बतासे सहरमा बादलको गेट

- कृष्ण बजगाईं

बतासे सहर शिकागोतिर कार बतासिन थाल्यो । सन्तोष लामिछानेले स्टेरिङ समाएका छन्, कार भित्र छौं डा. भरत लामिछाने र म । नोभेम्बर महिनाको तेस्रो साताको चिसो बिहानमा सूर्यले धर्तिमा पाइला राखिसकेको थियो । माइनस सात डिग्री सेल्सियस तापक्रम भएको कठ्यांग्रिने जाडोमा हिउँको बर्को ओडेको म्याडिसन सहरको सिमाना नाघ्न आटेका थियौं । र हुइँकिदै थियौ माइनस तीन डिग्री सेल्सियस तापक्रम भएको अर्को चिसो सहर शिकागो तिर ।
करिव साढे तीन घण्टाको तुफानी दौड पश्चात शिकागो सहरको गगनचुम्बी भवनको फेदमा सन्तोषले कार रोके । हामी बाहिर निस्कियौं । चिसोले गम्ल्याङ्ग अंगालो हाल्यो । चिसो बतासले कानमा साउती मार्यो । स्वागत गर्यो शिकागोले ।
त्यहीँ उभिएर शिकागोलाई हेर्न थालेँ । मेरो आँखाले सर्लक्क नाप्यो सहरको नक्सा । पढ्यो विकाशको ग्राफ । देख्यो आधुनिकताको चमकधमक । अहा ! विकास र समृद्धिको शिकागो सहर ।
वातानुकुलित कारले तताएको ज्यान चिसो स्याँठ नाचिरहेको सडकमा लम्किन थाल्यो । बाटैमा देखा पर्यो ट्रम्प टावर । अमेरिकाका ब्यापारी राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्यावसायीक गगनचुम्बी भवनलाई छेउबाट हेर्यौ । ट्रम्प टावर भन्दा धेरै अग्लो विलिस टावरको टुप्पामा पुग्न हामीलाई हतार थियो । त्यता नअलमली खल्तिमा हात हालेर लमक लमक लम्किरह्यौं कंक्रिटका जंगलैजंगल ।
कुनै समय संसारको सबै भन्दा अग्लो भवन भनेर नाम कमाएको सियर्स नामक गगनचुम्बी भवन अहिले विलिस टावरको नामले आफूलाई चिनाउन थालेको छ । उचाईमा त्यसलाई संसारका थुप्रै भवनले उछिनी सके । तर पनि त्यसको आकर्षणमा कुनै कमि आएको रहेनछ । उक्त कुरा टिकट काट्ने लाइन र लिफ्टमा पालो पर्खिरहेका उत्सुक अवलोकनकर्ताको भीडमा मिसिएपछि थाहा पाएँ ।
चारसय त्रिचालिस मिटर अग्लो एकसय दश तले विलिस टावरमा जडान गरिएको लिफ्टले मिलिक्कै माथि पुर्यायो । लिफ्टबाट विस्तारै आकाशिनुको राम्ररी अनुभूति गर्न नपाई रकेटको गति जस्तै स्वात्तै टुप्पामा पुगियो । हुन त संसारको सबैभन्दा तिब्र गतिको लिफ्टले ती भीडलाई फुत्तफुत्त माथि नपुर्याउने हो भने तल प्रतिक्षारत भिडले नारा नलगाउलान् भन्न सकिन्न ।
अहो ! आकाशमै पो पुगियो कि क्या हो ? अवलोकनका लागि बनाइएको माथिल्लो तलाको पारदर्शी शिशाबाट बाहिरको दृश्य देखेपछि मेरो मन बोल्यो । बादल त्यहाँ भन्दा कति माथि थियो थाहा पाईन । आकाशको उचाई कति हो अनभिज्ञ छु । तर टावरको सबैभन्दा माथिबाट तल भुईंमा हेर्दा आफू चाहीँ आकाशको टुप्पामा पुगे जस्तो आभास भयो । देखिए सडकमा लिलिपुट जस्ता मानिसहरु सल्बलाई रहेका । बग्रेल्ती थिए आकिसन खोजेका भवनका छानाहरु । आँखैमा टासिए नजिकै रहेको विशाल मिचिगन लेकको पानी । डर र आनन्द मिस्रित अद्भूत अनुभूतिमा रम्न थालेँ ।
‘दाइ, यहाँबाट सफा दिनमा असी किलोमिटर परसम्मको दृष्य देखिन्छ ।’ हामी आएको म्याडिसन सहरतिर औंल्याउँदै सन्तोषले भने ।
सन्तोषको कुराले उत्सुकता थप्यो । चारैतिर घुमिघुमि हेर्न थालेँ । पावरवाला चस्माबाट चिहाएर पर निकै परको दृश्यलाई आँखाले खिचेर ल्याएँ । र हृदयमा सँगाल्न थालेँ । त्यहाँबाट गगनचुम्बी भवनहरु, अग्ला चिम्नीबाट धुँवाको मुस्लो फालिरहेका कलकारखानाहरु, चारैतिर फैलिएका माकुराको जालो जस्ता सडक, उर्वर खेतका फराकिला फाँटहरु, पानी जहाज चलिरहेको मिचिगन लेक, आकाशिदै गरेका हवाइजहाजहरु सबैसबै देखेँ । बादलको छेउबाट धित मरुञ्जेल शिकागो सहर र त्यससँग जोडिएका अन्य सहरलाई हेरेँ । एकछिन् पश्चात बादलकै गेट हेर्न लिफ्टबाटै भुइँमै झर्यौं ।
बतासे सहरमा बादलको गेट ? सुन्दै पत्यार नलाग्ने बादलको गेट हेर्न निस्केका थियौं । गगनचुम्बी भवनको फेदैफेद सडक पेटी हुँदै हामी मिलेनियम पार्कलाई गन्तब्य बनाएर गोडा चालिरह्यौं ।
वास्तवमा शिकागो उस्तो बतास चल्ने सहर होइन । म आफैले पनि बेतोडको बतास अनुभूति गर्न पाइन । तथ्यांक अनुसार शिकागो भन्दा बढी बतास चल्ने सहर धेरै छन् अमेरिकामा । तर शिकागोमा बेस्सरी बतास नचले पनि बतासे सहरको उपनाम पाएको छ । सोही नामले आफूलाई चिनाउन चाहान्छ । गर्व गर्दो रहेछ बतासे सहर भनेर ।
‘हावा न चली पात हल्लिदैन’ भन्ने गरिन्छ । बतासे उपनाम पाउनुको रोचक कारण रहेछ । शिकागोले बतासे सहरको नाम पाउनुमा राजनीतिक नेताहरुको योगदान थियो । उन्नाइसौं शताब्दीमा त्यहाँका नेता नेपालका नेता जस्तै हावा कुरा गर्दा रहेछन् । विभिन्न मुद्धामा गरमागरम वहस गर्ने तर काम नगर्ने नेताको कुरा जनताका लागि बतासे गफ हुने नै भए । जनता माझ बतासे तमासा देखाउने पार्टीका नेतालाई ब्यंग्य गर्दै एक पत्रकारले दिएको उपनामलाई सहर्ष स्वीकार गरेछ शिकागोले ।
बेतोडको बतास नचल्ने अत्याधुनिक र सुन्दर सहरले बोकेको बतासे उपनाम मलाई मन परेन । त्यसैमा रमाई रहेको शिकागोको उपनाम म घुमन्तेलाई मन नपरे पनि के फरक पर्छ र ? अन्ततः मैले पनि बतासे नामलाई नै सदर गरिदिएँ ।
पैदल यात्रामा बतासिदै मिलेनियम पार्कमा प्रवेश गर्यौ । प्रतिबिम्ब उतार्ने टलक्क टल्केको विशाल आकृतिलाई मानिसका भीडले घेरेको देखियो । के के न होला भनेको त त्यही नै रहेछ बादलको गेट । अर्थात ‘क्लाउड गेट ।’
अजंगको स्टेनलेस स्टिलको मूर्ति कलाले कसरी बादल जस्तो आकार र वजन विहिनको नाम पायो ? त्यसलाई किन बादल गेट भनिएको होला ? मनमा प्रश्नको बादल उड्न थाले माथिमाथि ।
प्रकृति र कलाको अनुपम संगमको रुपमा रहेको त्यस चम्किलो आकृतिमा दृष्टि दौडिए । त्यसमा प्रतिबिम्बित विचित्र खालको आफ्नै आकृति विस्मित नेत्रले हेर्न थालेँ । त्यसलाई स्पर्श गर्न मेरा हात सक्सकाए । तर म रोकिएँ ।
वरपरका गगनचुम्बी भवन, पार्क, मानिसको भीड त्यस आकृतिमा प्रतिबिम्बित भएको थियो । त्यसलाई निकैबेर ध्यानपूर्वक हेरिरहेँ । त्यसको असी प्रतिशत क्षेत्रफलमा आकाश प्रतिबिम्बित भएको देखेँ । आकाशमा चलिरहेका बादलको प्रतिबिम्ब त्यहाँ देख्दा दोस्रो आकाश देखे जस्तो भयो ।
त्यस विशाल आकृतिको मुनिबाट वारपार गर्न मिल्दो रहेछ । मानिसहरु आउजाउ गर्दैगरेको देखेँ । म पनि त्यसको मुनिबाट छिरेर अर्को तर्फ निस्किएँ । आकाशको प्रतिबिम्ब छपक्कै टाँसिने त्यसको मुनिबाट जाँदा बादलकै गेट पार गरे जस्तो अनुभूति भयो । सोही कारण त्यसलाई ‘क्लाउड गेट’ नाम दिइएको रहेछ । एउटा भ्रम भनौ या प्रतिबिम्ब उतार्दा त्यसले बिम्बात्मक नाम पाएको थाहा पाउँदा उदेक मानेँ । त्यसको न्वारान गर्ने कुनै कवि त होइनन् ? यस्तो कल्पना गर्ने शक्ति कवि बाहेक अरु कोसँग हुन सक्ला र ? कल्पनाका उडान भरिएका कविता केही पंक्तिहरु अचानक मेरा स्मृतिमा बादल झैं सल्बलाउन थाले ।
बहु प्रतिविम्ब उतार्ने त्यस आकृतिमा सयौं मानिसहरु सेल्फी खिचिरहेका थिए । म पनि के कम ? मेरो मोबाइल फोन थुप्रै सेल्फीले भरिए । अवलोकनकर्ताहरुको सेल्फी प्रेम देख्दा अलिकपछि त्यसको नाम ‘क्लाउड गेट’ होइन ‘सेल्फी गेट’ नहोला भन्न सकिन्न ।
त्यस बादलको गेटलाई एक फन्को लगाएर हेरेँ । जताबाट हेरे पनि त्यसले सामुन्ने जे छ त्यसैको प्रतिबिम्ब उतार्दथ्यो । तर अलिक मुनिको भागले भने विचित्र आकारको प्रतिबिम्ब उतार्दथ्यो । त्यसको नजिक, टाढा र मुनि जाँदा मेरो बहुरुपका तस्बिरहरु उतारेर चकित पार्यो । घरि सग्लो, घरि अग्लो, थेप्चे, नेप्चे, डल्ले, पुड्के, कार्टुन चित्रकारको सिर्जना जस्ता आफ्नो विविध रुप देखेर खित्का चल्यो । आफ्नै रुप हेरेर दंग पर्नेहरु त्यहाँ पुगे भने तिनीहरु कि त चिन्तित होलान् कि त मुस्कुराउलान् । दंग पार्ने रुप त्यसले नउतार्ने रहेछ ।
त्यही खित्काबीच अमेरिका निवासी डायस्पोरिक साहित्यकार सन्तोष लामिछानेले समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित आफ्नो उपन्यास ‘अल्टिमेट आकाश’ त्यहीँ सार्वजनिक गरे । अवलोकनकर्ताहरु त्यस सुखद क्षणको साक्षी थिए । हामीले थपडी बजायौं । बधाई दियौं । प्रतिभावान युवा साहित्यकार सन्तोषको मुहार खुशीले उज्यालियो । ‘अल्टिमेट आकाश’ नामक कृति बादलको गेटमा सार्वजनिक हुनु अनौठो संयोग थियो । नेपाली साहित्यको कृति बादलको गेटमा सार्वजनिक भएको पहिलो घटनाले हामी आल्हादित बनायो ।
जाडो मौसम भर्खर मात्र सुरु भएको थियो । चारैतिर चिसोको साम्राज्य ब्याप्त थियो । चिसोले पार्कका फूल र बोटविरुवाहरु कठ्याङ्ग्रिएका थिए । चराहरुले कुनै गीत गाएका थिएनन् । मानिसको चहलपहल बिल्कुल थिएन । हर्षित मन लिएर हामी विशाल पार्कमा रहेको बकिंघम फाउन्टेनतिर लाग्यौं ।
विचरा बकिंघम फाउन्टेन ! सुख्खा फाउन्टेन देखेर माया लाग्यो । विशाल पानीको भण्डार मिचिगन लेक नजिकै रहेको बकिंघम फाउन्टेन तिर्खाएको थियो । पानीको फोहरा फाल्ने फाउन्टेन आफै प्यासी थियो । टिभीमा देखेको कलात्मक बकिघंम फाउन्टेनबाट आकाशिने पानी देख्न पाइएन । प्रकाश र संगीतको तालमा हुने पानीको नृत्यमा आनन्दित हुन पाइएन । मन खिस्रिक्क भयो । अति चिसोको कारण पानी जम्ने माइनस तापक्रमले फाउन्टेनमा जाने पानी बन्द गरिएको हो कि भनेर अनुमान गरेँ ।
पानी नभए पनि त्यस सुख्खा फाउन्टेनलाई एक चक्कर लगाएँ । संसारको ठूला मध्यको एक बकिघंम फाउन्टेन ‘आर्ट डेको स्टायल’मा बनाइएको रहेछ । युरोपका अति प्राचिन कलात्मक फाउन्टेनको झझल्को दिलाउने त्यसको चार दिशामा ग्रिक मिथक कथामा उल्लेख भएको समुद्री घोडाको कलात्मक मुर्ति थियो । त्यस फाउन्टेनले पानीको फोहरा फालिरहेने दृश्य हेर्न पाएको भए म कति मुग्ध हुन्थे होला ? आकाशिने पानीको फोहराको कल्पना गर्दै शान्तसँग सुतेको मिचिगन लेकको पानी तिर लाग्यौं ।
मिचिगन लेकको किनाराबाट निकै परसम्म पानीमा माटो थपेर बनाइएको क्षेत्रलाई नेभी पियर भनिदो रहेछ । सोतो परेको नेभी पियर मिचिगन लेक भित्रसम्म पसेको थियो । त्यहाँ गाडी दौडिरहेका थिए, मानिस लम्किरहेका थिए । वर्षौदेखि ती दृश्य हेरिरहेको मिचिगन लेक मौन थियो ।
मनोरंजन स्थल र बन्दरगाहका लागि बनाइएको उक्त क्षेत्र पहिले म्युनिसिपल पियर नामले प्रचलित थियो । प्रथम विश्व युद्ध ताका नौसेनाले सुरक्षा दिएकाले अलिकपछि त्यसलाई नेभी पियर भन्न थालियो ।
नौसेनाले बुट बजार्दै हिँडेको ठाउँमा हामी चाहीँ विस्तारै खुट्टा घिसारिरहेका थियौं । मेरा थकित गोडा भन्दा फुर्तिला आँखा दौडिरहे थिए चारैतिर । धित मरुञ्जेल नेभी पियरको चक्कर लगायौं । त्यहाँ भएको पसल, रेष्टुरेण्ट, थेम पार्क, कन्सर्ट स्थल, थिएटर, इन्डोर बोटानिकल गार्डेन, चिल्ड्रेन म्युजियम, वाटर ट्याक्सी, क्रुजको यात्रा लगायतका थुप्रै सेवा र सुविधाले फुर्सदिला मानिसहरुलाई दिनभर अल्मलाउने रहेछ । हामी तिनै जनालाई इन्डोर बोटानिकल गार्डेन मन पर्यो । त्यहाँ निकैबेर रमायौं ।
फर्कदै गर्दा बाटोमा अचानक शेक्सपियर थिएटर देख्दा मेरा पाइला रोकिए । बेलायतमा जन्मेका संसार प्रसिद्ध साहित्यकार शेक्सपियरको नाममा शिकागोमा विशाल थिएटर देख्दा आनन्दित भएँ । शिकागो शेक्सपियर थिएटर नाफारहित अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्ने संस्था रहेछ । त्यसले वर्षमा छ सयवटा जति नाटक, गीतसंगीत लगायतको कार्यक्रमको आयोजना गर्दो रहेछ । शेक्सपियरको नाटक समेत नियमित देखाइने भएकोले शेक्सपियर थिएटर नाम राखिएको रहेछ । बेलायतमा अवस्थित शेक्सपियरको जन्मघर साहित्यकारका लागि तिर्थस्थल सरह छन् । महँगो प्रवेश शुल्क तिरेर अवलोकन गर्नेको भिड दिनहुँ देख्न सकिन्छ । उनकै नाममा संचालित शिकागोको उक्त थिएटरमा पनि कार्यक्रम हेर्न अग्रिम टिकट किन्नु पर्दछ । एकजना साहित्यकारको प्रसिद्धी संसारभर फैलिएको देख्न पाउँदा ‘विद्वान सर्वत्र पूज्यते’ भनेको यही त होला नि जस्तो लाग्यो ।
शिकागो सहर हेर्न अझै बाँकी नै भए पनि सर्सति हेरिसकेका थियौं । उसो त शिकागोलाई जल, थल र आकाशबाट अवलोकन गर्न सकिने सुविधा उपलब्ध छ । हाम्रा लागि पानीमा र्तैरिरहको पानी जहाज र आकाशमा फन्को लगाउने हेलिकप्टर तयार अवस्थामा थिए । तर हामीसँग प्रशस्त समय थिएन । हतारमा रहेका यात्री थियौं । अन्ततः थल यात्रालाई निरन्तरता दिनु पर्ने बाध्यता थियो । सन्तोषले कार स्र्टाट गरे ।
बाटामो देखियो उल्टो बग्ने शिकागो नदी । शिकागो सहर हुँदै बहने नदीको प्राकृतिक अवस्थालाई जबर्जस्ती बदलेर उल्टो दिशामा बहने नदी बनाइएको अपत्यारिलो सत्य मेरो सामु थियो । प्रकृति विपरित जाँदा केही असर त पर्नु पर्ने हो जस्तो लागेको थियो । तर त्यस्तो केही भएको रहेनछ ।
शिकागो सहरलाई खानेपानी उपलब्ध गराउने मिचिगन लेकमा सहरको केन्द्र हुँदै बहने शिकागो नदी मिसिएर पिउने पानीको श्रोत फोहर भएछ । त्यसपछि नदीको बहावलाई उल्टो दिशा तर्फ बहने बनाइयो । आज भन्दा एक सय बीस वर्ष अघि बनाइएको अपत्यारिलो र महत्वकांक्षी योजनालाई आजसम्म पनि इन्जिनियरिङको महान उपलब्धीको रुपमा लिइन्छ । त्यसको योजनाकार र कार्य सम्पन्न गर्ने सबैलाई मनबाटै नमन गरेँ ।
संसारमा जलश्रोतको सबै भन्दा धनी देशको नेपालको नागरिक सुल्टो बहने नदीको पानी घरको धारा र खेतमा नपुग्दा सहर र गाउँ काकाकुल भएको आफ्नै आँखाले देखेको छु । पत्रिकामा पढेको छु । त्यो सम्झि ल्याउँदा घरि खिन्न हुन्छु । घरि रिशले मुरमुरिन्छु ।
सुल्टो बहने नदीको पानी घरको धारा र सुख्खा खेतमा पुर्याउने सामान्य काम हो । नदी उल्टोतिर फर्काउनु जस्तो कठिन काम त हुँदै होइन । इमान्दारिता र इच्छा शक्ति हुने हो भने घरको धारा र सुख्दा खेतमा पानी सजिलै पुर्याउन सकिन्छ । यस्तै कुरा मनमा खेल्दै गर्दा शिकागो नदीले मलाई गिज्याएको अनुभूति भयो । कुरीकुरी गरे जस्तो लाग्यो ।
घडी हेरेँ समयले उर्दी जारी गरिसकेको थियो । प्लेन छुट्ला कि भन्ने त्रासको बतास चल्यो मन भित्र । समयको सारंगी बज्न थाल्यो । नदीले गीत गुन्गुनायो । फुर्तिला सन्तोषले गाडीको स्टेरिङ समाएका थिए । गाडी नाच्न थाल्यो सडकैसडक । एकछिन्पछि शिकागो एयरपोर्ट जाने हाइवेमा गाडी बतासिन थाल्यो बेस्सरी ।
शिकागो सहरमा न बेस्सरी बतास चल्छ न त्यहाँ साँच्चैको बादलको गेट नै छ । बतासे कुरा गरेरै शिकागो सहरले संसारभरका पर्यटकलाई आकर्षित गरेको रहेछ । पर्यटक आकर्षण गर्नका लागि आफ्नो ब्राण्ड, नाम र उत्पादन बेच्न सिपालु शिकागोले साँच्चै नै मोहनी लगायो ।
‘बतासे सहर तिमीलाई भेट्न फेरि पनि आउने छु’– बिदाईको हात हल्लाएँ ।
बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु