गीतामा प्रतिपादित शरीरको नश्वरता र आत्माको अमरताबारे छोटो चिन्तन

- प्रा.डा.गंगाप्रसाद अधिकारी

श्रीमद्भगवद्गीतालाई हिन्दू दर्शनको सर्वश्रेष्ठ रचना मानिएको छ । यसलाई कुनै कवि वा दार्शनिक ऋषिहरूको रचना नभई स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट निःसृत भगवद्वाणी मानिन्छ । गीता माहात्म्यमै भनिएको छ ः
गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः ।
या स्वयम् पद्मनाभस्य मुखपद्माद्विनिःसृता ।।
(जुन गीता स्वयम् पद्मनाभ भगवानका मुखारविन्दबाट निःसृत छ, त्यसकै सुगायन (पाठ) गर्नु बाहेक अन्य शास्त्रको विस्तारको केही प्रयोजन छैन ।)
गीता माहात्म्यले नै भन्छ सबै उपनिषदहरू गाई हुन्, त्यसलाई दुहुने भगवान् श्रीकृष्ण हुन्, अर्जुन दुध पगार्ने बाच्छो अनि सज्जनहरू भोक्ता हुन् र दुध चाहिँ महान् गीतामृतरूपी भगवद्वचन हो । यसको तात्पर्य के भने गीतामा जुन दर्शनको प्रतिपादन गरिएको छ त्यो सम्पूर्ण विचार वा दर्शन विभिन्न उपनिषद्हरूबाट ग्रहण गरिएको हो । भगवान् श्रीकृष्णले ती उपनिषद्हरूको सार खिचेर गीताको गायन गरेका हुन् । त्यसैले गाई दुहुने श्रीकृष्ण हुन् । गीतामा जुन ज्ञानको प्रतिपादन गरिएको छ त्यसलाई आफ्ना जिज्ञासु प्रश्नहरूका माध्यमबाट पगार्ने बाच्छो चाहिँ अर्जुन हुन् अर्थात् भगवान् श्रीकृष्णसँग जिज्ञासु बालक भएर अर्जुनले गरेका प्रश्नले नै भगवानबाट गीतारूपी वाणी पग्रेको हो । यसरी पगारेर भगवानबाट दुहिएको दुध अर्थात् गीतामृतरूपी भगवद्वाणीका उपभोक्ता चाहिँ सम्पूर्ण जिज्ञासु सज्जनहरू हुन् । यस प्रकार गीता सम्पूर्ण उपनिषद्को सार हो भने उपनिषद्हरू वैदिक वाङ्मयका अभिन्न अङ्ग भएकाले गीतामा सम्पूर्ण वेदको सार समेत सङ्ग्रहीत छ ।
दुर्योधनको हठ, धृतराष्ट्रको पुत्रमोह र पाण्डवहरूको अस्तित्वको सङ्कट यी तिनै कारणबाट महाभारतको युद्ध हुने नै भयो । कुरुक्षेत्रको युद्धभूमिमा पाण्डव कौरव दुवै पक्षका योद्धाहरू युद्धका लागि तम्तयार भए । त्यो युद्धक्षेत्रमा दुवैतर्फ आफन्त मात्र देखेपछि अर्जुन धर्मसङ्कटमा पर्छन् । यी सबै आफन्तलाई मारेर केका लागि राज्यसुख प्राप्त गर्नु ? भन्दै अर्जुन युद्ध नगर्ने अठोटमा पुगेपछि अर्जुनका सारथी बनेका भगवान् श्रीकृष्णबाट कर्तव्याकर्तव्यको शिक्षा प्रदान गर्दै अर्जुनलाई युद्धका लागि तत्पर तुल्याउने क्रममा गरिएको उपदेश नै श्रीमद्भगवद्गीता अर्थात् गीता हो । भगवान् स्वयम्बाट गाइएको हुनाले यसलाई भगवद्गीता भनिएको हो ।
गीतामा मुख्यतः ज्ञान, उपासना र कर्मयोगको उपदेश गरिएको छ । अठार अध्याय भएको गीताको दोस्रो अध्यायमा आत्मा र शरीर सम्बन्धी भगवान् श्रीकृष्णको उपदेश छ । साङ्ख्ययोग भनिएको यस अध्यायका एघारौंदेखि तिसौंसम्मका बिस पद्यमा यस विषयको वर्णन छ । युद्धस्थलमा गुरुजन, भाइबन्धु र सबै आफन्त मात्र उपस्थित भएको देखेपछि अर्जुनको ओठ तालु सुक्दछ र शरीरमा रोमाञ्च हुन्छ, अङ्ग सबै शिथिल बन्दछन् । युद्धमा उपस्थित आफन्त देखेर अर्जुनको गाण्डीव धनु हातबाट बिस्तारै गिर्न थाल्दछ । यसरी युद्धमा आफ्ना विरुद्ध उभिएका सबै गुरुजनहरू, पिता–पितामहहरू, छोरा–नातिहरू, मामा, ससुराहरू, साला–जेठानहरू, सम्धी आदि समस्त नातेदारहरू देखेपछि अर्जुनलाई लाग्छ यिनै आफन्तहरूसँगै भएर राज्यभोग गर्न पाए पो राज्यभोग र सुखादिको पनि महत्त्व रहन्छ । यी सबैलाई मारेर प्राप्त हुने राज्यभोगको के प्रयोजन र ? अतः अर्जुन युद्धबाट पीठ फर्काउने आशयका साथ कृष्णसँग भन्दछन् ः
न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द किं भोगैजीवितेन वा ? (१ ः ३२)
हे कृष्ण † म न त विजय चाहन्छु न त राज्यसुख नै । हामीलाई यस्तो राज्यभोग केका लागि ? अथवा यस्तो भोग वा जीवनबाट के लाभ र ? जुन राज्यभोगमा आफन्त नै हुँदैनन् त्यस्तो राज्य सुख केका लागि ? “स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव” (१ ः ३७) आफ्नै दाजुभाइ मारेर हामी कसरी सुखी हुन सक्छौं र ? यसरी युद्धबाट पीठ फर्काएका अर्जुनलाई कर्तव्याकर्तव्यको उपदेश दिने क्रममा आत्माको अजरामरता र शरीरको नश्वरताका विषयमा यी पद्यहरूमा दार्शनिक व्याख्या गरिएको छ । गीताको यस अध्यायमा साङ्ख्ययोगको विषय, युद्धको आवश्यकताको निरूपण, कर्मयोग र स्थितप्रज्ञ यी चार विषयको वर्णन छ । पूर्वीय दर्शनमध्ये साङ्ख्य दर्शनको बीज मानिएको यस विषयबारेको भगवान् श्रीकृष्णको उपदेश अत्यन्त महत्त्वपूर्ण मानिन्छ । आत्मा अविनाशी भएकैले त्यसको नाश गर्न कसैले सक्दैन र जो यसलाई नाश गरें भन्दछ वा जो आत्माले अरूको नाश गर्दछ भन्ने मान्दछ ती दुवै यसबारेमा अनभिज्ञ हुन् भन्ने आशय यसमा व्यक्त भएको छ । श्रीकृष्ण अर्जुनलाई भन्दछन् ः
अविनाशी तु यद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।
अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोद्रप्रमेयस्य तस्माद्युध्यस्व भारत ।।
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते (२ ः १७–१९)
हे अर्जुन † यो दृश्यमान जगत् सबै नाशवान् छ । अविनाशी भनेको त त्यो हो, जो यस जगत्मा व्याप्त छ र जसको विनाश गर्न कोही पनि सक्दैन । त्यो नाशरहित, अप्रमेय, नित्यस्वरूप जीवात्माले धारण गरेको यो शरीर चाहिँ नाशवान् छ । अतः यो शरीरको नाशलाई विनाश सम्झेर तिमीले युद्धबाट विरत हुनु हुँदैन, युद्ध गर्नै पर्छ । आत्मा मारिँदैन र यसले मार्दैन पनि । यसरी आत्मा मर्यो भनेर जसले मान्दछ र आत्मालाई जसले अरूलाई मार्नेवाला सम्झन्छ ती दुवै व्यक्ति अज्ञानी हुन्, किन भने आत्मा त न कसैलाई मार्दछ न कसैबाट मारिन्छ ।
आत्माले न कहीँ कुनै कालमा जन्म लिन्छ, न त मर्छ नै अनि न त यो पुनः पुनः उत्पन्न हुने नै हुन्छ । किन भने यो सधैं अजन्मा छ, नित्य छ, सनातन छ र पुरातन छ । शरीर मरेर जाओस्, तर यो कहिल्यै मर्दैन र मारिँदैन । हे अर्जुन † जसले यस आत्मालाई नाशरहित छ भन्ने जान्दछ, अजन्मा र अव्यय छ भनेर मान्दछ भने त्यस्तो पुरुष कसरी कसैलाई मराउँछ र ऊ स्वयम् कसरी कसैलाई मार्दछ ? शरीर त हामीले धारण गरेको लुगा जस्तै हो आत्माको आवरण मात्र † जसरी हामी पुरानो भएपछि आफूले धारण गरेको वस्त्र त्याग्दछौं र नयाँ धारण गर्दछौं त्यसरी नै देही (त्यो अविनाशी आत्माजीवात्मा) ले जीर्ण र अशक्त बनेका शरीरलाई त्याग्दछ र नयाँनयाँ शरीरमा प्रवेश गर्दै जान्छ । आत्मा सधैं नित्य छ र अविनाशी छ भन्दै श्रीकृष्ण अर्जुनलाई भन्छन् ः
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः (२ ः २३)
यो जीवात्मालाई न कुनै शस्त्र अस्त्रले काट्न घात गर्न सक्दछन्, न त आगोले डढाउन सक्दछ, न त यसलाई पानीले भिजाएर नष्ट गर्न सक्दछ न त वायुले नै सुकाएर समाप्त गर्न सक्दछ । त्यसैले यो आत्मा अविनाशी छ ।
मानव जन्मका विषयमा पनि चित्तबुझ्दो कुरो भनिएको छ गीतामा । जन्म लिने पनि आत्मा होइन शरीर मात्र हो । आत्मा त अजन्मा छ, नित्य छ, सनातन छ अनि अविनाशी पनि । आत्मा जन्म र मृत्युभन्दा पर छ – जन्म, मृत्यु, सुख–दुःख जस्ता सांसारिक चक्रमा फस्ने त केवल शरीर हो । त्यसैले जन्मन्छ शरीर, दुःख–सुख भोग्छ शरीर, मर्छ–मारिन्छ शरीर अनि मार्छ शरीर नै । यी सम्पूर्ण सांसारिक प्रपञ्चमा फस्ने त शरीर मात्रै हो – जुन नाशवान् छ, मृयमाण छ र अनित्य छ । त्यसैले यो अनित्य शरीरका लागि शोक वा मोह गर्न त बेकार हो भन्दै श्रीकृष्ण अर्जुनलाई भन्दछन् जो आत्मालाई अनश्वर, नित्य, अजन्मा र अव्यय छ भनेर मान्दछ भने त्यस्तो व्यक्ति न कसैलाई मराउँछ न कसैलाई मार्दछ (२ ः २१) ।
यदि आत्मालाई नश्वर नै मान्ने हो भने पनि संसारमा कोही त अजरामर छैन । मानिस जन्मन्छ, हुर्कन्छ, वयस्क हुन्छ, बुढो हुन्छ र अन्तमा मर्दछ । त्यसैले जीवनको पहिलो सत्य त जन्मपछि मृत्यु नै हो । जो जन्मन्छ ऊ प्रथमतः मर्नकै लागि हो । त्यसपछि मात्र उसको जन्मका अन्य प्रयोजनहरू देखा पर्दछन् । जब मान्छे क्रमशः वयस्क हुँदै जान्छ अनि मात्र उसले संसारमा गरेका कर्महरूले उसको जन्मका अन्य प्रयोजनहरू वा उसको जन्मको औचित्य प्रमाणित गर्दै जान्छन् । यही कुरा श्रीकृष्ण अर्जुनलाई बताउँछन् ः
जातस्य हि धु्रवो मृत्युर्धु्रवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येद्रर्थे न त्वं शोचितुमर्हसि (२ ः २७)
यसरी जन्मदै यो शरीरले मृत्युको अभिशाप बोकेर आएको हुन्छ भने आत्मा त्यसभन्दा भिन्न शाश्वत्, अविनाशी र सनातन छ । त्यसैले यो नश्वर जन्मदै मृत्यु निश्चित भएको शरीरप्रति कुनै शोक गर्नुको औचित्य छैन भन्ने भगवद्वचन गीतामा व्यक्त छ ।
यसरी आत्मा अनादि, अनन्त, अजन्मा, अमर, अजर, शाश्वत् र अविनाशी छ भने शरीर जराजन्ममृत्युमय र अस्थिर छ । त्यसैले आत्माले नयाँ–नयाँ चोला बदल्दै जान्छ र ऊ स्वयम् पनि नयाँ–नयाँ आवरणमा प्रस्तुत हुन्छ । यही नै सांसारिक प्रपञ्च वा लीला हो । यही कुरालाई अर्जुनलाई सम्झाउने क्रममा श्रीकृष्ण भन्दछन् ः
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् (२ ः १२)
न त म अघि कुनै समयमा थिएँ, न तिमी थियौ, न त यी राजाहरू थिए । न हामी सबै पछि पनि हुने छौं न त हामी सबै रहने नै छौं †
वास्तवमै संसार केवल शरीर बाँचुन्जेल त हो, मरेपछि सबै समाप्त † सारा नाता–गोता, तेरो–मेरो, सुख–दुःख यही शरीर रहुन्जेल त हो । शरीर समाप्त भएपछि सबै कुरा समाप्त हुन्छ – न नाता सम्बन्ध, न धन दौलत, न सुख न दुःख † त्यसैले त भनिन्छ “एक बारको जुनी” । यो एक बारको जुनी अलभ्य छ, गुमेपछि गुम्यो गुम्यो । यस्तो दुर्लभ जिन्दगानीलाई कर्तव्याकर्तव्य बुझेर उचित कर्ममा प्रवृत्त गराउनु नै मानव जीवनको उत्तम उपयोग हो भन्ने सन्देश यस भगवद्गीताबाट प्राप्त हुन्छ । असत्, अकर्मण्यता र अकर्तव्यको त्याग अनि सत्, कर्मण्यता र कर्तव्यको ग्रहणबाट उचित कार्यमा प्रवृत्त रहँदा नै यथार्थमा मानव जीवनको सार्थकता रहन्छ ।
क्षात्रधर्मबाट विमुख हुन लागेका कुन्तिपुत्र अर्जुनलाई भगवान् श्रीकृष्णले गीतामा उपदेश गरेका विविध विषयमध्येको आत्मा र शरीरसम्बन्धी यो एउटा सानो विषय मात्र हो तर यो साङ्ख्य दर्शनको एउटा महत्वपूर्ण पक्ष पनि हो । मानव जीवनको यो उत्तम रहस्यलाई बुझेर उचित कर्म गर्नुपर्छ भन्ने कुरा नै गीतामा वर्णित यस प्रसङ्गको मुख्य सन्देश हो ।

कौशलटार, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु