पूर्वांचलीय नेपाली कविताका उज्ज्वल नक्षत्र भविलाल लामिछाने

- बैद्यनाथ उपाध्याय

इतिहास साक्षी छ
आगोले मान्छेलाई सभ्य बनायो

मान्छेले आगोलाई बनाइदियो
असभ्य !
आगाको भोक मार्न सकेन कसैले
सखाप पाऱ्यो यसले
शहर-बजार
गाँउ-बस्ती
झुप्रा-महल
के आकाश
के पृथिवी
केही पनि छोडेन
जब जब उम्कियो हातबाट
बास गर्न थाल्यो जब
भोकले घरमा
निर्लज्ज आगो
लुकी बस्यो चुल्हाको खरानीमुनि...
यी उपरोक्त पङ्क्तिका रचयिता कवि भविलाल लामिछाने स्वर्गीय हरिभक्त कटुवाल पछि असमेली नेपाली कविताका एक सशक्त हस्ताक्षरका हुन। 1962 सनमा बसन्तको शुभागमन शीर्षकले बनारसबाट प्रकाशित आमा पत्रिकामा वहाँको पहिलो कविता प्रकाशित भएको पाईन्छ। चराको चिरबिर भुराको किरकिर बाल कविता संग्रहको लागि सन 2019 को साहित्य अकादेमीको बाल साहित्य पुरस्कार पाउनुहुने लामिछानेज्युका हालसम्म तेरहवटा कृतिहरू प्रकाशमा आएका छन। यहाँका प्रकाशित कविता कृतिहरू हुन – अनागत (1983), शब्द हुन यी मेरा (1996), असमाप्त पाइलाहरू (2001), शीर्षकहीन (2003), एउटा घर यस्तो (2006), बादलपारिको देश (2006), आकण्ठ स्वर (2014), जिन्दगी धेर थोर (2018), गजल संकलनहरू - भाविलाल लामिछानेका दुईटा नज्म केही गजल (2007), गजल (2011)। यहाँले हिन्दी भाषामा पनि हाशिए के पल (1996) काव्य पुस्तक प्रकाशित गरी आफ्नो उपस्थिति दर्ज गराउनु भएको छ।
हामीले लेख्न नचाहेका कुरा
हामीले बोल्न नसकेका कुरा
समयले लेखेर जान्छ।
रूखका हाँगा-बिंगा र पातहरूमा
हाँगा-बिंगालाई सोधौं
पातहरूमा पढ़ौं
यसरी
सग्लै इतिहास बोकेको जङ्गल ओढ़ी
कटाऊँ पुष माघको जाडो।
यसरी आफ्ना उत्कृष्ट उद्गारहरूले नेपाली काव्य जगतलाई विशेष योगदान पुऱ्याउनुहुने भविलाल लामिछाने का कविताहरू सागरवारि सागरपारि शीर्षकमा अंग्रेजी अनुवादका साथ प्रकाशित गरिएको छ। नेपाली कविताहरूको अंग्रेजी भाषान्तर गर्नुभएको छ जीत बाहादुर सोनारले।
कवि लामिछानेले पूर्वांचलीय नेपाली नाटक, हरिभक्त कटुवाल स्मृतिग्रन्थ, आफ्नै सिर्जनाभित्र गुरूभक्त धिताल, सामाजिक आँखीझ्यालबाट लोक प्रसाद जैसी, संस्कृति आदि ग्रंथहरूको सम्पादन गर्नुभएको छ। साथै पत्रिकाहरू – डिगबोईबाट प्रकाशित आँकुरो (1964), कोपिलो (छात्र संघको वार्षिक मुखपत्र, 1961-1964), साहित्य प्रवाह (बोध कुमारी स्मृति प्रकाशनको वार्षिक मुखपत्र, 1986-87), समकालीन साहित्य (त्रैमासिक) र युगपथ (मासिक, 2011) को सम्पादन गरी आफ्नो सामाजिक दायित्वको पनि निर्वाह गर्नुभएको कुरो प्रकाशमा आएको छ। डिगबोई क्षेत्रको शिक्षा, साहित्य, सामाजिक र संस्कृतिको क्षेत्रमा संलग्न रही सामाजिक योगदान पुऱ्याउँदै नयाँ प्रजन्मको लागि पाथेय सृष्टि गर्ने भविलाल लामिछानेको डिगबोई नेपाली छात्र संघ, डिगबोई नेपाली विष्णुमन्दिर कमिटी, असम गोर्खा सम्मेलन, अखिल भारतीय नेपाली भाषा समिति, भारतीय राष्ट्र-परिषद, असम नेपाली साहित्य परिषद आदिलाई पुऱ्याएको योगदानको छुट्टै आकलन हुनु जरूरी छ।
यसै सृजनशीलताको क्रममा यहाँले थुप्रै सम्मान र पुरस्कारहरू पनि पाउनु भएको छ। 2019 को साहित्य अकादेमीको बाल साहित्य पुरस्कारका अतिरिक्त शब्द हुन यी मेरा कविता संकलनका लागि वर्ष 1996 को हरिभक्त कटुवाल स्मृति पुरस्कार, शीर्षकहीन कविता संकलनका लागि 2004 सनको पुष्पलाल उपाध्याय स्मृति पुरस्कार, 2006 सनमा बाबा अम्बेदकर साहित्यरत्न पुरस्कार, स्पन्दन मासिक पत्रिका, कुवैतमा प्रकाशित बाल कविता जुन मामाका लागि अभि-जमान स्मृति-पुरस्कार, पश्चिम सिक्किम साहित्य प्रकाशनको 2016 को स्रष्टा पुरस्कार र दीर्घकालीन नेपाली साहित्यको सेवा गरे बापत बाग्राकोट डुवर्समा सन 2018 को बद्रीनारायण स्मृति पुरस्कारले सम्मानित हुनुभएको छ।
शिक्षागत रूपमा बी.ए,बी.एड भविलाल लामिछाने 34 वर्ष सम्म इण्डियन आयल कार्पोरेसन, डिगबोईद्वारा संचालित ए ओ डी हायर सेकोण्डरी स्कुलमा कार्यरत भई उपाचार्यको पदबाट 2010 सनमा सेवानिवृत्त हुनुभएको हो। 6 मार्च 1950 सनमा डिगबोईमा जन्मनु भएका लामिछानेज्युले कवि हरिभक्त कटुवालको सान्निध्य प्राप्त गर्नुभएको थियो।
सुकुमवास बसेको उसको इतिहास
खजमजिएको छ भौगोलिक रेखाहरूभित्र
इतिहासको कुनै किनारामा पनि
न उसको गाँउ छ
न उसको ठाँउ छ
सपाट, विस्तृत पृथिवीमाथि
न उसलाई उभिने ठाउँ छ।
यसरि जीवनका हरेक मर्म वेदनाहरू भविलाल लामिछानेका कलमबाट निर्गत भएका छन। वहाँ का कविताहरूले समाज जीवनका हरेक दुख-पीडाहरूको पनि प्रतिनिधित्व गर्दै आफ्नो सामाजिक दायित्वको पनि निर्वहन गरेको छ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु