ। निबन्ध लेखन भनेको बेकाबु घोडाको दौड होइन बरू लगामले बाँधेको घोडाको हिँडाइ हो। विषयलाई छरपस्ट हुन नदिई नियञ्त्रित राखेर आफ्नो भन्नुपर्ने कुरा लेख्नु पर्छ। पाठकलाई ज्ञान र मनोरञ्जन दुवैले लाभान्वित बनाउनु पर्छ। भावनासँगसँगै शब्द चयन, बुनोट र बनोट सबै मिलेको हुनुपर्छ भन्ने विद्वानहरूको भनाइ छ। आफ्ना विषय, विचार वा आशयलाई पाठकका निम्ति पत्यारिलो पार्न तर्क दिन्छ, विवरण दिन्छ। निबन्धभित्र आख्यान तत्व पनि समावेश गर्न सक्छ। त्यो आख्यान ल्पनिक पनि हुनसक्छ वा लेखकको आफ्नै पनि हुन सक्छ। निबन्ध छरपस्टिएको चिन्तन मात्र नभएर ज्ञान, अनुभव, संवेग आवेग आदिका सन्तुलित र व्यवस्थित लेखन पनि हो।
२. भारतमा नेपाली निबन्ध –
नेपाली साहित्यमा नेपाली लेखनको लामो इतिहास रहेको पाइन्छ। यसको इतिहास कविताभन्दा परसम्म पुग्न सकिन्छ। राजा गगनिराजको यात्रा, राम शाहको जीवनी, अजीर्ण मञ्जरी, बाजपरीक्षा हुँदै पृथ्वीनारायण शाहको दिव्योपदेशमा आएर विधाले आफ्नो स्पष्ट स्वरूप धारण गर्दछ। निबन्धका रूपमा कतै नियात्रा, कतै जीवनी, कतै संस्मरण कतै आत्मजीवनी, कतै औषधीमूलो उपचार पद्धति, कतै उपदेश, कतै स्थान वर्णन आदिका रूपमा निबन्ध लेखिएका पाइन्छन्। यद्यपि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध लेखनमा प्रवेश भएपछि मात्र यसले ठोस निबन्धात्मक स्वरूप धारण गर्दछ। उनको पहाडी जीवन, कल्पना, सरिताको कलकलमा, के नेपाल सानो छ? मान्छेलाई घडीबाट हानि आदि निबन्धहरू नेपाली साहित्यका उत्कृष्ट उदाहरण बनेका छन्। हृदयन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, शङ्कर लामिछाने, भैरव अर्याल, केशवराज पिँडाली, कमल दीक्षित, मदनमणि दीक्षित, नगेन्द्र शर्मा, माधवलाल कर्माचार्य, श्यामप्रसाद शर्मा, बासुदेव लुइँटेल, विष्णु नवीन, आदि हुँदै हालका राजेन्द्र सुवेदी, युवराज नयाँघरे, प्रकाश ए राज, इशान गौतम, गोविन्दराज भट्टराई, लोकराज बराल, विजय खरेल आदि हुन् यद्यपि हाँस्य-व्यङ्ग्य, नियात्रा, संस्मरण आदि लेखकहरूको अलग अध्ययन गर्नुपर्ने देखिन्छ।
यता भारतमा पनि नेपली निबन्ध लेखनको परम्परा शय वर्ष नाघिसकेको छ। भारतमा नेपाली निबन्ध लेखनको परम्परालाई कालविभाजन गर्दा मूलतः दुईवटा काल विभाजन गर्न सकिन्छ- प्रारम्भदेखि पचासको दशकसम्म अनि दोस्रो साठीको दशकदेखि हालसम्म। शेरसिंह राना, हैकमसिंह राई, खङ्गबहादुर छेत्री, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, अच्छा राई रसिकसम्म आइपुग्दा नेपाली निबन्धले आफ्नो विधागत स्वरूप निकै विकसित गरेका पाइन्छ। यसले आफ्नो विषयवस्तु निकै विस्तारित गरिसकेको पाइन्छ। जातीय चिन्तन, समाज सुधारको आवश्यकता, भ्रमण संस्मरण, नैतिक सन्देश आदि बढी मात्रामा लेखिएको पाइन्छ। साठीको दशकदेखि भने नेपाली निबन्ध निकै झ्यिँएको पाइन्छ। नेपाली पत्र-पत्रिकाको सङ्ख्या बढेर गए, नेपाली पाठ्य पुस्तक भढेर गए, लेखकहरूको सङख्या बढेर गयो, ज्ञान विज्ञानका ढोकाहरू खुलिँदै गए। यसो हुँदा लेखन विषय पनि पढेर गए। यस चरणमा निबन्धका विभिन्न उपविधाहरूको विकास भयो। रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दास, डा. जगत छेत्री, इन्द्र सुन्दास, टिकाप्रसाद राई, रामलाल अधिकारी, शरद छेत्री, गुप्त प्रधान, कृष्ण प्रधान, राजनारायण प्रधान, गुमानसिंह चामलिङ, केदार गुरूङ, सानु लामा, महानन्द पौड्याल, डा खेमराज नेपाल, ज्ञानबहादुर छेत्री, लोकनाथ उपाध्याय चापागाइँ, डा. हर्कबहादुर छेत्री, डा. मोतीवीर राई, डा. शान्ति छेत्री, किताबसिंह राई, मिङ लिवाङ, राजु प्रधान हिमाङ्शु, हीरा छेत्री, बदरीनारायण प्रधान, मोहन ठकुरी, शिवराज शर्मा, छविलाल उपाध्याय, चन्द्रकुमार शर्मा, सानुभाइ शर्मा, रूद्र पौड्याल, डा. डिकबहादुर देवान, जीवन लाबर, हरि गजुरेल, मुन्नु गौतम, विन्द्या सुब्बा, डा. खगेन शर्मा, नम्रता संस्कार शर्मा, अजय खँड्का आदिका निबन्धसङ्ग्रह देखा परेका छन्। अन्य विधाका तुलनामा निबन्ध थोरै नै लेखिएको पाइन्छ। नियात्रा लेखनतर्फ एम बी प्रधान, सलोन कार्थक, सानु लामा, चूडामणि दाहाल, जयनारायण लुइँटेल, एम पथिक, लावण्य देवी, आदि अनेक नाम रहेका छन्। संस्मरण लेखनमा महानन्द पौड्याल, नन्दलाल रसाइली, पी डी बल नाम रहेका छन्। हास्य-व्यङ्ग्यपरक निबन्धलेखनतर्फ हीरा छेत्री, सुदर्शन अम्बटे, परसात राई, कृष्ण प्रधान, सबिता थापा सङ्कल्प आदि देखा परेका छन्। अब नेपाली निबन्धको परम्परमा पेदोङका भानु अधिकारीको नाम पनि जोडिन आएको छ।
३. भानु अधिकारीको निबन्धका विषय र विशेषताहरू –
अङ्ग्रेजीको ललिपप निबन्ध सङ्ग्रह लिएर आउने भानु अधिकारी अब एउटा दह्रिला निबन्धकारका रूपमा देखा पर्दैछन्। हालमा सन्त जर्ज विद्यालय पेदोङका नेपाली शिक्षक भएर कार्यरत अधिकारी एक सफल लेखक हुन्। पेदोङमा २० देखि पाली साहित्यिक मञ्च गठन गरेर त्यहाँ साहित्यिक परिवेश सिर्जना गर्ने अधिकारीका विभिन्न लेखादि प्रकाशित हुँदै आएको पाइन्छ। मध्यमार्ग, चौतारी जस्ता पत्रिकामा उनका लेखहरू प्रकाशित भएका हुन्। तिनैलाई समेटेर उनले यस वर्ष अँग्रेजीको ललिपप निबन्धसङ्ग्रह प्रकाशित गर्न लागेका छन्।
यस प्रकाशित हुनलागेको निबन्धसङ्ग्रहभित्र जम्मा चौधवटा लेख समावेश रहेका छन् भने तिनका शीर्षकले नै निबन्धले के भन्न खोजेका हुन स्पष्ट हुन्छ। यसमा रहेका निबन्धहरूलाई अध्ययन गर्दा सालाखाला रूपमा जातीय चिन्तन, भाषिक चिन्तन, पर्यावरण चिन्तन, भ्रमण वृतान्त, व्यङ्ग्यविनोद र व्यक्तित्व परिचयन गरी पाँचवटा विषयवस्तुमा विभाजन गर्न सकिन्छ।
क) जातीय चिन्तन - चिन्हारी नभएका हामी निबन्धमा जातीय चिन्तन पाइन्छ। लेखक एकोटि सिलगढी जाँदा बाटामा एजना अनेपालीले एकजना गोर्खालाई नेपालका नेपाली र भारतका गोरकामा के फरक छ भनी प्रश्न गर्दा ती व्यक्तिले चित्तबुझ्दो उत्तर दिन नसक्दा लेखक क्षोभ र ग्लानी अनुभव गर्छन्। यद्यपि यस्ता जातीयचिन्तन नभएका हाम्रामा धेरै छन्। अझै पनि भारतका हामीले आफुलाई नेपाली भनेर चिनाउने गरेको र यसो हुँदा हाम्रो राष्ट्रियतामा शङ्का हुनु स्वाभाविक हुन्छ। अर्को लेख हामी कतातिर मा पनि हाम्रो स्वाभाव, आनाबानी, झुकाउ आदिबारे चिन्ता व्यक्त गरेका छन्। एकापट्टि हामी हाम्रो जातीय अस्तित्वरक्षाका निम्ति राजनैतिक तवरमा सङ्घर्षरत छौं भने अर्कातिर हाम्रो भाषा, साहित्य संस्कृति भने लत्याउँदैछौं। नयाँ पुस्ता नेपाली भाषा-संसकृति प्रेमको कमी देखेर लेखक चिन्तित छन्। परिवर्तनका नाममा हामीले आफ्नो मौलिकता भुल्दैछौं। हामी आफुलाई उत्तर आधुनिक ठानेर आफ्नो वास्तविक पहिचान गुमाउँदैछौं भनी चिन्ता व्यक्त गरिएको छ।
साहित्य र विद्यार्थी भन्न लेखमा पनि अहिलेको मोबाइल प्रयोगले समाजका हरेक तह र तप्काका व्यक्तिहरू स्वकेन्द्रित, स्वार्थी, समाज, साहित्य भाषा संस्कृति आदिसित सरोकारविहीन हुनपुगेका छन् तथा यस्तो प्रव़त्तिले हाम्रो ठुलो नोक्सान हुँदैगरेको छ भन्ने विचार ब्यक्त गरिएको छ। अबका पीँढी कता जाँदैछन् भन्ने कुरामा चिन्ता व्यक्त गरेका छन्।
ख) भाषिक चिन्तन- सङ्ग्रहको नामकरण गरिएको अङ्ग्रेजीको ललिपप भन्ने निबन्धमा अँग्रेजी भाषाप्रति अनावश्यक मोह, आशक्ति, आकर्षण हुनु तर आफ्नो नेपाली भाषाप्रति तिरस्कारको भावले आफैंले समस्याको खाल्डामा हाल्दैछौँ। आफ्नो भाषा मासेर अँग्रेजी अपनाउने क्रममा छौं। बढी सभ्य हुन अँग्रेजीप्रति जबरजस्ति अपनाएकामा लेखक क्षोभ व्यक्त गर्छन्। अर्को लेख नेपाली भाषामा परिवरत्नको आवश्यकता मा वर्तमान नेपाली भाषा लेखनमा केही कठिनाइ र असमञ्जसता देखा परेको कारण कथ्य र लेख्य भाषामा केही पक्षमा अलगअलग रूप भएर हो भन्ने विचार व्यक्त गरेका छन्। समय र नेपाली जिब्रोअनुसारले नेपाली वर्णमालामा आवश्यक संशोधन गर्नपर्ने कुरा व्यक्त गरेका छन्। विद्यार्थीहरूका निम्ति ह्रस्व र दीर्घको अन्योल, तीन किसिमका स, दुई किसिमका ब, ऋ वर्ण आदि विषयमा आफ्नो मत राखेका छन्। यस्ता असमञ्जस्यलाई हटाउन वर्णमालाम नै परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएका छन्। संस्कृतका पुराना नियम भन्दा नेपाली उच्चारणअसारको लेखन अभ्यास गर्नके भविष्यका विद्यार्थी अन्योलमा पर्ने थिएनन् भन्ने विचार व्यक्त गरेका छन्। यद्यपि नेपाली भाषाको समयअनुसार परिवर्तन भइ नै रहेको देख्न पाइन्छ औ विद्यार्थी र शिक्षक समुदाय केही थोरै नेपाली भाषा अध्ययन गरे यस्ता अन्योलको निराकरण हुने नै छन्। पेदोङका फादर जुएल्स दुनेलले लेखेको र सन् १८९९ मा प्रकाशित ‘पुरानु अनी नया सासतरको कथा पर्वते कुरा’ पुस्तिकामा रहेका तत्कालीन नेपाली भाषाको नमूनाका रूपमा उल्लेख र अध्ययन गरेका छन्। उक्त पुस्तिकामा हिन्दीको झैं ले, लाई जस्ता विभक्ति मूल शब्दसित नजोडिएको, बहुवचनको हरू पनि अलग्गै लेखिएको, पञ्चमवर्णको प्रयोगको बद्ली अनुस्वरको जताभावी प्रयोग, संयुक्त वर्णको आधा नभई पूर्ण वर्णको प्रयोग, रेफको अभाव, ज्ञ को बदली ग्य, ए का बद्ली य, चन्द्रबिन्दुको अभाव, आदरार्थीको अभाव आदि जस्ता विशेषता केलाएका छन्।
ग) पर्यावरण चिन्तन- अति सचेतता र पर्यावरण भन्ने लेखमा पर्यावरणप्रति चिन्तन र अध्ययन पाइन्छ। एकापट्टि गाउँघरमा रूखपातको वृद्धि भइरहेको छ, रूख बढेर छरछिमेकमा अपठेरो पार्दै लगेको छ भने अर्कातिर जङ्गल मासिएर नाङ्गो भइरहेको छ। जहाँ रूख बढी हुनुपर्ने त्यहाँ घट्दैछन् औ जहाँघर बढी भएका ठाउँमा रूख बढेर सङ्कट झेलिन्दै छ। मान्छेले स्वार्थ पूरा गर्न जङ्गल मासिसकेका छन्। रातारात रूख काटेर काठको तस्करी बढिरहेछ तर अर्कातिर मुखले भने पर्यावरणप्रति चिन्ता व्यक्त गर्छन्। जहाँ रूख हुनुपर्ने त्यहाँ मासिदैछ अनि जहाँ रूखपात बढी नहुनेपर्ने ठाउँमा भने बढ्दैछन् भनी आफ्नो विचार अभिव्यक्त गरेका छन्।
घ) व्यक्तित्व परिचय- यस सङ्ग्रहमा डा डिकबहादुर देवान र डा पारसमणि प्रधानका सुकार्यहरूको विषयमा मूल्याङ्कन गरिएको छ। पेदोङमा रहेर शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने डा डिकबहादुर देवानको सही मूल्याङ्कन गरेका छन्। डा देवानले शुरूमा पेदोङ बजारमा रही पसल चलाउँदै भए पनि पढ्नु, सन्त जर्ज विद्यालयमा दीर्घ चालिस वर्ष शिक्षण कार्य गरी धेरै विद्यार्थीलाई शिक्षा दिनु, आफ्नो विद्यालय टेन्डर बर्ड एकाडेमी खोलेर अझ थप योगदन दिनु, हर्कमाया बी एड कलेजमा पनि शिक्षाशास्त्र पठाउऩु आदि विषयमा डा देवानको योगदानको मूल्याङ्कन गरका छन्। साँच्चै उनी पेदोङ मात्र नभएर पहाडका नै नै शिक्षा क्षेत्रका एक धरोहर हुन्। यसै गरी डा. पारसमणि प्रधानको व्यक्तित्व र कृतित्वमाथि गहन विचार व्यक्त गरेका छन्। डा पारसमणि प्रधान मन वचन र कर्मले आफ्नो कर्तव्यप्रति निष्ठावान, लेखनमा इमानदार, नेपाली भाषा र साहित्यप्रति मरिमेट्ने, युग सचेतक व्यक्ति थिए भन्ने आशय व्यक्त गरेका छन्।
ङ) व्यङ्ग्य – प्रस्तुत सङ्ग्रहमा व्यङ्ग्य चेतनामूलक लेख नेता हुन पाए त मा नेतागिरीप्रति लेखकले असन्तुष्टि व्यक्त गरेका छन्। नेता जस्तो विशिष्ट, पवित्र र समाजलाई सही दिशामा लाने पदको अब विकृति आएको छ। नेतागिरी अब सबैभन्दा सस्तो पेशा बनेको छ। नेतागिरीप्रति समाजको अनावश्यक झुकाव र आकर्षण बढेको छ। राजनितीमा विकृति आउनथालेको छ र यो सिद्धान्तविहीन हुनपुगेको छ। यसो हुनुको मुख्य कारण समाजका स्वार्थी, निकम्मा, अयोग्य, असंस्कार, असक्षम, धुर्त व्यक्तिहरू नेता हुनथालेकाले हो भनी व्यङ्ग्य कसेका छन्। यसमा तार्किक प्रस्तुति दिएर आफनो विचार व्यक्त गरिएको छ। कालेबुङ पनि जापान भएछ निबन्धमा पनि समयको सुपयोग विषयमा व्यङग्य कसिएको छ। यस मुलुकमा भौतिक, भौगोलिक हरेक कुरामा समयको सदुपयोग गर्न सकिन्न।
च) विचारात्मक निबन्ध- यस सङ्ग्रहमा प्रायः सबै निबन्धमा विचारका पुट पाइए तापनि प्रमुख गरी कवयित्री लाई तिरस्कार किन भन्ने निबन्धमा नारी सशक्तिकरणका नाममा नकारात्मक विचार बढ्दै गएको छ। नारीको निम्ति समानताको भावले होइन अनावश्यक रूपमा प्रस्तुत गरिने चलन बढेकोमा लेखक क्षोभ व्यक्त गर्छन्। नारीहरू पुरूषसमान हुन्, यद्यपि नारी र पुरूषको आफ्नो आफनो दायित्व, कर्तव्य, गरिमा हुन्छ, तर व्याकरणिक व्यवस्था नै बद्ली गर्नु पर्दैन आवश्यकता नभएको विचार गर्छन्। कवयित्री लेख्दा नारीको उपेक्षा हुँदैन, प्रकृतिले नै भेद गरेको छ, स्त्रीलिङ र पुलिङ्ग छुट्याउँदैमा नारीको मर्यादा घट्ने होइन। पैसा महात्म्य भन्ने निबन्धमा वर्तमानमा पैसाको अनुचित महत्व बढ्दै गएको, यसको दुरूपयोग हुनेगरेको, मान्छे दिनदिनै स्वार्थी बन्दैगएको स्थितिबारे व्यङ्यात्मक शैली व्यक्त गरेका छन्।
छ) यात्रा संस्मरण - उनको सङ्ग्रहमा अधिकारीले आफुले साहित्य अकादमीको भ्रमण अनुदान पाएर आसाम जाने निर्णय गरेर आसामका विभिन्न स्थान भ्रमण गरेको वर्णन गरेका छन्। उनले दुई ठाउँमा आफुले गजल प्रशिक्षण लिने अवसर पाएको, राम्रो आतिथ्य पाएको, साहित्यिक कार्यक्रममा उपस्थित भएको वर्णन गरेका छन्। उनको असमयात्रा पूर्वको निकासीदेखि काजलगाउँ गौहाटी, उदालगुडी, धेकियाजुली, तेजपुर, विश्वनाथ चारालीसम्मको तितामिठा रोचक वर्णन पाइन्छ।
४. भानु अधिकारीको निबन्ध मूल्याङ्कन र उपसंहार-
नेपाली साहित्यमा अध्ययन लेखन, सम्पादन र संगठन गर्ने भानु अधिकारी एक युग सचेतक व्यक्तित्व हुन्। उनले आफ्नो जीवनो पहिलो पुस्तक अँग्रेजीको ललिपप लिएर नेपाली निबन्धमा देखा पर्न लागेका छन्। उनका निबन्धहरू विचारोत्तेजक छन्। आफ्ना निबन्धहरूलाई औपचारिक रूपमा प्रस्तुत गरिए तापनि यसमा पाठकसित एकोहोरो गफ गर्ने शैली अपनाइएको छ। यसमा समाज, जीवन र जगत्‌ अध्ययन प्रस्तुत गरिएको छ। अधिकाङ्श लेखहरू विचारोत्तेजक, ज्ञानवर्द्धक, रोचक बनेका छन्। यो आजको युगको जटिल परिस्थितिमा लेखिएका, अनुभव गरिएका, भोगिएका कुराहरू पाठकसामु पस्किएका छन्। पाठकका निम्ति यो सङग्रह पठनीय, रोचक र ज्ञानवर्द्धक रहेको छ।
बमबस्ती, कालिम्पोङ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु