सब्जीवाला

- राजु “हिमांशु”

स्थानान्तरित भएर म अहिले दुर्गापुरमा कार्यरत छु । गर्मीमा धेरै असजिलो भइरहेको छ । तर नौकरीजीवी हुनुको नातामा त्यो असजिलोपन उपभोग गर्नुपर्ने हुन्छ ।ऊ भने पहिलेदेखि नै कार्यरत छ त्यहाँ । चतुर्थ श्रेणीमा पर्ने कर्मचारी ऊ । सात महिनापछि ऊबारे धेरै कुरा थाहा पाएँ । उसको नाम जयकिशन हो । ऊ बाँकुड़ाको एउटा गाउँमा बस्छ ।त्यहाँबाट दिनहुँ आफ्नो भटभटेमा बस बिसाउनीसम्म आउँछ । घरबाट भटभटेमा त्यहाँ आइपुग्नु उसलाई पन्ध्र मिनट लाग्छ । छ रुपियाँ तिरेर दिनभरि बस बिसाउनीको एक कुनामा भटभटे राख्छ । त्यसपछि एउटा ठूलो झोला लिएर सब्जीहरू बटुल्दै झोलामा हाल्छ उसले । एक झोला सब्जी बोकेर बसमा चढ़ी दुर्गापुरतिर लाग्छ ऊ । एक घण्टापछि ऊ दुर्गापुर आइपुग्छ र सब्जीहरू बेचेर कार्यालयतर्फ लाग्छ। सोमबारदेखि शुक्रबारसम्म सधैं त्यसो गर्छ उसले । कार्यालयमा आइपुगेर बाबूहरूको टेबल पुछी टेबल-टेबलमा पानीको बोतल राखिदिन्छ उसले । तीन-चारवटा अनुभागमा एकजना बहुकार्य कर्मीको रूपमा कार्यरत छ ऊ। तेइस वर्ष भइसक्यो त्यसरी काम गरेको उसले । बेलुकी छ बजेपछि ऊ अत्तालिन्छ घर जान। अनुभागको एक कुनामा राखेको झोला बोकेर बायोमेट्रिक मसिनमा औलाको छाप लगाएपछि ऊ बस बिसाउनीतर्फ दगुर्छ । दुर्गापुरबाट बसद्वारा पुग्छ अर्को बस बिसाउनी ,जहाँ उसले बिहान भटभटे राखेको हुन्छ अनि त्यहाँबाट भटभटेमा चढ़ेर घर पुग्छ राति। फेरि भोलिपल्ट त्यही दिनचर्या दोहोरिन्छ शुक्रबारसम्म । शनिबार र आइतबार कार्यालय बन्द हुन्छ। ऊ शनिबार आफ्नो खेतबारीमा काम गर्छ अनि आइतबार भाइको निम्ति बजारबाट चाहिने सामान ल्याइराखेर यता-उता डुल्न जान्छ झोला
भिरेर ।
गाउँमा ऊ सब्जीवाला भनेर चिनिन्छ। गाउँका कसैलाई पनि थाहा छैन उसले नोकरी गर्छ भनेर । त्यही पनि सरकारी नोकरी । ग्रामवासीहरूले उसलाई सब्जीवाला नै ठान्छन्। ऊ पनि सब्जीवालाको अभिनय गर्न पोख्त भइसकेको छ । उसले गाउँमा सबैलाई सब्जी बेच्छु र यही मेरो व्यवसाय हो भनी ढाँटेको छ । अफिसमा काम गर्छु भनेर कसैलाई भनेको छैन । उसले त्यसरी किन ढाँट्छ त्यो उसैलाई थाहा छ। तलबले पगितो भए पनि ऊ सब्जी बेच्छ । उसले कहिले राम्रो लुगा लगाएर चिटिक्क परेर हिँडेको छैन । सब्जीवालाको साधारण पहिरनमा ऊ अफिस आउँछ । अफिस आएपछि यूनिफार्म लगाउँछ र आफ्नो काम गर्छ।
एकदिन दिउँसोको दुई बजेतिर अफिसको गेटबाहिर एकजना मान्छेलाई उसले गाली गर्दै थियो।
“हुँदैन। हुँदैन। पूरा दिनुपर्छ। नत्र पुलिसलाई भन्छु। “ ऊ बोल्दैथ्यो ।
“होइन। पर्सि दिइहाल्छु अरू।” अर्को मान्छे बोल्यो।
“पैसा फल्छ ? हँ ? लिएपछि दिनु जान्नु पर्दैन ? हँ? समयमा दिनुपर्छ भनेपछि दिनुपर्छ। तिम्रो मात्रै खाँचो छ ? मेरो छैन ? म जान्दिनँ । भरे छ बजे भित्र ल्याएर देऊ।” ऊ रिसाउँदै थियो।
“ ल ल । म कोसिस गर्छु। नरिसाऊ। ” त्यो मान्छे बोल्यो ।
“कोसिस होइन। पक्का देऊ । मलाई चाहियो आजै । जाऊ गएर लिएर आऊ। जाऊ। ”
ऊ बोल्यो ।
त्यो मान्छे चुपचाप गयो। उनीहरू बोलेका मनोजले सुनिरहेको थियो। जयकिशन कार्यरत कार्यालयकै किरानी हो मनोज ।
मनोजले भन्यो-“एइ ! के भयो?”
ऊ बोल्यो-“होइन। केही भएन।”
“ढाँट्छस्? मलाई थाहा छ त।” मनोज बोल्यो।
“के थाहा छ?” उसले सोध्यो।
“तैले सुदमा पैसा दिन्छस् भनेर मलाई थाहा छ । किन पैसा दिएन त्यसले?” मनोज बोल्यो।
“होइन,होइन। म कहाँ सूदमा पैसा दिन्छु ?मेरो त्यत्रो पैसा कहाँ छ र सूदमा पैसा
दिनु ? आफै त महादेव! थत्! हावाको कुरा नगर।“ ऊ बोल्यो र गेटभित्र पस्यो । मनोज हाँस्दै पछिपछि लाग्यो।
कार्यालयमा सबैले उसलाई जिस्काउने गर्छन्। जिस्काइको प्रसङ्ग हुन्छ उसको बिहे। पचास नाघेर पनि उसले बिहे गरेको छैन। तर सबैले उसले स्वास्नी लुकाएर राखेको छ भनेर जिस्काउँछन् । ऊ बिच्किन्छ। रिसाएर एकक्षण हराउँछ कार्यालयबाट । खोज्दाखोज्दा हुन्छ उसलाई । आएपछि फेरि सबैबाट गाली खान्छ उसले यसरी—
“कामको बेलामा कहाँ गएको थियौ ?साहेबलाई कम्प्लेन गरिदिन्छु। ”
“कामचोर ! भाग्छस् ? सरलाई भनिदिन्छु। ”
“अब चै लेखेर दिनुपर्ने रहेछ तिम्रो विरूद्ध।एउटा काम ठीकसंगले गर्दैन। ”
ऊ बोल्छ –“पिसाब फेर्नु पनि जानु पाउँदैन?”
यस्तो कुरो दिनहुँ सुन्छु म पनि ।
एकदिन सहकर्मी मनोजले भन्यो मलाई –“बड़ाबाबू , उ: त्यहाँ त्यसलाई हेर्नुहोस् त । ”
फर्केर हेरें। जयकिशन उर्फ सब्जीवाला कुनामा बसेर मोबाइल फोनमा केही हेर्दै थियो।
“बड़ाबाबू , यो जयकिशन कम्तीको चलाक छ । यसको पैसा पनि पूरा छ । घरमा भाइबाहेक कोई छैन यसको। सूदमा पैसा दिन्छ । सूदबाट नै महिनामा धेरै कमाउँछ। तर कहिले चिटिक्क भएर बस्दैन।”
मनोजले भन्दै थियो । म चुपचाप सुन्दै थिएँ । कसैको निन्दा गरेको मन नपर्ने मलाई असजिलो भइरहेको थियो मनोजको कुरोले ।
“एइ जयकिशन,यहाँ आइज़। बड़ाबाबूले बोलाउनु हुँदैछ। ” मनोज करायो।
म जिल्ल परेँ। कारण मैले उसलाई बोलाएकै थिइनँ । जयकिशन उठेर सरासर म भएतिर आयो र भन्यो –“भन्नुहोस् । ”
मैले भनिदिएँ—“यो फाइल भित्र विजय सरकोमा लगिदेऊ। ”
“हुन्छ” भनेर उसले फाइल उठाएर जान लाग्दा मनोजले भन्यो—“एइ जयकिशन,आज कति लाभ भयो?”
“थत्! हावाको कुरा नगर” भन्दै जयकिशन गयो।
मनोज बोल्यो—“सूदबाट मात्रै महिनामा कत्ति कमाउँछ। मान्छेले समयमा सूद दिएन भने कस्तो रिसाउँछ र पुलिसको डर देखाउँछ । गाउँमा त्येत्रो जमिन छ । घर छ। नोकरी छ। फेरि सूदमा पैसा दिएर पैसा नै कमाउँछ। बिहे गरेको छैन । एउटा भाइ मात्र छ। ब्याङ्कमा कति लाख पैसा छ । तर नाथे सब्जीवाला भएर हिँड्छ।”
मैले भनेँ—“साइड इन्कमको लागि होला।”
“एक झोला सब्जी बेचेर कहाँ साइड इन्कम हुन्छ बड़ाबाबू! यसले त सब्जीवालाको अभिनय पो गरेको त ।” मनोजले भन्यो।
“किन?” मेरो प्रश्न ।
“वास्तवमा बड़ाबाबू,जयकिशनको गाउँमा बेकार युवकहरूको एउटा गुट छ। जून गुटले वर्षेनी दस-बीस हजार गरेर सरकारी नोकरी गर्नेहरूबाट चन्दा उठाउँछन्। त्यो गुटलाई सरकारी नोकरीजीवीले त्यसरी चन्दा दिनैपर्छ। दिएन भने किसिम बदमासी गरेर सताउँछन्। यसर्थ त्यही डरले यो जयकिशनले ढाँटेको। त्यो गुटलाई छल्न , ढाँट्न र वार्षिक दस-बीस हजार जोगाउन ऊ सब्जीवाला भएर सब्जी बेची टोपल्छ । लुगाफाटा पनि राम्रो लगाउँदैन। सधैं एक झोला सब्जी लिएर आऊजाऊ गर्छ। यस्तो अभिनय गरेको धेरै भयो बड़ाबाबू। जयकिशन चलाक-चतुर मान्छे हो। हामीजस्तोलाई बेच्छ ।”
मनोजले जे भन्यो त्यो सुनेर म छक्क परेँ । अहिले ऊ सब्जीवाला हुनुको कारण पनि स्पष्ट भयो।
आज पनि बेलुकी छ बजेपछि अत्तालियो जयकिशन र बायोमेट्रिक मसिनमा औलाको छाप दर्ता गराएर फटाफट बस बिसाउनीतिर लाग्यो ।
मेरो आँखामा ऊ बिहान आउँदा र जाँदा उसको हातमा झुण्डिएको झोला हल्लिरहेको दृश्य आइरहेको थियो लगातार ।

डाउहिल
00000000

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु