नियात्रामा नौलो प्रयोगः दाइबुचु

- छविरमण सिलवाल

नेपाली भाषा साहित्यको सेवामा अनवरत रुपमा लागि परिरहेका कृष्ण बजगाईं पुस्तक प्रकाशनमा पनि निकै सक्रिय देखिएका छन् । अघिल्लो वर्ष मात्रै नेपाली नियात्रा साहित्यमा ओजिलो कृति भाया साक्रा प्रकाशित गरेका बजगाईंले भर्खरै जापान भ्रमणका बारेमा लेखिएका नियात्रा दाइबुचु प्रकाशनमा ल्याएका छन् ।
व्यस्त दैनिकी परदेशको नियमित कर्म हो, करिव करिव रोवोट जिन्दगी बिताउँनु पर्ने समय पक्कै पनि मुल्यवान नै हुन्छ । त्यस्तै मुल्यवान समयलाई समायोजन गरेर नेपाली साहित्यमा ओजिला कृतिहरु एक पछि अर्को गर्दै आउँनु नेपाली नियात्रा पाठकहरुलाई खुशिको कुरा हो । उनी नियात्रामा आफूमात्र घुम्दैनन्, पुरा पाठकलाई साथ लिएर घुम्छन् । उनको नियात्रामा शब्दका बोझिला भारीहरु बोक्नु पर्देन । अनेकन विवरणत्मक कुराहरु झेल्नु पर्दैन । शब्दको किफायतिका कारण पाठकलाई बोरिङ हुनु पनि पर्दैन ।
प्रायः कहिल्यै नपुगेको नयाँ नयाँ स्थानहरुको जानकारी एउटा नियात्रा कृतिबाट प्राप्त गर्न सकिन्छ । आम मान्छे र एउटा लेखकले यात्रा गर्नुको फरकता पनि यहि हो । कृष्ण बजगाईँ पनि आम मान्छे हुन्, तर उनको लेखन कर्मले गर्दा उनलाई आफ्नो दैनिक कार्य सम्पन्न गरेरै भए पनि लेखनमा नयाँ नयाँ कुराहरु कसरी ल्याउँन सकिन्छ भनेर दत्तचित्त हुन्छन्, र त उनका नियात्राहरु अरु भन्दा फरक र विशिष्ट हुन्छन् ।
प्रसंग दाइबुचुकै हो, यो कृति जापान बसाईका लेखकले देखेका कुराहरुलाई प्रस्तुत गरेका छन् । हुनतः धेरै लेखकहरुले जापान भ्रमण गरेर थुप्रै पुस्तकहरु लेखेका छन् । विषयवस्तुका हिसावले दाइबुचु नौलो नभए पनि प्रस्तुतिका हिसावले विल्कुल नयाँ छ । त्यस सन्दर्भमा यो पुस्तक नयाँ नहोला तर उनको लेखन कला र प्रस्तुतिले गर्दा आम पुस्तक भन्दा पक्कै पनि फरक रहेको छ । लेखकले छोटो समयमा गरेको साहित्यिक भ्रमणले पनि सार्थकता पाएको अनुभूति हुन्छ । उनी नयाँ र रोचक शब्दहरुको खोज गर्छन्, र, त्यसलाई सजिलै प्रतिस्थापन गर्छन । यस संग्रहको नाम पनि यस्तै शब्द हो दाइबुचु । झट्ट हेर्दा नेपाली आफ्नै शब्द जस्तो लाग्ने र, यसको अर्थ सुन्दा मन आनन्दित हुने । हामी बुद्ध जन्मेको देशका मान्छे हौ, तर विश्वको सबै भन्दा ठूलो बुद्धको मुर्ति जापानमा रहेछ, हो त्यहीँ ठूलो बुद्ध मुर्तिलाई त्यहाँ दाइबुचु भन्दा रहेछन् । त्यसकारण पवित्र नामसंग जोडिएको यी नियात्राहरु पक्कै पनि पवित्र छन् । लेखकको जापान यात्रामा बुद्धका पदचाप पच्छ्याउँदै हिडेको यात्रा सार्थक भएको छ दाइबुचुमार्फत ।
दाइबुचुभित्र सम्राटको आत्मा दर्शन, टोकियोको झरी, जापानका केराघरे माचुओ, कामाकुराका बुद्ध, युद्धपोतलाई गुलाफ, ओन्सेनमा नाङ्गानाङ्गै, क्याट क्याफेमा बिरालीसंग आँखा जुध्दा, लामो यात्राः लभ होटलको जात्रा, हिरोसिमामा रोएको मन, क्योटोको किङ्काकुजी, हाइगाको हाँगा, योकोहामाको समुद्र र माचुरी र कोनिचिवा जापान सायोनारा जापान लगायत १३ ओटा नियात्राहरु रहेका छन् ।
नियात्रा केवल स्थानिय परिवेश, कला, प्रकृति, धर्मसस्कृतिसंग मात्र सिमित नरहेर त्याहाँको समग्र परिवेशलाई नियात्रामा अटाउँने कोशिष दाइबुचु मार्फत बजगाईंले गरेका छन् । हुनतः उनको यो भ्रमणको अवधि छोटो रहेको छ, तर पनि पुस्तकको आकारमा पढ्न पाउँनु नेपाली नियात्रा विधामा रमाउँनेहरुलाई गौरवकै विषय बनेको छ । उनले नियात्रालाई प्रयोग गर्न खोजेका छन्, हरेक नियात्रा हाइकुबाट शुरुवात गरेर विचविचमा हाइकु मिसाउँदै अन्त्य पनि हाइकुबाटनै भएका छन् । यस अर्थमा यो नियात्रामा नौलो प्रयोग हो । यसरी गद्य विधामा ठाउँ ठाउँमा हाइकु राखेर लेखिने विधालाई जापानमा हाइबुन भन्दो रहेछन्, र जापानमा यो विधा निकै लोकप्रिय रहेको कुरा यस पुस्तकमार्फत थाह हुन्छ, तर नेपालको लागि यो विधा नौलो नै हो । यसको शुरुवात दाइबुचु मार्फत कृष्ण बजगाईंले गरेका छन् । त्यसकारण यसको उपलब्धी राम्रै मान्नु पर्दछ । हाइकुको उद्गम स्थल जापानमा एउटा हाइकु कविको नाताले उनी लण्डनबाट अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सवमा भाग लिन जापान पुगेका हुन् । यसै अवसरलाई बजगाईँले दाइबुचुमार्फत प्रस्तुत गरेका हुन् ।
हाइकुको सम्वन्ध प्रकृति र मौसमका विम्ब राखेर लेखिने शास्त्रीय शैलीको ५–७–५ गरि सत्र अक्षरको छोटो कविताकै रुप हो । यसबाट जीवन दर्शनसंगै प्रकृतिसंग लुकामारी खेलेर आनन्दित हुन सकिने विधा हो । लेखक पनि हाइकुकार भएको कारणले हाइकु सम्मेलनमा पुगेका हुन् । यसै मेसोमा हाइकुका जन्मदाता माचुओ बासोको गाउँमा पुगेर दंग पर्छन । समुन्द्री किनारा होस या पार्क जताततै हाइकु लेखिएका ढुङ्गाका अक्षरहरु र जापानीहरुको हाइकु, साहित्यप्रतिको स्नेह र नेपालमा साहित्यलाई अनुत्पादक चिजको रुपमा हेर्ने दृष्ट्रिकोणले नमज्जाले थिलथिल्याउँछ लेखकलाई । जे भए पनि हामीले हाम्रो अस्तित्वलाई स्वीकानै पर्छ, मन बुझाउँनुको विकल्प पनि छैन ।
उनी यात्राका क्रममा लेख्छन्ः ‘यात्रामा त्यहाँका कला, साहित्य, संस्कृति र इतिहासलाई देख्न पाएँ । तिनै दृश्य र अनुभूतिका शब्दचित्रहरुको सँगालो हो यो नियात्रासंग्रह दाइबुचु ।’ यात्राको मूल उद्देय भनेको हाइकु सम्मेलन भए पनि यसै मौकामा लेखक समुन्द्री किनारा देखि ओन्सेनमा नाङ्गानाङ्गै नुहाउँन पुग्छन् । क्याट क्याफेमा बिरालीसंग आँखा जुधाउँन पनि पुग्छन्, लभ होटलमा जात्रा गर्न भ्याउँछन् । हिरोसिमामा गएर मन रुवाउँछन् । वास्तवमा उनले आफ्ना नियात्रामा विशिष्ठता कायम गरेकै यीनै कारणहरु हुन् । जहाँ जस्तो स्थानहरुमा पनि छिटै एडजेस्ट हुन सक्नु र त्यहाँको बारेमा सुक्ष्म रुपमा केलाएर शब्दहरुमा उन्न सक्नु नियात्राकारको कला हो, यो पक्षमा लेखक सफल छन् । दाइबुचुमा नियात्राकारको प्रस्तुतिमा कला पक्ष सवल छ र उनले आफ्नो विचार पक्षलाई पनि सवल बनाएका छन् । हाइकु मिर्सित नयाँ स्वादका यी नियात्राहरु नेपाली नियात्रा विधामा अहिलेसम्मकै नौलो प्रयोग हो, यस्तो प्रयोगमा कृष्ण बजगाईं पहिलो नियात्राकार बनेका छन् । छोटो अवधिको उनको जापान यात्राले नेपाली नियात्रा साहित्यमा नौला प्रयोग र पाठकलाई केही समय भए पनि जापान भ्रमण गराउँन सक्ने सार्मथ पक्कै राख्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु