जापानका स्मृतिविम्बः दाइबुचु

- प्रभा बराल

अविश्रान्त भावले यात्रा गरिरहने व्यक्तिहरुलाई नै सम्पत्ति प्राप्त हुन्छ, विद्धान र श्रेष्ठ व्यक्ति पनि सधैँ एकै ठाउँमा बसिरहदाँ तुच्छ ठानिन्छन्, त्यसैले आपूmलाई एक्ला र असहाय नठानी तिमी हिँडिरहूँ, हिँडिरहूँ । ऋग्वेदको यो ऋचाले यात्राको महत्वलाई दर्शाउँछ । हामी सबैले यात्राको महत्व बुझेर सकेसम्म यात्राशील बन्न सक्ने हो भने जीवनलाई नजिकबाट चिन्न सक्थ्यौँ । अझ घुमेका कुरालाई सिलसिला मिलाएर लेख्न सक्ने हो भने साहित्यका पाठकलाई अझ दरिलो खुराक बन्ने थियो । नयाँ नयाँ ठाउँका बारेमा लेखिएका यात्रा अनुभूतिले घुम्ने मानिसले प्राप्त गरेको स्वर्णिम पलको दस्तावेज त कायम रहन्छ नै यसले पाठकलाई समेत नयाँ नयाँ सूचना र जानकारी प्रदान गर्दछ । कृष्ण बजगाई स्थापित नियात्राकार हुन् । उनी कर्मका हिसाबले लण्डन बस्छन् उनको नियात्रालेखनप्रति अत्यन्त रुचि छ । उनी कहिले “युरेशियाको स्पर्श” र “भायासाक्रा” जस्ता नियात्रासंग्रहबाट पाठकलाई बेलायत र युरोपका विभिन्न सहर घुमाउँछन् कहिले “दाइबुचु” नियात्रासंग्रहबाट जापान घुमाउँछन् । कतिलाई लामो यात्रा सास्ती र झमेलाको पर्याय भन्ने लाग्दो हो । तर कृष्ण बजगाई यात्राभित्र पनि सुन्दरता र उत्सुकताले ढकमक्क फुलेको काव्यकानन देख्छन् त्यसैले त पछिल्लो कृति दाइबुचुमा हाइकु र नियात्राको सम्मिश्रण गरेर पृथक शैलीको कृति तयार पारेका छन् ।
यिनी “अन्तराष्ट्रिय नेपाली हाइुक महोत्सव” २०१८ मा भाग लिन बेलायतबाट टोकियो आएका थिए । हाइकुको जन्मथलो जापानबारे उनको मस्तिष्कमा अनेक आकृतिहरु बनेका थिए । हुन त बेलायतजस्तो सम्पन्न राष्ट्रबाट उनले अर्को विकसीत देशमा पाइला चाल्दा सुविधायुक्त भौतिक जीवनसँग सम्बन्धित विकासका पूर्वाधारहरुसँग खासै फरक त भेट्टाएनन् होला तर पनि विश्वमैै पृथक पहिचान राख्न सफल जापनीजहरुको जीवनशैलीमा भने आफ्नो छुट्टै पहिचान छ, संसारमै अनुशासित र सभ्य नागरिकको रुपमा आपूmलाई चिनाउन सफल जापानीजहरुको संस्कार, सभ्यता र युद्धस्तरमा प्रविधि सम्पन्नता कायम गर्ने जापानको जति प्रशंसा गरे पनि कमै हुन्छ, यी कुरालाई बडो गम्भीरतापूर्वक अध्ययन गर्छन नियात्राकार । संसारकौ सबैभन्दा धेरै जनसंख्या भएको महानगर टोकियोको शहरमा आपूmलाई पाउँदा उनी दंग पर्छन् । जापानी सुन्दरी महिला देख्दा उनीहरुको सौन्दर्यमा वशीभूत भएर हाइकु सिर्जना गर्दछन् ।
बैसको भारी
छाताभित्रकी गोरी
कर्के नजर ।
जापानको जेब्राक्रसमा भएको भीडभाडबाट आत्तिएर नियात्राकारकी जापनीज साथी कुमीले वैकल्पिक बाटो डो¥याउँछिन् तर नियात्राकार यति प्रसिद्ध देशको जेब्राक्रसमा आफना पाइला राख्न पाएँ भनेर आपूmलाई भाग्यमानी महसुस गर्छन । कुमी साथीले नियात्राकारलाई जापनीजहरुको बिरालो मोहबारे बताएपछि एक दिन नियात्राकार क्याट क्याफे जान्छन् र कालो बिरालोसँग आँखा जुधाउँछन् । नेपालमा अवसगुनका रुपमा हेरिने कालो बिरालो जापानमा भने अत्यन्त सगुनका रुपमा हेरिन्छ । जति सम्पन्न मुलुक भएपनि जापानमा पनि अन्धविश्वास त रहेछ आखिर भन्ने उनलाई लाग्छ । किमोनो लगाएका मानिस खासै नदेखेपछि नियात्राकार आफ्नी साथी कुमीलाई सोध्छन््, किमोनो लगाउन पनि झन्झट र महंगो पनि भएका कारण विशेष परिस्थितिमा मात्र किमोनो लगाउने कुरा कुमीले गर्छिन् । शिबुया स्टेशनमा रहेको बफादार कुकुर हाचिको शालिक हेर्न उनी जुर्मराउछन् । फिल्ममा मात्र सुनेका उनले प्रत्यक्ष हाचिको शालिक भेट्न पाउँदा अत्यन्त खुसी बन्छन् । आफले सुनेका ठाउँहरुमा सशरीर घुम्न पाउँदाको सन्तष्टि शब्दहरुमा उर्तान गा¥हो भएको कुरा पाठकले अनुमान लगाउन सक्छ । बुद्ध धर्मको बारेमा जापनीजहरुको आस्था र विश्वासलाई पनि उनले नजिकैबाट नियालेका छन् । कामाकुरा भन्ने स्थानमा अवस्थित ठूलो बुद्ध अर्थात जापनीज भाषामा दाइबुचुको अवलोकनपछि बौद्ध संस्कृतिका बारेमा धेरै ज्ञान बटुलेका छन् । जापनीजहरुको पुरानो धर्म शिन्तो धर्मका बारेमा बुझ्न तथा नेपाली शैलीका मन्दिरहरुलाई पनि उनले चाख मानेर अध्ययन गरेका छन् । कतिपय ठाउँमा भाषिक समस्याका कारण पर्याप्त जानकारी पाउन सकेका छैनन भने कतिपय ठाउँमा पहिलेदेखि नै जापानमा बसोबास गर्ने नेपालीहरुले बुझेको आधारमा भनेका कुराहरुलाई नै पत्याउन विवश भएका छन् ।
लेखकलाई सबैभन्दा ठूलो हुटहुटी हिरोशिमा पुग्नलाई भएको छ । हिरोशिमाबारे संसारले थाहा पाएको छ, यस्तो विश्वप्रसिद्ध ठाउँमा जाने अधिक चाहना सबैलाई हुन्छ, त्यसबाट नियात्राकार किन अलग हुन सक्थे र ? टोकियोबाट ओशाका हुँदै हिँडेको साहित्यिक टोलीमा यात्रारत नियात्राकार कतिबेला हिरोशिमा पुगुलाँ र त्यसको भूमिलाई नियाल्न पाइएला भनेर व्यग्र बनिरहेको आशय पाठकले सजिलै अनुमान लगाउन सक्छौ, जब उनी हिरोशिमा पुग्छन् सबैभन्दा बढी भावुक उनी संग्रहालयको अवलोकनपछि हुन्छन् ।
सन् १९४५ मा अमेरिकाले बम हानेर क्षतिग्रस्त बनेको हिरोसिमा शहरको अवस्था अत्यन्तै कारुणिक थियो । बम आक्रमणपछिको त्रासद अवस्थालाई झल्काउने हिसाबले विभिन्न जीवन्त तस्वीरहरु संग्रहालयमा सुरक्षित राखिएको थियो । बम विष्फोटनको बेला जापानी नागरिकले कति भयानक क्षणको सामना गरे होलान् भनेर उनको मन अत्यन्तै दुखेको देखिन्छ । बुद्धको देशमा जन्मिएका लेखकलाई त्यो हिंसा र बर्बरतालाई पचाउनै नसक्ने लाग्छ । यही बम आक्रमणको कारणले अमेरिका र जापानको सम्बन्ध त पानी बाराबार होला भन्ने अनुमान गरेका लेखक जब जापान र अमेरिका अहिले घनिष्ट मित्र राष्ट्र बनेका छन् भन्ने सुन्दा अचम्ममा पर्छन । युद्धबाट थिलथिलो परेको जापानलाई उकास्ने काम अमेरिकाले नै गरेको थियो । आज अंग्रेजी भाषा बोल्ने मानिस र अमेरिकी नागरिक देख्नेबित्तिकै जापनीज नागरिकको शिर श्रद्धाले उचालिएको कारण पनि थाहा पाउँछन् । हिरोशिमा पछि क्योटो शहरमा पुग्दा उनी त्यसको कलाकौशल र स्थानीयताले मोहित भएका छन् । विश्व सम्पदा सूचीमा रहेको सुनैसुनको मन्दिर किङकाकुजीको दर्शन र अन्य ऐतिहासिक महत्वका स्थलहरु हेर्दा उनले पढेको र क्योटोभन्दा देखेको क्योटो अझ जीवन्त रहेको महसुस गरेका छन् ।
जापानको पुरानो राजधानीका रुपमा परिचित क्योटो साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण रहेछ भन्ने कुरा उनले थाहा पाउँछन् । जति नै विकसित देश भए पनि अमेरिकामा जस्तै मगन्ते जापानमा पनि रहेको र तिनलाई वर्षको एकपटक कानागावा नेपाली कम्युनिटिले नेपाली खाना खुवाउने गरेको कुरा सुन्दा थोरै भएपनि नेपाली समुदायप्रति गर्व व्यक्त गर्दछन् । हाइकको जन्मथलो भएकोले होला प्रसिद्ध ठाउँहरुमा हाइकु लेखेर हाइकुको प्रबद्र्धन गरेको देख्दा उनलाई उस्तै खुसी लाग्छ । दुई वटा हाइकुसङ्ग्रह प्रकाशन गरिसकेका नियात्राकारले दाइबुचु नियात्रासङ्ग्रहभित्र पनि ७८ वटा हाइकु नियात्रासँगै मिश्रण गरेका छन् । यस अर्थमा हेर्दा उनको यो सङ्ग्रह नवीन प्रयोगको कृति पनि बन्न पुगेको छ । विषयवस्तुका बारे संक्षिप्तमा हाइकुमा लेख्ने र पछि त्यसलाई तन्काउने क्षमता उनमा भेटिन्छ । जापानी भूमिमा पाइला टेक्न पाएकोमा त्यस भूमिप्रति खुसी व्यक्त गर्दै हाइकुको उत्थानमा उनले गरेको भूमिका पनि निकै अर्थपूर्ण देखिन्छ । कृतिभित्र रहेका केही हाइकुलाई यसरी देखाउन सकिन्छ ः
कालो बिरालो
बाटो ढुकेर बस्छ
शुभ साइत
अर्को,
भाडाको तिघ्रा
ग्राहकका नजर
लालची मन ।
तेह्र वटा शीर्षकमा उनिएका जापान नियात्रा लेखकको लगभग दुई हप्ता जापान भ्रमणको दस्तावेज हो । उनी शब्द खेलाएर वाक्य तन्काउन माहिर छन् । आँखाले देख्न र त्यसका बारेमा लेखिएका पुस्तक, पत्रिका र इन्टरनेटको माध्यमबाट विषयवस्तुको गहिरो ज्ञान हासिल गरेर मात्र त्यसका बारेमा लेख्न बस्नु उनको लेखकीय गुण रहेको छ । यस दाइबुचु नियात्रासंग्रहभित्र जापानको टोकियो आसपासमा रहेका यात्रानिबन्ध दश वटा रहेका छन् भने क्योटो, ओशाका र हिरोसिमासँग सम्बन्धित तीन वटा नियात्रा रहेका छन् । छोटो समयलाई पनि अक्षरहरुमा कुँदेर जुन पुस्तकको निर्माण गरेका छन् यस अर्थमा उनी अत्यन्तै मिहिनेती र लगनशील नियात्राकारका रुपमा देखा पर्छन । उनको यात्रामोह र लेखनक्षमता आगामी दिनमा अझ सशक्त बन्दै जाओस् शुभकामना ।
पुस्तकः दाइबुचु
लेखकः कृष्ण बजगाई
विधाः नियात्रा
प्रकाशकः शिखा बुक्स
मूल्य रु :३२५/–

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु