ईछाङलाई बिदा

- कबिन बस्नेत

हिजो म,
डेन्डेलिअनको भुवा जस्तै
अनिश्चयको भुमरीबाट उछिट्टिएर
दिशाहिन खसेको थिएँ ईछाङ, तिम्रो काखमा
मसँग एउटा बिज मात्रै थियो
तिम्रो छातीको मलिलो माटोमा
मेरो बिजले आंकुरा भरेछ ।

कति छिट्टै बित्दोरहेछ समय पनि
लुईँ छा पिएजस्तै
चिदानपिनको वृताकार तावामा
फन्को मार्दै समयले हामीलाई
ठीक त्यस्तै विन्दुमा उभ्याइसकेछ
जहाँबाट हाम्रो सहयात्रा प्रारम्भ भएको थियो।


ईछाङ !
अब मलाई बिदा गर !
प्रत्येक मिलनको नियती
बिछोडमा टुङ्गिनै रहेछ,
अब म पनि फर्किनुपर्छ
तिमी जस्तै सुन्दर मेरो देशमा
र, सुरक्षित हुर्काउनुपर्छ यो अंकुरालाई ।

ईछाङ !
तिम्रो आकाश छाडेको
धैरै धेरै वर्ष पछि पनि
तिमीले मुस्काउँदै पस्किएको
रकामियान् को तिर्सनाले सताइरहनेछ,
सम्झनामा आइरहनेछ -
रिभर साइड को शीतल स्पर्श,
पार्कमा घन्किएका तर नबुझिएका गीतहरू सुन्दै,
तिम्रो छोरीहरूको लयालु नृत्य हेर्दै
हामीले सँगै बिताएका प्रत्येक दिपावली साँझहरू ।
सम्झनामा आइरहनेछ-
छुन्चे को शुन्यता बिर्सन
फि च्योको नशाले लठ्ठिएर बिताएका रातहरू पनि ।

बिदा !
पैँयू र किम्बुका बोटहरूलाई
र,आरूका सुकुमारी फूल फुल्ने यामहरूमा
जीवनको सुन्दर गीत गाउने साथीहरुलाई पनि !
बिदा!
सोगोका लोभलाग्दा प्रेमीहरूलाई
र, रन्हका उत्तेजक यौनकर्मीहरूलाई पनि !
बिदा!
स्या लाउसीको पिरो आलु
र, सुन्तलाको बोटले ढाकिएका पाखाहरुलाई पनि
बिदा!
पेइसानको पेटीमा बसेर साग बेच्ने बूढीआमैहरूलाई
र, ताई चीमा रमाउने बुबाहरूलाई पनि ।


शब्दार्थ:
ईछाङ: चीनको हुबई प्रान्तमा अवस्थित शहर
लुईँ छा: ग्रीन टि
चिदानपिन: अण्डा मिसाएर बनाईएको एक प्रकारको रोटी
रकामियान्: हुबई प्रान्तको स्थानीय खानेकुरा
छुन्चे: चिनीयाँ नयाँ वर्ष
फि च्यो : बियर ( मादक पेय)
सोगो : ठाउँको नाम
रन्ह : ठाउँको नाम
स्या लाउसी: ठाउँको नाम
पेइसान: ठाउँको नाम
ताई ची : शारीरिक र मानसिक रूपमा स्वस्थ रहन चिनीयाँहरूले अभ्यास गर्ने एक प्रकारको प्राचीन मार्शल आर्ट

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 भाद्र, 2076

लेखकका अन्य रचनाहरु