वाटरलु, मन्जु म्याड्म र काका

- विश्वराज अधिकारी

वाटरलु जाने योजना अप्रत्यासित रुपमा बनेको थियो।
म न्युयोर्कबाट टोरन्टो घुम्न पुगेको थिएँ। मेरो बसाइ टोरन्टो स्थित नरेश काकाको घरमा थियो। टोरन्टो पुगेको भोलि पल्ट नै मलाई एक नया ठाउँमा लग्ने उद्देश्यका साथ विहान कफि खाँदै गर्दा काकाले भन्नु भएको थियो, “श्रीभव, वाटरलु जाने हो? म भोली छोरीलाई भेट्न त्यसतर्फ जाँदैछु, जाने हो? टोरन्टोबाट मात्र डेढ घण्टामा पुगिन्छ, त्यहाँ। अनि, राति फर्केर टोरन्टो नै आउने हो।”
“पूर्वा, वाटरलु स्थित युनिभर्सिटी अफ वाटरलुमा पढ्छिन। उनलाई भेटेको धेरै दिन भएकोले त्यसतर्फ जान थालेको हो” काकाले अझै प्रष्ट पार्नु भएको थियो। “हप्ता वा दुई हप्ताको को एक पटक म वा तिम्री काकी पूर्वालाई भेट्न नाजने हो भने उनी रिसाएर चिउरा छै ढाडिन्छिन्” काकाले थप रहस्य पनि खोल्नु भएको थियो।
“अवश्य जान्छु। यो, त्येही वाटरलु होइन जहाँ नेपालियन बोनापार्ट एक भीषण युद्ध हारेका थिए। त्यो युद्धमा दुवै पक्षको गरेर करिब चालिस हजार व्यक्तिहरू मारिएका थिए रे।”
“विश्व इतिहासमा वाटरलुको युद्ध निकै प्रचलित छ। सन् १८१५ मा भएको यो युद्ध पछि नोपोलियनको शक्ति क्षिण हुन शुरु मात्र भएको थिएन, उनको फ्रान्सको बादशाहको पद पनि खोसिएको थियो। भनिन्छ, नेपोलियन यो संसारको नै बादशाह बन्ने उद्देश्यका साथ युद्ध गर्दै हिँडेका थिए। नेपालियनले भन्ने गर्थ्ये रे- नेपोलियन भनको फ्रान्स हो अनि फ्रान्स भनेको नै नेपोलियन हो।”
“यस्तो ऐतिहासिक स्थान हेर्न पनि कसैले छुटाउँछ त? म अवश्य जान्छु। हेरौ न नेपोलियनले युद्ध गरेको स्थान कस्तो रहेछ। ऊ हारेको स्थान कस्तो देखिन्छ।” बीचमा काकालाई बोल्ने पालो नदिएर नै मैले यी सबै कुरा भन्न सक्याएको थिए।
“हामी जान थालेको वाटरलु त्यो भीषण युद्ध भएको वाटरलु होइन। यो वाटरलु अर्को वाटरलु हो। यो क्यानाडाको भित्र पर्ने वाटरलु हो। यो वाटरलु सहर सानो भएता पनि यहाँ राम्रो युनिभर्सिटी भएकोले यो सरह निकै प्रख्यात छ। तिमीले बयान गरेको वाटरलु, जहाँ नेपोलियन बोनापार्टले ठूलो युद्ध लडेका थिए, अहिले भने बेल्जियमा पर्दछ। त्यसबेला भने निरदलैण्ड्सको एक भागमा पर्थ्यो।” काकाले हाँस्दै भन्नु भएको थियो। उहाँले थप्नु भएको थियो, “क्यान्डामा तिमीले वाटरलु मात्र होइन, लण्डन सहर पनि देख्न पाउँछौ। एउटा कुरा थाहा पाइराख, अमेरिका र क्यानाडामा तिमीले युरोपका धेरै सहरहरूको नाम भएका सहरहरू देख्न पाउँछौ।“
काकाको कुरा सुनेर आफूलाई विश्व भूगोलको अल्प ज्ञान भएकोमा म अलि लज्जित पनि भएको थिएँ।
भोलि पल्ट, अर्थात शुक्रवार, एप्रिल १५, २०१६ का दिन हामी टोरन्टोबाट वाटरलु पुग्न हिँडेका थियौ। बाटोमा नरेश काकाले एउट रोचक प्रशंग सुनाउनु भएको थियो।
नरेश काकाले त्यो रोचक प्रशंग यसरी सुनाउनु भएको थियो:
“बुझ्यौ श्रीभव, एक महिना पहिले अर्थात मार्च २०१६ मा म काठमाडौ पुग्दा निकै रमाइलो भएको थियो नि।”
“मैले पढाउने कलेजमा स्प्रिग सेमेष्टर सकिएर केही समय बिदा भएकोले म टोरन्टोबाट काठमाडौ पुगेको थिए। टोरन्टोबाट अब्बु धाबी पुगेर म काठमाडौको लागि उड्ने प्लेन कुरेर एक टर्मिनल एरियामा चुपचाप बसिरहेको थिए। मेरो छेउमा नै एक महिला म जस्तै कुनै फ्लाइटको बाटो कुर्न टुप्लुक्क आइपुगेको देखें। साथै ती महिलाई नेपालको कुनै सरहमा मैले देखेको याद मेरो मष्तिष्कमा बलियो गरी ताजा पनि भयो।”
“परिचयको क्रम मैले नै अगाडि बढाएँ। मेरो छेउको ती महिलालाई मैले भने -मेरो नाम नरेश अधिकारी हो। अनि, तपाइँको नाम मन्जु ………………।आज भन्दा करिब चालिस वर्ष पहिले तपाइँ बीरगंजको ठाकुर राम कलेजमा पढ्ने गर्नु हुन्थ्यो। तपाइँको घर पनि वा भनौ माइती, श्रीपुरमा थियो। होइन त? मन्जुले भनिन्- तपाइँले भन्नु भएका सम्पूर्ण कुराहरू सत्य हुन तर तपाइँलाई यी सबै कुरा कसरी थाहा भयो? मलाई निकै आश्चर्य लाग्यो।”
“मन्जु म्याडम, जति खेर, त्यो समयमा तपाइँ आई ए पढ्दै गरिरहनु भएको थियो, म पनि आइ यस्सी पढिरहेको थिएँ, त्येही क्याम्पसमा। भवन पनि एउटै थियो। र अर्को रोचक कुरा पनि छ। म तपाइँलाई त्यो बेलामा नै राम्रो गरी चिन्थ्ये तर मलाई तपाइँले चिन्नु हुन्थेन। मैले पनि, तपाइँले मलाई चिन्ने कुनै ठोस प्रयास गर्न सकिन।”
“मैले थपे- तपाइँलाई यदि असजिलो लाग्दैन र अनुमति दिनु हुन्छ भने……………..म त्यो बेलाको, ठाकुर राम कलेजको जमानाका केही कुराहरू भन्न चाहन्छु। अनुमति छ? मेरो प्रश्नको उतरमा मन्जुले भनिन्- हुन्छ, अवश्य भन्नु होस्। म पनि एक्लै बोर भइरहेको थिए। तपाइँको कुराले मेरो कुर्नु पर्ने जस्तो निरस समय त सजिलै गरी कट्न सक्छ, केही समयको लागि नै भए पनि। मेरो छोरीलाई भेट्न, खासमा सुत्केरी भइकी छोरीलाई सेहार्न, म अमेरिका गएकी थिए, त्यहाँ छ महिना बसेर फर्किंदै छु।”
“मन्जुको वर्तमानको कुरामा मलाई दिलचस्पी नभएर विगतको कुराले तानिरहेको थियो। त्येही परिप्रेक्ष्यमा मैले भने- मन्जु म्याड्म, तपाइँ आइ ए मा पढ्दा एकजना सरिता नाम गरेकी युवती तपाइँको ज्यादै घनिष्ट साथी थिइन, हो? मन्जुले भनिन्- हो। मैले थपे- त्यो बेला म सँग नै आइ यस्सी पढ्ने एउटा युवक, जो ज्यादै नै मेरो घनिष्ट थियो, तपाइँको साथी सरिताप्रति ज्यादै आकर्षित भएको थियो। आकर्षित पनि कस्तो भने फलामको एक अति नै सानो टुक्रा ठूलो चुम्बकमाप्रति आकर्षित भए जस्तो गरी। लैलाप्रति मजनु आकर्षित भए जस्तो, भनौन। मेरो त्यो साथी, सतिस, सरिताप्रति सीमाहीन किसिमले आकर्षित भएको थियो। छातीमा सरिताको तस्वीर नै हरदम साथमा लिएर हिँडेझै गर्थ्यो। भन्ने हो भने मेरो त्यो साथी सरिताको लागि एक किसिमले पागल नै भएको थियो।”
“मन्जुले आश्चर्य व्यक्त गरिन्- तर मलाइ सरिताले कहिले पनि भनिनन् उनलाई कुनै युवकले अति नै मन पराउँछ भन्ने कुरा। न त कलेज वा वीरगञ्जका अन्य स्थानहरूमा म सरितासँग घुम्दा उनलाई कुनै युवकले कहिले पछ्याएको वा कुरा गर्न खोजेको देखें मैले। जबकि म र सरिता अति मिल्ने मात्र होइन, ज्यादै घनिष्ट र प्राय: जुन बेला पनि साथ रहने साथी थियौ। हामी दुई कलेजको लाइब्रेरीमा साँझ ढिलो गरी पढ्ने पनि गर्थ्यौ। कलेजबाट सँगै फर्किने पनि गर्थ्यौ। म सरिताको र सरिता मेरो घरमा आउने जाने, सुत्नेसम्म पनि हुने गर्थ्यो। मलै बीचमा नै भने- सतिसको व्यवहार चाहिने भन्दा पनि, अति नै भद्र थियो। मैले कहिले काँहि उसलाई रिसाएर भन्ने पनि गर्थ्ये- हेर बाबु धेरै भद्र हुनु पनि कायर हुनु हो। कहिले काँहि आफ्नो भद्रतासँग विद्रोह गर्नु पर्दछ। हुन पनि ज्यादै भद्र हुनु कहिलेकाहिं कायरताको पर्यायवाची हुन पुग्दछ। तेरो स्थिति पनि त्यस्तो नै हुँदैछ। कलेजमा नै कतै भेटेर एक पटक सरितालाई भन्ने आँट गर। भेटेर भनि पनि दे- सरिता आइ लभ यु, डु यु लभ मी? तर भद्रताको पालना यसैगरी नै तँबाट हुने हो भने तेरो र सरिता बीचको कथा कहिले पनि अगाडि बढ्न सक्तैन। भद्रताको हरेक नियमहरू पालना गर्ने हो भने जीवन निरश हुन पुग्छ, बाबु। र अर्को कुरा, प्रेममा भद्रताका धेरै नियमहरू टुट्ने पनि गर्दछन, नया नया नियमहरू बनेझै। प्रेमको इतिहास हेर न …………….”
“बुझ्नु भयो मन्जु म्याड्म, कस्तो अचम्म, निर्मलालाई हेर्न पाउने आशमा प्रत्येक साँझ शतिस बिर्ताटोल स्थिति निर्मलाको घर पुग्ने गर्थ्यो। साथमा मलाई पनि तानेर लग्ने गर्थ्यो। तर त्यहाँ पुगेर उसले गर्ने काम भने एउटै थियो, आफ्नो घरको छतमा आएकी निर्मलालाई निकै बेर एकटकले हेर्ने। त्यसपछि घर फर्किने। निर्मलालाई हेर्ने उनको घर नजिक पुगेको शतिस कहिले काहिं निराश पनि हुन्थ्यो किनभने शतिसले धेरै समय कुर्दा पनि, एकतर्फी नै सही, उसको देखादेख निर्मलासँग हुन्थेन। बिचरा शतिस! लडाइ हारेको सेना झै मनमा ग्लानी लिएर फर्किन्थ्यो, भेट हुन नसकेको दिन।”
“बुझ्नु भयो, मन्जु म्याड्म, केलजमा पनि सतिसको व्यवहार अनौठो हुन्थ्यो। आफ्नो कक्षामा पस्न ढिलो गरेर भए पनि सरितालाई हेर्न, उनी कक्षामा प्रवेश गर्न थालेको दृश्य, एकटकले हेर्थ्यो। आफू कक्षाबाट छिटै निस्केर भए पनि, सरिता कक्षाबाट निस्कन थालेको दृश्य हेर्न, पुग्थ्यो पनि। तर यी सबै कुरा उसले केवल सरितालाई हेर्नका लागि गर्थ्यो। सतिसले आफू सरिताप्रति त्यति बढी आकर्षित भएको कहिले पनि भन्न भने सकेन।”
“सरितालाई हेर्न चक्करमा सतिसले आफ्नो पढाइ नै बिगार्यो। त्यति राम्रो विद्यार्थी सतिस! दोस्रो सेमेष्टरमा सबै विषयमा पास हुन सकेन। दुई विषयमा फेल भयो। सतिसले, साइन्समा अध्ययनका लागि बढी समय दिनु पर्ने भयो भन्दै, कमर्स पढ्ने विचार पनि गर्यो। तर ऊ सरिताको एकहरो प्रेमबाट बाहिर आउन सकेन। सतिसले सरितालाई एकहरो प्रेम गर्ने, आफ्नो त्यो स्थिति, सरितालाई भन्न नसक्ने स्थिति, दुई वर्षसम्म निरन्तर रुपमा चल्यो।
“मन्जुले मलाई प्रश्न गरिन्- पछि के भयो त? मैले भने- के हुनु! त्यस्तो केही हुन सकेन! सतिसको भद्रताले उसलाई त्यो आँट नै दिएन जुन प्रयोग गरेर उनले सरितालाई आइ लभ यु भन्न सक्थ्यो।”
“मन्जुले भनिन्, विचारा सतिस! चाहिने भन्दा साँच्चि नै बढी नै भलादमी रहेछन्। साँचै पछि केही पनि हुन सकेन? मैले भने- केही पनि त्यस्तो हुन सकेन नि। पछि, सरिताको विहे भयो। विहे भएर उनी विराटनगर गइन। तर कथा यत्तिकैमा समाप्त भएन। सतिसले आइ यस्सी पास गर्न सकेनन्। सरितालाई देख्न नपाए पछि, अति नै नियास्रो लागेर ऊ काठमाडौतिर लाग्यो। पछि, कमर्स पढ्ने इच्छा गर्यो उसले। अमेरिका गयो। उतै पि यच डि पनि गर्यो। अहिले टोरन्टो, क्यानाडाको एक कलेजमा ‘बिजन्स’ पढाउने गर्छ।”
“मन्जु मेरो छेउ आइपुग्नु र मैले उनीसँग कुरा गर्नुमा धेरै समय व्यतित हुन पाएन। उनी मेरो छेउमा आइपुग्नु र मैले उनीसँग कुरा गर्नुमा केवल छोटो समय खर्च भएको थियो किनभने मन्जु मेरो छेउमा आएको केही कालपछि नै हाम्रो फ्लाइट उडानको लागि तयार रहेको र हामी काठमाडौ जानका लागि चेकिंग काउन्टरतिर बढ्न सम्बन्धित एयर लाइन्सले घोषण गरिसकेको थियो। हामी चेकिंग काउन्टरको ज्यादै नजिक रहेकोले त्यता ढिलोगरी पुग्ने लक्ष्यका साथ कुरा गरिरहकेका थियौ। एक किसिमको हतार भित्र रहेर। खास गरी म।”
“चेकिंग काउन्टर पार गरेर प्लेन चढ्नका लागि त्यस तर्फ लागि रहेको बेलामा मैले भने- मन्जु म्याड्म, प्लेनमा तपाइँको सिट एकातिर मेरो अर्कोतिर होला। अब हामी बीच कुराकानी काठमाडौ एयरपोर्टमा नै होला जस्तो छ। त्यहाँ पुगेर कुरा गरौला। तर कुरा भने अवश्य गरौला। म करिब एक वा दुई महिना जति काठमाडौमा बस्छु होला। न्युरोडितर घुम्दा हाम्रो अवश्य पनि भेट हुन सक्छ होला।”
“काठमाडौ एयरपोर्टमा हाम्रो प्लेनले समयमा नै अवतरण गर्यो। इमिग्रेसन, भंसार र अन्य प्रकियाहरू पूरा गरेर निस्किने बेलामा मेरो भेट मन्जुसँग भयो। मैल बलियो आग्रहको शैलीमा भने- मन्जु म्याड्म, आजको पाँच दिन पछि, कुनै दिन, मसँग न्युरोडमा भेट्न रुचाउनु हुन्छ। कुनै तोकिएको रेष्टुरेन्टमा भेटौला। मेरो फोन नम्बर पनि लिनुहोस,म पनि आफ्नो फोन नम्बर दिन्छु। हुँदैन?”
“मैले थपे- म भद्र हुँ भनेर आफूलाई आफैले कसरी भनौ। तर म सँगको भेटमा तपाइँले कुनै अप्रिय अनुभव गर्ने मौका पाउनु हुने छैन्। ढुक्क हुनुहोस। प्रतिक्रियामा मन्जुले भनिन्- त्यस्तो खास के ही कुरा छ भने टेक्सी चढ्नु भन्दा पहिले नै पनि, यहाँ, अहिले नै पनि, भन्न सक्नु हुन्छ। मैले भने- त्यस्तो केही खास कुरा छैन्, तर कुरा अति नै साधरण पनि छैन्। मैले हाँस्दै फेरि भने- खासमा मैले तपाइँलाई भन्न खोजेको कुरा के हो भने, संक्षिप्तमा, अघि मैले तपाइँलाई सुनाएको कथाका पात्रहरूमा, सरिता भनेको पात्र तपाइँ मन्जु दाहाल हो र सतिस भनेको पात्र म, नरेश अधिकारी हो। र त्यो कथा केवल हामी बीचको कथा हो। मन्जु र नरेश बीचको कथा हो।”
मेरो कुरा सुनेर मन्जु म्याड्मको मुखको भाव तुरुन्तै परिवर्तन भएको थियो। तर अचम्म! उनले केही पनि बोलिनन्। मैले नै भने- मन्जु, म तिमीलाई, समयले हामी बीच यत्रो चाक्लो खाडल खनिसकेता पनि, हामीले उमेरको अग्लो पाहाड चढेता पनि, म लामो समयसम्म तिमीलाई एकटकले हेर्न चाहन्छु, र यो पनि ज्ञात गर्न चाहन्छु कि तिमीमा के कस्ता विशेषताहरू थिए जसले मलाई पागल वा दिवाना नै बनाएका थिए, कलेजका ती दिनहरूमा। तिमी प्रति मलाई चुम्बक झै आकर्षित गर्ने तिमीमा रहेका ती तत्वहरू म तिम्रो अति नै नजिक भएर अवलोकन गर्न चाहन्छु। तिनीहरूलाई नजिक, ज्यादै नजिक, अति नजिकबाट हेरेर महसुस गर्न चाहन्छु। कृपया हुन्न नभन्नु ल। म तिमीलाई त्यो अवस्थाम भेट्न चाहन्छु जुन अवस्थमा मैले तिमीलाई चालिस वर्ष पहिले भेटेको थिएँ। तिम्रो अनुमतिमा, म लामो समयसम्म तिमीलाई हेरिरहन चाहन्छु, आकाशले पूर्णिमाको रातमा, चन्द्रमालाई एकटकले हेरिरहे झै।”
“बुझेउ श्रीभव, काठमाडौ पुगेको सात दिन पछि न्युरोडको एक रेष्टुरेन्टमा मन्जुसँग मेरो भेट भयो पनि।”
काकाको कथा समाप्त हुनु पनि, हामी वाटरलु स्थित युनिभर्सिटी अफ वाटरलु पुग्नु पनि, एकै पटक भयो। कथा समाप्त गरेपछि नरेश काकाको मुहारमा उहाँले हारेको कुनै युद्ध पुन: जितेको भाव प्रष्ट गरि देखिएको थियो। उहाँको मुहार अति नै चम्किरहेको थियो।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु