लुतो लागेको कुकुर र जून

- ईगम खालिङ

पूर्णेको रातमा आकाशमा मुस्कुराइरहेको जून हेरेर एकजना प्रेमीले अफ्नो प्रेमिकालाई जूनको उपमा दिन्छ । चुम्बन लिन्छ । दिन्छ । छेउमा उभिरहेको एउटा कुकुरलाई पनि त्यतिखेर मानिसको जुनिसित लोभ लागेर आउँछ । अलिकमाथि डाँडामा गएर हेर्दा त्यसलाई जून अझै राम्रो लाग्छ । एकप्रकारले चित्त दुखेर आउँछ र आकाशतिर मुन्टो बटारेर भुकिरहन्छ । रातभरि जूनलाई सोधिरहन्छ—

“के तिमीले मेरो लुतोमा मलम लगाउन सक्छौ ? निको पार्न सक्छौ ?”

भोलि बिहानी पख अफूभित्र एउटा घमण्ड जागेर आउँछ—युद्ध पूरा नभई जून आकाशबाट ओझेल भएको भ्रममा । बिहानीको कठ्याङ्ग्रिने जाडोमा पनि त्यसलाई आफ्नो लुतो चिलाएको नै तातो लाग्छ । जति कनायो उति चिलाउने सञ्चो र आनन्दको सिमानै छैन । तर त्यसरी कनाउँदा-कनाउँदै त्यसलाई एकप्रकारको रिस उठेर आउँछ र त्यहाँबाट फटाफट गल्लीमा गएर एउटा दिशा बस्न निस्किएको कुकुरलाई आक्रमण गर्छ । त्यसको मालिकलाई चेतावनी दिन्छ—

“अबदेखि तिमीले आकाशमा जून कहिल्यै नहेर्नु । आफ्नो प्रेमिकालाई चुम्बन पनि नगर्नु । तिम्रो जून, आज बिहान मसित हारेको छ अनि तिम्रो विदेशी टमीले अबदेखि मलाई तिम्रो घरको ढोकाबाट नभुकोस् ।"

फेरि कुनै एउटा रात जून आकाशमा आधा भएर आएको छ । जून टुक्रिएर आधा कतै झरेछ भन्ने अनुमानमा त्यो डाँडाबाट ओरालै-ओरालो लग्छ । अन्त्यमा एउटा बेथेस्डाको पोखरीमा आइपुगेर ठप्प रोकिन्छ । पक्रनलाई पानीमा कैयौपल्ट हामफाल्छ तर सक्दैन ।

बिहान पुन: उकालै-उकालो फर्किन्छ—जूनलाई डाँडाबाट ललकार्नलाई, अबदेखि त्यसरी छल नगर्नु भन्नलाई । तर फेरि अर्को रात जून अझै टुक्रिएर आकाशबाट त्यसलाई नै जिस्काइरहेछ । त्यो रातभरि डाँडामा चुइँकिँदै, मुरमुरिँदै अनि भुक्दै एउटा अतृप्त आक्रोश देखाइरहन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु