एस.एम.एस. हाइकुका दामोदर पुडासैनी

- छविरमण सिलवाल

सात आठ वर्षको उमेर देखि नै लेखन आरम्भ भए पनि उहाँको  २०३४ सालमा“शहिद”कविता जनजाग्रिती पत्रिकामा प्रकाशित भएको थियो । हुनत २०२७ सात देखि नै रेडियोमा प्रशारित भएका थिए। लेखन प्रारम्भ कविताबाट भए पनि हाल उहाँको कलम साहित्यको विविध विधाहरूमा चलेका छन्। मुलतः उहाँका कवितामा नयाँ पन र नयाँ शैली भेटिन्छन्। विषय र परिस्थिती हेरेर रचनाहरूमा नौलो पन ल्याउन खप्पिस छन् दामोदर पुडासैनी। “पिताजीले धेरै भाषा जान्नु हुन्थ्यो,थुप्रै भाषाका ज्ञाता भएकै कारणबाट साहित्य र दर्शनका पुस्तक पढ्ने बानी पर्‍यो। कहि लेख्दा पिताजीले हौसला दिनु हुन्थ्यो। लेख्ने प्रेरणा जाग्यो। “किशोर” चाहि दाजुहरूको प्रेरणाबाट भयो। यसरी नै मैले साहित्यमा प्रवेश गरें र साहित्य सिर्जना गरिरहेछु र गरिरहने छु”। उहाँ भन्नु हुन्छ। हरेक दिन विहान ४ बजे उठने उहाँको दैनिकी छ। २ घण्टा योग गर्ने, त्यस पछिको समय लेखन र अध्ययन बित्ने गर्छ। पेटको जोहो पनि त गर्ने पर्‍यो। दिनभर अफिस जानु पर्ने। त्यस पछिको समय बेलुका नै भयो नयाँ साहित्य सिर्जना र अध्ययन ले रात परिहाल्छ। परिवारलाई पनि त समय दिनु पर्‍यो। यी दैनिकीमा रहेर दामादरजीले ठूलो उपलब्धी गर्नू भएको छ नेपाली साहित्यमा। नयाँ उत्साह छ, जोस छ,। सहयोगी भावना छ उहाँमा। नेपाली साहित्यमा उहाँका कलम कहिल्यै नथाकुन यहि कामना गर्नूपर्छ। “राजनीतिक चेतना साहित्यकारमा हुनुपर्ने तर,सिर्जनामा राजनीति घुस्नु राम्रो होइन”उहाँ भन्नुहुन्छ। राजनीतिको दस्तावेज नदेखिकन कला र विचार दुवै पक्षलाई सन्तुलीत रुपमा अगाडी बढेको सिर्जना राम्रो मान्नुहुन्छ।  
भोलीको सूर्य
इन्द्रेणी रंग खोज्छ
अंग अगंमा।
हेर है अब
बाघले घाँस खान्छ
उगेल्छ चरा।
आफन्तका अनुहारहरू,'२०४९, 'आँखाको खोजीमा,'२०६२, 'आलोकित आयाम,'२०६३,'आकारको खोजीमा',२०६३, आदि काब्य–कृतिहरू प्रकाशित भै सकेका छन्। सम्भवत उनि 'अ'अक्षरवाटै कृतिहरूको नामाङ्कन गर्न रुचाउनु हुुन्छ जस्तो लाग्छ?तर प्रकाशोन्मुख कृतिहरूमा भने “अ”अक्षरबाट कुनैपनि कृतिहरू देखिदैनन्। डेढदर्जन भन्दा वढि साहित्यसंघ संस्थाहरूमा संलग्न भएर साहित्यको सेवामा सर्मपित भावना पनि देखाउन सफल देखिनु भएको छ।   नियात्रा–संस्मरणलाई लिपिवद्ध गरेर प्रस्तुत गर्न सजिलो भएपनि, काब्यात्मक शैलीमा प्रस्तुत गर्न एउटा  
कुशल कविनै चाहिन्छ। यात्रा संस्मरणहरू थुप्रै हामीले पढेका छौं, तर काब्यात्मकशैलीमा प्रस्तुत 'आकारको खोजीमा' संग्रहमा दामोदरजीले काब्यलाई कलात्मकरुपमा प्रस्तुत गरेर एउटा प्रंशसनिय कार्य गर्नूभएको जस्तो लाग्छ। कविले २७ भदौ २०६२ देखि २६ असोज २०६२ सम्म एक महिनाको समयमा विभिन्न देशहरूमा घुम्दा त्याँहाका भौगोलिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक भाव चेतनाहरूलाई मूलरुपमा चित्रण गरेकाछन्  आफ्ना काब्यरचनाहरूमा।
“..........यतिखेर
दामन ए कोहमा
बुद्धका आँखाहरू सुम्सुम्याउदै
इस्लामावादको शहरको झिलिमिली
नियाल्दै गर्दा
मेरो मुटुमा तिमै्र रगत बगेको पाएको छु
फैजल मस्जिदका
मीनार र चाँदवरिपरि बसेर
सलह गाउँदा
धम्मपद,वेद र कुरानका पानाहरूमा
एउटै मानवता लेखेको पाएको छु
“आकारको खोजीमा” पृ.३८
आफ्नो भौतिक यात्राक्रममा आफूले भोगेका देखेका सवै वस्तुस्थितिलाई काब्ययात्रामा समेटेर एउटा राम्रो कार्यको थालनी गरेकाछन् दामोदरजीले। उनको विषेश पक्ष यस्तो पनि छ उहाँका रचनाहरूले पाठकहरूलाई काल्पनिक भ्रमणको भ्रममा पार्छन। यसवाट के स्पष्ट झल्कन्छ भने कवि जहाँ पुगे पनि कतै त्यहि पे्रम गर्न थाल्ने, कतै जन्म भूमीसंग दाज्ने, कतै बन्धुबान्धवको मायामोहमा छट्पटिने साथै मनाविय संवेदनाको संवेगलाई सधैं आफ्नो काब्यमा अग्रणी स्थान दिन सफल भएको म मान्दछु। यसमा कवि अत्यन्त सफल भएकाछन्।
“.....मेरी प्रिया  
अलि ढिला हुन्छ जस्तो छ त्यता फर्कन
भेटिरहेछु तिम्रै जस्ता
निख्खर मनका सुस्केरा यता पनि
विशाल समुन्द्र
छाल बोकेर आउँदै छ उर्लेदै
थार पेशेवर र क्वेटाका पहाडहरू बदल्दै
च्यात्दै छन् ज्वारभाटा
शताब्दियौ देखि छोपिरहेका चिल्थरा आवरणलाई
सुम्सुम्याएर फर्कनेछु म
कालो वस्त्रले छोपिएका हिउँका फूलहरूलाई
“आकारको खोजीमा” पृ.४५
यसरी २०४९ सालबाट पुस्तक प्रकाशन गर्न थाल्नु भएका दामोदरजीको  प्रथम पुस्तक “आफन्तका अनुहारहरू” प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएकोे थियो। मानविय संवेदनाको खोजीमा लाग्दा लाग्दै उहाँका कविताहरूले शाक्तिशाली रुप लिएको पाउँछौँ। उहाँले यथार्थपरक कविताहरूलाई बढि जोड दिएका छन्। जुन ठाँउमा जस्तो देख्छन्। त्यस्तै चित्र उतारेको पाउँछौ। भ्रमण उहाँको सौख हो साथै त्यो भ्रमणको फाइदा मज्जासंग उठाउन सफल देखिएका छन्, साहित्य मार्फत। हरेक समय नयाँ प्रयोगमा आनन्द लिनु उनको बिषेशता हो। यस्तै नौलो प्रयोग लिएर साहित्य प्रेमिहरूलाई झक्झक्याउने काम उनीबाट अक्सर भैरहन्छ, मोबाइल एस.एम.एस.मार्फत। एस.एम.एस.हाइकु पठाउने प्रथम साहित्यकार नै हुन दामोदर पुडासैनी। जापान बसाइका क्रममा त्याहाँ एस.एम.एस.गरेर पठाउने चलन रहेछ हाइकु। त्यसबेला नेपालमा मोबाइलको त्यति धेरै बिकास भएको थिएन। हाल मोबाइलको बिकास संग संगै छोटो कविता अर्थात हाइकु एस.एम.एस.बाट पठाउने शुरुवात गरेका छन्। यो अत्यन्त राम्रो कुरा हो। आजकल निमन्त्रणा पनि एस.एम.एस.बाट नै आउने चलन भैसकेको छ।
आफन्तका अनुहारहरू
मन्दिर,मस्जिद,चर्च र गुम्बाको बहानामा बाँडिनु हुन्न
जात र रङ्गको आधारमा टाढिनु हुन्न
गाउँ,शहर,देश र महादेशको नशाले मात्र होइन
बाद र विवादको भुमरीले मात्र फाँडिनु हुन्न
मान्छेको साइनोको प्रतीक रगत हो
मान्छेको आफन्त भन्नु मान्छे हो
अरुको बिरोधमा हात उठाउँदा
मान्छेले अलिकति पनि
मान्छेभन्दा तल झर्नू हुँदैन
जीवन र जगत् सुन्दर बनाउने
हाम्रो अभियान हो भने
कोही आफन्त अपचले र कोही आफन्त भोकले
क्षण–क्षणमा मर्नू हुँदैन
    संसार ठूलो छ। मान्छेले मान्छे चिन्न सक्नु पर्छ, हृदयको भाका बुभ्नसक्नु पर्छ। एक मुी रगत न हो मान्छेको  चिनारी। जहाँ गए पनि आफन्त सम्झने दामोदरजीको स्वाभावले जो कोहीलाई पनि मोहित पार्ने गर्दछ नेपाली साहित्यमा। 'मिहेनती लगनशील, साहित्य प्रति अत्यन्तै श्रद्धाभाव भएका स्रष्टा हुन, दामोदर पुडासैनी किशोर, कविता र हाइकुमा उनको आफ्नै स्थान छ। अझ विशेषतःएस.एम.एस. हाइकुमा त उनी एक्ला र पहिला ब्यक्तित्व पनि हुन्।' दामोदरजीका बारेमा गोबर्द्धनपूजा लेख्छन्। 'कहिले उनी प्रत्यक्ष दृश्य र दृश्यजनित तरङ्गहरूबाट उद्धेलित हुन्छन् कहिले विदेशी आकाशमुनि स्मृतिसड्क्रान्त हुन्छन् आफ्नै जन्म भूमिका अतित र वर्तमानबाट। गद्यमा यी अनुभवहरू प्रस्तुत भएका भए एक राम्रो नियात्रा वृत्तान्त हुन्थ्यो। गद्यकवितामा अभिब्यञ्जित भएका हुनाले बिभिन्न पश्चिमेली भूगोल, समाज र सांस्कृतिका आयामहरूमाथि गरिएका मनोहर काब्यात्मक टिप्पणीहरू प्रस्तुत हुन पुगें। आफ्नो मौलिकताले यो संग्रह काब्यप्रेमी नेपालीहरूको लागि निकै रोचक हुनेछ भन्ने मेरो बिश्वास छ। कवि भौगालिक र सामाजिक विषयवस्तुमा मात्र सीमित छैनन्–त्याहाँभन्दा पर जान्छन्। ' 'आलोकित आयाम' संग्रह भित्र प्रा.डा.दुर्गाप्रसाद भण्डारी लेख्नुहुन्छ।
नेपाली साहित्यमा हाल अत्यन्त चल्तापूर्जा ब्यक्ति हुन दामोदर जी। गहकिला चार कजिता कृति बजारमा ल्याएकाछन्। आधा दर्जन पुस्तक प्रकाशोन्मुख अवस्थामा छन् उनका। लगभग डेढदर्जन साहित्य संस्थाहरूमा प्रत्यक्ष संलग्न रहेर साहित्य सेवा गरिरहेका छन्। 'दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष'को संस्थापक तथा संरक्षक रहेर बिभिन्न साहित्यकारहरूलाई सम्मान गर्ने परम्परा बसाएकाछन्। समग्र रुपमा हेर्दा साहित्यका बिबिध बिधाहरूमा निरन्तर कलम चलेकाछन् उनका। हामीले नेपाली साहित्यमा एउटा भूल्नै नसकिने ब्यक्तित्व भएर चम्किरहने छन्, निरन्तर....! निरन्तर.......!!

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 श्रावण, 2065

लेखकका अन्य रचनाहरु