दाइबुचु: एक फन्को

- उषा आचार्य

१.विषयपरिचय
कृष्ण बजगाईंकृत 'दाइबुचु' जापानी यात्रामा आधारित नियात्रा सङ्ग्रह हो । साहित्यका आख्यान, काव्य र यात्रा विधामा कलम चलाएका बजगाईँले बेलायती डायस्पोराको प्रतिनिधित्व गरेका छन् । युरेसियाको स्पर्श र भाया साक्रा नियात्रासङ्ग्रह प्रकाशित गरिसकेका उनको दाइबुचु तेस्रो नियात्रासङ्ग्रह हो । नियात्रा साहित्यको लेख्य विधा हो । निश्चित उद्देश्य लिएर कुनै ठाउँको भ्रमण गर्नु यात्रा हो । त्यही यात्राका विशेष क्षणको काव्यात्मक अभिव्यक्ति नै नियात्रा कहलाउँछ । नियात्रामा यात्राको सोझो वर्णनमात्र नभएर त्यसमा कलात्मक भाषाको प्रयोग गरिन्छ । त्यस्तै भाषिक कलाले युक्त नियात्रासङ्ग्रह दाइबुचु पनि एक हो ।
दाइबुचु जापानी शब्द हो जसको अर्थ ठूलो बुद्धमूर्ति भन्ने हुन्छ । यसबाटै यस पुस्तकभित्र जापानमा पनि बुद्धको खोजी गरिएको आकलन गर्न सकिन्छ । तेह्र ठाउँमा गरिएको यात्रालाई तेह्रवटा शीर्षकमा वर्णन गरिएको छ । प्रस्तुत कृतिमा कृतिकारले जापानको कला, संस्कृति, विकासको अवस्थाका साथै अमेरिकी उपनिवेशको प्रभावलाई उल्लेख गरेका छन् । जापानको संस्कृतिभित्र नेपाली संस्कृति खोज्नु, जापानको राजनीतिमा नेपालको राजनीति सम्झनु र नेपालमा जन्मिएका बुद्धलाई जापानमा पूजा गरिएकोमा आनन्द मान्नु यस कृति र कृतिकारको विशेषता हो । जापान हाइकु साहित्यको लागि प्रसिद्ध मानिन्छ । अर्थात भनौँ हाइकुको प्रारम्भ जापानबाटै भएको हो । बजगार्इँले यस कृतिमा यात्राको सन्दर्भअनुसार ७८ वटा हाइकुसमेत समावेश गरेका छन् ।
प्रस्तुत कृतिमा समावेश भएका हाइकुको छुट्टै अध्ययन गर्न सकिने स्थिति पनि छ । यस अध्ययनमा अध्येताले सो कृतिमा वर्णित विषयवस्तुमा केन्द्रित रही त्यसको विशेषताको आधारमा विश्लेषण गरेकी छ । यस लेखमा मूलतः कृतिमा अभिव्यक्त भएको धार्मिक÷आध्यात्मिक चिन्तन, जापानी कला र संस्कृतिको चित्रण, साहित्यप्रतिको अनुराग, विश्वव्यापीकरण र साम्राज्यवादको प्रभाव, युद्धको विभिषिका र शान्तिको चाहना आदि पक्षको विश्लेषण गरिएको छ ।
२. दाइबुचु नियात्रासङ्ग्रहको विश्लेषण
दाइबुचु जापानका सहर, प्रकृति, कला, संस्कृति, विकासनिर्माण, जीवनशैलीबारे प्रष्ट रुपमा चित्रण गरिएको नियात्रासङ्ग्रह हो । यस सङ्ग्रहमा जापानका नागरिक र त्यहाँ भ्रमण गर्ने अन्य राष्ट्रका व्यक्ति र लेखक स्वयम्को धर्म, संस्कृति, राजनीति, विश्वव्यापीकरणप्रतिको धारणा र साहित्यतर्फको अनुरागलाई व्यक्त गरिएको छ । जापानको भ्रमण गर्ने क्रममा दाइबुचुका लेखकले आफ्नो देश नेपाललाई सम्झिएका छन् । बेलायती डायस्पोरामा जीवन बिताइरहेका उनले जापानको भ्रमणबारे लेखिएको यस कृतिमा पनि नोस्टाल्जिक प्रवृत्ति देखाएका छन् । यस अध्ययनमा प्रस्तुत कृतिमा उठाइएका यिनै पक्षमा केन्द्रित रही सो कृतिको विश्लेषण गरिएको छ ।
२.१ धार्मिक÷आध्यात्मिक चिन्तन
दाइबुचु पुस्तकको पहिलो शीर्षकमै धार्मिक वा आध्यात्मिक चिन्तन व्यक्त भएको छ । ‘सम्राटको आत्मा दर्शन‘ नामक शीर्षकअन्तर्गत सिन्तो धर्म र उनीहरुको धार्मिक स्थल, उनीहरुको धर्मप्रतिको आस्थालाई प्रस्तुत गरिएको छ । यहाँ सिन्तो धर्मको प्रमुख स्थल मेइजी जिङ्गु जापानका राजा मेइजी र रानी शोकेनको आत्माप्रति समर्पित रहेको बताइएको छ । दाहसंस्कार पनि नगरिएको र लाश पनि नराखिएको त्यो ठाउँमा उनीहरुको पवित्र आत्माको बास छ भन्ने सिन्तो धर्ममार्गीको विश्वास रहेकोमा प्रस्तुत कृतिका कृतिकार मानिदिए पुग्ने कस्तो विश्वास हो भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले अदृश्य आत्माको दर्शन गर्दा ती आत्मासँग भेट होला ? तिनको आत्मालाई देख्न सकिएला ? तिनको आवाज सुन्न सकिएला ? भन्ने प्रश्न अध्यात्मवादीप्रति उठाएका छन् । यहाँ परम्परागत समयमा राजालाई भगवान्सरह पुज्ने र सेनाहरु पनि तिनमै समर्पण हुन्थे भन्दै नेपालले पनि जापानबाट सिको गरेर राजालाई बिष्णुको अवतार मानेको उल्लेख गरिएको छ । बुद्ध धर्मले व्यक्तिपूजाको अन्धविश्वासी परम्परालाई जापानबाट हटाएको तर बुद्ध जन्मिएकै देश नेपालमा लामो समयसम्म यो परम्परा रहेकोमा नियात्रामा चिन्ता व्यक्त गरिएको छ । जापानमा व्यक्तिपूजा हटे पनि अझै नेपालको जस्तै अन्धविश्वासी परम्परा जीवित रहेको, जापान र नेपालबीच सांस्कृतिक विश्वासको समानता रहेको र केही हदसम्म पूर्वीय दर्शन र परम्परासँग सम्बन्धित रहेको कुरा यस पुस्तकमा समेटिएको छ । यहाँ जापानको सिन्तो धर्ममा प्रकृतिपूजन गरिने बताउँदै लेखक त्यहाँको विधिअनुसार धर्म अनुशरण गर्ने क्रममा नेपाली परम्परालाई मिश्रण गर्न पुग्छन् ।
सिन्तो धर्म र सो परम्पराप्रति आलोचनात्मक दृष्टि राख्ने कृतिकार कामाकुराका बुद्धको शरणमा पुगेर नतमस्तक भएका छन् । उनले नेपालमा जन्मेका बुद्धको जापानमा रहेको विशाल मूर्ति देख्दा खुसी भएका छन् । लेखकले उक्त खुसीलाई कृतिमा यसरी व्यक्त गरेका छन् ः
‘आम्मै, कत्रो ठुलो बुद्धमूर्ति’ मुखबाट अनायासै शब्द फुस्किहाल्यो । सामुन्ने ध्यानमग्न अवस्थामा रहेको विशाल बुद्धमूर्ति देखेँ । बुद्ध जन्मेको देशको नागरिकले पहिलो पटक त्यो पनि जापानमा त्यत्रो विशाल बुद्धमूर्ति देख्न पाउँदा हर्ष र आश्चर्य दुवै अनुभूति भइरहेको थियो । म आफू पनि हलचल नगरिकनै मूर्ति हेर्न थालेँ । हेर्दै जाँदा थाहा लाग्यो त्यो त ध्यान मुद्रामा बसेका अमिताभ बुद्धको मूर्ति पो रहेछ ।
जापानको विशाल बुद्धमूर्ति देख्दा हर्षित लेखकले बुद्ध जन्मिएको देशमा सानासाना बुद्धमूर्ति भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले सबैभन्दा अग्लो मूर्ति बनाउनुपर्ने कर्तव्य नेपाल सरकारको भएको तर नेपालमा राजनीतिक पार्टीका नेता, मन्त्री र सरकारी कर्मचारीहरु व्यक्तिगत स्वार्थमा लागि आफ्नै सन्तानका लागि महल ठड्याउनतिर निर्लिप्त भएको यथार्थचित्रण गरेका छन् ।
यसरी दाइबुचु नियात्रासङ्ग्रहका लेखकले ‘सम्राटको आत्मादर्शन र ‘कामाकुराका बुद्ध’ दुई शीर्षकअन्तर्गत जापानको धर्म र त्यसप्रतिको आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् । उनले जापानको सिन्तो धर्मका मान्यतालाई अन्धविश्वासी परम्पराको रुपमा लिएका छन् भने बुद्ध र बुद्धसँग जोडिएका विश्वासप्रति नतमस्तक बनेका छन् । लेखकको सिन्तोप्रति दुरी बढ्नु र बुद्धमूर्तिप्रति सामिप्यता हुनु अपनत्वको कोणबाट स्वाभाविक नै देखिन्छ । उनले सिन्तो धर्मका पूजन परम्परालाई अन्धविश्वास माने पनि त्यस धर्मको अपमान नगरी सम्मान गरेका छन् ।
२.२ जापानी कला र संस्कृतिको चित्रण
कृष्ण बजगाईँले यस कृतिभित्र जापानको मौलिक कला र संस्कृतिलाई निकै आकर्षक तरिकाले चित्रण गरेका छन् । उनले ओन्सेनमा नाङ्गानाङ्गै, ‘क्याट क्याफेमा बिरालीसँग आँखा जुध्दा’ र ‘क्योटोको किङ्काकुजी’ शीर्षकअन्तर्गत जापानी कला र संस्कृतिको चित्रण गरिएको पाइन्छ । दाइबुचुमा सामूहिक रुपमा नाङ्गै नुहाउने परम्परालाई जापानी संस्कृतिको अभिन्न अङ्गको रुपमा देखाइएको छ । जापानीहरु आफ्नो त्यो संस्कृतिमा अन्य मूलुकका मानिसलाई समावेश गर्ने र उनीहरुले यौनाङ्ग छोप्नुलाई संस्कृतिको अपमान गरेको ठान्ने गर्दछन् भनी प्रस्तुत कृतिमा उल्लेख गरिएको छ । यसरी नाङ्गै नुहाउने संस्कृतिले प्राकृतिक मानिसको पहिचान हुने, मानिस प्रकृतिको नजिक पुग्ने र वर्गीय समाजको अन्त्य हुने मान्यता रहेको कुरा लेखकले व्यक्त गरेका छन् । तातोपानीमा नुहाउने परम्परा वा संस्कृतले मानिसको शारीरिक र मानसिक दुवै रोग अन्त्य गर्ने विचार कृतिकारको रहको छ ।
जापानको टोकियो सहरमा अल्ट्रा मोर्डन संस्कृतिको उद्गमस्थल मानिएको छ । यहाँ केटाकेटीहरु विचित्रको पहिरनमा कुकुर डो¥याउँदै हिड्ने गरेको विषयको उद्घाटन यस कृतिमा गरिएको छ । नेपालमा अशुभ मानिने कालो बिरालोलाई जापानमा शुभ मानिने र तिनलाई पाल्न मरिहत्ते गर्ने जापानीहरुको विश्वास पनि यहाँ व्यक्त भएको छ । लेखकले जापानका अधिकांश मानिसहरु अविवाहित बस्ने भएकोले मानिसको जनसङख्या घट्दै गएको र विरालाको सङ्ख्या वृद्धि भएकोले भविष्यमा के होला भन्ने चिन्ता व्यक्त गरेका छन् ।
जापान कलाको क्षेत्रमा पनि उत्कृष्ट रहेको कुरा यस कृतिमा उठाइएको छ । सडक बनाउने कला देखेर लोभिएका नियात्राकारले बौद्धमन्दिर, कलात्मक भवन र मनोरम उपत्यका क्योटो जापानमा मात्र नभई संसारभर ख्याति पाएको बताएका छन् । क्योटो प्राचीन कालदेखि नै रेसम कपडा, चिनियाँ माटोका भाँडा, धातुका भाँडाकुँडा, खेलौना उत्पादन गर्न सक्षम रहेको र यो मौलिक कला र संस्कृतिले सम्पन्न भएको हुँदा अमेरिकी आक्रमणबाट बचेको उल्लेख गरिएको छ ।
प्रस्तुत कृतिमा निलो रङलाई पवित्रता, शान्ति, न्याय, बफादारी र निश्चितताको प्रतीकको रुपमा व्याख्या गरिएको छ । यहाँ जापानीहरु यही रङको प्रयोगबाट रेलको लिगमा आत्महत्या गर्न जानेलाई रोक्ने गरेको बताइएको छ । साथै जापानीहरु पहिलेदेखि नै चित्रकलामा आकर्षित रहेको उल्लेख गरिएको छ । वास्तविक जीवनसँग मेल खाने चित्रकलामा पानीको रङ बढी प्रयोग गरिने, त्यहाँ फूल, रुख, जनावर र पक्षी आदिको चित्र कोरिने र एउटै पहाडलाई फरकफरक रङमा देखाइने जस्ता चित्रकलाका विशेषता जापानी कलामा पाइन्छ भनी लेखकले कृतिमार्फत भनेका छन् ।
यसरी यस कृतिमा जापानको मौलिक चित्रकला, संस्कृतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । यहाँ मूलतः जापानको संस्कृति नेपालभन्दा पृथक रहेको र आश्चर्यलाग्दो भएको पुष्टि गरिएको छ । लेखक जापानको कला र संस्कृतिभित्र नेपाली संस्कतिको खोजी गर्नु लेखकीय विशेषता रहेको छ ।
२.३ विश्वव्यापीकरण र साम्राज्यवादको प्रभाव
प्रस्तुत कृतिमा विश्वव्यापीकरले जापानमा पारेको प्रभाव र जापानी जनतामा अमेरिकी साम्राज्यवादले विकास गरेको अवधारणाको चित्रण गरिएको छ । विज्ञान र प्रविधिको विकासका कारण विश्व एउटा गाउँ भएको र टिभि, रेडियोलगायतका सञ्चार माध्यमका कारण संसारभरिका धर्म र संस्कृतिबारे तत्काल जानकारी पाउन सकिने कुरा यस कृतिमा उल्लेख गरिएको छ । विश्वव्यापीकरणका कारण जापानी युवाहरूले हिपअप पाइन्ट लगाउने, कोट, टाइ र स्कटमा सजिने ब्रान्डेड र महँगा लुगा लगाउन थालेकोले त्यहाँको मौलिक पोशाक किमोन सङ्कटमा परेको यथार्थ टोकियोको झरी शीर्षकको नियात्रामा उल्लेख गरिएको छ । लेखकले ‘जापानमा केराघरे माचुओ’मा जापानमा पहाडे कागज देखेर आश्चर्य मानेका छन् । उनी नेपाली कागज भनेर गर्व गर्दै आइरहेको तर जापानमा पनि त्यो कागज देख्दा नेपाली मौलिक कागज हो कि हैन भनी अलमल परेका छन् । पहिले अहिलेजस्तो जापान र नेपालबीच व्यापारिक सम्बन्ध नभए पनि चीनमा बनेको कागज नेपाल भन्दा पहिले जापान आएको प्रसङ्गले विश्वव्यापीकरणलाई सङ्केत गरिएको छ ।
जापानी जनता अहिलेसम्म पनि अमेरिकी साम्राज्यवादको प्रभावबाट मुक्त हुन नसकेको विषयलाई नियात्राकारले नियात्राको एउटा पक्ष बनाएका छन् । जापानका बाटामा खाद्य परिकारको अगाडि अमेरिकाको नाम इङ्कित गरिएकोले त्यहाँ अमेरिकाको राम्रो प्रभाव परेको देख्न सकिन्छ । उनीहरू व्यापार वृद्धि गर्नको लागि पनि अमेरिकाको नाम जोड्ने गरेको लेखकले उल्लेख गरेका छन् । दोस्रो विश्वयुद्धमा अमेरिकाले हिरोसिमा र नागासाकीमा आणविक बम खसाली ध्वस्त बनाएपछि जापानीहरू अमेरिकाको विरोधी होलान् भन्ने लेखकको अनुमान गलत भएको कुरा कृतिमा यसरी व्यक्त गरिएको छ ः
आणविक बम खसालेर ध्वस्त बनाइएको हिरोसिमा र नागासाकीका कारण जापानीहरू अमेरिकालाई घृणा गर्लान् जस्तो लागेको थियो । तर, मेरा जापानी मित्र तात्सुनोरीले मलाई सुनाएअनुसार अहिलेको आधुनिक, सम्पन्न र सुखी जापान बन्न अमेरिकाको हात छ । दोस्रो विश्वयुद्धको समाप्तिपश्चात् जापानको पुनर्निमाणमा अमेरिकाले ठुलो धनराशि खर्च गरेको थियो । जापानीहरूलाई अमेरिकामा लगेर विज्ञान, प्रविधि र इन्जिनियरिङगको तालिम दियो । फर्केर आएका तिनै जापानीहरूले देशलाई आधुनिकीकरण गर्नमा आफ्नो सिप प्रयोग गरे । त्यसैले जापानीहरू अमेरिकालाई धन्यवाद दिन्छन् ।
अमेरिकाले जापानमाथि आफ्नो वर्चस्व जमाउनु जापानकै लागि फलदायी भएको धारणा जापानी नागरिकको रहेको कुरा माथिको तथ्यबाट पुष्टि हुन्छ । जापानका युवा पुस्तामा झन अमेरिकी क्रेज बढ्दै गएको, उनीहरू पढ्न, स्थायी रूपले बसोवास गर्न र त्यहाँको कला सङ्गीतको लागि अमेरिका जाने यथार्थ चित्रण यस कृतिमा पाइन्छ ।
अमेरिकाले दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेपछि उसले आफ्नो सैनिक राख्न नपाउने सम्झौता गर्नुपरे पनि जापानको सुरक्षाको जिम्मा अमेरिकाले नै लिएकोले जापानमा अमेरिकाको नै वर्चस्व रहेको देखिन्छ । त्यस्तै यस कृतिमा अहिलेको अत्याधुनिक प्रविधिको विकाससँगै अमेरिकालगायत सैनिक र शक्तिशाली राष्ट्रहरूले अरू राष्ट्रका सैनिक र आर्थिक गतिविधिको निगरानी गरिराखेको, फोन, क्यामेरा, टिभि, इन्टरनेट, इमेल आदिबाट सूचना चोरी गरेको तथ्य प्रस्तुत गरिएको छ । यसबाट शक्तिशाली राज्यको साम्राज्यवादी नीतिको प्रभाव अन्य कम शक्ति भएका राष्ट्रमाथि परेको स्पष्ट हुन्छ ।
यसरी विश्वव्यापीकरणको वर्तमान स्थितिमा अन्य राज्यका कला, संस्कृति भित्रिएको र आफ्नो मौलिक संस्कृति बिस्तारै हराउँदै गएको सङ्कट पनि देखिन्छ तर मानिसका विभिन्न आवश्यकताको पूर्ति गर्ने काम पनि विश्वव्यापीकरणबाटै भएको छ भन्ने कुरा यस कृतिमा प्रस्तुत गरिएको छ । अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरी जापानलाई आफ्नो अधिनमा राखी त्यहाँका नागरिकमा सकारात्मक प्रभाव पार्न सक्नु पनि उसको कला मान्न सकिन्छ । जापानीहरू अमेरिकाको नियन्त्रणमा बस्न बाध्य भए पनि उसले दिएको सुख सुविधा, भौतिक विकास र प्रविधिको विकासका कारण खुसी रहेको तथ्य यो नियात्रासङ्ग्रह पढेपछि पत्ता लाग्दछ ।
२.४ साहित्यप्रति अनुराग
प्रस्तुत दाइबुचु कृतिमा जापानका नागरिकको साहित्यप्रतिको अनुरागलाई व्यक्त गरिएको छ । लेखकले उक्त कृतिमा जापानलाई हाइकुको उद्भवभूमिको रूपमा चित्रण गरेका छन् । हाइकुले प्रकृतिसँग घनिष्ठ सम्बन्ध राख्दछ । शास्त्रीय शैलीको जापानी हाइकु कठिन विधा भए पनि निकै लोकप्रिय विधा रहेको जानकारी यस पुस्तकमा दिइएको छ । हाइकुको निर्माता बासो आज जीवित भएको भए हाइकुको शास्त्रीय नियय र प्रकृति भत्किदा के सोच्थेहोला भन्ने जिज्ञासा यसमा व्यक्त भएको छ । जापानमा हाइकु साहित्य र बासोको सम्मान गर्दै उनकै नामको म्युजियम बनाइएको छ । त्यहाँको साहित्यको संरक्षणको लागि राज्यले लगानी गरेको छ जसका कारण लेखक साहित्यकारलाई प्रेरणा मिलेको छ भन्दै यस कृतिका कृतिकारले आफ्नो देश नेपालमा साहित्य र साहित्यकार उपेक्षित भएकोमा चिन्ता व्यक्त गरेका छन् । हाइकु यात्रामा लेख्नु उत्तम मानिने विधा भएकाले कृतिकारले पनि जापानको भ्रमणका क्रममा सिर्जना गरिएका ७८ वटा हाइकुलाई यसै नियात्रासङ्ग्रहमा समावेश गरेका छन् ।
सत्र अक्षरमा हाइकु संरचित हुन्छ तर जापानीहरू त्यसको अर्थ लगाउन लामो समय चिन्तन गर्दछन् । हामीले हल्का रूपमा लिने हाइकुका सामान्य शब्दभित्र घनिभूत अर्थ रहेको हुन्छ भन्दै यस पुस्तकमा लेखकले हाइकु लेखनका नियम र प्रविधिसमेत उल्लेख गरेका छन् ।
यहाँ जापानलाई हाइकुले सम्पन्न देशका रूपमा चिनाइएको छ । जापानका नदीकिनारमा हाइकु लेखिनुले पनि यसको पुष्टि गर्दछ । जापानी हाइकुका प्रमुख बासो र अन्य साहित्यकार बुसोन, इस्सा, सिकीको नाम उल्लेख गरिएको छ । जापानी साहित्यको इतिहासतर्फ सङ्केत गरी बजगार्इँले कृतिमार्फत जापानका नागरिक साहित्यप्रति अनुराग राख्ने र त्यहाँको साहित्यले अन्य मुलुकमा पनि प्रभाव पारेको बताएका छन् । जापानमा समयसमयमा साहित्यिक कार्यक्रम हुनु र त्यसमा जापानी नागरिक मात्र नभएर अन्य देशबाट गएका व्यक्ति पनि सहभागी हुनुले पनि त्यहाँको साहित्य, त्यसको विश्वव्यापी प्रभाव र साहित्यप्रतिको सम्मान देखाएको प्रतीत हुन्छ ।
यसरी जापानलाई हाइकु साहित्यको उद्गमस्थलको रूपमा चित्रण गरिएको यस कृतिमा त्यो विधाले अन्य देशमा पनि लोकप्रियता पाएको, जापानको सरकारले नै त्यहाँको साहित्यको प्रचार र संरक्षणको लागि कदम चालेको जस्ता वर्णित विषयबाट साहित्यप्रतिको अनुरागलाई देखाएको छ ।
२.५ युद्धको विभिषिका र शान्तिको चाहना
दाइबुचुको ‘हिरोसिमामा रोएको मन’ शीर्षकअन्तर्गत युद्धको विभिषिकाको चित्रण गरिएको छ भने नियात्राका प्रायः सबै शीर्षकमा बुद्धको सन्दर्भबाट शान्तिको चाहना व्यक्त गरिएको छ । हिरोसिमामा स्थापना गरिएको शान्ति पार्कमा पुग्दा लेखक भावुक भएका छन् । त्यहाँको अनाम आमाले छातीमा दुधेबालक र सानो बच्चा पछाडिबाट बुइ चढ्न आँटेको मूर्तिले युद्धका बेलाको व्यथा व्यक्त गरेको र त्यस सालिकले विश्वलाई नै रुवाएको अनुभूति कृतिकारले गरेका छन् । अमेरिकाले जापानको हिरोसिमामा खसालेको आणविक बमका कारण त्यो क्षेत्र पूर्ण रुपमा ध्वस्त भएको र अझै पनि त्यो उदेक लाग्दो रहेको कुरा कृतिमा बताइएको छ ।
हिरोसिमामा बम आक्रमण गर्नु जापानको आक्रामक युद्धनीतिको परिणति रहेको, पहिले जापानले नै पर्ल हार्बरको नौसेनाको क्याम्पमा आक्रमण गरी अमेरिकासँग दुस्मनी कमाएको, दोस्रो विश्वयुद्धमा अमेरिकासँग जर्मनीले घुँडा टेके पनि जापानले आत्मसमर्पण नगरेकाले अमेरिकाले चेतावनी दिएको तर बम आक्रमणको कुरा उल्लेख नगरिएको ऐतिहासिक प्रसङ्गलाई यस कृतिमा उठाइएको छ । ठुलाठुला भवन, ऐतिहासिक किल्ला, उद्योग, व्यापार, अन्य देशमा सैनिक पठाउने केन्द्रबिन्दु रहेको र गौरवपूर्ण इतिहास बोकेको हिरोसिमालाई केही क्षणमै तहसनहस बनाइएको घटनालाई निकै मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ । त्यो घटनाको भिडियो, तस्बिर म्युजिएममा राखिएको र ती घटनाका साक्षीले युद्धप्रति घृणा र हठी शासकप्रति आक्रोस उत्पन्न गराएको धारणा लेखकको रहेको छ । सङ्ग्राहलयमा राखिएका अङ्गभङ्ग भएका शरीर, आधा जलेको कपडा, पुरानो टोपी, फुटेको हेल्मेट, क्षतविक्षत भएका शरीरले जोकोहीलाई मर्माहित बनाउने गरेको उल्लेख गरिएको छ । हिरोसिमामा खसालिएको बम आकासमै विस्फोट हुँदा त यति हताहत बनायो भने जमिनमा खसेर विस्फोट भएको भए त्यसले पु¥याउन सक्ने क्षतिको कल्पनासमेत गर्न नसकिने भन्दै कृतिमा युद्धको विभिषिकाको वर्णन यसरी गरिएको छ ः
अत्यधिक मात्रामा निस्केको तापले वरपरका सबै वस्तु खरानी बनायो । बम खसेको ठाउँ नजिकका मानिस र जीवजन्तु यसरी डढे कि तिनको खरानीसमेत भेट्न गाह्रो भयो । इँटा र टायलसम्म पग्ले । तापको लहर तीन किलोमिटर क्षेत्रमा फैलिएर घर जले, मानिस र जीवजन्तु मरे । .... आणविक बम विस्फोट हुँदा ताप र विकिरण मात्र निस्केन; धुलो धुवाँ र खरानीका साथ नदीको पानी वाष्प बनेर आकाशतिर उठ्यो । धेरै माथि पुगेपश्चात चिसिएर वर्षाको रुपमा तल खस्न थाल्यो । .... जो तत्कालै मरे ती भाग्यामानी (भाग्यमानी) ठहरिए । जो बाँचे ती अभागी थिए । ती घाइतका जिउका छाला आलुका बोक्राजस्तै उप्किएको थियो । अत्यधिक चाप र जलनका कारण पानीपानी भन्दै मानिसहरु नदीमा हाम फाले । नदीसमेत अत्यन्त तातो थियो । तावाबाट उफ्रेको माछा भुङ्ग्रामा भनेजस्तै नदीको पानीमा फाल हान्नेहरु तत्कालै मरे । ... बम विस्फोटबाट निस्केको उच्च ताप र विनाशकारी विकिरणका कारण बोटबिरुवा ध्वस्त भएका थिए । मानिसहरु कोही तातोले मरे, कोही भत्केको भवनमुनि थिचिएर मरे । विस्फोटको आवाजले घरका झ्यालको सिसा फटेर मानिसका शरीरमा गाडिएर मरे । कैयौँ मानिसहरु सदाका लागि अन्धा र बहिरा भए । बाँचेकाहरु ल्युकेमिया र क्यान्सरको सिकार भएर केही दिनपछि मरे ।
यसरी सो बम आक्रमणमा कैयौँ मानिसहरुको दर्दनाक मृत्यु भयो भने कति अपाङ्ग भएर बाँच्न बाध्य भए भन्ने कुरा माथिका वाक्यबाट प्रस्ट हुन्छ । त्यस घटनामा ज्यान बचाएका मानिसका सन्तानलाई तल्लो स्तरको मानिने र छोइछिटो गरिने यथार्थको चित्रण यस सङ्ग्रहमा गरिएको छ । त्यस बम विस्फोटको विकिरणको प्रभावले घाइतेका सन्तानमा क्यान्सरलगायतका रोग लाग्ने सम्भावना रहेको कुरा यसै कृतिमा प्रकट भएको छ । यसलाई लेखकले मानवता पराजित भएको घटनाको रुपमा लिएका छन् ।
यो मानवताविरोधी र विश्वमै आतङ्क फैलाउने यस घटनापश्चात जापानका नागरिक युद्धविरोधी बनेका छन् भन्दै यस घटनाबाट सबैले शिक्षा लिनुपर्ने कुरा उल्लेख गरिएको छ । शक्तिको होडबाजीमा केही देशले अझै बम बनाउदै गरेको र उत्तर कोरियाले जापानको आकाशमा मिसाइल प्रहार गरेकोले पुनः युद्ध हुन सक्ने आशङ्का गरिएको छ तर जापानीहरु युद्धको अन्त्य होस् भन्ने चाहन्छन् । घटनामा बाँचेका साङ्किची आणविक अस्त्रबाट पृथ्वीलाई मुक्त राखियोस् भन्ने अभियानमा लागेकोले पनि यो कुराको पुष्टि गर्दछ । जापानमा क्षतिग्रस्त भएको एटोमिक बम डोमलाई शान्तिस्मारकका रुपमा संरक्षण गरी युद्धबाट सिर्जना हुने भयावह स्थितिबारे विश्वलाई सूचना दिने र आणविक शस्त्र निर्माण र परीक्षणको लागि खबरदारी गरेको विषयलाई लेखकले कृतिमा उल्लेख गरेका छन् ।
यसरी जापानमा अमेरिकाले प्रहार गरेको आणविक बम र त्यसबाट पुगेको क्षतिको मूल्याङ्कन गर्दै शान्तिको मार्गमा हिँडेको देखिन्छ । उनीहरु बम आक्रमण भएका विभिन्न ठाउँलाई सुरक्षित राखी शान्तिस्थलको रुपमा परिणत गरेका छन् । उनीहरुको युद्धप्रतिको नकारात्मक दृष्टिकोण र शान्तितर्फको यात्राबाट विश्वले पाठ सिक्नुपर्ने कुरा कृतिमा अभिव्यक्त भएको छ ।
३ निष्कर्ष
कृष्ण बजगार्इले लेखेको जापानको यात्रामा आधारित दाइबुचु नियात्रासङ्ग्रहमा जापानको धर्म, संस्कृति, कला, साहित्य, इतिहासलाई व्यक्त गरिएको छ । यसमा धर्मअन्तर्गत सिन्तो धर्म र त्यसमाथिको विश्वासलाई प्रस्तुत गरिएको छ । साथै बौद्ध धर्म र त्यसले पारेको प्रभावलाई कृतिमा आकर्षक तरिकाले चित्रण गरिएको छ । सामूहिक रुपमा नाङ्गै नुहाउने जापानको मौलिक संस्कृति र जनावरप्रतिको प्रेम, र शुभ मान्ने संस्कृति कृतिमा झल्किएको छ । यसमा जापान साहित्य र कलाको क्षेत्रमा उच्च स्थानमा पर्ने र हाइकुको जन्मस्थलको रुपमा रहेको जापानमा मठ, मन्दिर, चित्रकलाको स्वरुप देख्न पाइनृे बताइएको छ । आफ्नै गौरवपूर्ण इतिहास बोकेको जापानले अमेरिकाको साम्राज्यवादका कारण नयाँ इतिहास लेख्न पुगेको, त्यसबाट हिरोसिमा र नागासाकी ध्वस्त भए पनि अहिलेको औद्योगिक र प्रविधिको विकास अमेरिकाकै कारण भएकोले त्यहाँका नागरिक सन्तुष्ट बनेको तथ्य प्रस्तुत गरिएको छ । प्रस्तुत कृतिमा मूलतः शीर्षकदेखि भित्री यात्राविवरण र अन्तिम निष्कर्षसमेतमा बुद्धको मार्ग र विश्वशान्तिको कामनाका बारेमा विचार व्यक्त गरिएको छ । कृति बुद्धत्वको केन्द्रबिन्दुमा अवस्थित भएकोले विषयवस्तुका सापेक्षतामा शीर्षक पनि उपयुक्त छ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु