चिच्याउन पर्ने देश

- विश्व विनोद

यहाँ नचिच्याउने हो भने केही बन्दैन, चिच्याएर, च्याँठ्ठिएर, ठूलो हाँको डाँको गरेको भरमा निकै नै काम भएका छन् । तपाई नचिच्याउनुहोस् त तपाईको काम कस्ले गरिदिन्छ । चिच्याहट र चर्को डाँकोमा मात्रै काम बन्छ । हैट, तपाई आज बिहान ब्युँझेको पनि भालेको चिच्याई या तपाईको श्रीमान, श्रीमतिको चिच्याहट वा अभिभावकको चिच्याहटले हैन र ? यसो हेर्दा लाग्छ यो देश नै चिच्याई चिच्याई बन्यो र चिच्याई चिच्याई सकिन्छ ।
बाटोमा हिँड्न लाग्यो मकैवाली चिच्याउँछिन् मकै आयो, मकै आयो, उता पट्टि कपडा पसले चिच्याउँछ दशै आयो , दशै आयो , अलिक उता पट्टि गयो हरेक माल पन्ध्र रुप्पँेमा , पन्ध्र रुप्पेँमा भनेर भारतिय दाजुभाई चिच्याउँछन् । अझ पत्रिका बेच्ने हकर कराउँछ, जादु देखाउने जोकर कराउँछ । तरकारी बेच्नेले ठेला धकेकेलेर चिच्याएकै छन्, अझ त्यो मात्र नभएर आयुर्बेदिक जडिबुटि बेच्नेले पनि माईक लगाएर चिच्याई चिच्याई सामान बेच्छन् । आखिर नचिच्याएर के हुन्छ र , चिच्यायो भने मात्र त बिक्रि हुने रहेछ त्यसैले भनिएको रहेछ नबोल्नेको चामल नि बिक्दैन, बोल्नेको पिठो पनि बिक्छ भनेर ।
तिज आउँछ चेलिबेटी छाता हरायो र लौरी हरायो भनेर चिच्याउँछन् । कोही पिसाब लाग्यो भनेर गितमै चिच्याउँछ् । गायक गायिकाहरु रंग न ढंगसँग माईकमा चिच्याएर नै जिन्दगी पालेका छन् । तिजमा टोलै भरका नारीहरु सारीमा सजिएर चिच्याउन थाल्छन् । उता मन्दिर हरि ऊँ मात्र नभनि घण्टि र शंख पनि चिच्याउन थाल्छन् । लाग्छ भगवान निकै बहिरो छ अनि शंख र घण्टिको आवाजले चिच्याईन्छ । अझ मस्जिद र चर्चमा पनि मानिसहरु चिच्याएर भगवान बहिरो भएको सावित गर्दै गरेको पाईन्छ । दिनभर रुद्रि, पुटिक गरेर, श्रीमद भागवत लगाएर चिच्याएर केहीले कमाएका पनि छन् । आखिर नचिच्याई जिविको पार्जन नै नहुने रहेछ ।
बिचरा सबै भन्दा कराउने चिच्याउने मध्येका मानिसमा बसका कण्डक्टर पनि पर्दछन् । अस्ति लगनखेलको गाडीमा रत्नपार्क बाट आउँदा बिचरो त्यो कण्डक्टर ५६५ पटक करायो तर उस्लाई कति आम्दानी भयो भनेर सोधेको त सबै पैसा गन्दा जम्मा ४२० रुपैया कमाएको रहेछ । बिचरा नचिच्याएको भए त त्यति पनि नहुने । यहाँ नचिच्याउने हो भने फिल्म पनि नचल्ने रहेछ । त्यसैले होला फिल्म चल्नु अघि कलाकारहरु चिच्याउँदै च्याँठ्ठिदै फिल्मको प्रसार प्रसारमा हिँड्छन् ।
यहाँ परिवर्तनको लागि सडकमा हामीले कैयौ पटक चिच्याउन पर्यो, आन्दोलन, न्याय, स्वतन्त्रताको लागि चिच्याउनै पर्यो र अझै कति चिच्याउन पर्ने हो थाहा पनि छैन । देशलाई सुन्दर बनाउन पनि चिच्याउनु पर्ने बाध्यता छ हामीलाई । यसो लाग्छ, हाम्रो धर्तिमा पदार्पण चिच्याएर भएको थियो त नचिच्याई के होला र खै । आखिर मरि जाँदा पनि चिच्याउनेहरु भेटिन्छन् नै ।
डाँको र डाँका उस्तै शब्द संरचनामा बनेको हुन जस्तो लाग्छ । जुन मानिसले डाँको छोडेर काम गराउन सक्छ, उसैको काम फत्ते हुन्छ, उहि नै सत्य हुन्छ । डाँको नछोडी काम बनेन भने डाँकाले रजाई गर्न सक्छ अनि डाँको हाल्नेलाई डाँका भनिन्छ । त्यसैले राष्ट्रिय रुपमा नै बढि चिच्याउने, डाँको हाल्ने, कोकोहोलो मच्चाउने राष्ट्रिय डाँकाहरु यो देशका नेताहरु नै हुन् , जुनले बर्षौ देखि चिच्याएर पद र सत्ताको लागि लालयित भएर बसेका हुन्छन् । हैट तपाई पनि चिच्याई चिच्याई यो लेख पढिरहनु भएको त छैन, लौ त म पनि लागे हैं, श्रीमतिले कामको लागि चिच्याईन् । तारेमाम् ।

लमजुङ, हाल काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 भाद्र, 2076

लेखकका अन्य रचनाहरु